सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “परमेश्‍वरको विश्राममा” प्रवेश गर्नुभएको छ?

के तपाईं “परमेश्‍वरको विश्राममा” प्रवेश गर्नुभएको छ?

के तपाईं “परमेश्‍वरको विश्राममा” प्रवेश गर्नुभएको छ?

“परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ।”—हिब्रू ४:१२.

१. अहिले हामी कसरी परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छौं? अनि आज्ञाकारी हुन किन गाह्रो छ?

 यहोवाको आज्ञा पालन गऱ्‍यौं र उहाँको सङ्‌गठनसित काँधमा काँध मिलाएर उहाँको उद्देश्‍यअनुरूप हिंड्यौं भने मात्र आज हामी यहोवाको विश्राममा प्रवेश गर्न सक्छौं भनेर अघिल्लो लेखमा छलफल गऱ्‍यौं। तर यसो भन्‍न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ। जस्तै: हामीलाई कुनै कुरा गर्न मनपर्छ होला, तर यहोवालाई त्यो कुरा मनपर्दैन भनेर थाह पाउँदा हामीलाई तुरुन्तै उहाँको आज्ञा मान्‍न गाह्रो लाग्न सक्छ। त्यसो हो भने हामीले “आज्ञाकारी” हुन सिक्नुपर्छ। (याकू. ३:१७) कस्ता परिस्थितिहरूमा हामी आफ्नो आज्ञाकारिता देखाइरहने मौका पाउँछौं, त्यसबारे अब हामी छलफल गर्नेछौं।

२, ३. यहोवालाई खुसी तुल्याउन हामीले के गर्नै पर्छ?

बाइबलबाट सिक्दै जाँदा तपाईंले आफ्नो जीवनमा परिवर्तन गर्नुपर्ने आवश्‍यकता देख्नुभयो भने त्यसैअनुसार गर्न के तपाईं तयार हुनुहुन्छ? याद गर्नुहोस्‌: “सबै जाति-जातिका धन-सम्पत्तिहरू”-लाई यहोवा आफ्नो सङ्‌गठनमा ल्याउन चाहनुहुन्छ भनेर बाइबल बताउँछ। (हाग्गै २:७) यसको अर्थ, सही कुरालाई प्रेम गरेर आफूलाई यहोवाको नजरमा “धनसम्पत्ति”-जस्तै बहुमूल्य साबित गरेका मानिसहरूलाई यहोवा रोज्नुहुन्छ। हो, हामीमध्ये धेरैजसोले बाइबल सच्चाइ थाह पाउनुअघि गलत काम गर्थ्यौं। तर बाइबल अध्ययन गर्दै गएपछि हामीमा यहोवा र येशूलाई खुसी बनाउने इच्छा जाग्न थाल्यो। हामीले राजीखुसीले आफ्नो सोच्ने तरिका अनि आनीबानी परिवर्तन गऱ्‍यौं। यहोवालाई मदतको लागि पुकाऱ्‍यौं र आवश्‍यक परिवर्तन गर्न सक्दो गऱ्‍यौं। फलस्वरूप, हामीले बप्तिस्मा गर्न सक्यौं र यहोवाको अनुमोदन पाउन सक्यौं।—कलस्सी १:९, १० पढ्‌नुहोस्‌।

बप्तिस्मा गर्दैमा हामी त्रुटिरहित हुने त होइन! त्यसैले हामीले अझै पनि जीवनमा काँटछाँट गर्नुपर्छ र सही कुरा गर्न सक्दो कोसिस गर्नुपर्छ। यहोवालाई खुसी तुल्याउन आफ्नो तर्फबाट सक्दो गरिरहन्छौं भने उहाँले मदत दिने प्रतिज्ञा गर्नुभएको छ।

सल्लाहको आवश्‍यकता पर्दा

४. यहोवाले कुन तीन तरिकामा हाम्रा त्रुटिहरू औंल्याइदिनुहुन्छ?

