सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मैले विश्‍वास गरेकी छु”

“मैले विश्‍वास गरेकी छु”

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

“मैले विश्‍वास गरेकी छु”

ढुङ्‌गाले छोपिएको ओडारभित्र भएको आफ्नो भाइको चिहान मार्थाको दिमागमा ताजै थियो। तिनी असाध्यै दुःखित थिइन्‌। आफ्नो प्यारो भाइ लाजरस अब यस संसारमा छैन भन्‍ने कुरा तिनले विश्‍वासै गर्न सकेकी थिइनन्‌। समवेदना दिन आउनेहरूको घुइँचो भएकोले लाजरसले अन्तिम सास लिएपछिका चार दिन मार्थाको लागि भ्याइनभ्याइ भएको हुनुपर्छ।

अहिले मार्थाको नजिकै उभिरहेका पुरुष लाजरसको जीवनमा सबैभन्दा महत्त्व राख्ने व्यक्‍ति थिए। येशूलाई देख्दा मार्थाको मनको घाउ फेरि बल्झियो किनभने संसारभरिमै उहाँ मात्र त्यस्तो व्यक्‍ति हुनुहुन्थ्यो, जसले तिनको भाइलाई बचाउन सक्नुहुन्थ्यो। तैपनि पहाडी इलाकामा रहेको सानो गाउँ बेथानीदेखि बाहिर येशूसँगै हुँदा भने मार्थाको मन अलि हलुङ्‌गो भयो। येशूसित बिताएको त्यस छोटो समयमा उहाँको अनुहारमा दयाको भाव देख्दा तिनले न्यानो महसुस गरिन्‌। उहाँले देखाउने समानुभूति सधैं सान्त्वनादायी हुन्थ्यो। येशूले सोध्नुभएका प्रश्‍नहरूले तिनलाई उहाँमाथिको विश्‍वास र पुनर्जीवनको आशामा ध्यान केन्द्रित गर्न मदत गऱ्‍यो। येशूसितको कुराकानीले मार्थालाई आफ्नो मुखबाट कहिल्यै ननिस्केको एकदमै महत्त्वपूर्ण कुरा निकाल्न उत्प्रेरित गऱ्‍यो। तिनले भनिन्‌: “तपाईं नै परमेश्‍वरका छोरा अनि संसारमा आउनेवाला ख्रीष्ट हुनुहुन्छ भनेर मैले विश्‍वास गरेकी छु।”—यूहन्‍ना ११:२७.

मार्था उल्लेखनीय विश्‍वास भएकी स्त्री थिइन्‌। बाइबलले तिनीबारे थोरै कुरा बताए तापनि त्यसले हाम्रो विश्‍वास बलियो बनाउन मदत गर्ने महत्त्वपूर्ण पाठ सिकाउँछ। यो कुरा थाह पाउन अब आउनुहोस्‌, मार्थाबारे बाइबलमा उल्लिखित पहिलो विवरण विचार गरौं।

“ज्यादै चिन्ता गर्छ्यौ”

महिनौंअघिको कुरा हो, लाजरस स्वस्थ थिए। उनको घर बेथानीमा सबैभन्दा विशेष पाहुना येशू ख्रीष्ट आउनै लाग्नुभएको थियो। लाजरस, मार्था र मरियम हुर्किसकेका भए तापनि एउटै घरमा बस्थे जस्तो देखिन्छ। केही अनुसन्धानकर्ताअनुसार तीन जनामध्ये मार्था जेठी हुनुपर्छ। किनकि घरमा पाहुनाको स्वागत गर्न तिनी नै अघि सर्थिन्‌ जस्तो देखिन्छ र तीन जनाको नाम उल्लेख गर्दा पहिला तिनकै नाम उल्लेख गरिएको पाइन्छ। (यूहन्‍ना ११:५) तीन जनामध्ये कसले विवाह गरे, कसले गरेनन्‌, हामीलाई थाह छैन। जे होस्‌, तिनीहरू येशूका मिल्ने साथीहरू थिए। यहूदियामा आफ्नो सेवाको दौडान तीनथुप्रो विरोध र प्रतिकूल परिस्थिति सामना गर्नुपर्दा येशू तिनीहरूको घरमा बस्नुभएको थियो। त्यस्तो अवस्थामा शान्तपूर्वक बास बस्न पाउँदा उहाँ तिनीहरूप्रति निकै कृतज्ञ हुनुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

