सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अदन—के यो साँच्चै मानिसजातिको घर थियो?

अदन—के यो साँच्चै मानिसजातिको घर थियो?

अदन—के यो साँच्चै मानिसजातिको घर थियो?

तपाईँ एउटा बगैँचामा भएको कल्पना गर्नुहोस्‌। त्यहाँ तपाईँलाई अलमल्याउने कुनै कुरा छैन। सहरको कोलाहल पनि सुनिदैन। त्यो बगैँचा ठूलो छ अनि त्यहाँ शान्ति भङ्‌ग हुने कुनै कुरा छैन। तपाईँ चिन्तामुक्‍त हुनुहुन्छ र पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ। तपाईँलाई कुनै किसिमको पीडा छैन। तपाईँ त्यस वातावरणमा रमाउँदै हुनुहुन्छ।

तपाईँ रङ्‌गीचङ्‌गी फूलहरू, कलकल बगिरहेको खोला, हराभरा पातपतिङ्‌गर र हरिया घाँसहरूको सुन्दर दृश्‍य देख्नुहुन्छ। तपाईँ मन्द हावा महसुस गर्नुहुन्छ र त्यसले छरेको सुगन्ध लिनुहुन्छ। तपाईँ हावाले लहराइरहेका पातहरूको, पत्थरमा ठोक्किएर छप्ल्याङछुप्लुङ गरिरहेको पानीको, चिरबिर गरिरहेका चराहरूको, अनि किराहरू चलहल गरेको आवाज सुन्‍नुहुन्छ। यस्तो ठाउँ कल्पना गर्दा के तपाईँलाई पनि त्यहीँ बसूँ-बसूँ लाग्दैन र?

त्यस्तै किसिमको ठाउँमा मानिसजातिको सुरुवात भएको थियो भनेर संसारभरिका थुप्रैले विश्‍वास गर्छन्‌। परमेश्‍वरले आदम र हव्वालाई अदनको बगैँचामा राख्नुभएको थियो भनेर यहुदी, ख्रिष्टियन र इस्लाम धर्म मान्‍नेहरूले शताब्दीयौँदेखि सिक्दै आएका छन्‌। तिनीहरू शान्तिमय र हाँसीखुसी अवस्थामा बाँचेका थिए र जनावरहरूसित पनि मिलेर बस्थे। परमेश्‍वरसित तिनीहरूको राम्रो सम्बन्ध थियो, जसले तिनीहरूलाई सधैँभरि त्यो सुन्दर वातावरणमा बस्ने आशा दिनुभएको थियो।—उत्पत्ति २:१५-२४.

हिन्दू धर्म मान्‍नेहरूको पनि प्राचीन समयको प्रमोदवनबारे आफ्नै विश्‍वास छ। बौद्ध धर्म मान्‍नेहरूले संसार यस्तै प्रमोदवन भएको बेलामा बुद्धहरूको उत्पत्ति भएको हो भनेर विश्‍वास गर्छन्‌। अफ्रिकाका थुप्रै धर्महरूले पनि आदम र हव्वासित मेल खाने कथाहरू सिकाउँछन्‌।

अझै भन्‍नुपर्दा, अहिलेका थुप्रै धर्म र प्रचलनहरूमा समेत प्रमोदवनको अस्तित्व थियो भन्‍ने कुराको छनक पाइन्छ। एक जना लेखकले यस्तो लेखे: “थुप्रैले प्रमोदवनमा मानिसहरू त्रुटिरहित थिए, स्वतन्त्रता, शान्ति र खुसी छाएको थियो अनि सबै कुरा प्रशस्तै थियो भन्‍ने कुरामा विश्‍वास गर्थे। त्यति मात्र होइन, तिनीहरू त्यतिबेला अन्याय, तनाव र झैझगडा थिएन भन्‍ने कुरामा पनि विश्‍वास गर्थे। . . . यही विश्‍वासको कारण मानिसहरूले पहिले गुमेको प्रमोदवनबारे चासो दिन थाले र त्यसलाई पुनर्स्थापित गर्न चाहे।”

के ती सबै कथा र प्रचलनहरू एउटै स्रोतबाट आएका हुन्‌? मानिसहरूले जुन कथाहरूमा “विश्‍वास गर्थे,” के ती वास्तविक घटनाहरूमा आधारित थिए? के अदनको बगैँचा, आदम र हव्वा साँच्चै अस्तित्वमा थिए?

आलोचकहरू यसलाई वाहियात ठान्छन्‌। अहिलेको वैज्ञानिक युगमा मानिसहरूले ती विवरणहरू केवल मिथ्या मात्र हो भन्ठान्छन्‌। अचम्मको कुरा, थुप्रै धर्मगुरुहरूसमेत अदनको बगैँचा अस्तित्वमा थियो भन्‍ने कुरामा विश्‍वास गर्दैनन्‌। तिनीहरू यी विवरण केवल मिथ्या, दन्त्यकथा र उदाहरण मात्र हुन्‌ भन्छन्‌।

हुनत हो, बाइबलमा थुप्रै उदाहरणहरू छन्‌। येसु आफैले तीमध्ये केही प्रचलित उदाहरणहरू बताउनुभएको थियो। तर बाइबलले अदनको बगैँचाको विवरण कुनै उदाहरण नभई एउटा वास्तविक इतिहास हो भनेर देखाउँछ। यदि त्यस विवरणमा भएको कुरा साँचो होइन भने बाइबलको बाँकी कुरामा कसरी भरोसा गर्न सकिन्छ र? आउनुहोस्‌, अदनको बगैँचाबारे कोही-कोही किन शङ्‌का गर्छन्‌ र तिनीहरूले दिने कारणहरू भरपर्दो छ कि छैन भनेर जाँचौँ। त्यसपछि त्यो विवरण हामी प्रत्येकको लागि किन महत्त्वपूर्ण छ भनेर पनि विचार गरौँ।