पूर्ण गम्भीरतासाथ यहोवाको सेवा गर्ने
पूर्ण गम्भीरतासाथ यहोवाको सेवा गर्ने
“जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्, . . . तिनै कुराहरूको विचार गरिरहो।”—फिलि. ४:८.
१, २. आज संसारमा थुप्रैले जीवनप्रति हल्का दृष्टिकोण राख्नुको कारण के हो र यसले गर्दा कस्ता प्रश्नहरू खडा हुन्छन्?
हामी मानव इतिहासको अत्यन्तै कठिन तथा दुःखद समयमा बाँचिरहेका छौं। यहोवासित घनिष्ठ सम्बन्ध नगाँसेका मानिसहरूका लागि यस ‘असाध्यै कठिन समयको’ सामना गर्नु असम्भवै हुन सक्छ। (२ तिमो. ३:१-५) तिनीहरू आफ्नै बल-बर्कतको भरमा हरेक दिन कटाउँछन् तर समस्याहरूसित जुझ्न खासै सफल हुन सकेका छैनन्। जीवनलाई गम्भीरतासाथ नलिनको लागि थुप्रै मानिस मनोरञ्जन जगत्ले दिने एकपछि अर्को मोजमस्तीबाट मन बहलाउन खोज्छन्।
२ जीवनका तनावहरूसित जुझ्न मानिसहरू अक्सर सुखविलासको चाहनालाई पहिलो स्थान दिन्छन्। तर होसियार नभएमा ख्रीष्टियनहरू पनि यस्तो जीवनशैलीमा सजिलै फस्न सक्छन्। यसो हुन नदिन हामी के गर्न सक्छौं? के हामी हर घडी गम्भीर हुनुपर्छ? सुखविलास र जिम्मेवारीहरूबीच हामी कस्तो सन्तुलन कायम गर्न सक्छौं? जीवनबारे गम्भीर भए तापनि अचाक्ली गम्भीर भने नहुन कस्ता धर्मशास्त्रीय सिद्धान्तहरूले हामीलाई डोऱ्याउनुपर्छ?
सुखविलासलाई प्रेम गर्ने संसारमा गम्भीर हुने
३, ४. गम्भीर हुनुपर्ने आवश्यकतालाई मोल गर्न धर्मशास्त्रले हामीलाई कसरी मदत गर्छ?
३ ‘सुखविलासप्रतिको प्रेमलाई’ यस संसारले अचाक्ली महत्त्व दिन्छ भनेर बताइरहनुपर्दैन। (२ तिमो. ३:४) यस संसारले मोजमस्ती गर्न निकै जोड दिने हुँदा यसले यहोवासित हाम्रो सम्बन्धलाई खतरामा पार्न सक्छ। (हितो. २१:१७) त्यसकारण प्रेषित पावलले तिमोथी र तीतसलाई लेखेको पत्रमा गम्भीरताबारे पनि सल्लाह दिनु उपयुक्त थियो। त्यो सल्लाह पालन गर्दा जीवनप्रति यस संसारले राख्ने हल्का दृष्टिकोणलाई प्रतिकार गर्न सक्नेछौं।—१ तिमोथी २:१, २; तीतस २:२-८ पढ्नुहोस्।
४ जीवनलाई गम्भीरतासाथ लिन कहिलेकाहीं सुखविलासलाई त्याग्नुपर्ने महत्त्वबारे सुलेमानले शताब्दियौंअघि लेखे। (उप. ३:४; ७:२-४) हो, जीवन छोटो भएकोले उद्धार पाउन हामीले “भरमग्दुर कोसिस” गर्नुपर्छ। (लूका १३:२४) त्यसो गर्न हामीले “गम्भीरतासाथ ध्यान दिन लायकका” सबै कुरालाई विचार गरिरहनुपर्छ। (फिलि. ४:८, ९) यसको मतलब, ख्रीष्टियन जीवनको हरेक पक्षलाई होसियारीसाथ ध्यान दिनुपर्छ।
५. हामीले गम्भीरतासाथ लिनुपर्ने जीवनको एउटा पक्ष कुन हो?
