सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अदृश्‍य प्राणीहरूसित सम्पर्क राख्न सकिन्छ?

अदृश्‍य प्राणीहरूसित सम्पर्क राख्न सकिन्छ?

अदृश्‍य प्राणीहरूसित सम्पर्क राख्न सकिन्छ?

सर्वोच्च परमेश्‍वरले अन्य अदृश्‍य प्राणीहरूलाई केही-केही जिम्मेवारी सुम्पनुभएको छ। उदाहरणका लागि, उहाँले पृथ्वीमाथि शासन गर्ने जिम्मेवारी येशू ख्रीष्टको हातमा दिनुभएको छ र सुसमाचार घोषणा गर्ने काममा निर्देशन दिन विश्‍वासी स्वर्गदूतहरूलाई नियुक्‍त गर्नुभएको छ। (प्रकाश १४:६) तर प्रार्थनाको सन्दर्भमा कुरा फरक छ। प्रार्थना सुन्‍ने जिम्मेवारी भने उहाँले अरू कसैलाई सुम्पनुभएको छैन। हामीले प्रार्थना परमेश्‍वरलाई मात्र गर्नुपर्छ।

यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ। (भजन ६५:२) उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ। प्रार्थनाको सन्दर्भमा प्रेषित यूहन्‍नाले सँगी सेवकहरूलाई यस्तो लेखे: “परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि [परमेश्‍वरले] हाम्रो बिन्ती सुन्‍नुहुन्छ। साथै, हामीले जेसुकै मागे पनि उहाँले सुन्‍नुहुन्छ भनी थाह भएको हुनाले हामीले उहाँसित मागेका कुराहरू पाउँछौं भनेर पनि हामी पक्का छौं।”—१ यूहन्‍ना ५:१४, १५.

विश्‍वासी स्वर्गदूतहरू हामीले तिनीहरूलाई पुकारेको वा प्रार्थना गरेको चाहँदैनन्‌। तिनीहरू सीधै मुछिएको विषयवस्तु नै किन नहोस्‌, प्रार्थनाको लागि यहोवाले गर्नुभएको प्रबन्ध तिनीहरू बुझ्छन्‌ र यसमा सहयोग गर्छन्‌। कुन तरिकामा? भविष्यवक्‍ता दानियलले यरूशलेमको विनाशबारे यहोवालाई प्रार्थना गर्दा परमेश्‍वरले तिनको प्रार्थनाको जवाफस्वरूप प्रोत्साहनजनक सन्देशसहित गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।—दानियल ९:३, २०-२२.

मृतकहरूबाट आएको सन्देश नि?

के हामीले मरिसकेकाहरूसित सम्पर्क राख्ने प्रयास गर्नुहुन्छ? मरेकाहरूसित कुराकानी गरेको थुप्रै घटना मानिसहरू सुनाउँछन्‌। उदाहरणका लागि, आयरल्याण्डमा एउटी स्त्रीलाई अदृश्‍य संसारसित सम्पर्क राख्ने एउटी महिलाले सम्पर्क गरिन्‌ र अघिल्लो रात आफूले तिनको श्रीमान्‌ फ्रेडसित कुरा गरेको बताइन्‌। तर केही हप्ताअघि नै फ्रेडको मृत्यु भइसकेको थियो। ती महिलाले “फ्रेडले” भनेका कुराहरूको बेलीबिस्तार लगाइन्‌। यहाँसम्म कि, आफूलाई मात्र थाह छ भनी ती स्त्रीले सोचेका कुराहरूसमेत तिनले बताइन्‌। फ्रेड अदृश्‍य संसारमा जीवित छन्‌ र ती अपरिचित महिलामार्फत तिनले आफूसित सम्पर्क राख्न कोसिस गरिरहेका छन्‌ भनेर पत्याउन ती स्त्रीलाई गाह्रो होला र? तर यो निष्कर्ष मरिसकेकाहरूको अवस्थाबारे बाइबलको स्पष्ट शिक्षाको ठीक विपरीत हुन्छ।—तलको पेटी हेर्नुहोस्‌।

त्यसोभए यस्ता घटनाहरू कसरी हुन्छन्‌ त? दुष्ट स्वर्गदूतहरूले ठग्ने एउटा तरिका फ्रेडको सन्दर्भमा जस्तै मरिसकेकाहरूको नक्कल गर्ने हो। कुन मनसायले तिनीहरू त्यसो गर्छन्‌? बाइबल शिक्षाबाट मानिसहरूलाई तर्काउन र यहोवामाथिको तिनीहरूको विश्‍वास र भरोसा कमजोर पार्न। निस्सन्देह, सैतान र दुष्ट स्वर्गदूतहरू “हरकिसिमका शक्‍तिशाली काम, झूटा चमत्कारहरू, आश्‍चर्यजनक कार्यहरू, हरकिसिमका खराबी अनि छलका साथ प्रकट” हुन्छन्‌ र “त्यसका यी सबै काम विनाशतर्फ बढिरहेका मानिसहरूप्रति लक्षित” हुन्छन्‌।—२ थिस्सलोनिकी २:९, १०.