पाहुनाहरूको अतिथि-सत्कार गर्न मार्थाले गर्नुपर्ने काम धेरै बाँकी थियो। मार्था निकै मेहनती थिइन्‌। तिनलाई प्रायजसो कामको चटारो पर्थ्यो जस्तो देखिन्छ। येशू आउनुभएको बेला पनि त्यस्तै थियो। मार्था आफ्नो विशेष पाहुना र सायद येशूका केही सहयात्रीका लागि थरीथरीका विशेष परिकारहरू तयार पार्न व्यस्त भइन्‌। त्यस समयमा अतिथि-सत्कार गर्नुलाई धेरै महत्त्व दिइन्थ्यो। जब पाहुना आइपुग्थे, तब तिनलाई चुम्बन गरेर, जुत्ता फुकालिदिएर, खुट्टा धोइदिएर र टाउकोमा सुगन्धित तेल घसिदिएर स्वागत गरिन्थ्यो। (लूका ७:४४-४७) खानपिन र बासको राम्रो प्रबन्ध गरेर पाहुनाको ख्याल राख्नु त्यतिबेलाको चलन थियो।

आफ्ना पाहुनाहरूको ख्याल राख्न मार्था र मरियमले गर्नुपर्ने काम प्रशस्तै थियो। आफ्नी दिदीभन्दा संवेदनशील र विचारशील मानिएकी मरियमले दिदीलाई सुरु-सुरुमा त पक्कै मदत गरेकी हुनुपर्छ। तर येशू आउनुभएपछि भने कुरा अर्कै भयो। येशूले त्यस अवसरलाई त्यहाँ उपस्थित भएकाहरूलाई सिकाउने एउटा राम्रो मौकाको रूपमा हेर्नुभयो। त्यतिबेलाका धार्मिक नेताहरूजस्तो नभई येशूले स्त्रीहरूको आदर गर्नुभयो। साथै आफ्नो प्रचारकार्यको मुख्य विषय परमेश्‍वरको राज्यबारे तिनीहरूलाई खुसीसाथ सिकाउनुभयो। मरियमले उहाँको खुट्टानेर बसेर उहाँका प्रत्येक कुरा ध्यान दिएर सुनिन्‌। यस्तो मौका पाउँदा तिनी निकै खुसी थिइन्‌।

मार्थालाई कत्ति तनाव भएको थियो, हामी कल्पना गर्न सक्छौं। सबै परिकार तयार गर्नुदेखि लिएर पाहुनाहरूको सेवा आफू एक्लैले गर्नुपर्दा तिनी ज्यादै चिन्तित भएकी हुनुपर्छ। कामले गर्दा सास फेर्ने फुर्सद थिएन। त्यस्तो बेलामा आफ्नी बहिनी भने काममा सघाउन छोडेर आरामसित बसेको देख्दा के तिनको अनुहार रिसले रातो-पिरो भयो? के तिनले रिसले लामो सास फेरिन्‌? अथवा रिसले गर्दा निधार खुम्च्याउँदै आँखा तरिन्‌ कि? तिनले त्यसो गरेकी भए पनि अचम्म मान्‍नुपर्ने कुनै कारण छैन। किनभने तिनी एक्लैले सबै काम भ्याउन सक्दिनथिन्‌!

आखिरमा मार्थाले आफ्नो रिसलाई थामिराख्न सकिनन्‌। तिनले येशूको कुरालाई बीचैमा काटेर प्याच्च बोलिन्‌: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईंलाई वास्ता छैन? मलाई सघाउन उसलाई भनिदिनुहोस्‌ न।” (लूका १०:४०) तिनका यी शब्दहरू निकै कडा थिए। तिनले आफूलाई काममा सघाउन आफ्नी बहिनीलाई सम्झाइदिन येशूलाई भनिरहेकी थिइन्‌।

येशूले दिनुभएको जवाफ सुन्दा थुप्रै बाइबल पाठकजस्तै मार्था पनि छक्क परेकी हुनुपर्छ। उहाँले मायालु तरिकामा भन्‍नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको ज्यादै चिन्ता गर्छ्यौ। हामीलाई धेरै कुरा चाहिंदैन, एउटा मात्रै भए पनि पुग्छ। मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।” (लूका १०:४१, ४२) येशूले के भन्‍न खोजिरहनुभएको थियो? मार्था भौतिक कुराहरूका बारेमा ज्यादै फिक्री गर्छिन्‌ भन्‍न खोजिरहनुभएको थियो कि? मार्थाले त्यति धेरै मेहनत गरेर तयार गरिरहेको स्वादिष्ट भोजनलाई उहाँले बेकारको सम्झिरहनुभएको थियो कि?