त्रुटि सुधार्नको लागि सुरुमा त हामीले त्यो त्रुटि के हो, त्यो नै थाह पाउनु आवश्‍यक छ। यहोवाले विभिन्‍न तरिकामा हाम्रो त्रुटि औंल्याइदिनुहुन्छ। हाम्रो सोचाइ अनि कार्यमा कुनै त्रुटि छ भने त्यसलाई औंल्याउन उहाँले मण्डलीमा दिइने भाषणहरू अथवा बाइबलआधारित प्रकाशनहरू चलाउनुहुन्छ। भाषण सुनिसकेपछि वा प्रकाशनहरू पढिसकेपछि पनि हामीलाई परिवर्तन गर्नुपर्छ भन्‍ने हेक्का नहुन सक्छ। यस्तो बेला हामीलाई सुधार्न यहोवाले सँगी ख्रीष्टियनहरू चलाउनुहुन्छ।—गलाती ६:१ पढ्‌नुहोस्‌।

५. कसैले सुधार्न खोज्दा हामी के-कस्तो प्रतिक्रिया देखाउँछौं? ख्रीष्टियन एल्डरहरूले हामीलाई किन मदत दिइरहनुपर्छ?

आफू जस्तै त्रुटिपूर्ण मानिसले दिएको सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन्‌। तर “नम्रताको मनोभाव” राखेर हामीलाई “सच्याउने कोसिस” गर्न यहोवाले एल्डरहरूलाई आज्ञा दिनुभएको छ। (गला. ६:१) तिनीहरूको मदत स्वीकाऱ्‍यौं भने हामी यहोवाको नजरमा झनै बहुमूल्य “धनसम्पत्ति”-सरह हुनेछौं। हो, प्रार्थना गर्दा अक्सर हामी ‘म त्रुटिपूर्ण छु, थुप्रै गल्ती गर्छु’ भनेर स्वीकार्छौं। तर कुनै एल्डरले गल्ती औंल्याइदिंदा चाहिं हामी कहिलेकाहीं बेग्लै प्रतिक्रिया देखाउँछौं। हामी सफाइ दिन खोज्छौं होला वा ‘मैले गरेको गल्ती त्यत्ति ठूलो त होइन नि!’ भन्छौं होला। अथवा ‘फलाना एल्डरले मलाई देखिसहँदैन, त्यसैले गल्ती कोट्याउँछ’ भन्छौं होला। साथै हामीलाई तिनले मायालु तरिकामा नसम्झाएको जस्तो लाग्न सक्छ। (२ राजा ५:११) कुनै एल्डरले हामीलाई सुन्‍न मन नलागेको कुरा बताउँछन्‌ भने रिस उठ्‌न सक्छ। उदाहरणका लागि, कुनै एल्डरले हामीलाई ‘तपाईंको परिवारको सदस्यले त गलत काम गर्दैछ’ अथवा ‘तपाईंको पहिरन अलि भएन’ भन्छन्‌ होला। तिनले हामीलाई व्यक्‍तिगत सरसफाइमा ध्यान दिन वा यहोवाले घृणा गर्ने मनोरञ्जन नगर्न सल्लाह दिन्छन्‌ होला। यस्तो कुरा सुन्दा हामी रिसको झोंकमा जे पायो त्यही भन्छौं होला। फलत: मदत दिन खोज्ने एल्डरलाई अनि हामी आफैलाई पनि नरमाइलो लाग्न सक्छ। तर रिस मरेपछि चाहिं एल्डरको कुरा सही थियो भनेर हामी अक्सर मानिलिने गर्छौं।

६. परमेश्‍वरको वचनले कसरी हाम्रो “मनको विचार र आशय जाँच्न सक्छ?”

