सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको स्तुति गाउनुहोस्‌!

यहोवाको स्तुति गाउनुहोस्‌!

यहोवाको स्तुति गाउनुहोस्‌!

“मेरो जीवन रहुञ्जेलसम्मै मेरा परमेश्‍वरको स्तुति म गाउँदैरहनेछु।”—भज. १४६:२.

१. कुनै-कुनै भजन रचना गर्न जवान दाऊदलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

 जवान छँदा दाऊदले आफ्नो बुबाको बगाल चराउन बेतलेहेम नजिकै घण्टौं बिताएका थिए। भेडा चराउँदै गर्दा दाऊदले यहोवाको भव्य सृजनात्मक कार्य अर्थात्‌ टिलपिल ताराहरूले भरिएको आकाश, “वनका जनावरहरू” र “आकाशका चराहरू” हेर्न सक्थे। आफूले देखेको कुराले तिनको मनमा गहिरो छाप पाऱ्‍यो। तिनी यतिविघ्न प्रभावित भए कि तिनले यी अद्‌भुत थोकहरू बनाउने सृष्टिकर्ताको स्तुति गर्ने हृदयस्पर्शी गीतहरू रचना गरे। दाऊदले रचना गरेका प्रायजसो गीतहरू भजनका पुस्तकमा पाइन्छन्‌। aभजन ८:३, ४, ७-९ पढ्‌नुहोस्‌।

२. (क) सङ्‌गीतले मानिसलाई कस्तो असर पार्न सक्छ? एउटा उदाहरण दिनुहोस्‌। (ख) भजन ३४:७, ८ र भजन १३९:२-८ पढेपछि यहोवासित दाऊदको कस्तो सम्बन्ध थियो भनेर बुझ्न सक्छौं?

सम्भवतः आफ्नो जीवनको यही समयताका दाऊद सङ्‌गीतमा अझ पोख्त भए। भनौं भने तिनी यत्ति पोख्त भए कि राजा शाऊलको अगाडि वीणा बजाउन बोलाइए। (हितो. २२:२९) विचलित राजाको मनलाई दाऊदको सङ्‌गीतले शान्त पार्थ्यो। त्यसरी नै आज पनि राम्रो सङ्‌गीतले मानिसको मनलाई शान्त पार्छ। दाऊदले जब आफ्नो वीणा बजाउँथे, तब “शाऊलले शान्ति पाउँथे। तिनी निको हुन्थे।” (१ शमू. १६:२३) यस ईश्‍वरभीरु सङ्‌गीतकार तथा रचनाकारले लेखेका गीतहरू अहिले हाम्रो समयसम्मै अनमोल साबित भएका छन्‌। यसो विचार गर्नुहोस्‌ त! दाऊदको जन्म भएको ३,००० वर्षभन्दा धेरै भइसक्यो। तैपनि आज, जीवनको अनेक मोडबाट गुज्रिरहेका अनि संसारको विभिन्‍न भागका मानिसहरूले सान्त्वना र आशाको लागि दाऊदका भजनहरू नियमित रूपमा पढ्‌ने गर्छन्‌।—२ इति. ७:६; भजन ३४:७, ८; १३९:२-८ पढ्‌नुहोस्‌; आमो. ६:५.

साँचो उपासनामा सङ्‌गीतको आदरणीय स्थान

३, ४. साँचो उपासनामा सङ्‌गीत समावेश गर्न दाऊदको समयमा कस्तो प्रबन्ध मिलाइएको थियो?

दाऊदसित प्रतिभा थियो अनि तिनले त्यो प्रतिभा सर्वोत्तम तरिकामा अर्थात्‌ यहोवाको महिमा गर्न प्रयोग गरे। आफू इस्राएलको राजा बनेपछि तिनले भेट हुने पालमा गरिने सेवामा सुमधुर सङ्‌गीत पनि समावेश गरे। मन्दिरमा सेवा गर्ने सम्पूर्ण लेवीहरूको दस भागमध्ये एक भागभन्दा धेरै अर्थात्‌ ४,००० जना जति “स्तुतिगान गर्न” खटाइए अनि त्यसमध्ये २८८ जना यहोवाको प्रशंसा ‘गाउनमा निपुण सङ्‌गीतकारहरू’ थिए।—१ इति. २३:३, ५; २५:७, ८.

