सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌

परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌

परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌

“समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।”—हितो. १४:१५, NRV.

१, २. (क) हामीले गर्ने सबै निर्णयमा हाम्रो मुख्य चासो के हुनुपर्छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

 हामीले प्रत्येक दिन सायद धेरै पटक गर्ने एउटा कुरा छ। तीमध्ये थुप्रैले केही समयको लागि मात्र अर्थ राख्छ भने केहीले हाम्रो जीवनमा गहिरो प्रभाव पार्न सक्छ। त्यो के हो? निर्णय। चाहे हामी ठूलो निर्णय गरौं वा सानो, हाम्रो मुख्य चासो परमेश्‍वरको आदर गर्ने हुनुपर्छ।१ कोरिन्थी १०:३१ पढ्‌नुहोस्‌।

तपाईंलाई निर्णय गर्न सजिलो लाग्छ कि गाह्रो? यदि हामी ख्रीष्टियन परिपक्वता हासिल गर्न चाहन्छौं भने हामीले सही र गलत छुट्ट्याउन सिक्नै पर्छ अनि अरूमा भर परेर होइन आफू विश्‍वस्त भएको कुराअनुरूपको निर्णय गर्नुपर्छ। (रोमी १२:१, २; हिब्रू ५:१४) असल निर्णय गर्न सिक्नुपर्ने अन्य सशक्‍त कारण के हुन्‌? निर्णय गर्न कहिलेकाहीं किन असाध्यै गाह्रो हुन्छ? अनि हामीले गर्ने निर्णयले परमेश्‍वरको आदर गर्छ भनी पक्का हुन हामी कस्ता कदमहरू चाल्न सक्छौं?

निर्णय नै किन गर्नुपऱ्‍यो र?

३. निर्णय गर्ने कुरालाई कस्ता कुराहरूले बाधा पुऱ्‍याउन दिनु हुँदैन?

बाइबल स्तरहरू समावेश भएका कुरामा हामी दोमनका भयौं भने सहपाठी वा सहकर्मीहरू हामी आफ्नो आस्थामा आफै विश्‍वस्त छैनौं, त्यसैले हामी सजिलै तिनीहरूको प्रभावमा पर्न सक्छौं भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌। तिनीहरूले झूट बोल्ने, ठग्ने वा चोर्ने काम गर्लान्‌ अनि तिनीहरूलाई साथ दिएर वा कम-से-कम तिनीहरूको गल्ती ढाकछोप गरेर “खराबी गर्न भीडसँग” लाग्ने दबाब देलान्‌। (प्रस्थ. २३:२) तथापि, परमेश्‍वरको आदर हुने निर्णय गर्न जानेको व्यक्‍ति अरूको डर वा अरूले स्वीकारून्‌ भन्‍ने चाहनाले गर्दा बाइबल प्रशिक्षित अन्तस्करणसँग बाझिने काम गर्न अग्रसर हुनेछैन।—रोमी १३:५.

४. हाम्रो लागि निर्णय गरिदिन अरू किन अग्रसर हुन सक्छन्‌?

हाम्रो लागि निर्णय गरिदिन अग्रसर हुने सबैले हाम्रो कुभलो चिताएका हुन्छन्‌ भन्‍ने होइन। राम्रै मनसाय भएका साथीहरूले हामीलाई उनीहरूको सल्लाहअनुसार गर्न जिद्दी गर्लान्‌। हामी आफ्नो घरबाट टाढा बसेका छौं भने हाम्रा आफन्तहरू अझै हाम्रो हितप्रति गहिरो चासो राख्लान्‌ र हामीले गर्नुपर्ने महत्त्वपूर्ण निर्णयहरूमा मुछिन चाहलान्‌। उदाहरणको लागि, उपचारसम्बन्धी मामिलालाई विचार गर्नुहोस्‌। बाइबलले रगतको दुरुपयोगलाई स्पष्टैसित निन्दा गर्छ। (प्रेषि. १५:२८, २९) तर स्वास्थ्यको हेरचाहसम्बन्धी अन्य मामिलाबारे भने तोकेरै बताइएको छैन र कस्तो उपचार स्वीकार्ने, कस्तो उपचार नस्वीकार्ने भनेर हामी प्रत्येकले व्यक्‍तिगत निर्णय गर्नुपर्छ। a हामीलाई माया गर्ने व्यक्‍तिहरूको यी मामिलाबारे आफ्नै बलियो धारणा हुन सक्छ। तथापि, यी मामिलाबारे निर्णय गर्दा प्रत्येक समर्पित बप्तिस्माप्राप्त ख्रीष्टियनले जिम्मेवारीको “आफ्नो भारी” बोक्नुपर्छ। (गला. ६:४, ५) हाम्रो मुख्य चासोको विषय परमेश्‍वरसामु सफा अन्तस्करण कायम राख्नु हो, मानिसहरूसामु होइन।—१ तिमो. १:५.

