सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्नुहोस्‌

पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्नुहोस्‌

परिवार आनन्दमय बनाउने तरिकाहरू

पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्नुहोस्‌

सुरेश a: “हाम्रो भर्खर-भर्खर विवाह हुँदा सँगै बसेर बाइबल अध्ययन गर्न म श्रीमतीलाई कर गर्थें। ‘अध्ययनको बेलामा चाहिं यताउता मन डुलाउने हैन’ भनेर म श्रीमतीलाई कडा आज्ञा दिन्थें। तर चाँदनी भने एकछिन चुपो लागेर बस्न सक्दिनथी। मैले प्रश्‍न सोध्दा उनको जवाफ हो-होइन मै सीमित हुन्थ्यो। तर मलाई चाहिं यसरी त बाइबल अध्ययन गर्ने तरिका हुँदै भएन नि जस्तो लाग्थ्यो।”

चाँदनी: “म १८ वर्षको हुँदा सुरेशसँग विवाह भयो। हामी नियमित रूपले सँगै बाइबल अध्ययन गर्थ्यौं तर हरेक चोटि अध्ययनको बेला उहाँले मेरा गल्तीहरू औंल्याउनु हुन्थ्यो। अनि श्रीमती भएर मैले सुधार गर्नुपर्ने कुराहरूबारे भन्‍नुहुन्थ्यो। तर यस्तो कुराले गर्दा म असाध्यै निराश अनि दुःखी भएँ!”

तपाईंको विचारमा सुरेश र चाँदनीको समस्या के थियो? उनीहरूको मनसाय राम्रो थियो। दुवै परमेश्‍वरलाई प्रेम गर्थे। अनि उनीहरू दुवैले सँगै बसेर बाइबल अध्ययन गर्नुपर्ने आवश्‍यकता महसुस गरेका थिए। यसरी अध्ययन गर्दा तिनीहरूबीचको सम्बन्ध बलियो हुनुपर्ने थियो तर झन्‌ उल्टो पो भयो। तिनीहरूले सँगै बसेर अध्ययन गरे होलान्‌ तर पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति भने विकास गर्न सकेका थिएनन्‌।

ख्रीष्टियनहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ? विवाहित जोडीले किन त्यस्तो मनोवृत्ति विकास गर्न प्रयास गर्नुपर्छ? कस्ता चुनौतीहरू आइपर्न सक्छन्‌ अनि तिनीहरूले त्यसको सामना कसरी गर्न सक्छन्‌?

ख्रीष्टियनहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ?

बाइबलमा प्रयोग गरिएको “परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने” भन्‍ने अभिव्यक्‍तिले मनोवृत्ति वा जीवनप्रतिको दृष्टिकोणलाई बुझाउँछ। (१ कोरिन्थी २:१५) परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति भएको मानिस हुनु र नहुनु बीचको भिन्‍नताबारे बाइबल लेखक पावलले उल्लेख गरे। परमेश्‍वरको स्तरको मोल नगर्ने मानिसहरू अरूको विषयमा भन्दा आफ्नैबारे मात्र सोच्छन्‌ भनेर उनले सङ्‌केत गरे। तिनीहरू परमेश्‍वरको स्तरअनुसार गर्ने प्रयास गर्नुको साटो आफूलाई जे ठीक लाग्छ, त्यही गर्छन्‌।—१ कोरिन्थी २:१४; गलाती ५:१९, २०.

तर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति भएका मानिसहरू भने फरक हुन्छन्‌। तिनीहरू यहोवालाई आफ्नो मित्र ठान्छन्‌ र उहाँको व्यक्‍तित्व देखासिकी गर्ने प्रयास गर्छन्‌। (एफिसी ५:१) त्यसैले तिनीहरू अरूसित व्यवहार गर्दा मायालु, दयालु अनि कोमल हुन्छन्‌। (प्रस्थान ३४:६) अनि आफू अप्ठ्यारो अवस्थामा पर्दासमेत परमेश्‍वरको आज्ञा पालन गर्छन्‌। (भजन १५:१, ४) क्यानाडामा बसोबास गर्ने अनि विवाह गरेको ३५ वर्ष भइसकेका डारेन यसो भन्छन्‌: “मेरो विचारमा परमेश्‍वरको स्तरको मोल गर्ने व्यक्‍तिले सधैं आफ्नो बोली र व्यवहारले परमेश्‍वरसितको मित्रतालाई कस्तो असर पार्छ भनेर सोच्छ।” तिनकी पत्नी जेन थप यसो भन्छिन्‌: “मेरो विचारमा परमेश्‍वरको स्तरको मोल गर्ने स्त्रीले परमेश्‍वरको पवित्र शक्‍तिको फललाई आफ्नो व्यक्‍तित्वमा ढाल्न दिनदिनै प्रयास गर्छिन्‌।”—गलाती ५:२२, २३.