यी लेवीहरूले गाएका धेरैजसो गीत दाऊदले नै रचेका थिए। दाऊदले रचना गरेका भजनहरू विभिन्‍न अवसरमा बजाइन्थ्यो। त्यस्तो कुनै अवसरमा उपस्थित हुने मौका पाएका इस्राएलीहरूको मनमा ती भजनले पक्कै पनि गहिरो छाप पारेको हुनुपर्छ। पछि, वाचाको सन्दूक यरूशलेम ल्याइँदा “दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरू, जो-जो आफ्ना-आफ्ना बाजा, सारङ्‌गी, वीणा र खैंजडीमा हर्षको संगीत बजाउनमा निपुण थिए, तिनीहरूलाई नियुक्‍त गर्नू भनी हुकुम गरे।”—१ इति. १५:१६.

५, ६. (क) दाऊदको शासनकालमा सङ्‌गीतलाई किन एकदमै महत्त्व दिइयो? (ख) प्राचीन इस्राएलमा गरिने उपासनामा सङ्‌गीतको महत्त्वपूर्ण भूमिका थियो भनेर हामी कसरी थाह पाउन सक्छौं?

दाऊदको समयमा सङ्‌गीतलाई किन एकदमै महत्त्व दिइयो? के राजा दाऊद स्वयम्‌ सङ्‌गीतकार भएकोले हो? होइन। यसको अर्कै कारण छ, जुन कारण शताब्दीयौंपछि असल राजा हिजकियाहले मन्दिरमा सेवा पुनः सुचारु गर्दाको घटनामा प्रकट गरिएको छ। दोस्रो इतिहास २९:२५ मा यस्तो लेखिएको छ: “राजाले [अर्थात्‌ हिजकियाहले] लेवीहरूलाई परमेश्‍वरको भवनमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्‍ताले तोकिदिएको नियमअनुसार झ्याम्टा, सितार र वीणाका साथमा आफ्ना-आफ्ना काममा खटाए। किनभने यो नियमचाहिं परमप्रभुबाट आफ्ना अगमवक्‍ताहरूद्वारा दिइएको थियो।”

हो, भजन गाएर यहोवाको प्रशंसा गर्नू भनी उहाँले आफ्ना उपासकहरूलाई अगमवक्‍ताहरूमार्फत निर्देशन दिनुभयो। पूजाहारी कुलबाट खटाइएका गायकहरूले गीत रचना गर्न अनि सम्भवतः अभ्यास गर्न यथेष्ट समय पाऊन्‌ भनेर तिनीहरूलाई अरू लेवीहरूले गर्नुपर्ने कामबाट समेत छुट दिइएको थियो।—१ इति. ९:३३, NRV.

७, ८. परमेश्‍वरको राज्यगीत गाउने सन्दर्भमा प्रतिभाभन्दा महत्त्वपूर्ण कुरा के हो?

तपाईं भन्‍नुहोला: “जहाँसम्म गीत गाउने कुरा छ, म त्यतिबेला भएको भए भेट हुने पालमा भजन गाउने ती निपुण व्यक्‍तिहरूमध्ये अवश्‍यै हुने थिइनँ!” तर सबै लेवी सङ्‌गीतकार निपुण थिएनन्‌। पहिलो इतिहास २५:८ अनुसार “सिकारूहरू” पनि थिए। यहाँ विचार गर्नुपर्ने अर्को एउटा बुँदा पनि छ, इस्राएलका अरू कुलहरूमा कोही-कोही असाध्यै पोख्त सङ्‌गीतकार तथा गायकहरू थिए होलान्‌ तर यहोवाले सङ्‌गीतसम्बन्धी कामको जिम्मा लेवीहरूलाई नै सुम्पनुभयो। चाहे “निपुण” हुन्‌ वा “सिकारू,” ती सबै विश्‍वासी लेवीले आफूलाई सुम्पिइएको काम मनतनले पूरा गरे भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।

