सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनले निराशाको बाबजुद धैर्य गरे

तिनले निराशाको बाबजुद धैर्य गरे

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

तिनले निराशाको बाबजुद धैर्य गरे

शमूएलले शीलोमा छाएको दुःख महसुस गर्न सक्थे। पूरै सहर आँसुमा चुर्लुम्मै डुबेको जस्तो देखिन्छ। आफ्नो बुबा, श्रीमान्‌, छोराहरू, र दाजुभाइहरू घर फर्कने छैनन्‌ भन्‍ने समाचार पाएपछि कति आइमाई र बच्चाहरू रोइरहेका थिए, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? हामीलाई केवल यति थाह छ, युद्धमा ४,००० मानिस गुमाएको केही समय नबित्दै पलिश्‍तीहरूसितको युद्धमा इस्राएलले लगभग ३०,००० सिपाही गुमाउनुपऱ्‍यो।—१ शमूएल ४:१, २, १०.

यी घटनाहरू त दुःखको सुरुवात मात्र थियो। प्रधान पुजारी एलीका दुई दुष्ट छोरा होप्नी र पीनहासले शीलोबाट पवित्र करारको सन्दूक ल्याएका थिए। प्रायजसो यो बहुमूल्य सन्दूक पालजस्तो मन्दिर अर्थात्‌ बासस्थानको महापवित्रस्थानमा राखिन्थ्यो। अनि यो सन्दूक परमेश्‍वरको उपस्थितिको चिन्ह थियो। करारको सन्दूकले जन्तरजस्तो काम गर्छ र हामीलाई विजयी तुल्याउँछ भन्‍ने मूर्खतापूर्ण सोचाइ राखेर इस्राएलीहरूले त्यसलाई युद्धमा लगे। तर पलिश्‍तीहरूले त्यो सन्दूक खोसे अनि होप्नी र पीनहास मारिए।—१ शमूएल ४:३-११.

करारको सन्दूक शीलोको बासस्थानमा भएकोले बासस्थानलाई शताब्दीयौंसम्म आदरको दृष्टिले हेरिन्थ्यो। तर अब भने अवस्था त्यस्तो रहेन। यो समाचार सुनेपछि ९८ वर्ष पुगेका एली आफ्नो आसनबाट पछिल्तिर लोटे अनि मरे। त्यही दिन विधवा भएकी एलीकी बुहारी सुत्केरी बेथाको कारण मरिन्‌। मर्नअघि उनले भनिन्‌: “इस्राएलबाट महिमा हरायो।” साँच्चै, शीलो त्यस दिनदेखि पहिलेजस्तो रहेन।—१ शमूएल ४:१२-२२.

शमूएलले यति ठूलो निराशाको सामना कसरी गर्ने थिए? के तिनीसित यहोवाको सुरक्षा अनि अनुमोदन गुमाएका मानिसहरूलाई मदत दिने चुनौतीको सामना गर्न सक्ने बलियो विश्‍वास थियो? आज हामी सबैले पनि कहिलेकाहीं विश्‍वासलाई चुनौती दिने कठिनाइ अनि निराशाको सामना गर्न सक्छौं। त्यसोभए शमूएलबाट हामी के सिक्न सक्छौं, अब हेरौं।

तिनले “परमेश्‍वरको स्तर स्थापित गरे”

बाइबल रेकर्डले शमूएललाई एकछिन छोडेर पवित्र सन्दूकतिर ध्यान केन्द्रित गर्छ। सन्दूक खोसेर लगेपछि पलिश्‍तीहरूले कस्तो दुःख भोग्नुपऱ्‍यो र त्यो फर्काउन तिनीहरू कसरी बाध्य भए, त्यसबारे उक्‍त रेकर्डले हामीलाई बताउँछ। बाइबलले फेरि शमूएलबारे बताउँदा करिब २० वर्ष बितिसकेको छ। (१ शमूएल ७:२) तिनले त्यत्तिका वर्ष के गरेर बिताए? यसबारे हामीलाई बाइबलले नै बताउँछ।

