सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यहोवाले तपाईंलाई चिन्‍नुहुन्छ?

के यहोवाले तपाईंलाई चिन्‍नुहुन्छ?

के यहोवाले तपाईंलाई चिन्‍नुहुन्छ?

“आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ।”—२ तिमो. २:१९.

१, २. (क) येशू कुन कुरामा सजग हुनुहुन्थ्यो? (ख) हामीले कस्ता प्रश्‍नहरूमा विचार गर्नुपर्छ?

 एकदिन एक जना फरिसीले येशूकहाँ आएर यस्तो प्रश्‍न सोध्यो: “व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?” उहाँले उसलाई यस्तो जवाफ दिनुभयो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३५-३७) येशू स्वर्गमा बस्नुहुने आफ्नो बुबालाई एकदमै माया गर्नुहुन्थ्यो र उहाँले त्यस फरिसीलाई जे भन्‍नुभयो त्यसैअनुसार आफूले पनि गर्नुहुन्थ्यो। यहोवाले आफूलाई कुन नजरले हेर्नुहुन्छ भन्‍ने कुरामा पनि येशू सजग हुनुहुन्थ्यो र आफ्नो विश्‍वासी जीवनशैलीद्वारा उहाँले यसको प्रमाण दिनुभयो। त्यसकारण यहोवाले आफूलाई विश्‍वासी भएर आज्ञा पालन गर्ने व्यक्‍तिको रूपमा चिन्‍नुहुन्छ भनेर येशूले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि भन्‍न सक्नुभयो। यसरी उहाँ परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुभयो।—यूह. १५:१०.

आज थुप्रैले परमेश्‍वरलाई प्रेम गरेको दाबी गर्छन्‌। यस्तो दाबी गर्ने व्यक्‍तिहरूमध्ये हामी पनि पर्छौं। तर विचार गर्नुपर्ने महत्त्वपूर्ण प्रश्‍नहरू पनि छन्‌। ती हुन्‌: ‘के परमेश्‍वरले मलाई चिन्‍नुहुन्छ? यहोवाले मलाई कुन दृष्टिले हेर्नुहुन्छ? के म उहाँको हुँ भनेर चिनिन्छु?’ (२ तिमो. २:१९) ब्रह्‍माण्डकै सार्वभौम प्रभुसँग यस्तो घनिष्ठ सम्बन्ध गाँस्न पाउनु कत्ति ठूलो सुअवसर!

३. कोही-कोहीले आफू यहोवाको सम्पत्ति बन्‍न सक्दिनँ भनेर किन सोच्छन्‌ र यस्तो सोचाइ कसरी हटाउन सकिन्छ?

तर यहोवालाई औधी माया गर्नेहरूले समेत उहाँलाई आफ्नो साथी बनाउनु चुनौतीपूर्ण पाएका छन्‌। कोही-कोहीले आफूलाई बेकम्मा महसुस गर्छन्‌। त्यसैले तिनीहरू यहोवाको बन्‍न सकिंदैन भन्‍ने सोच्छन्‌। तर यहोवा त्यस्तो सोच्नुहुन्‍न भनेर थाह पाउनु हाम्रो लागि कत्ति खुसीको कुरा हो! (१ शमू. १६:७) प्रेषित पावलले आफ्ना सँगी ख्रीष्टियनहरूलाई यसो भने: “यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने परमेश्‍वरले उसलाई चिन्‍नुहुन्छ।” (१ कोरि. ८:३) यदि तपाईं यहोवाले आफूलाई चिनेको चाहनुहुन्छ भने उहाँलाई प्रेम गर्नु एकदमै महत्त्वपूर्ण छ। यो कुरा विचार गर्नुहोस्‌: तपाईं यो पत्रिका किन पढ्‌दै हुनुहुन्छ? तपाईं किन यहोवालाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले अनि आफ्नो सारा बलले सेवा गर्ने प्रयास गर्दै हुनुहुन्छ? यदि तपाईं बप्तिस्मा गरिसकेको समर्पित व्यक्‍ति हुनुहुन्छ भने ती कदम चाल्न तपाईंलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? हृदय जाँच्नुहुने यहोवाले धन-सम्पत्तिरूपी योग्य जनहरूलाई खिच्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। ( हाग्गै २:७; यूहन्‍ना ६:४४ पढ्‌नुहोस्‌) त्यसकारण उहाँले खिच्नुभएकोले नै तपाईं उहाँको सेवा गर्दै हुनुहुन्छ भन्‍ने निष्कर्षमा तपाईं पुग्न सक्नुहुन्छ। आफूले खिचेका व्यक्‍तिहरू विश्‍वासी रहिरहेमा उहाँले तिनीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन। उहाँले तिनीहरूलाई एकदमै बहुमूल्य सम्झनुहुन्छ र असाध्यै माया गर्नुहुन्छ।—भज. ९४:१४.