५ उदाहरणको लागि, यहोवा र येशूको अनुकरण गर्दै ख्रीष्टियनहरूले कडा मेहनत गर्ने जिम्मेवारीलाई गम्भीरतासाथ लिन्छन्। (यूह. ५:१७) परिणामस्वरूप, मानिसहरूले अक्सर तिनीहरूलाई मेहनती र भरोसायोग्य कामदार भनेर तारिफ गर्छन्। खास गरी परिवारका शिरहरू आफ्नो परिवारको पालनपोषणको लागि कडा मेहनत गर्न सजग छन्। हुन पनि, आफ्नै परिवारका सदस्यहरूको लागि भौतिक प्रबन्ध नगर्नु ‘विश्वासलाई त्याग्नु’ अर्थात् यहोवालाई त्याग्नु बराबर हो।—१ तिमो. ५:८.
यहोवाको उपासनाप्रति गम्भीर तर आनन्दित दृष्टिकोण राख्ने
६. यहोवाको उपासनालाई गम्भीरतासाथ लिनुपर्छ भनेर हामी कसरी थाह पाउँछौं?
६ यहोवाले साँचो उपासनालाई कहिल्यै हल्कासित लिनुभएको छैन। उदाहरणको लागि, इस्राएलीहरू यहोवाको उपासनाबाट तर्किंदा मोशाको व्यवस्थामा दिइएअनुरूपै तिनीहरूले दुःखदायी परिणाम भोग्नुपऱ्यो। (यहो. २३:१२, १३) इस्वी संवत् प्रथम शताब्दीमा ख्रीष्टका अनुयायीहरूले साँचो उपासनालाई भ्रष्ट शिक्षा तथा मनोवृत्तिबाट अलग्गै राख्न भरमग्दुर प्रयास गर्नुपऱ्यो। (२ यूह. ७-११; प्रका. २:१४-१६) आज पनि साँचो ख्रीष्टियनहरूले यहोवाको उपासनालाई गम्भीरतासाथ लिइरहेका छन्।—१ तिमो. ६:२०.
७. पावलले सेवाको कामको लागि कसरी तयारी गरे?
७ हाम्रो क्षेत्र सेवा आनन्दको स्रोत हो। तर सेवाको काममा आनन्द कायम राख्न हामीले गम्भीरतासाथ सोचविचार गर्नुका साथै पूर्वतयारी गर्नुपर्छ। आफूले सिकाएका मानिसहरूप्रति चासो देखाएको कुरा पावलले यसरी लेखे: “कसै-कसैलाई हर हालतमा बचाउन सकूँ भनेर सबै किसिमका मानिसहरूका लागि म सबै कुरा भएको छु। अरूलाई सुसमाचार बाँड्न सकूँ भनेर यसको खातिर म सब थोक गर्छु।” (१ कोरि. ९:२२, २३) मानिसहरूलाई परमेश्वरसित सम्बन्ध गाँस्न मदत दिंदा पावल रमाए। अनि आफ्ना श्रोताको खास आवश्यकतालाई कसरी पूरा गर्ने भनेर पनि गम्भीरतासाथ सोचविचार गरे। त्यसैले यहोवाको उपासना गर्न तिनले मानिसहरूलाई प्रोत्साहन तथा प्रेरणा दिन सके।
८. (क) सेवाको कामको दौडान हामीले सिकाउने मानिसहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? (ख) बाइबल अध्ययन सञ्चालन गर्दा सेवाको काम कसरी आनन्ददायी बन्न सक्छ?
८ पावल आफ्नो सेवाको कामबारे कत्तिको गम्भीर थिए? तिनी यहोवा र सत्यको सन्देश सुन्ने मानिसहरूको “दास” बन्न इच्छुक थिए। (रोमी १२:११; १ कोरि. ९:१९) गृह बाइबल अध्ययन, ख्रीष्टियन सभा वा पारिवारिक उपासनाको बेला परमेश्वरको वचनबाट सिकाउने जिम्मेवारी वहन गर्दा के हामी आफूले सिकाउने मानिसहरूप्रतिको जिम्मेवारी पूरा गर्न सजग हुन्छौं? नियमित तवरमा बाइबल अध्ययन सञ्चालन गर्नु हामीलाई असाध्यै बोझिलो लाग्ला। हुनत यसो गर्न हामीले अक्सर आफ्नो व्यक्तिगत कामकुराबाट समय निकालेर अरूलाई मदत गर्नको लागि त्यो समय खर्च गर्नुपर्ने हुन्छ। तर येशूले “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भन्नुको आशय के यही होइन र? (प्रेषि. २०:३५) उद्धारको मार्गबारे आफूले अरूलाई सिकाउँदा प्राप्त हुने आनन्दलाई अरू कुनै पनि क्रियाकलापसित तुलना गर्न सकिंदैन।
९, १०. (क) गम्भीर हुनुको मतलब आराम गर्नै हुँदैन र मानिसहरूसित रमाइलो समय बिताउनै हुँदैन भनेको हो? व्याख्या गर्नुहोस्। (ख) प्रोत्साहनदायी र कुराकानी गर्न सजिलो व्यक्ति बन्न एल्डरलाई केले मदत गर्नेछ?
