सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा—“शान्ति दिनुहुने परमेश्‍वर”

यहोवा—“शान्ति दिनुहुने परमेश्‍वर”

यहोवा—“शान्ति दिनुहुने परमेश्‍वर”

“शान्ति दिनुहुने परमेश्‍वर तिमीहरू सबैसित रहून्‌।”—रोमी १५:३३.

१, २. उत्पत्ति अध्याय ३२ र ३३ मा हामी कस्तो घटना विवरण पाउँछौं अनि परिणाम कस्तो हुन्छ?

 यर्दन नदीको पूर्वपट्टि पर्ने यब्बोकको जँघारनजिकै दुई दाजुभाइको भेट हुन लागेको छ। आफ्नो जुम्ल्याहा भाइ याकूब घर फर्कंदै गरेको खबर सुनेपछि एसाव आफ्ना ४०० जना मानिस लिएर तिनलाई भेट्‌न पनीएल नजिकैको इलाकातिर लाग्छन्‌। याकूबको कानमा यो खबर पुगेपछि तिनी असाध्यै डराउँछन्‌ किनकि २० वर्षअघि याकूबले एसावबाट जेष्ठअधिकार लिएका थिए। आफ्नो दाइको रिस अझै मरेको छैन होला भनेर याकूबले सोच्छन्‌। एसाव र उनका मानिसहरूले आक्रमण गरेर मार्ने हुन्‌ कि भनेर तिनी डराउँछन्‌। त्यसैले आफ्नो दाइको रिसबाट बच्न तिनले पटक-पटक गरी ५५० भन्दा धेरै वस्तुभाउ सौगातस्वरूप एसावकहाँ पठाउँछन्‌। हरेकपल्ट सौगात लैजाँदा याकूबका नोकरहरूले एसावलाई ती सौगातहरू उनको भाइले पठाएका हुन्‌ भनेर बताउँछन्‌।

अब दुई जनाको देखादेख हुन्छ! यतिबेला याकूबले साहस र नम्रता दुवै देखाउँछन्‌। आफ्नो दाइ एसावको नजिक नपुगुन्जेल तिनी सातचोटि दण्डवत्‌ गर्दै जान्छन्‌। तर यसअघि नै तिनले सबैभन्दा महत्त्वपूर्ण कदम चालिसकेका छन्‌। एसावको हातबाट जोगाइदिनुहोस्‌ भनेर तिनले यहोवालाई प्रार्थना गरिसकेका छन्‌। के यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुहुन्छ? बाइबल भन्छ: “एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अङ्‌गालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाइँ खाए, र तिनीहरू दुवै खूब रोए।”—उत्प. ३२:११-२०; ३३:१-४.

३. याकूब र एसावको विवरणबाट हामी के सिक्छौं?

यो घटनाले देखाउँछ, ख्रीष्टियन मण्डलीमा समस्या खडा हुँदा त्यसलाई सुल्झाउन हामीले हरप्रयास गर्नुपर्छ। यसो गरेनौं भने मण्डलीको शान्ति भङ्‌ग हुन सक्छ। याकूबले केही गल्ती गरेका थिएनन्‌। आफ्नो जेष्ठअधिकारलाई लत्याएर एक कचौरा सुरुवाको दाममा त्यो बेच्ने एसाव नै थिए। (उत्प. २५:३१-३४; हिब्रू १२:१६) हो, माफी माग्नुपर्ने कुनै कारण नभए तापनि आफ्नो दाइ एसावसित शान्ति कायम गर्न याकूब आफै अघि सरे। ख्रीष्टियन भाइबहिनीसित शान्ति कायम राख्न हामी कुन हदसम्म अघि सर्नुपर्छ भनेर याकूबको उदाहरणले प्रस्ट पार्छ। हामीले यसको लागि यहोवासित मदत माग्यौं भने उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर पनि यसले देखाउँछ। अरूसित कसरी शान्ति कायम गर्न सक्छौं भनेर बुझाउने अन्य थुप्रै उदाहरण पनि बाइबलमा पाइन्छ। आउनुहोस्‌, तीमध्ये केही उदाहरण विचार गरौं।

सर्वोत्कृष्ट उदाहरण

४. मानिसहरूलाई पाप र मृत्युबाट बचाउन परमेश्‍वरले कस्तो प्रबन्ध मिलाउनुभयो?