५.हाम्रो विश्‍वासको जहाज क्षतिग्रस्त हुन नदिन हामी के गर्न सक्छौं?

दोमनको हुँदा हामी गम्भीर खतरामा पर्न सक्छौं। दोमनको व्यक्‍ति “आफ्नो सबै कामकुरामा अस्थिर हुन्छ” भनी चेला याकूबले लेखे। (याकू. १:८) आँधी आएको समुद्रमा बहना नभएको डुङ्‌गामा बसेको मान्छेजस्तै ऊ मानिसहरूको परिवर्तनशील सोचाइद्वारा यता र उता हुत्तिन्छ। यस्तो व्यक्‍तिको विश्‍वासको जहाज सजिलैसित क्षतिग्रस्त हुन सक्छ अनि उसले आफ्नो यस्तो दुःखद अवस्थाको लागि अरूलाई दोष लगाउन सक्छ। (१ तिमो. १:१९) यस्तो हुन नदिन हामी के गर्न सक्छौं? हामी “विश्‍वासमा अटल” हुनै पर्छ। ( कलस्सी २:६, ७ पढ्‌नुहोस्‌) अटल हुनको लागि परमेश्‍वरको प्रेरित वचनमा विश्‍वास गर्छौं भनी देखाउने खालका निर्णयहरू गर्न हामीले सिक्नै पर्छ। (२ तिमो. ३:१४-१७) तर असल निर्णय गर्ने हाम्रो क्षमतामा केले बाधा पुऱ्‍याउन सक्छ?

निर्णयहरू गर्न किन गाह्रो हुन सक्छ?

६. डरले हामीलाई कस्तो असर पार्न सक्छ?

गलत निर्णय गरिएला, असफल भइएला वा अरूको अगाडि मूर्खजस्तो देखिएला भन्‍ने डरले हामीलाई कमजोर बनाउन सक्छ। यसरी चिन्ता गर्नु जायजै हो। समस्यामा मात्र होइन, सायद लाजमा पनि पर्ने गलत निर्णय गर्न कोही पनि चाहँदैन। तैपनि परमेश्‍वर र उहाँको वचनप्रतिको प्रेमले हामीलाई डर कम गर्न मदत गर्न सक्छ। कस्ता तरिकामा? परमेश्‍वरप्रतिको प्रेमले हामीलाई कुनै पनि महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि सधैं उहाँको वचन र बाइबलआधारित प्रकाशनहरूमा सल्लाह खोज्न उत्प्रेरित गर्नेछ। यसप्रकार हामी धेरैजसो गल्ती गर्नबाट जोगिन सक्नेछौं। किन? किनभने बाइबलले ‘सोझाहरूलाई चतुऱ्‍याइँ र युवकहरूलाई ज्ञान र विवेकले परिपूर्ण’ पार्न सक्छ।—हितो. १:४.

७. राजा दाऊदको उदाहरणले हामीलाई के सिकाउन सक्छ?

के हामी सधैं सही निर्णय गर्छौं र? अहँ गर्दैनौं। हामी सबैले गल्ती गर्छौं। (रोमी ३:२३) उदाहरणको लागि, राजा दाऊद बुद्धिमान्‌ र विश्‍वासी मानिस थिए। तैपनि तिनले कहिलेकाहीं गलत निर्णय गरे जसले गर्दा तिनी आफैले र अरूले दुःख भोग्नुपऱ्‍यो। (२ शमू. १२:९-१२) तर दाऊद आफूले गरेको गल्तीहरूको कारण परमेश्‍वरसितको सम्बन्धलाई नै असर गर्नेगरि दोमनको भएर बसेनन्‌। (१ राजा १५:४, ५) विगतमा गल्तीहरू गरेको भए तापनि, यहोवाले हाम्रा गल्तीहरूलाई ध्यान दिइरहनुहुन्‍न र हाम्रो पापलाई क्षमा दिनुहुन्छ भनेर दाऊदले जस्तै सम्झ्यौं भने हामी पनि निर्णयहरू गर्न सक्छौं। यहोवालाई प्रेम गर्ने र उहाँको आज्ञा मान्‍नेहरूलाई उहाँले समर्थन गरिरहनुहुनेछ।—भज. ५१:१-४, ७-१०.