९ गम्भीर हुनुको मतलब हामीले मानिसहरूसित आरामदायी र रमाइलो समय बिताउनै हुँदैन भनेको होइन। अरूलाई सिकाउन मात्र होइन तर रमाइलो गर्न अनि अरूसित अर्थपूर्ण सम्बन्ध गाँस्न समय निकाल्ने सन्दर्भमा येशूले सर्वोत्तम उदाहरण बसाल्नुभयो। (लूका ५:२७-२९; यूह. १२:१, २) गम्भीर हुनुको मतलब हामी सधैं कठोर देखिनुपर्छ भन्ने पनि होइन। येशूको स्वभाव कठोर अनि असाध्यै गम्भीर खालको भएको भए मानिसहरू पक्कै पनि उहाँप्रति आकर्षित हुनेथिएनन्। केटाकेटीहरूसमेत उहाँकहाँ आउन सजिलो महसुस गर्थे। (मर्कू. १०:१३-१६) हामी कसरी येशूको सन्तुलित व्यवहार अनुकरण गर्न सक्छौं?
१० एक जना एल्डरबारे एक भाइले भने, “उहाँ आफूबाट धेरै माग गर्नुहुन्छ तर अरूबाट भने कहिल्यै धेरै माग गर्नुहुन्न।” के तपाईंबारे पनि यस्तै भन्न सकिन्छ? अरूबाट केही व्यावहारिक माग गर्नु उचित हो। उदाहरणको लागि, आमाबाबुले केही व्यावहारिक लक्ष्यहरू राखिदिंदा अनि ती हासिल गर्न मदत गर्दा छोराछोरी अघि बढ्छन्। त्यसरी नै, एल्डरहरूले मण्डलीका सदस्यहरूलाई यहोवाको सेवामा बढ्दै जान प्रोत्साहन दिनुका साथै त्यसो गर्न सक्ने तरिकाबारे सुस्पष्ट सुझाव दिन सक्छन्। अनि एल्डरले आफूप्रति सन्तुलित दृष्टिकोण राख्दा तिनी न्यानो स्वभावका र स्फूर्तिदायी बन्नेछन्। (रोमी १२:३) एउटी बहिनीले भनिन्: “एल्डरले सबै कुरालाई ख्यालठट्टामा उडाएको म चाहन्नँ। तर सधैं गम्भीर भएमा उहाँसित कुरा गर्न गाह्रो हुन्छ।” अर्की बहिनीले भनेअनुसार कोही-कोही एल्डर “एकदमै गम्भीर स्वभावको भएकाले असाध्यै डर लाग्छ।” “आनन्दित परमेश्वर” यहोवाको उपासना गर्दा आनन्दित हुनुपर्ने दृष्टिकोणलाई एल्डरहरूले कहिल्यै फितलो पार्नु हुँदैन।—१ तिमो. १:११.
मण्डलीमा जिम्मेवारी वहन गर्ने
११. मण्डलीमा ‘अघि बढ्नुको’ अर्थ के हो?
