सीधै सामग्रीमा जाने

के तपाईँले कर तिर्नै पर्छ?

के तपाईँले कर तिर्नै पर्छ?

के तपाईँले कर तिर्नै पर्छ?

धेरै मानिसलाई कर तिर्न चाहँदैनन्‌। तिनीहरूमध्ये धेरैले कर तिरेको पैसा गलत कामको लागि प्रयोग हुन्छ भन्‍ने सोचाइ राखेकोले कर तिर्दैनन्‌। मध्यपूर्वको एउटा सहरका मानिसहरूले कर नतिर्नुको कारणबारे यसो भने: “हामी आफ्नै छोराछोरीलाई मार्ने गोली किन्‍न कदापि पैसा दिँदैनौँ।”

यस्तो विचार कुनै एक जना व्यक्‍तिको मात्रै त होइन अनि यो कुनै नयाँ कुरा पनि होइन। एक जना हिन्दू नेता मोहनदास क. गान्धीले पनि यसो भनेका थिए: “राज्यको सैन्य व्यवस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मदत गरिरहेका सबै नै तिनीहरूको पापको भागीदार भइरहेका हुन्छन्‌। राज्यलाई कर तिरेर सहयोग गर्ने सबै जना त्यसमा मुछिएका हुन्छन्‌, चाहे तिनीहरू वृद्ध होऊन्‌ वा जवान।”

त्यसैगरि १९ औँ शताब्दीका दार्शनिक हेन्री डेभिड थोरोले कर तिर्दा युद्धलाई समर्थन गरिरहेका हुन्छौँ भन्‍ने सोचाइ राख्थे। त्यसैले तिनले कर तिर्न इन्कार गरे। तिनले यस्तो प्रश्‍न उठाए: “नागरिकहरूको अन्तस्करणले दिँदैन भने पनि के तिनीहरूले सरकारले भनेअनुसार गर्नुपर्छ? त्यसो हो भने हामीसित अन्तस्करण भएको के फाइदा?”

यो ख्रिष्टियनहरूको लागि चासोको विषय हो किनभने बाइबलले तिनीहरूलाई सबै मामिलामा सफा अन्तस्करण कायम राख्न सिकाएको छ। (२ तिमोथि १:३) अर्कोतर्फ बाइबलले उच्च अख्तियारवालाहरूसित कर उठाउने अधिकार छ भनेर पनि सिकाउँछ। बाइबल भन्छ: “हरेक मानिस उच्च अख्तियारवालाहरूको [अर्थात्‌ मानव सरकारहरूको] अधीनमा रहोस्‌ किनकि परमेश्‍वरको अनुमतिविना कुनै अख्तियार चल्दैन। अनि जो-जो अख्तियारमा छन्‌, तिनीहरूलाई परमेश्‍वरले आफ्नो अधीनमा विभिन्‍न ओहदामा राख्नुभएको हो। त्यसैले त्यस क्रोधको कारण मात्र होइन तर आफ्नो अन्तस्करणको खातिर पनि तिमीहरू अधीनमा बस्नु आवश्‍यक छ। यसकारण तिमीहरू कर पनि तिर्छौ किनकि तिनीहरू परमेश्‍वरले खटाउनुभएका जनसेवकहरू हुन्‌ र आफ्नो यो भूमिका पूरा गर्न तिनीहरू निरन्तर लागिरहन्छन्‌। तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर: कर तिर्नुपर्नेलाई कर।”—रोमी १३:१, ५-७.

प्रथम शताब्दीमा कर तिरिएको धेरैजसो पैसा सैन्य व्यवस्थाको लागि प्रयोग गरिन्थ्यो। यो कुरा थाह भए पनि त्यतिबेलाका ख्रिष्टियनहरू कर तिर्थे। आज यहोवाका साक्षीहरू पनि कर तिर्छन्‌। * तर हामी आफूले समर्थन नगर्ने कुराको लागि किन कर तिर्छौँ? के हामीले आफ्नो अन्तस्करणको आवाजलाई बेवास्ता गरेर कर तिर्नुपर्छ?

कर अनि सफा अन्तस्करण

प्रथम शताब्दीका ख्रिष्टियनहरूले तिरेको करको धेरैजसो भाग सैन्य व्यवस्थाको लागि प्रयोग गरिन्थ्यो। यही कारणले गर्दा पछि गान्धी र थोरोले कर तिर्न इन्कार गरे।

ख्रिष्टियनहरूले सजायबाट जोगिन मात्र नभई “आफ्नो अन्तस्करणको खातिर” रोमी अध्याय १३ मा दिइएको आज्ञा पालन गर्थे। (रोमी १३:५) ख्रिष्टियनहरूले तिरेको कर उनीहरूले समर्थन नगर्ने कुराको लागि प्रयोग भए पनि सफा अन्तस्करण कायम राख्न कर तिर्नै पर्छ। यो कुरा अझ राम्ररी बुझ्नको लागि अन्तस्करणले कसरी काम गर्नुपर्छ भनेर बुझ्नु आवश्‍यक छ। अन्तस्करण भनेको हाम्रो भित्री आवाज हो, जसले हामीले गरेको काम सही छ कि गलत भनेर हामीलाई बताउँछ।

