सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘बलियो र अति साहसी हुनुहोस्‌’

‘बलियो र अति साहसी हुनुहोस्‌’

‘बलियो र अति साहसी हुनुहोस्‌’

‘बलियो र अति साहसी हो, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।’—यहो. १:७-९.

तपाईं के भन्‍नुहुन्छ?

हनोक र नूहले के-कस्ता तरिकामा साहस देखाए?

प्राचीन समयका केही स्त्रीहरू विश्‍वास र साहस देखाउने सन्दर्भमा कसरी उदाहरणीय थिए?

जवानहरूले देखाएको साहसको कस्तो उदाहरणले तपाईंलाई प्रभाव पाऱ्‍यो?

१, २. (क) जीवनमा सही मार्ग पछ्याउन कहिलेकाहीं के आवश्‍यक पर्छ? (ख) हामी कुन कुरा जाँच्नेछौं?

 साहस भनेको डर, कातरपन अनि कायरताको ठीक उल्टो हो। साहसी भन्‍नेबित्तिकै हामी बलियो, प्रतापी अनि निर्भयी व्यक्‍ति सम्झन्छौं होला। तर कहिलेकाहीं दैनिक जीवनमा सही मार्ग पछ्याउनकै लागि मात्र पनि साहसको आवश्‍यकता पर्छ।

बाइबल विवरणका केही व्यक्‍तिहरू एकदमै गाह्रो अवस्थामा पनि निडर थिए। अरू कतिपयले भने यहोवाका धेरैजसो सेवकले दिनहुँजसो सामना गर्नुपर्ने परिस्थितिमा साहस देखाए। साहसी हुने सन्दर्भमा बाइबलमा दिइएका उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? हामी कसरी साहसी हुन सक्छौं?

दुष्ट संसारमा साहसी साक्षीहरू

३. हनोकले दुष्ट व्यक्‍तिहरूबारे कस्तो भविष्यवाणी गरे?

नूहको दिनको जलप्रलयअघि पृथ्वीमा दुष्ट व्यक्‍तिहरू भएकोले यहोवाको साक्षी हुन साहस चाहिन्थ्यो। यद्यपि “आदमपछि सातौं पुस्ताका” हनोकले निर्भयी हुँदै यस्तो भविष्यसूचक सन्देश सुनाए: “हेर, यहोवा आफ्ना लाखौं-लाख पवित्र स्वर्गदूतहरूसित सबैलाई दण्ड दिन, दुष्टहरूलाई तिनीहरूका सबै दुष्ट कामहरूको दोषी ठहराउन अनि दुष्ट पापीहरूलाई उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।” (यहू. १४, १५) हनोकले त्यो भविष्यवाणीलाई भूतकालमा बताए किनकि त्यो अवश्‍य पूरा हुनेथियो। अनि विश्‍वव्यापी जलप्रलयमा दुष्ट व्यक्‍तिहरू नाश भए!

४. कस्तो अवस्थाको बाबजुद नूह ‘परमेश्‍वरको साथै हिंडे’?

उक्‍त जलप्रलय हनोकले भविष्यसूचक वचन सुनाएको ६५० वर्षपछि अर्थात्‌ ईसापूर्व २३७० मा भयो। त्यस समयबीच नूह जन्मिए, परिवार बसाले अनि आफ्ना छोराहरूसितै मिलेर जहाज बनाए। दुष्ट स्वर्गदूतहरूले मानव शरीर धारण गरे, सुन्दरी स्त्रीहरूसित यौनसम्बन्ध राखे अनि नपीलहरूका बुबा भए। साथै मानिसहरूको दुष्टता चुलिएको थियो अनि पृथ्वी हिंसाले भरिएको थियो। (उत्प. ६:१-५, ९, ११) तर यस्तो अवस्थाको बाबजुद नूह ‘परमेश्‍वरको साथै हिंडे’ अनि तिनले निर्भयी हुँदै “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार” गरे। (२ पत्रुस २:४, ५ पढ्‌नुहोस्‌) यस अन्तको समयमा हामीलाई पनि त्यस्तै किसिमको साहस चाहिन्छ।

तिनीहरूले विश्‍वास र साहस देखाए

५. मोशाले कसरी विश्‍वास र साहस देखाए?