११ पावलले मण्डलीका पुरुषहरूलाई थप जिम्मेवारीको लागि योग्य हुन परिश्रम गर्ने प्रोत्साहन दिंदा तिनले व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न प्रोत्साहन दिन खोजेका थिएनन्। बरु तिनले लेखे: “यदि कुनै पुरुष निरीक्षक बन्न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ।” (१ तिमो. ३:१, ४) ‘अघि बढ्ने’ हो भने ख्रीष्टियन पुरुषहरूले आफ्ना भाइहरूको सेवा गर्न योग्य हुन चाहिने धर्मशास्त्रीय गुणहरू हासिल गर्न कडा मेहनत गर्ने तीव्र इच्छा विकास गर्नुपर्छ। यदि कुनै भाइले बप्तिस्मा गरेको कम्तीमा एक वर्ष भइसक्यो र तिनले १ तिमोथी ३:८-१३ मा उल्लिखित सहायक सेवकको लागि चाहिने धर्मशास्त्रीय योग्यता व्यावहारिक हदसम्म पूरा गरेका छन् भने तिनलाई नियुक्तिको लागि सिफारिस गर्न सकिन्छ। याद गर्नुहोस्, पद ८ ले स्पष्टसित यसो भन्छ: “त्यसैगरि, सहायक सेवक गम्भीर हुनुपर्छ।”
१२, १३. जवान भाइहरू जिम्मेवारीको लागि अघि बढ्न सक्ने तरिकाहरू व्याख्या गर्नुहोस्।
१२ के तपाईं किशोरावस्था सिद्धिनै लागेको बप्तिस्माप्राप्त गम्भीर भाइ हुनुहुन्छ? तपाईं अघि बढ्न सक्ने विभिन्न तरिका छन्। एउटा हो, प्रचारकार्यमा आफ्नो सहभागिता बढाएर। के तपाईं सबै उमेरका भाइबहिनीसित प्रचारमा जान रमाउने खालको व्यक्ति हुनुहुन्छ? के तपाईं कसैसित बाइबल अध्ययन गर्नको लागि प्रयास गर्दै हुनुहुन्छ? ख्रीष्टियन सभाहरूमा दिइने सुझावअनुरूप बाइबल अध्ययन सञ्चालन गर्दा तपाईंको शिक्षण क्षमता बढ्नेछ। साथै, यहोवाको तौरतरिकाबारे सिकिरहेका व्यक्तिप्रति दया देखाउन सिक्नुहुनेछ। तपाईंको बाइबल विद्यार्थीले छाँटकाँट गर्नुपर्ने महत्त्व बुझ्दै गएपछि तिनलाई बाइबल सिद्धान्तहरू लागू गर्न धैर्यपूर्वक र कौशलतासाथ मदत गर्न सिक्नुहुनेछ।
१३ तपाईं जवान भाइहरूले मण्डलीमा आफूभन्दा पाका व्यक्तिहरूलाई आफूले दिन सक्ने जस्तोसुकै मदत दिन सक्नुहुन्छ। तपाईंले राज्यभवनलाई सफा र चिटिक्क राख्न मदत गरेर त्यसको स्याहारसम्भारमा चासो देखाउन पनि सक्नुहुन्छ। आफूले सक्ने जस्तोसुकै मदत दिंदा तपाईं सेवाको काममा गम्भीर हुनुहुन्छ भनेर तपाईंको इच्छुक मनोभावले प्रमाण दिन्छ। तिमोथीले जस्तै तपाईंले पनि मण्डलीका भाइबहिनीहरूको खाँचोप्रति साँचो चासो देखाउन सिक्न सक्नुहुन्छ।—फिलिप्पी २:१९-२२ पढ्नुहोस्।
१४. मण्डलीमा सेवा गर्नको लागि कसरी जवान भाइहरूको ‘योग्यता जाँच्न’ सकिन्छ?
१४ एल्डरहरू हो, ‘युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग्न’ र अरू असल गुणहरूको साथसाथै ‘परमेश्वरको स्तरबमोजिमको असल काम, विश्वास, प्रेम र शान्तिको पछि लाग्न’ प्रयास गरिरहेका जवान भाइहरूलाई कामको जिम्मा दिन सजग हुनुहोस्। (२ तिमो. २:२२) तिनीहरूलाई मण्डलीमा विभिन्न काम गर्न खटाउँदा जिम्मेवारी वहन गर्ने ‘तिनीहरूको योग्यता जाँच्न’ सकिन्छ, ताकि तिनीहरूको “प्रगति सबै मानिसहरूसामु प्रकट होस्।”—१ तिमो. ३:१०; ४:१५.
मण्डली र परिवारमा गम्भीरता देखाउने
१५. पहिलो तिमोथी ५:१, २ अनुसार अरूप्रतिको दृष्टिकोणमा हामी कसरी गम्भीरता देखाउन सक्छौं?