हामी सबैसित अन्तस्करण अर्थात्‌ भित्री आवाज हुन्छ, जसबारे थोरोले उल्लेख गरेका थिए। तर हामी सधैँ त्यसमा भरोसा गर्न सक्दैनौँ। हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भने आफ्नो अन्तस्करणलाई उहाँको नैतिक स्तरअनुसार तालिम दिनुपर्छ। हामीले आफ्नो सोचाइ यहोवाको सोचाइजस्तै बनाउनु आवश्‍यक छ। किनभने यहोवाको विचार हाम्रो विचारभन्दा उच्च छ। (भजन १९:७) त्यसैले हामीले मानव सरकारहरूप्रति परमेश्‍वरको दृष्टिकोण बुझ्ने प्रयास गर्नुपर्छ। उहाँको दृष्टिकोण कस्तो छ?

पावलले मानव सरकारहरूलाई “परमेश्‍वरले खटाउनुभएका जनसेवकहरू” भनेका छन्‌। (रोमी १३:६) यसको अर्थ के हो? मानव सरकारले जनताको लागि राम्रा कामहरू गरेका छन्‌। सबैभन्दा भ्रष्ट सरकारले पनि विभिन्‍न सेवा प्रदान गर्ने गर्छन्‌। जस्तै: हुलाक सेवा, शिक्षादीक्षाको प्रबन्ध, अग्नि नियन्त्रण सेवा अनि कानुन कार्यान्वयन। यहोवालाई मानव सरकारहरूका कमजोरीहरूबारे थाह छ तैपनि उहाँले ती सरकारहरूलाई केही समयको लागि रहन दिनुभएको छ। त्यसैले उहाँले गर्नुभएको प्रबन्धलाई आदर गरेको देखाउँदै हामीले कर तिरेको उहाँ चाहनुहुन्छ।

परमेश्‍वरले मानव सरकारहरूलाई केही समयको लागि मात्र रहन दिनुभएको छ। उहाँले यी सब सरकारलाई हटाएर आफ्नो स्वर्गीय राज्यमार्फत यस पृथ्वीमा शासन गर्नुहुनेछ अनि मानव सरकारले पुऱ्‍याएको सबै हानिलाई सच्याउनुहुनेछ। (दानिएल २:४४; मत्ति ६:१०) त्यतिन्जेल हामीले उच्च अख्तियारवालाहरूको आज्ञा मानेको अनि कर तिरेको उहाँ चाहनुहुन्छ।

के तपाईँलाई पनि गान्धीलाई जस्तै आफूले तिरेको कर युद्धमा प्रयोग गरिन्छ भने कर तिर्नु पाप हो जस्तो लाग्छ? जसरी अग्लो ठाउँबाट हामी टाढा-टाढा देख्न सक्छौँ, त्यसरी नै कुनै कुराप्रति यहोवाको दृष्टिकोण हाम्रो भन्दा कत्ति उच्च छ भन्‍ने कुरा विचार गऱ्‍यौँ भने उहाँको जस्तै दृष्टिकोण राख्न सक्नेछौँ। भविष्यवक्‍ता यसैयामार्फत यहोवाले यसो भन्‍नुभयो: “जसरी आकाश धर्तीभन्दा उच्च छ, त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।”—यसैया ५५:८, ९.

सर्वोच्च अख्तियार?

हुनत बाइबलले कर तिर्नुपर्छ भनेर बताएको छ तर यसको मतलब हामीले मानव सरकारको सबै कुरा मान्‍नुपर्छ भन्‍ने होइन। परमेश्‍वरले मानव सरकारहरूलाई सीमित अख्तियार मात्र दिनुभएको छ भनेर येसुले सिकाउनुभयो। एक जना मानिसले रोमी सरकारलाई कर तिर्नुपर्छ कि पर्दैन भनेर सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”—मर्कुस १२:१३-१७.

“सिजरले”-ले मानव सरकारहरूलाई चित्रण गर्छ, जसले पैसा छाप्छन्‌ अनि त्यसको मोल पनि तोक्छन्‌। त्यसैले मानव सरकारहरूसित आफ्नो जनताहरूबाट कर उठाउने अधिकार छ। हामीले “परमेश्‍वरका” कुराहरू परमेश्‍वरलाई दिनुपर्छ भनेर येसुले सिकाउनुभयो। यसमा हाम्रो जीवन यहोवालाई समर्पण गर्नु र उहाँको मात्रै उपासना गर्नु समावेश छ। यदि मानव सरकारको आज्ञा परमेश्‍वरको आज्ञासित बाझियो भने “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२९.

