सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले मसीहलाई भेट्टाए!

तिनीहरूले मसीहलाई भेट्टाए!

तिनीहरूले मसीहलाई भेट्टाए!

“हामीले मसीहलाई . . . भेट्टाएका छौं।”—यूहन्‍ना १:४१.

१. अन्द्रियासले “हामीले मसीहलाई . . . भेट्टाएका छौं” भन्‍नुअघि के-के हुन्छ?

 बप्तिस्मा गराउने यूहन्‍ना आफ्ना दुई जना चेलासित उभिरहेका छन्‌। अनि येशू तिनीहरू भएतिरै आउँदैहुनुहुन्छ। उहाँलाई देखेर यूहन्‍ना यसो भन्छन्‌: “हेर, परमेश्‍वरको थुमा!” तिनको कुरा सुनेपछि अन्द्रियास र अर्का चेला तुरुन्तै येशूको पछि लाग्छन्‌ र त्यो दिन उहाँसितै बिताउँछन्‌। पछि, अन्द्रियासले आफ्ना दाइ सिमोन पत्रुसलाई भेट्‌छन्‌ र तिनलाई भन्छन्‌: “हामीले मसीहलाई . . . भेट्टाएका छौं।” त्यसपछि अन्द्रियासले पत्रुसलाई येशूकहाँ लग्छन्‌।—यूह. १:३५-४१.

२. मसीहसम्बन्धी भविष्यवाणीहरूबारे थप अध्ययन-अनुसन्धान गऱ्‍यौं भने कस्तो फाइदा हुन्छ?

समय बित्दै जाँदा अन्द्रियास, पत्रुस र अरू चेलाहरूले धर्मशास्त्रबाट मसीहबारे अझै गहिरिएर अध्ययन गर्ने प्रशस्त मौका पाउनेथिए। यसपछि तिनीहरूले नासरतका येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर ढुक्कसाथ प्रचार गर्न सक्थे। त्यसैगरि हामीले पनि मसीहसम्बन्धी भविष्यवाणीहरूबारे थप अध्ययन-अनुसन्धान गऱ्‍यौं भने परमेश्‍वरको वचन र उहाँले अभिषेक गर्नुभएको व्यक्‍तिप्रतिको हाम्रो विश्‍वास अझै बलियो हुनेछ।

हेर, तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ”

३. येशू विजयोत्सवका साथ यरूशलेम प्रवेश गर्दा कुन-कुन भविष्यवाणी पूरा भयो?

मसीह विजयोत्सवका साथ यरूशलेम प्रवेश गर्नुहुनेछ। जकरियाले गरेको भविष्यवाणीमा यस्तो लेखिएको थियो: “हे सियोनकी छोरी, खुब रमाऊ! हे यरूशलेमकी छोरी, जयजयकार गर! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ पराक्रमी र विजयी हुनुहुन्छ। उहाँ दीन हुनुहुन्छ र गधामाथि, अर्थात्‌ गधैनीको बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।” (जक. ९:९) भजनहारले यस्तो लेखे: “परमप्रभुको नाउँमा आउने धन्यको हो।” (भज. ११८:२६) येशू यरूशलेममा प्रवेश गर्दा एउटा ठूलो भीड आनन्दित हुँदै करायो। येशूले तिनीहरूलाई त्यसो गर्न सिकाउनुभएको थिएन। तिनीहरूले स्वतःस्फूर्त तरिकामा त्यसो गरेका थिए। यससम्बन्धी बाइबल विवरण पढ्‌दा त्यतिबेलाको दृश्‍य र मानिसहरूको खैलाबैला कल्पना गर्नुहोस्‌!—मत्ती २१:४-९ पढ्‌नुहोस्‌।

४. भजन ११८:२२, २३ कसरी पूरा भयो?