मोशाको विश्‍वास र साहस उदाहरणीय थियो। (हिब्रू ११:२४-२७) इस्राएलीहरूलाई मिश्रबाट निकालेर उजाडस्थानमा डोऱ्‍याउने काममा नेतृत्व लिन परमेश्‍वरले मोशालाई ईसापूर्व १५१३-१४७३ सम्म प्रयोग गर्नुभयो। मोशाले आफू यो जिम्मेवारीको लागि असाध्यै अयोग्य भएको महसुस गरे तर तिनले यो जिम्मेवारी स्वीकारे। (प्रस्थ. ६:१२) तिनी र तिनको दाइ हारून मिश्रका तानाशाही फिरऊनसामु बारम्बार देखा परे अनि यहोवाले मिश्रका देवताहरूलाई लज्जित तुल्याउन र आफ्ना जनहरूलाई छुटकारा दिन ल्याउनुहुने दस विपत्तिबारे साहसी भई घोषणा गरे। (प्रस्थ., अध्या. ७-१२) मोशाले विश्‍वास र साहस देखाए किनकि आज हामीलाई जस्तै परमेश्‍वरले तिनलाई अटुट समर्थन गर्नुभएको थियो।—व्यव. ३३:२७.

६. सरकारी अख्तियारवालाहरूले सोधपुछ गरेमा साहसका साथ साक्षी दिन हामी कसरी सक्षम हुनेछौं?

हामी पनि मोशाजस्तै साहसी हुनु आवश्‍यक छ किनकि येशूले यसो भन्‍नुभयो: “मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ। अनि तिमीहरूले तिनीहरूलाई र जाति-जातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ। तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर; के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ; किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।” (मत्ती १०:१८-२०) सरकारी अख्तियारवालाहरूले सोधपुछ गरेमा विश्‍वास र साहसका साथ आदर देखाउँदै साक्षी दिन यहोवाको पवित्र शक्‍तिले हामीलाई सक्षम बनाउनेछ।—लूका १२:११, १२ पढ्‌नुहोस्‌।

७. यहोशू किन साहसी र सफल हुन सके?

परमेश्‍वरको व्यवस्थाको नियमित अध्ययनले मोशाका उत्तराधिकारी यहोशूको विश्‍वास र साहस बढायो। ईसापूर्व १४७३ मा इस्राएल प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न तयार थियो। ‘बलियो र अति साहसी हो’ भनी परमेश्‍वरले आज्ञा दिनुभयो। व्यवस्था पालन गरेमा यहोशूले बुद्धिमानी कदम चाल्न र सफलता प्राप्त गर्न सक्थे। यहोशूलाई यसो भनियो: “बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।” (यहो. १:७-९) ती शब्दहरूले यहोशूलाई पक्कै पनि बलियो बनाएको हुनुपर्छ। अनि परमेश्‍वर निश्‍चय पनि तिनीसित हुनुहुन्थ्यो, किनकि प्रतिज्ञा गरिएको देशको प्रायः भागहरू छ वर्षभित्रमै अर्थात्‌ ईसापूर्व १४६७ सम्ममा कब्जा गरिसकिएको थियो।

बलियो अडान लिने साहसी स्त्रीहरू

८. विश्‍वास र साहस देखाउने सन्दर्भमा राहाब हाम्रो लागि किन उदाहरण हुन्‌?

विगतमा थुप्रै साहसी स्त्रीहरूले यहोवाको निडर उपासकको रूपमा बलियो अडान लिए। उदाहरणको लागि यरीहोकी वेश्‍या राहाबले, यहोशूले पठाएका दुई जासुसहरूलाई साहसी भई लुकाएर र ती जासुसहरूलाई पछ्याइरहेका त्यस सहरका राजाको मानिसहरूलाई अर्कै बाटो देखाइदिएर परमेश्‍वरमा विश्‍वास देखाइन्‌। इस्राएलीहरूले यरीहो कब्जा गर्दा तिनी र तिनको परिवार बच्न सके। राहाबले आफ्नो पापपूर्ण पेसा त्यागिन्‌, विश्‍वासीपूर्वक यहोवाको उपासना गरिन्‌ अनि मसीहको पुर्खा भइन्‌। (यहो. २:१-६; ६:२२, २३; मत्ती १:१, ५) तिनको विश्‍वास र साहसले गर्दा तिनले कत्ति ठूलो आशिष्‌ पाइन्‌!

