सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”—ग्वाडालुपे भिल्लारेल

जन्म मिति: सन्‌ १९६४

जन्म स्थान: मेक्सिको

विगतमा: अनैतिक जीवन बिताएका

मेरो विगत: म मेक्सिकोको सोनोरा राज्यको हर्मोसिलो भन्‍ने ठाउँको गरिबहरू बस्ने बस्तीमा हुर्किएको थिएँ। हामी सात छोराछोरी थियौँ। अनि हामी सबै जना एउटा सानो घरमा बस्थ्यौँ। म सानै छँदा बुबाको मृत्यु भयो। त्यसैले आमाले नै हाम्रो ख्याल राख्न काम गर्नुपर्ने भयो। म खाली खुट्टा नै हिँड्‌ने गर्थेँ किनभने हामीसँग जुत्ता किन्‍न पैसा हुँदैनथ्यो। परिवारको खर्च धान्‍न मैले सानो हुँदादेखि नै काम सुरु गरेँ।

हाम्रो हेरविचार गर्न आमा प्रायजसो घरमा हुनुहुन्‍नथ्यो। त्यसैले म ६ वर्षको छँदा एक जना १५ वर्षको पुरुषबाट मैले यौन दुर्व्यवहार भोग्नुपऱ्‍यो। तिनले लामो समयसम्म त्यसो गरिरहे। यसको नतिजास्वरूप पुरुषहरूतर्फ आकर्षित हुनु साधारण नै हो जस्तो मलाई लाग्न थाल्यो। मैले डाक्टर अनि पादरीहरूसित मदत मागेँ तर तिनीहरूले यो कुनै समस्या होइन, यस्ता भावनाहरू साधारण नै हुन्‌ भनेर बताए।

मैले १४ वर्षको हुँदा खुलेआम समलिङ्‌गी जीवन बिताउने निर्णय गरेँ। अनि ११ वर्षसम्म त्यस्तै जीवन बिताएँ। त्यतिबेला म थुप्रै पुरुषहरूसित बसेँ। पछि मैले हेयरस्टाइलिस्टको काम सुरु गरेँ अनि ब्युटी पार्लर खोलेँ। तर म खुसी थिइनँ। मैले जीवनमा दुःख भोगेँ अनि धोका पनि पाएँ। आफूले रोजेको बाटो गलत भएको मैले महसुस गरेँ। मैले आफैलाई यस्तो प्रश्‍न गरेँ: ‘के संसारमा असल र वफादार मानिसहरू पनि छन्‌?’

मैले आफ्नी दिदीलाई सम्झेँ। उहाँले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्नुभयो अनि पछि बप्तिस्मा पनि गर्नुभयो। उहाँले मलाई आफूले सिकेको कुरा बताउने गर्नुहुन्थ्यो तर म भने त्यति वास्ता गर्दिनथेँ। तैपनि उहाँलाई देखेर म खुसी थिएँ। दिदी र भिनाजु एकअर्कालाई माया र आदर गर्नुहुन्थ्यो अनि एकअर्कासित नम्र भई व्यवहार गर्नुहुन्थ्यो। पछि एक साक्षीले मलाई पनि अध्ययन गराउन थालिन्‌। सुरुमा त मलाई त्यति चासो लागेको थिएन तर पछि मेरो चासो बढ्‌दै गयो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? यहोवाका साक्षीहरूले मलाई सभाको निम्तो दिए अनि म त्यहाँ गएँ। तिनीहरूले मलाई न्यानो स्वागत गरे। मानिसहरू मलाई गिज्याउने गर्थे तर यहोवाका साक्षीहरू भने फरक थिए। तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे। यो मेरो लागि नौलो अनुभव थियो। यसले ममा गहिरो छाप पाऱ्‍यो।