यो अवधि सुरु हुनुअघि “शमूएलको वचन इस्राएलभरि नै आयो [“आइरह्‍यो,” NW]” भनी हामीलाई बताइएको छ। (१ शमूएल ४:१, NRV) विवरण बताउँछ कि यो अवधि सिद्धिसकेपछि शमूएलले इस्राएलका तीन सहरमा भ्रमण गर्ने चलन सुरु गरे अनि यसरी हरेक वर्ष भ्रमण गर्दा तिनले विभिन्‍न मतभिन्‍नता सुल्झाउने र प्रश्‍नको जवाफ दिने गर्थे। त्यसपछि तिनी आफ्नो घर रामामा फर्कने गर्थे। (१ शमूएल ७:१५-१७) हो, शमूएल सधैं व्यस्त रहिरहन्थे र २० वर्षको समयावधिमा तिनले गर्नुपर्ने काम धेरै थियो।

एलीका छोराहरूको अनैतिकता र भ्रष्टताले गर्दा मानिसहरूको विश्‍वास कमजोर हुँदै गइरहेको थियो। त्यसकारण थुप्रै मानिस मूर्तिपूजामा फसेको जस्तो देखिन्छ। तथापि २० वर्ष अथक प्रयास गरेपछि शमूएलले मानिसहरूलाई यो सन्देश सुनाए: “यदि तिमीहरू आफ्ना पूरा मनले परमप्रभुतिर फर्कन्छौ भने तिमीहरूका पूजा-कोठाहरूबाट पराई देवताहरू र अश्‍तारोत देवीहरूलाई निकालिदेऊ, आफ्ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क औ उहाँको मात्र सेवा गर, र उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट मुक्‍त गर्नुहुनेछ।”—१ शमूएल ७:३.

“पलिश्‍तीहरूको हातबाट” मानिसहरूले धेरै अत्याचार भोगिरहेका थिए। इस्राएलका सिपाहीलाई सजिलै पराजित गरेपछि पलिश्‍तीहरूले परमेश्‍वरका जनमाथि खुलेर दमन गर्न थालेका थिए। तर यहोवातर्फ फर्किने हो भने परिस्थिति बद्‌लिनेछ भनेर शमूएलले तिनीहरूलाई आश्‍वस्त पारे। के तिनीहरू फर्कन इच्छुक थिए? शमूएल ज्यादै खुसी भए किनभने तिनीहरूले आ-आफ्नो मूर्तिहरू फ्याँके र “परमप्रभुको मात्र सेवा गर्न लागे।” शमूएलले यरूशलेमको उत्तरी पहाडमा रहेको सहर मिस्पामा मानिसहरूलाई भेला गरे। मानिसहरू एकसाथ भेला भए, उपवास बसे र मूर्तिपूजा गरेर थुप्रै पाप गऱ्‍यौं भनी पश्‍चात्ताप गरे।—१ शमूएल ७:४-६.

तथापि मानिसहरू एकसाथ भेला हुँदैछन्‌ भन्‍ने थाह पाएपछि पलिश्‍तीहरूले आक्रमण गर्ने मौका यही हो भन्ठाने। यहोवाका उपासकहरूलाई नाश गर्न तिनीहरूले आफ्नो सिपाहीहरू मिस्पा पठाए। इस्राएलीहरूले आउँदै गरेको खतराबारे सुने अनि डराउँदै तिनीहरूले आफ्नो लागि प्रार्थना गरिदिन शमूएललाई बिन्ती गरे। तिनले प्रार्थना गर्नुका साथै बलिदान पनि चढाए। त्यस पवित्र जमघटमा पलिश्‍ती सिपाहीहरू मिस्पाविरुद्ध जाइलागे। त्यसपछि यहोवाले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो। यहोवा रिसले गर्जनुभयो। उहाँ “पलिश्‍तीहरूको विरुद्धमा ठूलो सोरले धेरै बेरसम्म गर्जनुभयो।”—१ शमूएल ७:७-१०.

