सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी हाम्रो फाइदा हुन्छ?

परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी हाम्रो फाइदा हुन्छ?

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी हाम्रो फाइदा हुन्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. हामीले किन परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ?

परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यसकारण हामीले उहाँको आज्ञा मान्‍नुपर्छ। परमेश्‍वरको छोरा येशूले पनि सधैं उहाँको आज्ञा मान्‍नुभयो। (यूहन्‍ना ६:३८; प्रकाश ४:११) परमेश्‍वरको आज्ञा पालन गरेर हामी उहाँलाई प्रेम गरेको देखाउँछौं।१ यूहन्‍ना ५:३ पढ्‌नुहोस्‌।

यहोवा परमेश्‍वरले दिनुभएका सबै आज्ञा हाम्रै भलाइको लागि हुन्‌। ती आज्ञाले हामीलाई अहिले जीवन बिताउने सर्वोत्तम मार्गका साथै भविष्यमा अनन्त इनाम प्राप्त गर्ने तरिका पनि सिकाउँछ।भजन १९:७, ११; यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌।

२. परमेश्‍वरको आज्ञा पालन गर्नु किन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ?

परमेश्‍वरले हामीलाई धेरै रक्सी नपिउनू भन्‍नुभएको छ। परमेश्‍वरको यो आज्ञा पालन गर्दा हामी घातक रोग अनि दुर्घटनाको सिकार हुनदेखि जोगिन्छौं। अत्यधिक मात्रामा रक्सी पिउँदा त्यसको लत बस्छ र त्यसले हामीलाई मूर्ख काम गर्नतर्फ धकेल्छ। (हितोपदेश २३:२०, २९, ३०) यहोवाले हामीलाई रक्सी पिउने अनुमति दिनुभएको छ तर ठिक्क मात्रामा।—भजन १०४:१५; १ कोरिन्थी ६:१० पढ्‌नुहोस्‌।

यहोवाले हामीलाई डाह, अनियन्त्रित रिस र अन्य प्रकारका हानिकारक मनोभाव नराख्न पनि चेतावनी दिनुभएको छ। उहाँको सल्लाह हामी जति धेरै लागू गर्छौं, हाम्रो स्वास्थ्यमा त्यति नै फाइदा पुग्छ।हितोपदेश १४:३०; २२:२४, २५ पढ्‌नुहोस्‌।

३. परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी हाम्रो सुरक्षा हुन्छ?

आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्न परमेश्‍वरले निषेध गर्नुभएको छ। (हिब्रू १३:४) परमेश्‍वरको यो आज्ञा पालन गर्ने दम्पतीहरूले अझ बढी सुरक्षित हुन सकेको महसुस गरेका छन्‌। अनि यसले गर्दा छोराछोरी हुर्काउनको लागि पनि उपयुक्‍त वातावरण सृजना गर्न सकेका छन्‌। अर्कोतर्फ, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्दा यसले अक्सर रोग, सम्बन्धविच्छेद, हिंसा, भावनात्मक चोट अनि टुक्रिएको परिवारजस्ता पीडादायी नतिजा निम्त्याउँछ।—हितोपदेश ५:१-९ पढ्‌नुहोस्‌।

आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने प्रलोभनलाई तिरस्कार गरेर हामी परमेश्‍वरसितको मित्रतालाई सुरक्षित राख्छौं अनि अरूलाई हानि पनि पुऱ्‍याउँदैनौं।—१ थिस्सलोनिकी ४:३-६ पढ्‌नुहोस्‌।

४. जीवनप्रति आदर देखाउँदा कसरी हाम्रो फाइदा हुन्छ?

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनलाई आदर गर्नेहरू धूम्रपान अनि ज्यानै लिन सक्ने अन्य कुलतहरूबाट अलग रहन्छन्‌। यसो गर्दा तिनीहरूको स्वास्थ्य राम्रो हुन्छ। (२ कोरिन्थी ७:१) बाइबलको प्रस्थान २१:२२, २३ मा प्रयोग गरिएको मौलिक हिब्रू अभिव्यक्‍तिले गर्भमा हुर्कंदै गरेको बच्चाको जीवनको समेत यहोवा मोल गर्नुहुन्छ भनेर बुझाउँछ। त्यसकारण जानाजानी हामीले गर्भको बच्चालाई मार्नु हुँदैन। साथै जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नेहरूले आफ्नो काममा, घरमा सावधानी अपनाउनुका साथै सवारीसाधनलाई पनि ठीक अवस्थामा राख्छन्‌। (व्यवस्था २२:८) उनीहरू ज्यान जोखिममा पार्ने खेलकुदमा भाग लिंदैनन्‌ किनभने जीवन परमेश्‍वरले दिनुभएको उपहार हो।—भजन ३६:९ पढ्‌नुहोस्‌।

५. रगतलाई पवित्र ठान्दा कसरी हाम्रो फाइदा हुन्छ?

रगत पवित्र छ किनभने यसले जीवनलाई सङ्‌केत गर्छ भनेर परमेश्‍वरले बताउनुभएको छ। (उत्पत्ति ९:३, ४) परमेश्‍वरको नजरमा रगतले जीवनको प्रतिनिधित्व गर्छ र हामीले पनि त्यस्तै दृष्टिकोण राख्यौं भने हाम्रो फाइदा हुन्छ। कसरी? रगतसम्बन्धी उहाँको नियमको आधारमा हामीले पापको क्षमा पाउन सकेका छौं।—लेवी १७:११-१३; हिब्रू ९:२२ पढ्‌नुहोस्‌।

येशू त्रुटिरहित व्यक्‍ति हुनुभएकोले उहाँको रगत अझ अनमोल छ। येशूले आफ्नो रगत बगाएर वास्तवमा परमेश्‍वरसामु आफ्नो जीवन अर्पण गर्नुभयो। (हिब्रू ९:१२) हाम्रो लागि अनन्त जीवन पनि उहाँले बगाउनुभएको रगतद्वारा नै सम्भव भएको हो।मत्ती २६:२८; यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌। (w11-E 11/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १२ र १३ हेर्नुहोस्‌।