सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”

“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”

“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”

“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन्‌ अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्‌, तिनीहरूको आदर गर।”—१ थिस्स. ५:१२.

१, २. (क) पावलले थिस्सलोनिकी मण्डलीलाई पहिलो पत्र लेख्दा त्यहाँको अवस्था कस्तो थियो? (ख) पावलले थिस्सलोनिकीहरूलाई के गर्न प्रोत्साहन दिए?

 कल्पना गर्नुहोस्‌, तपाईं प्रथम शताब्दीको थिस्सलोनिकी मण्डलीको एक जना सदस्य हुनुहुन्छ। यो मण्डली युरोपमा सुरुतिर स्थापना भएको मण्डलीमध्ये एक थियो। प्रेषित पावलले त्यहाँका भाइबहिनीहरूलाई सुदृढ पार्न निकै समय बिताएका थिए। नेतृत्व लिनको लागि तिनले अरू मण्डलीमा जस्तै त्यहाँ पनि एल्डरहरू नियुक्‍त गरे होलान्‌। (प्रेषि. १४:२३) तर मण्डली स्थापना भएपछि यहूदीहरूले पावल र सिलासलाई त्यस सहरबाट खेद्‌न एउटा जमात खडा गरे। यस्तो अवस्थामा त्यहाँ बाँकी भएका ख्रीष्टियनहरूले एक्लो र डर महसुस गरे होलान्‌।

थिस्सलोनिकी छोडेपछि त्यहाँ भर्खरै स्थापना भएको मण्डलीको अवस्थाप्रति पावल चिन्तित हुनु स्वाभाविक थियो। तिनी फर्कन चाहे तर “सैतानले . . . बाटो छेक्यो।” त्यसैले मण्डलीलाई प्रोत्साहन दिन तिनले तिमोथीलाई पठाए। (१ थिस्स. २:१८; ३:२) तिमोथीले असल रिपोर्ट ल्याएपछि पावल थिस्सलोनिकीहरूलाई पत्र लेख्न उत्प्रेरित भए। पत्रमा पावलले अरू कुरा लेख्नुका साथै ‘जसले नेतृत्व लिइरहेका छन्‌ तिनीहरूको आदर गर्न’ पनि प्रोत्साहन दिए।१ थिस्सलोनिकी ५:१२, १३ पढ्‌नुहोस्‌।

३. थिस्सलोनिकीका ख्रीष्टियनहरूले एल्डरहरूलाई झन्‌ धेरै आदर गर्नुपर्ने कस्ता कारणहरू थिए?

थिस्सलोनिकीका ख्रीष्टियनहरूमाझ नेतृत्व लिइरहेका भाइहरू पावल र तिनका सहयात्रीहरूजस्तो अनुभवी थिएनन्‌; न त तिनीहरू यरूशलेमका एल्डरहरूजस्तो ख्रीष्टियन भएको लामो समय नै भएको थियो। हुन पनि यो मण्डली स्थापना भएको एक वर्ष पनि भइसकेको थिएन। तैपनि मण्डलीमा “कडा परिश्रम गरिरहेका” र “नेतृत्व लिइरहेका” अनि भाइबहिनीहरूलाई “सम्झाइबुझाइ गरिरहेका” एल्डरहरूप्रति मण्डलीका सदस्यहरू कृतज्ञ हुनुपर्ने कारण थियो। निश्‍चय पनि तिनीहरूले “प्रेमले ओतप्रोत भई [एल्डरहरूको] झन्‌ धेरै आदर” गर्नुपर्ने थियो। यो आग्रह गरेपछि पावलले तिनीहरूलाई “एक-अर्कासँग शान्तिसित बस” भनी सल्लाह दिए। यदि तपाईं थिस्सलोनिकीमा हुनुभएको भए के तपाईंले एल्डरहरूको कामप्रति गहिरो कृतज्ञता देखाउनुहुने थियो? परमेश्‍वरले ख्रीष्टमार्फत तपाईंको मण्डलीमा प्रबन्ध गर्नुभएको “वरदानको रूपमा पुरुषहरू”-प्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ?—एफि. ४:८.

“कडा परिश्रम गरिरहेका”

४, ५. पावलको समयका एल्डरहरूले मण्डलीमा सिकाउन कस्तो कडा परिश्रम गर्थे र आज पनि किन यस्तै छ?

