सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌

जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌

जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌

“जागा रहो र निरन्तर प्रार्थना गर।”—मत्ती २६:४१.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

हामी जागा छौं भनेर हाम्रो प्रार्थनाले कसरी देखाउँछ?

प्रचारकार्यको सन्दर्भमा हामी जागा छौं भनेर कसरी देखाउन सक्छौं?

परीक्षा सामना गर्नुपर्दा जागा रहनु किन महत्त्वपूर्ण छ अनि हामी कसरी यसो गर्न सक्छौं?

१, २. (क) जागा रहने सम्बन्धमा येशूको उदाहरणबारे कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌? (ख) के पापी मानिसले येशूको त्रुटिरहित उदाहरणबाट पाठ सिक्न सक्छ? उदाहरण दिनुहोस्‌।

 तपाईं सोच्नुहोला: ‘जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नु के साँच्चै सम्भव छ? हुन पनि येशू त्रुटिरहित हुनुहुन्थ्यो! अझ त्यसमाथि, कहिलेकाहीं येशू भविष्यबारे राम्ररी थाह पाउन सक्नुहुन्थ्यो, आफ्नो समयभन्दा हजारौं वर्षपछिको भविष्यसमेत! त्यसोभए के उहाँ साँच्चै जागा रहनुपर्थ्यो?’ (मत्ती २४:३७-३९; हिब्रू ४:१५) आउनुहोस्‌ हामी पहिला माथि उल्लिखित प्रश्‍नहरूको जवाफ विचार गरौं जसले हामीलाई जागा रहनु किन महत्त्वपूर्ण र जरुरी छ भनी बुझ्न मदत गर्छ।

के पापी मानिसले त्रुटिरहित व्यक्‍तिबाट पाठ सिक्न सक्छ? अवश्‍य सक्छ, किनकि एक जना असल शिक्षक र तिनको उदाहरणबाट पाठ सिक्न सकिन्छ। कल्पना गर्नुहोस्‌ कुनै मानिसले धनु चलाउने विषयमा पहिलो पटक सिक्दै छ। सुरुमा त उसले काँड निसानामा लगाउन सक्दैन तर उसले अझ धेरै सिक्छ र प्रयास पनि गरिरहन्छ। आफ्नो क्षमता अझै तिखार्न उसले काँड हान्‍नमा पोख्त गुरुको उदाहरण राम्ररी नियाल्छ। आफ्नो गुरु कसरी उभिन्छन्‌, तिनले कसरी हात राख्छन्‌ अनि धनुको ताँदोमा कसरी औंला राख्छन्‌ भनी विद्यार्थीले ध्यान दिएर हेर्छ। दृढ भई लागिपरेको सिकारुले ताँदोलाई कत्तिको तन्काउनुपर्छ भनेर बिस्तारै-बिस्तारै सिक्छ; उसले हावाको बहाब विचार गर्छ अनि आफ्नो प्रयासलाई जारी राख्छ। आफ्नो गुरुको अनुकरण गर्दै जाँदा ऊ निसानाको झनझनै नजिक पुग्छ। त्यसैगरि येशूको निर्देशन पछ्याएर अनि उहाँको त्रुटिरहित उदाहरण अनुकरण गरेर हामी पनि अझै राम्रो ख्रीष्टियन बन्‍ने प्रयास गरिरहन्छौं।

३. (क) आफू पनि जागा रहनुपर्ने कुरा येशूले कसरी देखाउनुभयो? (ख) यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

जागा रहने विषयमा चाहिं के भन्‍न सकिन्छ? जागा रहनु येशूको लागि के साँच्चै आवश्‍यक थियो? हो, आवश्‍यक थियो। उदाहरणको लागि पृथ्वीमा बिताएको आफ्नो अन्तिम रात येशूले आफ्ना वफादार प्रेषितहरूलाई यस्तो आग्रह गर्नुभयो: “मसँगै जागा रहो।” उहाँले अझै यसो भन्‍नुभयो: “परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर।” (मत्ती २६:३८, ४१) पृथ्वीमा हुँदा उहाँ सधैं जागा रहनुभएको थियो। तर आफ्नो मृत्युअघिको कठिन समयमा उहाँ अझै जागा रहन अनि स्वर्गमा बस्ने आफ्नो बुबासित सक्दो नजिक हुन चाहनुभयो। आफ्ना अनुयायीहरू त्यतिबेला मात्र होइन भविष्यमा पनि यसरी नै जागा रहनुपर्नेछ भनी उहाँलाई थाह थियो। त्यसैले आउनुहोस्‌, हामी जागा रहेको येशू किन चाहनुहुन्छ विचार गरौं। त्यसपछि, जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्न सकिने तीन वटा तरिका विचार गर्नेछौं।

हामी जागा रहेको येशू किन चाहनुहुन्छ?