यहोवाका साक्षीहरूको सम्मेलनमा उपस्थित भएपछि त्यसले ममा झन्‌ धेरै प्रभाव पाऱ्‍यो। अरू थुप्रै मानिस पनि मेरी दिदीजस्तै वफादार अनि असल छन्‌ भनेर मैले देख्न सकेँ। मैले सोचेँ ‘लामो समयदेखि मैले खोजिरहेको असल अनि वफादार व्यक्‍तिहरू यिनीहरू नै हुनुपर्छ।’ तिनीहरूको प्रेम र एकता देखेर म त छक्कै परेँ। त्यसको साथसाथै तिनीहरूले बाइबलबाटै सबै प्रश्‍नको जवाफ दिएको देख्दा पनि मलाई अचम्म लाग्यो। बाइबलअनुसार चलेकोले नै तिनीहरूको जीवन राम्रो भएको हो भनेर मैले महसुस गरेँ। त्यसैले तिनीहरूजस्तै हुन मैले पनि आफ्नो जीवनमा थुप्रै परिवर्तन गर्नुपर्छ जस्तो लाग्यो।

वास्तवमै भन्‍ने हो भने मैले आफ्नो जीवनमा कायापलट गर्नुपर्थ्यो। मैले आफ्नो बोली, व्यवहार, पहिरन, कोरीबाटी र साथीसङ्‌गत सबै परिवर्तन गर्नुपर्थ्यो। मेरा पहिलेका साथीहरूले मलाई यसो भन्‍ने गर्थे: “तिमी यो के गर्दै छौ? तिमी जस्तो छौ त्यस्तै ठीक छौ। बाइबल अध्ययन गर्न छोड। तिमीसँग सबै कुरा त छ।” उनीहरूले मलाई निकै दबाब दिए। तर मेरो लागि सबैभन्दा गाह्रो कुरा भनेको चाहिँ आफ्नो अनैतिक जीवनशैली परिवर्तन गर्नु थियो।

तर मलाई यस्ता ठूला परिवर्तनहरू गर्न सकिन्छ भनेर थाह थियो। किनकि १ कोरिन्थी ६:९-११ मा बताइएको कुरा मेरो हृदयमा गढिएको थियो। “अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन? नबहकिओ। अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, व्यभिचार गर्नेहरू, समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू, समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌। तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्‍वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ।” यहोवाले त्यतिबेलाका मानिसहरूलाई परिवर्तन गर्न मदत गर्नुभएको थियो। अनि उहाँले मलाई पनि मदत गर्नुभयो। परिवर्तन गर्न मलाई निकै वर्ष लाग्यो अनि धेरै सङ्‌घर्ष गर्नुपऱ्‍यो। तर साक्षीहरूको माया अनि डोऱ्‍याइले म परिवर्तन हुन सकेँ।

मैले कस्तो लाभ उठाएको छु? अहिले मैले असल जीवन बिताउन सकेको छु। म र मेरी श्रीमती सँगै मिलेर छोरालाई बाइबल सिद्धान्तअनुसार जीवन बिताउन सिकाउँदै छौँ। अहिले मेरो जीवन पहिलाको जस्तो छैन। मैले यहोवासित बलियो सम्बन्ध गाँस्न सकेको छु र उहाँको सेवा गर्न पाउँदा आनन्दित छु। म मण्डलीमा एल्डरको रूपमा सेवा गर्दै छु अनि अरूलाई परमेश्‍वको वचनबाट सत्य सिक्न मदत पनि गर्दै छु। म परिवर्तन भएको देखेर मेरी आमा पनि एकदमै खुसी हुनुभयो र बाइबल अध्ययन गर्नुभयो। उहाँले पछि बप्तिस्मा पनि गर्नुभयो। मेरी बहिनी जो अनैतिक जीवन बिताउँथिन्‌ तिनी पनि पछि यहोवाको साक्षी भइन्‌।

विगतमा मेरो जीवन कस्तो थियो भनेर थाह भएका केही व्यक्‍तिले म परिवर्तन भएर राम्रो भएको याद गरेका छन्‌। मैले विगतमा डाक्टरहरूको मदत खोज्दा राम्रो सल्लाह पाइनँ। तर यहोवाले मलाई धेरै मदत गर्नुभयो। म आफूलाई तुच्छ ठान्थेँ तर उहाँले मलाई याद गर्नुभयो। उहाँले मसित मायालु अनि धीरजी भई व्यवहार गर्नुभयो। यस्तो मायालु अनि बुद्धिमान्‌ परमेश्‍वरले मलाई याद गर्नुभएकोले नै मैले आफ्नो जीवन परिवर्तन गरेर उत्तम जीवन बिताउन सकेको छु।