सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंका छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌

तपाईंका छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌

तपाईंका छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌

एउटा नेपाली उखान यसो भन्छ: “आफू भलो त जगत्‌ भलो।” यस उखानको अर्थ, मानिसहरू असल बानी भएको व्यक्‍तिप्रति दयालु हुन चाहन्छन्‌ र त्यस्तो व्यक्‍तिसँग सङ्‌गत गर्न इच्छुक हुन्छन्‌।

साना केटाकेटीले असल बानी देखाएको हेर्न पाउनु कत्ति मनोहर कुरा! विभिन्‍न उमेरका प्रकाशकहरूसँग घर-घरको प्रचारकार्यमा भाग लिने होण्डुरसका एक जना क्षेत्रीय निरीक्षक यसो भन्छन्‌, “मैले भनेको कुराले भन्दा असल बानी भएको र अरूको आदर गर्ने बालक देख्दा घरधनीको मनमा अक्सर गहिरो छाप पर्दो रहेछ।”

अरूको अनादर गर्ने अहिलेको जमानामा अरूसित कसरी व्यवहार गर्ने भनेर थाह पाउनु व्यावहारिक र लाभदायी हुन्छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण, धर्मशास्त्रले हामीलाई “ख्रीष्टसित सम्बन्धित सुसमाचारको योग्य जीवन बिताओ” भनी सल्लाह दिन्छ। (फिलि. १:२७; २ तिमो. ३:१-५) त्यसैले हाम्रा छोराछोरीलाई अरूको आदर गर्न सिकाउनु अत्यावश्‍यक छ। उनीहरूलाई देखावटी रूपमा मात्र भलादमी हुन होइन तर अरूको साँच्चै आदर गर्न कसरी सिकाउन सकिन्छ?  a

असल उदाहरणबाट राम्रो बानी सिकाउनुहोस्‌

अरूले जे गरेको देख्छन्‌, केटाकेटीले त्यसैको नक्कल गर्छन्‌। त्यसैकारण आमाबाबुले छोराछोरीको मनमा असल बानी ठप्प बसाल्ने एउटा मुख्य तरिका आफैले असल बानी बसाल्नु हो। (व्यव. ६:६, ७) छोराछोरीसँग शिष्टताबारे कुराकानी गर्नु महत्त्वपूर्ण छ तर त्यति गरेर मात्र पुग्दैन। उनीहरूलाई सम्झाउनुका साथसाथै आफैले असल उदाहरण बसाल्नु एकदमै आवश्‍यक छ।

पलाको  b उदाहरण विचार गर्नुहोस्‌। उनी एक्ली आमा मात्र भएको ख्रीष्टियन परिवारमा हुर्केकी थिइन्‌। सबैलाई आदर देखाउनु उनको जीवनको हिस्सा नै भयो। किन? उनी भन्छिन्‌, “आमाको उदाहरणले गर्दा हामीले स्वतः अरूको आदर गर्न सिक्यौं।” वल्टर नामका ख्रीष्टियनले आफ्ना छोराहरूलाई गैर-साक्षी आमाको आदर गर्न सिकाए। तिनी भन्छन्‌, “मैले आफ्नी पत्नीलाई कहिल्यै पनि होच्याएर बोलिनँ। यसरी आफ्नो उदाहरणबाट मैले छोराहरूलाई आमाको आदर गर्न सिकाउने प्रयास गरें।” वल्टरले आफ्ना छोराहरूलाई परमेश्‍वरको वचनबाट सिकाइरहे र मदतको लागि यहोवासित प्रार्थना गरे। अहिले वल्टरका एक जना छोरा यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्छन्‌ भने अर्कोले चाहिं अग्रगामी सेवा गर्दैछन्‌। तिनका छोराहरू आमा र बुबा दुवैलाई प्रेम तथा आदर गर्छन्‌।

बाइबल यसो भन्छ: “परमेश्‍वर गोलमालका परमेश्‍वर होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।” (१ कोरि. १४:३३) यहोवा सबै कुरा व्यवस्थित ढङ्‌गमा गर्नुहुन्छ। ख्रीष्टियनहरूले यस ईश्‍वरीय गुणको अनुकरण गर्ने प्रयास गर्नुपर्छ र घरमा सबै कुरा चिटिक्क राख्नुपर्छ। केही आमाबाबुले आफ्ना छोराछोरीलाई स्कूल जानुअघि दिन-दिनै आफ्नो ओछ्यान मिलाउन, लुगाफाटा ठीक ठाउँमा राख्न अनि घरधन्दामा सघाउन सिकाएका छन्‌। घरको अरू ठाउँ चिटिक्क मिलेको र सफा देखेमा केटाकेटीहरू आफ्नो कोठा र सर-सामान पनि चिटिक्क राख्न उत्प्रेरित हुन्छन्‌।