९. दबोरा, बाराक र याएलले कसरी साहस देखाए?

ईसापूर्व १४५० तिर यहोशूको मृत्यु भएपछि न्यायकर्ताहरूले इस्राएलमा न्याय गर्न थाले। कनानी राजा याबीनले इस्राएलीहरूलाई २० वर्षसम्म सताए। न्यायकर्ता बाराकलाई यस राजाविरुद्ध कदम चाल्नको लागि उत्प्रेरित गर्न परमेश्‍वरले अगमवादिनी दबोरालाई प्रयोग गर्नुभयो। बाराकले तबोर डाँडामा १०,००० मानिसहरू भेला गरे। आफ्ना सिपाही र ९०० रथहरूसहित कीशोन खोल्चामा आएका याबीनका सेनापति सीसरासित युद्ध गर्न तिनी तयार भए। इस्राएलीहरू खोल्चातर्फ अघि बढ्‌दै गर्दा परमेश्‍वरले अकस्मात्‌ बाढी ल्याउनुभयो अनि रणभूमिलाई दलदलमा परिणत गर्नुभयो जसले गर्दा सीसराका रथहरू अघि बढ्‌न सकेनन्‌। बाराकका मानिसहरूले जिते अनि सीसराका “सारा सेनालाई तरवारले नाश गरे।” सीसरा भागेर याएलको पालमा आए तर तिनी सुतिसकेपछि याएलले तिनलाई मारिदिइन्‌। दबोराले बाराकलाई भनेको भविष्यसूचक वचनअनुरूपै यस विजयको “गौरव” याएलले पाइन्‌। दबोरा, बाराक र याएलले साहसीपूर्वक कदम चालेकाले इस्राएलमा “चालीस वर्षसम्म . . . शान्ति भयो।” (न्याय. ४:१-९, १४-२२; ५:२०, २१, ३१) परमेश्‍वरको डर राख्ने थुप्रै पुरुष तथा स्त्रीले यस्तै किसिमको विश्‍वास र साहस देखाएका छन्‌।

हाम्रो बोलीले अरूलाई साहसी बनाउन सक्छ

१०. हाम्रो बोलीले अरूलाई साहसी बनाउन सक्छ भनी किन भन्‍न सक्छौं?

१० हाम्रो बोलीले हाम्रा सङ्‌गी उपासकहरूलाई साहसी बनाउन सक्छ। ईसापूर्व ११ औं शताब्दीमा राजा दाऊदले आफ्नो छोरा सुलेमानलाई यसो भने: “बलियो र आँटिलो हो र यो गर्‌। नडरा र निरुत्साहित नहो, किनभने परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। परमप्रभुको सेवाको निम्तिका सबै चाहिंदो काम तैंले पूरा नगरुञ्जेल उहाँले नता तँलाई निराश तुल्याउनुहुनेछ न तँलाई त्याग्नुहुनेछ।” (१ इति. २८:२०) सुलेमान साहसी भए र यरूशलेममा यहोवाको भव्य मन्दिर बनाए।

११. एउटी इस्राएली केटीको साहसी वचनले एक जना पुरुषको जीवनमा कस्तो प्रभाव पाऱ्‍यो?

