सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउने शाही पुजारीको दल

सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउने शाही पुजारीको दल

“तिमीहरू त ‘चुनिएको जाति,’ शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।”—१ पत्रु. २:९.

१. “प्रभुको साँझको भोज”-लाई किन स्मरणार्थ पनि भनिन्छ र यसको उद्देश्‍य के हो?

 येशू ख्रीष्ट र उहाँका १२ प्रेषितहरूले इस्वी संवत्‌ ३३, नीसान १४ को साँझ अन्तिम पटक यहूदी निस्तार-चाड मनाए। विश्‍वासघाती यहूदा इस्करियोतलाई पठाइसकेपछि येशूले एउटा भिन्‍नै उत्सवको सुरुवात गर्नुभयो जसलाई पछि “प्रभुको साँझको भोज” भनियो। (१ कोरि. ११:२०) “मेरो सम्झनामा यो गर्नेगर” भनेर येशूले दुई पटक भन्‍नुभयो। यसलाई स्मरणार्थ पनि भनिन्छ जसले येशूको मृत्युको स्मरणलाई जोड दिन्छ। (१ कोरि. ११:२४, २५) उहाँको आज्ञा मान्दै यहोवाका साक्षीहरू हरेक वर्ष विश्‍वभरि नै स्मरणार्थ उत्सव मनाउँछन्‌। बाइबल पात्रको नीसान १४, सन्‌ २०१२ मा अप्रिल ५, बिहीबार, सूर्यास्तपछि सुरु हुन्छ।

२. आफूले प्रयोग गरेका प्रतीकहरूबारे येशूले के भन्‍नुभयो?

त्यस अवसरमा येशूले भन्‍नुभएका र गर्नुभएका कुराहरूलाई लूकाले दुइटा पदमा छोटकरीमा यसरी बताए: “उहाँले एउटा रोटी पनि लिनुभयो र धन्यवाद चढाएपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: ‘यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।’ साँझको खाना खाइसकेपछि उहाँले त्यसैगरि कचौरा पनि लिनुभयो र भन्‍नुभयो: ‘यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।’ ” (लूका २२:१९, २०) प्रेषितहरूले यी शब्दहरूलाई कसरी बुझे?

३. प्रेषितहरूले प्रतीकको अर्थलाई कसरी बुझे?

यहूदी भएको नाताले प्रेषितहरूलाई पुजारीहरूले यरूशलेमको मन्दिरमा परमेश्‍वरलाई चढाउने जनावरको बलिदानबारे राम्ररी थाह थियो। यस्ता बलिदानहरू यहोवाको अनुमोदन पाउन र पापको क्षमा पाउन चढाइन्थ्यो। (लेवी १:४; २२:१७-२९) त्यसैले येशूले आफ्नो शरीर र रगत ‘तिनीहरूका लागि दिइने र बगाइने’ कुरा गर्नुहुँदा उहाँले आफ्नो त्रुटिरहित जीवन बलिदानको रूपमा दिने कुरा गर्नुभएको हो भनी प्रेषितहरूले बुझ्न सक्थे। यो बलिदान जनावरको बलिदानभन्दा कता हो कता अमूल्य थियो।

४. “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो . . . मेरो रगतको आधारमा बाँधिनेछ” भनी बताउँदा येशूले के भन्‍न खोजिरहनुभएको थियो?

येशूका यी शब्दहरूबारे चाहिं के भन्‍न सकिन्छ: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो . . . मेरो रगतको आधारमा बाँधिनेछ”? यर्मिया ३१:३१-३३ मा लिपिबद्ध नयाँ करारको भविष्यवाणीबारे प्रेषितहरूलाई थाह थियो पढ्‌नुहोस्‌)। येशूका शब्दहरूले के सङ्‌केत गऱ्‍यो भने उहाँ त्यही नयाँ करारबारे बताउँदै हुनुहुन्थ्यो जुन करारले यहोवाले मोशाद्वारा इस्राएललाई दिनुभएको व्यवस्थाको करारलाई विस्थापित गर्नेथियो। के यी दुई करार आपसमा सम्बन्धित थिए?