धेरै जनाले येशूलाई मसीहको रूपमा नस्वीकारे तापनि उहाँ परमेश्‍वरको नजरमा बहुमूल्य हुनुहुनेछ। भविष्यवाणी गरिएअनुरूपै येशू ‘मानिसहरूबाट घृणित हुनुभयो’ अनि उहाँमाथि विश्‍वास नगर्ने मानिसहरूले ‘उहाँलाई कुनै मोलको गनेनन्‌।’ (यशै. ५३:३; मर्कू. ९:१२) तर परमेश्‍वरले भजनहारमार्फत यसो भन्‍नुभएको थियो: “जुन ढुङ्‌गालाई डकर्मीहरूले रद्दी गरे, त्यहीचाहिं कुनाको शिर-ढुङ्‌गा भयो। यो परमप्रभुबाट भएको हो।” (भज. ११८:२२, २३) एकपटक, आफ्ना विरोधीहरूसित कुरा गर्दा येशूले यो भविष्यवाणी उल्लेख गर्नुभएको थियो। उहाँमा यो भविष्यवाणी पूरा भयो भनेर पछि पत्रुसले बताए। (मर्कू. १२:१०, ११; प्रेषि. ४:८-११) ख्रीष्टियन मण्डलीलाई एउटा भवनसित तुलना गर्दै तिनले येशूलाई “जगको कुनाको शिरढुङ्‌गो”-को रूपमा चित्रण गरे। उहाँमाथि विश्‍वास नगर्नेहरूले उहाँलाई तिरस्कार गरे तापनि उहाँलाई “परमेश्‍वरले चुन्‍नुभयो अनि बहुमूल्य ठान्‍नुभयो।”—१ पत्रु. २:४-६.

धोका पाएको र त्यागिएको!

५, ६. मसीहलाई धोका दिइने सन्दर्भमा कस्तो भविष्यवाणी गरिएको थियो र त्यो कसरी पूरा भयो?

मसीहलाई आफ्नै मित्रले धोका दिनेछ। दाऊदले यस्तो भविष्यवाणी गरे: “मेरो आफ्नै परम मित्र, जसमाथि मैले भरोसा गरेको थिएँ, जसले मेरो रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ।” (भज. ४१:९) बाइबलकालीन समयमा सँगै बसेर रोटी खानु मित्रताको प्रतीक थियो। (उत्प. ३१:५४) त्यसकारण भविष्यवाणी गरिएअनुरूप मसीहलाई उहाँको आफ्नै मित्रले नराम्ररी धोका दिनेथियो। आफूलाई धोका दिने व्यक्‍तिबारे कुरा गर्दै येशूले दाऊदको भविष्यवाणीतर्फ प्रेषितहरूको ध्यान खिच्नुभयो: “तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइन, किनकि मैले रोजेकाहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस्‌ भनेर यसो भएको हो: ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।’ ”—यूह. १३:१८.

तीस टुक्रा चाँदी अर्थात्‌ एक जना दासको मोलको लागि मसीहलाई धोका दिइनेछ। जम्मा ३० टुक्रा चाँदीको खातिर मसीहलाई धोका दिइयो भनी जकरिया ११:१२, १३ का शब्दहरू उद्धरण गर्दै मत्तीले लेखे। यो कुरा जकरियाको पुस्तकमा लेखिएको भए तापनि तिनले किन ‘यर्मिया अगमवक्‍ताद्वारा बोलिएका कुरा पूरा भयो’ भने? किनकि मत्तीको समयमा, भविष्यवक्‍ताहरूका लेखोटहरूको संग्रहको सबैभन्दा सुरुमा यर्मियाको पुस्तक थियो र यस संग्रहमा जकरियाको पुस्तक पनि समावेश थियो। (लूका २४:४४ तुलना गर्नुहोस्‌) यहूदा इस्करियोतले आफूले पाएको ३० टुक्रा चाँदी आफैले खर्च गरेनन्‌। तिनले त्यो पैसा मन्दिरमा फ्याँके अनि गएर झुन्डिएर मरे।—मत्ती २६:१४-१६; २७:३-१०.

७. जकरिया १३:७ कसरी पूरा भयो?

मसीहलाई उहाँका चेलाहरूले छोडेर जानेछन्‌। जकरियाले यस्तो लेखे: “गोठालालाई हिर्का, र भेडा तितर-बितर हुनेछ।” (जक. १३:७) इस्वी संवत्‌ ३३ नीसान १४ को दिनमा येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ, किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र बगालका भेडाहरू तितरबितर हुनेछन्‌।’ ” नभन्दै त्यस्तै भयो। मत्तीले यसो भने, “तब उहाँलाई छोडेर सबै चेलाहरू भागे।”—मत्ती २६:३१, ५६.

