सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आज्ञापालन बलिदानभन्दा उत्तम हो”

“आज्ञापालन बलिदानभन्दा उत्तम हो”

“आज्ञापालन बलिदानभन्दा उत्तम हो”

प्राचीन इस्राएलको पहिलो राजा शाऊल थिए। साँचो परमेश्‍वरले नै राजाको रूपमा छानेको भए तापनि तिनी पछि गएर अनाज्ञाकारी बने।

शाऊलले कस्ता गल्ती गरे? के तिनले ती गल्ती नगर्न पनि सक्थे? तिनको उदाहरण विचार गरेर हामी के सिक्न सक्छौं?

आफूले राजा बनाउन छानेको व्यक्‍तिलाई यहोवा चिनाउनुहुन्छ

शाऊल राजा हुनुअघि इस्राएलमा परमेश्‍वरको प्रतिनिधिको रूपमा भविष्यवक्‍ता शमूएलले सेवा गर्दै थिए। अब शमूएल वृद्ध भइसकेका थिए र तिनका छोराहरू अविश्‍वासी भए। त्यसै समयताका इस्राएल राष्ट्रलाई शत्रुहरूले धम्की दिंदै थिए। इस्राएलका बूढा-प्रधानहरूले आफूहरूमाथि शासन गर्ने र लडाइँमा नेतृत्व लिने राजा नियुक्‍त गर्न शमूएललाई आग्रह गरे। फलस्वरूप तिनीहरूको नेताको रूपमा शाऊललाई अभिषेक गर्न यहोवाले भविष्यवक्‍ता शमूएललाई निर्देशन दिनुभयो। साथै उहाँले यसो भन्‍नुभयो: “त्यसले मेरो प्रजालाई पलिश्‍तीहरूको हातबाट छुटाउनेछ।”—१ शमू. ८:४-७, २०; ९:१६.

शाऊल ‘जवान र सुन्दर’ थिए। तर तिनको बाहिरी रूपको आधारमा मात्र तिनलाई नियुक्‍त गर्न लागिएको थिएन। तिनी नम्र पनि थिए। उदाहरणको लागि, शाऊलले शमूएललाई सोधे: “म ता इस्राएलका कुलहरूको सबैभन्दा सानो एक बिन्यामिनी हुँ। औ बिन्यामीनका कुलका परिवारहरूमध्ये मेरो घराना सबैभन्दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्‍नुहुन्छ?” शाऊलका बुबा कीश “धन-सम्पत्ति भएका मानिस” भए तापनि शाऊल आफू र आफ्नो परिवारबारे धाक लगाउँदैनथे।—१ शमू. ९:१, २, २१.

इस्राएलको राजा बन्‍न यहोवाले छान्‍नुभएको व्यक्‍तिलाई शमूएलले जनसमुदायसामु चिनाउँदा शाऊलले देखाएको प्रतिक्रियालाई पनि विचार गर्नुहोस्‌। सुरुमा, शमूएलले शाऊल एक्लै छँदा तिनलाई अभिषेक गरे र यसो भने: “समयानुकुल काम गर्नुहोस्‌। परमेश्‍वर तपाईंसँग हुनुहुनेछ।” त्यसपछि, यहोवाले छान्‍नुभएको व्यक्‍तिलाई सार्वजनिक गर्न यी भविष्यवक्‍ताले मानिसहरूलाई बोलाए। परमेश्‍वरले छान्‍नुभएको व्यक्‍ति शाऊल हो भनेर प्रकट भयो तर तिनलाई भेट्टाउन सकिएन। लजालु शाऊल लुकिरहेका थिए। यहोवाले तिनी कहाँ छन्‌ भनेर बताउनुभयो र शाऊल राजा घोषित भए।—१ शमू. १०:७, २०-२४.

रणभूमिमा

शाऊलको योग्यतामा शङ्‌का गर्नेहरूलाई चाँडै तिनले गलत साबित गरिदिए। अम्मोनीहरूले एउटा इस्राएली सहरलाई धम्क्याउँदा ‘परमप्रभुको आत्मा झट्टै शाऊलमाथि आयो।’ तिनले अख्तियारसाथ इस्राएल राष्ट्रका लडाकुहरूलाई बोलाए, तिनीहरूलाई व्यवस्थित गरे र विजयी तुल्याए। तर शाऊलले उक्‍त विजयको श्रेय यहोवालाई दिंदै यसो भने: ‘परमप्रभुले इस्राएलमा यस्तो विजय गराउनुभयो।’—१ शमू. ११:१-१३.