५. व्यवस्थाको करारले इस्राएलीहरूलाई कस्तो आशा प्रदान गऱ्‍यो?

हो, यी दुई करारको उद्देश्‍य आपसमा सम्बन्धित थियो। व्यवस्थाको करारबारे बताउँदा यहोवाले इस्राएल राष्ट्रलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।” (प्रस्थ. १९:५, ६) यी शब्दहरूले इस्राएलीहरूका लागि कस्तो अर्थ राख्थ्यो?

शाही पुजारीको दल हुने प्रतिज्ञा

६. व्यवस्थाको करारले कुन प्रतिज्ञा पूरा गर्न मदत गऱ्‍यो?

यहोवाले नूह अनि अब्राहामसित गम्भीर सम्झौता गर्नुभएको कुरा इस्राएलीहरूलाई थाह भएकोले “करार” के हो भनेर तिनीहरूले बुझ्न सके। (उत्प. ६:१८; ९:८-१७; १५:१८; १७:१-९) अब्राहामसित बाँधेको करारमा यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्प. २२:१८) यहोवाले आफ्नो यो प्रतिज्ञा पूरा गर्न व्यवस्थाको करार स्थापित गर्नुभयो। यसैको आधारमा इस्राएलीहरू ‘समस्त मानिसहरूमध्ये यहोवाको निज धन’ हुन सक्थे। कुन उद्देश्‍यको लागि? ‘यहोवाको निम्ति पुजारीहरूको एक राज्य’ हुनको लागि।

७. “पूजाहारीहरूको एक राज्य” भन्‍ने अभिव्यक्‍तिले कुन कुरालाई बुझाउँथ्यो?

इस्राएलीहरूलाई राजा र पुजारीहरूबारे थाह थियो तर विगतमा मल्कीसेदेकले मात्रै यहोवाको अनुमोदनद्वारा दुइटै भूमिका एकै चोटि निर्वाह गरे। (उत्प. १४:१८) अब भने यहोवाले त्यस राष्ट्रलाई “पूजाहारीहरूको एक राज्य” उत्पन्‍न गर्ने अवसर दिनुभयो। यसरी चुनिएका मानिसहरूलाई बाइबलमा पछि “शाही पुजारीको दल” भनिएको छ, जो पुजारीसमेत बन्‍ने राजाहरू हुन्‌।—१ पत्रु. २:९.

८. यहोवाद्वारा नियुक्‍त पुजारीहरूले कस्तो सेवा गर्छन्‌?

राजाले अवश्‍य पनि शासन गर्छन्‌। तर पुजारीले के गर्छन्‌? हिब्रू ५:१ यसो भन्छ: “मानिसहरूमध्येबाट छानिएका हरेक प्रधान पुजारी मानिसहरूको तर्फबाट परमेश्‍वरको सेवा गर्न नियुक्‍त भएका हुन्छन्‌ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्‌।” यहोवाले छान्‍नुभएको पुजारीले पापी मानिसहरूलाई परमेश्‍वरसामु प्रस्तुत गर्छन्‌। ती पुजारीले बलिदान चढाएर त्यस्ता मानिसहरूको पापको क्षमाको लागि यहोवालाई बिन्ती गर्छन्‌। अर्कोतर्फ, मानिसहरूलाई व्यवस्थाका कुराहरू सिकाएर ती पुजारीले यहोवालाई पनि मानिसहरूसामु प्रस्तुत गर्छन्‌। (लेवी १०:८-११; मला. २:७) यहोवाद्वारा नियुक्‍त पुजारीले यी तरिकामा त्रुटिपूर्ण मानिसहरूलाई परमेश्‍वरसित मिलाप गर्न मदत गर्छन्‌।

९. (क) “पूजाहारीहरूको एक राज्य” हुने मौका पाउन इस्राएलीहरूले के गर्नु आवश्‍यक थियो? (ख) यहोवाले किन स्वयम्‌ इस्राएलीहरूको लागि पुजारीको दल नियुक्‍त गर्नुभयो? (ग) व्यवस्थाको करारअन्तर्गत रहेर इस्राएलीहरू किन “पूजाहारीहरूको एक राज्य” बन्‍न सक्दैनथे?