आरोप लगाइएको र पिटिएको

८. यशैया ५३:८ कसरी सत्य साबित भयो?

मसीहको पुर्पक्ष गरिनेछ र उहाँको निन्दा गरिनेछ। ( यशैया ५३:८ पढ्‌नुहोस्‌) नीसान १४ को बिहान पूरै यहूदी न्यायपरिषद्‌ एक ठाउँमा भेला भयो। तिनीहरूले येशूलाई बाँधे अनि रोमी राज्यपाल पन्तियस पिलातसकहाँ सुम्पे। पिलातसले उहाँलाई प्रश्‍नहरू सोधे। उहाँले कुनै गल्ती नगरेको कुरा थाह पाएपछि पन्तियस पिलातसले उहाँलाई छोड्‌ने कुरा गर्दा भीड यसो भनेर करायो: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!” अनि तिनीहरूले बरब्बालाई मुक्‍त गरिदिन माग गरे। भीडको चित्त बुझाउन पिलातसले बरब्बालाई मुक्‍त गरिदिए र येशूलाई कोर्रा लगाउने आदेश दिए अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पिदिए।—मर्कू. १५:१-१५.

९. भजन ३५:११ कसरी सत्य साबित भयो?

मसीहको विरुद्धमा झूटा साक्षीहरू खडा हुनेछन्‌। भजनहार दाऊदले यसो भने, “अधर्मी साक्षीहरू खडा हुन्छन्‌। मैले थाहै नपाएका कुरा तिनीहरू मलाई सोध्छन्‌।” (भज. ३५:११) भविष्यवाणी गरिएअनुरूप नै “मुख्य पुजारीहरू र पूरै यहूदी न्यायपरिषद्‌ येशूलाई मार्न उहाँको विरुद्धमा झूटो आरोप खोजिरहेका थिए।” (मत्ती २६:५९) बाइबल भन्छ, “थुप्रैले उहाँको विरुद्धमा झूटा साक्षी दिइरहेका थिए तर तिनीहरूले दिएको साक्षी आपसमा बाझियो।” (मर्कू. १४:५६) मानिसहरूले येशूको विरुद्धमा झूटा साक्षी दिइरहेको भए तापनि यसले उहाँका शत्रुहरूलाई कुनै फरक पार्ने थिएन। तिनीहरू हरहालतमा येशूलाई मार्न चाहन्थे।

१०. यशैया ५३:७ कसरी सत्य साबित भयो?

१० आफूविरुद्ध आरोप लगाउनेहरूसामु मसीह चुप बस्नुहुनेछ। यशैयाले यस्तो भविष्यवाणी गरे: “ऊ थिचोमिचोमा पऱ्‍यो, र उसलाई कष्ट थियो, तापनि उसले आफूलाई नम्र तुल्याएर आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भएझैं उसले आफ्नो मुख खोलेन।” (यशै. ५३:७) येशूको विरुद्धमा “मुख्य पुजारीहरू अनि धर्म-गुरुहरूले एकपछि अर्को आरोप लगाउँदा उहाँले केही जवाफ दिनुभएन।” पिलातसले उहाँलाई सोधे: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदैछन्‌, के तिमीले सुनेनौ?” तर येशूले “केही जवाफ दिनुभएन। अहँ, उहाँले एक शब्द बोल्नुभएन। यो देखेर राज्यपाल तीनछक परे।” (मत्ती २७:१२-१४) आफूविरुद्ध आरोप लगाउनेहरूलाई येशूले गाली गर्नुभएन।—रोमी १२:१७-२१; १ पत्रु. २:२३.

११. यशैया ५०:६ अनि मीका ५:१ मा लेखिएको कुरा कसरी पूरा भयो?