४. परमेश्‍वरसितको मित्रतालाई हामीले किन हल्कासित लिनुहुँदैन?

यहोवाले हामीलाई खिचिसकेपछि हामीले आफूलाई उहाँको प्रेम पाउन लायक बनाइराख्नुपर्छ। ( यहूदा २०, २१ पढ्‌नुहोस्‌) याद गर्नुहोस्‌, हामी परमेश्‍वरबाट तर्केर जान वा टाढा हुन सक्छौं भनेर बाइबल बताउँछ। (हिब्रू २:१; ३:१२, १३) जस्तै: २ तिमोथी २:१९ भन्दा अघिका पदहरूमा प्रेषित पावलले हाइमेनियस र फिलेतसबारे उल्लेख गरेका छन्‌। तिनीहरूले कुनै समय यहोवाको सेवा गरेका थिए तर पछि तिनीहरू सत्यबाट तर्केर गए। (२ तिमो. २:१६-१८) गलाती मण्डलीमा भएकाहरूलाई पनि याद गर्नुहोस्‌, परमेश्‍वरबाट चिनिएका कोही-कोहीले आफूले पहिला पाएको आध्यात्मिक ज्योतिलाई तिरस्कार गरे। (गला. ४:९) परमेश्‍वरसितको मित्रतालाई हामी कहिल्यै हल्कासित नलेऔं।

५. (क) यहोवाले मोल गर्नुहुने केही गुण के-के हुन्‌? (ख) हामी कस्ता उदाहरणहरू विचार गर्नेछौं?

यहोवाले मोल गर्नुहुने केही खास गुणहरू छन्‌। (भज. १५:१-५; १ पत्रु. ३:४) विश्‍वास अनि नम्रताको कारण यहोवाले चिन्‍ने व्यक्‍तिहरू अरूभन्दा भिन्‍न देखिन्थे। यी गुणहरू देखाएको कारण दुई जना व्यक्‍ति कसरी यहोवाको प्रिय पात्र बन्‍न सके, आउनुहोस्‌ हामी तिनीहरूको उदाहरण केलाएर हेरौं। साथै यहोवाले ‘मलाई चिन्‍नुहुन्छ’ भनेर सोच्ने एक जना व्यक्‍तिले घमन्डी मार्ग पछ्याएको कारण तिनलाई यहोवाले त्याग्नुभएको उदाहरण पनि हामी विचार गर्नेछौं। यी उदाहरणहरूबाट हामी अमूल्य पाठ सिक्न सक्छौं।

विश्‍वासले गर्दा असल ठहरिएकाहरू सबैका बुबा

६. (क) अब्राहामले यहोवाका प्रतिज्ञाहरूप्रति कस्तो विश्‍वास देखाए? (ख) यहोवाले अब्राहामलाई कसरी चिन्‍नुहुन्थ्यो?

अब्राहाम “परमप्रभुमाथि विश्‍वास” गर्ने व्यक्‍ति थिए। वास्तवमा तिनलाई ‘विश्‍वासले गर्दा असल ठहरिएकाहरू सबैको बुबा’ भनिएको छ। (उत्प. १५:६; रोमी ४:११) विश्‍वासले गर्दा नै अब्राहामले धेरै टाढाको भूमिमा जान आफ्नो सम्पूर्ण घरबार, साथीभाइ अनि आरामदायी जीवन त्यागे। (उत्प. १२:१-४; हिब्रू ११:८-१०) यसको वर्षौंपछि पनि अब्राहामको विश्‍वास उत्तिकै बलियो थियो। तिनले यहोवाको आज्ञा पालन गर्दै आफ्नो छोरा ‘इसहाकलाई बलि’ चढाउन तयार भएको घटनाबाट यो कुरा स्पष्ट हुन्छ। (हिब्रू ११:१७-१९) अब्राहामले यहोवाका प्रतिज्ञाहरूप्रति विश्‍वास देखाएको कारण उहाँले तिनलाई विशेष पात्र ठान्‍नुभयो; हो यहोवाले तिनलाई साँच्चै चिन्‍नुहुन्थ्यो। ( उत्पत्ति १८:१९ पढ्‌नुहोस्‌) यहोवाले अब्राहामको अस्तित्व छ भनेर मात्र ठान्‍नुभएन; तिनलाई आफ्नो मित्र बन्‍ने अवसर दिएर माया पनि देखाउनुभयो।—याकूब २:२२, २३.