अहँ, थिएन। मार्थाको मन सफा थियो अनि मायाले भरिएको थियो भन्‍ने कुरा उहाँले राम्ररी बुझ्नुभएको थियो। साथै प्रशस्त खानेकुरा बनाएर अतिथि-सत्कार गर्नु नै गलत हो भन्‍ने पनि उहाँलाई लागेको थिएन। केही समयअघि मात्र उहाँ मत्तीले उहाँको लागि गरेको “ठूलो भोज”-मा खुसीसाथ जानुभएको थियो। (लूका ५:२९) यहाँ मुख्य समस्या मार्थाले तयार गरेको खानेकुरा थिएन तर तिनको प्राथमिकता थियो। तिनी तीनथुप्रो खानेकुरा पकाउनमा यति व्यस्त भइन्‌ कि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, तिनले बिर्सिन्‌। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो?

यहोवाको एक मात्र छोरा येशू सत्य सिकाउन मार्थाको घरमा आउनुभएको थियो। कुनै पनि कुरा, यहाँसम्म कि तिनले मेहनत गरेर बनाएको खानेकुरा पनि योभन्दा महत्त्वपूर्ण हुन सक्दैनथ्यो। मार्थाले आफ्नो विश्‍वास बलियो बनाउने सुनौलो मौका गुमाएको देख्दा येशू पक्कै पनि दुःखी हुनुहुन्थ्यो। तैपनि उहाँले मार्थालाई आफ्नो छनौट आफै गर्न दिनुभयो। तर मार्थाले मरियमलाई पनि यो मौकाबाट वञ्चित गराउन खोज्नु ठीक थिएन।

त्यसकारण उहाँले मार्थाको रिस शान्त पार्न पटक-पटक तिनको नामै लिएर सम्बोधन गर्दै तिनलाई मायालुपूर्वक सच्याउनुभयो। अनि उहाँले तिनलाई “धेरै कुराको ज्यादै चिन्ता” गर्नु आवश्‍यक छैन भनेर आश्‍वस्त पार्नुभयो। विशेषगरि आध्यात्मिक भोजन उपलब्ध भइरहेको बेला एउटा वा दुइटा परिकार मात्र भए पनि पुग्थ्यो। मरियमले रोजेको “असल भाग” अर्थात्‌ आफूबाट सिक्न पाउने मौका येशूले कुनै पनि हालतमा उनीबाट खोस्नुहुने थिएन!

मार्थाको घरमा भएको यस घटनाबाट आज ख्रीष्टका अनुयायीहरूले राम्रा पाठहरू सिक्न सक्छन्‌। हामीलाई “परमेश्‍वरको मार्गनिर्देशनको खाँचो” छ, त्यसैले यो आवश्‍यकता पूरा गर्नदेखि कुनै पनि कुराले कहिल्यै बाधा पुऱ्‍याउन दिनु हुँदैन। (मत्ती ५:३) हामी मार्थाको उदारता र मेहनतको अनुकरण गर्न चाहन्छौं तर अतिथि-सत्कार गर्ने सन्दर्भमा खासै महत्त्वपूर्ण नभएको पक्षमा “ज्यादै चिन्ता” गरेर सबैभन्दा महत्त्वपूर्ण कुरा कहिल्यै गुमाउन चाहँदैनौं। हामी एकदमै महँगो र भव्य परिकार खुवाउने वा खाने उद्देश्‍यले मात्र होइन, बरु एक-अर्कालाई प्रोत्साहन दिने र परमेश्‍वरको तर्फबाट केही वरदान दिने उद्देश्‍यले सँगी विश्‍वासीहरूसित सङ्‌गति गर्छौं। (रोमी १:११, १२) साधारण खानेकुराले पनि सङ्‌गतिलाई उत्थानदायी बनाउन सक्छ।