पावल र सिलासलाई बिरिया पठाइसकेपछि थिस्सलोनिकीका एल्डरहरूले कस्तो “कडा परिश्रम गरिरहेका” थिए? पावलको अनुकरण गर्दै तिनीहरूले पक्कै पनि धर्मशास्त्र प्रयोग गरेर मण्डलीलाई सिकाए। तपाईं सोच्नुहोला, ‘के थिस्सलोनिकीका ख्रीष्टियनहरू परमेश्‍वरको वचनप्रति कृतज्ञ थिए?’ हुन पनि बाइबलले बताएअनुसार “बिरियालीहरू थिस्सलोनिकीहरूभन्दा भलादमी अनि खुला विचारधाराका थिए। किनकि तिनीहरू . . . होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।” (प्रेषि. १७:११) तर यो तुलना थिस्सलोनिकी यहूदीहरूको सन्दर्भमा थियो, ख्रीष्टियनहरूको सन्दर्भमा थिएन। ख्रीष्टियन बनेकाहरूले ‘परमेश्‍वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा ग्रहण गरे।’ (१ थिस्स. २:१३) मण्डलीलाई सिकाउन ती एल्डरहरूले पक्कै पनि कडा परिश्रम गरेको हुनुपर्छ।

आज विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले परमेश्‍वरको बगाललाई “ठीक समयमा भोजन” दिइरहेको छ। (मत्ती २४:४५) यस दासको निर्देशन पालन गर्दै स्थानीय मण्डलीका एल्डरहरू आफ्ना भाइहरूलाई सिकाउन कडा परिश्रम गर्छन्‌। मण्डलीका सदस्यहरूसित बाइबलआधारित साहित्यहरू थुप्रै छन्‌ होला, अनि कुनै-कुनै भाषामा वाच टावर प्रकाशन सूची, सी डी-रोममा वाचटावर लाइब्रेरी अनि डिसेम्बर अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित विषयसूची उपलब्ध छन्‌। मण्डलीलाई यहोवासित नजिक हुने मदत दिन एल्डरहरू सभामा आफूले पाएको भागको तयारी गर्न घण्टौं बिताउँछन्‌। यसरी तिनीहरू आफूले पाएको जिम्मेवारी प्रभावकारी ढङ्‌गमा प्रस्तुत गर्न सक्छन्‌। एल्डरहरूले सभा, सम्मेलन र अधिवेशनमा आफूले पाएको भागको तयारी गर्न कति समय बिताउँछन्‌, के तपाईंले सोच्नुभएको छ?

६, ७. (क) थिस्सलोनिकीका एल्डरहरूका लागि पावलले कस्तो उदाहरण बसाले? (ख) पावलको अनुकरण गर्नु आजका एल्डरहरूका लागि किन गाह्रो हुन सक्छ?

गोठालोले झैं बगालको हेरविचार गर्ने सन्दर्भमा पावलले बसालेको उदाहरणलाई थिस्सलोनिकीका एल्डरहरूले सम्झे। पावलले सोचविचारै नगरी वा कर्तव्यबोधको भावनाले मात्र बगालको हेरविचार गरेका थिएनन्‌। यसअघिको लेखमा छलफल गरिएझैं ‘जसरी एक जना आमाले आफ्नो नवजात शिशुलाई दूध खुवाउँछिन्‌ अनि स्याहार गर्छिन्‌, त्यसरी नै तिनले कोमल व्यवहार गरे।’ ( १ थिस्सलोनिकी २:७, ८ पढ्‌नुहोस्‌) तिनी “आफ्नो ज्यान दिनसमेत” तयार थिए! गोठालोले झैं बगालको हेरविचार गर्दा एल्डरहरू पनि तिनीजस्तै हुनुपर्थ्यो।

बगालको स्याहार गरेर आजका ख्रीष्टियन गोठालाहरूले पनि पावलको अनुकरण गर्छन्‌। स्वभावैले कुनै-कुनै भेडा दयालु र मित्रैलो नहुन सक्छन्‌। तैपनि एल्डरले अन्तरदृष्टि देखाउन र तिनीहरूमा असल कुरा भेट्टाउन प्रयास गर्छन्‌। सबैसँग कोमल व्यवहार गर्न सक्दो कोसिस गरेर ख्रीष्टको अधीनमा रहने असल गोठालो बन्‍ने प्रयास गरेकोमा के तिनको प्रशंसा गर्नुपर्दैन र?

८, ९. आजका एल्डरहरूले के-कस्ता तरिकामा ‘हाम्रो हेरचाह गरिरहेका’ छन्‌?

