सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले आफूलाई परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्न दिइरहनुभएको छ?

के तपाईंले आफूलाई परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्न दिइरहनुभएको छ?

के तपाईंले आफूलाई परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्न दिइरहनुभएको छ?

“तपाईंको आत्मा [“पवित्र शक्‍ति,” NW] भला छ, मलाई सोझो बाटोमा डोऱ्‍याउनुहोस्‌।”—भज. १४३:१०.

१, २. (क) यहोवाले आफ्ना सेवकहरूका खातिर पवित्र शक्‍ति प्रयोग गर्नुभएका केही घटना बताउनुहोस्‌। (ख) के पवित्र शक्‍तिले विशेष अवसरहरूमा मात्र काम गर्छ? व्याख्या गर्नुहोस्‌।

 पवित्र शक्‍तिको कामबारे सोच्दा तपाईंको दिमागमा कुन कुरा आउँछ? के तपाईं गिदोन र शिमशोनले गरेका साहसिक कार्यहरूबारे सम्झनुहुन्छ? (न्याय. ६:३३, ३४; १५:१४, १५) तपाईंलाई प्रथम शताब्दीका ख्रीष्टियनहरूले देखाएको निडरता वा यहूदी न्यायपरिषद्‌सामु खडा हुँदा स्तिफनसले देखाएको शान्त स्वभावबारे याद आउँछ होला। (प्रेषि. ४:३१; ६:१५) आधुनिक समयका अन्तरराष्ट्रिय अधिवेशनमा देखिने आनन्द, तटस्थताको कारण जेलमा परेका हाम्रा भाइहरूको सत्यनिष्ठा अनि प्रचारकार्यमा भइरहेको उल्लेखनीय वृद्धिबारे चाहिं के भन्‍न सकिन्छ? यी सबै उदाहरणले परमेश्‍वरको पवित्र शक्‍ति परिचालन भइरहेको छ भन्‍ने प्रमाण दिन्छ।

के पवित्र शक्‍तिले कुनै विशेष अवसरमा वा असामान्य परिस्थितिहरूमा मात्र काम गर्छ? त्यसो होइन। परमेश्‍वरको वचनले ‘पवित्र शक्‍तिको भरमा हिंडिरहने,’ ‘पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चलिरहने’ र ‘पवित्र शक्‍तिको भरमा बाँचिरहने’ ख्रीष्टियनहरूबारे बताउँछ। (गला. ५:१६, १८, २५) यी अभिव्यक्‍तिहरूले देखाएअनुसार पवित्र शक्‍तिले हाम्रो जीवनमा निरन्तर प्रभाव पार्न सक्छ। आफ्नो सोचाइ, बोलीवचन अनि व्यवहारमा उहाँको शक्‍तिको डोऱ्‍याइ माग्न हामीले दिनहुँ यहोवालाई बिन्ती गर्नुपर्छ। (भजन १४३:१० पढ्‌नुहोस्‌) पवित्र शक्‍तिलाई विना रोकटोक आफूमा काम गर्न दिंदा यसले हामीमा अरूलाई स्फूर्ति दिने र परमेश्‍वरको प्रशंसा गर्ने फल फलाउनेछ।

३. (क) हामी किन पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्नुपर्छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

हामी पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्नु किन अत्यावश्‍यक छ? किनकि पवित्र शक्‍ति परिचालन हुनदेखि रोक्ने अर्को शक्‍तिले हामीमा प्रभुत्व जमाउन खोज्छ। यस शक्‍तिलाई धर्मशास्त्रले “शरीर” भनी उल्लेख गर्छ जसले हाम्रो पतित शरीरको पापी झुकाव अर्थात्‌ आदमको सन्तानको रूपमा हामीले वंशानुगत पाएको त्रुटिपूर्ण अवस्थालाई सङ्‌केत गर्छ। (गलाती ५:१७ पढ्‌नुहोस्‌) त्यसोभए परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्नुमा के समावेश छ? पापी शरीरको झुकावसित लड्‌न हामीले चाल्न सक्ने के कुनै व्यावहारिक कदमहरू छन्‌? आउनुहोस्‌, “पवित्र शक्‍तिको फल”-का बाँकी छ वटा पक्ष—“धीरज, दया, भलाइ, विश्‍वास, नम्रता, आत्मसंयम”-बारे छलफल गर्दा यी प्रश्‍नहरू विचार गरौं।—गला. ५:२२, २३.