के हामी ती पलिश्‍तीहरूलाई चट्याङ पर्दा तर्सिएर आफ्नो आमाको पछाडि लुक्ने स-साना नानीहरूजस्तै ठान्‍न सक्छौं? कहाँ सक्नु, तिनीहरू त बहादुर सिपाहीहरू थिए अनि तिनीहरूको मन ढुङ्‌गाजस्तो साह्रो थियो। त्यसैले हामी भन्‍न सक्छौं, सायद तिनीहरूले यस्तो गर्जन पहिला कहिल्यै सुनेका थिएनन्‌। के त्यो “सोर” कानै खाने चर्को आवाज थियो? अथवा त्यो सोर सफा निलो आकाशबाट वा पहाडहरूबाट आएको प्रतिध्वनि थियो? कुरा जेसुकै भए पनि ती पलिश्‍तीहरू अलमलिए अनि तर्सिए। आक्रमण गर्न आएका ती पलिश्‍तीहरू आफै आक्रमणको सिकार भए। मिस्पाबाट इस्राएलीहरू ओइरिएर आए अनि तिनीहरूलाई हराए र यरूशलेमको दक्षिण-पश्‍चिमतिर कैयौं किलोमिटर टाढासम्म खेदे।—१ शमूएल ७:११.

त्यो युद्ध एउटा ऐतिहासिक मोड थियो। शमूएल न्यायकर्ता रहुन्जेल पलिश्‍तीहरूले इस्राएलीहरूलाई आक्रमण गरेनन्‌। एकपछि अर्को गर्दै थुप्रै सहरमाथि परमेश्‍वरका जनले कब्जा जमाए।—१ शमूएल ७:१३, १४.

कैयौं शताब्दीपछि प्रेषित पावलले शमूएललाई “परमेश्‍वरको स्तर स्थापित” गर्ने वफादार भविष्यवक्‍ता र न्यायकर्ताहरूको सूचीमा समावेश गरे। (हिब्रू ११:३२, ३३) हुन पनि परमेश्‍वरको नजरमा जे असल अनि सही छ, त्यसैअनुसार गर्न शमूएलले इस्राएलीहरूलाई मदत गरे। निराशाको बाबजुद वफादार भई आफ्नो काममा लागिरहेर यहोवाको बाटो हेरिरहेकोले तिनी सफल भए। साथै तिनले कृतज्ञ मनोभाव देखाए। मिस्पामा विजय हासिल गरेपछि यहोवाले आफ्ना जनलाई मदत गर्नुभएको कुरा सम्झिरहनको लागि शमूएलले एउटा स्मारक खडा गरे।—१ शमूएल ७:१२.

के तपाईं पनि “परमेश्‍वरको स्तर स्थापित” गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने शमूएलको धैर्य, नम्रता र कृतज्ञ मनोभावबाट सिक्नु बेस हुन्छ। हामीमध्ये कसलाई पो यी गुणहरू नचाहिएला र? शमूएलले सानैदेखि यस्ता गुणहरू सिकेको अनि देखाएकोले तिनको लागि राम्रो भयो किनभने आफ्नो जीवनकालको पछिल्लो समयमा तिनले ठूलो निराशाको सामना गर्नुपऱ्‍यो।

“तपाईंका छोराहरू तपाईंका चालमा हिंडदैनन्‌”

यतिबेला शमूएल “वृद्ध” भइसकेका छन्‌। तिनका दुई छोरा योएल र अबियाह पनि हुर्किसकेका छन्‌। तिनले आफ्ना छोराहरूलाई न्यायको काममा मदत गर्न जिम्मेवारी सुम्पेका छन्‌। तर दुःखको कुरा, तिनको भरोसा बेकार जान्छ। शमूएल इमानदार र परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिस भए तापनि तिनका छोराहरूले भने न्याय बिगारेर घूस लिन्छन्‌ र यसरी आफ्नो स्वार्थपूर्तिको लागि ओहदाको दुरुपयोग गर्छन्‌।—१ शमूएल ८:१-३.

