सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

साठी वर्ष काटिसकेकी एक महिलाले मूर्तिपूजा गर्न किन छोडिन्‌? सिन्टो धर्मका पुजारीलाई मन्दिरको काम छोडेर एक जना ख्रिष्टियन सेवक बन्‍न केले उत्प्रेरित गऱ्‍यो? धर्मपुत्रीको रूपमा हुर्किएकी एक महिला आफूलाई जन्म दिने बुबाआमाबाट त्यागिएको भावनाले गर्दा अत्यन्तै निराश नहुन कस्तो मदत पाइन्‌? तिनीहरूको अनुभव पढ्‌नुहोस्‌।

“अहिले म मूर्तिपूजा गर्दिनँ।”—आबा डेन्सु

जन्म मिति: सन्‌ १९३८

जन्म स्थान: बेनिन

विगतमा: मूर्तिपूजक

मेरो विगत: म सो-चाहुइ भन्‍ने गाउँमा जन्मिएँ। यो गाउँ एउटा तालनजिकैको सिमसार क्षेत्रमा पर्छ। यहाँका मानिसहरू माछा मार्छन्‌ अनि गाईवस्तु, भेडाबाख्रा, सुँगुर र चराहरू पाल्छन्‌। यो ठाउँमा सडक छैन। त्यसैले मानिसहरू डुङ्‌गा प्रयोग गरेर यताउता जान्छन्‌। यहाँका प्रायजसो घर काठ र घाँसले बनेको छ। इँटाले बनाइएका घरहरू पनि छन्‌। यहाँका धेरैजसो मानिस गरिब छन्‌। तैपनि यहाँ सहरमा जत्तिको अपराध हुँदैन।

म सानै छँदा बुबाले म र मेरी दिदीलाई पुजारी बन्‍न पठाउनुभयो, जहाँ हामीले आफ्नो धर्म र रीतिथितिबारे सिक्यौँ। ठूलो भएपछि मैले योरुबा धर्मको भगवान डुडुवालाई (आडुडुवा) मान्‍न थालेँ। भगवानको लागि मैले एउटा पूजाथान बनाएँ र नियमित रूपमा तरुल, खजुरको तेल, शङ्‌खेकिरा, कुखुरा, ढुकुर र अरू विभिन्‍न जनावर चढाउँथेँ। यी भेटी चढाउन निकै पैसा खर्च गर्नुपर्थ्यो। मेरो सबैजसो पैसा यसैमा सिद्धिन्थ्यो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? मैले बाइबल अध्ययन गर्न थालेपछि यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाएँ। हामीले मूर्तिपूजा गरेको यहोवालाई मन पर्दैन भनेर पनि सिकेँ। (प्रस्थान २०:​४, ५; १ कोरिन्थी १०:१४) मैले के गर्नुपर्छ भनेर छर्लङ्‌गै भयो। त्यसैले मसित भएका सबै मूर्ति फालेँ र मूर्तिपूजासित सम्बन्धित सबै चिजबिज हटाएँ। म भावी बताउनेहरूकहाँ जान छोडेँ अनि स्थानीय रीतिरिवाज र अन्त्येष्टिसित सम्बन्धित रितिथितिमा भाग लिन पनि बन्द गरेँ।

मजस्तो ६० वर्ष काटिसकेकी महिलालाई यस्तो परिवर्तन गर्न सजिलो थिएन। मेरा साथीहरू, नातेदारहरू र छिमेकीहरूले मेरो विरोध र गिल्ला गरे। तर मैले यहोवालाई प्रार्थना गरेँ र जे सहि छ त्यो गर्न बल मागेँ। मैले हितोपदेश १८:१० का यी शब्दहरूबाट सान्त्वना पाएँ: “यहोवाको नाम बलियो धरहरा हो; धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।”