दाऊद सङ्‌गीतप्रेमी थिए र तिनी त्यसमा पोख्त थिए। तर के परमेश्‍वरले महत्त्वपूर्ण ठान्‍नुहुने कुरा प्रतिभा मात्रै हो? कलस्सी ३:२३ मा पावलले लेखे: “जे-जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।” कुरा स्पष्ट छ: “मनतनले” यहोवाको प्रशंसा गाउनु महत्त्वपूर्ण छ।

दाऊदको समयपछि सङ्‌गीतको भूमिका

९. सुलेमानको शासनकालमा मन्दिरको उद्‌घाटन समारोहमा उपस्थित हुनुहुँदो हो त तपाईंले के देख्नुहुने र सुन्‍नुहुने थियो? व्याख्या गर्नुहोस्‌।

सुलेमानको शासनकालमा शुद्ध उपासनामा सङ्‌गीतको अझ विशिष्ट भूमिका थियो। मन्दिरको उद्‌घाटन समारोहमा पूर्ण साङ्‌गीतिक समूह थियो। फुकेर बजाइने बाजाको मात्र कुरा गर्नुपर्दा, तुरही बजाउनेहरू १२० जना थिए। (२ इतिहास ५:१२ पढ्‌नुहोस्‌) बाइबलले बताएअनुसार “तुरही बजाउनेहरू [जो सबै पूजाहारीहरू थिए] र गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक स्वर गरी आवाज निकाले। . . . किनभने, ‘त्यसो गर्नु असल छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।’” यसरी हर्षोल्लासको आवाज गुन्जनेबित्तिकै यहोवाको ‘भवन महिमाको बादलले भरियो,’ जुन उहाँको अनुमोदन पाएको प्रमाण थियो। तुरहीको धुनसँगै ती हजारौं गायकले एकै स्वरमा गाएको सुन्दा मानिसहरू कत्ति आश्‍चर्यचकित अनि मन्त्रमुग्ध भए होलान्‌!—२ इति. ५:१३.

१०, ११. सुरु-सुरुका ख्रीष्टियानहरूले उपासनामा सङ्‌गीतको प्रयोग गर्थे भनेर केले देखाउँछ?

१० सुरु-सुरुका ख्रीष्टियानहरूले पनि उपासनामा सङ्‌गीतको प्रयोग गरे। हुनत प्रथम शताब्दीका उपासकहरू भेट हुने पाल वा मन्दिरमा होइन, निजी घरहरूमा भेला हुन्थे। सतावट तथा अन्य कारणहरूले गर्दा तिनीहरू अक्सर प्रतिकूल अवस्थामा भेट्‌ने गर्थे। तैपनि ती ख्रीष्टियानहरूले परमेश्‍वरको स्तुति गाए।

११ प्रेरित पावलले कलस्सीका ख्रीष्टियान भाइहरूलाई यस्तो आग्रह गरे: “तिमीहरू एउटाले अर्कोलाई . . . अर्ती दिंदै भजन, स्तुतिगान र आत्मिक गानद्वारा आफ्ना हृदयमा अनुग्रहसाथ परमेश्‍वरका निम्ति गाओ।” (कल. ३:१६) पावल र सिलास झ्यालखानामा थुनिएपछि तिनीहरू ‘प्रार्थना गर्दै परमेश्‍वरका भजन गाउन’ थाले, जबकि तिनीहरूसित कुनै गीतिपुस्तक थिएन। (प्रेरि. १६:२५) यदि तपाईं झ्यालखानामा थुनिनुभयो भने कति वटा राज्यगीत कण्ठस्थ गाउन सक्नुहुनेछ?

१२. राज्यगीतहरूको कदर गरेको हामी कसरी देखाउन सक्छौं?

