सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुबाहरू हो, तपाईं कसरी आफ्नो छोरासित घनिष्ठ भइरहन सक्नुहुन्छ?

बुबाहरू हो, तपाईं कसरी आफ्नो छोरासित घनिष्ठ भइरहन सक्नुहुन्छ?

बुबाहरू हो, तपाईं कसरी आफ्नो छोरासित घनिष्ठ भइरहन सक्नुहुन्छ?

“ड्याडी, तपाईंलाई यो सबै कसरी थाह भो?” के छोराको यस्तो प्रश्‍नले गर्दा तपाईं मक्ख पर्नुभएको छ? त्यसो भनेको सुन्दा तपाईंलाई आफू बुबा भएकोमा गर्व लाग्यो होला। त्यति मात्र होइन, छोराले तपाईंको बुद्धिमानी सल्लाहअनुसार गरेर राम्रो नतिजा हासिल गरेको देख्दा तपाईंको मन खुसीले झनै गद्‌गद भयो होला। aहितोपदेश २३:१५, २४.

तर छोरा ठूलो हुँदै गएपछि तपाईंहरूबीचको सम्बन्ध कस्तो छ? के उसले अझै पनि तपाईंको मान गर्छ? अथवा ऊ ठूलो हुँदै गएपछि तपाईंप्रतिको मान घट्‌दै गएको छ कि? तपाईंको छोरा ठूलो भइसकेपछि पनि कसरी ऊसित घनिष्ठ भइरहन सक्नुहुन्छ? सबैभन्दा पहिला, बुबाहरूले सामना गर्ने केही चुनौतीबारे विचार गरौं।

प्रायजसोले सामना गर्ने तीन वटा चुनौती

१. समयको अभाव: धेरैजसो देशमा परिवारको लागि कमाउने जिम्मा बुबाहरूको काँधमा हुन्छ। कामको सिलसिलामा बुबाहरू अक्सर दिनभरिजसो नै घरबाहिर हुन्छन्‌। कुनै-कुनै ठाउँमा बुबाहरूले आफ्ना छोराछोरीसित एकदम कम समय बिताउँछन्‌। उदाहरणको लागि, हालै चीनको एउटा सहरमा गरिएको सर्वेक्षणअनुसार त्यहाँका बुबाहरू आफ्ना छोराछोरीसित कुराकानी गर्न प्रति दिन १५ मिनेटभन्दा कम समय मात्र बिताउँछन्‌।

सोच्नुपर्ने कुरा: तपाईं आफ्नो छोरासित कति समय बिताउनुहुन्छ? आफ्नो छोरासित हरेक दिन कति समय बिताउनु हुँदो रहेछ भनी हेर्न आगामी एक-दुई हप्ताको दौडान त्यसको हिसाब राख्नुभए कसो होला? त्यो हेरेर तपाईं छक्कै पर्नुहोला।

२. असल उदाहरणको अभाव: केही पुरुषको भने आफ्ना बुबासित कुनै सम्बन्ध नै नभएको अवस्था पनि छ। फ्रान्समा बस्ने झाँ-मारी भन्छन्‌: “बुबासित मेरो खासै कुराकानी हुँदैनथ्यो।” यसले गर्दा कस्तो असर पऱ्‍यो? तिनी भन्छन्‌: “मैले कल्पनासमेत नगरेको समस्या सृजना भएको छ। जस्तै, मलाई आफ्ना छोराहरूसित अर्थपूर्ण कुराकानी गर्न गाह्रो लाग्छ।” अर्कोतर्फ, केही पुरुषलाई आफ्नो बुबाको विषयमा धेरै कुरा थाह छ तर तिनीहरूबीचको सम्बन्ध भने राम्रो छैन। फिलिप, जसको उमेर ४३ वर्ष भयो, तिनी यसो भन्छन्‌: “मलाई माया गरेको देखाउन बुबालाई गाह्रो लाग्थ्यो। त्यसैले गर्दा मलाई पनि आफ्नो छोरालाई माया गरेको देखाउन असाध्यै गाह्रो लाग्छ।”

सोच्नुपर्ने कुरा: आफ्नो बुबासित जस्तो सम्बन्ध थियो, त्यसले आफ्नो छोरासितको सम्बन्धमा असर गर्छ जस्तो तपाईंलाई लाग्छ? बुबाको राम्रो वा नराम्रो आनीबानी चालै नपाई आफ्नो व्यवहारमा देखाइरहेको कुरा के तपाईंले याद गर्नुभएको छ? कसरी यस्तो हुन्छ?

