सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा मेरो अंश हुनुहुन्छ

यहोवा मेरो अंश हुनुहुन्छ

यहोवा मेरो अंश हुनुहुन्छ

“इस्राएलीहरूको माझमा तेरो अंश-अधिकार म नै हुँ।”—गन्ती १८:२०.

१, २. (क) प्रतिज्ञा गरिएको देशको बाँडफाँट गर्दा लेवीहरूको सन्दर्भमा के भयो? (ख) यहोवाले लेवीहरूलाई कस्तो आश्‍वासन दिनुभयो?

 इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशको अधिकांश भूमिमाथि अधिकार गरिसकेपछि यहोशूले गोला हालेर उक्‍त देश बाँडफाँट गरिदिए। तिनले प्रधान पुजारी एलाजार र कुलैपिच्छेका नायकेहरूसित मिलेर यो काम पूरा गरे। (गन्ती ३४:१३-२९) इस्राएलीहरूको अरू सबै कुलले आ-आफ्नो अंश पाए तर लेवी कुललाई भने यहोवाकै निर्देशनबमोजिम कुनै अंश दिइएन। (यहो. १४:१-५) लेवीहरूले किन प्रतिज्ञा गरिएको देशमा कुनै जग्गा-जमिन वा अंश पाएनन्‌? के तिनीहरूलाई हेला गरिएको हो?

यहोवाले लेवीहरूबारे हारूनलाई भन्‍नुभएको कुरामा हामी यसको जवाफ पाउँछौं। तिनीहरूलाई त्याग्नेछैन भन्‍ने कुरामा जोड दिंदै यहोवाले पहिल्यै यसो भन्‍नुभएको थियो: “इस्राएलीहरूको माझमा तेरो अंश-अधिकार म नै हुँ।” (गन्ती १८:२०) कस्तो सान्त्वनादायी आश्‍वासन! यहोवाले तपाईंलाई पनि “तेरो अंश-अधिकार म नै हुँ” भन्‍नुभएको भए तपाईंलाई कस्तो लाग्थ्यो? सबैभन्दा सुरुमा तपाईं यस्तो सोच्नुहुन्थ्यो होला, ‘ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍तिबाट यस्तो आश्‍वासन पाउन लायकको म कहाँ छु र?’ सायद तपाईं यस्तो पनि सोच्नुहुन्थ्यो होला, ‘के साँच्चै यहोवा अहिलेका त्रुटिपूर्ण ख्रीष्टियनहरूको अंश बन्‍नुहुन्छ र?’ यी प्रश्‍नहरूको जवाफ तपाईं र तपाईंका प्रियजनहरूसित पनि सम्बन्धित छन्‌। त्यसैले यहोवा परमेश्‍वरले के भन्‍न खोज्नुभएको थियो, त्यसको अर्थ हामी केलाऔं। यसले हामीलाई यहोवा कसरी अहिलेका ख्रीष्टियनहरूको अंश बन्‍न सक्नुहुन्छ भनेर बुझ्न मदत गर्नेछ। अझ तोकेरै भन्‍ने हो भने, चाहे तपाईंको आशा स्वर्ग जाने होस्‌ वा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन पाउने, उहाँ तपाईंको अंश बन्‍न सक्नुहुन्छ।

यहोवाले लेवीहरूको हेरचाह गर्नुभयो

३. कसरी लेवीहरू परमेश्‍वरको सेवाको लागि छानिन पुगे?