११ ईसापूर्व दसौं शताब्दीमा एउटी इस्राएली केटीको साहसी वचन एक जना कोरीको लागि आशिष्‌ साबित भयो। एउटा धावामा उक्‍त केटीलाई कैद गरेर ल्याइएको थियो र तिनी अरामका कोरी सेनापति नामानकी दासी भएकी थिइन्‌। तिनलाई यहोवाले एलीशामार्फत गर्नुभएका चमत्कारहरूबारे थाह थियो। त्यसैले नामान इस्राएलमा गएमा परमेश्‍वरको भविष्यवक्‍ताले निको पार्नेछन्‌ भनी तिनले नामानकी पत्नीलाई बताइन्‌। नामान इस्राएल गए, चमत्कारपूर्ण तरिकामा निको भए र यहोवाको उपासक बने। (२ राजा ५:१-३, १०-१७) तपाईं उक्‍त केटीजस्तै यहोवालाई माया गर्ने जवान व्यक्‍ति हुनुहुन्छ भने उहाँले तपाईंलाई शिक्षक, सहपाठी र अरूलाई साक्षी दिन चाहिने साहस दिन सक्नुहुन्छ।

१२. हिजकियाहका शब्दहरूले तिनका मानिसहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

१२ खतराको समयमा विचार पुऱ्‍याएर बोल्दा त्यसले अरूलाई साहसी बनाउन सक्छ। ईसापूर्व आठौं शताब्दीमा अश्‍शूरीहरू यरूशलेमविरुद्ध आइलाग्दा राजा हिजकियाहले आफ्ना मानिसहरूलाई यसो भने: “आँटिला होऊ, साहसिला होऊ! अश्‍शूरका राजा अथवा तिनले ल्याएको यस भीडले तिमीहरूका हृदयमा त्रास नल्याओस्‌! हामीसित तिनीहरूभन्दा अझ बढी सामर्थी एक हुनुहुन्छ। तिनीहरूसित शारीरिक शक्‍ति होला, तर परमप्रभु हाम्रा परमेश्‍वर हामीलाई सहायता गर्ने र हाम्रा निम्ति युद्ध गर्ने हामीसित हुनुहुन्छ।” हिजकियाहका यी शब्दहरूले कस्तो प्रभाव पाऱ्‍यो? “हिजकियाहको वचनले गर्दा मानिसहरूको हौसला बढ्यो।” (२ इति. ३२:६-८) सतावट आइपर्दा यस्तै शब्दहरूले हाम्रो र अरू ख्रीष्टियनहरूको साहस बढाउन सक्छ।

१३. साहसी हुने सन्दर्भमा राजा आहाबका भण्डारे ओबद्याले कस्तो उदाहरण बसाले?

१३ कहिलेकाहींचाहिं हामी केही नभनेर साहस देखाउँछौं। ईसापूर्व दसौं शताब्दीमा दुष्ट रानी ईजेबेलले यहोवाका भविष्यवक्‍ताहरूलाई मार्ने आज्ञा दिएकी थिइन्‌। तर राजा आहाबका भण्डारे ओबद्याले तिनीहरू नमारिऊन्‌ भनेर तिनीहरूमध्येका एक सय जनालाई साहसी भई “पचास पचास गरी ओढारहरू हुँदो” लुकाए। (१ राजा १८:४) परमेश्‍वरको डर राख्ने ओबद्याले जस्तै वर्तमान समयमा यहोवाका थुप्रै वफादार सेवकहरूले सतावट दिनेहरूलाई सङ्‌गी विश्‍वासीहरूबारे जानकारी नदिएर साहसी हुँदै उनीहरूलाई बचाएका छन्‌।

एस्तर—साहसी रानी

१४, १५. रानी एस्तरले कसरी विश्‍वास र साहस देखाइन्‌ अनि परिणाम कस्तो भयो?

१४ ईसापूर्व पाँचौं शताब्दीमा दुष्ट हामानले जातीय-संहार गर्ने षड्यन्त्र रचेकोले फारसी साम्राज्यका सम्पूर्ण यहूदीहरूको ज्यान जोखिममा पर्दा रानी एस्तरले ठूलो विश्‍वास र साहस देखाइन्‌। आफूहरूलाई मारिंदैछ भन्‍ने कुरा सुनेपछि यहूदीहरूले विलाप गरे, उपवास बसे र मनैदेखि प्रार्थना गरे। (एस्त. ४:१-३) रानी एस्तर असाध्यै व्याकुल भइन्‌। एस्तरका आफन्त मौर्दकैले, यहूदीहरूको संहार गर्न निकालिएको उर्दीको एउटा नकल एस्तरकहाँ पठाए र सङ्‌गी यहूदीहरूको खातिर बिन्ती गर्न राजासामु हाजिर हुन आज्ञा दिए। तर राजाको हुकुमविना तिनीकहाँ जाने जोसुकैलाई मारिन्थ्यो।—एस्त. ४:४-११.