हामी एल्डरहरूप्रति “आज्ञाकारी” हुनु आवश्‍यक छ। पावलले लेखेझैं ‘तिनीहरूले हाम्रो हेरचाह गरिरहेका छन्‌।’ (हिब्रू १३:१७) यो अभिव्यक्‍तिले हामीलाई गोठालोको सम्झना गराउँछ जसले आफ्नो बगाललाई जोगाउन आफ्नो निद्रासमेत त्याग्छ। त्यसैगरि स्वास्थ्य समस्या, भावनात्मक समस्या वा बाइबलका सिद्धान्तहरू लागू गर्ने सम्बन्धमा समस्या भएकाहरूको हेरविचार गर्न आजका एल्डरहरूले कुनै-कुनै रात अनिदो बिताउन सक्छन्‌। उदाहरणको लागि, अस्पताल सम्पर्क समितिका भाइहरू उपचारसम्बन्धी मदत दिनको लागि राती सुतिरहेको बेला पनि ओछ्यान छोडेर जानुपरेको छ। यस्तो अप्ठेरो अवस्थामा मदत पाउँदा हामी तिनीहरूको सेवाप्रति साँच्चै कृतज्ञ हुन्छौं!

राज्यभवन निर्माण कार्य र उद्धार समितिमा सेवा गर्ने एल्डरहरू भाइबहिनीलाई मदत गर्न कडा परिश्रम गर्छन्‌। तिनीहरू हाम्रो तनमनको समर्थन पाउन योग्य छन्‌! सन्‌ २००८ मा म्यानमारमा नर्गिस भन्‍ने समुद्री आँधी आएपछिको उद्धार कार्यलाई विचार गर्नुहोस्‌। आँधीले नराम्ररी असर पुऱ्‍याएको इरावादी इलाकास्थित बोथिन्गन मण्डलीसम्म पुग्ने बाटोभरि लासहरू छरपस्ट थिए। यो बाटो भएर आएको पहिलो उद्धार टोलीमा आफ्नो पुरानो क्षेत्रीय निरीक्षकलाई देख्दा स्थानीय भाइबहिनीहरू यसरी कराए: “हेर त! हाम्रो क्षेत्रीय निरीक्षक! यहोवाले हामीलाई बचाउनुभयो!” एल्डरहरूले रातदिन गर्ने कडा परिश्रमको के तपाईं कदर गर्नुहुन्छ? केही एल्डरहरू अप्ठेरो प्रकारको न्यायिक समस्याहरू सँभाल्न विशेष समितिहरूमा सेवा गर्न नियुक्‍त गरिएका छन्‌। यी एल्डरहरू आफूले हासिल गरेको उपलब्धिमा घमन्ड गर्दैनन्‌; तर तिनीहरूको सेवाबाट लाभ उठाउनेहरू साँच्चै कृतज्ञ छन्‌।—मत्ती ६:२-४.

१०. एल्डरहरू हामीलाई त्यति थाह नभएको कस्ता कामहरू गर्छन्‌?

१० आजका थुप्रै एल्डरले कागजपत्रसम्बन्धी काम पनि गर्नुपर्छ। उदाहरणको लागि, एल्डरहरूको निकायको संयोजकले साप्ताहिक सभाहरूको तालिका बनाउँछन्‌। मण्डलीका सचिवले क्षेत्र सेवाको मासिक र वार्षिक रिपोर्टहरू सङ्‌कलन गरेर तयार पार्छन्‌। स्कूल निरीक्षकले स्कूलको तालिकामा विशेष ध्यान दिन्छन्‌। प्रत्येक तीन महिनामा मण्डलीको लेखापरीक्षण गरिन्छ। एल्डरहरू शाखा कार्यालयबाट आएको पत्रहरू पढ्‌छन्‌ र ‘विश्‍वासमा एकरूपता’ हासिल गर्न ती निर्देशनहरू लागू गर्छन्‌। (एफि. ४:३, १३) यस्तो कडा परिश्रम गर्ने एल्डरहरूको प्रयासले गर्दा “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले” हुन्छ।—१ कोरि. १४:४०.

“नेतृत्व लिइरहेका”

११, १२. मण्डलीमा कसले नेतृत्व लिन्छन्‌ र यसो गर्नुमा के समावेश छ?