ख्रिष्टियनहरूलाई आफूले तिरेको कर प्रयोग भएको तरिका चित्त बुझ्दैन होला। तैपनि तिनीहरू सरकारको कामको विरोध गर्ने वा कर नतिर्ने गर्दैनन्‌। यदि तिनीहरू त्यसो गर्छन्‌ भने परमेश्‍वरले मानिसजातिको समस्याहरू समाधान गर्नुहुन्छ भन्‍ने कुरामा तिनीहरूको विश्‍वास कमजोर भएको देखिन्छ। बरु तिनीहरू परमेश्‍वरले येसु ख्रिष्टमार्फत मानिसजातिमाथि शासन गर्ने समयको धीरजी भई प्रतीक्षा गर्छन्‌। येसुले यसो भन्‍नुभएको थियो: “मेरो राज्य यस संसारको होइन।”—युहन्‍ना १८:३६.

बाइबलको शिक्षाअनुसार चल्दा हुने फाइदाहरू

कर तिर्ने सन्दर्भमा बाइबलमा बताइएअनुसार गर्दा हामीले थुप्रै फाइदा उठाउन सक्छौँ। हामी नियम तोड्‌नेहरूले पाउने सजायबाट अनि जेल जानुपर्छ कि भन्‍ने चिन्ताबाट जोगिन सक्छौँ। (रोमी १३:३-५) अझ महत्त्वपूर्ण कुरा, हामी परमेश्‍वरसामु सफा अन्तस्करण कायम राख्न सक्छौँ अनि नियमकानुन पालन गरेकोले परमेश्‍वरको महिमा पनि हुन्छ। कर नतिर्ने वा कर छल्ने व्यक्‍तिहरूको फलिफाप भएको जस्तो हामीलाई लाग्न सक्छ तर परमेश्‍वरले आफ्ना सेवकहरूको ख्याल राख्नेछु भनेर गर्नुभएको प्रतिज्ञामा हामी भरोसा गर्न सक्छौँ। बाइबल लेखक राजा दाउदले यस्तो लेखेका छन्‌: “म जवान थिएँ, अहिले बूढो भएको छु तर धर्मी मानिसको बिचल्ली भएको र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको मैले कहिल्यै देखेको छैनँ।”—भजन ३७:२५.

बाइबलमा कर तिर्नुपर्छ भनेर दिइएको आज्ञा बुझेर त्यो आज्ञा पालन गर्दा हामीले मनोशान्ति पाउन सक्छौँ। जसरी तपाईँले घरभाडा तिरेको पैसा घरधनीले कसरी प्रयोग गर्छ, त्यसको लागि सरकारले तपाईँलाई जिम्मेवार ठहराउँदैन, त्यसरी नै तपाईँले कर तिरेको पैसा सरकारले कसरी प्रयोग गर्छ, त्यसको लागि परमेश्‍वरले तपाईँलाई जिम्मेवार ठहराउनुहुन्‍न। दक्षिण युरोपका स्टेल्भियो सत्य सिक्नुअघि आफ्नो देशमा भइरहेको अन्यायविरुद्ध लडे। तर पछि तिनले त्यसो गर्न छोड्‌नुको कारणबारे यसो भने: “मानिसहरूले संसारमा न्याय, शान्ति अनि भाइचारा स्थापना गर्न सक्दैनन्‌ भनेर मैले बुझेँ। तर परमेश्‍वरको राज्यले मात्र अहिलेको भन्दा फरक अनि राम्रो समाजको स्थापना गर्न सक्छ।”

तपाईँले पनि वफादार हुँदै ‘परमेश्‍वरका कुराहरू परमेश्‍वरलाई दिनुभयो’ भने उहाँले न्याय स्थापना गर्नुहुनेछ भन्‍ने कुरामा स्टेल्भियोजस्तै पक्का हुन सक्नुहुन्छ। मानव शासनले गर्दा भएको हानि र अन्यायलाई सच्याएर परमेश्‍वरले पृथ्वीमा धार्मिकता स्थापना गर्नुभएको तपाईँले देख्नुहुनेछ।

[फुटनोट]

^ कर तिर्ने सन्दर्भमा यहोवाका साक्षीहरूले बसालेको उदाहरणबारे थाह पाउन प्रहरीधरहरा, नोभेम्बर १, २००२, पृष्ठ १२, अनुच्छेद १५ र मे १, १९९६, पृष्ठ १७, अनुच्छेद ७ हेर्नुहोस्‌।

[ठूलो अक्षरको क्याप्सन]

हामीले आफ्नो दृष्टिकोण यहोवाको जस्तै बनाउनु आवश्‍यक छ। किनभने यहोवाको विचार हाम्रो भन्दा उच्च छ

[ठूलो अक्षरको क्याप्सन]

इमानदार भई कर तिर्दा हामी परमेश्‍वरसामु सफा अन्तस्करण कायम राख्न सक्छौँ अनि हाम्रा आवश्‍यक्‍ताहरू उहाँले पूरा गरिदिनुहुनेछ भन्‍ने कुरामा भरोसा गरेको देखाउन सक्छौँ

[चित्र]

“जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ”

[स्रोत]

Copyright British Museum