इस्राएलीहरूलाई व्यवस्थाको नियम दिनुभन्दा अघि परिवारको शिरले नै पुजारीको भूमिका खेल्थे। व्यवस्था दिइसकेपछि चाहिं यहोवाले पूर्ण-समय सेवा गर्ने पुजारीहरू र तिनीहरूलाई सहयोग गर्ने लेवी कुलकै अन्य मानिसहरूको प्रबन्ध मिलाउनुभयो। कसरी लेवीहरू पुजारीको रूपमा छानिन पुगे? मिश्रका जेठा सन्तानहरूलाई नाश गरिसकेपछि यहोवाले इस्राएलका सबै जेठा सन्तानहरूलाई पवित्र पार्नुभयो, मतलब यहोवाले तिनीहरूलाई आफ्नो निम्ति छुट्ट्याउनुभयो। पछि गएर यहोवाले यस्तो आमूल परिवर्तन गर्नुभयो: “इस्राएलीहरूमा पहिले जन्मेर गर्भ खोल्नेहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु।” इस्राएलमा पुजारीको प्रबन्ध स्थापित गर्न जनगणना लिइँदा लेवी पुरुषहरूभन्दा जेठा सन्तानहरूको सङ्‌ख्या बढी पाइयो। तसर्थ, यो अन्तरलाई हटाउनको लागि यहोवाले फिरौती तिर्ने आज्ञा दिनुभयो। (गन्ती ३:११-१३, ४१, ४६, ४७) त्यसपछि लेवीहरूले इस्राएल राष्ट्रका परमेश्‍वरको सेवा गर्न सके।

४, ५. (क) यहोवाले लेवीहरूलाई ‘म तिमीहरूको अंश हुनेछु’ भन्‍नुको मतलब के थियो? (ख) यहोवाले कसरी लेवीहरूको हेरचाह गर्नुभयो?

लेवीहरूले पाएको जिम्मेवारीले तिनीहरूको निम्ति के अर्थ राख्थ्यो? यहोवाले तिनीहरूलाई ‘म तिमीहरूको अंश हुनेछु’ भन्‍नुको मतलब तिनीहरूले यहोवाबाट जग्गा-जमिन पाउने थिए भन्‍न खोजेको होइन, बरु यहोवाले तिनीहरूलाई उहाँको सेवा गर्ने बहुमूल्य सुअवसर दिनुहुनेथियो। “परमप्रभुको पूजाहारी”को रूपमा सेवा गर्ने अवसर नै तिनीहरूको अंश-अधिकार थियो। (यहो. १८:७) तर यसको अर्थ तिनीहरू भौतिक रूपमा कङ्‌गाल हुनेथिए भनेको होइन। गन्ती १८:२० को प्रसङ्‌गलाई विचार गर्ने हो भने हामी यो कुरा बुझ्न सक्छौं। ( गन्ती १८:१९, २१, २४ पढ्‌नुहोस्‌) लेवीहरूलाई ‘भेट हुने पालमा सेवा गरेको सट्टामा अधिकार स्वरूप इस्राएलीहरूका सबै दशांश’ दिइनेथियो। तिनीहरूले इस्राएलीहरूको भूमिको उत्पादन र बढ्‌दै गरेको वस्तुभाउको दसौं भाग पाउनेथिए। अनि लेवीहरूले पनि आफूले पाएको दशांशको “सबैभन्दा असल” भाग पुजारीहरूको लागि भनेर छुट्ट्याउनुपर्थ्यो। a (गन्ती १८:२५-२९) परमेश्‍वरको उपासना गर्ने ठाउँमा इस्राएलीहरूले ल्याएको “पवित्र बलिदानहरू” पनि पुजारीहरूलाई दिइन्थ्यो। त्यसकारण पुजारीको जिम्मेवारी सम्हाल्नेहरूले तिनीहरूको निम्ति यहोवाले नै प्रबन्ध मिलाइदिनुहुन्छ भनेर विश्‍वास गर्नुपर्ने हर कारण थियो।

मोशाको व्यवस्थामा अर्को किसिमको दशांशबारे पनि उल्लेख गरिएको देखिन्छ। यो दशांशचाहिं इस्राएलीहरूले खान, पिउन अनि पवित्र महासभाहरू हुने बेलामा रमाइलो गर्नका लागि छुट्ट्याएर राख्थे। (व्यव. १४:२२-२७) तर यो दशांशको अर्को प्रयोग पनि थियो। इस्राएलीहरूले सात-सात वर्षमा विश्राम वर्ष मनाउने गर्थे। अनि यो विश्राम वर्षको तेस्रो र छैटौं वर्षको अन्तमा इस्राएलीहरूले यो दशांश गरिबहरूलाई अनि लेवीहरूलाई मदत गर्नको लागि चलाउँथे। किन लेवीहरूले पनि यो दशांश पाएका? किनभने तिनीहरूले इस्राएलमा “केही हिस्सा वा अधिकार” पाएका थिएनन्‌।—व्यव. १४:२८, २९.

