सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्ना सँगी ख्रीष्टियनहरूलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌

आफ्ना सँगी ख्रीष्टियनहरूलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌

आफ्ना सँगी ख्रीष्टियनहरूलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌

“दस वर्षसम्म हामीले व्यापारजगत्‌को झिलीमिली र तामझाममा रमाउँदै निकै धनसम्पत्ति थुपाऱ्‍यौं। सच्चाइमै हुर्किएका भए तापनि हामी धेरै टाढासम्म तर्किसकेका थियौं अनि फर्कने बल हामीसित थिएन” भनी यारोस्लाभ र तिनकी पत्नी बेएटा भन्छन्‌। a

अर्को भाइ मारेक भन्छन्‌: “पोल्याण्डमा भएको सामाजिक तथा राजनैतिक परिवर्तनले गर्दा मैले एकपछि अर्को जागिर गुमाएँ। मलाई दिक्क लाग्यो। व्यापार गर्ने खूबी आफूसित नभएकोले गर्दा आफ्नै व्यापार सुरु गर्न मलाई डर लागेको थियो। अन्तमा म आफ्नै व्यापार सुरु गर्न प्रलोभित भएँ किनभने मलाई लाग्यो, यसो गर्दा परमेश्‍वरसितको सम्बन्धमा कुनै प्रतिकूल असर नपारी आफ्नो परिवारको भौतिक आवश्‍यकताहरूको लागि प्रबन्ध गर्न सकिनेछ। तर पछि मैले थाह पाएँ, मेरो सोचाइ कत्ति गलत रहेछ।”

महँगी चुलिंदै गइरहेको अनि बेरोजगारी आकासिंदै गइरहेको संसारमा कोही-कोही साह्रै हरेस खान्छन्‌ र फलस्वरूप मूर्ख निर्णय गर्न पुग्छन्‌। केही भाइले ओभरटाइम गर्ने, थप जागिर खाने वा अनुभव नभए तापनि आफ्नै व्यापार थाल्ने निर्णय गरेका छन्‌। तिनीहरू थप कमाइले परिवारलाई मदत पुग्नेछ अनि यहोवासितको सम्बन्धमा पनि कुनै फरक पार्नेछैन भन्ठान्छन्‌। तर समय र अवसरले अनि अस्थिर अर्थतन्त्रले एकदमै सोचविचार गरेर बनाएको योजनामा समेत दखल पुऱ्‍याउन सक्छ। यसले गर्दा कोही-कोही लोभको पासोमा फसेका छन्‌ अनि परमेश्‍वरको सेवालाई लत्याएर पैसा कमाउनतिर लागेका छन्‌।—उप. ९:११, १२.

केही भाइबहिनी सांसारिक कुरामा यतिबिघ्न डुबेका छन्‌ कि तिनीहरूसित व्यक्‍तिगत अध्ययन गर्न, सभा जान वा प्रचारकार्यमा भाग लिन समय नै छैन। यस्तो हेलचेक्य्राइँले उपासना र यहोवासितको सम्बन्धमा पक्कै हानि पुऱ्‍याउँछ। अनि तिनीहरूले अर्को एउटा महत्त्वपूर्ण सम्बन्धलाई पनि त्यागिरहेका हुन सक्छन्‌। त्यो हो, ‘एउटै विश्‍वास हुने आफ्ना भाइबहिनीहरूसितको’ बन्धन। (गला. ६:१०) कोहीचाहिं ख्रीष्टियन भाइचाराबाट बिस्तारै-बिस्तारै टाढिन थाल्छन्‌। यस विषयलाई गम्भीरता साथ विचार गर्नुहोस्‌।

सँगी ख्रीष्टियनहरूप्रति हाम्रो दायित्व

हामी ख्रीष्टियन भएकोले आपसमा प्रेम देखाउने थुप्रै मौका मिल्छ। (रोमी १३:८) तपाईंको मण्डलीमा ‘सहायताको लागि पुकारा’ गरिरहेकाहरूलाई देख्नुभएको होला। (अय्यू. २९:१२) कसै-कसैसित भौतिक कुराहरूको अभाव होला। यस्तो अवस्थाले कस्तो मौका प्रदान गर्छ भनी प्रेषित यूहन्‍नाले हामीलाई सम्झाएका छन्‌। “कसैसित जीवन धान्‍न पुग्ने सरसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि कोमल करुणा देखाउन इन्कार गर्छ भने परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ र?”—१ यूह. ३:१७.