११ थिस्सलोनिकी मण्डलीमा कडा परिश्रम गर्ने एल्डरहरूलाई पावलले ‘नेतृत्व लिइरहेकाहरू’ भने। मूल भाषामा यी शब्दहरूले “अगाडि उभिनु” भन्‍ने अर्थ बुझाउँछ र यसलाई “अगुवाइ लिनु” भनेर पनि अनुवाद गर्न सकिन्छ। (१ थिस्स. ५:१२) नेतृत्व लिइरहेका एल्डरहरूलाई नै पावलले ‘कडा परिश्रम गर्नेहरू’ भनी उल्लेख गरे। तिनले मण्डलीका सम्पूर्ण एल्डरहरूबारे कुरा गर्दै थिए। आज प्रायजसो एल्डरहरू मण्डलीको अगाडि उभिन्छन्‌ र सभाहरू सञ्चालन गर्छन्‌। “मण्डलीका अध्यक्ष” भन्‍ने पदवीलाई “एल्डरहरूको निकायको संयोजक” भनी हालै गरिएको छाँटकाँटले सम्पूर्ण एल्डरलाई एउटा सिङ्‌गो शरीरको विभिन्‍न अङ्‌गको रूपमा हेर्न मदत गर्छ।

१२ मण्डलीमा ‘नेतृत्व लिनु’ भनेको सिकाउनु मात्र होइन। पहिलो तिमोथी ३:४ मा पनि नेतृत्व लिनु भन्‍ने अर्थ बुझाउने अभिव्यक्‍ति चलाइएको छ। निरीक्षकले “आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ” भनी पावलले बताए। यहाँ प्रयोग गरिएको “अगुवाइ लिनुपर्छ” भन्‍ने अभिव्यक्‍तिले छोराछोरीलाई सिकाउने मात्र होइन तर परिवारमा नेतृत्व लिनुपर्छ र ‘छोराछोरीलाई अधीनमा’ राख्नुपर्छ भन्‍ने अर्थलाई पनि बुझाउँछ। हो, एल्डरहरूले मण्डलीमा नेतृत्व लिन्छन्‌ अनि सबैलाई यहोवाको अधीनमा बस्न मदत गर्छन्‌।—१ तिमो. ३:५.

१३. एल्डरहरूको सभामा कुनै निर्णयमा पुग्न किन समय लाग्न सक्छ?

१३ बगालको राम्ररी नेतृत्व लिने सम्बन्धमा मण्डलीलाई कसरी मदत गर्न सकिन्छ भनेर एल्डरहरू आपसमा छलफल गर्छन्‌। एक जना मात्रै एल्डरले सम्पूर्ण निर्णय गरेमा सायद काम छिटो हुन्थ्यो होला। तर प्रथम शताब्दीको परिचालक निकायको उदाहरण अनुकरण गर्दै वर्तमान समयका एल्डरहरूको निकायले पनि धर्मशास्त्रबाट डोऱ्‍याइ खोज्दै मामिलाहरूलाई खुलस्त छलफल गर्छ। तिनीहरूको लक्ष्य भनेको धर्मशास्त्रीय सिद्धान्तहरूलाई स्थानीय मण्डलीको आवश्‍यकताअनुसार लागू गर्नु हो। प्रत्येक एल्डरले धर्मशास्त्र अनि विश्‍वासी र बुद्धिमान्‌ दास वर्गमार्फत आएको निर्देशनलाई ध्यानमा राख्दै एल्डरहरूको सभाको लागि तयारी गरेमा यो सबैभन्दा प्रभावकारी हुन्छ। हो, यसको लागि समय लाग्छ। प्रथम शताब्दीको परिचालक निकायले खतनाबारे विचार गर्दा आपसमा धारणा बाझिएको थियो। आज पनि यस्तै अवस्था हुँदा धर्मशास्त्रमा आधारित सहमतिमा पुग्न थप समय र अनुसन्धान आवश्‍यक पर्न सक्छ।—प्रेषि. १५:२, ६, ७, १२-१४, २८.

१४. एल्डरहरूको निकायले एकताबद्ध भएर काम गरेकोमा के तपाईं त्यसको कदर गर्नुहुन्छ? तपाईं किन त्यस्तो महसुस गर्नुहुन्छ?