यस लेखको मुख्य शास्त्रपदले परमेश्‍वरको वचन “प्रबल” छ भनेर हामीलाई याद दिलाउँछ। हो, परमेश्‍वरको वचन यत्ति प्रबल छ कि यसले हाम्रो जीवनलाई नै परिवर्तन गर्न सक्छ। बप्तिस्मा गर्नअघि जीवनमा आवश्‍यक परिवर्तनहरू गर्न हामीलाई बाइबलले नै मदत गरेको थियो। त्यसैले बप्तिस्मा गरिसकेपछि पनि आवश्‍यक छाँटकाँट गर्न हामीलाई बाइबलले नै मदत गर्न सक्छ। परमेश्‍वरको वचनले “मानिसको बाहिरी स्वरूप र भित्री मनुष्यत्वलाई अलग पार्छ, जोर्नी र त्यसको मासीलाई छुट्ट्याउँछ अनि मनको विचार र आशय जाँच्न सक्छ” भन्‍ने कुरा पनि पावलले हिब्रूहरूलाई लेखेको पत्रमा उल्लेख गरे। (हिब्रू ४:१२) भन्‍नुको अर्थ, परमेश्‍वरले हाम्रो लागि राख्नुभएको उद्देश्‍य राम्रोसित बुझिसकेपछि हामीले जुन तरिकामा प्रतिक्रिया देखाउँछौं, त्यसले हाम्रो भित्री मनुष्यत्व कस्तो छ भनेर देखाउँछ। के हाम्रो बाहिरी स्वरूप र भित्री मनुष्यत्व भिन्‍ना-भिन्‍नै छ? ( मत्ती २३:२७, २८ पढ्‌नुहोस्‌) निम्न परिस्थितिहरूमा तपाईं के गर्नुहुन्छ, अब विचार गर्नुहोस्‌!

यहोवाको सङ्‌गठनसँगसँगै हिंड्‌नुहोस्‌

७, ८. (क) येशूको मृत्युपछि पनि कोही-कोही यहूदी ख्रीष्टियनहरूले किन मोशाको व्यवस्था पालन गरिरहन चाहे? (ख) उनीहरूले परमेश्‍वरको उद्देश्‍यसित मेल नखाने काम गरिरहेका थिए भनेर हामी किन भन्‍न सक्छौं?

हामीमध्ये थुप्रैलाई हितोपदेश ४:१८ कण्ठै छ होला। उक्‍त पदमा यस्तो लेखिएको छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्छ।” हो, समयको गतिसँगै हामी यहोवाको चाहना अझ राम्ररी बुझ्छौं र उहाँलाई खुसी पार्ने तरिकामा जीवन बिताउनसक्ने हुन्छौं।

येशूको मृत्युपछि पनि थुप्रै यहूदी ख्रीष्टियनहरूले मोशाको व्यवस्था पालन गरिरहन चाहे भनेर हामीले अघिल्लो लेखमा छलफल गऱ्‍यौं। (प्रेषि. २१:२०) पावलले ती ख्रीष्टियनहरूलाई मोशाको व्यवस्था खारेज भएको कुरा एकदमै कौशलतापूर्वक बताएका थिए। तैपनि कोही-कोहीले तिनको कुरा सुनेनन्‌ र यहोवाको इच्छा बुझ्न सकेनन्‌। (कल. २:१३-१५) मोशाको व्यवस्थाको कुनै-कुनै भाग पालन गरेमा यहूदी धर्म मान्‍नेहरूबाट आइपर्ने खेदोबाट जोगिन सकिन्छ भनेर उनीहरूले सोचेको हुनुपर्छ। तर परमेश्‍वरको उद्देश्‍यसित मेल नखाने काम गरिरहेमा तिनीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्दैनन्‌ भनेर पावलले ती हिब्रू ख्रीष्टियनहरूलाई स्पष्टै बताए। a (हिब्रू ४:१, २, ६; हिब्रू ४:११ पढ्‌नुहोस्‌) मानिसहरूले पहिलेभन्दा फरक तरिकामा उहाँको उपासना गरेको यहोवा चाहनुहुन्थ्यो। त्यसैले उहाँको अनुमोदन पाउने हो भने उनीहरूले यो कुरा स्वीकार्नुपर्थ्यो।

९. विश्‍वासी र बुद्धिमान्‌ दासले बाइबल-शिक्षासम्बन्धी बुझाइमा परिवर्तन भएको कुरा जानकारी दिंदा हामीले कस्तो महसुस गर्नुपर्छ?