मैले यहोवाका साक्षीहरूको सभामा उपस्थित भएर पनि निकै मदत पाएँ। त्यहाँ मैले ख्रिष्टियन प्रेम महसुस गरेँ अनि त्यहाँका मानिसहरूले बाइबलको उच्च नैतिक स्तरअनुसार जीवन बिताउने प्रयास गरेको देखेर प्रभावित भएँ। मैले त्यहाँ जे देखेँ त्यसबाट साँचो धर्म मान्‍ने मानिसहरू यहोवाका साक्षीहरू नै हुन्‌ भन्‍ने कुरामा म पक्का भएँ।

मैले कस्तो लाभ उठाएकी छु? बाइबल सिद्धान्तहरूअनुसार चलेकीले छोराछोरीसित मेरो सम्बन्ध राम्रो भएको छ। साथै मेरो काँधबाट ठूलो बोझ हटेको महसुस गर्छु। मैले आफ्नो सबै सम्पत्ति निर्जीव मूर्तिहरूको पूजा गरेर खेर फाल्थेँ तर तिनीहरूबाट मैले कुनै मदत पाइनँ। वास्तवमा यहोवाले मात्र हाम्रा सबै समस्या सधैँको लागि हटाइदिनुहुन्छ। (प्रकाश २१:​३, ४) अहिले म मूर्तिपूजा गर्दिनँ बरु यहोवाको उपासना गर्छु। त्यसैले म असाध्यै खुसी छु। मैले उहाँबाटै मदत र साँचो सुरक्षा पाएकी छु।

“म सानैदेखि परमेश्‍वरको खोजीमा थिएँ।”—⁠सिन्जी सातो

जन्म मिति: सन्‌ १९५१

जन्म स्थान: जापान

विगतमा: सिन्टो धर्मको पुजारी

मेरो विगत: म फुकुओका प्रान्तको एउटा सानो सहरमा हुर्केँ। बुबाआमा धर्मकर्म गर्न निकै मन पराउनुहुन्थ्यो अनि मलाई पनि सानैदेखि सिन्टो भगवानहरूको उपासना गर्न सिकाउनुभयो। म सानैदेखि कसरी मुक्‍ति पाउने भनेर सोच्ने गर्थेँ। ममा दुःखमा परेकाहरूलाई मदत गर्ने तीव्र चाहना थियो। म प्राथमिक स्कुलमा पढ्‌दाको कुरा हो, शिक्षकले सबैलाई ठूलो भएपछि के बन्‍न चाहन्छौ भनेर सोध्नुभयो। मेरा कक्षाका साथीहरूले आफ्नो ठूलठूलो लक्ष्यबारे बताए। जस्तै: वैज्ञानिक बन्‍ने। मैले चाहिँ परमेश्‍वरको सेवा गर्न चाहन्छु भनेर बताएँ। मेरो कुरा सुनेर सबैले मलाई हाँसोमा उडाए।

स्कुलको पढाइ सकिएपछि म धर्मगुरु बन्‍न विशेष तालिम लिन गएँ। त्यहाँ एक जना सिन्टो पुजारी हुनुहुन्थ्यो। उहाँ फुर्सतको समयमा कालो जिल्ला भएको एउटा किताब पढ्‌ने गर्नुहुन्थ्यो। एकदिन उहाँले मलाई सोध्नुभयो, “सातो, यो कुन किताब हो तिमीलाई थाह छ?” मैले त्यो किताबको कालो जिल्ला याद गरेको थिएँ। त्यसैले मैले भनेँ, “यो बाइबल हो।” उहाँले भन्‍नुभयो, “सिन्टो पुजारी बन्‍न चाहने सबैले यो किताब पढ्‌नुपर्छ।”

मैले उत्तिखेरै गएर एउटा बाइबल किनेँ। त्यस बाइबललाई मैले किताबको ऱ्‍याकमा जतनसित राखेँ। तर तालिमले गर्दा धेरै व्यस्त भएकोले त्यो पढ्‌न चाहिँ भ्याइनँ। तालिम सकिएपछि मैले सिन्टो पुजारीको रूपमा मन्दिरमा काम गर्न थालेँ। मेरो सानो बेलादेखिको सपना साकार भयो।