६. इस्राएलमा जग्गा-जमिन नपाएका लेवीहरू कहाँ बस्थे?

तपाईं सोच्नुहोला, “यदि लेवीहरूलाई जग्गा-जमिन दिइएको थिएन भने तिनीहरू कहाँ बस्थे त?” यहोवाले तिनीहरूको निम्ति प्रबन्ध गरिदिनुभएको थियो। यहोवाले तिनीहरूलाई ४८ वटा सहरहरूका साथै त्यस वरपरका खर्कहरू पनि दिनुभएको थियो। यी सहरहरूमध्ये छ वटाचाहिं शरण-नगरहरू थिए। (गन्ती ३५:६-८) तसर्थ, पवित्र स्थानमा सेवा गर्नु नपर्ने बेलामा बस्नको लागि लेवीहरूलाई ठाउँ दिइएको थियो। यहोवाले आफ्नो सेवा गर्नेहरूको सम्पूर्ण आवश्‍यकता पूरा गरिदिनुभयो। लेवीहरूले यहोवा तिनीहरूको अंश हुनुहुन्छ भनेर कसरी देखाउन सक्थे? ती लेवीहरूले तिनीहरूको आवश्‍यकता पूरा गरिदिने यहोवाको इच्छुकता र त्यसो गर्न सक्ने उहाँको शक्‍तिमाथि विश्‍वास गर्नुपर्थ्यो।

७. यहोवालाई आफ्नो अंश बनाउने हो भने लेवीहरूले के गर्नुपर्थ्यो?

दशांश नदिने इस्राएलीहरूलाई व्यवस्थाले कुनै दण्ड-जरिबाना तोकेको थिएन। मानिसहरूले हेलचेक्य्राइँ गरेर दशांश नदिएमा पुजारी र लेवीहरूलाई असर पर्थ्यो। नहेम्याहको समयमा पनि मानिसहरूले त्यसै गरे। फलस्वरूप लेवीहरू आफ्नो रोजीरोटी जुटाउन सेवाको काम छोडेर खेतबारीमा काम गर्न जानुपऱ्‍यो। ( नहेम्याह १३:१० पढ्‌नुहोस्‌) हो, लेवी कुलको गुजारा इस्राएल राष्ट्रको आध्यात्मिक अवस्थामा निर्भर थियो। अनि पुजारी र लेवीहरूले पनि यहोवामा र तिनीहरूको लागि आवश्‍यक कुरा जुटाउन उहाँले गर्नुभएको प्रबन्धमा भरोसा राख्नुपर्थ्यो।

यहोवा व्यक्‍तिविशेषको पनि अंश हुनुहुन्थ्यो

८. लेवी आसापले कस्तो बेचैनी महसुस गरे, व्याख्या गर्नुहोस्‌।

लेवीहरूले कुलको रूपमा यहोवालाई आफ्नो अंश ठान्‍नुपर्थ्यो। तर उल्लेखनीय कुरा के छ भने यहोवाप्रति आफ्नो भक्‍ति र भरोसा जाहेर गर्न लेवीहरूले व्यक्‍तिविशेषको रूपमा पनि यहोवा आफ्नो अंश हुनुहुन्छ भन्‍ने अर्थ लाग्ने वाक्यांश चलाएका छन्‌। (विला. ३:२४) एक जना लेवी गायक तथा सङ्‌गीतकार त्यस्ता व्यक्‍तिहरूमध्ये पर्छन्‌। हामी तिनलाई आसाप भन्‍नेछौं तर वास्तवमा तिनी आसाप स्वयम्‌ थिए वा तिनको घरानाका अरू कोही थिए, पक्का छैन। b दुष्टहरूको फलिफाप देखेर आसाप (वा तिनको कुनै सन्तान) अलमल्लमा परेका थिए। तिनी उनीहरूप्रति डाही भएको विवरण हामी भजन ७३ अध्यायमा पाउँछौं। तिनले यस्तोसम्म भने: “निश्‍चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ।” सायद तिनले आफूले पाएको सेवाको सुअवसरलाई ध्यान दिएनन्‌ र यहोवा आफ्नो अंश हुनुहुन्छ भन्‍ने कुराको मोल गर्न सकेनन्‌। “परमेश्‍वरको पवित्रस्थानमा” नपसेसम्म तिनलाई बेचैनी भइरह्‍यो।—भज. ७३:२, ३, १२, १३, १७.