८. प्रेषित पावलले विवाहबारे बताएको कुराबाट हामी के सिक्छौं?

निर्णय गर्नुपर्दा हुने फिक्रीलाई हामी कम गर्न सक्छौं। कसरी? कुनै-कुनै अवस्थामा सही छनौट एउटै मात्र नहुन सक्छ भन्‍ने कुरा बुझेर। विवाहको विषयमा प्रेषित पावलले गरेको तर्क विचार गर्नुहोस्‌। प्रेरणा पाएर तिनले लेखे: “यदि कसैलाई आफ्नो यौनइच्छालाई काबूमा राख्न सक्दिनँ भन्‍ने लाग्छ र यस्तो अवस्थामा विवाह गर्नु नै उचित हो भनी ठान्छ भने बैंस पार गरिसकेको भए उसले विवाह गरोस्‌; उसले पाप गरेको हुँदैन। यस्ता मानिसहरूले विवाह गरून्‌। तर विवाह गर्ने आवश्‍यकता महसुस नभएकोले र आफूलाई काबूमा राख्न सक्ने भएकोले यदि कसैले आफ्नो मनमा अविवाहितै रहने अठोट गरेको छ अनि आफ्नो अठोट बदल्दैन भने उसले असलै गर्छ।” (१ कोरि. ७:३६-३८) पावलले अविवाहित रहनुलाई सर्वोत्तम मार्ग भने तर त्यो नै एक मात्र सही छनौट भने थिएन।

९. हामीले गर्ने निर्णयलाई अरूले कसरी हेर्लान्‌ भनेर के हामी चिन्तित हुनुपर्छ? व्याख्या गर्नुहोस्‌।

हामीले गर्ने निर्णयलाई अरूले कसरी हेर्लान्‌ भनेर के हामी चिन्तित हुनुपर्छ? केही हदसम्म हुनुपर्छ। मूर्तिलाई चढाएको हुन सक्ने खानेकुरा खानेबारे पावलले के बताए, याद गर्नुहोस्‌। तिनले निर्णय आफैमा गलत नहुने भए तापनि कमजोर अन्तस्करण भएको मानिसलाई यसले असर गर्न सक्छ भनेर स्वीकारे। पावलले कस्तो सङ्‌कल्प गरे? तिनले लेखे: “यदि खानेकुराले गर्दा मेरो भाइलाई ठक्कर पुग्छ भने म फेरि कहिल्यै मासु खाँदिनँ, ताकि मैले गर्दा मेरो भाइले ठक्कर नखाओस्‌।” (१ कोरि. ८:४-१३) हाम्रो निर्णयले अरूको अन्तस्करणलाई कस्तो असर पार्छ भनेर हामीले पनि विचार पुऱ्‍याउनुपर्छ। निश्‍चय पनि हाम्रो मुख्य चासोको विषय हाम्रो छनौटले यहोवासितको मित्रतामा पार्ने असर हो। ( रोमी १४:१-४ पढ्‌नुहोस्‌) परमेश्‍वरको आदर हुने निर्णय गर्न हामीलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्नेछन्‌?

असल निर्णय गर्न चाल्नुपर्ने छ वटा कदम

१०, ११. (क) परिवारमा अहङ्‌कारी हुनदेखि हामी कसरी जोगिन सक्छौं? (ख) मण्डलीलाई असर गर्ने निर्णयहरू गर्दा एल्डरहरूले कुन कुरा मनमा राख्नुपर्छ?

१० अहङ्‌कारी नहुनुहोस्‌। कुनै कदम चाल्नुअघि हामीले आफैलाई यसरी सोध्नुपर्छ, ‘के मसित यो निर्णय गर्ने अधिकार छ?’ राजा सुलेमानले लेखे: “अहंकार आउँदा निन्दा पनि आउँछ, तर चातुर्यमा बुद्धि हुन्छ।”—हितो. ११:२.

