सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंको मनोरञ्जन फाइदाजनक छ?

के तपाईंको मनोरञ्जन फाइदाजनक छ?

के तपाईंको मनोरञ्जन फाइदाजनक छ?

“प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।”—एफि. ५:१०.

१, २. (क) यहोवा हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ भनेर बाइबलले कसरी संकेत गर्छ? (ख) मनोरञ्जनलाई “परमेश्‍वरको दान”-को रूपमा हेऱ्‍यौं भने हामी के गर्न उत्प्रेरित हुनेछौं?

 यहोवा हामी बाँचेको मात्र होइन जीवनबाट आनन्द उठाएको पनि चाहनुहुन्छ भनेर संकेत गर्ने भनाइहरू हामी बाइबलभरि पाउँछौं। उदाहरणको लागि, भजन १०४:१४, १५ अनुसार यहोवाले “मानिसको कामको निम्ति सागपातहरू उमार्नुहुन्छ। मानिसको मन खुस गराउनलाई दाखमद्य, र त्यसको मुख चहकिलो पार्नलाई तेल र मानिसको हृदय बलियो तुल्याउनलाई अन्‍न उमार्नुहुन्छ।” हो, यहोवाले विभिन्‍न थोक उब्जाइदिनुभएकोले नै हामीले जीवन धान्‍नको लागि अन्‍न, तेल र दाखमद्य पाउन सकेका हौं। दाखमद्यले हाम्रो ‘मन पनि खुसी’ बनाउँछ। हुनत दाखमद्य हाम्रो जीवन धान्‍नको लागि नभई नहुने कुरा होइन तैपनि यसले हामीलाई आनन्दित तुल्याउँछ। (उप. ९:७; १०:१९क) साँच्चै, यहोवा हामीले रमाइलो गरेको अनि हाम्रो हृदय “आनन्दले” भरिएको चाहनुहुन्छ।—प्रेषि. १४:१६, १७.

त्यसकारण, कहिलेकाहीं “आकाशका चराचुरुङ्‌गी” र “मैदानका फूलहरू” नियाल्न समय छुट्ट्याउँछौं वा स्फूर्ति दिने अनि जीवनलाई आनन्दित तुल्याउने अन्य केही कुरा गर्छौं भने हामीले ‘अनावश्‍यक कुरामा समय खेर फालें कि’ भनेर नराम्रो मान्‍नुपर्दैन। (मत्ती ६:२६, २८; भज. ८:३, ४) स्वस्थकर अनि आनन्दित जीवन “परमेश्‍वरको दान हो।” (उप. ३:१२, १३) फुर्सतको समयलाई परमेश्‍वरले दिनुभएको दानको रूपमा हेऱ्‍यौं भने हामी उक्‍त समय उहाँलाई खुसी तुल्याउने तरिकामा बिताउन उत्प्रेरित हुनेछौं।

विविधता अनि सीमितता

३. विभिन्‍न तरिकाले मनोरञ्जन गर्नु किन गलत होइन?

मनोरञ्जनप्रति सन्तुलित दृष्टिकोण राख्नेहरूले विभिन्‍न किसिमको मनोरञ्जनलाई स्वीकार्य ठान्छन्‌ तर कुन हदसम्म मनोरञ्जन गर्नु ठीक हुन्छ, त्यो पनि तिनीहरूले राम्रोसँग बुझेका हुन्छन्‌। तिनीहरू किन यस्तो सोचाइ राख्छन्‌? यसको जवाफ पाउन आउनुहोस्‌, हामी मनोरञ्जनलाई खानेकुरासित तुलना गरेर हेरौं। खाने सन्दर्भमा मानिसको रुचि ठाउँअनुसार फरक हुन्छ। साँच्चै भन्‍ने हो भने एक ठाउँका मानिसहरूलाई मनपर्ने खाना अर्को ठाउँका मानिसहरूलाई मन नपर्न सक्छ। त्यसैगरि, कुनै देशका ख्रीष्टियनहरूलाई रमाइलो लाग्ने मनोरञ्जन अर्को देशका ख्रीष्टियनहरूलाई रमाइलो नलाग्न सक्छ। एउटै इलाकामा बस्ने ख्रीष्टियनहरूमाझ समेत एक जनालाई मज्जा लाग्ने कुरा (राम्रो किताब पढ्‌नु) अर्कोलाई पट्टाइलाग्दो हुनसक्छ वा एक जनालाई स्फूर्तिदायी लाग्ने कुरा (साइकल चलाएर घुमफिर गर्नु) अर्कोलाई थकाइलाग्दो हुनसक्छ। हो, खाने अनि मनोरञ्जन गर्ने जस्ता कुराहरूको सन्दर्भमा प्रत्येक व्यक्‍तिको आ-आफ्नै रुचि हुन्छ भन्‍ने कुरा हामी मानिलिन्छौं।—रोमी १४:२-४.