केही समय नबित्दै मैले के थाह पाएँ भने सिन्टो पुजारी हुनु भनेको मैले सोचेजस्तो रहेनछ। धेरैजसो सिन्टो पुजारी अरूलाई खासै माया गर्दैनथे, अरूको त्यत्ति वास्तै गर्दैनथे। धेरैको त आफ्नो धर्ममाथि विश्‍वासै थिएन। एक जना ठूलो पुजारीले मलाई यस्तो समेत भन्‍नुभयो: “तिमी यहाँ सफल हुन चाहन्छौ भने मानवदर्शनको कुरा मात्र गर। विश्‍वासबारे कुरा गर्दै नगर।”

यस्ता कुराहरूले गर्दा सिन्टो धर्मप्रति मेरो आस्था हराउँदै गयो। हुनत म मन्दिरमा काम गरिरहेकै थिएँ तर अरू धर्महरू पनि केलाउन थालेँ। तैपनि कुनै धर्मले सही कुरा सिकाएको पाइनँ। मैले जत्ति धेरै धर्म केलाएँ, त्यत्ति नै निराश भएँ। मलाई कुनै पनि धर्ममा सत्य छैन जस्तो लाग्यो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? सन्‌ १९८८ मा मैले बौद्ध धर्म मान्‍ने एक जना मानिस भेटेँ। तिनले मलाई बाइबल पढ्‌न प्रोत्साहन दिए। मैले वर्षौँअघि मलाई बाइबल पढ्‌न सल्लाह दिने सिन्टो पुजारीलाई सम्झेँ। मैले त्यो सल्लाह लागू गरेँ। बाइबल पढ्‌न थालेपछि म त्यसमै मग्न भएँ। कहिलेकाहीँ त म रातभरि पढेको पढ्यै हुन्थेँ। बिहान झ्यालबाट घाम छिरेको पनि पत्तै हुँदैन थियो।

बाइबल पढ्‌दै जाँदा ममा बाइबलका परमेश्‍वरलाई प्रार्थना गर्ने इच्छा जाग्यो। त्यसैले सुरुमा मैले मत्ति ६:​९-१३ मा भएको नमुना प्रार्थनाअनुसार प्रार्थना गरेँ। म हरेक दुई घण्टामा यो प्रार्थना दोहोऱ्‍याउँथेँ। सिन्टो मन्दिरमा सेवा गरिरहेको बेला पनि म यही प्रार्थना गर्थेँ।

मैले पढिरहेको कुराबारे मनमा थुप्रै प्रश्‍न खेल्न थाल्यो। यतिबेलासम्म मैले विवाह गरिसकेको थिएँ। यहोवाका साक्षीहरूले बाइबलको कुरा सिकाउँछन्‌ भनेर मलाई थाह थियो। किनकि पहिला-पहिला तिनीहरू मेरी श्रीमतीलाई भेट्‌न आउँथे। मैले एक जना यहोवाको साक्षीसित सम्पर्क गरेँ र उहाँलाई एकपछि अर्को प्रश्‍न सोधेँ। उहाँले सबै प्रश्‍नको जवाफ बाइबलबाटै दिएको देखेर म छक्क परेँ। उहाँले नै एक जना साक्षी भाइसित अध्ययन गर्ने प्रबन्ध मिलाइदिनुभयो।

त्यसको केही समयपछि नै म यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन थालेँ। त्यहाँ उपस्थितहरूमध्ये कोही-कोही मैले पहिला नराम्रो व्यवहार गरेको साक्षीहरू पनि हुनुहुँदो रहेछ। तैपनि उहाँहरूले मलाई न्यानो स्वागत गर्नुभयो अनि मित्रैलो व्यवहार देखाउनुभयो।