११ आमाबाबुले आफ्ना छोराछोरीलाई कुनै-कुनै कुराको निर्णय गर्ने मौका दिन सक्छन्‌ तर त्यसो भन्दैमा छोराछोरीले आफूसित त्यस्तो अधिकार छ भन्ठान्‍नु हुँदैन। (कल. ३:२०) परिवारमा पत्नी तथा आमाहरूको केही अधिकार त हुन्छ तर तिनीहरूले आफ्ना पतिको शिरत्वलाई स्वीकार्नुपर्छ। (हितो. १:८; ३१:१०-१८; एफि. ५:२३) त्यसैगरि पतिहरूले पनि आफूसित सीमित अधिकार मात्र छ र ख्रीष्टको अधीनमा बस्नुपर्छ भनेर स्वीकार्नुपर्छ। (१ कोरि. ११:३) एल्डरहरूले गर्ने निर्णयले मण्डलीलाई असर गर्छ। तथापि, तिनीहरूले परमेश्‍वरको वचनमा “लेखिएका कुराहरूभन्दा बढ्‌ता” गर्नु हुँदैन। (१ कोरि. ४:६) तिनीहरू विश्‍वासी दासबाट प्राप्त निर्देशनलाई पनि दुरुस्त पछ्याउँछन्‌। (मत्ती २४:४५-४७) निर्णय गर्ने अधिकार दिइएको अवस्थामा मात्र निर्णय गऱ्‍यौं भने हामीले आफूलाई र अरूलाई थुप्रै फिक्री तथा चिन्ताबाट जोगाउन सक्नेछौं।

१२. (क) हामीले किन अनुसन्धान गर्नुपर्छ? (ख) यस्तो अनुसन्धान कसरी गर्न सकिन्छ, बताउनुहोस्‌।

१२ अनुसन्धान गर्नुहोस्‌। सुलेमानले लेखे: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” (हितो. २१:५) उदाहरणको लागि, के तपाईं व्यापार सुरु गर्नेबारे सोच्दै हुनुहुन्छ? आवेगमा आएर निर्णय नगर्नुहोस्‌। सम्बन्धित सम्पूर्ण तथ्य सङ्‌कलन गर्नुहोस्‌, यी मामिलासम्बन्धी अनुभवी व्यक्‍तिहरूको सर-सल्लाह खोज्नुहोस्‌ र कस्ता बाइबल सिद्धान्तहरू यसमा मुछिएका छन्‌ भनेर पक्का गर्नुहोस्‌। (हितो. २०:१८) आफ्नो अनुसन्धानलाई व्यवस्थित गर्न दुई वटा सूची बनाउनुहोस्‌—एउटामा फाइदा र अर्कोमा बेफाइदा उल्लेख गर्नुहोस्‌। निर्णय गर्नुअघि ‘खर्च हिसाब गर्नुहोस्‌।’ (लूका १४:२८) तपाईंको निर्णयले तपाईंको आर्थिक अवस्थालाई मात्र होइन तर यहोवासितको सम्बन्धलाई पनि कस्तो असर पार्न सक्छ, त्यसबारे विचार गर्नुहोस्‌। अनुसन्धान गर्न समय र प्रयास चाहिन्छ। तर यसो गरेमा हतारमा निर्णय गरेर पछि अनावश्‍यक फिक्री गर्नुपर्ने अवस्थाबाट जोगिन सक्नुहुनेछ।

१३. (क) याकूब १:५ मा कस्तो आश्‍वासन पाइन्छ? (ख) बुद्धिको लागि प्रार्थना गर्दा हामी कसरी मदत पाउन सक्छौं?

१३ बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌। निर्णय गर्दा यहोवासित मदत माग्यौं भने मात्र हाम्रो निर्णयले परमेश्‍वरको आदर गर्नेछ। चेला याकूबले लेखे: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ, किनकि उहाँले नझर्कीकन सबैलाई उदारचित्तले दिनुहुन्छ।” (याकू. १:५) निर्णय गर्न परमेश्‍वरले दिनुहुने बुद्धि चाहिन्छ भनी स्वीकार्न लाज मान्‍नु पर्दैन। (हितो. ३:५, ६) हुन पनि आफ्नै समझशक्‍तिमा मात्र भर पर्दा हामी सजिलै बहकिन सक्छौं। बुद्धिको लागि प्रार्थना गर्दा र परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरू खोजी गर्दा कुनै खास कदम चाल्न चाहनुपछाडिको हाम्रो साँचो मनसाय के हो, सो बुझ्न पवित्र शक्‍तिको मदत खोजिरहेका हुन्छौं।—हिब्रू ४:१२; याकूब १:२२-२५ पढ्‌नुहोस्‌।

१४. हामीले निर्णय गर्न किन ढिलासुस्ती गर्नु हुँदैन?