प्यारो भाइ गुमाइन्छ अनि फेरि पाइन्छ

के मार्थाले येशूको मायालु सल्लाह स्वीकारेर आफूमा सुधार ल्याइन्‌? तिनले त्यसो गरिन्‌ भन्‍ने कुरामा कुनै सन्देह छैन। मार्थाका भाइबारे उल्लेख गरिएको रोमाञ्चक विवरणमा प्रेषित यूहन्‍ना हामीलाई सम्झाउँछन्‌: “मार्था, तिनकी बहिनी र लाजरसलाई येशू माया गर्नुहुन्थ्यो।” (यूहन्‍ना ११:५) यो विवरण येशू बेथानीमा मार्थाकहाँ जानुभएको महिनौंपछिको हो। येशूले दिनुभएको मायालु सल्लाहले गर्दा मार्था गम्केर बसिनन्‌ न त उहाँप्रति मनमा रिस नै पालेर राखिन्‌। उहाँको सल्लाहले तिनमा गहिरो प्रभाव पाऱ्‍यो। सल्लाह पालन गर्ने सन्दर्भमा पनि तिनले हाम्रो लागि विश्‍वासको उत्कृष्ट उदाहरण बसालिन्‌। आखिर हामीमध्ये कसलाई पो कहिलेकाहीं सल्लाहको खाँचो पर्दैन र?

आफ्नो भाइ बिरामी पर्दा मार्था उनको हेरचाह गर्नमा व्यस्त भइन्‌। आफ्नो भाइलाई सन्चो महसुस गराउन तिनले आफूले सकेजति सबै गरिन्‌। तर जति नै मरिमेटी हेरविचार गरे पनि लाजरस झन्‌-झन्‌ सिकिस्त हुँदै गए। उनका दिदीहरूले एकछिन पनि नछोडि उनको हेरविचार गरिरहे। वर्षौंसम्म सँगै बिताएका दुःख-सुखका पलहरू सम्झँदै मार्थाले आफ्नो भाइको फतक्क गलेको अनुहार कति पटक हेरिहोलिन्‌?

लाजरसलाई मदत गर्न अब आफूहरूको केही सीप नलाग्ने जस्तो देखेपछि मार्था र मरियमले येशूकहाँ सन्देश पठाए। उहाँ लगभग दुई दिन टाढा पर्ने इलाकामा प्रचार गर्दै हुनुहुन्थ्यो। उनीहरूले यस्तो खबर पठाए: “प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्‌।” (यूहन्‍ना ११:१, ३) येशूले लाजरसलाई माया गर्नुहुने भएकोले आफ्नो मित्रलाई बचाउन सक्दो गर्नुहुनेछ भनेर तिनीहरू विश्‍वस्त थिए। के तिनीहरू येशू धेरै ढिला हुनुअघि नै आइपुग्नुहुनेछ भन्‍ने आशा गरेर बसिरहेका थिए? थिए भने तिनीहरूको त्यो आशा चकनाचूर भयो। किनकि लाजरसको मृत्यु भयो।

मार्था र मरियम आफ्नो भाइको मृत्युले शोकविह्वल भए। तिनीहरू आफ्नो भाइको अन्त्येष्टिको तयारी गर्न र बेथानी अनि वरपरबाट आएका मलामीहरूलाई स्वागत गर्नमा लागे। येशूको भने कुनै अत्तोपत्तो थिएन। जति-जति समय बित्दै गयो, त्यति-त्यति मार्था अत्तालिन थालेकी हुनुपर्छ। लाजरसको मृत्यु भएको चार दिनपछि बल्ल येशू आउँदै हुनुहुन्छ भन्‍ने खबर मार्थाले सुनिन्‌। सधैं चल्तापुर्जा मार्था यस्तो दुःखको घडीमा समेत यो खबर पाउनेबित्तिकै मरियमलाई केही खबर नगरी येशूलाई भेट्‌न गइहालिन्‌।—यूहन्‍ना ११:२०.

आफ्नो गुरुलाई भेट्‌नेबित्तिकै मरियम र आफूलाई धेरै दिनदेखि सताइरहेको कुरा मार्थाले भनिहालिन्‌: “हे प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” मार्थाको आशा र विश्‍वास अझै पनि मरेको थिएन। तिनले अझ यसो भनिन्‌: “अनि अहिले पनि मलाई थाह छ, तपाईंले परमेश्‍वरसित जेसुकै माग्नुभए तापनि उहाँले तपाईंलाई दिनुहुनेछ।” तिनको विश्‍वास बलियो बनाउन येशूले तुरुन्तै भन्‍नुभयो: “तिम्रो भाइ ब्यूँतनेछ।”—यूहन्‍ना ११:२१-२३.