१५ मोर्दकैले एस्तरलाई यसो भने: ‘तिमी चूपै लागी बस्यौ भने छुटकारा अरूद्वारै आउनेछ। तर कसले जान्दछ कि यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेको हो कि?’ शूशनमा भएका यहूदीहरूलाई भेला गर्न र तिनको निम्ति उपबास बस्न एस्तरले मोर्दकैलाई आग्रह गरिन्‌। तिनले भनिन्‌: ‘म पनि तपाईंहरूजस्तै उपवास बस्नेछु। त्यसपछि कानुनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। मेरो विनाश भए पनि होस्‌।’ (एस्त. ४:१२-१७) तिनले साहसी हुँदै कदम चालिन्‌। अनि परमेश्‍वरले आफ्ना मानिसहरूलाई छुटकारा दिनुभयो भनी एस्तरको पुस्तकले देखाउँछ। हाम्रो समयमा पनि अभिषिक्‍त ख्रीष्टियनहरू र तिनीहरूका समर्पित सङ्‌गीहरूले परीक्षाको बेला यस्तै किसिमको साहस देखाउँछन्‌ अनि “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर सधैं तिनीहरूको साथमा हुनुहुन्छ।भजन ६५:२; ११८:६ पढ्‌नुहोस्‌।

“हरेस नखाऊ”

१६. जवान व्यक्‍तिहरूका लागि येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१६ इस्वी संवत्‌ प्रथम शताब्दीमा १२ वर्षका येशू “शिक्षकहरूको बीचमा बसेर सुन्दै अनि सोध्दै गरिरहनुभएको” अवस्थामा मन्दिरमा भेट्टाइनुभयो। साथै “उहाँको कुरा सुन्‍नेजति सबै उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क परिरहेका थिए।” (लूका २:४१-५०) हुनत येशू कलिलै उमेरको हुनुहुन्थ्यो, तैपनि मन्दिरका पाका शिक्षकहरूलाई प्रश्‍न गर्न चाहिने विश्‍वास र साहस उहाँसित थियो। ‘कसैले आफ्नो आशाको कारणबारे सोधेमा तिनीहरूलाई जवाफ दिने’ मौकाको पूरापूर फाइदा उठाउन येशूको उदाहरणले ख्रीष्टियन मण्डलीका जवान केटाकेटीलाई मदत गर्नेछ।—१ पत्रु. ३:१५.

१७. येशूले आफ्ना चेलाहरूलाई ‘साहसी हुन’ किन आग्रह गर्नुभयो अनि हामी पनि किन साहसी हुनुपर्छ?

१७ येशूले अरूलाई ‘हरेस नखान’ आग्रह गर्नुभयो। (मत्ती ९:२, २२) उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “हेर, यस्तो समय आउँदैछ अनि भन्‍ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्‌नेछौ; तैपनि म एक्लो छैन, किनकि बुबा मसित हुनुहुन्छ। मद्वारा तिमीहरूलाई शान्ति मिलोस्‌ भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। संसारमा तिमीहरूले सङ्‌कष्ट झेलिरहेका छौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।” (यूह. १६:३२, ३३) येशूका प्रारम्भिक अनुयायीहरूलाई जस्तै हामीलाई पनि संसारले घृणा गर्छ। तर हामी संसारजस्तै नहोऔं। परमेश्‍वरको छोराको साहसी मार्गबारे मनन गर्दा यस संसारबाट निष्खोट रहने साहस मिल्छ। उहाँले संसारलाई जित्नुभयो र हामी पनि जित्न सक्छौं।—यूह. १७:१६; याकू. १:२७.

