सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“म, परमप्रभु तेरा परमेश्‍वरले . . . तेरो दाहिने हात समात्नेछु”

“म, परमप्रभु तेरा परमेश्‍वरले . . . तेरो दाहिने हात समात्नेछु”

परमेश्‍वरको नजिक हुनुहोस्‌

“म, परमप्रभु तेरा परमेश्‍वरले . . . तेरो दाहिने हात समात्नेछु”

व्यस्त सडकमा बाटो काट्‌न लाग्दा बुबाले आफ्नो सानो छोरालाई यसो भन्छ, “बाबु, ड्याडीको हात समाऊ।” बुबाले छोराको सानो हात च्याप्प समाउँदा ऊ ढुक्क हुन्छ, उसलाई कुनै कुराको पनि डर हुँदैन। के तपाईं यो भावना बुझ्नुहुन्छ? जीवनका उतारचढावहरूमा के तपाईंलाई पनि यसरी नै कसैले तपाईंको हात च्याप्प समाएर डोऱ्‍याइदिए हुन्थ्यो जस्तो लाग्छ? लाग्छ भने भविष्यवक्‍ता यशैयाका शब्दहरूबाट ढाडस पाउन सक्नुहुन्छ।यशैया ४१:१०, १३ पढ्‌नुहोस्‌।

माथि शीर्षकमा उल्लेखित शब्दहरू यशैयाले इस्राएल राष्ट्रलाई लेखेका हुन्‌। परमेश्‍वरले इस्राएल राष्ट्रलाई आफ्नो “निज धन” ठान्‍नुहुन्थ्यो। (प्रस्थान १९:५) तर तिनीहरूको चारैतिर शत्रुहरू थिए। के यसले गर्दा इस्राएल राष्ट्र डराउनुपर्थ्यो? यहोवाले यशैयामार्फत उक्‍त सान्त्वनादायी सन्देश सुनाउनुभयो। यशैयाका ती शब्दहरू आज परमेश्‍वरका उपासकहरूलाई पनि लागू हुन्छ भनेर हामी नबिर्सौं।—रोमी १५:४.

यहोवाले यसो भन्‍नुभयो: “नडरा।” (पद १०) यी केवल खोक्रो आश्‍वासन मात्र होइनन्‌। आफ्ना जन डराउनु नपर्ने कारणबारे यहोवाले यसो भन्‍नुभयो: “म तँसित छु।” ‘मदत चाहिएपछि आउँला’ भनी प्रतिज्ञा गर्ने व्यक्‍तिजस्तो उहाँ हुनुहुन्‍न। उहाँ आफ्ना जनसितै हुनुहुन्छ, मानौं तिनीहरूलाई मदत गर्न सँगै हुनुहुन्छ। उहाँ हामीबाट टाढा हुनुहुन्‍न। के यो थाह पाउँदा हामी सान्त्वना पाउँदैनौं र?

आफ्ना उपासकहरूलाई यहोवा अझ यस्तो आश्‍वासन पनि दिनुहुन्छ: “निरुत्साहित नहो।” (पद १०) मानिस किन निरुत्साहित हुन सक्छ? “निरुत्साहित” भनी अनुवाद गरिएको हिब्रू क्रियाले “कतैबाट खतरा आउला कि भनी चारैतिर आँखा डुलाउने” व्यक्‍तिलाई बुझाउन सक्छ। आफ्ना जन डराउन नपर्ने कारणबारे यहोवा यसो भन्‍नुहुन्छ: “किनकि म तेरा परमेश्‍वर हुँ।” योभन्दा सान्त्वनादायी कुरा अरू के हुन सक्छ र? यहोवा “परम प्रधान,” “सर्वशक्‍तिमान्‌” हुनुहुन्छ। (भजन ९१:१) सर्वशक्‍तिमान्‌ परमेश्‍वर आफ्नो साथमा हुनुहुन्छ भने तिनीहरू डराउनुपर्ने कारण छ र?

त्यसोभए यहोवाका उपासकहरूले उहाँबाट के आस गर्न सक्छन्‌? उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।” (पद १०) उहाँ यसो पनि भन्‍नुहुन्छ: “म, परमप्रभु तेरा परमेश्‍वरले . . . तेरो दाहिने हात समात्‌नेछु।” (पद १३) यी शब्दहरू पढ्‌दा तपाईं कस्तो दृश्‍य कल्पना गर्नुहुन्छ? एउटा पुस्तक यसो भन्छ: “यी दुवै पदलाई सँगै विचार गर्ने हो भने बुबा-छोराको हृदयस्पर्शी दृश्‍य दिमागमा आउँछ। बुबा केवल छोराको रक्षा गर्न तम्तयार छन्‌ भन्‍ने मात्र होइन, बरु छोरालाई च्याप्प समाइरहेका छन्‌। तिनले छोराको हात कुनै पनि हालतमा छोड्‌नेछैनन्‌।” कल्पना गर्नुहोस्‌ त—आफ्ना जनले एकदमै कठिन अवस्था भोग्नुपर्दा पनि उहाँले तिनीहरूलाई त्याग्नुहुनेछैन, तिनीहरूको साथ छोड्‌नुहुनेछैन।—हिब्रू १३:५, ६.

यशैयाका यी शब्दहरूबाट आज यहोवाका उपासकहरूले निकै सान्त्वना पाउन सक्छन्‌। अहिलेको “कठिन समय”-मा जीवनका फिक्रीले गर्दा कहिलेकाहीं हामी अत्यन्त विचलित हुन सक्छौं। (२ तिमोथी ३:१) तर हामी एक्लो छैनौं। यहोवा हामीलाई मदत गर्नको लागि आफ्नो हात फैलाउन तयार हुनुहुन्छ। बुबाको हात समाउँदा बच्चाले ढुक्क महसुस गर्छ। त्यसरी नै हामी पनि यहोवा परमेश्‍वरको बलवान्‌ बाहुली च्याप्प समाउन सक्छौं। अनि उहाँले हामीलाई सही बाटोमा डोऱ्‍याउनुहुनेछ र हामीलाई चाहिएको बेला मदत गर्नुहुनेछ भनेर निश्‍चिन्त हुन सक्छौं।—भजन ६३:७, ८. (w12-E 01/01)