४. मनोरञ्जन गर्ने सन्दर्भमा हामीले किन सीमा तोक्नुपर्छ? उदाहरणसहित बुझाउनुहोस्‌।

तर विभिन्‍न किसिमको मनोरञ्जन स्वीकार्य छ भन्दैमा यो मनलागी गर्ने लाइसेन्स चाहिं होइन। यसको लागि फेरि खानेकुराको उदाहरण विचार गर्नुहोस्‌। हामी थरीथरीको खानेकुरा खान चाहन्छौं होला तर जानाजानी सडेगलेको खानेकुरा त खाँदैनौं नि, होइन र? मगज बिग्रेको मान्छेले मात्र त्यस्तो खानेकुरा खान्छ अनि त्यसले स्वास्थ्यलाई पनि हानि पुऱ्‍याउन सक्छ। त्यसैगरि, हामी विभिन्‍न किसिमको स्वस्थकर मनोरञ्जनमा भाग लिन चाहन्छौं होला तर हाम्रो जीवनलाई नै हानि पुऱ्‍याउने, हिंसात्मक अनि नैतिक रूपमा सडेको कुराहरूलाई हामी मनोरञ्जनको रूपमा लिन चाहँदैनौं। त्यस्ता कुराहरूमा भाग लिनु बाइबल सिद्धान्त विपरीत हो र त्यसले हाम्रो शारीरिक अनि आध्यात्मिक स्वास्थ्यलाई हानि पुऱ्‍याउँछ। मनोरञ्जनको सन्दर्भमा हामी सीमाभन्दा बाहिर गइरहेका छौं कि भनेर थाह पाउन हामीले आफूलाई मनपर्ने मनोरञ्जन साँच्चै फाइदाजनक छ कि छैन भनेर पहिल्यै पक्का गर्नु आवश्‍यक छ। (एफि. ५:१०) हामी कसरी त्यसो गर्न सक्छौं?

५. हाम्रो मनोरञ्जन परमेश्‍वरको स्तरअनुरूप छ कि छैन भनेर कसरी पक्का गर्न सक्छौं?

यदि हाम्रो मनोरञ्जन फाइदाजनक अनि यहोवाको नजरमा स्वीकारयोग्य होस्‌ भन्‍ने चाहन्छौं भने त्यो परमेश्‍वरको वचनमा तोकिएको स्तरअनुरूप हुनै पर्छ। (भज. ८६:११) तपाईंलाई मनपर्ने मनोरञ्जन बाइबल स्तरअनुरूप छ कि छैन भनेर पक्का गर्न एउटा साधारण सूचि विचार गर्न सक्नुहुन्छ। यो सूचिमा तीन वटा प्रश्‍न छन्‌ र ती प्रश्‍नहरूलाई छोटकरीमा यसरी लेख्न सकिन्छ: कस्तो, कति र को। आउनुहोस्‌, यी प्रत्येक प्रश्‍नलाई पालैपालो विचार गरौं।

यो मनोरञ्जन कस्तो छ?

६. हामीले कस्तो मनोरञ्जनलाई नकार्नुपर्छ र किन?