व्यवस्थाको करारले इस्राएलीहरूलाई “समस्त मानिसहरू”-लाई लाभ पुऱ्‍याउने राजा र पुजारी बन्‍ने मौका प्रदान गऱ्‍यो। तर यो अद्‌भुत सुअवसर प्राप्त गर्न तिनीहरूले एउटा सर्त पूरा गर्नुपर्ने थियो। त्यसबारे यहोवाले भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने।” के इस्राएलीहरूले यहोवाको कुरा ‘साँच्चै नै सुन्‍ने थिए’? हो, केही हदसम्म सुन्‍ने थिए। तर के तिनीहरूले त्रुटिरहित तरिकामा यसो गर्न सक्थे? सक्दैनथे। (रोमी ३:१९, २०) यही कारणले गर्दा यहोवाले स्वयम्‌ इस्राएलीहरूको लागि पुजारीको दल स्थापना गर्नुभयो। ती पुजारीहरूले राजाको रूपमा सेवा गरेनन्‌। तिनीहरूले मानिसहरूले गरेको पापको निम्ति जनावरको बलिदान चढाए। (लेवी ४:१—६:७) अनि ती पापहरूमा स्वयम्‌ पुजारीले गर्ने पाप पनि समावेश थियो। (हिब्रू ५:१-३; ८:३) यहोवाले ती बलिदानहरू स्वीकार्नुभयो तर त्यसले बलिदान चढाउनेहरूको पापलाई पूर्णतया हटाउन सक्दैनथ्यो। व्यवस्थाको करारअन्तर्गतका पुजारीको दलले वफादार इस्राएलीहरूलाई समेत परमेश्‍वरसित पूर्णतया मिलाप गराउन सक्दैनथ्यो। यसबारे प्रेषित पावलले यसरी बताए: “साँढे अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ।” (हिब्रू १०:१-४) इस्राएलीहरूले व्यवस्थाको एक-एक कुरा पालन नगरेकाले तिनीहरूमाथि सराप आइपऱ्‍यो। (गला. ३:१०) त्यस्तो अवस्थामा तिनीहरूले अरू सबै जातिहरूका निम्ति शाही पुजारीको दलको रूपमा सेवा गर्न सक्दैनथे।

१०. व्यवस्थाको करारले कुन उद्देश्‍य पूरा गऱ्‍यो?

१० के यसको मतलब इस्राएलीहरू कहिल्यै पनि “पूजाहारीहरूको एक राज्य”-को भाग बन्‍न सक्दैनथे? त्यसो त पक्कै होइन। वफादार भई आज्ञाकारी हुने प्रयास गरेमा तिनीहरूले यो मौका पाउन सक्थे तर व्यवस्थाअन्तर्गत त होइन। किन? ( गलाती ३:१९-२५ पढ्‌नुहोस्‌) यो कुरा बुझ्न व्यवस्थाको करार किन दिइएको थियो भनी थाह पाउनु आवश्‍यक छ। व्यवस्थाको करारले आज्ञाकारी इस्राएलीहरूलाई झूटो उपासनामा लाग्नदेखि जोगायो। साथै, यसले तिनीहरूलाई आफू पापी भएको कुरा बुझ्न मदत गऱ्‍यो र तिनीहरूको प्रधान पुजारीले चढाउने भन्दा अझै महान्‌ बलिदानको खाँचो छ भन्‍ने कुरा महसुस गरायो। व्यवस्था मानिसहरूलाई ख्रीष्ट अर्थात्‌ मसीहसम्म डोऱ्‍याउने अभिभावक थियो। यी पदवीहरूको अर्थ “अभिषिक्‍त जन” हो। तथापि मसीह आएपछि उहाँले यर्मियाले भविष्यवाणी गरेको नयाँ करारलाई चिनाउनुहुनेथियो। ख्रीष्टलाई स्वीकार्ने जतिलाई नयाँ करारको भाग हुन निम्तो दिइयो र वास्तवमा तिनीहरू “पूजाहारीहरूको एक राज्य” हुनेथिए। त्यो कसरी हुनेथियो, हामी हेरौं।

नयाँ करारले शाही पुजारीको दल उत्पन्‍न गर्छ

११. येशू कसरी शाही पुजारीको दलको जग हुनुभयो?