७. यहोवाका प्रतिज्ञाहरूबारे अब्राहामलाई कुन कुरा थाह थियो? यसले तिनको जीवनमा कस्तो असर गऱ्‍यो?

अब्राहामले आफ्नो जीवनकालमै प्रतिज्ञा गरिएको देशमाथि अधिकार गर्न पाएनन्‌। साथै आफ्ना सन्तान वृद्धि भएर “आकाशका तारा र समुद्र किनारका बालुवासरह” भएको पनि तिनले देख्न पाएनन्‌। (उत्पत्ति २२:१७, १८) तैपनि तिनले यहोवाप्रतिको आफ्नो बलियो विश्‍वास कायमै राखे। यहोवाले जे-जति बोल्नुहुन्छ ती सबै पूरा भएजत्तिकै हो भनेर तिनलाई थाह थियो। हो, अब्राहामले आफ्नो विश्‍वासअनुसारै जीवन बिताए। ( हिब्रू ११:१३ पढ्‌नुहोस्‌) के यहोवाले हामीलाई अब्राहामको जस्तै विश्‍वास भएको व्यक्‍ति भनेर चिन्‍नुहुन्छ?

यहोवाको समय पर्खनु—विश्‍वासको चिनारी

८. कोही-कोही कस्ता चाहनाहरू पूरा भएको हेर्न चाहन्छन्‌?

आफूलाई मन लागेको कुरा चाँडै पूरा होस्‌ भन्‍ने हामी सबै चाहन्छौं होला। विवाह गर्ने, बच्चाबच्ची जन्माउने अनि स्वस्थ रहने जस्ता चाहनाहरू स्वाभाविक हुन्‌ अनि उचित पनि। तर सबैको जिन्दगीमा सबै थोक पूरा हुन्छ भन्‍ने छैन। यदि हाम्रो पनि केही इच्छा-आकाङ्‌क्षा पूरा भएको छैन भने त्यस्तो परिस्थितिमा हामी जस्तो प्रतिक्रिया देखाउँछौं, त्यसले नै हाम्रो विश्‍वासको मापन गर्छ।

९, १०. (क) कोही-कोहीले कसरी आफ्नो इच्छा-आकाङ्‌क्षाहरू पूरा गर्न खोजेका छन्‌? (ख) परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने विषयमा तपाईंको धारणा कस्तो छ?

ईश्‍वरीय बुद्धिसित मेल नखाने तरिका अपनाएर यस्ता इच्छा-आकाङ्‌क्षाहरू पूरा गर्न खोज्नु कत्ति मूर्खतापूर्ण कुरा हो! यसले आध्यात्मिक रूपमा हानि पुऱ्‍याउन सक्छ। उदाहरणका लागि, कोही-कोहीले यहोवाले दिनुभएको सल्लाहविपरीतका स्वास्थ्य उपचारविधिहरू अपनाएका छन्‌। अरू कतिपयले भने आफ्नो परिवारबाट टाढिनुपर्ने वा सभाहरू छुटाउनुपर्ने जागिर खाएका छन्‌। विश्‍वासमा नभएका व्यक्‍तिहरूसित रोमान्टिक सम्बन्ध विकास गर्ने सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ नि? त्यस्तो मार्ग अपनाउने व्यक्‍तिले ‘आफूलाई यहोवाले चिनेको चाहन्छु’ भन्‍ने कुरा साँच्चै नै देखाइरहेको हुन्छ र? यहोवाले गर्नुभएका प्रतिज्ञाहरू पूरा हुने सन्दर्भमा अब्राहाम अधीर भएका भए यहोवालाई कस्तो लाग्थ्यो? अब्राहामले आफूखुसी फेरि घरगृहस्थी सँभाल्न खोजेका भए वा यहोवाको समय नपर्खीकन आफ्नै तरिकाले नाम कमाउन खोजेका भए के हुन्थ्यो? (उत्पत्ति ११:४ तुलना गर्नुहोस्‌) के यहोवाले तिनलाई आफ्नो मित्र सम्झिरहनुहुने थियो र?

