सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के दियाबललाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो?

के दियाबललाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो?

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

के दियाबललाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो?

▪ बाइबलले परमेश्‍वरलाई “सबै कुरा सृजनुहुने” भनेर बताएको हुनाले दियाबललाई पनि परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भन्‍ने निष्कर्षमा कोही-कोही पुगेका छन्‌। (एफिसी ३:९; प्रकाश ४:११) तर दियाबललाई उहाँले सृष्टि गर्नुभएको होइन भनेर बाइबलले स्पष्टसित बताउँछ।

दियाबल बनेको व्यक्‍तिलाई यहोवाले सृष्टि गर्नुभएको हो। त्यसैले त्यो कसरी परमेश्‍वरको प्रमुख शत्रु बन्यो र सृष्टिकर्ताको रूपमा यहोवाबारे बाइबलले के बताएको छ, दाँजेर हेर्नै पर्छ। उहाँबारे बाइबलले यसो भनेको छ: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:३-५) यसको आधारमा हामी यस्तो निष्कर्षमा पुग्न सक्छौं, कुनै समय सैतान त्रुटिरहित थियो र परमेश्‍वरको स्तरबमोजिम चल्थ्यो। भन्‍ने हो भने त्यो परमेश्‍वरका स्वर्गदूतीय छोराहरूमध्ये एक थियो। कुनै समय सैतान सत्यवादी र निर्दोष थियो भन्‍ने सङ्‌केत गर्दै येशूले यूहन्‍ना ८:४४ मा दियाबलबारे यसो भन्‍नुभयो: “त्यो सत्यमा अडिग रहेन।”

तथापि यहोवाले सृष्टि गर्नुभएका अन्य बौद्धिक जीवहरूसित जस्तै पछि गएर सैतान बनेको त्यो स्वर्गदूतसित पनि असल र खराबबीच छनोट गर्ने स्वतन्त्रता थियो। परमेश्‍वरको विरोध गर्ने मार्ग रोजेर अनि प्रथम मानव जोडीलाई आफ्नो पछि लाग्न उक्साएर त्यसले आफैलाई सैतान बनायो, जुन शब्दको अर्थ “विरोधी” हो।—उत्पत्ति ३:१-५.

त्यस दुष्ट अदृश्‍य सृष्टिले आफूलाई दियाबल पनि बनायो, जसको अर्थ “निन्दक” हो। सर्पको पछाडि लुकेर हव्वालाई छक्याउने अनि सृष्टिकर्ताले स्पष्टैसित बताउनुभएको नियम तोड्‌न लगाउने अदृश्‍य धोकेबाज त्यही सैतान थियो। त्यसैले येशूले सैतानलाई “झूटको बुबा” भन्‍नुभयो।—यूहन्‍ना ८:४४.

तर आफूमा कुनै कमीकमजोरी नभएको र कुनै बाहिरी दुष्ट प्रभाव पनि नभएको त्रुटिरहित अदृश्‍य सृष्टिमा गलत झुकाव आउन सम्भव थियो र? स्पष्ट छ, त्यसले परमेश्‍वरको मात्र हक लाग्ने उपासनाको लोभ गऱ्‍यो अनि मानिसजातिमाथि यहोवाको सट्टा आफैले शासन गर्न सक्ने सम्भाव्यता देख्यो। शासन गर्ने यो मौकाबारे सोच्न छोड्‌नुको सट्टा त्यसले यो कुरा मनमा खेलाइरह्‍यो र त्यसलाई बढ्‌न दिएकोले अन्तमा त्यसै अनुरूप काम पनि गऱ्‍यो। यस प्रक्रियाबारे याकूबको पुस्तकमा यस्तो लेखिएको छ: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ।”—याकूब १:१४, १५; १ तिमोथी ३:६.

एउटा उदाहरण विचार गर्नुहोस्‌, एक जना लेखापालले आफू काम गर्ने कम्पनीको हिसाबकिताब बिगारेर रकम हिनामिना गर्न सक्ने मौका देख्छ। उसले यो खराब विचार तुरुन्तै त्याग्न सक्छ। तर उसले यसबारे सोचिरह्‍यो भने उसको लोभ झनै बढ्‌छ र त्यसैअनुसार गर्न सक्छ। उसले त्यसो गऱ्‍यो भने आफूले आफैलाई चोर बनाउँछ। अनि आफूले गरेको अपराध ढाकछोप गर्न झूट बोल्यो भने ऊ ढँटुवा पनि बन्छ। त्यसै गरी गलत इच्छालाई बढाउँदै लगेर अनि त्यसै अनुरूप काम गरेर परमेश्‍वरले सृष्टि गर्नुभएको स्वर्गदूतले आफ्नो स्वतन्त्र इच्छा छली काम गर्न र आफ्नो बुबाविरुद्ध विद्रोह गर्न चलायो। यसरी त्यसले आफैलाई सैतान र दियाबल बनायो।

खुसीको कुरा, परमेश्‍वरले तोक्नुभएको समयमा सैतान भनिने दियाबललाई नाश गरिनेछ। (रोमी १६:२०) तर अहिले पनि यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूलाई सैतानका युक्‍तिहरूबारे थाह दिनुभएको छ अनि त्यसका दाउपेचहरूबाट सुरक्षा दिनुभएको छ। (२ कोरिन्थी २:११; एफिसी ६:११) त्यसैले हरतरहले ‘दियाबलको विरोध गर्नुहोस्‌ अनि ऊ तपाईंबाट भाग्नेछ।’—याकूब ४:७. ( w11 -E 03/01)

[पृष्ठ २१-मा भएको चित्र]

परमेश्‍वरको विरोध गर्ने मार्ग रोजेर त्रुटिरहित स्वर्गदूतले आफैलाई सैतान बनायो