सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले परमेश्‍वरको डोऱ्‍याइको प्रमाण बुझ्नुभएको छ?

के तपाईंले परमेश्‍वरको डोऱ्‍याइको प्रमाण बुझ्नुभएको छ?

के तपाईंले परमेश्‍वरको डोऱ्‍याइको प्रमाण बुझ्नुभएको छ?

न इस्राएलीहरूले न त मिश्रीहरूले नै यस्तो कुरा पहिला कहिल्यै देखेका थिए। इस्राएलीहरू मिश्रबाट निस्कँदा तिनीहरू नजिक बादलको खामो अडियो र सधैं तिनीहरूसितै रहिरह्‍यो। रातमा यो आगोको खामो हुन्थ्यो। कस्तो अचम्म! तर यो कहाँबाट आयो? यसको उद्देश्‍य के थियो? अनि यस “आगो र बादलको खामा”-प्रति इस्राएलीहरूले देखाएको प्रतिक्रियाबाट लगभग ३,५०० वर्षपछाडि आज हामी के सिक्न सक्छौं?—प्रस्थ. १४:२४.

त्यस खामोको स्रोत र उद्देश्‍यबारे परमेश्‍वरको वचनले यसरी प्रकट गर्छ: “तिनीहरू रातदिन हिंड्‌न सकून्‌ भनेर तिनीहरूलाई बाटो देखाउनको निम्ति परमप्रभु दिनमा चाहिं बादलको खामो र रातीचाहिं आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो।” (प्रस्थ. १३:२१, २२) आफ्ना जनलाई मिश्रदेखि उजाडस्थानसम्म डोऱ्‍याउन यहोवा परमेश्‍वरले आगो र बादलको यस खामो प्रयोग गर्नुभयो। यसलाई पछ्याउँदै अघि बढ्‌न तिनीहरू तयार हुनुपर्थ्यो। इस्राएलीहरूलाई खेदिरहेका मिश्री सेनाले तिनीहरूलाई आक्रमण गर्नै लाग्दा यो खामो यी दुई समूहको बीचमा खडा भयो र इस्राएलीहरूलाई सुरक्षा दियो। (प्रस्थ. १४:१९, २०) यस खामोले सोझो बाटो नदेखाए तापनि यसको डोऱ्‍याइ पछ्याउनु इस्राएलको लागि प्रतिज्ञा गरिएको भूमिमा पुग्ने एक मात्र तरिका थियो।

यो खामोको उपस्थितिले परमेश्‍वरका जनलाई यहोवा तिनीहरूसित हुनुहुन्छ भनी आश्‍वस्त पार्थ्यो। यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र कहिलेकाहीं उहाँ यसमार्फत बोल्नुहुन्थ्यो। (गन्ती १४:१४; भज. ९९:७) साथै, इस्राएल राष्ट्रको नेतृत्व गर्न यहोवाले नियुक्‍त गर्नुभएको व्यक्‍ति मोशा हुन्‌ भनेर पनि यस बादलले सङ्‌केत गऱ्‍यो। (प्रस्थ. ३३:९) त्यसैगरि, बादल देखा परेको विषयमा गरिएको अन्तिम रेकर्डले यहोशूलाई मोशाको उत्तराधिकारीको रूपमा यहोवाले नियुक्‍त गर्नुभएको कुराको पुष्टि गऱ्‍यो। (व्यव. ३१:१४, १५) निश्‍चय नै, इस्राएलीहरू मिश्रबाट सफलतासाथ निस्कने कुरा तिनीहरूले परमेश्‍वरको डोऱ्‍याइको प्रमाण बुझ्नु अनि त्यसअनुसार चल्नुमा निर्भर थियो।