१० तपाईं कस्तो इच्छा-आकाङ्‌क्षा पूरा भएको हेर्न चाहनुहुन्छ? के तपाईंको विश्‍वास परमेश्‍वरको समय पर्खन सक्ने हदसम्मको बलियो छ? उहाँले तपाईंको हर उचित चाहना पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। (भजन १४५:१६) अब्राहामको समयमा जस्तै हामीले चाहेकै समयमा ईश्‍वरीय प्रतिज्ञाहरू पूरा नहोलान्‌। तैपनि अब्राहामको जस्तै विश्‍वास खेती गर्दा र त्यसैअनुसार जीवन बिताउँदा यहोवा त्यसको मोल गर्नुहुन्छ। अनि त्यसो गर्दा आखिरमा हाम्रै फाइदा हुन्छ।—हिब्रू ११:६.

नम्रता अनि घमन्डबीचको भिन्‍नता

११. कोरहले कस्तो सुअवसर पाएको हुनुपर्छ? यहोवाप्रतिको उनको मनोभाव कस्तो थियो?

११ यहोवाको प्रबन्ध अनि निर्णयप्रति आदर देखाउने सन्दर्भमा मोशा र कोरहले देखाएको प्रतिक्रियामा आकाश-जमिनको भिन्‍नता थियो। उनीहरूले देखाएको प्रतिक्रियाले उनीहरूप्रति यहोवाले राख्नुभएको दृष्टिकोणमा असर गऱ्‍यो। कोरह कहाती खलकका लेवी थिए अनि उनले थुप्रै सुअवसरहरू पनि पाएका थिए। सायद उनले इस्राएलीहरूले लाल समुद्र पार गरेर छुटकारा पाएको देखेका थिए, सीनै पर्वतमा इस्राएलीहरू अनाज्ञाकारी हुँदा यहोवाले दिनुभएको न्यायदण्डलाई समर्थन गरेका थिए अनि करारको सन्दुक एक ठाउँबाट अर्को ठाउँमा लैजाने जिम्मा पनि पाएका थिए। (प्रस्थ. ३२:२६-२९; गन्ती ३:३०, ३१) उनी पक्कै पनि वर्षौंसम्म यहोवाप्रति वफादार रहेका थिए अनि यही कारण थुप्रै इस्राएलीहरूबाट उनले आदर पाएका थिए।

१२. पृष्ठ २८ को चित्रमा देखाइएझैं परमेश्‍वरबाट चिनिनदेखि कोरहलाई घमन्डले कसरी असर गऱ्‍यो?

१२ तथापि इस्राएलीहरू प्रतिज्ञा गरिएको भूमितर्फ जाँदै गर्दा कोरहले परमेश्‍वरको प्रबन्धमा खोट भएको महसुस गरे। अनि यसलाई परिवर्तन गर्न इस्राएलका अरू २५० नेताहरूले उनलाई साथ दिए। परमेश्‍वरसितको आफ्नो सम्बन्ध बलियो छ भन्‍ने कुरामा कोरह र ती नेताहरू ढुक्क थिए। उनीहरूले मोशा र हारूनलाई यसो भने: “समुदायका हरेक नै पवित्र छन्‌, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ र पनि तपाईंहरू किन आफूलाई उच्च तुल्याउनुहुन्छ?” (गन्ती १६:१-३) कत्ति घमन्डी अनि अतिविश्‍वस्त भएका उनीहरू! मोशाले उनीहरूलाई यसो भने: “को-को उहाँका हुन्‌ . . . परमप्रभुले नै देखाइदिनुहुन्छ।” ( गन्ती १६:५ पढ्‌नुहोस्‌) अर्को दिनको साँझसम्ममा त कोरह र उनलाई विद्रोहमा साथ दिनेहरू सबै मरिसकेका थिए।—गन्ती १६:३१-३५.

१३, १४. मोशाले कुन-कुन तरिकामा नम्रता देखाए?