त्यस्तो खाँचो देख्दा तपाईं खुला मनले अरूलाई सहयोग गर्न अघि सर्नुभएको होला। यद्यपि हामीले आफ्नो भाइचाराप्रति देखाउने चासो भनेको भौतिक सहयोग गर्नु मात्र होइन। कोही-कोही एक्लो वा निराश भएकोले मदतको लागि पुकारिरहेका हुन सक्छन्‌। तिनीहरूले आफूलाई अयोग्य महसुस गरेका हुन सक्छन्‌, कुनै गम्भीर रोगले पिरोलिएका हुन सक्छन्‌ वा आफ्नो प्रियजनको मृत्यु भोगेका हुन सक्छन्‌। हामीले तिनीहरूलाई प्रोत्साहन दिन सक्ने एउटा तरिका भनेको तिनीहरूको कुरा सुनिदिएर अनि तिनीहरूसित कुरा गरिदिएर हो; यसरी तिनीहरूलाई भावनात्मक तवरमा मदत गर्नुका साथै परमेश्‍वरसित तिनीहरूको सम्बन्धलाई अझ बलियो बनाउन मदत गर्न सक्छौं। (१ थिस्स. ५:१४) यसो गर्दा आफ्ना भाइहरूसित प्रेमको बन्धन अक्सर अझ बलियो हुन्छ।

विशेषगरि मण्डलीका एल्डरहरू दयालु भई सुन्‍न, कुरा बुझेको देखाउन अनि मायालु धर्मशास्त्रीय सल्लाह दिन सक्ने अवस्थामा हुन सक्छन्‌। (प्रेषि. २०:२८) यसरी निरीक्षकहरूले प्रेषित पावलको अनुकरण गर्छन्‌, जसले आफ्ना ख्रीष्टियन भाइबहिनीप्रति “कोमल स्नेह” देखाए।—१ थिस्स. २:७, ८.

तथापि, बगालबाट कोही तर्केर गयो भने आफ्ना सँगी ख्रीष्टियनहरूप्रति तिनको दायित्वलाई के हुन्छ? भौतिकवादी दौडधूपमा लाग्ने प्रलोभनबाट निरीक्षकहरूसमेत अछुतो छैनन्‌। कोही ख्रीष्टियन यस्तो प्रलोभनमा फसे भने नि?

जीवनका फिक्रीहरूको बोझले दबिंदा

परिवारको लागि आधारभूत भौतिक आवश्‍यकताहरूको प्रबन्ध गर्न दौडधूप गर्दा अक्सर चिन्ता लाग्छ अनि यसले यहोवासितको सम्बन्धलाई असर गर्न सक्छ। (मत्ती १३:२२) अगाडि उल्लेख गरिएका मारेक भन्छन्‌: “मेरो व्यापार चौपट हुँदा मैले विदेशमा गएर धेरै पैसा कमाउन सक्ने जागिर खोज्ने निर्णय गरें। सुरुमा त म तीन महिनाको लागि मात्र गएको थिएँ, त्यसपछि अर्को तीन महिना, अर्को तीन महिना गर्दागर्दै यो क्रम जारी रह्‍यो। यस दौडान म बीच-बीचमा छोटो समयको लागि मात्र घर फर्कन्थें। मेरी पत्नी, जो यहोवाका साक्षी थिइनन्‌, यसले उनलाई भावनात्मक तवरमा असर गऱ्‍यो।”

यसले पारिवारिक जीवनलाई मात्र असर गरिरहेको थिएन। मारेक भन्छन्‌: “प्रचण्ड घाममा घण्टौं काम गर्नुको अलावा अरूको नाजायज फाइदा उठाउन खोज्ने निष्ठुर मानिसहरूसित पनि उठबस गर्नुपऱ्‍यो। तिनीहरू गुन्डाहरूजस्तै थिए। म निराश भएँ र थिचोमिचोमा परेको महसुस गरें। आफ्नो स्याहार गर्नसमेत समय नपाएको अवस्थामा अरूको सेवा कसरी गर्न सकुँला जस्तो लाग्न थाल्यो।”

मारेकको निर्णयले ल्याएको दुःखद परिणामले हामीलाई पनि सोच्न लगाउनुपर्ने हो। विदेशमा जाँदा आर्थिक समस्या सुल्झिनेजस्तो देखिए तापनि के अरू समस्याहरू खडा हुँदैनन्‌ र? उदाहरणको लागि, आफ्नो परिवारको यहोवासितको सम्बन्ध अनि तिनीहरूको भावनात्मक अवस्थालाई के हुनेछ? यसरी बसाइँ सर्दा मण्डलीसितको सम्बन्ध पनि टुटाउनुपर्ने हुन्छ कि? के यसले हामीलाई सँगी ख्रीष्टियनहरूको सेवा गर्ने मौकाबाट वञ्चित गर्दैन र?—१ तिमो. ३:२-५.