९, १०. आसापले यहोवालाई आफ्नो अंश भन्‍नुको मतलब के थियो?

पवित्रस्थानमा पसेपछि आसापले यहोवाको जस्तै दृष्टिकोण राख्न सके। कुनै समय तपाईंले पनि आसापले जस्तै अनुभव गर्नुभएको थियो कि? सायद तपाईंले यहोवाको सेवामा आफूले पाएको सुअवसरलाई हल्कासित लिंदै भौतिक तवरमा आफूसित ‘यो छैन वा ऊ छैन’ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुभएको हुन सक्छ। तर यस्तो बेला परमेश्‍वरको वचन अध्ययन गरेपछि अनि ख्रीष्टियन सभाहरूमा गएपछि तपाईंले यहोवाको जस्तै दृष्टिकोण राख्न सक्नुभयो होला। दुष्टहरूको आखिरी अवस्था कस्तो हुन्छ भनेर आसापले बुझ्न सके। तिनले आफूले पाएको असल कुराहरूमा ध्यान केन्द्रित गरे अनि यहोवाले तिनको दाहिने हात समातेर डोऱ्‍याउनुहुन्छ भनेर महसुस गरे। त्यसैले आसापले यहोवालाई यसो भन्‍न सके: “पृथ्वीमा पनि मैले चाहा गर्ने तपाईंबाहेक कोही छैन।” (भज. ७३:२३, २५) त्यसपछि तिनले यहोवा आफ्नो अंश भएको सङ्‌केत गरे। ( भजन ७३:२६ पढ्‌नुहोस्‌) यी भजनहारको तन र मन दुवै खिन्‍न भए तापनि तिनले सधैंभरि यहोवालाई आफ्नो अंशको रूपमा पाउन सक्थे। यहोवाले आफूलाई मित्रको रूपमा सम्झनुहुनेछ भनेर यी भजनहार ढुक्क थिए। तिनले वफादार भई गरेको सेवालाई यहोवाले बिर्सनुहुनेथिएन। (उप. ७:१) यो कुराले आसापलाई कत्ति आश्‍वासन दियो होला! पछि तिनले यस्तो गीत गाए: “परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ। . . . मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।”—भज. ७३:२८.

१० आसापले यहोवालाई आफ्नो अंश भन्दा तिनले लेवीको रूपमा उहाँबाट पाएका भौतिक कुराहरूबारे मात्र बताइरहेका थिएनन्‌। तिनले मुख्यतया यहोवाको सेवा गर्न आफूले पाएको सुअवसरबारे अनि उहाँसितको सम्बन्ध, मतलब सर्वोच्च परमेश्‍वरसित आफूले गाँस्न सकेको मित्रताबारे कुरा गरिरहेका थिए। (याकू. २:२१-२३) यो सम्बन्धलाई जोगाइराख्न यी भजनहारले सधैं यहोवामा भर पर्दै आफ्नो विश्‍वास जोगाइराख्नुपर्थ्यो। यहोवाको स्तरअनुरूप चलेमा अन्तमा उहाँले इनाम दिनुहुनेछ भनी तिनी विश्‍वस्त हुनुपर्थ्यो। तपाईंले पनि सर्वशक्‍तिमान्‌ परमेश्‍वरमा यस्तै भरोसा राख्न सक्नुहुन्छ!