३. सन्तुलित सल्लाहको अभाव: कुनै-कुनै समाजमा छोराछोरी हुर्काउने काम बुबाको होइन भन्‍ने सोचाइ छ। पश्‍चिम युरोपेली मुलुकमा हुर्केका लुका यसो भन्छन्‌: “म हुर्केको ठाउँमा छोराछोरी हुर्काउनुलाई श्रीमतीकै काम ठानिन्थ्यो।” अरू कतिपय समाजमा भने बुबाहरूलाई केवल अनुशासन दिने व्यक्‍ति ठान्‍न प्रोत्साहन दिइन्छ। उदाहरणको लागि, जर्ज एउटा अफ्रिकी देशमा हुर्के। तिनी भन्छन्‌: “हाम्रो समाजमा आफ्नो अधिकार कम होला भन्‍ने डरले बुबाहरू आफ्ना छोराछोरीसित खेल्दैनन्‌। त्यसैले मलाई पनि आफ्नो छोरासित खेलेर रमाइलो गर्न अप्ठ्यारो लाग्छ।”

सोच्नुपर्ने कुरा: तपाईंको समाजमा बुबाहरूले कस्तो भूमिका खेलेको आस गरिन्छ? के तिनीहरूलाई छोराछोरी हुर्काउने भनेको त आइमाईको काम हो भनेर सिकाइन्छ? के बुबाहरूलाई आफ्ना छोराप्रतिको माया र स्नेह व्यक्‍त गर्न प्रोत्साहन दिइन्छ वा त्यसो गर्नु हुँदैन भनेर नाक खुम्च्याउने गरिन्छ?

तपाईं बुबा हुनुहुन्छ र यीमध्ये कुनै एक वा सोभन्दा बढी चुनौतीको सामना गर्दै हुनुहुन्छ भने तपाईं कसरी सफल हुन सक्नुहुन्छ? निम्न सुझाव विचार गर्नुहोस्‌:

छोरा सानो छँदै थाल्नुहोस्‌

छोराहरूसित आफ्नो बुबाको नक्कल गर्ने जन्मजात झुकाव हुन्छ। त्यसैले त्यस्तो झुकावलाई छोरा सानो छँदै सही दिशातर्फ मोड्‌नुहोस्‌। कसरी? अनि ऊसित बिताउने समय कसरी निकाल्ने?

सम्भव भएसम्म छोरालाई आफ्नो दैनिक गतिविधिमा समावेश गर्नुहोस्‌। उदाहरणको लागि, घरधन्दा गर्दै हुनुहुन्छ भने उसको मदत माग्नुहोस्‌। छोरालाई सानो कुचो वा साबेल दिनुहोस्‌। छोराले बुबालाई आफ्नो हिरो र गुरु ठान्‍ने हुँदा आफ्नो ड्याडीसित मिलेर काम गर्न पाउँदा ऊ पक्कै मक्ख हुनेछ। हुन त काम सिध्याउन अलि धेरै बेर लाग्ला तर तपाईंहरूबीचको बन्धन बलियो हुनेछ अनि तपाईंले उसलाई काम गर्ने राम्रो बानी सिकाइरहनुभएको हुनेछ। आफ्नो दैनिक कामकुरामा छोराछोरीलाई समावेश गर्न अनि यस्तो मौकामा तिनीहरूसित कुराकानी गर्न र तिनीहरूलाई सिकाउन बाइबलले धेरैअघि नै बुबाहरूलाई प्रोत्साहन दिएको थियो। (व्यवस्था ६:६-९) त्यो सल्लाह हाम्रो समयमा पनि उपयोगी छ।

आफ्नो छोरासित काम गर्नुको अलावा सँगै खेल्ने पनि गर्नुहोस्‌। खेल्ने भनेको रमाइलो गर्ने मात्र होइन। अनुसन्धानले देखाएअनुसार बुबाहरू आफ्ना साना छोराछोरीसित खेल्दा तिनीहरूको आत्म-विश्‍वास बढ्‌नेछ र आँटिला हुनेछन्‌।

बुबा-छोरा सँगै खेल्दा अर्को एउटा ठूलो फाइदा हुन्छ। अनुसन्धानकर्ता मिशेल फीज भन्छन्‌: “बुबा-छोराबीचको सम्बन्ध घनिष्ठ बनाउने सबैभन्दा प्रभावकारी तरिका सँगै खेल्नु हो।” सँगै खेल्दा बुबाले आफ्नो छोराप्रतिको माया बोली र व्यवहारबाट देखाउन सक्छन्‌। यसरी तिनको छोराले पनि अरूलाई माया व्यक्‍त गर्ने तरिका सिकिरहेका हुन्छन्‌। जर्मनका आन्द्रे भन्छन्‌: “छोरा सानो छँदा हामी अक्सर सँगै खेल्थ्यौं। म उसलाई अङ्‌गालो हाल्थें अनि उसले पनि आफ्नो माया व्यक्‍त गर्न सिक्यो।”