शान्ति कायम गर्ने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण यहोवा हुनुहुन्छ। उहाँ “शान्ति दिनुहुने परमेश्‍वर” हुनुहुन्छ। (रोमी १५:३३) हामीले उहाँसित राम्रो सम्बन्ध गाँस्न सकोस्‌ भनेर यहोवा कुन हदसम्म अग्रसर हुनुभयो, एकचोटि सम्झनुहोस्‌ त! आदम र हव्वाका पापी सन्तान भएको कारण हामी “पापले तिर्ने ज्याला मृत्यु”-को लायक छौं। (रोमी ६:२३) तैपनि हामीप्रति अपार प्रेम देखाउँदै यहोवाले हामीलाई पाप र मृत्युबाट बचाउने प्रबन्ध मिलाउनुभयो। आफूले माया गरेको छोरा येशूलाई त्रुटिरहित मानिसको रूपमा जन्मन यस पृथ्वीमा पठाउनुभयो। त्यसको लागि येशू पनि राजीखुसीले तयार हुनुभयो। परमेश्‍वरका शत्रुहरूको हातबाट मृत्यु भोग्न उहाँ पछि हट्‌नुभएन। (यूह. १०:१७, १८) पछि, यहोवाले येशूलाई पुनर्जीवित पार्नुभयो। स्वर्ग फर्केपछि येशूले आफ्नो बलिदानको मोल यहोवासामु चढाउनुभयो। यही मोल अर्थात्‌ फिरौतीले गर्दा आफ्नो पापको लागि पश्‍चात्ताप गर्नेहरूले पुनर्जीवन पाउन सम्भव भयो।—हिब्रू ९:१४, २४ पढ्‌नुहोस्‌।

५, ६. येशूले बगाउनुभएको रगतले परमेश्‍वर र मानिसहरूबीचको सम्बन्धमा कस्तो असर पार्छ?

येशूले तिर्नुभएको फिरौतीले परमेश्‍वर र मानिसहरूबीचको सम्बन्धमा कस्तो असर पार्छ? पापको कारण परमेश्‍वर र मानिसहरूबीचको सम्बन्ध बिग्रिएको थियो। तर येशूको बलिदानको कारण आज्ञाकारी मानिसहरूले परमेश्‍वरसित फेरि राम्रो सम्बन्ध कायम राख्न सम्भव भयो। “हाम्रै शान्तिको निम्ति दण्ड उसमाथि पऱ्‍यो, र उसले पाएको कोर्राको चोटले हामी निको भयौं” भनी यशैया ५३:५ बताउँछ। “[येशूले] आफ्नो रगतद्वारा तिरेको फिरौतीमार्फत हामीले छुटकारा पाएका छौं। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौं।”—एफि. १:७.

बाइबल भन्छ: “परमेश्‍वरलाई यही असल लाग्यो, कि [ख्रीष्ट] सबै थोकमा पूर्ण होस्‌।” यसको अर्थ हो, आफ्नो उद्देश्‍य पूरा गर्न परमेश्‍वरले येशूलाई चलाउनुहुन्छ। त्यसोभए परमेश्‍वरको उद्देश्‍य के हो? येशू ख्रीष्टले “बगाउनुभएको रगतद्वारा शान्ति कायम होस्‌ अनि चाहे पृथ्वीका हुन्‌ वा स्वर्गका, अरू सबै थोक उहाँद्वारै आफूसित फेरि मिलापमा होस्‌” भन्‍ने हो। यहाँ उल्लिखित “स्वर्गका” र “पृथ्वीका” थोकहरू के हुन्‌?—कलस्सी १:१९, २० पढ्‌नुहोस्‌।

७. ‘स्वर्गका थोक’ र ‘पृथ्वीका थोक’ के हुन्‌?