११ मसीहलाई पिटिनेछ भनेर यशैयाले भविष्यवाणी गरे। तिनले लेखे: “मैले मेरो पीठ पिट्‌नेहरूलाई, र दाह्री लुछ्‌नेहरूलाई मेरो गाला फर्काइदिएँ। अपमानित हुन र थुकिमाग्नबाट मैले मेरो मुख लुकाइनँ।” (यशै. ५०:६) मीकाले यस्तो भविष्यवाणी गरे: “तिनीहरूले इस्राएलका न्यायकर्तालाई फलामको डण्डाले गालामा हिर्काउनेछन्‌।” (मीका ५:१) यी भविष्यवाणीहरू पूरा भएको कुरा बताउँदै सुसमाचार पुस्तकका लेखक मर्कूसले यसो भने: “कसै-कसैले [येशूलाई] थुक्न थाले र उहाँको अनुहार छोपेर मुड्‌कीले हिर्काउँदै यसो भन्‍न लागे: ‘तँलाई हिर्काउने को हो, लौ भविष्यवाणी गर्‌!’ त्यसपछि अदालतका अफिसरहरूले उहाँको गालामा चड्‌कन हानेर उहाँलाई लगे।” सिपाहीहरूले “उहाँलाई नर्कटले शिरमा हिर्काए, उहाँलाई थुके अनि [जिस्क्याउँदै] घुँडा टेकेर दण्डवत्‌ गरे” भनेर पनि मर्कूसले लेखे। (मर्कू. १४:६५; १५:१९) पक्कै पनि, यी सबै हुनुमा येशूको कुनै हात थिएन।

मृत्युसम्मै विश्‍वासी

१२. भजन २२:१६ र यशैया ५३:१२ कसरी येशूमा पूरा भयो?

१२ मसीहलाई खम्बामा टाँगेर मृत्युदण्ड दिइनेछ। भजनहार दाऊदले यस्तो लेखे: “कुकर्मीहरूको समूहले मलाई चारैतिरबाट थुनेर राखेका छन्‌। तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्‌।” (भज. २२:१६) बाइबलका सबै पाठकहरूलाई राम्ररी थाह भएको एउटा घटनाबारे उल्लेख गर्दै सुसमाचारको पुस्तकका लेखक मर्कूसले यसो भने: “बिहानको नौ बजेको थियो अनि तिनीहरूले उहाँलाई खम्बामा टाँगे।” (मर्कू. १५:२५) मसीहलाई अपराधीको रूपमा गन्ती गरिनेछ भनेर पनि भविष्यवाणी गरिएको थियो। यशैयाले यस्तो लेखेका थिए: “उसले आफ्नो जीवनरक्‍त खन्याएर प्राण दियो, र ऊ अपराधीहरूको गन्तीमा गनियो।” (यशै. ५३:१२) पछि गएर यो भविष्यवाणी साँच्चै पूरा भयो। “[येशूसँगै] दुई जना डाँकुलाई पनि खम्बामा टाँगिएको थियो, एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।”—मत्ती २७:३८.

१३. भजन २२:७, ८ येशूमा कसरी पूरा भयो?

१३ मसीहलाई गिल्ला गरिनेछ भनेर दाऊदले भविष्यवाणी गरे। ( भजन २२:७, ८ पढ्‌नुहोस्‌) येशू यातनाको खम्बामा छँदा मानिसहरूले उहाँको गिल्ला गरे। यसबारे मत्तीले यस्तो लेखेका छन्‌: “बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै यसो भने: ‘मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन, लौ आफैलाई बचाएर देखा! तँ परमेश्‍वरको छोरा होस्‌ भने यातनाको खम्बाबाट ओर्लेर आइज!’ ” त्यसैगरि मुख्य पुजारीहरू, शास्त्रीहरू अनि धर्म-गुरुहरूले पनि यसो भन्दै उहाँको ठट्टा गरे: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि; यो अब यातनाको खम्बाबाट ओर्लेर आओस्‌, त्यसपछि हामी यसलाई पत्याउँला। यसले परमेश्‍वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्‌, किनकि यसले ‘म परमेश्‍वरको छोरा हुँ’ भन्थ्यो।” (मत्ती २७:३९-४३) यी सबै कुराहरू येशूले सहनुभयो, उहाँले कहिल्यै आफ्नो मुखबाट अपशब्द निकाल्नुभएन। हाम्रो लागि कत्ति राम्रो उदाहरण!

१४, १५. मसीहको लुगासम्बन्धी अनि उहाँलाई दाखमद्य दिइनेसम्बन्धी कस्ता भविष्यवाणीहरू पूरा भए?