तपाईंका छोराछोरीले स्कूलमा सिकिरहेको कुराप्रति कस्तो दृष्टिकोण राख्छन्‌? शिक्षकले तिनीहरूका निम्ति गरिरहेको कुराप्रति के तिनीहरू कृतज्ञता व्यक्‍त गर्छन्‌? आमा वा बुबाको रूपमा के तपाईं त्यस्तो कृतज्ञता व्यक्‍त गर्नुहुन्छ? छोराछोरीको स्कूलको कामप्रति अनि शिक्षकहरूप्रति तपाईंले जस्तो मनोवृत्ति देखाउनुहुन्छ, तपाईंका छोराछोरीले पनि त्यस्तै मनोवृत्ति देखाउनेछन्‌। तिनीहरूलाई आफ्ना शिक्षकहरूलाई धन्यवाद दिने बानी बसाल्न प्रोत्साहन दिनुभए कसो होला? चाहे शिक्षक, डाक्टर, पसले वा अरू जो कोही होस्‌, तिनीहरूले गरेको सेवाको लागि कृतज्ञता व्यक्‍त गर्नु तिनीहरूलाई आदर देखाउने सबैभन्दा उत्तम तरिका हो। (लूका १७:१५, १६) शिष्टता र असल आचरणको कारण स्कूलका अरू साथीहरूभन्दा भिन्‍नै देखिने ख्रीष्टियन केटाकेटी प्रशंसाका योग्य छन्‌।

असल बानी देखाउने सन्दर्भमा ख्रीष्टियन मण्डलीका सदस्यहरूले राम्रो उदाहरण बसाल्नुपर्छ। मण्डलीसँग सङ्‌गत गर्ने जवान व्यक्‍तिहरूले “कृपया” अनि “धन्यवाद” भनेर असल बानी देखाएको हेर्न पाउनु कत्ति राम्रो कुरा! वयस्कहरूले सभामा दिइने निर्देशनलाई ध्यान दिई सुनेर यहोवाप्रति आदर देखाउँदा केटाकेटी पनि उनीहरूको अनुकरण गर्न उत्प्रेरित हुन्छन्‌। राज्यभवनमा ख्रीष्टियन भाइबहिनीको राम्रो उदाहरण हेरेर केटाकेटीले आफ्ना छिमेकीहरूको आदर गर्न सिक्न सक्छन्‌। उदाहरणको लागि, चार वर्षीय एन्ड्रुले ठूलो मान्छेको बीचबाट जानुपर्दा “म जाऊँ है!” भन्‍न सिकिसकेका छन्‌।

केटाकेटीहरूबाट आशा गरिने उचित आचरणबारे सिकाउन आमाबाबुले अरू के गर्न सक्छन्‌? परमेश्‍वरको वचनमा पाइने थुप्रै उदाहरणबाट सिक्न सकिने पाठबारे आफ्ना छोराछोरीलाई बताउन आमाबाबुले समय निकाल्न सक्छन्‌ र यसो गर्न समय निकाल्नु पनि पर्छ।—रोमी १५:४.

बाइबल पात्रहरूका उदाहरणबाट सिकाउनुहोस्‌

शमूएललाई प्रधान पुजारी एलीको सामु निहुरिन उनकी आमाले सिकाएकी हुनुपर्छ। तिनले शमूएललाई बासस्थानमा लैजाँदा शमूएल तीन वा चार वर्ष मात्र पुगेको हुनुपर्छ। (१ शमू. १:२८) तपाईं आफ्ना साना छोराछोरीसँग यस्ता अभिवादन पूर्वाभ्यास गर्न सक्नुहुन्छ: “नमस्ते,” “सन्चै हुनुहुन्छ?” अथवा तपाईंको इलाकामा चलनचल्तीको अन्य अभिवादन पूर्वाभ्यास गर्न सक्नुहुन्छ। बालक शमूएलजस्तै तपाईंका साना छोराछोरी पनि “परमप्रभु र मानिसहरूका प्रशंसाका पात्र” बन्‍न सक्छन्‌।—१ शमू. २:२६.

आदर र अनादरबीचको भिन्‍नता प्रस्ट पार्न बाइबल विवरणहरू प्रयोग गर्नुभए कसो होला? उदाहरणको लागि, इस्राएलका अविश्‍वासी राजा अहज्याह भविष्यवक्‍ता एलियालाई भेट्‌न चाहन्थे। त्यसैले एलियालाई बोलाउन राजाले “पचासको दलका कप्तानलाई तिनका दलसहित” पठाए। कप्तानले ती भविष्यवक्‍तालाई आफूसँगै आउन हुकुम गरे। तर परमेश्‍वरका प्रतिनिधिसँग कुरा गर्ने तरिका यो थिएन। एलियाले कस्तो जवाफ दिए? तिनले भने, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो झरेर तिमी र तिम्रो दललाई भस्म गरोस्‌।” नभन्दै त्यस्तै भयो। “साँच्चिनै स्वर्गबाट आगो झरेर ती कप्तान र तिनका पचास जनालाई भस्म गऱ्‍यो।”—२ राजा १:९, १०.