१४ कुनै एल्डरले आफ्नै तरिका लाद्‌न वा आफ्नै विचारअनुसार गर्न जिद्दी गरेमा के हुन सक्छ? अथवा प्रथम शताब्दीका डियोत्रिफसले जस्तै कसैले कलहको बीउ छरेमा के होला? (३ यूह. ९, १०) निश्‍चय पनि पूरै मण्डलीले दुःख पाउनेछ। सैतानले प्रथम शताब्दीको मण्डलीको शान्ति भङ्‌ग गराउन खोज्यो भने त्यसले आज पनि मण्डलीको शान्ति भङ्‌ग गर्न खोज्छ भनी पक्का हुन सक्छौं। ठूलो हुन खोज्ने चाहनाजस्ता स्वार्थी मानव झुकावलाई पनि त्यसले जगाउन सक्छ। त्यसैले एल्डरहरूले नम्रता खेती गर्नुपर्छ र एउटा सिङ्‌गो शरीरको रूपमा मिलेर काम गर्नुपर्छ। शरीरको रूपमा मिलेर काम गर्ने एल्डरहरूको नम्रताको हामी कत्ति धेरै कदर गर्छौं!

“सम्झाइबुझाइ गरिरहेका”

१५. एल्डरहरूले कस्तो मनसाय राखेर कुनै भाइ वा बहिनीलाई सम्झाइबुझाइ गर्छन्‌?

१५ त्यसपछि पावलले एल्डरहरूले गर्ने गाह्रो तर महत्त्वपूर्ण कामलाई प्रकाश पारे। त्यो काम हो: बगाललाई सम्झाइबुझाइ गर्ने। ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा “सम्झाइबुझाइ” भनी अनुवाद गरिएको ग्रीक शब्द पावलले मात्र प्रयोग गरे। यो शब्दले कडा सल्लाहलाई बुझाउन सक्छ तर शत्रुतालाई भने यसले बुझाउँदैन। (प्रेषि. २०:३१; २ थिस्स. ३:१५) उदाहरणको लागि, पावलले कोरिन्थीहरूलाई लेखे: “तिमीहरूलाई सरममा पार्न त होइन तर तिमीहरूलाई मेरा प्यारा छोराछोरी ठानेर सल्लाह दिन म यी कुराहरू लेख्दैछु।” (१ कोरि. ४:१४) तिनले अरूप्रतिको मायालु चासोले गर्दा यस्तो सल्लाह दिए।

१६. अरूलाई सम्झाइबुझाइ गर्दा एल्डरहरूले कुन कुरा याद गर्नु राम्रो हो?

१६ कुन तरिकामा अरूलाई सम्झाइबुझाइ गर्नुपर्छ भन्‍ने कुरालाई एल्डरहरू याद गर्छन्‌। तिनीहरू दयालु, मायालु र मदतकारी हुँदै पावलको अनुकरण गर्ने प्रयास गर्छन्‌। ( १ थिस्सलोनिकी २:११, १२ पढ्‌नुहोस्‌) हो, एल्डरहरू ‘विश्‍वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्छन्‌, ताकि तिनीहरूले साँचो शिक्षाद्वारा प्रोत्साहन दिन सक्नेछन्‌।’—ती. १:५-९.

१७, १८. कुनै एल्डरले तपाईंलाई सम्झाइबुझाइ गरेमा तपाईंले के बिर्सनु हुँदैन?

१७ हुनत एल्डरहरू त्रुटिपूर्ण छन्‌ अनि पछि गएर आफूले पछुतो मान्‍ने कुराहरू पनि तिनीहरू भन्लान्‌। (१ राजा ८:४६; याकू. ३:८) साथै, तिनीहरूलाई यो पनि थाह छ, सल्लाह पाउनु साधारणतया ख्रीष्टियन भाइबहिनीहरूका लागि “रमाइलो हुँदैन तर दुःखलाग्दो हुन्छ।” (हिब्रू १२:११) त्यसैले जब कुनै एल्डर कसैलाई सम्झाइबुझाइ गर्न अघि सर्छन्‌, तिनले सम्भवतः त्यस मामिलाबारे धेरै सोचेर अनि त्यसबारे प्रार्थना गरेर मात्र त्यसो गर्छन्‌। तपाईंलाई एल्डरले सम्झाइबुझाइ गर्दा के तपाईं तिनले देखाएको मायालु चासोको कदर गर्नुहुन्छ?