अहिले पनि विश्‍वासी र बुद्धिमान्‌ दासले समय-समयमा बाइबल-शिक्षासम्बन्धी हाम्रो बुझाइमा परिवर्तन भएको कुरा जानकारी दिन्छ। यस्तो परिवर्तन हुँदा हामी खुसी हुनुपर्छ किनभने बाइबलबारे सत्य कुरा सिकाउन यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दासलाई चलाउँदै हुनुहुन्छ भनेर यस्तो अवस्थामा झनै स्पष्ट हुन्छ। विश्‍वासी र बुद्धिमान्‌ दासको प्रतिनिधित्व गर्ने परिचालक निकायले कहिलेकाहीं कुनै-कुनै बाइबल-शिक्षासम्बन्धी बुझाइ अझ खुलाउनुपर्ने वा सच्याउनुपर्ने महसुस गर्छ। यसो गर्दा कोही-कोहीले नानाथरी कुरा गर्न सक्छन्‌ भनेर तिनीहरूलाई थाह छ तैपनि तिनीहरू पछि हट्‌दैनन्‌। मानिसहरूले के भन्लान्‌ भनेर सोच्नुभन्दा पनि परमेश्‍वरको उद्देश्‍यसित मेल खाने कामकुरा गर्नु महत्त्वपूर्ण छ भनेर तिनीहरूलाई थाह छ। बाइबल-शिक्षासम्बन्धी हाम्रो बुझाइभन्दा भिन्‍नै खालको बुझाइ तिनीहरूले पस्केमा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?—लूका ५:३९ पढ्‌नुहोस्‌।

१०, ११. प्रचार गर्ने नयाँ तरिका थाह पाएपछि केही बाइबल विद्यार्थीहरूले के गरे? हामी यो उदाहरणबाट के सिक्न सक्छौं?

१० अब हामी अर्को उदाहरण विचार गरौं। करिब सय वर्षअघि, प्रवचन दिनमा पोख्त बाइबल विद्यार्थीहरूले (त्यसबेला यहोवाका साक्षीहरू यही नामले चिनिन्थे) मानिसहरूलाई प्रचार गर्ने एउटा सशक्‍त माध्यम प्रवचन दिनु हो भन्‍ने सोचेका थिए। तिनीहरूलाई मानिसहरूसामु बोल्न मनपर्थ्यो। राम्रो प्रवचन दिएकोमा मानिसहरूले प्रशंसा गर्दा त तिनीहरू झन्‌ मक्ख पर्थे। तर पछि, मानिसहरूसामु प्रवचन दिएर मात्र पुग्दैन भनेर यहोवाका जनहरूले बुझे। आफ्ना जनहरूले घर-घरको प्रचार गरेको पनि यहोवा चाहनुहुन्थ्यो। तर कोही-कोही कुशल वक्‍ता त्यसो गर्न अनकनाए। बाहिरबाट हेर्दा तिनीहरू यहोवालाई माया गर्छन्‌ र उहाँको आज्ञा पालन गर्छन्‌ भन्‍ने देखिन्थ्यो। तर यो खास परिस्थितिमा भने तिनीहरूको भित्री रूप छर्लङ्‌ग भयो। तिनीहरू देखेर यहोवा खुसी हुनुभएन। तिनीहरूले उहाँको सङ्‌गठन त्यागे।—मत्ती १०:१-६; प्रेषि. ५:४२; २०:२०.

११ अरू थुप्रैलाई पनि घर-घरको प्रचार जान गाह्रो भएको थियो, विशेष गरी सुरु-सुरुमा। तैपनि तिनीहरू आज्ञाकारी भए। बिस्तारै-बिस्तारै तिनीहरूलाई घर-घरको प्रचार जान सजिलो लाग्न थाल्यो अनि यहोवाले पनि तिनीहरूलाई प्रशस्त मात्रामा आशिष्‌ दिनुभयो। अहिले पनि विश्‍वासी र बुद्धिमान्‌ दासले प्रचार गर्ने कुनै नौलो तरिका बताउँदा तपाईं के गर्नुहुन्छ? के तपाईं त्यो नयाँ तरिका अपनाउन तयार हुनुहुन्छ?

आफूले माया गरेको मान्छेले यहोवालाई त्याग्दा

१२, १३. (क) गल्ती गरेर पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई बहिष्कार गर्नू भनी यहोवाले भन्‍नुको कारण के हो? (ख) ख्रीष्टियन आमाबाबुलाई कस्तो परिस्थितिको सामना गर्न गाह्रो हुन सक्छ?