११. यर्मियालाई कुन प्रश्‍नले रनभुल्लमा पाऱ्‍यो र उक्‍त प्रश्‍नको जवाफ यहोवाले कसरी दिनुभयो?

११ यहोवालाई आफ्नो अंश ठान्‍ने लेवी कुलका अर्का व्यक्‍ति हुन्‌—यर्मिया। तिनले यहोवालाई आफ्नो अंश भन्‍नुको मतलब के थियो, आउनुहोस्‌ हामी बुझौं। यर्मिया यरूशलेम नजिकै रहेको लेवीहरूको सहर अनातोतमा बस्थे। (यर्मि. १:१) एकताका तिनलाई यस्तो कुराले रनभुल्लमा पारेको थियो: दुष्टहरूको किन फलिफाप हुन्छ अनि धर्मीहरूले चाहिं किन दुःख पाउँछन्‌? (यर्मि. १२:१) यरूशलेम र यहूदामा भइरहेको कुरा देखिसकेपछि तिनले यहोवालाई त्यस विषयमा गुनासो गरे। यहोवाले सही कुरालाई प्रेम गर्नुहुन्छ भनेर यर्मियालाई थाह थियो। यरूशलेमको विनाशबारे यर्मियालाई भविष्यवाणी गर्न लगाएर अनि पछि त्यो भविष्यवाणी पूरा गरेर यहोवाले यर्मियाको प्रश्‍नको जवाफ दिनुभयो। भविष्यवाणी गरिएअनुरूप नै यहोवाको निर्देशनबमोजिम चल्नेहरूजति जीवित रहे तर उन्‍नति-प्रगति गरिरहेका दुष्टहरूले भने चेतावनी सुन्‍न इन्कार गरे र विनाश भोगे।—यर्मि. २१:९.

१२, १३. (क) यहोवालाई आफ्नो अंश बनाउन यर्मियालाई कुन कुराले उत्प्रेरित गऱ्‍यो अनि तिनको मनोवृत्ति कस्तो थियो? (ख) इस्राएलका सबै कुलले किन धैर्यसाथ प्रतीक्षा गर्ने मनोवृत्ति खेती गर्नुपर्थ्यो?

१२ पछि, ध्वस्त भएको आफ्नो गृहनगर देख्दा यर्मियालाई अन्धकारमा हिंडेको जस्तै भयो। मानौं, ‘धेरै दिनदेखि मरेको मुर्दाझैं यहोवाले तिनलाई अँध्यारो ठाउँमा हालिदिनुभयो।’ (विला. १:१, १६; ३:६) यर्मियाले हठी राष्ट्रलाई स्वर्गमा बस्नुहुने आफ्नो बुबाकहाँ फर्कन भनेका थिए तर तिनीहरूको खराबी यत्तिसम्म चुलिसकेको थियो कि परमेश्‍वरले यरूशलेम र यहूदा दुवैलाई नाश नगरी नहुने भयो। यसमा यर्मियाको कुनै दोष थिएन तैपनि तिनले पीडा महसुस गरे। दुःखको बेलामा पनि यी अगमवक्‍ताले परमेश्‍वरले देखाउनुभएको कृपालाई याद गरे। तिनले भने: “परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्म भएका छैनौं।” वास्तवमा, हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ! त्यसपछि यर्मियाले यहोवा आफ्नो अंश हुनुहुन्छ भन्‍ने अर्थ लाग्ने यस्तो अभिव्यक्‍ति चलाए: “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ।” तिनले अझै पनि अगमवक्‍ताको रूपमा यहोवाको सेवा गर्ने सुअवसर पाए।—विलाप ३:२२-२४ पढ्‌नुहोस्‌।