कुनै मनोरञ्जनमा भाग लिनुभन्दा अघि तपाईंले आफैलाई सोध्नुपर्ने प्रश्‍न हो—“कस्तो?” यसको मतलब, “फुर्सतको समयमा मैले गर्ने मनोरञ्जन कस्तो किसिमको छ?” भनेर तपाईंले आफैलाई सोध्नुपर्छ। यस्तो प्रश्‍न सोधिसकेपछि सामान्यतया मनोरञ्जन दुई किसिमको हुन्छ भन्‍ने कुरा मनमा राख्नु फाइदाजनक हुन्छ। पहिलो किसिमको मनोरञ्जनलाई हामी सीधै नकार्छौं र दोस्रो किसिमको मनोरञ्जनलाई चाहिं नकार्न पनि सक्छौं वा स्वीकार्न पनि सक्छौं। हामीले नकार्नुपर्ने पहिलो किसिमको मनोरञ्जन कस्तो हुन्छ? अहिलेको दुष्ट संसारमा मानिसहरूले गर्ने मनोरञ्जनले सजिलै बाइबलको सिद्धान्त वा परमेश्‍वरले तोक्नुभएको नियम उल्लङ्‌घन गर्न लगाउँछ। (१ यूह. ५:१९) साँचो ख्रीष्टियनहरूले त्यस्तो किसिमको मनोरञ्जनलाई दृढ भएर नकार्छन्‌। त्यस्ता मनोरञ्जनमा करणी, भूतप्रेत, समलैङ्‌गिकता, अश्‍लीलता र हिंसा जस्ता कुराहरू समावेश हुन्छन्‌ र त्यसले अन्य क्रूर अनि अनैतिक कामकुराको महिमा गर्छ। (१ कोरि. ६:९, १०; प्रकाश २१:८ पढ्‌नुहोस्‌) चाहे हामी जस्तोसुकै अवस्थामा हौं, यस्ता मनोरञ्जनमा भाग लिन इन्कार गरेर “जे कुरा दुष्ट छ, त्यसलाई घृणा” गरेको कुरा यहोवालाई प्रमाण दिन सक्छौं।—रोमी १२:९; १ यूह. १:५, ६.

७, ८. हामी मनोरञ्जनको गुणस्तर कसरी जाँच्न सक्छौं? उदाहरण दिनुहोस्‌।

दोस्रो किसिमको मनोरञ्जनमा परमेश्‍वरको वचनले तोकेरै निन्दा नगरेका कामकुराहरू समावेश छन्‌। यस्तो अवस्थामा मनोरञ्जन छान्दा उक्‍त मनोरञ्जन बाइबल सिद्धान्तसित मेल खाने किसिमको छ कि छैन भनेर विचार पुऱ्‍याउनुपर्छ र परमेश्‍वरको नजरमा स्वस्थकर छ कि छैन भनेर जाँच्नुपर्छ। (हितो. ४:१०, ११) हामीले कुनै व्यक्‍तिगत निर्णय गर्दा हाम्रो अन्तस्करण सफा रहिरहनु आवश्‍यक छ। (गला. ६:५; १ तिमो. १:१९) हामी कसरी त्यस्तो निर्णय गर्न सक्छौं? यो कुरा विचार गर्नुहोस्‌: कुनै नयाँ परिकार खानुअघि हामी त्यो के-के मिसाएर बनाइएको छ भनेर पत्ता लगाउन चाहन्छौं। त्यसैगरि, कुनै खास किसिमको मनोरञ्जनमा भाग लिनुअघि हामीले त्यसमा के-के समावेश छ भनेर पत्ता लगाउनु महत्त्वपूर्ण छ।—एफि. ५:१७.

उदाहरणको लागि, तपाईंलाई खेलकुद मनपर्छ होला र यसरी खेलकुद मन पराउनु स्वाभाविकै हो। खेलकुद रोमाञ्चक अनि रमाइलो हुन्छ। तर यदि तपाईंलाई ज्यादै प्रतिस्पर्धी भाव जगाउने, अति नै खतरनाक, धेरै चोटपटक लाग्न सक्ने, उपद्रव किसिमले विजयोत्सव मनाउन लगाउने, राष्ट्रिय भाव जगाउने वा अन्य त्यस्तै कुरा “मिसिएको” कुनै खेलकुद मनपर्छ भने के गर्नुपर्छ? यस्तो खेलकुदमा के-के समावेश छ भनेर जाँचिसकेपछि तपाईं यस्तो मनोरञ्जन यहोवाको सोचाइसित अनि हामीले मानिसहरूलाई प्रचार गर्ने शान्ति र प्रेमको सन्देशसित पटक्कै मेल खाँदैन भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ होला। (यशै. ६१:१; गला. ५:१९-२१) अर्कोतर्फ, यदि कुनै मनोरञ्जन यहोवाको नजरमा स्वीकार्य छ भने त्यस्तो मनोरञ्जन तपाईंको लागि फाइदाजनक अनि स्फूर्तिदायी हुन सक्छ।—गला. ५:२२, २३; फिलिप्पी ४:८ पढ्‌नुहोस्‌।

मैले यसको लागि कति समय खर्चनुपर्छ?