१२ यहोवालाई प्रसन्‍न तुल्याउने हो भने शारीरिक, नैतिक अनि आध्यात्मिक रूपमा शुद्ध हुनुपर्छ भन्‍ने कुरामा हामी सबै सहमत छौं। ( तीतस २:१४ पढ्‌नुहोस्‌) तर कुनै-कुनै परिस्थितिमा हामीलाई यसरी शुद्ध रहन गाह्रो हुन सक्छ। एउटा परिस्थिति विचार गर्नुहोस्‌: कुनै उदाहरणीय ख्रीष्टियन दम्पतीको एउटा मात्र छोरा छन्‌। तिनले सच्चाइ त्याग्छन्‌। “पापको क्षणिक सुखभोग” रोजेर तिनले यहोवा र आफ्ना आमाबाबुसँगको नाता तोड्‌छन्‌। त्यसैले तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ।—हिब्रू ११:२५.

१३ यस्तो अवस्थामा आमाबाबुको मन कत्ति छिया-छिया हुन्छ होला, सोच्नुहोस्‌ त! बहिष्कार हुने व्यक्‍तिको सन्दर्भमा बाइबलमा लेखिएको यो कुरा तिनीहरूलाई थाह छ: “त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नु भनेर तिमीहरूलाई लेख्दैछु, जो भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध राख्छ वा जो लोभी वा मूर्तिपूजक वा निन्दक वा पियक्कड वा लुटाहा हो। त्यस्तो मानिससित त खाँदै नखाओ।” (१ कोरि. ५:११, १३) “त्यस्ता मानिसहरू”-मा एउटै छानामुनि नबस्ने परिवारका सदस्यहरू पनि पर्छन्‌ भनेर तिनीहरूले बुझेका छन्‌। तैपनि तिनीहरूको लागि आफ्नो छोरा मुटुको टुक्रा जतिकै छ। त्यसैले तिनीहरू यस्तो तर्क गर्छन्‌ होला: ‘ऊसित सङ्‌गत गर्नै छोड्यौं भने त उसलाई कसरी यहोवातिर फर्काउने र? ऊसित सम्पर्क राखिराख्यौं भने पो उसलाई धेरैभन्दा धेरै मदत दिन सकिन्छ त?’  b

१४, १५. बहिष्कृत छोराछोरीका आमाबाबुले कस्तो निर्णय गर्नुपर्ने हुन्छ?

१४ यस्तो परिस्थितिको सामना गर्ने आमाबाबु देखेर हामीलाई पनि दुःख लाग्छ। तर कुन बाटो रोज्ने, त्यो त छोराकै निर्णय हो। तिनले आमाबाबु अनि सँगी ख्रीष्टियनहरूसित नाता तोडेर संसारका मानिसहरूको जीवनशैली पछ्याउने निर्णय आफैले गरेका हुन्‌। तिनका आमाबाबु तिनलाई मदत गर्न चाहन्छन्‌ तर अर्कोतर्फ तिनको निर्णयमा हस्तक्षेप गर्न पनि सक्दैनन्‌। तिनीहरूको मनमा कत्ति धेरै पीडा छ, हामी राम्रोसँग बुझ्न सक्छौं!

१५ यस्तो परिस्थितिमा यी मायालु आमाबाबुले के गर्छन्‌? के तिनीहरूले यहोवाको स्पष्ट निर्देशन पालन गर्छन्‌? अथवा बहिष्कार भएको छोरासित सदा जस्तै सङ्‌गत गरेर त्यसलाई “परिवारको निजी मामिला” पो भन्छन्‌ कि? तिनीहरूले यस्तो निर्णय गर्दा यहोवालाई कस्तो लाग्छ भनेर सोच्नुपर्छ। परमेश्‍वरको उद्देश्‍य भनेको आफ्नो सङ्‌गठनलाई शुद्ध राख्नु र सकिन्छ भने बाटो बिराउने व्यक्‍तिलाई उसको गल्ती महसुस गराउनु हो। यहोवाको यो उद्देश्‍यलाई ख्रीष्टियन आमाबाबुले कसरी समर्थन गर्न सक्छन्‌?

१६, १७. हारूनको उदाहरणबाट हामी के पाठ सिक्न सक्छौं?