“साहसी होऊ!”

१८, १९. प्रेषित पावलले कसरी विश्‍वास र साहस देखाए?

१८ प्रेषित पावलले धेरै परीक्षाहरू सहे। एक अवसरमा, रोमी सिपाहीहरूले नबचाएका भए यरूशलेमका यहूदीहरूले तिनलाई टुक्रा-टुक्रा पार्ने थिए। “त्यही रात, प्रभु तिनको छेउमा उभिनुभयो र भन्‍नुभयो: ‘साहसी होऊ! किनकि तिमीले मेरो विषयमा यरूशलेममा राम्रो साक्षी दिइरहेका छौ, अब रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।’” (प्रेषि. २३:११) पावलले त्यसै गरे।

१९ कोरिन्थको मण्डलीलाई भ्रष्ट पार्न खोज्ने “महाप्रेषितहरू”-लाई पावलले निडर भई हप्काए। (२ कोरि. ११:५; १२:११) महाप्रेषितहरू जस्तो नभई पावलले निम्न कुरा भोगेकोले आफू प्रेषित भएको प्रमाण दिन सक्थे: झ्यालखानाको कैद, पिटाइ, खतरनाक यात्रा, अन्य खतरा, भोक, प्यास, अनिदो रात। साथै सङ्‌गी विश्‍वासीहरूप्रति पनि तिनमा गहिरो चिन्ता थियो। (२ कोरिन्थी ११:२३-२८ पढ्‌नुहोस्‌) पावलले देखाएको विश्‍वास र साहसले तिनले पाएको बल परमेश्‍वरबाटै थियो भनी प्रमाणित गऱ्‍यो।

२०, २१. (क) हामी साहसी भइरहनु आवश्‍यक छ भनी देखाउने एउटा उदाहरण दिनुहोस्‌। (ख) कस्ता अवस्थाहरूमा हामीले साहस देखाउनुपर्ने हुन सक्छ र हामी कुन कुरामा पक्का हुन सक्छौं?

२० सबै ख्रीष्टियनहरूले तीव्र सतावट भोग्छन्‌ भन्‍ने छैन। तर जीवनका चुनौतीहरू सामना गर्न सबै जना निर्भयी हुनु आवश्‍यक छ। उदाहरणको लागि ब्राजिलका एक जवान व्यक्‍ति एउटा गिरोहका सदस्य थिए। बाइबल अध्ययन गरेपछि तिनले परिवर्तन गर्नुपर्ने आवश्‍यकता महसुस गरे तर साधारणतया, गिरोह छोड्‌ने जो कोहीलाई मारिन्थ्यो। तिनले प्रार्थना गरे र त्यस गिरोहका नेतालाई आफू गिरोहमा बसिरहन नसक्नुको कारण बाइबलबाटै देखाए। ती जवान व्यक्‍तिलाई कुनै सजाय नदिई छोडियो र तिनी राज्य प्रकाशक भए।

२१ सुसमाचार सुनाउन साहस चाहिन्छ। स्कूलमा सत्यनिष्ठ भइरहन पनि ख्रीष्टियन युवाहरूलाई यो गुण चाहिन्छ। अधिवेशनको सबै कार्यक्रममा उपस्थित हुनको लागि कामबाट छुट्टी माग्न साहस चाहिन सक्छ। साहस चाहिने कुराहरूको सूची बनाएर साध्य छैन। हामीले जस्तोसुकै चुनौती सामना गर्नुपरे तापनि “विश्‍वाससहित गरिएको प्रार्थना” यहोवाले सुन्‍नुहुनेछ। (याकू. ५:१५) अनि पक्कै पनि उहाँले हामीलाई आफ्नो पवित्र शक्‍ति दिनुहुन्छ जसले गर्दा हामी “बलियो र अति साहसी” हुन सक्छौं!

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

दुष्ट संसारमा हनोकले साहसी भई प्रचार गरे

[पृष्ठ १२-मा भएको चित्र]

याएल साहसी र बलियी थिइन्‌