आफ्नो छोरासितको बन्धन बलियो बनाउने अर्को मौकाचाहिं सुत्ने बेला हो। हरेक राती सुत्नुअघि एउटा कथा पढेर सुनाउनुहोस्‌ अनि त्यो दिनभरि रमाइलो-नरमाइलो कुरा के-के भयो भनी उसले बताउँदा ध्यान दिएर सुन्‍नुहोस्‌। यसो गर्नुभयो भने ठूलो भइसकेपछि पनि उसलाई तपाईंसित कुराकानी गर्न सजिलो लाग्नेछ।

दुवैलाई मन पर्ने कुराहरू गर्नुहोस्‌

किशोरावस्थामा पुगेका कोही-कोही छोरा आफ्नो बुबाले कुरा गर्न खोज्दा चासो नै देखाउँदैनन्‌। तपाईंको छोराले प्रश्‍नको जवाफ नदिएर कुरा घुमाउन खोजेजस्तो देखिंदा ऊसित कुरा गर्नु भनेको त ढुङ्‌गासित बोल्नुसरह हो भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। कुराकानी गर्ने तरिका बदल्नुभयो भने ऊ तपाईंको कुरा सुन्‍न अलि इच्छुक हुन सक्छ।

फ्रान्समा बस्ने झाकलाई कहिलेकाहीं आफ्नो छोरा झारोमसित कुराकानी गर्न गाह्रो भयो। छोरालाई जबरजस्ती कुरा गर्न लगाउनुको साटो तिनले आफ्नो तरिका बदले। तिनले के गरे? छोरासित फुटबल खेले। झाक भन्छन्‌: “खेलेपछि हामी चउरमा एकछिन आराम गर्थ्यौं। त्यतिखेर हामी दुई जना मात्र हुने हुँदा छोराले अक्सर आफ्नो मनको कुरा बताउँथ्यो। त्यसैले गर्दा होला, हाम्रो सम्बन्ध बलियो भयो।”

तपाईंको छोरालाई खेलकूद मन पर्दैन भने नि? आन्द्रेलाई आफ्नो छोरासित बसेर घण्टौं-घण्टा आकाशका ताराहरू हेरेर टोलाइरहेको समयको मीठो सम्झना छ। उनी भन्छन्‌: “राती हामी घरबाहिर मेच राख्थ्‌यौं। बाहिर चिसो हावा चल्ने भएकोले न्यानो लुगा लगाएर तातो चियाको चुस्की लिंदै तारा हेरेर बस्थ्यौं। अनि तारा बनाउनुहुनेबारे कुरा गर्थ्यौं। आफ्नो मनको कुरा साटासाट गर्थ्यौं। हामी जुनसुकै विषयमा खुलेर कुरा गर्थ्यौं।”—यशैया ४०:२५, २६.

छोरालाई चासो लाग्ने कुनै-कुनै कुराप्रति तपाईंको चासो छैन भने नि? त्यसो हो भने आफ्नै कुरामा मात्र ध्यान दिन छोड्‌नुपर्ने हुन सक्छ। (फिलिप्पी २:४) दक्षिण अफ्रिकामा बस्ने इयान भन्छन्‌: “मेरो छोरा भोनलाई भन्दा मलाई खेलकूद मन पर्थ्यो। उसलाई हवाईजहाज र कम्प्युटर मन पर्थ्यो। त्यसैले उसलाई मन पर्ने कुराप्रति मेरो पनि रुचि बढाउन उसलाई हवाई मैदानहरूमा लैजान्थें अनि ऊसँगै बसेर कम्प्युटरमा हवाईजहाजको गेम खेल्थें। मलाई लाग्छ, हामी दुवैलाई मन पर्ने कुरा सँगै गरेकोले भोनलाई कुनै धक नमानी मसित कुराकानी गर्न सजिलो भयो।”

उसको आत्म-विश्‍वास बढाउनुहोस्‌

कुनै नयाँ कुरा गर्न जानेपछि के तपाईंको सानो छोरा “ड्याडी हेर्नुस्‌ न, याँ हेर्नुस्‌ न!” भनेर कराउँथ्यो? अहिले ऊ किशोरावस्थामा पुगिसकेको छ भने के अझै पनि ऊ त्यसरी नै तपाईंको स्याबासी पाउन खोज्छ? सायद खोज्दैन होला। तर सन्तुलित वयस्क बन्‍नको लागि उसलाई तपाईंको स्याबासी पक्कै चाहिन्छ।