तिनीहरूले प्रमाणको बेवास्ता गरे

इस्राएलीहरूले पहिलो पटक यो खामो देख्दा पक्कै पनि तिनीहरू छक्क परेको हुनुपर्छ। तर दुःखको कुरा, यो चमत्कार निरन्तर रूपमा देखे तापनि इस्राएलीहरूले सधैं यहोवामाथि भरोसा राखिरहन सकेनन्‌। थुप्रै पटक तिनीहरूले परमेश्‍वरको डोऱ्‍याइलाई चुनौती दिए। मिश्री सेनाले तिनीहरूलाई खेद्‌दा तिनीहरूले यहोवाको बचाउने शक्‍तिमा भरोसा देखाएनन्‌। बरु, ‘तपाईंले हामीलाई मर्नको लागि यस ठाउँमा ल्याउनुभयो’ भन्दै तिनीहरूले परमेश्‍वरका सेवक मोशालाई आरोप लगाए। (प्रस्थ. १४:१०-१२) लाल समुद्रबाट छुटकारा पाएपछि, खानेकुरा र पानीको अभाव भयो भन्दै तिनीहरूले मोशा, हारून र यहोवाको विरुद्धमा गनगन गरे। (प्रस्थ. १५:२२-२४; १६:१-३; १७:१-३, ७) अनि त्यसको केही हप्तापछि तिनीहरूले हारूनलाई सुनको बाछो बनाउन दबाब दिए। तिनीहरूले यो के गरेको, सोच्नुहोस्‌ त! छाउनीमा हुँदा इस्राएलीहरूले आफूहरूलाई मिश्रबाट निकालेर ल्याउने व्यक्‍तिको भव्य प्रमाणस्वरूप आगो र बादलको खामो देखेका थिए। तर त्यहाँबाट त्यति टाढा नपुग्दै तिनीहरूले यसो भन्दै निर्जीव मूर्तिको उपासना गर्न थाले: “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्‍वर यही हो।” कस्तो “ईश्‍वर-निन्दा”!—प्रस्थ. ३२:४; नहे. ९:१८.

इस्राएलीहरूको विद्रोही कार्यले तिनीहरूले यहोवाको डोऱ्‍याइ इन्कार गरेको स्पष्टैसँग देखायो। समस्या तिनीहरूको शारीरिक दृष्टिमा थिएन तर यहोवाले तिनीहरूलाई कसरी डोऱ्‍याइरहनुभएको छ भनी बुझ्न नसक्नुमा थियो। तिनीहरूले खामो देखे तर यसले यहोवाको डोऱ्‍याइलाई सङ्‌केत गर्छ भन्‍ने कुरा बिर्से। तिनीहरूको कामले “इस्राएलका पवित्र जनलाई झोंक” उठाए तापनि इस्राएलीहरू प्रतिज्ञा गरिएको भूमिमा नपुगेसम्म कृपालु हुँदै यहोवाले खामोद्वारा तिनीहरूलाई डोऱ्‍याइ दिइरहनुभयो।—भज. ७८:४०-४२, ५२-५४; नहे. ९:१९.

आज परमेश्‍वरको डोऱ्‍याइको प्रमाण बुझ्नुहोस्‌

त्यसैगरि आधुनिक समयमा पनि यहोवाले स्पष्ट डोऱ्‍याइविना आफ्ना जनलाई कहिल्यै छोड्‌नुभएको छैन। इस्राएलीहरूले आफ्नो बाटो आफै खोजेर हिंडेको आस नगरेजस्तै आज हामीले पनि प्रतिज्ञा गरिएको नयाँ संसारको बाटो आफैले खोजेको उहाँ आशा गर्नुहुन्‍न। येशू ख्रीष्ट मण्डलीको नियुक्‍त नेता हुनुहुन्छ। (मत्ती २३:१०; एफि. ५:२३) उहाँले केही अख्तियार परमेश्‍वरको शक्‍तिद्वारा अभिषिक्‍त विश्‍वासी ख्रीष्टियनहरूको समूह अर्थात्‌ विश्‍वासी दास वर्गलाई सुम्पनुभएको छ। अनि त्यस दास वर्गले ख्रीष्टियन मण्डलीमा निरीक्षकहरू नियुक्‍त गर्छ।—मत्ती २४:४५-४७; ती. १:५-९.