विवाहित व्यक्‍तिले मात्र परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्नुपर्छ भन्‍ने त पक्कै होइन। परमेश्‍वरको विषयमा सिक्ने र उहाँको देखासिकी गर्ने जिम्मेवारी प्रत्येकको हो भनी बाइबलले सिकाउँछ।—प्रेषित १७:२६, २७.

पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति किन विकास गर्नुपर्छ?

त्यसोभए किन पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्ने प्रयास गर्नुपर्छ? यो उदाहरण विचार गर्नुहोस्‌: दुई जना किसानको एउटा साझा बारी छ। त्यहाँ तिनीहरू सागसब्जी खेती गर्न चाहन्छन्‌। एक जनाले कुनै एउटा खास महिनामा बीउ छर्ने विचार गर्छन्‌ तर अर्कोले भने त्यतिबेला नभई अलि पछि रोप्ने विचार गर्छन्‌। एक जना किसान एउटा खास प्रकारको मल प्रयोग गर्न चाहन्छन्‌ तर अर्कोलाई भने त्यो कुरा पटक्कै चित्त बुझ्दैन र मल हाल्नै नपर्ने तर्क गर्छन्‌। एक जना बारीमा दिनदिनै गोडगाड गर्न चाहन्छन्‌। तर अर्कोचाहिं काम गर्नुभन्दा हात बाँधेर बस्न रुचाउँछन्‌। यस्तो अवस्थामा बारीमा केही सागसब्जी त उम्रिएला तर के गर्ने भनी दुवै जना सहमत भएर त्यसैअनुसार गर्ने प्रयास गर्दा जति उब्जनी हुनेथियो, त्यति त पक्कै हुनेछैन।

पति र पत्नी भनेको ती किसानजस्तै हुन्‌। एक जनाले मात्र परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गऱ्‍यो भने पनि सम्बन्ध राम्रो हुन्छ होला। (१ पत्रुस ३:१, २) तर दुवै जना परमेश्‍वरको स्तरअनुसार जीवन बिताउन सहमत भए र परमेश्‍वरको सेवा गर्न एकअर्कालाई साथ दिए भने झन्‌ कत्ति असल हुनेछ! बुद्धिमान्‌ राजा सुलेमानले लेखे: “एकभन्दा दुई असल हो।” किन? “तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्‌, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ, तर लोट्‌ने र कोही उठाउने साथी नहुने विचरा!”—उपदेशक ४:९, १०.

तपाईं आफ्नो विवाहित जोडीसित मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्ने इच्छा गर्नुहुन्छ होला। तर खेतीपाती गर्ने सन्दर्भमा जस्तै इच्छा मात्र गर्दैमा फल फल्दैन। तपाईंले निम्न दुइटा चुनौती सामना गर्नुपर्ने हुन सक्छ अनि त्यसलाई कसरी पार लगाउन सक्नुहुन्छ, विचार गर्नुहोस्‌।

चुनौती १: हामीसित समय नै छैन। हालै विवाह गरेकी नेहा भन्छिन्‌: “साँझ ७ बजे श्रीमान्‌ले मलाई काममा लिन आउनुहुन्छ। अफिसबाट फर्कंदा घरको काम सबै लथालिङ्‌ग हुन्छ। त्यसपछि त के गर्ने, कसो गर्ने हुन्छ। परमेश्‍वरको विषयमा सँगै बसेर सिक्न समय छुट्याउनुपर्छ भनेर हामीलाई थाह छ तर हामी थाकेर लखतरान भइसकेका हुन्छौं।”