१४ मसीहको लुगाको लागि गोला हालिनेछ। भजनहारले यस्तो लेखे: “तिनीहरूले मेरा लुगाहरू आपसमा बाँड्‌छन्‌। र मेरो दौरामा चाहिं तिनीहरूले गोला हाल्दछन्‌।” (भज. २२:१८) “[येशूलाई] खम्बामा टाँगिसकेपछि [रोमी सिपाहीहरूले] गोला हालेर उहाँको लुगा आपसमा” बाँड्‌दा यो भविष्यवाणी पूरा भयो।—मत्ती २७:३५; यूहन्‍ना १९:२३, २४ पढ्‌नुहोस्‌।

१५ मसीहलाई तीतो मिसाइएको दाखमद्य र अमिलो दाखमद्य दिइनेछ। भजनहारले भने: “तिनीहरूले मलाई खानलाई पित्त पनि दिए, र मेरो तिर्खा मेटाउनलाई तिनीहरूले मलाई सिर्का दिए।” (भज. ६९:२१) मत्ती हामीलाई यसो भन्छन्‌: “अनि तिनीहरूले [येशूलाई] तीतो मिसाइएको दाखमद्य पिउन दिए। तर चाखेपछि उहाँले पिउन मान्‍नुभएन।” पछि “तिनीहरूमध्ये एक जना . . . दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो अनि त्यसबाट उहाँलाई पिउन दियो।”—मत्ती २७:३४, ४८.

१६. भजन २२:१ मा गरिएको भविष्यवाणी कसरी पूरा भयो?

१६ मसीहलाई परमेश्‍वरले त्यागेकोजस्तो देखिनेछ। ( भजन २२:१ पढ्‌नुहोस्‌) दिउँसो तीन बजे येशू यसो भन्दै ठूलो स्वरले कराउनुभयो भनी मर्कूस बताउँछन्‌: “ ‘एली, एली, लामा सबख्थनी?’ जसको अनुवाद गर्दा अर्थ हुन्छ, ‘हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभयो?’ ” (मर्कू. १५:३४) स्वर्गमा बस्ने आफ्नो बुबामाथिको विश्‍वास कमजोर भएकोले येशूले त्यसो भन्‍नुभएको थिएन। ख्रीष्टको सत्यनिष्ठा पूर्णरूपमा जाँचियोस्‌ भनेर नै परमेश्‍वरले उहाँबाट आफ्नो सुरक्षा हटाउनुभयो र उहाँलाई शत्रुहरूको हातमा पर्न दिनुभयो। अनि माथि उल्लेख गरिएका शब्दहरूमा परमेश्‍वरलाई पुकार्दा येशूले भजन २२:१ पूरा गर्नुभयो।

१७. जकरिया १२:१० अनि भजन ३४:२० कसरी पूरा भयो?

१७ मसीहलाई घोपिनेछ तर उहाँको हड्डी भाँचिनेछैन। यरूशलेमका बासिन्दाहरूले ‘जसलाई घोचेथे, उसलाई हेर्नेछन्‌।’ (जक. १२:१०) भजन ३४:२० यसो भन्छ: “[परमेश्‍वरले] तिनका सबै हाडहरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिएको हुँदैन।” यो भविष्यवाणी पूरा भएको कुरालाई सङ्‌केत गर्दै प्रेषित यूहन्‍नाले यस्तो लेखे: “ती सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भाला घोप्यो अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो। [यूहन्‍ना] जसले यो सब आफैले देख्यो, उसैले यसको साक्षी दिएको हो र उसको साक्षी साँचो छ। . . . धर्मशास्त्रमा लेखिएको यो वचन पूरा होस्‌ भनेर यी कुरा भएका थिए: ‘उनको एउटै हड्डी भाँचिनेछैन।’ त्यसैगरि धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ: ‘जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्‌।’ ”—यूह. १९:३३-३७.

१८. येशूको मृत्यु हुँदा कसरी धनीहरू उहाँको साथमा भए?