४. भविष्यबारे हामीलाई थाह नभएको कुरा र हामी जागा रहनुपर्ने आवश्‍यकताबीच कस्तो सम्बन्ध छ?

छोटकरीमा भन्‍नुपर्दा, हामीलाई थाह नभएको अनि थाह भएको कुराले गर्दा हामी जागा रहेको येशू चाहनुहुन्छ। येशू मानिसको रूपमा पृथ्वीमा हुँदा के उहाँलाई भविष्यमा हुने सबै कुरा थाह थियो? अहँ थिएन। नम्र हुँदै उहाँ आफैले यसरी स्वीकार्नुभयो: “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र।” (मत्ती २४:३६) परमेश्‍वरको “छोरा” भईकन पनि येशूलाई यस दुष्ट संसारको अन्त ठ्याक्कै कहिले हुनेछ भनी थाह थिएन। आज हामीलाई नि? के हामीलाई भविष्यबारे सबै कुरा थाह छ? अहँ थाह छैन! यस दुष्ट युगको अन्त गर्न यहोवाले आफ्नो छोरालाई ठ्याक्कै कहिले पठाउनुहुनेछ, हामीलाई थाह छैन। थाह पाएको भए के हामी साँच्चै जागा रहन आवश्‍यक पर्नेथियो र? येशूले बताएअनुसार अन्त अकस्मात्‌, चिताउँदै नचिताएको समयमा आउनेछ; त्यसैले सधैं जागा रहनु आवश्‍यक छ।—मत्ती २४:४३ पढ्‌नुहोस्‌।

५, ६. (क) भविष्य र परमेश्‍वरको उद्देश्‍यबारे हाम्रो ज्ञानले जागा रहन कसरी मदत गर्छ? (ख) सैतानबारे हामीलाई थाह भएको कुराले गर्दा जागा रहन हामी किन अझ कटिबद्ध हुनुपर्छ?

तर अर्कोतर्फ येशूलाई भविष्यबारे थुप्रै अद्‌भुत कुराहरू थाह थियो जुन कुरा उहाँको समयका प्रायः मानिसहरूलाई पटक्कै थाह थिएन। येशूसँग जत्ति ज्ञान थियो त्यत्ति ज्ञान त हामीसित छैन। तर उहाँले हामीलाई परमेश्‍वरको राज्य र यसले निकट भविष्यमा चाल्ने कदमबारे थुप्रै कुरा सिकाउनुभएको छ। के हामी स्कूल, काम गर्ने ठाउँ वा प्रचार गर्ने इलाका, जहाँसुकै हेरे पनि थुप्रै मानिसहरू यस अद्‌भुत सत्यबारे केही थाह नपाएर निस्पट्ट अन्धकारमा बसिरहेको देख्दैनौं र? त्यसैले हामी जागा रहनुपर्ने अर्को कारण यो पनि हो। परमेश्‍वरको राज्यबारे थाह पाएका कुराहरू अरूलाई बाँड्‌ने मौका खोज्न हामी पनि येशूजस्तै सधैं सजग हुनुपर्छ। यस्ता हरेक मौका अनमोल छन्‌ र तीमध्ये हामी कुनै पनि गुमाउन चाहँदैनौ। किनभने जीवनको सवाल छ!—१ तिमो. ४:१६.

आफूलाई जागा रहिरहन मदत गरेको अर्को कुरा पनि येशूलाई थाह थियो। सैतान उहाँलाई प्रलोभनमा पार्न, उहाँमाथि सतावट ल्याउन अनि उहाँको सत्यनिष्ठा तोड्‌न लागिपरेको कुरा उहाँलाई थाह थियो। त्यो दुष्ट शत्रुले येशूलाई प्रलोभनमा पार्ने “अर्को अनुकूल मौका”-को खोजी गरिरहेको थियो। (लूका ४:१३) येशू सधैं जागा रहनुभयो। उहाँ जुनसुकै परीक्षा भोग्न तयार हुनुहुन्थ्यो चाहे त्यो प्रलोभन, विरोध वा सतावट नै किन नहोस्‌। के हाम्रो अवस्था पनि यस्तै छैन र? सैतान अहिले पनि “कसलाई निलूँ भनेर गर्जने सिंहझैं” घुमिरहेको छ भनेर हामीलाई थाह छ। त्यसैले परमेश्‍वरको वचनले सबै ख्रीष्टियनलाई यस्तो सल्लाह दिएको छ: “सचेत रहो, जागा बस।” (१ पत्रु. ५:८) त्यसोभए हामी कसरी यसो गर्न सक्छौं?