सम्भाव्य समाधान: लचकदार र सहयोगी हुनुहोस्‌। नेहा भन्छिन्‌: “मेरो श्रीमान्‌ र मैले बिहान अलि सबेरै उठेर काममा जानुअघि बाइबलको केही अंश पढ्‌ने र त्यसबारे छलफल गर्ने निर्णय गऱ्‍यौं। घरको केही कामधन्दा गर्न उहाँ मलाई सघाउनुहुन्छ। यसले गर्दा उहाँसित अलि बढी समय बिताउन पनि पाउँछु।” यसरी सदाको भन्दा अलि धेरै प्रयास गर्दा कस्तो फाइदा भएको छ? नेहाका श्रीमान्‌ निश्‍चल भन्छन्‌: “नेहा र म मिलेर परमेश्‍वरको विषयमा नियमित तवरमा छलफल गर्दा समस्याहरूको सामना गर्न हामी अझ बढी सक्षम हुनुका साथै हाम्रो चिन्ता कम गर्न पनि सफल भएका छौं।”

एकअर्कासित कुरा गर्नुको अलावा हरेक दिन सँगै प्रार्थना गर्न केही मिनेट छुट्याउनु पनि अत्यावश्‍यक छ। यसो गर्दा कसरी मदत मिल्छ? विवाह गरेको १६ वर्ष भइसकेका प्रकाश भन्छन्‌: “केही समयअघि हाम्रो सम्बन्धमा देखा परेको समस्याले गर्दा हामी कठिन अवस्थाबाट गुज्रिरहेका थियौं। तर हामीले हरेक रात परमेश्‍वरलाई आफ्नो मनको बह पोख्दै प्रार्थना गर्न समय निकाल्यौं। सँगै बसेर प्रार्थना गर्दा हाम्रा समस्या समाधान गर्न अनि हाम्रो विवाहलाई पुनः सुखमय बनाउन मदत गरेको जस्तो लाग्छ।”

यसो गरे कसो होला? दुवैले परमेश्‍वरलाई धन्यवाद दिन सक्ने कुराबारे हरेक दिनको अन्तमा केही मिनेट कुराकानी गर्न समय छुट्याउनुहोस्‌। साथै आफूले सामना गरेको चुनौती, खासगरि ती चुनौती जसको सामना गर्न परमेश्‍वरको मदत चाहिन्छ, त्यसबारे पनि कुरा गर्नुहोस्‌। एउटा कुरामा भने सावधान हुनुहोस्‌: यो समय आफ्नो जोडीको दोष कोट्याउने मौका नठान्‍नुहोस्‌। अनि प्रार्थना गर्दा पनि दुवै मिलेर प्रयास गर्नुपर्ने विषय मात्र उल्लेख गर्नुहोस्‌। अनि अघिल्लो दिन आफूले जुन-जुन विषयमा मदतको लागि प्रार्थना गर्नुभएको थियो, त्यसैअनुरूप कदम चाल्नुहोस्‌।

चुनौती २: हामी दुई जनाको क्षमता नै फरक-फरक छ। आकाश भन्छन्‌: “म बसेर किताब पढ्‌ने मान्छे नै होइन।” तिनकी पत्नी आकाङ्‌क्षा भन्छिन्‌: “मलाई पढ्‌न अनि आफूले पढेको विषयमा अरूसित कुरा गर्न मन लाग्छ। बाइबलआधारित विषयमा छलफल गर्दा कहिलेकाहीं उहाँ अतालिनुहुन्छ जस्तो लाग्छ।”

सम्भाव्य समाधान: सहयोग गर्नुहोस, आलोचना वा प्रतिस्पर्धा नगर्नुहोस्‌। आफ्नो जोडीको क्षमताको प्रशंसा गर्नुहोस्‌ र त्यसलाई अझ राम्रो पार्दै लैजान प्रोत्साहन दिनुहोस्‌। आकाश भन्छन्‌: “बाइबलआधारित विषयहरू छलफल गर्न मेरी श्रीमतीको जोस देखेर कहिलेकाहीं म अतालिन्छु अनि परमेश्‍वरसित सम्बन्धित विषयबारे ऊसित कुरा गर्न म पहिला-पहिला हिचकिचाउँथें। तर आकाङ्‌क्षा असाध्यै सहयोगी छे। अचेल हामी यस्ता विषयहरू सँगै बसेर नियमित रूपमा छलफल गर्छौं। अनि यसरी छलफल गर्न डराउनुपर्ने कुरा छैन भनेर बुझेको छु। यी विषयहरूमा ऊसित कुरा गर्न मलाई मजा लाग्छ। यसले पति-पत्नीको रूपमा अझ ढुक्क भई शान्तिसित बस्न मदत गरेको छ।”

हरेक हप्ता सँगै बसेर बाइबल पढ्‌न अनि अध्ययन गर्न समय छुट्याउँदा वैवाहिक बन्धन बलियो भएको थुप्रै दम्पतीले महसुस गरेका छन्‌। तर एउटा बुँदामा भने सावधान हुनुहोस्‌: लागू गर्न सकिने सल्लाह आफ्नो जोडीलाई होइन, आफैमा लागू गर्नुहोस्‌। (गलाती ६:४) दुई जनाबीच मतभेद भएको विषयबारे अध्ययनको बेला होइन तर अर्को कुनै समयमा छलफल गर्नुहोस्‌। किन?