१२ हाम्रो उपासनामा सङ्‌गीतको आदरणीय स्थान छ। त्यसैले आफूलाई यी प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के म सङ्‌गीतको उचित कदर गर्छु? सभा, सम्मेलन तथा अधिवेशनहरूमा भाइबहिनीहरूसँगै मिलेर सुरुको गीत गाउन के म समयमै पुग्ने सक्दो प्रयास गर्छु अनि के म पूरा भावसहित गाउँछु? ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाको बीचमा वा जनभाषण र प्रहरीधरहरा अध्ययनको बीचमा गाइने गीतलाई एक प्रकारको मध्यान्तर नठान्‍न अनि खुट्टा तन्काउने निहुँ बनाउँदै बिनसित्ति आफ्नो ठाउँ छोडेर नजान के म छोराछोरीलाई सिकाउँछु? गीत गाउनु भनेको हाम्रो उपासनाको भाग हो। चाहे हामी “निपुण” हौं वा “सिकारू,” हामी सबैले आफ्नो स्वर उचालेर यहोवाको स्तुति गाउन सक्छौं अनि त्यसो गर्नु पनि पर्छ।—२ कोरिन्थी ८:१२ तुलना गर्नुहोस्‌।

बदलँदो समयको बदलँदो माग

१३, १४. मण्डलीका सभाहरूमा मनतनले गाउनु कत्तिको महत्त्वपूर्ण छ? उदाहरणसहित बताउनुहोस्‌।

१३ हाम्रा राज्यगीतहरू अत्यन्तै महत्त्वपूर्ण हुनुको एउटा कारणबारे १०० वर्षभन्दा अघि जायन्स वाच टावर-मा यस्तो लेखिएको थियो: “परमेश्‍वरका जनको मन-मस्तिष्कमा सत्य हाल्ने एउटा उत्तम तरिका यसलाई गाउनु हो।” यी गीतका प्रायजसो बोल धर्मशास्त्रको कुनै पद्यांशमा आधारित छन्‌। त्यसैले हाम्रो मनमा सत्य ठप्प राख्ने एकदमै राम्रो तरिका भनेको कुनै-कुनै गीतका भए पनि शब्दहरू याद गर्नु हो। हाम्रा सभाहरूमा पहिलो चोटि आउने व्यक्‍तिहरू मण्डलीमा गाइने हृदयस्पर्शी गीतहरूबाट अक्सर अत्यन्तै प्रभावित भएका छन्‌।

१४ सन्‌ १८६९ को एक साँझको कुरा हो, सि.टि. रसल कामबाट घर फर्कंदै गर्दा तिनले मानिसहरूले गाइरहेको आवाज कतै भुइँतलाबाट आएको सुने। यो समयताका तिनले परमेश्‍वरबारे अब साँचो कुरा भेटाउन सकिंदैन भनेर हरेस खाइसकेका थिए। त्यसैले व्यापारमै लागेर केही पैसा कमाउन सकियो भने मानिसहरूलाई आध्यात्मिक मदत दिन नसकिए तापनि केही भौतिक मदत त दिन सकिएला भन्‍ने निष्कर्षमा तिनी पुगिसकेका थिए। भाइ रसल त्यस भुइँतलाको अँध्यारो फोहोर कोठाभित्र छिर्दा त्यहाँ धार्मिक कार्यक्रम भइरहेको थियो। तिनले त्यो कार्यक्रम सुने। पछि तिनले यस्तो लेखे: “बाइबल परमेश्‍वरद्वारा प्रेरणा पाएर लेखिएको हो भन्‍ने विषयमा मेरो विश्‍वास कमजोर भएको थियो तर त्यतिबेला सुनेको कुराले परमेश्‍वरको मदत पाएर आफ्नो विश्‍वास पुनः बलियो बनाउन सकें।” याद गर्नुहोस्‌, त्यस सभामा जान भाइ रसललाई सुरुमा गीतले नै आकर्षित गरेको थियो।

१५. नयाँ गीतिपुस्तिका किन आवश्‍यक भयो?