येशूले भविष्यको पुनर्जीवनबारे कुरा गर्दै हुनुहुन्छ भन्‍ने सोचले मार्थाले जवाफ दिइन्‌: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ।” (यूहन्‍ना ११:२४) पुनर्जीवनको शिक्षाबारे तिनको विश्‍वास उल्लेखनीय थियो। हिब्रू धर्मशास्त्रमा पुनर्जीवनबारे स्पष्ट कुरा बताइएको भए तापनि सदुकी भनिने केही यहूदी धार्मिक नेताहरू पुनर्जीवनमाथि विश्‍वास गर्दैन थिए। (दानियल १२:१३; मर्कूस १२:१८) येशूले लाजरसजस्तो मृत्यु भएको लामो समय भइसकेको व्यक्‍तिलाई पुनर्जीवित पार्नुभएको नदेखेको भए तापनि उहाँले पुनर्जीवनको आशाबारे सिकाउनुभएको र पुनर्जीवितसमेत पार्नुभएको कुरा मार्थालाई थाह थियो। तर अब हुन लागेको कुरा भने तिनलाई थाह थिएन।

त्यसपछि येशूले एउटा अविस्मरणीय कुरा बताउनुभयो: “पुनर्जीवन र जीवन मै हुँ।” हो, मरेकाहरूलाई भविष्यमा विश्‍वव्यापी तवरमा पुनर्जीवित पार्ने अख्तियार यहोवा परमेश्‍वरले आफ्नो छोरालाई दिनुभएको छ। येशूले मार्थालाई सोध्नुभयो: “के तिमी यो कुरा विश्‍वास गर्छ्यौ?” त्यसपछि तिनले यस लेखको सुरुमै उल्लेख गरिएको जवाफ दिइन्‌। येशू नै ख्रीष्ट अर्थात्‌ मसीह हुनुहुन्छ, यहोवा परमेश्‍वरका छोरा हुनुहुन्छ र भविष्यवक्‍ताहरूले उहाँ यस संसारमा आउनुहुनेछ भनी भविष्यवाणी गरेका थिए भनेर तिनी विश्‍वास गर्थिन्‌।—यूहन्‍ना ५:२८, २९; ११:२५-२७.

के यहोवा परमेश्‍वर र उहाँको छोरा येशूले यस्तो विश्‍वासको मोल गर्नुहुन्छ? यसपछि मार्थाकै आँखासामु भएको घटनाले यसको स्पष्ट जवाफ दिन्छ। तिनी आफ्नी बहिनीलाई बोलाउन हतारिंदै गइन्‌। त्यसपछि मरियम र उनीसँगै शोक गरिरहेकाहरूसित येशूले कुरा गर्दा उहाँलाई असाध्यै दुःख लागेको रहेछ भनी मार्थाले बुझिन्‌। मृत्युले मनमा पार्ने गहिरो चोट महसुस गर्दा येशूको आँखामा आँसु आएको मार्थाले देखिन्‌। येशूले ओडारको मुखबाट ढुङ्‌गा हटाउने आदेश दिनुभएको तिनले सुनिन्‌।—यूहन्‍ना ११:२८-३९.

तिनको भाइ बितेको चार दिन भइसकेकोले अब त गन्हाउन थालिसक्यो होला भनेर मार्थाले बताइन्‌। येशूले तिनलाई सम्झाउनुभयो: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले ममाथि विश्‍वास गऱ्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछ्यौ?” तिनले विश्‍वास गरिन्‌ र यहोवा परमेश्‍वरको महिमा देखिन्‌। यहोवाले लाजरसलाई पुनर्जीवित पार्न आफ्नो छोरालाई त्यत्ति नै खेर शक्‍ति दिनुभयो! मार्थाले आफू बाँचुन्जेलसम्म बिर्सनै नसकेका ती पलहरूबारे सोच्नुहोस्‌:- येशूले ठूलो सोरमा “ए लाजरस, बाहिर आऊ!” भन्‍नुभएको; लास बेह्रिएको कपडासहित लाजरस ब्यूँतिएर ओडारको मुखमा आउँदा मधुरो आवाज निस्केको; “उसलाई फुकाइदेओ र जान देओ” भन्दै येशूले आदेश दिनुभएको र मार्था अनि मरियमले तुरुन्तै आफ्नो भाइलाई खुसीले अँगालो हालेको। (यूहन्‍ना ११:४०-४४) मार्थाले बल्ल सन्तोषको सास फेर्न पाइन्‌!