एक दिनको कुरा हो, इस्राएलका बूढा-प्रधानहरू यी वृद्ध भविष्यवक्‍तासामु गुनासो गर्न आउँछन्‌। तिनीहरू भन्छन्‌: “तपाईंका छोराहरू तपाईंका चालमा हिंड्‌दैनन्‌।” (१ शमूएल ८:४, ५) के शमूएललाई यो कुरा पहिल्यै थाह थियो? विवरणले यसबारे केही बताउँदैन। तथापि पक्कै पनि एलीलाई जस्तै शमूएललाई दोष लगाउने ठाउँ छैन। खराब काम गरे तापनि आफ्ना छोराहरूलाई नसच्याएकोले र यहोवालाई भन्दा छोराहरूलाई बढी सम्मान गरेकाले परमेश्‍वरले एलीलाई हप्काउनुभयो अनि सजाय दिनुभयो। (१ शमूएल २:२७-२९, NRV) यहोवाले यस्तो गल्ती शमूएलमा कहिल्यै भेट्टाउनुभएन।

आफ्ना छोराहरूको दुष्ट चालचलनबारे थाह पाएपछि शमूएलले महसुस गरेको लज्जा, चिन्ता वा निराशाबारे विवरणले बताएको छैन। तथापि तिनले कस्तो महसुस गरे होलान्‌ भन्‍ने कुरा त्यस्तै परिस्थितिमा परेका थुप्रै आमाबाबुले राम्ररी बुझ्न सक्छन्‌। अन्धकार छाएको आजको समयमा आमाबाबुको अख्तियार र अनुशासनको विद्रोह गर्ने मनोभाव जताततै फैलिएको छ। (२ तिमोथी ३:१-५) यस्तै प्रकारको भावनात्मक पीडा भोगिरहेका आमाबाबुहरूले शमूएलको उदाहरणबाट केही हदसम्म सान्त्वना र डोऱ्‍याइ पाउन सक्छन्‌। आफ्ना छोराहरू वफादार नरहे तापनि तिनले आफ्नो विश्‍वास अलिकता पनि ढलपल हुन दिएनन्‌। याद गर्नुहोस्‌, आमाबाबुले जति सम्झाइ-बुझाइ गर्दा अनि अनुशासन दिंदा समेत छोराछोरीले टेरेनन्‌ भने पनि आमाबाबुको उदाहरणले तिनीहरूको मन छुन सक्छ। अनि शमूएलसित जस्तै आजका आमाबाबुहरूसित पनि आफ्नो बुबा यहोवा परमेश्‍वरलाई गर्व महसुस गराउने मौका हरबखत छ।

“हामीमाथि . . . एउटा राजा नियुक्‍त गरिदिनुहोस्‌”

आफ्नो लोभ अनि स्वार्थले कत्तिसम्म असर पार्न सक्छ भनेर शमूएलका छोराहरूले कल्पना पनि गरेका थिएनन्‌। इस्राएलका बूढा-प्रधानहरूले शमूएललाई भन्‍न लागे: “अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एउटा राजा नियुक्‍त गरिदिनुहोस्‌।” के यस्तो माग सुन्दा शमूएललाई आफूलाई तिरस्कार गरेझैं लाग्यो? जे भए पनि तिनले यहोवाको तर्फबाट दशकौंसम्म ती मानिसहरूको न्याय गर्ने काम गरिरहेका थिए। तर अब भने तिनीहरूले शमूएलजस्तै भविष्यवक्‍ता मात्र होइन तर आफ्नो न्याय गर्न एक जना राजा चाहे। तिनीहरूको छिमेकी राष्ट्रहरूमा राजाहरू भएकोले इस्राएलीहरूले पनि त्यस्तै राजा चाहे! शमूएलले कस्तो प्रतिक्रिया देखाए? विवरण भन्छ, तिनी “दुःखी भए।”—१ शमूएल ८:५, ६.