प्रार्थना गर्ने सन्दर्भमा हामी कसरी जागा रहन सक्छौं?

७, ८. प्रार्थना गर्ने सन्दर्भमा येशूले कस्तो सल्लाह दिनुभयो अनि उहाँले कस्तो उदाहरण बसाल्नुभयो?

सचेत अथवा जागा रहनु अनि प्रार्थना गर्नुबीच गहिरो सम्बन्ध छ भनी बाइबल बताउँछ। (कल. ४:२; १ पत्रु. ४:७) आफूसँगै जागा रहन आफ्ना अनुयायीहरूलाई भनेको केही समयपछि नै येशूले यसो भन्‍नुभयो: “परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर।” (मत्ती २६:४१) के येशूले त्यतिबेला तिनीहरूले सामना गरिरहेको कठिन समयको लागि मात्रै यो सल्लाह दिनुभएको थियो? कदापि थिएन। उहाँको सल्लाह हामीले दिनहुँ पालन गर्नुपर्ने सिद्धान्त हो।

प्रार्थना गर्ने सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। एक पटक येशूले पूरै रात आफ्नो बुबालाई प्रार्थना गरेर बिताएको कुरा तपाईंलाई यादै होला। अब हामी त्यो दृश्‍य कल्पना गर्ने कोसिस गरौं। (लूका ६:१२, १३ पढ्‌नुहोस्‌) समय वसन्त ऋतुको हो अनि येशू सायद कफर्नहुम सहरनजिक हुनुहुन्छ। जसै रात पर्छ उहाँ एउटा डाँडामा जानुहुन्छ, जहाँबाट गालील समुद्र देख्न सकिन्छ। उहाँ त्यहाँबाट तलतिर हेर्नुहुन्छ र कफर्नहुम र नजिकैका अरू गाउँमा धिपधिपाइरहेका दियोहरू देख्नुहुन्छ। तर यहोवालाई प्रार्थना गर्न थालेपछि भने उहाँ आफ्नो ध्यान प्रार्थनामा मात्र केन्द्रित गर्नुहुन्छ। प्रार्थना गर्दागर्दै घण्टौं बित्छ। टाढाका दियोहरू एकपछि अर्को गरी निभ्दै गरेको, आकाशमा चन्द्रमाले आफ्नो गति लिंदै गरेको वा रातमा सक्रिय हुने जनावरहरू आहाराको लागि निस्कँदै गरेको उहाँलाई पत्तै हुँदैन। सायद उहाँ १२ प्रेषितहरू छान्‍ने गम्भीर निर्णयबारे प्रार्थना गर्दै हुनुहुन्छ। आफ्नो बुबासित डोऱ्‍याइ र बुद्धिको लागि व्यग्रताका साथ प्रार्थना गर्दा उहाँले प्रत्येक चेलाबारे आफ्ना भावना तथा चिन्ता व्यक्‍त गर्नुभएको हामी कल्पना गर्न सक्छौं।

९. येशूले प्रार्थनामा पूरै रात बिताउनुभएको कुराबाट हामी के सिक्न सक्छौं?