१४ निर्णय गर्नुहोस्‌। अनुसन्धान र बुद्धिको लागि प्रार्थना नै नगरी सीधै निर्णय गर्न नहातिरिनुहोस्‌। बुद्धिमान्‌ मानिसले ‘आफ्ना पाइलाहरू सतर्कसाथ चाल्न’ समय निकाल्छ। (हितो. १४:१५, NRV) अर्कोतर्फ, निर्णय गर्न ढिलासुस्ती नगर्नुहोस्‌। यसरी ढिलासुस्ती गर्ने व्यक्‍ति अनौठो बहाना बनाएर पन्छिन सक्छ। (हितो. २२:१३) जेहोस्‌ उसले निर्णय त गर्छ, तर आफ्नो जीवनलाई अरूको नियन्त्रणमा पार्ने खालको निर्णय गर्छ।

१५, १६. निर्णय लागू गर्नुमा के समावेश छ?

१५ निर्णय लागू गर्नुहोस्‌। आफ्नो निर्णयअनुसारको कदम चालिएन र त्यसलाई सक्रिय भई लागू गरिएन भने असल निर्णय गर्न हामीले गरेको प्रयास व्यर्थमा जान्छ। सुलेमानले लेखे: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌।” (उप. ९:१०) सफल हुनको लागि निर्णय लागू गर्न चाहिने स्रोत-साधन प्रयोग गर्न इच्छुक हुनै पर्छ। उदाहरणको लागि, मण्डलीको प्रकाशकले अग्रगामी सेवा गर्ने निर्णय गर्लान्‌। के तिनी सफल हुनेछन्‌? प्रचारकार्यमा भाग लिनको लागि चाहिने बल र समयलाई आफ्नो कामधन्दा र मनोरञ्जनमा धेरै खर्च गरेर लखतरान भएनन्‌ भने सायद तिनी सफल हुन सक्नेछन्‌।

१६ असल निर्णयहरू लागू गर्न कमै मात्र सजिलो हुन्छ। किन? किनभने “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ यूह. ५:१९) हामीले “यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलसित” लडन्त लड्‌नै पर्छ। (एफि. ६:१२) परमेश्‍वरको आदर गर्ने निश्‍चय गरेकाहरूले लडन्त लड्‌नुपर्नेछ भनी प्रेषित पावल र चेला यहूदा दुवैले सङ्‌केत गरे।—१ तिमो. ६:१२; यहू. ३.

१७. हामीले गर्ने निर्णयको सम्बन्धमा यहोवा हामीबाट कस्तो आशा गर्नुहुन्छ?

१७ निर्णय पुनरावलोकन गर्नुहोस्‌ र आवश्‍यक भएमा छाँटकाँट गर्नुहोस्‌। सबै निर्णय योजना गरिएअनुरूपै अघि बढ्‌छ भन्‍ने छैन। “समय र अवसरले” हामी सबैलाई अधीन गर्छ। (उप. ९:११) त्यसैले परीक्षा भोग्नुपरे तापनि कुनै-कुनै निर्णयमा हामी अडिग रहेको यहोवा आशा गर्नुहुन्छ। विवाह वाचालाई फेरबदल गर्न नमिलेझैं यहोवालाई आफ्नो जीवन समर्पण गर्ने निर्णयलाई फेरबदल गर्न मिल्दैन। यस्तो निर्णयअनुरूपै जीवन बिताएको परमेश्‍वर आशा गर्नुहुन्छ। ( भजन १५:१, २,  पढ्‌नुहोस्‌) तर धेरैजसो निर्णय त्यति गहन हुँदैनन्‌। बुद्धिमान्‌ व्यक्‍तिले आफूले गरेको निर्णयलाई बेला-बेलामा पुनरावलोकन गर्नेछ। निर्णय छाँटकाँट गर्नुपर्दा वा निर्णय बदल्नुपर्दा समेत उसले अहङ्‌कार वा हठलाई बाधक बन्‍न दिनेछैन। (हितो. १६:१८) उसको मुख्य चासोको विषय परमेश्‍वरको आदर हुने किसिमको जीवन बिताइरहनु हो।

परमेश्‍वरको आदर हुने निर्णय गर्न अरूलाई प्रशिक्षण दिनुहोस्‌

१८. आमाबाबुले आफ्ना छोराछोरीलाई असल निर्णय गर्ने प्रशिक्षण कसरी दिन सक्छन्‌?