९. “मैले मनोरञ्जनको लागि कति समय खर्च गर्दैछु” भन्‍ने प्रश्‍न सोध्दा त्यसले के प्रकट गर्छ?

तपाईंले आफैलाई सोध्नुपर्ने दोस्रो प्रश्‍न हो—“कति?” यसको मतलब, “मैले मनोरञ्जनको लागि कति समय खर्च गर्दैछु?” भनेर तपाईंले आफैलाई सोध्नुपर्छ। “कस्तो?” भन्‍ने प्रश्‍न सोध्दा त्यसले हाम्रो मनको झुकाव प्रकट गर्छ अर्थात्‌ हामीलाई कुन कुरा स्वीकार्य छ अनि कुन कुरा अस्वीकार्य छ भन्‍ने कुरा प्रकट गर्छ। तर “कति?” भन्‍ने प्रश्‍न सोध्दा त्यसले हामी कुन कुरालाई प्राथमिकता दिन्छौं भन्‍ने कुरा प्रकट गर्छ अर्थात्‌ हामीलाई कुन कुरा महत्त्वपूर्ण लाग्छ अनि कुन कुरा महत्त्वपूर्ण लाग्दैन भनेर प्रकट गर्छ। त्यसो भए, हामीले मनोरञ्जनलाई जति महत्त्व दिइरहेका छौं त्यो उचित हो कि होइन भनेर हामी कसरी पक्का गर्न सक्छौं?

१०, ११. मनोरञ्जनमा कति समय खर्च गर्ने भनेर निर्णय गर्न मत्ती ६:३३ मा येशूले भन्‍नुभएको कुराले हामीलाई कसरी मदत गर्छ?

१० येशू ख्रीष्टले यसो भन्‍नुभयो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कू. १२:३०) त्यसकारण हाम्रो जीवनमा यहोवाप्रतिको प्रेमले प्राथमिकता पाउनुपर्छ। येशूले दिनुभएको निम्न सल्लाह पालन गरेर हामीले यसै गरिरहेका छौं भनेर देखाउन सक्छौं: “उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।” (मत्ती ६:३३) हामीले मनोरञ्जनको लागि कति समय खर्च गरिरहेका छौं अनि त्यसलाई कति महत्त्व दिइरहेका छौं भनेर पक्का गर्न यी वाक्यहरूले हामीलाई कसरी मदत गर्छ?

११ यो कुरा याद गर्नुहोस्‌: येशूले हामीलाई ‘परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहो’ भन्‍ने सल्लाह दिनुभयो। उहाँले ‘परमेश्‍वरको राज्यलाई मात्र स्थान दिइरहो’ भन्‍नुभएन। हाम्रो जीवनमा परमेश्‍वरको राज्यबाहेक अरू थुप्रै कुराले पनि स्थान पाएको हुन्छ भनेर येशूलाई थाह थियो। हामीलाई गाँस, बास र कपासका साथै आधारभूत शिक्षा, जागिर, मनोरञ्जन अनि अरू थुप्रै कुराहरू पनि चाहिन्छ। तर हामीले पहिलो स्थान दिनुपर्ने एउटै मात्र कुरा भनेको राज्य गतिविधि नै हो। (१ कोरि. ७:२९-३१) यो महत्त्वपूर्ण सत्यले हामीलाई मनोरञ्जनजस्ता कम महत्त्वपूर्ण कुराहरूलाई दोस्रो स्थानमा राख्न अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न उत्प्रेरित गर्छ। यसो गऱ्‍यौं भने हाम्रो मनोरञ्जन फाइदाजनक हुनसक्छ।

१२. मनोरञ्जनको सन्दर्भमा लूका १४:२८ को सिद्धान्त कसरी लागू गर्न सकिन्छ?