अदृश्‍य संसारसित सम्पर्क राख्ने माध्यमहरू छन्‌ र तिनीहरूको मदत लिएर आफूले मरेकाहरूसित सम्पर्क राखिरहेको छु भनेर साँच्चै विश्‍वास गर्ने मानिसहरू पनि छन्‌। तिनीहरूले कसैसित सम्पर्क राखेका छन्‌ भने वास्तवमा यहोवाको विरोध गर्ने दुष्ट स्वर्गदूतहरूसित राखेका छन्‌। त्यस्तैगरि आफूले परमेश्‍वरको उपासना गरिरहेको छु भन्ठान्‍नेहरू पनि छन्‌ तर तिनीहरू भ्रममा परेका छन्‌। परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पावलले यस्तो कडा चेतावनी दिए: “अन्यजातिले जे बलि चढाउँछन्‌, त्यो परमेश्‍वरलाई नभई दुष्ट स्वर्गदूतहरूलाई चढाएका हुन्‌।”—१ कोरिन्थी १०:२०, २१.

हामीलाई माया गर्ने र हाम्रो ख्याल राख्ने ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍तिलाई प्रार्थना गर्न सक्छौं भन्‍ने थाह पाएपछि किन अरू कसैलाई प्रार्थना गर्ने? आखिरमा, बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इतिहास १६:९. ( w10 -E 12/01)

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

हामीलाई माया गर्ने र हाम्रो ख्याल राख्ने ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍तिलाई प्रार्थना गर्न सक्छौं भन्‍ने थाह पाएपछि किन अरू कसैलाई प्रार्थना गर्ने?

[पृष्ठ ८ र ९-मा भएको पेटी/चित्र]

सही र गलत

सही: सैतान वास्तविक व्यक्‍ति हो।

“सैतानले पनि आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ।”—२ कोरिन्थी ११:१४.

“सचेत रहो, जागा बस। तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।”—१ पत्रुस ५:८.

“जसले पाप गरिरहन्छ, ऊ दियाबलको हो, किनकि दियाबलले सुरुदेखि नै पाप गर्दै आएको छ।” —१ यूहन्‍ना ३:८.

“आफूलाई परमेश्‍वरको अधीनमा राख र दियाबलको विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.

“दियाबल . . . त सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा अडिग रहेन, किनकि त्यसमा सत्य छैन। जब त्यसले झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ, किनकि त्यो झूटा हो र झूटको बुबा हो।”—यूहन्‍ना ८:४४.

गलत: मृत्युपछि सबै जना अदृश्‍य संसारमा प्रवेश गर्छन्‌।

“माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।”—उत्पत्ति ३:१९.

“जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।”—उपदेशक ९:५.

“तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझशक्‍ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:१०.

“त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।”—भजन १४६:४.

सही: वफादार स्वर्गदूतहरूले हाम्रो ख्याल राख्छन्‌।

“उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌, र तिनीहरूलाई छुटकारा दिन्छन्‌।”—भजन ३४:७; ९१:११.

“के तिनीहरू सबै जना उद्धार पाउनेहरूको सेवा गर्न पठाइएका जनसेवा गर्ने स्वर्गदूतहरू होइनन्‌?”—हिब्रू १:१४.

“मैले अर्को एउटा स्वर्गदूत आकाशमा उडिरहेको देखें। पृथ्वीमा बास गर्नेहरू अनि हरेक राष्ट्र, कुल, भाषा र जातिलाई खुसीको सन्देशको रूपमा घोषणा गर्न तिनीसित अनन्त सुसमाचार थियो। तिनी चर्को सोरमा यसो भन्दैथिए: ‘परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ।’”—प्रकाश १४:६, ७.

गलत: येशू र परमेश्‍वर बराबर हुनुहुन्छ।

“तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष अनि ख्रीष्टको शिर परमेश्‍वर हुनुहुन्छ।”—१ कोरिन्थी ११:३.

“जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌ भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै अधीनमा बस्नुहुनेछ।”—१ कोरिन्थी १५:२८.

“तिमीहरूलाई म साँच्चै भन्छु, छोरा आफै अग्रसर भएर केही पनि गर्न सक्दैन तर बुबाले जे गर्नुभएको देख्छ, त्यही मात्र गर्छ।”—यूहन्‍ना ५:१९.