येशूको उदाहरणबाट हामी के सिक्न सक्छौं? हामीले प्रार्थनामा घण्टौं समय बिताउनुपर्छ भन्‍न खोजिएको हो? त्यसो त होइन किनकि येशूले आफ्ना अनुयायीहरूबारे दयालुपूर्वक यसो भन्‍नुभयो: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।” (मत्ती २६:४१) तैपनि हामी येशूको अनुकरण गर्न सक्छौं। उदाहरणको लागि आफू र आफ्नो परिवारको अथवा सङ्‌गी विश्‍वासीको यहोवासितको सम्बन्धलाई असर गर्न सक्ने निर्णय गर्नुअघि के हामी स्वर्गमा बस्नुहुने बुबासित सल्लाह माग्छौं? के हामी सङ्‌गी विश्‍वासीहरूको लागि प्रार्थना गर्छौं? सधैं एउटै कुरा दोहोऱ्‍याइरहनुको सट्टा के हामी मनैदेखि प्रार्थना गर्छौं? यो कुरा पनि याद गर्नुहोस्‌, येशूले यहोवासितको आत्मीय र व्यक्‍तिगत कुराकानीको मोल गर्नुभयो। आजको व्यस्त संसारमा जीवनको दौडधूपमा अलमलिएर महत्त्वपूर्ण कुरालाई बिर्सन केही बेर लाग्दैन। प्रशस्त समय निकालेर यहोवालाई मनैदेखि व्यक्‍तिगत प्रार्थना गऱ्‍यौं भने जागा रहन अझ मदत मिल्नेछ। (मत्ती ६:६, ७) हामी यहोवासित अझ नजिक हुनेछौं, उहाँसितको सम्बन्ध बलियो बनाउन उत्सुक हुँदै यो सम्बन्धलाई कमजोर बनाउने कुनै पनि कुरा गर्नदेखि अलग रहनेछौं।—भज. २५:१४.

प्रचार गर्ने सन्दर्भमा हामी कसरी जागा रहन सक्छौं?

१०. येशू साक्षी दिने मौकाप्रति सजग हुनुहुन्थ्यो भनी कुन उदाहरणले देखाउँछ?

१० यहोवाले आफूलाई सुम्पेको कामप्रति येशू सजग हुनुहुन्थ्यो। कतिपय काम यताउता मन डुलाए पनि खासै फरक नपर्ने खालका हुन्छन्‌ भने कतिचाहिं एकदमै ध्यान केन्द्रित गर्नुपर्ने खालका हुन्छन्‌। हाम्रो ख्रीष्टियन सेवाचाहिं ध्यान केन्द्रित गर्नुपर्ने खालको काम हो। येशू अरूलाई सुसमाचार सुनाउने मौका खोज्नुहुन्थ्यो। यसरी उहाँ सधैं जागा रहनुभयो। उदाहरणको लागि येशू र उहाँका चेलाहरू बिहानभरिको लामो यात्रापश्‍चात्‌ सुखार सहर आएपछि चेलाहरू खानेकुरा किन्‍न गए। येशू उक्‍त सहरको इनारनजिकै आराम गर्न बस्नुभयो तर त्यतिबेला पनि जागा रहँदै साक्षी दिने मौका खोज्नुभयो। एक जना सामरी स्त्री पानी लिन त्यहाँ आइन्‌। येशूले यतिबेला झप्की लिने वा कुराकानी नगर्ने छनौट गर्न सक्नुहुन्थ्यो। तर उहाँले त्यस स्त्रीसित कुराकानी गर्नुभयो र सशक्‍त साक्षी दिनुभयो जसले त्यस सहरका थुप्रै मानिसको जीवनलाई असर गऱ्‍यो। (यूह. ४:४-२६, ३९-४२) दिनहुँ भेट्‌ने मानिसहरूलाई सुसमाचार सुनाउने हरेक मौकाको फाइदा उठाएर के हामी पनि जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्न सक्छौं?

११, १२. (क) आफ्नो कामबाट अलमल्याउन खोज्नेहरूलाई येशूले के भन्‍नुभयो? (ख) आफ्नो कामको सन्दर्भमा सन्तुलित भएको कुरा येशूले कसरी देखाउनुभयो?

११ राम्रै मनसाय भएका मानिसहरूले कहिलेकाहीं येशूलाई उहाँको कामबाट अलमल्याउन खोजे। येशूले मानिसहरूलाई चमत्कारपूर्ण तरिकामा निको पारेको देखेर कफर्नहुमका मानिसहरू यत्ति हौसिएका थिए कि तिनीहरूले येशूलाई आफैसित राख्न चाहेका थिए। तिनीहरूले त्यसो गर्न चाहनु स्वाभाविकै थियो। तर येशूको लक्ष्य एउटै सहरमा मात्र होइन, “इस्राएलको घरानाका . . . हराएका भेडाहरू” सबैलाई प्रचार गर्नु थियो। (मत्ती १५:२४) त्यसैले ती मानिसहरूलाई येशूले भन्‍नुभयो: “मैले अरू सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४०-४४) त्यसकारण येशूको जीवन सेवाको काममा केन्द्रित थियो। उहाँले कुनै कुराले आफूलाई अलमल्याउन दिनुभएन।