यस विषयमा शमूएलले प्रार्थना गर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गर्नुहोस्‌: “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्‌। तिनीहरूले ता मलाईनै इन्कार गरेका हुन्‌, मलाईनै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्‌।” हुनत मानिसहरूले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको घोर अपमान गरेका थिए तैपनि यो कुरा सुनेर शमूएलले कत्ति सान्त्वना पाएको हुनुपर्छ! मानव राजाले इस्राएलीहरूमाथि शासन गर्न थालेपछि तिनीहरूले कत्ति ठूलो मोल चुकाउनुपर्नेछ भनी चेतावनी दिन यहोवाले आफ्नो भविष्यवक्‍तालाई आज्ञा दिनुभयो। यहोवाको आज्ञाअनुसारै शमूएलले चेतावनी दिए तापनि तिनीहरूले यस्तो जिद्दी गरिरहे: “होइन, हामीमाथि राजा हुनैपर्छ।” आफ्नो परमेश्‍वरको सधैं आज्ञा पालन गर्ने शमूएलले यहोवाले चुन्‍नुभएका राजालाई अभिषेक गरे।—१ शमूएल ८:७-१९.

तर शमूएलले कसरी आज्ञा पालन गरे? द्वेष राखेर झारा टार्ने हिसाबले मात्र गरे कि? के तिनले निराशाको कारण आफ्नो मन भाँचिन र मनमा तीतोपनले जरा गाड्‌न दिए? त्यस्तो परिस्थितिमा थुप्रै मानिसले त्यसै गर्लान्‌ तर शमूएलले भने त्यसो गरेनन्‌। तिनले शाऊललाई अभिषेक गरे र उनलाई यहोवा आफैले रोज्नुभएको हो भनेर स्वीकारे। नयाँ राजालाई स्वागत गरेको र उनको अधीनमा रहेको देखाउन तिनले शाऊललाई चुम्बन गरे। अनि तिनले मानिसहरूलाई यसो भने: “परमप्रभुले चुन्‍नुभएको मानिसलाई हेर! यो जम्मै जातिमा तिनीजस्तै अरू कोही छैन।”—१ शमूएल १०:१, २४.

यहोवाले चुन्‍नुभएको मानिसको कमीकमजोरीमा होइन बरु उनमा भएको असल कुरामा शमूएलले ध्यान केन्द्रित गरे। तिनको आफ्नै कुरा गर्ने हो भने पनि मन बदलिरहने मानिसहरूको अनुमोदन पाउन नभई परमेश्‍वरको अनुमोदन पाउन आफूले बसालेको सत्यनिष्ठाको उदाहरणमा ध्यान केन्द्रित गरे। (१ शमूएल १२:१-४) साथै परमेश्‍वरसितको सम्बन्ध बिर्गान सक्ने खतराहरूदेखि जोगिन परमेश्‍वरका जनलाई सल्लाह दिने र उनीहरूलाई यहोवाप्रति वफादार रहिरहन प्रोत्साहन दिने आफ्नो जिम्मेवारी तिनले वफादार भई पूरा गरे। तिनको सल्लाहले मानिसहरूको मन छोयो र उनीहरूले शमूएललाई आफ्नो खातिर प्रार्थना गरिदिन बिन्ती गरे। तिनले उनीहरूलाई यस्तो मीठो जवाफ दिए: “तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिं कहिले नआओस्‌। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु।”—१ शमूएल १२:२१-२४.