येशूले तिर्नुभएको फिरौतीको कारण परमेश्‍वरका छोराहरूको रूपमा ‘असल ठहरिएका’ अभिषिक्‍त ख्रीष्टियनहरूले “परमेश्‍वरसित शान्तिमय सम्बन्ध कायम” राख्न सम्भव भयो। ( रोमी ५:१ पढ्‌नुहोस्‌) तिनीहरूसित स्वर्ग जाने आशा भएकोले तिनीहरूलाई ‘स्वर्गका थोक’ भनिएको हो। “तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌” र पुजारीको रूपमा सेवा गर्नेछन्‌। (प्रका. ५:१०) ‘पृथ्वीका थोक’ भनेको चाहिं पछि गएर पृथ्वीमै अनन्त जीवन पाउने पश्‍चात्तापी मानिसहरू हुन्‌।—भज. ३७:२९.

८. ख्रीष्टियन मण्डलीको शान्ति र एकता खतरामा पर्दा यहोवाको उदाहरणले हामीलाई कसरी मदत गर्छ?

यहोवाले गर्नुभएको प्रबन्धप्रति मनैदेखि कृतज्ञ हुँदै प्रेषित पावलले एफिससका अभिषिक्‍त ख्रीष्टियनहरूलाई यस्तो लेखे: “कृपाका धनी परमेश्‍वरले हामी आफ्ना अपराधहरूले गर्दा मरिसकेको भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रीष्ट येशूसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो।” (एफि. २:४, ५) चाहे हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, परमेश्‍वरले देखाउनुभएको कृपा र असीम अनुग्रहको लागि हामी सबै उहाँप्रति ऋणी छौं। मानिसहरूले आफूसित शान्तिमय सम्बन्ध गाँस्न सकून्‌ भनेर यहोवा कुन हदसम्म अग्रसर हुनुभयो, त्यो कुरा सम्झँदा हाम्रो मन कृतज्ञताले ओतप्रोत हुन्छ। कहिलेकाहीं ख्रीष्टियन मण्डलीको शान्ति र एकता खतरामा पर्दा यहोवाको उदाहरणले के हामीलाई शान्ति कायम गर्नको लागि अग्रसर हुन झक्झक्याउँदैन र?

अब्राहाम र इसहाकको उदाहरणबाट सिकौं

९, १०. शान्ति कायम गर्न चाहेको कुरा अब्राहामले कसरी देखाए?

अब्राहामबारे बाइबल यसो भन्छ: “ ‘अब्राहामले यहोवामा विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा असल ठहरिए’ अनि तिनी ‘यहोवाको मित्र’ कहलाइए।” (याकू. २:२३) अरूसित शान्तिमा रहेर अब्राहामले यहोवामा विश्‍वास गरेको कुरा देखाए। उदाहरणका लागि, अब्राहामको वस्तुभाउ बढ्‌दै गएपछि तिनका गोठालाहरू र तिनको भतिजा लूतका गोठालाहरूबीच झगडा हुन थाल्यो। (उत्प. १२:५; १३:७) यस्तो अवस्थामा छुट्टिएर बस्नु नै राम्रो हुन्छ भनेर तिनीहरूले विचार गरे। यस्तो अप्ठ्‌यारो अवस्थामा अब्राहामले के गरे? अब्राहाम उमेरमा लूतभन्दा पाको थिए र परमेश्‍वरसित तिनको विशेष सम्बन्ध पनि थियो। तर तिनले लूतमाथि हैकम जमाउँदै यसो गर वा उसो गर भनेर आदेश दिएनन्‌। तिनले लूतसित शान्तिमय सम्बन्ध राख्न चाहेको कुरा देखाए।

१० अब्राहामले लूतलाई भने, “तिम्रो र मेरो बीचमा औ तिम्रा र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्‌, किनकि हामी ता नातेदार हौं।” तिनले अझै यसो भने: “सारा देश तिम्रै अगि छ। यसैले म तिमीलाई भन्दछु, कि तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” लूतले त्यस इलाकाको सबैभन्दा उर्वर भूमि रोजे, तैपनि अब्राहामले उनीप्रति कुनै रिसराग राखेनन्‌। (उत्प. १३:८-११) पछि शत्रुहरूले लूतलाई कैद गरेर लैजाँदा उनलाई छुटाउन अब्राहाम तुरुन्तै गइहाले।—उत्प. १४:१४-१६.