१२ के येशू आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्ने कट्टर वा सन्यासी हुनुहुन्थ्यो? के उहाँ मानिसहरूको आवश्‍यकताको ख्यालै नराखी सेवाको काममा मात्र तल्लीन हुनुहुन्थ्यो? अहँ हुनुहुन्‍नथ्यो। सन्तुलित हुने विषयमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। आफ्ना मित्रहरूसित रमाइलो समय बिताउँदै उहाँले जीवनको आनन्द लिनुभयो। उहाँले मानिसहरूको आवश्‍यकता र समस्याप्रति समानुभूति देखाउँदै तिनीहरूको मोल गर्नुभयो अनि केटाकेटीलाई पनि खुलेर माया गर्नुभयो।—मर्कूस १०:१३-१६ पढ्‌नुहोस्‌।

१३. प्रचारकार्यको सम्बन्धमा हामी कसरी येशूजस्तै जागा रहन र सन्तुलित हुन सक्छौं?

१३ जागा रहने सम्बन्धमा येशूको अनुकरण गर्दा हामी पनि कसरी उहाँजस्तै सन्तुलित हुने प्रयास गर्न सक्छौं? यस संसारले गर्दा हामी आफ्नो काम पूरा गर्नबाट अलमलिदैनौं। राम्रै मनसाय भएका साथी अनि आफन्तहरूले समेत हामीलाई सेवाको काममा सुस्ताउन वा तिनीहरूले सोचेअनुसारको सामान्य जीवन बिताउन सल्लाह दिन सक्छन्‌। तर येशूको अनुकरण गर्छौं भने सेवाको कामलाई भोजनजत्तिकै महत्त्वपूर्ण ठान्‍नेछौं। (यूह. ४:३४) सेवाको कामले यहोवासितको हाम्रो सम्बन्ध बलियो बनाउनुका साथै हामीलाई आनन्दित पनि बनाउँछ। तथापि आत्मधर्मी वा सन्यासी मनोभाव देखाउँदै हामी कहिल्यै पनि कट्टरपन्थी हुन चाहँदैनौं। येशूजस्तै हामी पनि “आनन्दित परमेश्‍वरको” आनन्दित र सन्तुलित सेवक हुन चाहन्छौं।—१ तिमो. १:११.

परीक्षा सामना गर्दा कसरी जागा रहन सक्छौं?

१४. परीक्षा सामना गर्दा कस्तो झुकावको प्रतिरोध गर्नुपर्ने हुन्छ र किन?

१४ येशू आफैले एकदमै कठिन परीक्षा भोग्दा उहाँले जागा रहने सम्बन्धमा केही महत्त्वपूर्ण सल्लाह दिनुभएको थियो। (मर्कूस १४:३७ पढ्‌नुहोस्‌) कठिनाइहरू भोग्दा हामीले उहाँको उदाहरण झनै सम्झनुपर्छ। परीक्षा सामना गर्दा धेरैले एउटा महत्त्वपूर्ण सत्यलाई बिर्सन्छन्‌। यो सत्य यत्ति महत्त्वपूर्ण छ कि यसलाई हितोपदेशको किताबमा दुई-दुई पटक यसरी उल्लेख गरिएको छ: “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमानै पुऱ्‍याउने हुन्छ।” (हितो. १४:१२; १६:२५) विशेषगरि गम्भीर समस्याको सामना गर्नुपर्दा आफ्नै सोचाइमा भर पऱ्‍यौं भने हामीले आफैलाई र आफूले माया गर्ने मानिसहरूलाई खतरामा पार्न सक्छौं।

१५. आर्थिक कठिनाइ सामना गर्नुपर्दा परिवारको शिर कस्तो प्रलोभनमा पर्न सक्छन्‌?

१५ उदाहरणको लागि “आफन्तको” भौतिक आवश्‍यकताहरू पूरा गर्ने सम्बन्धमा परिवारको शिरले तीव्र दबाब सामना गर्न सक्छन्‌। (१ तिमो. ५:८) तिनी सभा धाउने, साँझको पारिवारिक उपासनामा नेतृत्व लिने वा प्रचारकार्यमा भाग लिनेजस्ता गतिविधिहरू बारम्बार छुटाउनुपर्ने खालको जागिर खाने प्रलोभनमा पर्न सक्छन्‌। मानव सोचाइमा मात्र भर परेमा तिनलाई यस्तो किसिमको छनौट ठिकै मात्र होइन एकदमै उचितसमेत लाग्न सक्छ। तर यसले गर्दा यहोवासितको तिनको मित्रता टुट्‌न सक्छ र तिनी यहोवाविरुद्ध खडा हुन सक्छन्‌। हितोपदेश ३:५, ६ को सल्लाह पालन गर्नु कत्ति असल! सुलेमानले यसो भने: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”