१५ समय बित्दै जाँदा धर्मशास्त्रको बुझाइमा छाँटकाँटहरू भएका छन्‌। हितोपदेश ४:१८ यसो भन्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्छ।” ज्योति झन्‌-झन्‌ उज्यालो हुँदै गएपछि ‘सत्य गाउने’ तरिकामा पनि पक्कै छाँटकाँट गर्नुपर्ने हुन्छ। अङ्‌ग्रेजी भाषाको यहोवाको भजन गाओ भन्‍ने गीतिपुस्तक प्रकाशित भएको २५ वर्ष भइसक्यो। हाम्रो नेपाली भाषामा २९ वटा गीत भएको गीतिपुस्तिका लगभग ८ वर्षअघि उपलब्ध भएको थियो। त्यस समय यता थुप्रै विषयमा ज्योति चहकिलो भएको छ। त्यतिबेला चलाउने कतिपय अभिव्यक्‍तिहरू अब हामी चलाउँदैनौं। त्यसैले धर्मशास्त्रीय बुझाइमा भएको छाँटकाँटले गर्दा नयाँ गीतिपुस्तिकाको खाँचो प्रस्ट देखियो।

१६. पावलले एफिसी ५:१९ मा दिएको सल्लाह पालन गर्न नयाँ गीतिपुस्तिका कसरी मदतकारी हुनेछ?

१६ यो र अन्य कारणले गर्दा परिचालक निकायले यहोवाको स्तुतिगान गाऔं भन्‍ने नयाँ गीतिपुस्तिका प्रकाशित गर्ने अनुमति दियो। हाम्रो नयाँ गीतिपुस्तिकामा २९ वटा होइन, ५५ वटा गीत छन्‌। कम्तीमा पनि दुई/चार वटा गीत कण्ठ पार्ने कोसिस गर्न हामी तपाईंहरूलाई प्रोत्साहन दिन्छौं। यो पावलले एफिसी ५:१९ मा दिएको सल्लाहअनुरूप हो।—पढ्‌नुहोस्‌।

तपाईं आफ्नो कृतज्ञता देखाउन सक्नुहुन्छ

१७. मण्डलीमा गीत गाउँदा अरूले के भन्लान्‌ भन्‍ने डर हटाउन कुन कुरा विचार गर्न सक्छौं?

१७ यस्तो स्वरले गाउँदा अरूले के भन्लान्‌ भन्‍ने डरले गर्दा ख्रीष्टियान सभाहरूमा गीत नगाई बस्नु ठीक होला र? यो कुरा विचार गर्नुहोस्‌: आफ्नो बोलीको सन्दर्भमा के हामी ‘धेरै कुरामा चुक्‍तैनौं’ र? (याकू. ३:२) हामी बोल्नमा त्यति सिपालु छैनौं होला, तैपनि घर-घरमा गई यहोवाको प्रशंसा गर्नदेखि पछि हट्‌दैनौं। त्यसोभए हाम्रो स्वर सुरिलो छैन भन्दैमा परमेश्‍वरको स्तुतिगान नगाउने कुनै कारण छ त? “मानिसको मुख” बनाउने यहोवा हामीले उहाँको स्तुतिगान गाउन आफ्नो स्वर प्रयोग गरेको सुन्‍न पाउँदा रमाउनुहुन्छ।—प्रस्थ. ४:११.

१८. नयाँ गीतका बोलहरू याद गर्न थुप्रै भाइबहिनीलाई केले मदत गरेको छ?

१८ यहोवाको स्तुतिगान गाऔं—पियानोको साथमा (अङ्‌ग्रेजी) भन्‍ने सीडी-ले थुप्रै भाइबहिनीलाई नयाँ गीतहरू सिक्न मदत गरेको छ। यस्तो साङ्‌गीतिक धुन सुन्दा निकै आनन्द आउँछ। घरमा अक्सर यो सीडी बजाएर त्यस सँगसँगै आफ्नो गीतिपुस्तिका पनि हेर्नुभयो भने गीतको बोल याद हुनेछ अनि राज्यभवनमा ती गीतहरू ढुक्क भई गाउन सक्नुहुनेछ।

१९. राज्यगीतको लागि सामूहिक वाद्यधुन तयार पार्न के-के गर्नुपर्ने हुन्छ?