यहोवा परमेश्‍वरले आफ्ना छोराहरूमध्ये एक जनासित कस्तो व्यवहार गर्नुभयो, विचार गर्नुहोस्‌। त्यो छोरा अर्थात्‌ येशूले पृथ्वीमा आफ्नो जीवनको महत्त्वपूर्ण समय सुरु गर्न लाग्दा परमेश्‍वरले आफ्नो छोराप्रतिको माया जनसमक्ष यसरी घोषणा गर्नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।” (मत्ती ३:१७; ५:४८) हुन त आफ्नो छोरालाई अनुशासन दिने र सिकाउने दायित्व तपाईंकै हो। (एफिसी ६:४) तर के तपाईं उसले राम्रो कुरा भन्दा र गर्दा उसलाई स्याबासी दिने मौका पनि खोज्नुहुन्छ?

कोही-कोही बुबालाई प्रशंसा र माया व्यक्‍त गर्न चुनौतीपूर्ण लाग्छ। तिनीहरू हुर्केको परिवारमा कुनै सफलता हासिल गर्दा स्याबासी दिनुको साटो गल्ती मात्र कोट्ट्याइने गरिन्थ्यो होला। त्यसो हो भने आफ्नो छोराको आत्म-विश्‍वास बढाउन तपाईंले जोडदार प्रयास गर्नुपर्ने हुन्छ। कसरी यसो गर्न सक्नुहुन्छ? माथि उल्लिखित लुका आफ्नो १५ वर्षीय छोरा मानुएलसित मिलेर नियमित रूपमा घरधन्दा गर्छन्‌। लुका भन्छन्‌: “कहिलेकाहीं म मानुएललाई ‘तिमी आफै गर अनि आवश्‍यक परेमा मात्र म सघाउँला’ भन्छु। प्रायजसो त ऊ एक्लैले काम पूरा गर्छ। यसरी काम पूरा गर्दा उसलाई सन्तुष्टि मिल्नुका साथै उसको आत्म-विश्‍वास पनि बढ्‌छ। ऊ सफल हुँदा म उसको प्रशंसा गर्छु। उसले आफूले सोचेजस्तो काम राम्ररी गर्न नसक्दा पनि उसले प्रयास गरेकोमा ‘म असाध्यै खुसी छु’ भनेर उसलाई बताउँछु।”

जीवनमा ठूलठूला लक्ष्य हासिल गर्न मदत गरेर पनि तपाईं छोराको आत्म-विश्‍वास बढाउन सक्नुहुन्छ। तर तपाईंले सोचेजस्तो छोराले छिटो लक्ष्य हासिल गर्न सकेन भने नि? अथवा उसका लक्ष्यहरू नराम्रा त होइनन्‌ तर तपाईंले सोचेजस्तो छैनन्‌ भने नि? यस्तो अवस्थामा आफ्नो छोराबाट कस्तो आशा गर्नु जायज हो, त्यो पुनः केलाउनुपर्ने हुन सक्छ। माथि उल्लिखित झाक भन्छन्‌: “आफूले हासिल गर्न सक्ने लक्ष्यहरू राख्न म छोरालाई मदत दिने कोसिस गर्छु। तर उसले मेरो होइन, उसैको लक्ष्य हासिल गरोस्‌ भन्‍ने पनि चाहन्छु। अनि उसले लक्ष्य हासिल गर्न ऊ आफ्नै रफ्तारमा अघि बढ्‌नुपर्छ, मैले हतार गर्नु हुँदैन भनेर पनि म आफैलाई सम्झाउँछु।” छोराको कुरा सुन्‍नुभयो, उसले राम्रो गर्दा प्रशंसा गर्नुभयो र असफल हुँदा निराश नहुन प्रोत्साहन दिनुभयो भने तपाईंले उसलाई लक्ष्यमा पुग्न मदत दिनुहुनेछ।

बुबा-छोराबीचको सम्बन्धमा तनाव र चुनौती त पक्कै आउनेछ। तर पछिसम्मको कुरा विचार गर्ने हो भने सम्भवतः तपाईंको छोरा तपाईंसित घनिष्ठ भइरहनेछ। आफूलाई सफल हुन मदत गर्ने व्यक्‍तिसित नजिक हुन नचाहने मानिस को होला र? (w11-E 11/01)

[फुटनोट]

a यस लेखमा मुख्यतया बुबा-छोराबीचको विशेष सम्बन्धबारे बताइएको छ। तर यहाँ बताइएका सिद्धान्तहरू बुबा-छोरीबीचको सम्बन्धमा पनि लागू हुन्छ।