सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले किन अब्राहामलाई तिनको छोरा इसहाकको बलि चढाउन अह्राउनुभयो?

परमेश्‍वरले किन अब्राहामलाई तिनको छोरा इसहाकको बलि चढाउन अह्राउनुभयो?

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

परमेश्‍वरले किन अब्राहामलाई तिनको छोरा इसहाकको बलि चढाउन अह्राउनुभयो?

▪ बाइबलको सुरुको पुस्तक उत्पत्तिमा परमेश्‍वरले अब्राहामलाई तिनको छोरा इसहाकको बलि चढाउन अह्राउनुभएको विवरण पाइन्छ। (उत्पत्ति २२:२) बाइबल पढ्‌ने कोही-कोही व्यक्‍तिहरूलाई त्यो विवरण पटक्कै चित्त बुझ्दैन। क्यारल नाम गरेकी एक जना प्राध्यापक यस्तो टिप्पणी गर्छिन्‌: “सानोमा मैले पहिलो चोटि यो कथा सुन्दा मलाई साह्रै रिस उठेको थियो। मैले मनमनै सोचें, ‘यस्तो कठोर आज्ञा दिने पनि भगवान्‌ हुन्छ र!’” हुन त त्यस्ता भावनाहरू आउनु स्वाभाविकै हो तर त्यस विवरणबारे दुई चार वटा कुरा भने राम्ररी बुझौं।

सर्वप्रथम, यहोवाले के गर्नुभएन, त्यो बुझौं। अब्राहाम यहोवाको आज्ञा मान्‍न तयार भइसकेका थिए तर उहाँले तिनलाई बलि चढाउनदेखि रोक्नुभयो। अनि अर्को कुरा, परमेश्‍वरले त्यसपछि कसैलाई पनि त्यस्तो आज्ञा दिनुभएन। यहोवा आफ्ना सबै उपासक र तिनीहरूका छोराछोरी सधैंभरि आनन्दित र दीर्घायु होस्‌ भन्‍ने चाहनुहुन्छ।

दोस्रो, यहोवाले अब्राहामलाई इसहाकको बलि चढाउन आज्ञा गर्नुको पछाडि एउटा खास कारण थियो भनेर बाइबल बताउँछ। परमेश्‍वरले शताब्दियौंपछि आफ्नो छोरा a येशूलाई हाम्रो खातिर ज्यान दिनको लागि पठाउनु हुनेथियो। (मत्ती २०:२८) येशूको त्यस बलिदानको लागि परमेश्‍वरले कत्ति ठूलो मोल चुकाउनुपर्नेछ भनेर उहाँ हामीलाई बुझाउन चाहनुहुन्थ्यो। परमेश्‍वरले भविष्यमा गर्नुहुने बलिदानलाई यस घटनाले सशक्‍त ढङ्‌गमा चित्रण गऱ्‍यो। कसरी?

यहोवाले अब्राहामलाई भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई . . . होमबलि गर्‌।” (उत्पत्ति २२:२) यहोवाले इसहाकलाई के भनेर सम्बोधन गर्नुभयो, तपाईंले याद गर्नुभयो? उहाँले अब्राहामलाई “तैंले माया गरेको तेरो एउटै छोरो” भनेर इसहाकको विषयमा बताउनुभयो। अब्राहामले इसहाकलाई कत्ति अनमोल ठान्थे भनेर यहोवालाई थाह थियो। यहोवा पनि आफ्नो छोरा येशूप्रति त्यस्तै महसुस गर्नुहुन्थ्यो। यहोवा आफ्नो छोरा येशूलाई असाध्यै माया गर्नुहुन्थ्यो। त्यसैले उहाँले येशूलाई स्वर्गबाट दुई पटक “तिमी मेरो प्यारो छोरा हौ” भनेर सम्बोधन गर्नुभयो।—मर्कूस १:११; ९:७.

साथै यहोवाले अब्राहामलाई इसहाकको बलि चढाउन अह्राउनुहुँदा विनम्र आग्रह झल्किने हिब्रू शब्द प्रयोग गर्नुभयो। परमेश्‍वरले प्रयोग गर्नुभएको त्यस हिब्रू शब्दको अर्थबारे एक जना बाइबलविद्‌ यस्तो टिप्पणी गर्छन्‌, “आफूले अब्राहामसित मागेको कुरा पूरा गर्न तिनले कत्ति ठूलो मोल चुकाउनुपर्नेछ भनेर परमेश्‍वरलाई थाह थियो।” यहोवाले गर्नुभएको त्यस आग्रहले अब्राहामको मुटु छिया-छिया भएको हुनुपर्छ। त्यसरी नै आफ्नो छोराले पीडादायी मृत्यु भोगेको देख्दा यहोवालाई कत्ति चोट पऱ्‍यो होला, हामी कल्पनासमेत गर्न सक्दैनौं। परमेश्‍वरको लागि यो जत्तिको पीडादायी क्षण अरू कुनै थिएन न त फेरि कहिल्यै हुनेछ।

हुन त यहोवाले अब्राहामलाई अह्राउनुभएको कुरा विचार गर्दा झनक्क रिस उठ्‌ला तर यहोवाले विश्‍वासी कुलपिता अब्राहामलाई बलि चढाउनदेखि रोक्नुभएको कुरा पनि सम्झनुहोस्‌ त। यहोवाले अब्राहामलाई छोराको मृत्युको पीडा भोग्न दिनुभएन। वास्तवमा यहोवा आफै पनि इसहाक मरोस्‌ भन्‍ने चाहनुहुन्‍नथ्यो। यहोवाले “आफ्नो छोरालाई समेत बाँकी राख्नुभएन तर हामी सबैको निम्ति सुम्पनुभयो।” (रोमी ८:३२) किन यहोवाले यत्ति ठूलो मोल चुकाउनुभयो? “हामीले जीवन पाउन सकौं” भनेर उहाँले त्यसो गर्नुभएको हो। (१ यूहन्‍ना ४:९) परमेश्‍वर हामीलाई कत्ति प्रेम गर्नुहुँदो रहेछ भन्‍ने कस्तो सशक्‍त प्रमाण! के हामी पनि उहाँलाई प्रेम गर्न उत्प्रेरित हुँदैनौं र? b (w12-E 01/01)

[फुटनोटहरू]

a बाइबलमा बताइएअनुसार येशू मानव पुरुष वा स्त्रीबाट जन्मिएका छोरा हुनुहुन्‍नथियो। यहोवा परमेश्‍वरले सुरुमा उहाँलाई एक जना स्वर्गदूतको रूपमा बनाउनुभएको थियो र पछि पृथ्वीमा कन्या केटी मरियमको कोखमा सारिदिनुभयो। त्यसकारण येशूलाई सृष्टि गर्नुहुने यहोवा नै उहाँको बुबा हुनुहुन्छ।

b येशू मर्नु किन आवश्‍यक थियो अनि उहाँको मृत्युप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं, यसबारे बुझ्नको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५ हेर्नुहोस्‌।