११ इस्वी संवत्‌ २९ मा नासरतका येशू, मसीहको रूपमा आउनुभयो। लगभग ३० वर्षको उमेरमा पानीको बप्तिस्मा गर्दै उहाँले आफूलाई यहोवाको विशेष इच्छा पूरा गर्ने व्यक्‍तिको रूपमा प्रस्तुत गर्नुभयो। यहोवाले येशूलाई तेलले होइन तर पवित्र शक्‍तिले अभिषेक गर्दै “मेरो प्यारो छोरा” भनी स्वीकार्नुभयो। (मत्ती ३:१३-१७; प्रेषि. १०:३८) येशूमा विश्‍वास गर्ने सबैको फाइदाको निम्ति उहाँ प्रधान पुजारी र भविष्यका राजा हुन सकोस्‌ भनेर परमेश्‍वरले येशूलाई यसरी नियुक्‍त गर्नुभयो। (हिब्रू १:८, ९; ५:५, ६) हो, उहाँ शाही पुजारीको दलको जग हुनुहुनेथियो।

१२. येशूको बलिदानले कुन कुरा सम्भव तुल्यायो?

१२ प्रधान पुजारीको रूपमा येशूले उहाँमा विश्‍वास गर्नेहरूले जन्मजातै पाएको पापलाई पूर्णतया ढाक्ने कस्तो बलिदान चढाउन सक्नुहुन्थ्यो? उहाँले आफ्नो मृत्युको स्मरणार्थमा बताएअनुसार उहाँको त्रुटिरहित मानव जीवन नै बलिदान थियो। ( हिब्रू ९:११, १२ पढ्‌नुहोस्‌) इस्वी संवत्‌ २९ मा बप्तिस्मा गरेको समयदेखि मृत्यु नहोउन्जेल येशूले प्रधान पुजारीको रूपमा परीक्षाहरू भोग्न र प्रशिक्षण पाउन आफूलाई सुम्पनुभयो। (हिब्रू ४:१५; ५:७-१०) पुनर्जीवित भएपछि उहाँ स्वर्ग जानुभयो र आफ्नो बलिदानको मोल यहोवासामु प्रस्तुत गर्नुभयो। (हिब्रू ९:२४) त्यसपछि भने येशूले उहाँको बलिदानमा विश्‍वास गर्नेहरूको खातिर यहोवासँग बिन्ती गर्न र अनन्त जीवनको आशासहित परमेश्‍वरको सेवा गर्न तिनीहरूलाई मदत गर्न सक्नुभयो। (हिब्रू ७:२५) उहाँको बलिदानले नयाँ करारलाई पनि वैधता दियो।—हिब्रू ८:६; ९:१५.

१३. नयाँ करारमा सहभागी हुन निम्तो पाएकाहरूसामु कस्तो आशा थियो?

१३ नयाँ करारमा सहभागी हुन निम्तो पाएकाहरू पवित्र शक्‍तिद्वारा पनि अभिषेक हुनेथिए। (२ कोरि. १:२१) विश्‍वासी यहूदीहरू अनि त्यसपछि अन्यजातिहरू यसमा समावेश थिए। (एफि. ३:५, ६) नयाँ करारका सहभागीहरूसामु कस्तो आशा थियो? तिनीहरूले आफ्नो पापबाट पूर्णतया क्षमा पाउने थिए। यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।” (यर्मि. ३१:३४) तिनीहरूको पाप कानुनी रूपमा क्षमा गरिएकोले तिनीहरू “पूजाहारीहरूको एक राज्य” हुन सक्थे। अभिषिक्‍त ख्रीष्टियनहरूलाई सम्बोधन गर्दै पत्रुसले लेखे: “तिमीहरू त ‘चुनिएको जाति,’ शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ। त्यसकारण, जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो, उहाँका असल गुणहरूबारे तिमीहरूले चारैतिर घोषणा गर्नुपर्छ।” (१ पत्रु. २:९) पत्रुसले यस पदमा यहोवाले इस्राएल राष्ट्रलाई व्यवस्थाबारे बताउँदा भन्‍नुभएका शब्दहरू उद्धरण गरे र यसलाई नयाँ करारका सहभागी ख्रीष्टियनहरूमा लागू गरे।—प्रस्थ. १९:५, ६.