नम्रता र धीरजले मण्डलीमा शान्ति बढाउँछ

४. नम्रता र धीरजले मण्डलीको शान्तिमा कसरी योगदान पुऱ्‍याउँछ?

कलस्सी ३:१२, १३ पढ्‌नुहोस्‌। मण्डलीमा शान्ति बढाउन नम्रता र धीरज दुवैले सँगसँगै काम गर्छ। पवित्र शक्‍तिका यी दुवै पक्षले हामीलाई अरूसँग शिष्ट व्यवहार गर्न, कसैले रिस उठाउँदा शान्त रहन र अरूले नराम्रो बोल्दा वा नराम्रो व्यवहार गर्दा बदला नलिन मदत गर्छ। सँगी ख्रीष्टियनसित मतभेद भयो भने ‘अब त्यस भाइ वा बहिनीलाई भनेर केही लाग्दैन’ भनी हार मान्‍न होइन तर समस्या सुल्झाउन धीरजले मदत गर्छ। के मण्डलीमा नम्रता र धीरज साँच्चै आवश्‍यक छ? छ, किनकि हामी सबै जना त्रुटिपूर्ण छौं।

५. पावल र बर्णाबासबीच के भयो र यसले कुन कुरालाई प्रस्ट पार्छ?

पावल र बर्णाबासबीच के भयो, विचार गर्नुहोस्‌। प्रचारकार्यलाई विस्तार गर्न तिनीहरूले वर्षौंसम्म सँगसँगै काम गरेका थिए। दुवैसित असल गुणहरू थिए। तर एक चोटि तिनीहरूबीच “चर्को भनाभन भयो र तिनीहरू एक-अर्काबाट छुट्टिए।” (प्रेषि. १५:३६-३९) परमेश्‍वरप्रति भक्‍त सेवकहरूबीच समेत कहिलेकाहीं मतभिन्‍नता उत्पन्‍न हुन्छ भनेर यस घटनाले प्रस्ट पार्छ। आफ्नो ख्रीष्टियन भाइ वा बहिनीसित मतभेद भयो भने चर्को भनाभन गरेर आपसी सम्बन्धलाई सदाको लागि बिग्रिन नदिन तिनले के गर्न सक्छन्‌?

६, ७. (क) सँगी भाइ वा बहिनीसितको कुराकानीले चर्को भनाभनको रूप लिनुअघि हामी कस्तो धर्मशास्त्रीय सल्लाह पालन गर्न सक्छौं? (ख) ‘चनाखो भई सुन्‍नु, बोल्न हतार नगर्नु अनि झट्टै रिसाइ नहाल्नुमा’ कस्ता फाइदा छन्‌?

“चर्को भनाभन” भन्‍ने वाक्यांशले पावल र बर्णाबासबीचको मतभिन्‍नता अकस्मात्‌ भएको र उग्र थियो भनेर बुझाउँछ। कुनै विषयमा सँगी ख्रीष्टियनसित छलफल गर्दा आफूलाई रिस उठ्‌न थालेको महसुस भएमा याकूब १:१९, २० मा दिइएको यो सल्लाह पालन गर्नु बुद्धिमानी हुन्छ: “हरेक मानिसले चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन, किनकि रिस गर्ने मानिस परमेश्‍वरको स्तरबमोजिम चलिरहेको हुँदैन।” परिस्थितिलाई विचार गर्दै तिनले विषयलाई परिवर्तन गर्न, त्यस विषयमा पछि छलफल गर्न वा चर्को भनाभन हुनुअघि नै त्यस ठाउँ छोड्‌न कोसिस गर्न सक्छन्‌।—हितो. १२:१६; १७:१४; २९:११.