१५ गम्भीरता देखाउनु भनेको हाम्रा भाइबहिनीहरूलाई मर्यादित व्यवहार गर्नु पनि हो। पावलले तिमोथीलाई दिएको सल्लाहमा अरूप्रति आदरभाव राख्नुपर्ने आवश्यकताबारे बताए। ( १ तिमोथी ५:१, २ पढ्नुहोस्) यो विशेषगरि विपरीत लिङ्गको व्यक्तिसित व्यवहार गर्दा महत्त्वपूर्ण छ। अय्यूबले स्त्रीहरूलाई, अझ खासगरि आफ्नी पत्नीलाई देखाएको मर्यादा अनुकरण गर्न लायकको छ। तिनले अर्की स्त्रीलाई कुदृष्टिले हेरी नरहन अथक प्रयास गरे। (अय्यू. ३१:१) हाम्रा भाइबहिनीलाई गम्भीरतासाथ हेर्छौं भने तिनीहरूसित कुनै हालतमा बेमतलबले जिस्किनेछैनौं अथवा कुनै भाइ वा बहिनीलाई हाम्रो नजिक आउन अप्ठ्यारो महसुस गराउनेछैनौं। विवाह गर्ने उद्देश्य राखेर एक-अर्कासित रोमान्टिक सम्बन्ध गाँसिरहेका दुई व्यक्तिले आपसमा मर्यादित व्यवहार गर्नु झनै महत्त्वपूर्ण छ। गम्भीर ख्रीष्टियनले विपरीत लिङ्गको व्यक्तिको भावनासित कहिल्यै खेलबाड गर्नेछैनन्।—हितो. १२:२२.
१६. पति र बुबाको भूमिकाप्रति संसारका कोही-कोहीले राख्ने दृष्टिकोण र बाइबलमा बताइएको तिनको भूमिकाबीच कस्तो भिन्नता छ, बताउनुहोस्।
१६ परिवारमा परमेश्वरले दिनुभएको भूमिकाप्रति गम्भीर दृष्टिकोण राख्न पनि हामी होसियार हुनुपर्छ। सैतानको संसारले पति र बुबाको भूमिकालाई हाँसोमा उडाउँछ। परिवारको शिरलाई केवल गिल्ला र अनादरको पात्रजस्तो देखाउन पाउँदा मनोरञ्जनजगत् रमाउँछ। तर धर्मशास्त्रले पतिलाई “स्त्रीको शिर”-को रूपमा खटाएर ठूलो जिम्मेवारी सुम्पेको छ।—एफि. ५:२३; १ कोरि. ११:३.
१७. पारिवारिक उपासनामा हाम्रो सहभागिताले हामी आफ्नो जिम्मेवारीप्रति गम्भीर छौं भनेर कसरी देखाउन सक्छ, व्याख्या गर्नुहोस्।
१७ पतिले आफ्नो परिवारको लागि भौतिक प्रबन्ध गर्लान्। तर तिनले परमेश्वरसितको सम्बन्धबारे परिवारलाई निर्देशन प्रदान गर्दैनन् भने समझ र बुद्धिको अभाव देखाइरहेका हुनेछन्। (व्यव. ६:६, ७) त्यसैले १ तिमोथी ३:४ मा बताइएअनुसार तपाईं परिवारको शिर हुनुहुन्छ र मण्डलीमा थप सुअवसरको लागि अघि बढिरहनुभएको छ भने तपाईंले ‘आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ र तपाईंका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नै पर्छ।’ यस सन्दर्भमा आफैलाई सोध्नुहोस्, ‘के म पारिवारिक उपासनाको लागि नियमित तवरमा समय छुट्याउँछु?’ केही ख्रीष्टियन पत्नीले त आफ्नो पतिलाई परमेश्वरको उपासना गर्ने सन्दर्भमा नेतृत्व लिनको लागि बिन्ती नै गर्नुपर्ने हुन्छ। पतिहरू सबैले यस जिम्मेवारीप्रति आफ्नो दृष्टिकोणलाई गम्भीरतासाथ लिनुपर्छ। निस्सन्देह, ख्रीष्टियन पत्नीले पनि पारिवारिक उपासनाको प्रबन्धलाई समर्थन गर्नुपर्छ अनि यसलाई सफल बनाउन आफ्नो पतिलाई सहयोग गर्नुपर्छ।
१८. केटाकेटीले गम्भीर हुन कसरी सिक्न सक्छन्?