१२ तसर्थ हामीले मनोरञ्जन गर्दा त्यसमा कति समय बिताउने भनेर पहिल्यै हिसाब गर्नु राम्रो हुन्छ। (लूका १४:२८) कुनै कामकुराले हाम्रो कति समय खान्छ भनेर हामीले पत्ता लगाउनुपर्छ। अनि त्यसको लागि कति समय दिनु उपयुक्‍त छ भनेर पनि हामीले निर्णय गर्नुपर्छ। यदि कुनै मनोरञ्जनमा भाग लिंदा त्यसले बाइबल अध्ययन, पारिवारिक उपासना, ख्रीष्टियन सभाहरू अनि राज्य प्रचारकार्यमा बाधा पुऱ्‍याउँछ भने त्यो मनोरञ्जन हामीले समय दिन लायकको छैन। (मर्कू. ८:३६) तर कुनै मनोरञ्जनले हामीलाई राज्य गतिविधि अघि बढाउन जोस प्रदान गर्छ भने त्यस्तो किसिमको मनोरञ्जनमा समय खर्च गर्नु उचित हुन सक्छ।

मेरा साथीहरू को हुन्‌?

१३. कोसँग मनोरञ्जन गर्ने भनेर हामीले किन होसियारीपूर्वक विचार गर्नुपर्छ?

१३ तपाईंले आफैलाई सोध्नुपर्ने तेस्रो प्रश्‍न हो—“को?” यसको मतलब, “म कोसँग रमाइलो गर्न चाहन्छु?” भनेर तपाईंले आफैलाई सोध्नुपर्छ। मनोरञ्जनको यो पक्ष पनि हामीले विचार गर्नुपर्छ। किन? किनभने हाम्रो मनोरञ्जनको गुणस्तर धेरै हदसम्म हाम्रा साथीहरू कस्ता छन्‌ त्यसमा भर पर्छ। खाना खाने बेलामा हामीसँगै असल साथीहरू छन्‌ भने त्यो क्षण झनै रमाइलो हुन्छ, त्यसैगरि मनोरञ्जन गर्दा पनि हामीसँगै असल साथीहरू छन्‌ भने झनै रमाइलो हुनसक्छ। त्यसकारण हामीमध्ये थुप्रैलाई, विशेषगरि जवानहरूलाई अरूसँगै मिलेर मनोरञ्जन गर्न मन लाग्नु स्वाभाविकै हो। तर यदि हामी मनोरञ्जनबाट फाइदा उठाउन चाहन्छौं भने कस्ता व्यक्‍तिहरूलाई साथी बनाउने वा कस्ता व्यक्‍तिहरूलाई नबनाउने भनेर पहिल्यै निर्णय गर्नु बुद्धिमानी हुन्छ।—२ इति. १९:२; हितोपदेश १३:२० पढ्‌नुहोस्‌; याकू. ४:४.

१४, १५. (क) असल साथीहरू छान्‍ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो? (ख) साथीहरू छान्‍ने सन्दर्भमा हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१४ साथीहरू छान्‍ने सन्दर्भमा येशूको उदाहरण पछ्याउनु धेरै मदतकारी हुन्छ। येशूले सृष्टिको सुरुदेखि नै मानिसजातिलाई प्रेम गर्नुहुन्थ्यो। (हितो. ८:३१) पृथ्वीमा छँदा पनि उहाँले सबै किसिमका मानिसहरूप्रति मायालु चासो देखाउनुभयो। (मत्ती १५:२९-३७) येशूले सबैसित मित्रैलो व्यवहार गर्नुभयो तर सबैलाई आफ्नो घनिष्ठ मित्र भने बनाउनुभएन। खास आवश्‍यकता पूरा गरेकाहरूलाई मात्र उहाँले आफ्नो घनिष्ठ मित्र बनाउनुभयो। आफ्ना ११ जना वफादार प्रेषितहरूसित कुरा गर्दा येशूले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।” (यूह. १५:१४; यूहन्‍ना १३:२७, ३० पनि हेर्नुहोस्‌) आफ्नो पछि लाग्ने अनि यहोवाको सेवा गर्ने व्यक्‍तिहरूलाई मात्र येशूले आफ्नो मित्र बनाउनुभयो।