शाऊलसित असल गुणहरू र परमेश्‍वरको आशिष्‌ थियो। तिनले यहोवाको शक्‍ति पनि मानिलिए। तथापि, इस्राएलीहरू र तिनीहरूका राजाले हासिल गरेको एकपछि अर्को सफलता एउटा महत्त्वपूर्ण कुरामा निर्भर थियो। शमूएलले इस्राएलीहरूलाई भने: “यदि तिमीहरूले परमप्रभुलाई श्रद्धा गऱ्‍यौ, र सत्यता र भक्‍तिसित उहाँको सेवा गऱ्‍यौ भने, यदि तिमीहरू उहाँका आज्ञाको विरुद्धमा बागी भएनौ भने, औ यदि तिमीहरू र तिमीहरूका राजा, परमप्रभु परमेश्‍वरप्रति विश्‍वासी भयौ भने बेसै हो।” परमेश्‍वरप्रति विश्‍वासी भइरहेमा इस्राएलीहरू कुन कुरामा विश्‍वस्त हुन सक्थे? शमूएलले बताए: “आफ्नो नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउने निश्‍चय गर्नुभएको छ।”—१ शमू. १२:१४, २२.

परमेश्‍वरको अनुमोदन पाउन आज्ञाकारी हुनै पर्थ्यो र आज पनि त्यस्तै हो। यहोवाका सेवकहरूले आज्ञा मान्दा उहाँ तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ। तर तिनीहरूले यहोवाको आज्ञा मानेनन्‌ भने नि?

“तपाईंले मूर्ख काम गर्नुभयो”

शाऊलले पलिश्‍तीहरुविरुद्ध कदम चाल्दा भने तिनीहरूले कडा प्रतिकार गरे। “समुद्रको किनारका बालुवाजतिकै अनगिन्ती पैदल सिपाहीहरू” शाऊलविरुद्ध उत्रिए। “इस्राएलीहरू घोर सङ्‌कष्टमा परे, किनभने सेना साह्रै पेलिए। यसैले तिनीहरू ओढार र ध्वान्द्राहरू, पहाराका बीच-बीचमा, खाडलहरू र इनारहरूमा लुके।” (१ शमू. १३:५, ६) शाऊलले के गर्ने थिए?

शमूएलले शाऊललाई गिलगालमा आउन भनेका थिए र त्यहाँ शमूएलले बलिदानहरू चढाउने थिए। शाऊल पर्खिबसे तर शमूएल आइपुग्न ढिलो भयो अनि शाऊलको सेना तितर-बितर हुन थाल्यो। त्यसैले बलिदान चढाउन शाऊल आफै अग्रसर भए। तर तिनले बलिदान चढाएका मात्र के थिए, शमूएल आइपुगे। शाऊलको कार्यबारे सुनेपछि शमूएलले तिनलाई भने: “तपाईंले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन। यदि तपाईंले पालन गर्नुभएको भएता उहाँले तपाईंको सन्तानलाई इस्राएलमाथि सधैंको निम्ति स्थिर गराउनुहुनेथियो। तर अब तपाईंको सन्तान निरन्तर रहनेछैन। परमप्रभुले आफैले रुचाउनुभएको एउटा मानिस खोज्नुहुनेछ, र तिनलाईनै आफ्नो प्रजामाथि राजा नियुक्‍त गर्नुहुनेछ, किनभने तपाईंले परमप्रभुको आज्ञा पालन गर्नुभएन।”—१ शमू. १०:८; १३:८, १३, १४.

बलिदान चढाउन शमूएल नआउन्जेल पर्खनू भन्‍ने परमेश्‍वरको आज्ञा अहङ्‌कारी भई उल्लङ्‌घन गरेर शाऊलले विश्‍वासको कमी देखाए। शाऊलको यो काम इस्राएली सेनाको भूतपूर्व सेनापति गिदोनको भन्दा बिलकुलै फरक थियो। यहोवाले सेनाको सङ्‌ख्या ३२,००० बाट घटाएर ३०० पुऱ्‍याउन निर्देशन दिनुभयो र गिदोनले माने। किन? किनकि यहोवामाथि तिनको विश्‍वास थियो। परमेश्‍वरको मदत पाएर तिनले १,३५,००० आक्रमणकारीलाई जिते। (न्याय. ७:१-७, १७-२२; ८:१०) यहोवाले शाऊललाई पनि मदत गर्नुहुने थियो। तर शाऊलको अनाज्ञाकारिताले गर्दा पलिश्‍तीहरूले इस्राएललाई लुटे।—१ शमू. १३:१७, १८.

गाह्रो अवस्था सामना गर्नुपर्दा हामी केको आधारमा निर्णय गर्छौं? विश्‍वासको कमी भएकाहरूको दृष्टिकोणबाट हेर्ने हो भने ईश्‍वरीय सिद्धान्तहरू बेवास्ता गर्नुमा कुनै आपत्ति नदेखिएला। शमूएल नआइपुगेकोले आफूले गरेको काम शाऊललाई ठीकै लागेको हुनुपर्छ। तर परमेश्‍वरको अनुमोदन पाउन कटिबद्ध मानिसहरूका लागि भने धर्मशास्त्रीय सिद्धान्तहरूको आधारमा निर्णय गर्नुबाहेक अर्को विकल्प छैन।

यहोवा शाऊललाई त्याग्नुहुन्छ

अमालेकीहरूविरुद्धको अभियानको दौडान शाऊल अर्को गम्भीर गल्तीको दोषी भए। मिश्रबाट निस्किरहेका इस्राएलीहरूलाई बिनसित्ति आक्रमण गरेकोमा परमेश्‍वरले अमालेकीहरूको निन्दा गर्नुभएको थियो। (प्रस्थ. १७:८; व्यव. २५:१७, १८) तर न्यायकर्ताहरूको समयमा अमालेकीहरूले परमेश्‍वरको छानिएका जनमाथि फेरि आक्रमण गर्न अरूलाई पनि सामेल गरे। (न्याय. ३:१२, १३; ६:१-३, ३३) त्यसैले यहोवाले अमालेकीहरूसँग त्यसको साटो फेर्नुभयो र तिनीहरूलाई दण्ड दिन शाऊललाई आदेश दिनुभयो।—१ शमू. १५:१-३.