१९ हामीले विशेष सम्मेलन दिन, क्षेत्रीय सम्मेलन र जिल्ला अधिवेशनमा बजाइने धुनबारे त्यति ध्यान नदिएका हुन सक्छौं। यस्तो धुन रचना गर्न निकै तयारी गर्नुपर्ने हुन्छ। सङ्‌गीत छानिसकेपछि वाचटावर साङ्‌गीतिक वाद्यटोलीको ६४ सदस्यले त्यो धुन बजाउँछन्‌। तर त्यसअघि बडो होसियारीपूर्वक सुरताल राम्ररी मिलाइन्छ। अब यसलाई एकदमै राम्रो बनाउन सङ्‌गीतकारहरूले धेरै समय बिताउँछन्‌। त्यसपछि अभ्यास गरेर न्यु योर्कको प्याटर्सनस्थित स्टुडियोमा रेकर्ड गर्छन्‌। यस टोलीका दस जना भाइबहिनी अमेरिकामा बसोबास गर्दैनन्‌। तर हाम्रो ईश्‍वरतान्त्रिक समारोहको लागि सुन्दर सङ्‌गीत रचना गर्ने काममा भाग लिन पाउनुलाई सबैले आफ्नो सुअवसर ठान्छन्‌। तिनीहरूको मायालु प्रयासको लागि हामी कृतज्ञता देखाउन सक्छौं। सम्मेलन तथा अधिवेशनमा चेयरम्यानले हामीलाई आ-आफ्नो ठाउँमा बस्न आग्रह गर्दा तुरुन्तै बसिहालौं अनि हाम्रो लागि यत्तिको माया गरेर तयार पारिएको सङ्‌गीत शान्तपूर्वक सुनौं।

२०. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० यहोवा हाम्रो स्तुतिगानलाई याद गर्नुहुन्छ। ती उहाँको लागि महत्त्वपूर्ण छन्‌। त्यसैले उपासनाको लागि एकसाथ भेला हुँदा मनतनले स्तुतिगान गाएर उहाँको हृदयलाई आनन्दित बनाउन सक्छौं। चाहे हामी निपुण हौं वा सिकारु, “परमप्रभुको भजन” गाऔं!—भज. १०४:३३. (w10-E 12/15)

[फुटनोट]

a रोचक कुरा के छ भने दाऊदको मृत्यु भएको दस शताब्दीपछि स्वर्गदूतहरूले मसीहको जन्मबारे गोठालाहरूलाई घोषणा गरेका थिए र यी गोठालाहरूबेतलेहेम नजिकैको खेतमा भेडा चराइरहेका थिए।—लूका २:४, ८, १३, १४.

तपाईंको विचार कस्तो छ?

• हाम्रो उपासनामा सङ्‌गीतको महत्त्वपूर्ण भूमिका छ भनेर बाइबलकालीन कस्ता उदाहरणहरूले देखाउँछन्‌?

मत्ती २२:३७ मा लिपिबद्ध येशूको आज्ञा पालन गर्नु र मनतनले राज्यगीत गाउनुबीच तपाईं कस्तो सम्बन्ध देख्नुहुन्छ?

• राज्यगीतप्रति कृतज्ञता देखाउने केही तरिका के-के हुन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

के तपाईं आफ्ना छोराछोरीलाई गीत गाउने बेला बिनसित्ति आफ्नो ठाउँ छोडेर जानदेखि रोक्नुहुन्छ?

[पृष्ठ ३०-मा भएको चित्र]

के तपाईं घरमा नयाँ गीतका बोलहरू सिक्दै हुनुहुन्छ?