१३ यसको ठीकविपरीत “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) यहोवाको निर्देशन पछ्याउने कुरामा दृढ रहेर तिनले नम्रता देखाए। (प्रस्थ. ७:६; ४०:१६) मोशाले यहोवाको तौरतरिकामाथि प्रश्‍न खडा गर्ने गरेको वा उहाँले तोक्नुभएको प्रक्रियालाई बेवास्ता गर्ने गरेको कुनै सङ्‌केत हामी पाउँदैनौं। उदाहरणका लागि, बासस्थान बनाउने सन्दर्भमा यहोवाले एकदमै सानो-सानो निर्देशन पनि दिनुभएको थियो; जस्तो कि: धागोको रङ्‌ग, पर्दामा प्रयोग गर्नुपर्ने घुणीघरको सङ्‌ख्या आदि। (प्रस्थ. २६:१-६) यहोवाको सङ्‌गठनमा निरीक्षकको भूमिका निभाउने कसैले यसरी सानो-सानो कुरामा निर्देशन दिंदा तपाईंलाई कहिलेकाहीं दिक्क लाग्छ होला। तर यहोवा त्रुटिरहित निरीक्षक हुनुहुन्छ। उहाँ आफ्ना जनलाई कन्जुस्याइँ नगरी जिम्मेवारीहरू सुम्पनुहुन्छ र तिनीहरूले त्यो राम्ररी पूरा गर्न सक्छन्‌ भनेर भरोसा गर्नुहुन्छ। उहाँले कुनै उचित कारणविना स-सानो कुरामा निर्देशन दिनुहुन्‍न। याद गर्नुहोस्‌, यहोवाले यस्तो स-सानो कुराको निर्देशन दिंदासमेत मोशा रिसाएनन्‌। अनि यहोवाले आफूलाई होच्याएको वा आफ्नो सृजनशीलताको गला अँठ्याएको महसुस तिनले गरेनन्‌। बरु, कामदारहरूले “सबै काम” यहोवाको निर्देशनबमोजिम नै गरे कि गरेनन्‌ भनेर तिनले पक्का गरे। (प्रस्थ. ३९:३२) मोशाको कत्ति ठूलो नम्रता! तिनले यो काम यहोवाकै हो अनि त्यसलाई पूरा गर्न आफूले एउटा सानो भूमिका मात्र पाएको हो भन्‍ने कुरा स्वीकारे।

१४ आफूलाई व्यक्‍तिगत तवरमा असर गर्ने प्रतिकूल परिस्थितिको सामना गर्नुपर्दा समेत मोशाले नम्रता देखाए। मानिसहरूले गनगन गर्दा एकपटक मोशाले संयम गुमाए र परमेश्‍वरको महिमा गर्न चुके। फलत: तिनले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजान पाउनेछैनन्‌ भनेर यहोवाले बताउनुभयो। (गन्ती २०:२-१२) मोशा र तिनको दाइ हारूनले इस्राएलीहरूको गनगन वर्षौंदेखि सहँदै आएका थिए। तर यो एउटा भुलले गर्दा तिनको वर्षौंदेखिको सपना चकनाचूर भयो! यतिबेला मोशाले कस्तो प्रतिक्रिया देखाए? तिनी पक्कै निराश भए होलान्‌ तैपनि तिनले यहोवाको निर्णय नम्रतासाथ स्वीकारे। यहोवा अधर्मविहीन अनि न्यायी परमेश्‍वर हुनुहुन्छ भनेर तिनलाई थाह थियो। (व्यव. ३:२५-२७; ३२:४) मोशालाई विचार गर्दा यहोवाले तिनलाई राम्ररी चिन्‍नुहुन्थ्यो भन्‍ने के तपाईंलाई लाग्दैन र?प्रस्थान ३३:१२, १३ पढ्‌नुहोस्‌।

यहोवाको अधीनमा बस्न नम्रता चाहिन्छ

१५. कोरहले घमन्डी मार्ग पछ्याएको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१५ विश्‍वव्यापी ख्रीष्टियन मण्डलीमा नयाँ छाँटकाँट भयो वा त्यसमा अगुवाइ लिनेहरूले कुनै निर्णय गरे भने हामी कस्तो प्रतिक्रिया देखाउँछौं, त्यसमा नै यहोवाले हामीलाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ भन्‍ने कुरा निर्भर हुन्छ। कोरह र तिनका साथीहरूले अतिविश्‍वस्तता, घमन्ड अनि विश्‍वासको कमीको कारण आफूलाई परमेश्‍वरबाट टाढा बनाए। कोरहको नजरमा हरेक निर्णय गर्ने व्यक्‍ति बूढो भइसकेका मोशा थिए तर वास्तवमा इस्राएलीहरूलाई निर्देशन दिने व्यक्‍ति यहोवा हुनुहुन्थ्यो। कोरहले यो वास्तविकता बुझ्न सकेनन्‌ र परिणामस्वरूप उनले परमेश्‍वरद्वारा नियुक्‍त व्यक्‍तिहरूप्रति वफादारिता देखाउन सकेनन्‌। कुरा अझै राम्रोसँग बुझ्न वा आवश्‍यक छाँटकाँट भएको हेर्न कोरहले यहोवाको समय पर्खेको भए कत्ति बुद्धिमानी हुन्थ्यो! घमन्डी मार्ग पछ्याएर कोरहले वर्षौंदेखिको आफ्नो विश्‍वासी सेवाको रेकर्ड आफैले ध्वस्त पारे।