१८ मसीहको मृत्यु हुँदा धनीहरू उहाँको साथमा हुनेछन्‌। ( यशैया ५३:५, ८, ९ पढ्‌नुहोस्‌) नीसान १४ को साँझ “अरिमथियाका यूसुफ नाम गरेको एक जना धनी मानिस”-ले पिलातसकहाँ गएर येशूको शव मागे र पिलातसले त्यो दिने हुकुम गरे। मत्तीको विवरण अझै यसो भन्छ: “यूसुफले उहाँको शवलाई सफा मलमलको कपडाले बेह्रे, अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे। त्यसपछि ठूलो ढुङ्‌गा गुडाएर चिहानको ढोका बन्द गरे अनि त्यहाँबाट गए।”—मत्ती २७:५७-६०.

मसीही राजाको जय होस्‌!

१९. भजन १६:१० मा लेखिएका शब्दहरू कसरी पूरा भए?

१९ मसीह पुनर्जीवित हुनुहुनेछ। दाऊदले लेखे: “तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन।” (भज. १६:१०) नीसान १६ को दिन केही स्त्रीहरू येशूलाई राखिएको चिहानमा गए। त्यो चिहानमा स्वर्गदूतलाई देख्दा तिनीहरू कत्ति छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌ त! उक्‍त स्वर्गदूतले तिनीहरूलाई यसो भने: “तिमीहरू छक्क नपर। मलाई थाह छ, तिमीहरू खम्बामा टाँगिनुभएका नासरी येशूलाई खोज्दैछौ। तर उहाँ यहाँ हुनुहुन्‍न, उहाँ ब्यूँतिसक्नुभयो। उहाँलाई राखिएको ठाउँ हेर त!” (मर्कू. १६:६) इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन यरूशलेममा भेला भएको भीडलाई प्रेषित पत्रुसले यसो भने: “[दाऊदले] पछि हुने कुरा पहिल्यै थाह पाएर . . . ख्रीष्ट पुनर्जीवित हुने विषयमा यसो भने, ‘उहाँलाई न चिहानमा छोडिनेछ न त उहाँको शरीर नै कुहिनेछ।’ ” (प्रेषि. २:२९-३१) परमेश्‍वरले आफ्ना छोराको शरीरलाई कुहिन दिनुभएन। चमत्कारपूर्ण तरिकामा उहाँलाई अदृश्‍य शरीरमा पुनर्जीवित पार्नुभयो।—१ पत्रु. ३:१८.

२०. मसीहको शासनबारे गरिएको कस्तो भविष्यवाणी पूरा भयो?

२० परमेश्‍वरले येशू आफ्नो छोरा हो भनेर घोषणा गर्नुहुनेछ। ( भजन २:७; मत्ती ३:१७ पढ्‌नुहोस्‌) साथै, येशू यरूशलेम प्रवेश गर्दा मानिसहरूले उहाँको र आउँदै गरेको राज्यको जय-जयकार गरे। हामी पनि उहाँ अनि उहाँको राज्यबारे अरूलाई खुसीसाथ बताउँछौं। (मर्कू. ११:७-१०) यहोवाको मायालु छोरा येशू ख्रीष्टले स्वर्गमा आफ्नो शासन सुरु गरिसक्नुभयो। अब छिट्टै उहाँले आफ्ना शत्रुहरूलाई नाश गर्नुहुनेछ र पृथ्वीमा पनि “सत्यता, नम्रता र धार्मिकता” स्थापित गर्नुहुनेछ। (भज. २:८, ९; ४५:१-६) उहाँको राज्यले सम्पूर्ण पृथ्वीमा शान्ति र संवृद्धि ल्याउनेछ। (भज. ७२:१, ३, १२, १६; यशै. ९:६, ७) यहोवा परमेश्‍वर र उहाँको राज्यबारे अरूलाई बताउन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर!

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• येशूलाई कसरी धोका दिइयो र त्यागियो?

• येशूको मृत्युसम्बन्धी गरिएका कस्ता भविष्यवाणीहरू पूरा भए?

• येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर तपाईं किन विश्‍वस्त हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

येशू विजयोत्सवका साथ यरूशलेम प्रवेश गर्दा कुन भविष्यवाणी पूरा भयो?

[पृष्ठ १५-मा भएको चित्र]

येशू हाम्रो पापको निम्ति मर्नुभयो, तर अहिले उहाँ मसीही राजाको रूपमा शासन गर्दै हुनुहुन्छ