तपाईंले पनि बुझ्नुभएकै कुरा हो, आफ्नो जागिरमा चुर्लुम्मै डुब्ने समस्या विदेशमा जाँदा मात्र हुने होइन। यारोस्लाभ र बेएटालाई विचार गर्नुहोस्‌। यारोस्लाभ भन्छन्‌: “सुरुमा त हाम्रो मनसाय राम्रो थियो। हाम्रो भर्खरै विवाह भएको थियो र हामीले एउटा चल्ती ठाउँमा हट-डग खाने सानो ठेलाबाट काम सुरु गऱ्‍यौं। पैसा निकै कमाएको हुँदा व्यापार विस्तार गर्नेबारे सोच्न थाल्यौं। तर भ्याइ न भ्याइ भएकोले गर्दा ख्रीष्टियन सभाहरू छुटाउन थाल्यौं। धेरै समय नबित्दै मैले अग्रगामी सेवा र सहायक सेवकको रूपमा गरिरहेको सेवा पनि छोडिदिएँ। निकै नाफा भएकोले हामी दङ्‌ग पऱ्‍यौं। त्यसपछि ठूलो पसल खोल्यौं र गैर-साक्षीसित साझेदारीमा व्यापार विस्तार गऱ्‍यौं। अनि लाखौं-लाख डलरबराबरको कन्ट्र्याक्ट सही गर्न विदेश पनि गइरहनुपर्ने भयो। घरमा बस्ने त्यति समय नै थिएन। यसले गर्दा श्रीमती र छोरीसितको सम्बन्ध खस्किंदै गयो। अन्ततः फलिफाप भइरहेको हाम्रो व्यापारले गर्दा हामीले बिस्तारै यहोवाको सेवा गर्न छोड्यौं। मण्डलीबाट अलग भएको हुँदा ख्रीष्टियन भाइबहिनीबारे सोच्ने त कुरै भएन।”

यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? निजी “प्रमोदवन” बनाउने चाहनाले ख्रीष्टियनलाई पासोमा पार्न सक्छ। यसले गर्दा सुस्त हुने मात्र होइन, तिनले “आफ्नो लुगा” अर्थात्‌ आफ्नो ख्रीष्टियन चिनारी नै गुमाउन सक्छन्‌। (प्रका. १६:१५) फलस्वरूप पहिला हामी जसलाई मदत गर्न सक्ने अवस्थामा थियौं, ती भाइहरूबाट चटक्कै अलग हुन सक्छौं।

इमानदार भई केलाउनुहोस्‌

हामी यस्तो सोचौंला, ‘मलाई त यस्तो हुनेछैन।’ तर जीवनमा साँच्चै के-कति कुरा चाहिन्छ भनेर प्रत्येकले गम्भीरता साथ विचार गर्नुपर्छ। पावलले लेखे: “हामीले यस संसारमा न केही ल्यायौं न त केही बोकेर लैजान नै सक्छौं। त्यसैले, खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” (१ तिमो. ६:७, ८) हुनत विभिन्‍न देशको जीवनस्तर फरक-फरक हुन्छ। विकसित देशमा आधारभूत ठानिने कुरा, अरू कतिपय देशमा भने आरामदायी जीवनको चिनारी हुन सक्छ।

आफ्नो देशको जीवनस्तर जस्तोसुकै भए तापनि पावलका यी शब्दहरू विचार गर्नुहोस्‌: “जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।” (१ तिमो. ६:९) अरूले थाह नपाउने गरी पासो थापिने भएकोले यसमा अचानक फसिन्छ। “हानिकारक इच्छाहरूमा” नफस्न हामी के गर्न सक्छौं?

प्राथमिकता तय गर्दा राज्य गतिविधिको लागि धेरै समय बिताउन उत्प्रेरित हुन सक्छौं, जस्तै: व्यक्‍तिगत अध्ययन गर्न। यसरी प्रार्थनापूर्वक अध्ययन गर्दा ख्रीष्टियनहरू अरूलाई मदत गर्न ‘पूर्णतया योग्य र तयार’ हुन सक्छन्‌।—२ तिमो. २:१५; ३:१७.

यारोस्लाभको उत्थान गर्न र तिनलाई प्रोत्साहन दिन मायालु एल्डरहरूले केही वर्षसम्म प्रयास गर्नुपऱ्‍यो। तिनी आमूल परिवर्तन गर्न उत्प्रेरित भए। तिनी भन्छन्‌: “एल्डरहरूसित भएको एउटा कुराकानीले मेरो जीवनमा नयाँ मोड लियो। उहाँहरूले सधैंभरि बाँच्न चाहने तर आफूसित भएको भौतिक सरसम्पत्ति अरूलाई दिन नचाहने जवान धनी मानिसको उदाहरण बाइबलबाट बताउनुभयो। त्यसपछि यो जानकारी कतै मलाई लागू हुन्छ कि भनेर कौशलतापूर्वक सोध्नुभयो। यो सुन्दा म झसङ्‌गै भएँ!”—हितो. ११:२८; मर्कू. १०:१७-२२.