१५ तसर्थ, कुनै व्यक्‍तिलाई आफ्नो घनिष्ठ साथी बनाउने या नबनाउने भनेर निर्णय गर्नुअघि येशूले भन्‍नुभएको कुरा मनमा राख्नु बुद्धिमानी हुन्छ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के यो व्यक्‍तिले आफ्नो काम अनि बोली दुवैमा यहोवा र येशूको आज्ञा पालन गरेको देखाउँछ? के मेरो जस्तै उसको पनि मूल्यमान्यता अनि नैतिक स्तर बाइबलअनुरूप छ? यो व्यक्‍तिसितको मित्रताले के मलाई आफ्नो जीवनमा परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिन अनि यहोवाको वफादार सेवक बन्‍न उत्प्रेरित गर्छ?’ यदि यी प्रश्‍नहरूको जवाफ सकारात्मक छ भने तपाईंले मनोरञ्जन गर्नको लागि असल साथी भेट्टाउनुभएको छ।—भजन ११९:६३ पढ्‌नुहोस्‌; २ कोरि. ६:१४; २ तिमो. २:२२.

के हाम्रो मनोरञ्जन परीक्षामा खरो उत्रला?

१६. मनोरञ्जनको सन्दर्भमा हामीले कुन कुरा पक्का गर्नु महत्त्वपूर्ण छ?

१६ हामीले मनोरञ्जनका तीन वटा पक्षहरू छोटकरीमा विचार गऱ्‍यौं। ती हुन्‌—गुणस्तर, मात्रा अनि मित्रता। मनोरञ्जनबाट फाइदा उठाउने हो भने यी प्रत्येक पक्ष बाइबल सिद्धान्तसित मेल खानुपर्छ। तसर्थ, कुनै खास किसिमको मनोरञ्जनमा भाग लिनुअघि त्यसलाई जाँच्नु महत्त्वपूर्ण छ। मनोरञ्जनको गुणस्तरको सन्दर्भमा हामी यो कुरा थाह पाउन चाहन्छौं: ‘यो कस्तो छ? स्वस्थकर या पतित?’ (हितो. ४:२०-२७) मनोरञ्जनको मात्राको सन्दर्भमा हामी यो कुरा पत्ता लगाउन चाहन्छौं: ‘यसको लागि मैले कति समय खर्च गर्नुपर्छ? यो मनोरञ्जन कति समय दिन लायकको छ?’ (१ तिमो. ४:८) अनि मित्रताको सन्दर्भमा हामीले यो कुरा पक्का गर्नु महत्त्वपूर्ण छ: ‘म कोसँग रमाइलो गर्छु? तिनीहरू असल छन्‌ कि खराब?’—उप. ९:१८; १ कोरि. १५:३३.

१७, १८. (क) हाम्रो मनोरञ्जन बाइबल स्तरअनुरूप छ कि छैन भनेर हामी कसरी जाँच्न सक्छौं? (ख) मनोरञ्जन छान्‍ने सन्दर्भमा तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१७ कुनै मनोरञ्जन यी तीन पक्षमध्ये एउटा क्षेत्रमा मात्रै पनि बाइबल स्तरअनुरूप छैन भने उक्‍त मनोरञ्जन परीक्षामा खरो उत्रन सक्दैन। अर्कोतर्फ, फुर्सतको समयमा हामीले गर्ने कामकुराका यी तीनवटै पक्ष बाइबल सिद्धान्तअनुरूप छ भने त्यस्तो मनोरञ्जनले यहोवाको महिमा गर्छ अनि हामीलाई पनि फाइदा हुन्छ।—भज. ११९:३३-३५.

१८ त्यसैले ठीक समयमा ठीक व्यक्‍तिसित ठीक तरिकाले मनोरञ्जन गर्न भरमग्दुर प्रयास गरौं। हामी सबैको मनैदेखिको चाहना बाइबलको यो सल्लाह पालन गर्ने होस्‌: “चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।”—१ कोरि. १०:३१.

के तपाईं बुझाउन सक्नुहुन्छ?

मनोरञ्जनको सन्दर्भमा तल दिइएका बाइबल सिद्धान्तहरू तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

फिलिप्पी ४:८

मत्ती ६:३३

हितोपदेश १३:२०

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

कस्तो

[पृष्ठ १०-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

कति

[पृष्ठ १२-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

को

[पृष्ठ १०-मा भएको चित्र]

साथी अनि मनोरञ्जन छान्‍ने सन्दर्भमा हामी कसरी येशूको उदाहरण पछ्याउन सक्छौं?