१८ परमेश्‍वरको आदर हुने निर्णय कसरी गर्न सकिन्छ भनी छोराछोरीलाई सिकाउन आमाबाबुले ठूलो भूमिका खेल्न सक्छन्‌। आमाबाबुको असल उदाहरणले एक असल गुरुको भूमिका खेल्छ। (लूका ६:४०) उपयुक्‍त भएमा, कुनै खास निर्णय गर्दा आफूले चालेको कदमबारे आमाबाबुले छोराछोरीलाई बताउन सक्छन्‌। साथै तिनीहरूले केही निर्णय छोराछोरीलाई नै गर्न दिन सक्छन्‌ र निर्णयले राम्रो परिणाम ल्याउँदा तिनीहरूको तारिफ गर्न सक्छन्‌। तर छोरा वा छोरीले गलत निर्णय गऱ्‍यो भने नि? यस्तो हुँदा आमाबाबुको मनमा सुरुमा आउने सोचाइ भनेको छोरा वा छोरीलाई उसको निर्णयको नतिजा भोग्नबाट जोगाउने हुन सक्छ तर यसो गर्दा सधैं उसको भलो हुन्छ भन्‍ने छैन। उदाहरणको लागि, आमाबाबुले आफ्नो छोरा वा छोरीलाई चालक अनुमति पत्र लिन मन्जुरी दिन सक्छन्‌। मानिलिनुहोस्‌ उसले सवारी नियम तोड्यो र जरिबाना तिर्नुपऱ्‍यो। हुनत आमाबाबुले जरिबाना तिरिदिन सक्छन्‌। तर जरिबाना तिर्न ऊ आफैले काम गर्नुपऱ्‍यो भनेचाहिं सम्भवतः उसले आफ्नो कार्यको लागि जबाफदेही हुन सिक्छ।—रोमी १३:४.

१९. हामीले आफ्ना बाइबल विद्यार्थीहरूलाई के सिकाउनुपर्छ र हामी कसरी यसो गर्न सक्छौं?

१९ अरूलाई सिकाउनू भनी येशूले आफ्ना अनुयायीहरूलाई आज्ञा दिनुभयो। (मत्ती २८:२०) हामीले आफ्ना बाइबल विद्यार्थीहरूलाई सिकाउन सक्ने एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ भनेको असल निर्णय कसरी गर्ने भन्‍नेबारे हो। प्रभावकारी रूपमा यसो गर्ने हो भने ‘यस्तो गर, उस्तो गर’ भनौंजस्तो लागे तापनि त्यस्तो सोचाइको प्रतिरोध गर्नै पर्छ। तर उसलाई बाइबल सिद्धान्तहरू बुझ्न सिकाउनु बेस हो, जसले गर्दा कसरी व्यवहार गर्ने भनेर ऊ आफैले निर्णय गर्न सक्छ। हुन पनि “हामी सबैले परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) त्यसैले हामी सबैले परमेश्‍वरको आदर हुने निर्णय गर्नुपर्ने जोडदार कारण छ।

[फुटनोट]

a यस विषयबारे थप छलफलको लागि हाम्रो राज्य सेवकाई, नोभेम्बर २००६, पृष्ठ ३-६ को “रगतका सूक्ष्म तत्त्व अनि आफ्नै रगत प्रयोग हुने उपचारहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?” भन्‍ने परिशिष्ट हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• निर्णय कसरी गर्ने भनेर सिक्नु किन आवश्‍यक छ?

• डरले हामीलाई कस्तो असर गर्न सक्छ र डरलाई हामी कसरी जित्न सक्छौं?

• हाम्रो निर्णयले परमेश्‍वरको आदर गर्छ भनी पक्का हुन हामी कस्ता छ वटा कदम चाल्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

असल निर्णय गर्न चाल्नुपर्ने कदम

अहङ्‌कारी नहुनुहोस्‌

अनुसन्धान गर्नुहोस्‌

बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌

निर्णय गर्नुहोस्‌

निर्णय लागू गर्नुहोस्‌

पुनरावलोकन र छाँटकाँट गर्नुहोस्‌

[पृष्ठ १५-मा भएको चित्र]

दोमनको व्यक्‍ति आँधी आएको समुद्रमा बहनाविनाको डुङ्‌गाजस्तै हुन्छ