ती सभाहरूबाट पतिहरूले परिवारका सदस्यहरूलाई प्रेम र आदर गरेको परमेश्‍वर चाहनुहुन्छ भनेर सिकेँ। त्यतिबेलासम्म म पुजारीको काममा साह्रै व्यस्त भएकोले श्रीमती र छोराछोरीलाई समय नै दिन्‍नथेँ। मन्दिरमा आउने मानिसहरूको कुरा म ध्यान दिएर सुन्थेँ तर आफ्नै श्रीमतीको कुराचाहिँ एक पटक पनि सुनेको रहेनछु भनेर महसुस भयो।

अध्ययन गर्दै जाँदा यहोवाबारे सिकेका कुराहरूले गर्दा म उहाँसित झन्‌झनै नजिक हुन थालेँ। थुप्रै पदले मेरो मन छोएको थियो। जस्तै: रोमी १०:​१३, जहाँ लेखिएको छ: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।” म सानैदेखि परमेश्‍वरको खोजीमा थिएँ। मैले बल्ल उहाँलाई भेट्टाएँ!

मलाई मन्दिरमा काम गर्न मन लाग्नै छोड्यो। मैले सिन्टो धर्म छोड्‌दा अरूले के भन्लान्‌ भनेर सुरु-सुरुमा चिन्ता लाग्यो। तर साँचो परमेश्‍वर अन्तै भेटेँ भने यो धर्म छोड्‌छु भन्‍ने कुरा मेरो मनमा थियो। सन्‌ १९८९ को वसन्त ऋतुमा मैले आफ्नो अन्तस्करणको आवाज सुन्‍ने निर्णय गरेँ। मैले मन्दिर छोडेँ र आफूलाई यहोवाको हातमा सुम्पेँ।

मन्दिर छोड्‌न सजिलो थिएन। मभन्दा ठूला पुजारीहरूले मलाई गाली गर्नुभयो र मन्दिर नछोड्‌न दबाब दिनुभयो। त्योभन्दा पनि गाह्रो काम त बुबाआमालाई यस निर्णयबारे सुनाउनु थियो। उहाँहरूको घरमा जाँदै गर्दा चिन्ताले मेरो छाती दुख्न थाल्यो र खुट्टाहरू लऱ्‍याकलुरुक भए। मैले बाटोमा थुप्रै पटक रोकिएर यहोवासित बल मागेँ।

म बुबाआमाको घरमा त पुगेँ तर त्यो विषयमा कुरा निकै डर लाग्यो। घण्टौँ बितिसक्दा पनि मैले केही भन्‍न सकिनँ। धेरै पटक प्रार्थना गरेपछि बल्ल मैले बुबालाई सबै कुरा बताएँ। मैले साँचो परमेश्‍वरलाई भेट्टाएँ र उहाँको सेवा गर्न सिन्टो धर्म छोड्‌दै छु भनेर बुबालाई बताएँ। यो कुरा बुबाले पत्याउनै सक्नुभएन। उहाँ असाध्यै दुःखी हुनुभयो। नातेदारहरू घरमा आउनुभयो र मलाई सम्झाउन खोज्नुभयो। म आफ्नो परिवारको मन दुखाउन चाहन्‍नथेँ। तर यहोवाको सेवा गर्नु नै सही निर्णय हो भनेर पनि मलाई थाह थियो। केही समयपछि मेरो परिवारले मेरो निर्णयको कदर गऱ्‍यो।

मन्दिर जान त छोडेँ तर मलाई आफ्नो सोचाइ परिवर्तन गर्न भने गाह्रो भइरहेको थियो। पुजारीको काम मेरो जीवनको अभिन्‍न भाग नै बनिसकेको थियो। ती कुराहरू बिर्सन मैले निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। जता हेरे पनि पहिलेको जीवनको सम्झना गराउने कुराहरू थुप्रै थिए।