विचार गर्नुहोस्‌: तपाईं आफ्नो परिवारसँगै बसेर खाना खाँदै हुनुहुन्छ भने के तपाईं त्यो समयमा एकदमै पाकेको घाउलाई सफा गर्ने अनि मलहम लगाउने काम गर्नुहुन्छ र? पक्कै गर्नुहुन्‍न। त्यसो गऱ्‍यो भने अरूले खाना खान सक्दैनन्‌। येशूले खाना खानु भनेको परमेश्‍वरको इच्छाबारे सिक्नु अनि त्यसैअनुसार गर्नु हो भन्‍नुभयो। (मत्ती ४:४; यूहन्‍ना ४:३४) यदि तपाईंले हरेक चोटि बाइबल अध्ययन गर्ने बेलामा भावनात्मक चोटहरूबारे मात्र कुरा गरिरहनुभयो भने तपाईंको जोडीले परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति विकास गर्न सक्दैन। पक्कै पनि तपाईंले समस्याहरूबारे छलफल गर्नुपर्छ। तर समस्याहरूको विषयमा कुरा गर्ने हो भने त्यसको लागि छुट्ट्याइएको समयमै गर्नुपर्छ।—हितोपदेश १०:१९; १५:२३.

यसो गरे कसो होला? आफ्नो जोडीको मनपर्ने दुई/तीन वटा गुण लेख्नुहोस्‌। अनि परमेश्‍वरलाई मन पर्ने ती गुणहरूसित सम्बन्धित विषयमा अर्को पटक अध्ययन गर्दा आफ्नो जोडीका ती गुणहरूको तपाईं कति धेरै कदर गर्नुहुन्छ भनेर बताउनुहोस्‌।

तपाईं जे छर्नुहुन्छ, त्यसैको कटनी गर्नुहुन्छ

यदि पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्ने मनोवृत्ति खेती गर्नुभयो भने पछि गएर शान्तिमय अनि इनामदायी वैवाहिक बन्धनको कटनी गर्नुहुनेछ। भनौं भने, “मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ” भनी परमेश्‍वरको वचनले ग्यारेन्टी दिन्छ।—गलाती ६:७.

यस लेखको सुरुमा उल्लेख गरिएको सुरेश र चाँदनीले उक्‍त सिद्धान्तको सत्यता बुझे। अहिले उनीहरूको विवाह भएको ४५ वर्ष भइसक्यो अनि सँगै मिलेर प्रयास गरिरहँदा सफल हुँदो रहेछ भनी उनीहरूले अनुभव गरेका छन्‌। सुरेश भन्छन्‌: “हामीबीच कुराकानी कम हुनुको दोष म श्रीमतीको टाउकोमा थोपर्थें तर आफूले पनि प्रयास गर्नुपर्छ भनेर बुझें।” चाँदनी भन्छिन्‌: “वास्तवमा हामीलाई गाह्रो अवस्थाहरू छिचोल्दै अघि बढ्‌न मदत गरेको यहोवाप्रतिको प्रेम थियो। वर्षौंको दौडान हामीले नियमित रूपमा सँगै अध्ययन र प्रार्थना गऱ्‍यौं। श्रीमान्‌ले ख्रीष्टियन गुणहरू विकास गर्न प्रयास गरेको देख्दा उहाँलाई अझ धेरै माया गर्न सकेकी छु।” (w11-E 11/01)

[फुटनोट]

a नामहरू परिवर्तन गरिएका छन्‌।

आफैलाई सोध्नुहोस्‌ . . .

▪ अन्तिम पटक हामी दुवै सँगै बसेर प्रार्थना गरेको कहिले हो?

▪ परमेश्‍वरको स्तरको मोल गर्ने विषयमा छलफल गर्दा म कसरी आफ्नो जोडीलाई मसँग खुलेर कुरा गर्न प्रोत्साहन दिन सक्छु?