१८ मानिलिनुहोस्‌, तपाईंले भोगिरहेको एउटा स्वास्थ्य समस्या डाक्टरहरूले पत्ता लगाउनै सकेनन्‌। पछि एक जना डाक्टरले समस्या पत्ता लगाए तर तिनले पत्ता लगाएको कुरा स्वीकार्न भने तपाईंलाई सजिलो भएन। के तपाईं ती डाक्टरप्रति रिस राख्नुहुन्छ? राख्नुहुन्‍न! बरु, तिनले शल्यक्रिया गर्न सिफारिस गरे तापनि आफ्नै फाइदाको लागि हो भनी सोच्दै तपाईं त्यो उपचार स्वीकार्नुहुन्छ होला। डाक्टरले कुन तरिकामा जानकारी दिए, त्यसले तपाईंको भावनालाई असर गर्न सक्छ तर के तपाईं आफ्नो भावनाको आधारमा मात्र निर्णय गर्नुहुन्छ? सायद गर्नुहुन्‍न। त्यसैगरि, तपाईंलाई सम्झाइबुझाइ गरिएको तरिकालाई लिएर ती एल्डरहरूको कुरा सुन्‍नदेखि पछि नहट्‌नुहोस्‌। सच्चाइमा प्रगति गर्न वा यहोवासितको सम्बन्ध जोगाउन यहोवा र येशूले तिनीहरूलाई प्रयोग गरिरहनुभएको हुन सक्छ।

यहोवाले एल्डरहरूको प्रबन्ध मिलाउनुभएकोमा कृतज्ञ हुनुहोस्‌

१९, २०. “वरदानको रूपमा पुरुषहरू”-प्रति तपाईं आफ्नो कृतज्ञता कसरी देखाउन सक्नुहुन्छ?

१९ तपाईंकै लागि भनेर बनाइएको उपहार पाउनुभयो भने तपाईं के गर्नुहुन्छ? त्यसको सदुपयोग गरेर के तपाईं आफ्नो कृतज्ञता देखाउनुहुन्छ? “वरदानको रूपमा पुरुषहरू” यहोवाले तपाईंको लागि येशू ख्रीष्टमार्फत मिलाउनुभएको प्रबन्ध हो। यी वरदानप्रति आफ्नो कृतज्ञता देखाउने एउटा तरिका एल्डरहरूले दिएका भाषणलाई ध्यान दिएर सुनेर अनि तिनीहरूले उल्लेख गरेका बुँदालाई लागू गर्ने प्रयास गरेर हो। सभाहरूमा अर्थपूर्ण टिप्पणी दिएर पनि तपाईं आफ्नो कृतज्ञता देखाउन सक्नुहुन्छ। क्षेत्र सेवाजस्ता एल्डरहरूले नेतृत्व लिइरहेका कामलाई समर्थन गर्नुहोस्‌। कुनै एल्डरले दिएको सल्लाहबाट लाभ उठाउनुभएको छ भने त्यसबारे ती एल्डरलाई बताउनुभए कसो होला? साथै, एल्डरहरूको परिवारलाई पनि आफ्नो कृतज्ञता व्यक्‍त गरे कसो होला? नबिर्सनुहोस्‌, कुनै पनि एल्डरले मण्डलीमा कडा परिश्रम गर्नको लागि तिनको परिवारले तिनीसित बिताउने समय त्याग गरिरहेको हुन्छ।

२० हो, हामीहरूमाझ कडा परिश्रम गरिरहेका, नेतृत्व लिइरहेका अनि हामीलाई सम्झाइबुझाइ गरिरहेका एल्डरहरूप्रति कृतज्ञता देखाउनुपर्ने प्रशस्त कारण छन्‌। “वरदानको रूपमा पुरुषहरू” यहोवाले हाम्रो लागि मिलाउनुभएको साँच्चै मायालु प्रबन्ध हो!

के तपाईंलाई याद छ?

• थिस्सलोनिकीका ख्रीष्टियनहरूसित तिनीहरूमाझ नेतृत्व लिइरहेकाहरूको आदर गर्नुपर्ने कस्ता कारणहरू थिए?

• तपाईंको मण्डलीका एल्डरहरूले तपाईंको लागि कस्तो कडा परिश्रम गर्छन्‌?

• नेतृत्व लिइरहेका एल्डरहरूबाट तपाईं कस्तो लाभ उठाउनुहुन्छ?

• कुनै एल्डरले सम्झाइबुझाइ गरेमा तपाईंले के बिर्सनु हुँदैन?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको चित्र]

एल्डरहरूले गोठालोले झैं मण्डलीको हेरविचार गर्ने विभिन्‍न तरिकाप्रति के तपाईं कृतज्ञ हुनुहुन्छ?