यस विवरणले देखाउँछ कि मरेकाहरू पुनर्जीवित हुने कुरा काल्पनिक मात्र होइन बरु यो एउटा वास्तविक इतिहास र बाइबलको मनै छुने शिक्षा हो। मार्था, मरियम र लाजरसलाई तिनीहरूको विश्‍वासको इनाम दिएझैं यहोवा र उहाँको छोरा हामीलाई पनि इनाम दिन इच्छुक हुनुहुन्छ। यदि तपाईंले आफ्नो विश्‍वास मार्थाको जस्तै बलियो बनाउनुभयो भने उहाँहरूले तपाईंलाई पनि इनाम दिनुहुनेछ।  a

“मार्था सेवा-टहल गरिरहेकी थिइन्‌”

बाइबलले मार्थाबारे अर्को एक चोटि मात्र उल्लेख गरेको छ। पृथ्वीमा येशूको जीवनको अन्तिम हप्ताको सुरुतिरको कुरा हो। भविष्यमा कस्ता कठिनाइहरू आइपर्नेछन्‌ भनेर राम्ररी थाह भएकोले येशूले फेरि बेथानीमै बस्ने छनौट गर्नुभयो। येशू बेथानीदेखि हिंडेर तीन किलोमिटर टाढा यरूशलेम जानुहुने थियो। येशू र लाजरस कुष्ठरोगी सिमोनको घरमा भोजन गर्दै हुनुहुन्थ्यो। अनि मार्थाबारे बाइबलमा रेकर्ड गरिएको यो नै अन्तिम पटक हो: “मार्था सेवा-टहल गरिरहेकी थिइन्‌।”—यूहन्‍ना १२:२.

कत्ति जाँगरिली स्त्री! बाइबल विवरणमा पहिलो पटक देखा पर्दा तिनी काम गरिरहेकी थिइन्‌ भने अन्तिम पटक पनि अरूको आवश्‍यकता पूरा गर्न सकेजति गरिरहेकी थिइन्‌। आज ख्रीष्टका अनुयायीहरूको मण्डलीमा पनि आत्मत्याग देखाएर सधैं आफ्नो विश्‍वासअनुसार चल्ने मार्थाजस्तै साहसी र उदार स्त्रीहरू हुनु साँच्चै आशिष्‌को कुरा हो। मार्थाले पछिसम्म पनि त्यसै गरिरहेकी हुनुपर्छ। त्यसो हो भने तिनी बुद्धिमानीसाथ चलिन्‌ किनभने तिनले अझ धेरै बाधाविघ्नको सामना गर्न बाँकी थियो।

केही दिनपछि मार्थाले आफ्नो प्यारो गुरु येशूको डरलाग्दो मृत्युको चोट सहनुपर्ने थियो। त्यसमाथि येशूका हत्याराहरू लाजरसलाई पनि मार्न लागिपरेका थिए किनभने उनी पुनर्जीवित भएको कुराले गर्दा थुप्रै मानिसले येशूलाई विश्‍वास गर्न थालेका थिए। (यूहन्‍ना १२:९-११) आखिरमा निश्‍चय पनि मृत्युको कारण मार्थाले आफ्ना भाइबहिनीसितको मायालु साथ गुमाइन्‌। लाजरसको मृत्यु कहिले अथवा कसरी भयो, हामीलाई थाह छैन। तर यतिचाहिं पक्का छ कि मार्थाको अमूल्य विश्‍वासले तिनलाई अन्तसम्म सहन बल दियो। त्यसैकारण आज ख्रीष्टियनहरूले मार्थाको विश्‍वास अनुकरण गर्नुपर्छ। ( w11 -E 04/01)

[फुटनोट]

a पुनर्जीवनसम्बन्धी बाइबलको शिक्षाबारे थप कुरा सिक्न चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ७ हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

शोकको बेलामा समेत मार्थाले आफ्नो विश्‍वासलाई बलियो बनाउने कुराहरूमा ध्यान केन्द्रित गर्न येशूको डोऱ्‍याइ स्वीकारिन्‌

[पृष्ठ २४-मा भएको चित्र]

“ज्यादै चिन्ता” गरे तापनि मार्थाले नम्र भई सल्लाह स्वीकारिन्‌

[पृष्ठ २७-मा भएको चित्र]

मार्थाले येशूमाथि विश्‍वास गरेकीले इनामस्वरूप आफ्नो भाइ पुनर्जीवित भएको हेर्न पाइन्‌