मलाई आफ्नो सोचाइ परिवर्तन गर्न दुइटा कुराले मदत गऱ्‍यो। पहिलो, मेरो घरमा भएका पहिलेको धर्मसित सम्बन्धित सबै थोक खोजेँ अनि जलाइदिएँ। जस्तै: किताबहरू, तस्बिरहरू र महङ्‌गा-महङ्‌गा स्मारिकाहरू। दोस्रो, साक्षीहरूसित सङ्‌गत गर्ने हरेक मौका छोपेँ। उहाँहरूसितको मित्रता र साथले पनि मलाई निकै मदत गऱ्‍यो। यसरी बिस्तारै-बिस्तारै पहिलेका सम्झनाहरू हराउँदै गए।

मैले कस्तो लाभ उठाएको छु? पहिले म श्रीमती र छोराछोरीलाई समय नै दिन्‍नथेँ, जसले गर्दा तिनीहरू एक्लो महसुस गर्थे। तर बाइबलले पतिहरूलाई दिएको सल्लाह लागू गर्दै तिनीहरूलाई समय दिन थालेपछि हामी एकअर्कासित नजिक भयौँ। पछि मेरी श्रीमतीले पनि यहोवाको सेवा गर्न थालिन्‌। अहिले हामी आफ्नो छोरा, छोरी र ज्वाइँसित मिलेर साँचो उपासना गर्दै छौँ।

कहिलेकाहीँ म परमेश्‍वरको सेवा गर्ने र अरूलाई मदत गर्ने मेरो सानो बेलाको लक्ष्यबारे सोच्छु। त्यतिबेला म आफूले खोजेको सबै कुरा र त्योभन्दा पनि धेरै पाएको महसुस गर्छु। यहोवाप्रति म कत्ति धन्यवादी छु, त्यो म शब्दमा बयानै गर्न सक्दिनँ।

“म खोक्रो महसुस गर्थेँ।”—लिनेट हउटिङ

जन्म मिति: सन्‌ १९५८

जन्म स्थान: दक्षिण अफ्रिका

विगतमा: त्यागिएको भावनाले पिरोलिएकी

मेरो विगत: मेरो जन्म मध्यम वर्गीय परिवारहरू बसोबास गर्ने जर्मिस्टोन सहरमा भयो। त्यहाँ त्यत्ति धेरै अपराध हुँदैन थियो। बुबाआमालाई मेरो पालनपोषण गर्न सक्दैनौँ जस्तो लागेको थियो। त्यसैले म चौध दिनको मात्र हुँदा एउटा मायालु दम्पतीलाई मलाई धर्मपूत्रीको रूपमा दिनुभयो। उहाँहरू नै मलाई जन्म दिने बुबाआमा हुनुहुन्छ जस्तो लाग्थ्यो। तर मलाई जन्म दिने बुबाआमा अर्कै हुनुहुन्छ भनेर थाह पाएपछि भने मैले त्यागिएको महसुस गर्न थालेँ। उहाँहरू मेरो साँच्चैको परिवार हुनुहुन्‍न जस्तो लाग्न थाल्यो अनि उहाँहरूले मेरो कुरा पनि खासै बुझ्नुहुन्‍न जस्तो पनि लाग्थ्यो।

सोह्र वर्षकी हुँदा म बारहरूमा जान थालेँ। त्यहाँ म र मेरा साथीहरू लाइभ म्युजिक सुन्थ्यौँ र नाच्थ्यौँ। सत्र वर्षकी भएपछि मैले चुरोट पिउन थालेँ। म चुरोटको विज्ञापनमा आउने मोडलहरूजस्तै पातली हुन चाहन्थेँ। म १९ वर्षकी भएपछि काम गर्न जोहानेसवर्ग गएँ। त्यहाँ म नराम्रो सङ्‌गतमा फसेँ। केही समय नबित्दै मैले फोहोर बोली बोल्न, धेरै चुरोट पिउन र सप्ताहन्तमा बेस्सरी रक्सी पिउन थालेँ।