११. आफ्ना छिमेकी पलिश्‍तीहरूसित अब्राहामले कसरी शान्ति कायम गरे?

११ कनानमा छँदा अब्राहामले आफ्ना छिमेकी पलिश्‍तीहरूसित कसरी शान्ति कायम गरे, एकछिन विचार गर्नुहोस्‌। बेर्शेबामा अब्राहामका नोकरहरूले खनेको इनार पलिश्‍तीहरूले “जबरजस्तसित खोसेर लिएका” थिए। आफ्नो भतिजा लूतलाई बचाउन चार-चार जना राजासित लडेका यी व्यक्‍तिले यो परिस्थितिमा कस्तो प्रतिक्रिया देखाउने थिए? यतिबेला तिनले लडाइँ गर्ने विचार गरेनन्‌। तिनी चुपचाप बसे। पछि पलिश्‍तीहरूका राजा शान्ति सम्झौता गर्न अब्राहामकहाँ आए। ती राजाले अब्राहामलाई आफ्ना सन्ततिहरूलाई केही हानि नपुऱ्‍याउन कसम खान लगाए। त्यसपछि मात्र अब्राहामले आफ्नो खोसिएको इनारको बारेमा कुरा उठाए। अब्राहामको कुरा सुनेर राजा चकित भए र तिनको इनार तिनलाई नै फिर्ता गरिदिए। त्यसपछि पनि अब्राहाम पलिश्‍तीहरूको देशमा शान्तपूर्वक बसोबासो गरिरहे।—उत्प. २१:२२-३१, ३४.

१२, १३. (क) इसहाकले कसरी आफ्नो बुबाको उदाहरण अनुकरण गरे? (ख) शान्तिप्रेमी भएको कारण यहोवाले इसहाकलाई कस्तो आशिष्‌ दिनुभयो?

१२ आफ्नो बुबा अब्राहामजस्तै इसहाक पनि शान्तिप्रेमी थिए। तिनले पलिश्‍तीहरूसित गरेको व्यवहारबाट यो कुराको पुष्टि हुन्छ। आफू बसेको ठाउँ नेगेबको बेर-लहै-रोई इलाकामा अनिकाल परेपछि इसहाक त्यहाँबाट सरेर पलिश्‍तीहरूको देश गरारमा गए किनभने त्यो इलाका पलिश्‍तीहरूको अरू इलाकाभन्दा उर्वर थियो। परमेश्‍वरले इसहाकलाई आशिष्‌ दिनुभयो। तिनको बालीनाली एकदमै सप्रियो र तिनका प्रशस्त वस्तुभाउ भए। पलिश्‍तीहरूले तिनको डाह गर्न लागे। इसहाक आफ्ना बुबाजस्तै धनी नहोऊन्‌ भनेर पलिश्‍तीहरूले अब्राहामका पालामा तिनका नोकरहरूले खनिराखेका सबै इनारहरू ढुङ्‌गा-माटाले पुरिदिए। त्यसपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल।” तब इसहाक त्यहाँबाट निस्केर अन्तै गए।—उत्प. २४:६२; २६:१, १२-१७.

१३ बसाइँ सरिसकेपछि इसहाकका गोठालाहरूले फेरि अर्कै इनार खने। तर पलिश्‍ती गोठालाहरूले त्यो पानी तिनीहरूको हो भनेर झगडा गर्न लागे। आफ्नो बुबा अब्राहामले जस्तै इसहाकले पनि त्यो इनारको लागि पलिश्‍तीहरूसित झगडा गरेनन्‌। बरु, तिनले आफ्ना मानिसहरूलाई अर्कै इनार खन्‍न लगाए। पलिश्‍तीहरूले फेरि पनि त्यो पानी आफ्नो हो भनेर दाबी गरे। यस्तो खिचातानीलाई रोक्न इसहाक आफ्नो लावालस्करसाथ अन्तै सरे। तिनका नोकरहरूले फेरि पनि इनार खने र इसहाकले त्यो इनारको नाम रहोबोत राखे। पछि त्यहाँबाट बसाइँ सरेर तिनी अझै उर्वर भूमि बेर्शेबामा गए। त्यो ठाउँमा यहोवाले तिनलाई आशिष्‌ दिनुभयो र यसो भन्‍नुभयो: “नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष्‌ दिनेछु, मेरो दास अब्राहामको खातिर म तेरो सन्तानको वृद्धि गराउनेछु।”—उत्प. २६:१७-२५.