त्यस विश्‍वासी दास वर्ग अर्थात्‌ भण्डारे वर्ग को हो भनेर हामी कसरी पक्का हुन सक्छौं? येशू आफैले यसबारे कसरी व्याख्या गर्नुभयो याद गर्नुहोस्‌: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ भण्डारे को हो, जसलाई उसको मालिकले आफ्ना सेवकहरूको दललाई ठीक समयमा र ठीक मात्रामा भोजन दिइरहोस्‌ भनेर तिनीहरूमाथि नियुक्‍त गर्नेछन्‌? आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌!”—लूका १२:४२, ४३.

त्यसैले यो भण्डारे वर्ग “विश्‍वासी” छ; यसले कहिल्यै पनि यहोवा, येशू, बाइबल सत्य वा परमेश्‍वरका जनलाई धोका दिएको वा त्यागेको छैन। “बुद्धिमान्‌” भएकोले गर्दा “राज्यको यो सुसमाचार” प्रचार गर्ने र “सबै जातिका मानिसहरूलाई चेला” बनाउने सबैभन्दा महत्त्वपूर्ण कामलाई डोऱ्‍याउन यस भण्डारे वर्गले असल निर्णय गर्छ। (मत्ती २४:१४; २८:१९, २०) भण्डारे वर्गले आज्ञाकारी भई स्वस्थकर र पोषणयुक्‍त भोजन “ठीक समयमा” वितरण गर्छ। यहोवाको उपासना गर्ने मानिसहरूको सङ्‌ख्यामा प्रगति हुनु, महत्त्वपूर्ण निर्णयहरू गर्दा डोऱ्‍याइ पाउनु, बाइबल सत्यलाई अझ राम्ररी बुझ्नु, शत्रुहरूको हातबाट नाश हुनबाट जोगिनु र मनोशान्ति पाउनु—यी सबै यहोवाले हामीलाई अनुमोदन गर्नुभएको छ भन्‍ने कुराको प्रमाण हुन्‌।—यशै. ५४:१७; फिलि. ४:७.

परमेश्‍वरको डोऱ्‍याइ स्वीकार्नुहोस्‌

हामी परमेश्‍वरको डोऱ्‍याइको कदर गर्छौं भनेर कसरी देखाउन सक्छौं? प्रेषित पावलले भने: “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस।” (हिब्रू १३:१७) यसो गर्नु सधैं सजिलो नहुन सक्छ। उदाहरणको लागि: तपाईं आफूलाई मोशाको समयको एक इस्राएलीको ठाउँमा राख्नुहोस्‌। कल्पना गर्नहोस्‌ केही समय हिंडिसकेपछि खामो टक्क अडिन्छ। यो कतिन्जेल अडिरहने हो? एक दिन? एक हप्ता? केही महिना? तपाईं सोच्नुहोला, ‘अब आफ्नो सबै सरसामान निकालौं कि?’ पहिला त तपाईं आफूलाई अत्यावश्‍यक पर्ने सर-सामान मात्र निकाल्नुहुन्छ। तर केही दिनपछि, सरसामान खोतल्दाको हैरानीले तपाईं भएभरको सरसामान निकाल्न थाल्नुहुन्छ। सबै सरसामान निकालेर सिद्धिनै लाग्दा तपाईं त्यस खामो बिस्तारै उचालिंदै गएको देख्नुहुन्छ। अब तपाईंले ती सम्पूर्ण सरसामानलाई फेरि पोका पार्नुपर्ने भयो! यसो गर्नु सजिलो होइन, झन्झटिलो हुनेथियो। तैपनि ती इस्राएलीहरूले तुरुन्तै ‘प्रस्थान गर्नुपर्थ्यो।’—गन्ती ९:१७-२२.