कसैलाई खास जिम्मेवारी वा सुअवसर दिइँदा के तपाईंले कहिल्यै निराश महसुस गर्नुभएको छ? कहिल्यै पनि ईर्ष्याले नजल्न वा मनमा तीतोपनले जरा गाड्‌न नदिन शमूएलको उदाहरण हाम्रो लागि एउटा सशक्‍त सम्झौटो हो। परमेश्‍वरले आफ्ना प्रत्येक वफादार सेवकहरूलाई इनामदायी र सन्तोषजनक काम प्रशस्त मात्रामा दिन सक्नुहुन्छ।

“तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्‌?”

शमूएलले शाऊलमा भएको असल कुरा देख्नु जायज थियो किनभने उनी उल्लेखनीय व्यक्‍ति नै थिए। उनी अग्ला र प्रभावशाली देखिन्थे, साहसी र चलाख थिए तैपनि सुरु-सुरुमा उनी नम्र थिए। (१ शमूएल १०:२२, २३, २७) यस्ता वरदानहरूका साथै उनीसित अर्को एउटा बहुमूल्य वरदान पनि थियो, त्यो हो—स्वतन्त्र इच्छा। अनि यो वरदानको प्रयोग गरेर उनले आफ्नो जीवनमा कस्तो मार्ग रोज्ने र कस्तो निर्णय गर्ने भनी छनोट गर्न सक्थे। (व्यवस्था ३०:१९) के उनले त्यो वरदानको सदुपयोग गरे?

दुःखको कुरा, मानिसको हातमा शक्‍ति आउँदा त्यस शक्‍तिको रापले सबैभन्दा पहिला उसको नम्रतालाई पगाल्छ। केही समय नबित्दै शाऊल अहङ्‌कारी हुन थाले। यहोवाले शमूएलमार्फत दिनुभएका आज्ञाहरू पालन नगर्ने छनोट उनले गरे। एक चोटिको कुरा हो, शाऊल अधीर भए अनि शमूएलले मात्र चढाउनुपर्ने बलिदान आफैले चढाए। शमूएलले शाऊललाई कडा हप्की दिनै पर्ने भयो र शासन गर्ने अधिकार उनको घरानाबाट खोसिनेछ भनी भविष्यवाणी गरे। आफूले पाएको अनुशासनबाट पाठ सिक्नुको सट्टा शाऊल झन्‌-झन्‌ अनाज्ञाकारी हुँदै गए।—१ शमूएल १३:८, ९, १३, १४.

अमालेकीहरूविरुद्ध आक्रमण गर्न यहोवाले शमूएलमार्फत शाऊललाई भन्‍नुभयो। यहोवाले दिनुभएको निर्देशनमा अमालेकीहरूका दुष्ट राजा अगागलाई नाश गर्ने आज्ञा पनि समावेश थियो। तथापि शाऊलले अगागलाई जिउँदै राखे र नाश गर्नुपर्ने लुटका असल-असल मालहरू पनि जोगाइराखे। शमूएल शाऊललाई सच्याउन आउँदा उनी कत्ति परिवर्तन भइसकेका थिए भनी उनले देखाए। नम्रतापूर्वक सुधार स्वीकार्नुको सट्टा उनले तर्कवितर्क गरे, बहाना बनाए, सफाइ दिए, कुरा मोड्‌न खोजे र आफ्नो गल्तीको दोष मानिसहरूमाथि थोपर्न खोजे। लुटका केही माल यहोवालाई बलिदान चढाउन जोगाइराखेको हो भनी तर्क गर्दै शाऊलले आफूले पाएको अनुशासनलाई हल्कासित लिन खोज्दा शमूएलले यी चिरपरिचित शब्दहरू भने: “आज्ञापालन बलिदानभन्दा उत्तम हो।” साहसी भएर शमूएलले उनलाई हप्काए र यहोवाको यस्तो निर्णय सुनाए: शाऊलबाट उसको राज्य खोसिनेछ र उनीभन्दा असल मानिसलाई दिइनेछ।—१ शमूएल १५:१-३३.