यो सल्लाह पालन गर्दा के-कस्ता फाइदा हुन्छन्‌? यस्तो अवस्थामा केही समयको लागि शान्त रहेर, समस्याबारे प्रार्थना गरेर अनि जवाफ दिने सर्वोत्तम तरिका विचार गरेर एक जना ख्रीष्टियनले आफूलाई परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइनुसार चल्न दिइरहेका हुन्छन्‌। (हितो. १५:१, २८) यस शक्‍तिको प्रभावमा परेर तिनले नम्रता र धीरज देखाउन सक्छन्‌। यसप्रकार तिनी एफिसी ४:२६, २९ मा दिइएको यो सल्लाह पालन गर्न तयार हुन्छन्‌: “क्रोध गर तर पाप नगर . . . तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌, बरु आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌, ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।” साँच्चै, नम्रता र धीरज देखाउँदा हामी मण्डलीको शान्ति र एकतामा योगदान पुऱ्‍याउँछौं।

दया र भलाइ देखाएर परिवारमा स्फूर्तिदायी बन्‍नुहोस्‌

८, ९. दया र भलाइ भनेको के हो अनि यी गुणहरूले घरको वातावरणमा कस्तो असर गर्छ?

एफिसी ४:३१, ३२; ५:८, ९ पढ्‌नुहोस्‌। गर्मी दिनमा मन्द हावा र चिसो पेय पदार्थले स्फूर्ति दिएझैं दया र भलाइले स्फूर्ति दिन्छ। यसले परिवारभित्र रमाइलो वातावरण बनाउँछ। दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ र अरूलाई मदत गर्दा अनि विचारशील भएर बोल्दा यस्तो चासो देखिन्छ। दयाजस्तै भलाइ पनि एउटा सकारात्मक गुण हो जुन अरूलाई फाइदा पुग्ने व्यवहारद्वारा देखाइन्छ। उदार मनोभावद्वारा भलाइ झल्किन्छ। (प्रेषि. ९:३६, ३९; १६:१४, १५) तर भलाइमा अरू कुरा पनि समावेश छ।

भलाइ नैतिक श्रेष्ठता हो। यसमा हामी के गर्छौं त्यो मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त हामी कस्ता छौं त्यो पनि समावेश छ। भलाइ भनेको कुनै खोट नभएको गुलियो र पाकेको फलजस्तै हो। पवित्र शक्‍तिले पैदा गर्ने भलाइले ख्रीष्टियनको सम्पूर्ण जीवनशैलीलाई असर गर्छ।

१०. पवित्र शक्‍तिको फल विकास गर्न परिवारका सदस्यहरूलाई कसरी मदत गर्न सकिन्छ?

१० ख्रीष्टियन परिवारमा आपसमा दया र भलाइ देखाउन परिवारका सदस्यहरूलाई केले मदत गर्न सक्छ? परमेश्‍वरको वचनको सही ज्ञानले महत्त्वपूर्ण भूमिका खेल्छ। (कल. ३:९, १०) परिवारका केही शिरले हरेक हप्ता गरिने साँझको पारिवारिक उपासनामा पवित्र शक्‍तिको फलबारे पनि अध्ययन गर्छन्‌। यस्तो अध्ययन गर्ने प्रबन्ध मिलाउनु असाध्यै गाह्रो कुरा त होइन। अनुसन्धान गर्न तपाईंको भाषामा उपलब्ध सामाग्री प्रयोग गरेर पवित्र शक्‍तिको फलका हरेक पक्षबारे व्याख्या गरिएको विषयवस्तु छान्‍नुहोस्‌। प्रत्येक हप्ता केही अनुच्छेद छलफल गर्दै थुप्रै हप्ता लगाएर एक-एक पक्षबारे छलफल गर्न सक्नुहुन्छ। विषयवस्तु अध्ययन गर्दा उल्लेख गरिएका शास्त्रपदहरू पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌। सिकेका कुराहरू कसरी लागू गर्न सकिन्छ विचार गर्नुहोस्‌ अनि आफ्ना प्रयासमा आशिष्‌को लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। (१ तिमो. ४:१५; १ यूह. ५:१४, १५) के यसरी अध्ययन गर्दा परिवारका सदस्यहरूको एक-अर्काप्रतिको व्यवहारमा साँच्चै फरक पर्न सक्छ?

११, १२. दयाबारे अध्ययन गरेर दुई ख्रीष्टियन दम्पतीले कसरी लाभ उठाए?