१६ मोशाको दाइ हारूनले पनि आफ्ना छोराहरूका कारण यस्तै गाह्रो परिस्थितिको सामना गर्नुपरेको थियो। तिनका छोराहरू नादाब र अबीहूले यहोवाको नजरमा अपवित्र धूप चढाए। त्यसकारण यहोवाले उनीहरूलाई स्वर्गबाट आगो बर्साएर भस्म गर्नुभयो। हारूनले आफ्ना छोराहरूसित कुरा गर्ने मौकासमेत पाएनन्‌। उनीहरू तुरुन्तै मरे। हारून र तिनको परिवारले योभन्दा पनि अझै गाह्रो परिस्थितिको सामना गर्नुपऱ्‍यो। हारून र तिनका अरू छोराहरूले नादाब र अबीहू मरेकोमा कुनै दुःख व्यक्‍त नगरून्‌ भन्‍ने यहोवा चाहनुहुन्छ भनेर मोशाले तिनीहरूलाई बताए। तिनले यसो भने: “शोकमा तिमीहरूका शिरका केश नफुकाओ, आफ्ना लुगा नच्यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला।” (लेवी १०:१-६) यसले बताउन खोजेको कुरा स्पष्टै छ। परिवारको अवफादार सदस्यलाई भन्दा पनि हामीले यहोवालाई बढी प्रेम गर्नुपर्छ।

१७ आज, यहोवाले आफ्नो आज्ञा नमान्‍ने व्यक्‍तिलाई तुरुन्तै नाश गर्नुहुन्‍न। यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ अनि गल्ती सुधार्ने मौका दिनुहुन्छ। तर ख्रीष्टियन आमाबाबुले यहोवाको आज्ञा तोड्‌छन्‌ र बहिष्कार भएको आफ्नो छोरा वा छोरीसँग विभिन्‍न बहाना बनाएर सङ्‌गत गरिरहन्छन्‌ भने उहाँलाई कस्तो लाग्ला?

१८, १९. परिवारका सदस्यहरू यहोवाप्रति वफादार भइरहँदा तिनीहरूले कस्तो आशिष्‌ पाउँछन्‌?

१८ बहिष्कार भएका थुप्रैले आफ्ना साथीभाइ र परिवारका सदस्यहरू यहोवाप्रति वफादार रहेको र तिनीहरूसित बोलचाल बन्द गरेको कारण मण्डलीमा फर्कन मदत पाएको कुरा बताएका छन्‌। उदाहरणको लागि, एक जवान बहिनीले मण्डलीको एल्डरलाई यसो भनिन्‌: ‘म बहिष्कार हुँदा मेरो दाइले बहिष्कार गर्ने प्रबन्धप्रति आदर देखाउनुभएकोले नै मैले आफ्नो जीवनशैली परिवर्तन गर्न सकें।’ तिनी बहिष्कार हुँदासमेत तिनको दाइ यहोवाप्रति वफादार रहे र आज्ञाकारी भए। यही कारणले गर्दा तिनी मण्डलीमा फर्कन चाहिन्‌।

१९ त्यसोभए हामीले के गर्नुपर्छ? जीवनमा जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि यहोवाको आज्ञा मान्‍नुपर्छ। तर त्यसो गर्न सधैं सजिलो हुँदैन किनभने हामी त्रुटिपूर्ण छौं। यहोवा हामीलाई जे गर्न अह्राउनुहुन्छ, त्यो हाम्रै भलाइको लागि हो भनेर हामी पूर्ण रूपमा विश्‍वस्त हुनुपर्छ।

“परमेश्‍वरको वचन जीवित . . . छ”

२०. हिब्रू ४:१२ लाई कुन दुई तरिकामा बुझ्न सकिन्छ? (पादटिप्पणी हेर्नुहोस्‌)