शाऊलको असफलतामा शमूएल ज्यादै निराश भए। त्यस विषयमा तिनले रातभरि यहोवालाई पुकारा गरिरहे। अनि त्यस मानिसको लागि शोक गरे। शमूएलले शाऊलमा धेरै योग्यता र असल गुण देखेका थिए तर तिनको आशा चकनाचूर भयो। कुनै बेला तिनले चिनेका मानिस अहिले परिवर्तन भइसकेका थिए। उनका असल गुणहरू हराइसकेका थिए र यहोवाविरुद्ध चल्न थालेका थिए। अब उप्रान्त शमूएलले शाऊललाई कहिल्यै भेट्‌न चाहेनन्‌। तथापि समयमा यहोवाले शमूएलको दृष्टिकोणलाई दयालुपूर्वक सच्याउनुभयो: “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्‌? तँसित भएको त्यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेतलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु।”—१ शमूएल १५:३४, ३५; १६:१.

यहोवाको उद्देश्‍य सधैं वफादार नरहने त्रुटिपूर्ण मानिसहरूमा निर्भर छैन। एक जना व्यक्‍ति अवफादार भयो भने यहोवाले आफ्नो इच्छा पूरा गर्न अर्को व्यक्‍ति खोज्नुहुन्छ। त्यसैले वृद्ध शमूएल शाऊलको लागि शोक गर्न छोड्‌छन्‌। यहोवाको निर्देशन पाएपछि शमूएल बेतलेहेममा यिशैको घर जान्छन्‌, जहाँ तिनले यिशैका केही छोरालाई भेट्‌छन्‌ र तिनीहरू हेर्दैमा खाइलाग्दा देखिन्थे। तर यहोवाले सुरुमै शमूएललाई सम्झाउनुहुन्छ: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। . . . परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:७) अन्ततः यहोवाले रोज्नुभएको यिशैका कान्छो छोरालाई शमूएलले भेट्‌छन्‌। तिनी को हुन्‌? दाऊद!

शाऊलको ठाउँमा दाऊदलाई राजा नियुक्‍त गर्ने यहोवाको निर्णय सही थियो भनेर शमूएलले आफ्नो जीवनको अन्तिम वर्षहरूमा अझ प्रस्टै देखे। शाऊलले आफूमा डाह बढ्‌न दिए, जसले गर्दा उनले दाऊदलाई मार्न चाहे र उनी धर्मत्यागी पनि भए। तर दाऊदले भने साहस, सत्यनिष्ठा, विश्‍वास र वफादारीजस्ता मनमोहक गुणहरू देखाए। शमूएलको जीवनको अन्ततिर तिनको विश्‍वास झनै बलियो हुँदै गयो। यहोवाले सच्याउनै नसक्ने अथवा आशिष्‌मा परिवर्तन गर्नै नसक्ने त्यस्तो कुनै पनि किसिमको समस्या वा परिस्थिति छैन भनी तिनले देखे। अन्ततः लगभग एक सय वर्षमा आफ्नो मृत्यु हुँदा शमूएलले अत्यन्तै उल्लेखनीय उदाहरण बसालिसकेका थिए। त्यसैले यी वफादार मानिसलाई गुमाउनु पर्दा सारा इस्राएल शोकित हुनु कुनै अचम्मको कुरा होइन। आज यहोवाका सेवकहरूले आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ, ‘के म शमूएलको विश्‍वासको अनुकरण गर्नेछु?’ ( w11 -E 01/01)

[पृष्ठ १७-मा भएको चित्र]

आफ्ना मानिसहरूले भोगेको ठूलो क्षति र निराशाको सामना गर्न शमूएलले तिनीहरूलाई कसरी मदत गर्न सक्थे?

[पृष्ठ १८-मा भएको चित्र]

आफ्ना छोराहरू खराब मार्गमा चल्दा शमूएलले निराशाको सामना कसरी गरे?