११ वैवाहिक जीवन सफल बनाउन चाहने एक जवान दम्पतीले पवित्र शक्‍तिको फलबारे गहिरो अध्ययन गर्ने निर्णय गरे। तिनीहरूले कसरी लाभ उठाए? पत्नी यसो भन्छिन्‌: “दयामा इमानदारी र वफादारी दुवै मुछिएको छ भनी सिक्दा एक-अर्कालाई व्यवहार गर्ने सन्दर्भमा आजसम्म पनि ठूलो प्रभाव पारेको छ। यसले हामीलाई विनयी र क्षमाशील हुन सिकाएको छ। साथै उपयुक्‍त अवस्थामा ‘धन्यवाद’ र ‘मलाई माफ गरिदेऊ’ भन्‍न सिक्न मदत गरेको छ।”

१२ वैवाहिक जीवनमा समस्या भोगेका अर्को ख्रीष्टियन दम्पतीले तिनीहरूबीच दया नभएको महसुस गरे। तिनीहरूले दयाबारे सँगै अध्ययन गर्ने निर्णय गरे। नतिजा कस्तो भयो? पति यसरी सम्झन्छन्‌: “दयाबारे गरेको अध्ययनले हामीलाई एक-अर्काको कुरामा शङ्‌का गर्ने होइन तर आपसमा विश्‍वास हुनुपर्ने अनि असल गुण हेर्नुपर्ने आवश्‍यकता बुझ्न मदत गऱ्‍यो। हामीले एक-अर्काको आवश्‍यकताप्रति अझ बढी चासो लिन थाल्यौं। दयालु हुनुमा मेरी पत्नीलाई मनमा लागिरहेको कुराबारे सङ्‌कोच नमानी बताउन दिनु र तिनले आफ्नो भावना पोख्दा नरिसाउनु समावेश थियो। यसको मतलब मैले घमन्डलाई त्याग्नुपर्नेथियो। वैवाहिक जीवनमा दया देखाउन थाल्दा हामीले स्पष्टीकरण दिन खोज्ने बानी बिस्तारै त्याग्यौं। यसो गर्दा हामीले निकै हल्का महसुस गऱ्‍यौं।” पवित्र शक्‍तिको फलबारे अध्ययन गर्दा तपाईंको परिवारले पनि लाभ उठाउन सक्छ कि?

एक्लै हुँदा विश्‍वास देखाउनुहोस्‌

१३. परमेश्‍वरसितको सम्बन्धलाई बिगार्न सक्ने कस्तो खतराबाट हामी जोगिनै पर्छ?

१३ एक्लै हुँदा होस्‌ या अरूसामु, ख्रीष्टियनहरू परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्नुपर्छ। आज सैतानको संसारमा घिनलाग्दा दृश्‍यहरू र पतित मनोरञ्जन छ्यासछ्यासती पाइन्छन्‌। यसले यहोवासितको हाम्रो सम्बन्धलाई खतरामा पार्छ। त्यसोभए यस्तो अवस्थामा कुनै ख्रीष्टियनले के गर्नुपर्छ? परमेश्‍वरको वचन हामीलाई यस्तो सल्लाह दिन्छ: “सबै अशुद्धता र त्यो अनावश्‍यक कुरा अर्थात्‌ खराबीलाई हटाओ अनि तिमीहरूको ज्यान बचाउन सक्ने वचन परमेश्‍वरले तिमीहरूमा रोप्नुहुँदा त्यसलाई नम्रतासाथ स्वीकार।” (याकू. १:२१) आउनुहोस्‌ अब हामी पवित्र शक्‍तिको अर्को पक्ष विश्‍वासले हामीलाई कसरी यहोवासामु शुद्ध रहन मदत गर्न सक्छ विचार गरौं।

१४. विश्‍वासको कमीले कसरी गलत आचरणतर्फ धकेल्न सक्छ?

१४ विश्‍वास हुनु भनेको मुख्यतया यहोवा परमेश्‍वर हामीलाई वास्तविक लाग्नु हो। परमेश्‍वर वास्तविक नलागेमा हामी सजिलै गलत आचरणमा फस्न सक्छौं। प्राचीन समयमा परमेश्‍वरका जनबीच के भयो, विचार गर्नुहोस्‌। गुप्तमा घृणित कुरा भइरहेका छन्‌ भनी प्रकट गर्दै यहोवाले भविष्यवक्‍ता इजकिएललाई यसो भन्‍नुभयो: “हे मानिस, इस्राएलका घरानाका बूढा प्रधानहरू अँध्यारोमा चित्रहरूले भरिएको आफ्नो-आफ्नो कोठामा के गर्दारहेछन्‌, के तैंले देखिस्‌? किनभने तिनीहरू भन्छन्‌, ‘परमप्रभुले हामीलाई देख्‌नुहुन्‍न। परमप्रभुले यस देशलाई त्याग्नुभएको छ।’” (इज. ८:१२) समस्याको कारण के तपाईंले याद गर्नुभयो? आफूले गरिरहेको कुरा यहोवालाई थाह छ भनेर तिनीहरूले विश्‍वास गरेनन्‌। तिनीहरूका लागि यहोवा वास्तविक हुनुहुन्‍न थियो।