१६. मोशाको नम्रताको उदाहरण अनुकरण गर्दा हामी कसरी यहोवाबाट चिनिन सक्छौं?

१६ यो विवरणले आज पनि मण्डलीका एल्डर अनि अरूहरूलाई गम्भीर चेतावनी दिन्छ। यहोवाको समय पर्खन अनि उहाँद्वारा नियुक्‍त अगुवाहरूको निर्देशन पछ्याउन हामीमा नम्रता हुनु जरुरी छ। के हामी मोशा जत्तिकै नम्र अनि कोमल स्वभावका छौं भनेर देखाउँछौं? के हामीले मण्डलीमा अगुवाइ लिनेहरूको स्थानलाई बुझेका छौं र तिनीहरूबाट पाउने निर्देशन स्वीकार्छौं? निराश हुँदा के हामी आफ्नो भावनालाई काबूमा राख्छौं? यदि त्यसो हो भने हामीले पनि यहोवाको अनुमोदन पाउनेछौं। नम्र हुँदा अनि अधीनता स्वीकार्दा हामी उहाँको प्रिय पात्र बन्‍न सक्छौं।

आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ

१७, १८. यहोवाको भइरहन हामीलाई कुन कुराले मदत गर्न सक्छ?

१७ यहोवाले खिच्नुभएका अनि उहाँले आफ्नो मित्र बन्‍न निमन्त्रणा दिनुभएका व्यक्‍तिहरूको उदाहरण विचार गर्नु फाइदाजनक छ। अब्राहाम र मोशा हामीजस्तै त्रुटिपूर्ण थिए र गल्तीहरू गर्थे। तैपनि यहोवाले तिनीहरूलाई आफ्ना जनहरूको रूपमा चिन्‍नुभयो। तर कोरहको उदाहरणबाट सिकेझैं हामी यहोवाबाट टाढिन सक्छौं र कुनै समय उहाँले चिनेको व्यक्‍ति भए पनि पछि गएर उहाँको अनुमोदन गुमाउन सक्छौं। हामी सबैले आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ: ‘यहोवाले मलाई कुन नजर लेहेर्नुहुन्छ? यी बाइबल उदाहरणबाट म के सिक्न सक्छु?’

१८ आफूले खिचेको विश्‍वासी जनलाई यहोवा आफ्नै ठान्‍नुहुन्छ भनेर थाह पाउँदा तपाईं एकदमै सान्त्वना पाउन सक्नुहुन्छ। यहोवाको प्रिय पात्र बन्‍न मदत गर्ने विश्‍वास, नम्रता अनि अरू गुणहरू विकास गर्दै जानुहोस्‌। यहोवाबाट चिनिन पाउनु भनेको साँच्चै नै बहुमूल्य सुअवसर हो। अनि यसले हामीलाई अहिल्यै पनि सन्तुष्टि दिन्छ भने भविष्यमा अवर्णनीय आशिष्‌।—भज. ३७:१८.

के तपाईंलाई याद छ?

• तपाईंले यहोवासित कस्तो सम्बन्ध गाँस्न सक्नुहुन्छ?

• तपाईं अब्राहामको विश्‍वासको अनुकरण कसरी गर्न सक्नुहुन्छ?

• कोरह र मोशाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाले आफ्ना प्रतिज्ञाहरू निश्‍चय नै पूरा गर्नुहुनेछ भनेर के हामी अब्राहामले जस्तै विश्‍वास गर्छौं?

[पृष्ठ २८-मा भएको चित्र]

कोरह नम्रतापूर्वक यहोवाको प्रबन्ध स्वीकार्न राजी भएनन्‌

[पृष्ठ २९-मा भएको चित्र]

के यहोवाले तपाईंलाई नम्रतापूर्वक निर्देशन स्वीकार्ने व्यक्‍ति भनेर चिन्‍नुहुन्छ?