१४. पलिश्‍ती राजा शान्ति सम्झौता गर्न आउँदा इसहाकले आफूलाई कसरी शान्ति कायम गर्न अग्रसर हुने व्यक्‍ति साबित गरे?

१४ आफ्ना नोकरहरूले खनेको सबै इनार प्रयोग गर्न पाउनु इसहाकको अधिकारको कुरा थियो। इसहाकले चाहेको भए तिनी आफ्नो अधिकारको लागि लड्‌न सक्थे। तर त्यसो गर्नुको साटो शान्ति कायम राख्नको निम्ति तिनी पटक-पटक बसाइँ सर्न तयार भए। पछि पलिश्‍ती राजा आफ्ना सेनापतिहरूको साथमा इसहाकसँग शान्ति सम्झौता गर्न बेर्शेबा आए। तिनले यसो भने: “हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्छ।” यतिबेला पनि इसहाकले आफूलाई शान्ति कायम गर्न अग्रसर हुने व्यक्‍ति साबित गरे। विवरण यसो भन्छ: “इसहाकले [आफ्ना पाहुनाहरूका] निम्ति भोज तयार गरे, औ तिनीहरूले खाए पिए। बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुटेर गए।”—उत्प. २६:२६-३१.

यूसुफको उदाहरणबाट सिकौं

१५. यूसुफका दाइहरू किन यूसुफसित राम्ररी कुरा गर्दैनथे?

१५ इसहाकको छोरा याकूब “शान्त स्वभावका मानिस” थिए। (उत्प. २५:२७) माथि उल्लेख गरिएझैं याकूबले आफ्नो दाइ एसावसित शान्ति कायम गर्न कदम चाले। निश्‍चय नै याकूबले आफ्नो बुबा इसहाकको असल उदाहरणबाट पाठ सिकेको हुनुपर्छ। के त्यसोभए याकूबको उदाहरणबाट पनि तिनका छोराहरूले पाठ सिके होलान्‌ त? आफ्ना १२ जना छोराहरूमध्ये याकूबलाई सबैभन्दा मनपर्ने छोरा यूसुफ थिए। यूसुफ आज्ञाकारी थिए। तिनी आफ्नो बुबाको आदर गर्थे अनि याकूबले पनि तिनलाई आँखा चिम्लेर भरोसा गर्न सक्थे। (उत्प. ३७:२, १४) तर तिनका दाइहरूले भने तिनको रिस गर्थे र तिनीसित राम्ररी कुरा पनि गर्दैनथे। निर्दयी भएर तिनका दाइहरूले तिनलाई दासको रूपमा बेचिदिए र यूसुफलाई जङ्‌गली जनावरले मारेछ भनेर आफ्नो बुबा याकूबलाई झुक्याए।—उत्प. ३७:४, २८, ३१-३३.

१६, १७. यूसुफले आफ्ना दाइहरूसित गरेको व्यवहारबाट तिनी शान्तिप्रेमी व्यक्‍ति थिए भनेर हामी कसरी थाह पाउन सक्छौं?