१८ जीवनलाई गम्भीरतासाथ लिन छोराछोरीलाई पनि प्रोत्साहन दिइएको छ। (उप. १२:१) साना केटाकेटीले कडा मेहनत गर्न सिक्नु र आफ्नो उमेर तथा क्षमताले भ्याउने घरायसी काम गर्नु राम्रो हो। (विला. ३:२७) राजा दाऊदले सानो छँदा नै असल गोठालो हुन सिके। तिनले सङ्गीतकार र रचनाकार हुन पनि सिके। यस्तो सीपले गर्दा तिनले इस्राएलका राजासामु सेवा गर्न पाए। (१ शमू. १६:११, १२, १८-२१) हुनत ठिटो छँदा दाऊदलाई रमाइलो कसरी गर्ने भनेर थाह थियो। तर तिनले अरू अनमोल सीपहरू पनि सिके, जसलाई तिनले पछि यहोवाको प्रशंसा गर्न प्रयोग गरे। गोठालोको काम गर्न सिपालु भएको हुँदा तिनले धैर्यपूर्वक इस्राएल राष्ट्रको नेतृत्व लिन सके। जवान व्यक्तिहरू हो, सृष्टिकर्ताको सेवा गर्न र भविष्यमा जिम्मेवारीहरू वहन गर्नको लागि तपाईंलाई मदत गर्ने कति वटा उपयोगी सीप सिक्दै हुनुहुन्छ?
सन्तुलित दृष्टिकोण राख्ने
१९, २०. आफू र आफूले गर्ने उपासनाप्रति कस्तो सन्तुलित दृष्टिकोण राख्न तपाईं कटिबद्ध हुनुहुन्छ?
१९ हामी सबैले आफूप्रति सन्तुलित दृष्टिकोण राख्न अर्थात् आफूलाई अचाक्ली गम्भीरतासाथ नलिन प्रयत्न गर्न सक्छौं। हामी “ज्यादै धर्मी” हुन चाहँदैनौं। (उप. ७:१६) घरमा, काम गर्ने ठाउँमा वा ख्रीष्टियन भाइबहिनीसित व्यवहार गर्दा हुन सक्ने तनावपूर्ण अवस्थालाई उचित किसिमको ख्यालठट्टाले साम्य पार्न सक्छ। परिवारका सदस्यहरू बढ्तै आलोचनात्मक हुनदेखि होसियार हुनुपर्छ, नत्र त शान्ति तथा सुरक्षा छाउनुपर्ने घरको वातावरण भताभुङ्ग हुन सक्छ। मण्डलीमा सबैले एक-अर्कासित हाँसखेल तथा रमाइलो गर्न अनि आफ्नो कुराकानी र शिक्षणशैलीलाई उत्थानदायी तथा सकारात्मक बनाउन सिक्न सक्छन्।—२ कोरि. १३:१०; एफि. ४:२९.
२० यहोवा वा उहाँका नियमहरूलाई गम्भीरतासाथ नलिने संसारमा हामी बाँचिरहेका छौं। अर्कोतर्फ यहोवाका जन भने उहाँप्रति आज्ञाकारी र वफादार हुन एकदमै सजग छन्। “पूर्ण गम्भीरतासाथ” यहोवाको सेवा गर्ने मानिसहरूको विशाल समूहमा हुन पाउनु कस्तो खुसीको कुरा! आफ्नो जीवन र उपासनाप्रति गम्भीर दृष्टिकोण कायम राख्न हामी कटिबद्ध होऔं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• जीवनप्रति संसारको हल्का दृष्टिकोणलाई हामीले किन प्रतिकार गर्नुपर्छ?
• आफ्नो सेवाको काममा हामी कसरी गम्भीर तर आनन्दित हुन सक्छौं?
• जिम्मेवारी वहन गर्ने सन्दर्भमा हाम्रो दृष्टिकोणले हामी गम्भीर छौं कि छैनौं भनेर कसरी देखाउँछ?
• हाम्रा भाइबहिनी अनि परिवारका सदस्यहरूलाई मर्यादित व्यवहार गर्नु किन गम्भीर कुरा हो, व्याख्या गर्नुहोस्।
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १२-मा भएको चित्र]
पतिले आफ्नो परिवारको लागि भौतिक प्रबन्ध गर्नुका साथै परमेश्वरसितको सम्बन्धबारे पनि सिकाउनुपर्छ