शाही पुजारीको दलले सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउँछ

१४. शाही पुजारीको दलले कहाँ सेवा गर्नेथिए?

१४ नयाँ करारका सहभागीहरूले कहाँ सेवा गर्नेथिए? पृथ्वीमा सेवा गर्नेथिए। सामूहिक रूपमा त्यहाँ तिनीहरूले पुजारीको दलको रूपमा सेवा गर्नेथिए। ‘यहोवाका असल गुणहरूबारे घोषणा’ गरेर अनि आध्यात्मिक आहार बाँडेर तिनीहरूले यहोवालाई मानिसहरूसामु प्रस्तुत गर्नेथिए। (मत्ती २४:४५; १ पत्रु. २:४, ५) तिनीहरूको मृत्यु र पुनर्जीवनपश्‍चात्‌ तिनीहरू ख्रीष्टसँग स्वर्गमा राजा र पुजारीको रूपमा दुइटै भूमिका पूरा गर्न सक्षम हुनेथिए। (लूका २२:२९; १ पत्रु. १:३-५; प्रका. १:६) प्रेषित यूहन्‍नाले एउटा दर्शनमा स्वर्गमा यहोवाको सिंहासननजिक थुप्रै अदृश्‍य प्राणीहरू देख्छन्‌। तिनीहरू “थुमा”-को लागि यसरी “नयाँ गीत” गाउँछन्‌: “आफ्नो रगतद्वारा तपाईंले हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो र हाम्रा परमेश्‍वरको लागि राजा र पुजारी बनाउनुभयो अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।” (प्रका. ५:८-१०) अर्को दर्शनमा यूहन्‍ना यी शासकहरूबारे यसो भन्छन्‌: “तिनीहरू परमेश्‍वर अनि ख्रीष्टका पुजारी हुनेछन्‌ र राजाको रूपमा एक हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।” (प्रका. २०:६) सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउन तिनीहरू ख्रीष्टसँगै शाही पुजारीको दल बन्छन्‌।

१५, १६. शाही पुजारीको दलले मानिसजातिमाथि कस्तो आशिष्‌ ल्याउनेछ?

१५ पृथ्वीमा भएकाहरूलाई १,४४,००० ले कस्ता लाभ ल्याउनेछन्‌? प्रकाश अध्याय २१ ले तिनीहरूलाई स्वर्गीय शहर, नयाँ यरूशलेम अर्थात्‌ “थुमाकी दुलही”-को रूपमा चित्रण गर्छ। (प्रका. २१:९) पद २ देखि ४ यसो भन्छ: “मैले पवित्र सहर, नयाँ यरूशलेमलाई आफ्नो दुलहाको लागि सिंगारिएकी दुलहीझैं तयार भएर स्वर्गबाट अर्थात्‌ परमेश्‍वरकहाँबाट तल झरिरहेको पनि देखें। तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनें: ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसित भएको छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जनहरू हुनेछन्‌। परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ ” कस्तो अद्‌भुत आशिष्‌! मृत्युलाई नामेट पारिने हुनाले आँसु, शोक, रुवाइ अनि पीडा हुनेछैन। यसको अर्थ विश्‍वासी मानिसहरू त्रुटिरहित अवस्थामा प्रवेश गरी परमेश्‍वरसित पूर्णतया मिलापमा रहनेछन्‌।