तैपनि म फुर्तिलो नै थिएँ। म नियमित रूपमा एरोबिक्स गर्थेँ अनि स्क्वास र महिलाहरूको फुटबल खेल्थेँ। मैले कम्प्युटर क्षेत्रमा नाम कमाउन निकै मेहनत गरेँ। त्यसले गर्दा म आर्थिक रूपमा सम्पन्‍न भएँ र अरूले मलाई सफल व्यक्‍तिको रूपमा हेर्थे। तर म खुसी थिइनँ बरु अन्योलमा र निराश थिएँ। भित्रभित्रै म खोक्रो महसुस गर्थेँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? बाइबल अध्ययन गर्न थालेपछि यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाएँ। उहाँले आफ्नो वचन बाइबल दिएर हामीलाई प्रेम देखाउनुभएको छ भनेर पनि बुझेँ। यो उहाँले मलाई सही बाटोमा हिँड्‌न मायालु सल्लाह दिँदै लेख्नुभएको चिठीजस्तै लाग्यो। (यसैया ४८:​१७, १८) यहोवाको मायालु डोऱ्‍याइबाट फाइदा उठाउने हो भने मैले जीवनमा ठूलठूला परिवर्तनहरू गर्नुपर्छ भनेर बुझेँ।

मैले परिवर्तन गर्नुपर्ने एउटा कुरा मेरो साथी-सङ्‌गत थियो। हितोपदेश १३:२० का यी शब्दहरूले मेरो मन छोयो: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” यो सिद्धान्तले मलाई पुरानो साथी-सङ्‌गत छोड्‌न र यहोवाका साक्षीहरूमाझ नयाँ साथीहरू बनाउन मदत गऱ्‍यो।

सबैभन्दा ठूलो चुनौती त चुरोट छोड्‌नु थियो किनकि मलाई यसको लत लागिसकेको थियो। मैले बिस्तारै-बिस्तारै यो कुलत हटाउन सकेँ तर त्यसपछि अर्को समस्या आइपऱ्‍यो। चुरोट छोडेकोले मेरो तौल साढे तेह्र किलोजति बढ्यो। त्यसले मेरो आत्मसम्मानमा ठूलो धक्का पुऱ्‍यायो। मलाई त्यति तौल घटाउन झन्डै १० वर्ष लाग्यो। तैपनि मैले चुरोट छोडेर सही काम नै गरेको थिएँ। मैले यहोवालाई निरन्तर प्रार्थना गरेँ र उहाँले मलाई सफल हुन मदत दिनुभयो।

मैले कस्तो लाभ उठाएकी छु? अहिले मेरो स्वास्थ्य राम्रो भएको छ। म सन्तुष्ट पनि छु किनभने अहिले म करिअर, प्रतिष्ठा र धनसम्पत्तिले दिने क्षणिक आनन्दको पछि लाग्दिनँ। मेरो श्रीमान्‌सँगै मिलेर यहोवाको सेवा गर्न र बाइबलको सत्य अरूलाई बताउन पाएकोमा म असाध्यै खुसी छु। अहिले मेरा पहिलेका तीन जना सहकर्मी पनि यहोवाको सेवा गर्दै छन्‌। मलाई हुर्काउने बुबाआमा बित्नुअघि उहाँहरूलाई प्रमोदवनमा फेरि जीवित हुने बाइबलको प्रतिज्ञाबारे बताउन पाएँ।

परमेश्‍वरसित नजिक भएकोले म त्यागिएको भावनाले गर्दा अत्यन्तै निराश नहुन मदत पाएकी छु। उहाँले मलाई आफ्ना उपासकहरू मिलेर बनेको विश्‍वव्यापी परिवारको भाग हुन दिनुभयो र त्यसको न्यानोपन महसुस गर्न दिनुभयो। यस परिवारमा मैले धेरै जना बुबाआमा, दाजुभाइ र दिदीबहिनी पाएकी छु।​—⁠मर्कुस १०:​२९, ३०.

[चित्र]

साक्षीहरूमाझ मैले ख्रिष्टियन प्रेम महसुस गरेँ

[चित्र]

सिन्टो धर्मको मन्दिर, जहाँ म पहिले उपासना गर्थेँ