१६. (क) आफ्नै बुद्धिमा नभई यहोवाको बुद्धिमा भर पर्नुपर्ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो? (ख) कठिन समयमा यहोवामा भर पर्ने सन्दर्भमा थुप्रै परिवारका शिरले कसरी येशूको उदाहरण अनुकरण गरिरहेका छन्‌?

१६ परीक्षा सामना गर्नुपर्दा येशूले आफ्नै समझमा भर पर्न दृढतापूर्वक इन्कार गर्नुभयो। यसबारे सोच्नुहोस्‌, पृथ्वीको सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति भईकन पनि अरूलाई जवाफ दिंदा येशू आफ्नै बुद्धिमा भर पर्नुभएन! उदाहरणको लागि सैतानले प्रलोभन ल्याउँदा येशूले बारम्बार यसरी जवाफ दिनुभयो: “यस्तो लेखिएको छ।” (मत्ती ४:४, ७, १०) प्रलोभनको प्रतिरोध गर्न उहाँ आफ्नो बुबाको बुद्धिमा भर पर्नुभयो। यसरी सैतानले तुच्छ ठानेको र त्यससित पटक्कै नभएको नम्रता येशूले देखाउनुभयो। के हामी पनि यसै गर्छौं? जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्ने परिवारको शिर, विशेषगरि परीक्षा सामना गर्नुपर्दा परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार चल्छन्‌। संसारभरि हजारौं परिवारका शिरहरूले यसै गरिरहेका छन्‌। तिनीहरूले भौतिक कुराहरूलाई भन्दा परमेश्‍वरको राज्य र शुद्ध उपासनालाई जीवनमा पहिलो स्थान दिइरहेका छन्‌। यसप्रकार तिनीहरू सर्वोत्तम तरिकामा आफ्नो परिवारको हेरविचार गर्छन्‌। यहोवाको वचनले प्रतिज्ञा गरेझैं परिवारको भौतिक आवश्‍यकताहरू पूरा गर्न तिनीहरूले गरेको प्रयासमा उहाँले आशिष्‌ दिनुहुन्छ।—मत्ती ६:३३.

१७. जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्न तपाईंलाई केले उत्प्रेरित गर्छ?

१७ जागा रहने सम्बन्धमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उहाँको उदाहरण व्यावहारिक र लाभदायी छ अनि यसले जीवनसमेत बचाउँछ। सैतान तपाईंलाई आध्यात्मिक निद्रामा पार्न चाहन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌, अर्थात्‌ ऊ तपाईंको विश्‍वास कमजोर भएको, तपाईंमा यहोवाको उपासनाप्रति जोस जाँगर नभएको अनि तपाईंले आफ्नो सत्यनिष्ठामा सम्झौता गरेको चाहन्छ। (१ थिस्स. ५:६) त्यसलाई सफल हुन नदिनुहोस्‌! प्रार्थना गर्ने, प्रचार गर्ने अनि परीक्षाको सामना गर्ने सन्दर्भमा येशूजस्तै जागा रहनुहोस्‌। यसो गर्दा बित्नै लागेको यस युगमा समेत तपाईंले आनन्दित र सन्तोषजनक जीवन बिताउन सक्नुहुनेछ। जागा रहनुभयो भने तपाईंको मालिक यस युगलाई नाश गर्न आउँदा उहाँले तपाईंलाई परमेश्‍वरको सेवामा सचेत र सक्रिय पाउनुहुनेछ। तपाईंले पछ्याएको विश्‍वासी मार्गको लागि तपाईंलाई इनाम दिन पाउँदा यहोवालाई कत्ति खुसी लाग्ला!—प्रका. १६:१५.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ६-मा भएको चित्र]

येशूले इनारमा एउटी स्त्रीलाई प्रचार गर्नुभयो। दिनहुँ प्रचार गर्न तपाईं पनि कस्तो मौका खोज्नुहुन्छ?

[पृष्ठ ७-मा भएको चित्र]

परिवारलाई यहोवासित घनिष्ठ बनाउने कोसिस गर्दा तपाईं जागा रहेको कुरा देखिन्छ