१६ यहोवाले यूसुफलाई आशिष्‌ दिनुभयो। तिनी मिश्रका अधिपति भए। फिरऊनपछिका ठूला व्यक्‍ति तिनी नै थिए। कनानमा घोर अनिकाल परेपछि यूसुफका दाइहरू अनाज लिन मिश्र देशमा आए। तिनीहरूले यूसुफलाई चिन्‍नै सकेनन्‌—सायद तिनले मिश्रका गण्यमान्य व्यक्‍तिहरूले लगाउने लुगा लगाएकोले होला। (उत्प. ४२:५-७) यूसुफले आफूलाई अनि आफ्नो बुबालाई गहिरो चोट पुऱ्‍याउने ती दाइहरूसित बदला लिने कत्ति राम्रो मौका पाएका थिए! तर तिनले उनीहरूसित बदला लिएनन्‌। तिनले उनीहरूसित शान्ति कायम गर्न खोजे। आफ्ना दाइहरूले साँच्चै पश्‍चात्ताप गरेको कुरा थाह पाएपछि यूसुफले उनीहरूलाई आफ्नो बारेमा बताए र उनीहरूलाई यसो भने: “तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान। आफैमाथि रिस पनि नगर, किनकि हामी सबैको प्राण रक्षाको निम्ति परमेश्‍वरले मलाई तिमीहरूको अगि यहाँ पठाउनुभएको हो।” त्यसपछि तिनले आफ्ना सबै दाइहरूलाई म्वाइँ खाए र तिनीहरूसित रोए।—उत्प. ४५:१, ५, १५.

१७ आफ्नो बुबा याकूबको मृत्युपछि यूसुफले आफूहरूसित बदला लिने हो कि भनेर यूसुफका दाइहरूले सोचेका थिए। तिनीहरूले यूसुफलाई आफ्नो डर व्यक्‍त गर्दा तिनी “रोए” र जवाफ दिए: “नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालन-पोषण गर्नेछु।” शान्तिप्रेमी यूसुफले “तिनीहरूलाई ढाडस र सान्त्वना दिए।”—उत्प. ५०:१५-२१.

“हाम्रो शिक्षाका लागि लेखिएका”

१८, १९. (क) यस लेखमा छलफल गरिएको शान्ति कायम गर्न अग्रसर हुने व्यक्‍तिहरूको उदाहरणबाट तपाईंले के पाठ सिक्नुभयो? (ख) अर्को लेखमा हामी के सिक्नेछौं?

१८ पावलले भने: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) त्यसोभए यहोवाको सर्वोत्कृष्ट उदाहरणबाट अनि अब्राहाम, इसहाक, याकूब र यूसुफको उदाहरणबाट हामीले कस्तो पाठ सिक्यौं त?

१९ यहोवाले आफू र पापी मानिसहरूबीचको सम्बन्ध सुधार्न जे जति गर्नुभयो, त्यसलाई विचार गर्दा के हामी अरूसित शान्तिमा रहनको लागि जस्तोसुकै कदम चाल्न उत्प्रेरित हुँदैनौं र? आमाबाबुहरूले आफ्ना छोराछोरीका लागि राम्रो उदाहरण बसाल्न सक्छन्‌ भनेर अब्राहाम, इसहाक, याकूब र यूसुफको उदाहरणले देखाउँछ। साथै शान्ति कायम गर्न हर प्रयास गर्नेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ भनेर पनि यी विवरणहरूले देखाउँछ। त्यसकारण पावलले यहोवालाई “शान्ति दिनुहुने परमेश्‍वर” भनेकोमा हामी छक्क पर्नुपर्दैन। ( रोमी १५:३३; १६:२० पढ्‌नुहोस्‌) पावलले हामीलाई किन शान्तिमा रहन भने र हामी कसरी त्यसो गर्न सक्छौं भन्‍ने विषयमा अर्को लेखमा सिक्नेछौं।

तपाईंले के सिक्नुभयो?

• एसावसित भेट हुनुभन्दा अघि याकूबले तिनीसित शान्ति कायम गर्न के गरे?

• मानिसहरूसित शान्ति कायम गर्न यहोवाले जे जति गर्नुभयो त्यसले तपाईंलाई कस्तो असर पार्नुपर्छ?

• अब्राहाम, इसहाक, याकूब र यूसुफको उदाहरणबाट तपाईंले कस्तो पाठ सिक्नुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

एसावसित शान्ति कायम गर्न याकूबले चालेको सबैभन्दा महत्त्वपूर्ण कदम के थियो?