१५. यहोवाप्रतिको बलियो विश्‍वासले हामीलाई कसरी सुरक्षा दिन्छ?

१५ यसको विपरीत यूसुफको उदाहरण विचार गर्नुहोस्‌। आफ्नो परिवार र आफ्ना मानिसहरूबाट टाढा भए तापनि यूसुफले पोतिफरकी पत्नीसित अवैध यौनसम्बन्ध राख्न इन्कार गरे। किन? तिनले भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्प. ३९:७-९) हो, तिनको लागि यहोवा वास्तविक हुनुहुन्थ्यो। हाम्रो लागि पनि यहोवा वास्तविक हुनुहुन्छ भने हामी अशुद्ध मनोरञ्जन हेरेर त्यसबाट आनन्द उठाउनेछैनौं वा यहोवालाई अप्रसन्‍न तुल्याउँछ भनी थाह भएका कुनै पनि कुरा गुप्तमा गर्नेछैनौं। हाम्रो सङ्‌कल्प पनि भजनरचयिताको जस्तै हुनेछ जसले यसरी गाए: “सिद्ध हृदयले म आफ्नो घरभित्र हिंड्डूल गर्नेछु। मेरो आँखाको सामने कुनै नीच कुरा म राख्नेछैनँ।”—भज. १०१:२, ३.

आत्मसंयम देखाएर आफ्नो मनलाई सुरक्षित राख्नुहोस्‌

१६, १७. (क) हितोपदेशको पुस्तकमा बताइएझैं ‘एक बेसमझ ठिटा’ कसरी पापको पासोमा पर्छ? (ख) पृष्ठ २६ को चित्रमा देखाइएझैं जुनसुकै उमेरका व्यक्‍ति कसरी यस्तै खालको अवस्थामा पुग्न सक्छन्‌?

१६ पवित्र शक्‍तिको अन्तिम पक्ष आत्मसंयमले हामीलाई परमेश्‍वरले निन्दा गर्ने कुराहरूलाई तिरस्कार गर्न मदत गर्छ। यसले हामीलाई आफ्नो हृदय अर्थात्‌ मनको सुरक्षा गर्न मदत गर्न सक्छ। (हितो. ४:२३) हितोपदेश ७:६-२३ को (NRV) विवरणमा पाइने दृश्‍य विचार गर्नुहोस्‌। त्यस विवरणमा ‘बेसमझ ठिटाबारे’ बताइएको छ जो वेश्‍याको चालको शिकार बन्छ। उक्‍त ठिटा ‘त्यो स्त्री बस्ने गल्लीमा हिंडिरहेकोले’ पासोमा पर्छ। सायद कौतूहलताले गर्दा उसले त्यस स्त्रीको टोलमा जाने खतरा मोल्यो। ‘आफू ज्यानै गुम्ने’ खतरा भएको मूर्ख बाटोतिर लम्किरहेको कुरा बिर्सन उसलाई कत्ति बेर पनि लाग्दैन।