२० पावलले हिब्रू ४:१२ मा “परमेश्‍वरको वचन जीवित . . . छ” भनेका छन्‌। तिनले त्यतिबेला परमेश्‍वरको लिखित वचन बाइबलबारे कुरा गरिरहेका थिएनन्‌। c हिब्रू अध्याय ४ को प्रसङ्‌गलाई विचार गर्ने हो भने पावलले यहोवाको प्रतिज्ञाबारे कुरा गरिरहेका थिए भन्‍न सक्छौं। तिनले यहोवाका प्रतिज्ञाहरू सधैं पूरा हुन्छन्‌ भन्‍न खोजिरहेका थिए। यहोवाले आफ्नो प्रतिज्ञाबारे यशैयामार्फत पनि यही कुरा बताउनुभएको थियो। उहाँले यसो भन्‍नुभएको थियो: “मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर . . . जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशै. ५५:११) त्यसकारण कामकुरा आफूले चाहेजस्तो नहुँदा हामी धीरजी हुनुपर्छ। यहोवा आफ्नो उद्देश्‍य पूरा गर्न अहिले पनि “काम गर्दै हुनुहुन्छ” भनेर हामी पक्का हुन सक्छौं।—यूहन्‍ना ५:१७.

२१. “ठूलो भीड”-का थुप्रै वृद्ध सदस्यहरूलाई यहोवाको सेवा गरिरहन हिब्रू ४:१२ ले कसरी मदत गर्न सक्छ?

२१ “ठूलो भीड”-का थुप्रै वृद्ध सदस्यहरूले वर्षौंको दौडान वफादार भएर यहोवाको सेवा गरिरहेका छन्‌। (प्रका. ७:९) तिनीहरूमध्ये थुप्रैले आफू बूढा-बूढी हुनुअघि नै यस दुष्ट युगको विनाश भइसक्छ होला भन्ठानेका थिए। तैपनि तिनीहरू निराश भएका छैनन्‌। (भज. ९२:१४) “परमेश्‍वरको वचन जीवित . . . छ” र उहाँको उद्देश्‍य पूरा हुनेछ भनेर तिनीहरूलाई थाह छ। पृथ्वी र मानिसजातिको लागि आफूले राखेको उद्देश्‍य पूरा गर्न उहाँ अहिले पनि काम गर्दै हुनुहुन्छ भनेर पनि तिनीहरूलाई थाह छ। परमेश्‍वर आफूले राखेको उद्देश्‍यलाई एकदमै महत्त्वपूर्ण ठान्‍नुहुन्छ। यदि हामीले पनि उहाँको उद्देश्‍यलाई महत्त्वपूर्ण ठान्यौं भने उहाँ औधी खुसी हुनुहुनेछ। यो सातौं दिनको दौडान, यहोवालाई आफ्नो उद्देश्‍य पूरा गर्न कुनै पनि कुराले रोक्न सक्दैन। अनि आफ्ना जनहरूले सामूहिक रूपमा आफूलाई साथ दिनेछन्‌ भन्‍ने कुरामा उहाँ विश्‍वस्त हुनुहुन्छ। त्यसोभए के तपाईं यहोवाको विश्राममा प्रवेश गर्नुभएको छ?

[फुटनोट]

a थुप्रै यहूदी धर्मगुरुले मोशाको व्यवस्थाको एक-एक नियम पालन गर्न खोज्थे। तर येशू पृथ्वीमा आउनुभएपछि उहाँ नै मसीह हुनुहुन्छ भनेर चाहिं तिनीहरूले विश्‍वास गर्न चाहेनन्‌। तिनीहरू यहोवाको उद्देश्‍यअनुरूप चलेनन्‌।

b “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” पुस्तकको पृष्ठ २३७-२३९ हेर्नुहोस्‌।

c आज यहोवा हामीसँग बाइबलमार्फत बोल्नुहुन्छ। बाइबलले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। त्यसकारण हिब्रू ४:१२ ले बाइबललाई पनि संकेत गर्छ।

के तपाईंलाई सम्झना छ?

• परमेश्‍वरको विश्राममा प्रवेश गर्न अहिले हामीले के गर्नुपर्छ?

• परमेश्‍वरले चाहनुहुने कुरा बाइबलबाट बुझिसकेपछि हामी कसरी उहाँलाई प्रसन्‍न पार्न सक्छौं?

• कस्तो परिस्थितिमा यहोवाको आज्ञा पालन गर्न गाह्रो हुन सक्छ? तर त्यस्तो बेलामा पनि उहाँको आज्ञा पालन गर्नु किन महत्त्वपूर्ण छ?

हिब्रू ४:१२ लाई हामी कुन दुई तरिकामा बुझ्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३१-मा भएको चित्र]

आमाबाबुको मन छिया-छिया हुन्छ!