१३ सत्तरी वर्षसम्म इस्राएलीहरू घरबारविहीन हुने थिए। यरूशलेम उजाड अवस्थामा रहने थियो। (यर्मि. २५:११) तर यर्मियाले व्यक्‍त गरेको अभिव्यक्‍तिले तिनी यहोवाको कृपामा भरोसा गर्छन्‌ भन्‍ने देखियो। साथै यसले तिनलाई “धैर्यसाथ उहाँको प्रतीक्षा” गर्ने ठोस कारण पनि दियो। इस्राएलका सबै कुलले आफ्नो जग्गा-जमिन गुमाएका थिए, त्यसैले तिनीहरू सबैले यी अगमवक्‍ताको जस्तै मनोवृत्ति खेती गर्नुपर्ने थियो। तिनीहरूको एउटै आशा भन्‍नु नै यहोवा हुनुहुन्थ्यो। सत्तरी वर्षपछि, परमेश्‍वरका जनलाई तिनीहरूको मातृभूमिमा फर्काइयो अनि तिनीहरूले फेरि त्यहाँ बसेर यहोवाको सेवा गर्ने सुअवसर पाए।—२ इति. ३६:२०-२३.

यहोवा अरूको पनि अंश हुनुहुन्थ्यो

१४, १५. अरू कसले पनि यहोवालाई आफ्नो अंशको रूपमा पाए र किन?

१४ आसाप र यर्मिया दुवै लेवी कुलका थिए। तर यहोवाको सेवा गर्ने सुअवसर पाउने मानिसहरू लेवी कुलका मात्र थिएनन्‌। इस्राएलका भावी राजा दाऊदले यहोवाप्रतिको आफ्नो भरोसा प्रकट गर्दै यसो भने: “जीवितहरूको देशमा [तपाईं] मेरो भाग हुनुहुन्छ।” ( भजन १४२:१,  पढ्‌नुहोस्‌) यो भजन लेख्दा दाऊद कुनै दरबारमा थिएनन्‌, न त तिनी कुनै घरमा नै थिए। त्यतिबेला तिनी शत्रुहरूबाट जोगिनको लागि ओडारहरूमा लुक्दै हिंडिरहेका थिए। दाऊदले कम्तीमा पनि दुई पटक ओडारमा शरण लिए। एकपटक अदुल्लामको ओडारमा अनि अर्को पटक चाहिं एनगदीको उजाडस्थानमा। दाऊदले ती नै ओडारहरूमध्ये एउटामा भजन अध्याय १४२ रचेका हुन सक्छन्‌।

१५ यदि त्यसो हो भने त्यतिबेला राजा शाऊलले दाऊदलाई धुइँपत्ता लगाएर खोजिरहेका थिए। राजा शाऊलले मार्न खोजेकोले दाऊद भागेर कोही हत्तपत्त पुग्न नसक्ने निकै टाढाको ओडारमा लुकेका थिए। (१ शमू. २२:१, ४) यो एकलासको ठाउँमा बस्दा दाऊदलाई आफ्नो साथ दिने अनि आफूलाई जोगाउने कोही पनि साथी छैन भन्‍ने लागेको हुनुपर्छ। (भज. १४२:४) त्यतिबेला दाऊदले यहोवालाई पुकारे।

१६, १७. (क) दाऊदले निस्सहाय महसुस गर्नुको कारण के थियो? (ख) दाऊदले कसलाई मदतको लागि पुकार्न सक्थे?

१६ भजन अध्याय १४२ रचना गर्नुअघि दाऊदले प्रधान पुजारी अहीमेलेकमाथि के-कस्तो बज्रपात आइपऱ्‍यो भन्‍ने विषयमा थाह पाएको हुनुपर्छ। अहीमेलेकले दाऊदलाई मदत गरेका थिए तर दाऊद त्यतिबेला राजा शाऊलको हातबाट बच्न भाग्दैछन्‌ भन्‍ने कुरा तिनलाई थाह थिएन। तैपनि दाऊददेखि डाही भएका राजा शाऊलले अहीमेलेक र तिनको घरानालाई मार्न लगाए। (१ शमू. २२:११, १८, १९) दाऊदलाई यी सब हुनुको कारण आफै हो जस्तो लाग्यो। आफूलाई मदत गर्ने पुजारीलाई आफैले हत्या गरेको जस्तो दाऊदलाई लाग्यो। यदि तपाईं दाऊदको ठाउँमा भएको भए तपाईंलाई पनि त्यस्तै लाग्थ्यो कि? अझ दुःखलाग्दो कुरा त राजा शाऊलले दाऊदको पिछा नै छोडेनन्‌, जसले गर्दा दाऊदको पीडाले झनै विकराल रूप लियो।