१७ त्यो ठिटा यस्तो भयानक गल्ती गर्नबाट कसरी जोगिन सक्थ्यो? “त्यसको बाटोतिर बरालिएर नजा” भन्‍ने चेतावनी पालन गरेर। (हितो. ७:२५) यसबाट हामी एउटा पाठ सिक्न सक्छौं: परमेश्‍वरको शक्‍तिले हामीलाई डोऱ्‍याएको चाहन्छौं भने प्रलोभनमा पार्न सक्ने अवस्थाहरूबाट हामीले आफूलाई अलग राख्नुपर्छ। बिनसित्ती टेलिभिजन च्यानल परिवर्तन गरिरहँदा वा इन्टरनेटका विभिन्‍न साइटहरूमा जाँदा त्यस ‘बेसमझ ठिटाको’ जस्तै गलत मार्गमा बरालिने सम्भावना हुन्छ। जानाजानी होस्‌ वा अनजानमै, कामुक दृश्‍यहरू हेर्न सक्ने सम्भावना हुन्छ। यसो गर्दा अश्‍लील सामाग्री हेर्ने अशुद्ध बानी बिस्तारै विकास हुन सक्छ। अनि अन्तस्करण खलबलिन र परमेश्‍वरसितको सम्बन्ध बिग्रन सक्छ। हो, यसले ज्यानै खतरामा पार्न सक्छ।रोमी ८:५-८ पढ्‌नुहोस्‌।

१८. कुनै ख्रीष्टियनले आफ्नो मनलाई सुरक्षित राख्न कस्तो कदम चाल्न सक्छन्‌ र यसमा आत्मसंयम देखाउनु कसरी समावेश छ?

१८ हो, कामुक दृश्‍य हेर्न पुगेमा तुरुन्तै कदम चालेर हामी आत्मसंयम देखाउन सक्छौं र देखाउनु पनि पर्छ। तर यस्तो अवस्था आउनै नदिनु कत्ति उत्तम! (हितो. २२:३) आत्मसंयम देखाउनुमा उचित किसिमको सुरक्षा अपनाउनु अनि त्यसलाई पालन गर्नु समावेश छ। उदाहरणको लागि, आफ्नो कम्प्युटर अरूले देख्नेगरि राख्दा हामी सुरक्षित हुन सक्छौं। कोही-कोहीले भने अरू व्यक्‍ति पनि सँगै हुँदा मात्र कम्प्युटर चलाउनु र टेलिभिजन हेर्नु लाभदायी पाएका छन्‌। अनि कतिले भने आफूलाई इन्टरनेटको पहुँचबाट टाढै राखेका छन्‌। (मत्ती ५:२७-३० पढ्‌नुहोस्‌) आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न जे-जस्तो कदम चाल्नुपर्छ, ती सबै चालौं। यसो गर्दा हामी “शुद्ध मन, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ” यहोवाको उपासना गर्न सक्नेछौं।—१ तिमो. १:५.

१९. पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्दा कस्तो फाइदा हुन्छ?

१९ पवित्र शक्‍तिको परिचालनद्वारा पैदा हुने फलले थुप्रै लाभ ल्याउँछ। नम्रता र धीरजले मण्डलीको शान्तिमा योगदान पुऱ्‍याउँछ। दया र भलाइले परिवारको आनन्द बढाउँछ। विश्‍वास र आत्मसंयमले यहोवासित नजिक भइरहन अनि उहाँसामु शुद्ध रहन मदत गर्छ। अझ महत्त्वपूर्ण कुरा, गलाती ६:८ हामीलाई यस्तो आश्‍वासन दिन्छ: “जसले पवित्र शक्‍तिको लागि छर्दैछ, उसले पवित्र शक्‍तिबाट अनन्त जीवनको कटनी गर्नेछ।” हो, पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्नेहरूलाई अनन्त जीवन दिन ख्रीष्टको फिरौतीको बलिदानको आधारमा यहोवाले आफ्नो पवित्र शक्‍ति प्रयोग गर्नुहुनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• नम्रता र धीरजले मण्डलीमा शान्ति बढाउन कसरी मदत गर्छ?

• घरमा दया र भलाइ देखाउन ख्रीष्टियनहरूलाई केले मदत गर्न सक्छ?

• विश्‍वास र आत्मसंयमले ख्रीष्टियनलाई आफ्नो मनको सुरक्षा गर्न कसरी मदत गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

कुराकानीलाई चर्को भनाभन हुने स्थितिमा नपुऱ्‍याउन तपाईं के गर्न सक्नुहुन्छ?

[पृष्ठ २५-मा भएको चित्र]

पवित्र शक्‍तिको फलबारे अध्ययन गर्नु तपाईंको परिवारको लागि लाभदायी हुन सक्छ

[पृष्ठ २६-मा भएको चित्र]

विश्‍वास र आत्मसंयम देखाउँदा हामी कस्ता खतराबाट जोगिन्छौं?