त्यसोभए ईश्‍वरीय निर्देशन पाउँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? के हामी तुरुन्तै लागू गर्ने प्रयास गर्छौं? वा पहिला आफूलाई जसरी गर्ने बानी परेको थियो, त्यही तरिकालाई नै निरन्तरता दिइरहन्छौं? के हामीलाई यस्ता विषयमा दिइएका नयाँ-नयाँ निर्देशनहरूबारे थाह छ? जस्तै: बाइबल अध्ययन सञ्चालन गर्ने, विदेशी भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्ने, नियमित रूपमा पारिवारिक उपासनामा भाग लिने, अस्पताल सम्पर्क समितिलाई सहयोग गर्ने र अधिवेशनहरूमा उचित आचरण देखाउने। परमेश्‍वरको डोऱ्‍याइलाई कदर गरेको कुरा हामी सल्लाह स्वीकारेर पनि देखाउँछौं। महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा हामी आफ्नै बुद्धिमा भर पर्दैनौं, बरु डोऱ्‍याइको लागि यहोवा र उहाँको सङ्‌गठनमा भर पर्छौं। अनि आँधी आउँदा एउटा सानो बालकले आमाबाबुको सुरक्षा खोजेझैं यस संसारका आँधीरूपी समस्याहरू सामना गर्दा हामी यहोवाको सङ्‌गठनमा सुरक्षा खोज्छौं।

हो, परमेश्‍वरको सङ्‌गठनको पार्थिव भागमा नेतृत्व लिइरहेकाहरू त्रुटिरहित छैनन्‌। मोशा पनि त त्रुटिरहित थिएनन्‌। तैपनि मोशालाई नियुक्‍त गर्ने परमेश्‍वर नै हुनुहुन्छ र तिनीमाथि उहाँको अनुमोदन छ भनेर त्यस खामोले निरन्तर रूपमा प्रमाण दिन्थ्यो। यो कुरा पनि नबिर्सनुहोस्‌, कहिले यात्रा सुरु गर्ने भनेर निर्धारण गर्ने जिम्मेवारी प्रत्येक इस्राएलीको थिएन। बरु, “परमप्रभुले मोशाद्वारा जस्तो आज्ञा गर्नुहुन्थ्यो, तिनीहरूले त्यही पालन गर्थे।” (गन्ती ९:२३) त्यसैले परमेश्‍वरले निर्देशनहरू दिन प्रयोग गर्नुभएको माध्यम अर्थात्‌ मोशाले नै तिनीहरूलाई अघि बढ्‌ने सङ्‌केत दिएको हुनुपर्छ।

अघि बढ्‌ने समय भएपछि आज यहोवाको भण्डारे वर्गले त्यसको स्पष्ट सङ्‌केत दिन्छ। भण्डारेले कसरी यसो गर्छ? प्रहरीधरहराहाम्रो राज्य सेवा-का लेखहरू, नयाँ प्रकाशनहरू र सम्मेलन तथा अधिवेशनका भाषणहरूमार्फत। परिभ्रमण निरीक्षकहरू वा पत्रहरूमार्फत वा मण्डलीमा जिम्मेवारी सँभालिरहेका भाइहरूले पाएका तालिमद्वारा पनि मण्डलीमा निर्देशनहरू दिइन्छ।

परमेश्‍वरको डोऱ्‍याइको प्रमाणलाई के तपाईंले राम्ररी बुझ्नुभएको छ? सैतानको यस दुष्ट युगको आखिरी दिनको “उजाडस्थान”-मा आफ्ना जनलाई डोऱ्‍याउन उहाँ आफ्नो सङ्‌गठन प्रयोग गर्नुहुन्छ। फलस्वरूप हामी एकता, प्रेम र सुरक्षाको आनन्द उठाउँछौं।

इस्राएलीहरू प्रतिज्ञा गरिएको भूमिमा पुगेपछि यहोशूले यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ . . . भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” (यहो. २३:१४) त्यसैगरि, आज परमेश्‍वरका जनहरू पनि प्रतिज्ञा गरिएको नयाँ संसारमा निश्‍चय नै पुग्नेछन्‌। तर हामी आफू त्यहाँ हुनेछौं कि छैनौं भन्‍ने कुरा परमेश्‍वरको डोऱ्‍याइ नम्रतासाथ स्वीकार्न इच्छुक छौं कि छैनौं, त्यसमा भर पर्छ। त्यसकारण हामी सबैले यहोवाको डोऱ्‍याइको प्रमाण बुझिरहौं!

[पृष्ठ ५-मा भएको चित्र]

आज हामीलाई यहोवाको सङ्‌गठनले डोऱ्‍याइरहेको छ

अधिवेशनका विमोचनहरू

ईश्‍वरतान्त्रिक स्कूलहरू

क्षेत्र सेवाको सभामा तालिम