१७ त्यसको केही समयपछि दाऊदलाई भावी राजाको रूपमा नियुक्‍त गर्ने अगमवक्‍ता शमूएलको पनि मृत्यु भयो। (१ शमू. २५:१) त्यतिबेला दाऊदले झनै निस्सहाय महसुस गरेको हुनुपर्छ। तैपनि यस्तो अवस्थामा कसलाई मदतको लागि पुकार्न सकिन्छ भनेर दाऊदलाई थाह थियो—हो, यहोवालाई। दाऊदले लेवीहरूको जस्तै जिम्मेवारी त पाएका थिएनन्‌ तर तिनलाई अर्कै किसिमको सेवा गर्न भने अभिषेक गरिएको थियो। त्यो हो, परमेश्‍वरका जनको राजा बन्‍ने। (१ शमू. १६:१, १३) त्यसैले दाऊदले आफ्नो मनको सबै बह यहोवालाई पोखे र उहाँको निर्देशन खोजी नै रहे। यहोवाको सेवा गर्दा उहाँमा भर परेर तपाईंले पनि यहोवालाई आफ्नो अंश बनाउन सक्नुहुन्छ।

१८. यहोवालाई आफ्नो अंश बनाउने ज-जसको बारेमा हामीले छलफल गऱ्‍यौं, तिनीहरूले कुन अर्थमा उहाँलाई आफ्नो अंश बनाए?

१८ यहोवालाई आफ्नो अंश बनाउने ज-जसको बारेमा हामीले छलफल गऱ्‍यौं, तिनीहरूले यस अर्थमा उहाँलाई आफ्नो अंश बनाएका थिए: तिनीहरू सबैले यहोवाको सेवा गर्ने जिम्मेवारी पाएका थिए। यहोवाको सेवा गर्दा उहाँले नै आफ्नो हेरविचार गर्नुहुन्छ भनेर तिनीहरूले भरोसा गरे। लेवी कुलका व्यक्‍तिहरूका साथै अरू कुलका व्यक्‍तिहरू, जस्तो कि दाऊदले परमेश्‍वरलाई आफ्नो अंश बनाए। तपाईंले पनि कसरी यहोवालाई आफ्नो अंश बनाउन सक्नुहुन्छ? यस विषयमा हामी अर्को लेखमा छलफल गर्नेछौं।

[फुटनोट]

a पुजारीवर्गको कसरी हेरविचार गरिन्थ्यो भन्‍ने विषयमा थप जानकारीको लागि धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी), खण्ड २, पृष्ठ ६८४ हेर्नुहोस्‌।

b राजा दाऊदको समयमा लेवी कुलका आसापले गायकहरूको नेतृत्व गर्थे।—१ इति. ६:३१-४३.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवा कुन अर्थमा लेवीहरूको अंश हुनुहुन्थ्यो?

• आसाप, यर्मिया र दाऊदले यहोवा आफ्नो अंश भएको कुरा कसरी देखाए?

• परमेश्‍वरलाई आफ्नो अंश बनाउने हो भने तपाईंमा कुन गुण हुनु आवश्‍यक छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

लेवीहरूले जग्गा-जमिन पाएनन्‌। तिनीहरूको अंश यहोवा नै हुनुहुन्थ्यो किनभने तिनीहरूले उहाँको सेवा गर्ने ठूलो सुअवसर पाएका थिए

[पृष्ठ ७-मा भएको चित्र]

यहोवा नै पुजारी अनि लेवीहरूको अंश हुनुहुन्थ्यो, कसरी?

[पृष्ठ ९-मा भएको चित्र]

यहोवालाई आफ्नो अंश बनाइरहन आसापलाई कुन कुराले मदत गऱ्‍यो?