विरोधी अमालेकीहरू सबैलाई खतम पार्न र तिनीहरूको सर-सम्पत्ति नाश गर्न यहोवाले दिनुभएको आज्ञा पालन गर्नुको सट्टा शाऊलले तिनीहरूको राजालाई कब्जा गरे र असल वस्तुभाउलाई जोगाइराखे। यस सन्दर्भमा शमूएलले शाऊललाई प्रश्‍न गर्दा तिनले के भने? शाऊलले अरूलाई दोष थोपर्ने प्रयास गर्दै यसो भने: “मानिसहरूले भेडा र गाई-गोरुका असल-असलचाहिं परमप्रभु तपाईंका परमेश्‍वरका निम्ति बलिदान चढाउनलाई जोगाई राखेका हुन्‌।” शाऊलले साँच्चै ती वस्तुभाउ बलिदान चढाउने उद्देश्‍यले जोगाएका हुन्‌ या नहुन्‌, तिनी अनाज्ञाकारी भए। शाऊलले अब “आफूले आफैलाई तुच्छ” सम्झेनन्‌। त्यसकारण शाऊलले परमेश्‍वरको आज्ञा नमानेको कुरा परमेश्‍वरका भविष्यवक्‍ताले बताइदिए। त्यसपछि शमूएलले भने: “होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालननै रूचाउनु हुन्‍न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो। . . . तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ।”—१ शमू. १५:१५, १७, २२, २३.

यहोवाले शाऊलबाट आफ्नो पवित्र शक्‍ति र आशिष्‌ हटाएपछि “एउटा दुष्ट आत्माले” इस्राएलका यी पहिलो राजालाई आफ्नो वशमा पार्न थाल्यो। भविष्यमा यहोवाले राजा बनाउनुहुने दाऊदप्रति शाऊल शङ्‌कालु र ईर्ष्यालु भए। एकचोटि मात्र होइन, शाऊलले धेरैचोटि दाऊदलाई मार्न खोजे। “परमप्रभु दाऊदसँग हुनुहुँदो रहेछ भनी” देखेर शाऊल “आफ्नो बाँकी जीवनभरिनै . . . दाऊदको शत्रु भए” भनी बाइबल बताउँछ। शाऊलले तिनलाई मार्न खोजे अनि ८५ जना पुजारी र अरूलाई मार्ने आदेशसमेत दिए। त्यसैले यहोवाले शाऊललाई त्याग्नु कुनै छक्कलाग्दो कुरा होइन!—१ शमू. १६:१४; १८:११, २५, २८, २९; १९:१०, ११; २०:३२, ३३; २२:१६-१९.

पलिश्‍तीहरूले फेरि इस्राएलमा आक्रमण गर्दा शाऊलले दुष्ट स्वर्गदूतको मदत खोजे, जुन व्यर्थ साबित भयो। भोलिपल्ट तिनी युद्धमा नराम्ररी घाइते भए र आत्महत्या गरे। (१ शमू. २८:४-८; ३१:३, ४) इस्राएलको अनाज्ञाकारी पहिलो राजाको विषयमा धर्मशास्त्र यसो भन्छ: “शाऊलले आफ्नो अविश्‍वासले गर्दा आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। तिनले परमेश्‍वरको वचनलाई उल्लङ्‌घन गरेर मृत-प्रेत खेलाउनेको सर-सल्लाह लिएका थिए। तिनले परमप्रभुको सल्लाह लिएनन्‌।”—१ इति. १०:१३, १४.

कुनै पनि बलिदान चढाउनुभन्दा यहोवाको आज्ञा मान्‍नु उत्तम हो भनेर शाऊलको खराब उदाहरणले प्रस्ट देखाउँछ। प्रेषित यूहन्‍नाले लेखे: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।” (१ यूह. ५:३) हामी यस मूलभूत सत्यलाई कहिल्यै बेवास्ता नगरौं: परमेश्‍वरसितको दिगो मित्रता उहाँप्रतिको हाम्रो आज्ञाकारितामा निर्भर छ।

[पृष्ठ २१-मा भएको चित्र]

शाऊल सुरुमा नम्र नेता थिए

[पृष्ठ २३-मा भएको चित्र]

शमूएलले शाऊललाई “आज्ञापालन बलिदानभन्दा उत्तम हो” किन भने?