त्यसपछि एलियालाई बोलाउन पचासको दलका दोस्रो कप्तान पठाइए। तिनले पनि एलियालाई आफूसँगै आउन हुकुम गरे। यसपटक पनि स्वर्गबाट आगो वर्षियो। त्यसपछि पचासको दलका तेस्रो कप्तान एलियाकहाँ आए। यस कप्तानले भने आदर देखाए। एलियालाई हुकुम गर्नुको सट्टा तिनले घुँडा टेकेर यस्तो बिन्ती गरे, “हे परमेश्‍वरका जन, म र तपाईंका यी पचास जना सेवकहरूका प्राण तपाईंको दृष्टिमा केही मूल्यका ठहरिऊन्‌। स्वर्गबाट आगो वर्षेर ती अघिका दुई कप्तान र तिनीहरूका दललाई भस्म पाऱ्‍यो, तर मेरो प्राण तपाईंको दृष्टिमा केही मूल्यको ठहरिओस्‌।” डराए तापनि यसरी आदर देखाएर कुरा गर्ने व्यक्‍तिलाई के परमेश्‍वरको भविष्यवक्‍ताले स्वर्गबाट आगो वर्षाएर भस्म पार्नेथिए र? यो त सोच्नै नसकिने कुरा थियो! बरु यहोवाका स्वर्गदूतले एलियालाई ती कप्तानसितै जान भने। (२ राजा १:११-१५) के यसले आदर देखाउनुपर्ने महत्त्वलाई जोड दिंदैन र?

रोमी सिपाहीहरूले प्रेषित पावललाई मन्दिरबाट पक्रेर लैजाँदा तिनले आफूसित बोल्ने अधिकार छ भन्‍ने सोचेनन्‌। तिनले आदर देखाउँदै कप्तानलाई यसरी सोधे: “के म तपाईंलाई केही भन्‍न सक्छु?” फलस्वरूप पावललाई आफ्नो प्रतिवाद गर्ने अनुमति दिइयो।—प्रेषि. २१:३७-४०.

येशूको पुर्पक्ष गरिंदा उहाँलाई मुखमा थप्पड हिर्काइयो। तर विरोध जनाउने सही तरिका उहाँलाई थाह थियो। उहाँले भन्‍नुभयो: “यदि मैले गलत कुरा गरेको हो भने मेरो गल्ती देखाइदेऊ; यदि ठीक कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” येशूले बोल्नुभएको तरिकामा कसैले कुनै गल्ती भेट्टाउन सकेन।—यूह. १८:२२, २३.

कडासित सच्याउँदा हामी कस्तो प्रतिक्रिया देखाउन सक्छौं र विगतमा गरेको गल्ती वा लापरवाहीलाई कसरी आदरपूर्वक स्वीकार्न सक्छौं, परमेश्‍वरको वचनमा त्यससम्बन्धी उदाहरणहरू पनि पाइन्छन्‌। (उत्प. ४१:९-१३; प्रेषि. ८:२०-२४) उदाहरणको लागि, आफ्नो पति नाबालले दाऊदसित गरेको अपमानजनक व्यवहारको लागि अबिगेलले क्षमा मागिन्‌। क्षमा माग्नुको साथै तिनले दाऊदलाई प्रशस्त खानेकुरा पनि दिइन्‌। अबिगेलको कार्यप्रति दाऊद यत्ति प्रभावित भए कि उनले नाबालको मृत्युपछि अबिगेललाई आफ्नी पत्नी बनाए।—१ शमू. २५:२३-४१.

कठिन अवस्थामा आदर देखाउने कुरा होस्‌ या असल बानीबेहोरा देखाउने मात्र किन नहोस्‌, तपाईंका छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌। ‘यसरी मानिसहरूसामु आफ्नो ज्योति चम्काउँदा स्वर्गमा बस्नुहुने हाम्रा बुबाको महिमा हुन्छ।’—मत्ती ५:१६.

[फुटनोटहरू]

a आमाबाबुले आफ्ना छोराछोरीलाई वयस्कहरूको आदर गर्नु र खराब नियत भएका मानिसहरूको कुरा मान्‍नुबीचको भिन्‍नता बुझ्न मदत गर्नु नितान्त आवश्‍यक छ। पारिवारिक आनन्द पुस्तकको पृष्ठ ६१, अनुच्छेद २४-२६ हेर्नुहोस्‌।

b केही नाम परिवर्तन गरिएका छन्‌।