१६ यस शाही पुजारीको दलले ल्याउने आशिष्‌बारे अझ व्याख्या गर्दै प्रकाश २२:१, २ यसो भन्छ: “तिनले मलाई जीवन दिने पानीको नदी देखाए, जुन मणिभजत्तिकै कञ्चन थियो अनि परमेश्‍वर र थुमाको सिंहासनबाट निस्केर [नयाँ यरूशलेमको] मूल बाटोको बीचबाट बगिरहेको थियो। अनि त्यस नदीको दुवै किनारामा जीवनका रूखहरू थिए, जसले हरेक महिना फल फलाउँथे अर्थात्‌ वर्षमा बाह्र बाली दिन्थे। अनि ती रूखका पातहरूचाहिं राष्ट्र-राष्ट्रका मानिसहरूलाई निको पार्नका लागि थिए।” यस्ता प्रतीकात्मक प्रबन्धहरूद्वारा, “राष्ट्र-राष्ट्रका मानिसहरू” अर्थात्‌ सम्पूर्ण मानव परिवारले आदमबाट जन्मजातै पाएको त्रुटिपूर्ण अवस्थाबाट पूर्णतया मुक्‍ति पाउनेछन्‌। साँच्चै, ‘पहिलेका कुराहरू बितिसकेका हुनेछन्‌।’

शाही पुजारीको दलले आफ्नो काम पूरा गर्छ

१७. अन्तमा शाही पुजारीको दलले कस्तो काम पूरा गर्नेछ?

१७ हजार वर्षीय सेवाको अन्तसम्ममा शाही पुजारीको दलले पृथ्वीका प्रजाहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याइसकेको हुनेछ। त्यसपछि, प्रधान पुजारी अनि राजाको हैसियतमा येशूले त्रुटिरहित मानिसजातिलाई यहोवासामु प्रस्तुत गर्नुहुनेछ। ( १ कोरिन्थी १५:२२-२६ पढ्‌नुहोस्‌) यसप्रकार शाही पुजारीको दलले आफ्नो उद्देश्‍य पूरा गर्नेछ।

१८. शाही पुजारीको दलले आफ्नो काम पूरा गरेपछि यहोवाले ख्रीष्टका सङ्‌गीहरूलाई कसरी प्रयोग गर्नुहुनेछ?

१८ त्यसपछि यहोवाले विशेष सुअवसर पाएका येशूका यी सङ्‌गीहरूलाई कसरी प्रयोग गर्नुहुनेछ? प्रकाश २२:५ अनुसार “तिनीहरूले सदासर्वदा राजाको रूपमा शासन गर्नेछन्‌।” कसमाथि? बाइबलले यसबारे बताउँदैन। तर तिनीहरू यहोवाको लागि अमूल्य साबित भइरहनेछन्‌। तिनीहरूले अदृश्‍य अनि अविनाशी जीवन पाउनुका साथै त्रुटिपूर्ण मानिसहरूलाई मदत गर्दाको अनुभव हासिल गरेका हुनेछन्‌। अनि तिनीहरूले राजाको रूपमा काम गरिरहनेछन्‌ र आफ्नो उद्देश्‍य सदाको लागि पूरा गर्न यहोवाले तिनीहरूलाई प्रयोग गरिरहनुहुनेछ।

१९. स्मरणार्थमा उपस्थित हुनेहरूलाई के कुरा सम्झाइनेछ?

१९ सन्‌ २०१२, अप्रिल ५, बिहीबार येशूको मृत्युको स्मरणार्थ मनाउन भेला हुँदा हामीलाई बाइबलका यी शिक्षाहरू सम्झाइनेछ। पृथ्वीमा थोरै मात्र बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूले खमिर नहालेको रोटी र रातो दाखमद्य खाएर आफू नयाँ करारको भाग भएको कुरा देखाउनेछन्‌। ख्रीष्टको बलिदानका यी प्रतीकहरूले तिनीहरूलाई परमेश्‍वरको अनन्त उद्देश्‍यमा आफ्नो अद्‌भुत सुअवसर र जिम्मेवारीको सम्झना गराउनेछ। यहोवा परमेश्‍वरले सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउन शाही पुजारीको दलको प्रबन्ध गर्नुभएकोले त्यसप्रति कृतज्ञ हुँदै सबै जना त्यस अवसरमा उपस्थित होऔं।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

शाही पुजारीको दलले मानिसजातिको लागि अनन्त आशिष्‌ ल्याउनेछ