यारोस्लाभले इमानदार भई आफ्नो परिस्थिति केलाए अनि आफ्नो ठूलो व्यापार छोड्‌ने निर्णय गरे। दुई वर्षभित्रमा तिनी र तिनको परिवारले यहोवासितको सम्बन्धलाई फेरि बलियो बनाए। तिनी अहिले एल्डरको रूपमा आफ्ना भाइहरूको सेवा गर्दैछन्‌। यारोस्लाभ भन्छन्‌: “परमेश्‍वरसितको सम्बन्धलाई बेवास्ता गर्ने हदसम्म पुग्ने गरी भाइहरू व्यापारमै चुर्लुम्म डुब्दा, विश्‍वास नगर्नेहरूसित एउटै जुवामा नारिनु कत्ति मूर्खतापूर्ण हो भनेर म आफ्नै उदाहरणबाट बताउने गर्छु। लोभलाग्दा प्रस्तावहरू तिरस्कार गर्न अनि बेइमानी नगरी बस्न सजिलो छैन।”—२ कोरि. ६:१४.

मारेकले पनि तीतो अनुभवबाट पाठ सिके। विदेशमा राम्रो कमाइ भएकोले परिवारलाई आर्थिक तवरमा मदत दिन सके तापनि परमेश्‍वर र आफ्ना भाइहरूसित तिनको सम्बन्ध भने चिसिंदै गयो। समयको दौडान तिनले आफ्ना प्राथमिकताबारे पुनर्विचार गरे। “समय बित्दै जाँदा मेरो परिस्थिति प्राचीन समयका बारूकको जस्तै भयो, जसले ‘आफ्नै निम्ति ठूला कुराहरू खोजिरहे।’ अन्तमा मैले आफ्नो मनको सम्पूर्ण फिक्री यहोवालाई पोखें र अहिले परमेश्‍वरसितको सम्बन्धलाई पुनः कायम गर्न सकेको महसुस गर्छु।” (यर्मि. ४५:१-५) मारेक अहिले मण्डलीको निरीक्षक बन्‍न चाहिने “असल काम” गर्न अघि बढिरहेका छन्‌।—१ तिमो. ३:१.

राम्रो कमाइ हुने कामको खोजीमा विदेश जाने विचार गरिरहेकाहरूलाई मारेक यस्तो चेतावनी दिन्छन्‌: “विदेशमा छँदा यस दुष्ट संसारका पासोहरूमा सजिलै फस्न सकिन्छ। त्यस देशको भाषाको त्यति राम्रो ज्ञान नभएकोले अरूसित कुराकानी गर्न गाह्रो हुन्छ। घर फर्कंदा पैसा त लिएर आउनुहोला तर त्यसले गर्दा परमेश्‍वरसितको सम्बन्धमा पुगेको चोटलाई निको पार्न भने निकै समय लाग्न सक्छ।”

रोजगारी र भाइहरूप्रतिको दायित्वबीच सन्तुलन कायम गर्दा यहोवालाई खुसी पार्न सक्नेछौं। साथै आफू एउटा यस्तो उदाहरण बन्‍नेछौं, जसले अरूलाई बुद्धिमानी निर्णय गर्न उत्प्रेरित गर्नेछ। जीवनको बोझले दबिएकाहरूलाई सहयोग, दया र भाइबहिनीहरूको राम्रो उदाहरण चाहिन्छ। मण्डलीका एल्डर तथा अरू परिपक्व व्यक्‍तिहरूले आफ्ना सँगी ख्रीष्टियनहरूलाई सन्तुलन कायम गर्न अनि जीवनको फिक्रीको बोझले नदबिन मदत दिन सक्छन्‌।—हिब्रू १३:७.

त्यसैले रोजगारीमा चुर्लुम्मै डुबेर आफ्ना सँगी ख्रीष्टियनहरूलाई कहिल्यै बेवास्ता नगरौं। (फिलि. १:१०) बरु परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई जीवनमा पहिलो स्थान दिंदै “परमेश्‍वरको नजरमा चाहिं धनी” होऔं।—लूका १२:२१.

[फुटनोट]

a केही नाम परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २१-मा भएको चित्र]

के तपाईंको रोजगारीले तपाईंलाई सभामा उपस्थित हुन बाधा पार्छ?

[पृष्ठ २३-मा भएको चित्र]

आफ्ना ख्रीष्टियन भाइबहिनीलाई सहयोग गर्ने मौकाको के तपाईं मोल गर्नुहुन्छ?