सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌

‘तिमीले आफ्नो जीवनसाथीलाई बचाउन सक्छौ कि के थाह?’—१ कोरि. ७:१६.

के तपाईं जवाफ भेट्टाउन सक्नुहुन्छ?

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा शान्ति कायम राख्न ख्रीष्टियन सदस्यहरूले के गर्न सक्छन्‌?

बेग्लै धर्म मान्‍ने आफ्नो परिवारका सदस्यहरूलाई साँचो उपासना अँगाल्न ख्रीष्टियनहरूले कसरी मदत गर्न सक्छन्‌?

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बसेका सङ्‌गी ख्रीष्टियनलाई मदत गर्न अरूले के गर्न सक्छन्‌?

१. कसैले राज्य सन्देश स्वीकार्दा यसले तिनको परिवारमा कस्तो असर पार्न सक्छ?

 आफ्ना चेलाहरूलाई प्रचार गर्न पठाउँदा येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’” (मत्ती १०:१, ७) कृतज्ञ हुँदै यो सुसमाचार स्वीकार्नेहरूले शान्ति अनि आनन्द पाउनेथिए। तथापि धेरैले राज्य प्रचारकार्यको विरोध गर्नेछन्‌ भनेर येशूले आफ्ना चेलाहरूलाई चेतावनी दिनुभयो। (मत्ती १०:१६-२३) यस्तो विरोध परिवारको सदस्यबाटै आउँदा त झनै पीडादायी हुन्छ।मत्ती १०:३४-३६ पढ्‌नुहोस्‌।

२. बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियनहरू पनि आनन्दित हुन सक्छन्‌, किन?

के यसको मतलब बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टका अनुयायीहरू आनन्दित हुन सम्भव छैन भन्‍न खोजिएको हो? पटक्कै होइन! कहिलेकाहीं परिवारबाट चर्को विरोध आउन सक्छ तर सधैं यस्तो हुन्छ भन्‍ने छैन। साथै परिवारबाट सधैंभरि विरोध आउँछ भन्‍ने पनि छैन। विरोध आउँदा अथवा बाइबल सत्यप्रति चासो नदेखाउँदा ख्रीष्टियन सदस्यले गर्ने व्यवहारमा थुप्रै कुरा भर पर्छ। साथै यहोवाप्रति वफादार हुनेहरूलाई उहाँले आशिष्‌ दिनुहुन्छ र गाह्रो परिस्थितिको बाबजुद तिनीहरूलाई आनन्दित भइरहन मदत गर्नुहुन्छ। निम्न कुराहरू गरेमा ख्रीष्टियन सदस्यहरू आनन्दित भइरहन सक्छन्‌: (१) घरमा शान्ति कायम गर्न सक्दो प्रयास गरेमा र (२) बेग्लै विश्‍वास भएका सदस्यहरूलाई साँचो उपासना अँगाल्न निष्कपट भई मदत गरेमा।

परिवारमा शान्ति कायम गर्नुहोस्‌

३. बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियनले किन शान्ति कायम राख्नुपर्छ?

परिवारमा शान्तिमय वातावरण छ भने परिवारका अरू सदस्यले पनि सच्चाइ स्वीकार्ने सम्भावना हुन्छ। (याकूब ३:१८ पढ्‌नुहोस्‌) कुनै ख्रीष्टियनको परिवार अहिलेसम्म शुद्ध उपासनामा एकताबद्ध छैनन्‌ भने पनि तिनले परिवारमा शान्ति कायम गर्न सक्दो प्रयास गर्नैपर्छ। तिनले कसरी यसो गर्न सक्छन्‌?

४. ख्रीष्टियनहरूले कसरी मनोशान्ति कायम राख्न सक्छन्‌?

ख्रीष्टियनहरूले मनोशान्ति कायम राख्नैपर्छ। यसका लागि मनैदेखि प्रार्थना गर्नुपर्छ र यसो गरेमा हामीले अरू कुनै पनि कुराभन्दा उत्कृष्ट, “परमेश्‍वरको शान्ति” पाउन सक्छौं। (फिलि. ४:६, ७) यहोवाको ज्ञान लिंदा र बाइबल सिद्धान्तअनुरूप चल्दा शान्ति र आनन्द पाउन सक्छौं। (यशै. ५४:१३) शान्ति र आनन्द पाउन मण्डलीका सभाहरूमा भाग लिनुका साथै क्षेत्र सेवामा जोसिलो हुनु पनि आवश्‍यक छ। बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियनहरूले पनि अक्सर कुनै न कुनै तरिकामा ख्रीष्टियन गतिविधिमा भाग लिन सक्छन्‌। उदाहरणको लागि अञ्जलीलाई a विचार गर्नुहोस्‌। तिनका पति घोर विरोधी हुन्‌। तिनी आफ्नो घरधन्दा सिद्धाएपछि चेला बनाउने काममा भाग लिन्छिन्‌। अञ्जली भन्छिन्‌: “अरूलाई सुसमाचार बाँड्‌न हरेकचोटि प्रयास गर्दा यहोवाले मलाई प्रशस्त आशिष्‌ दिनुहुन्छ।” यहोवाको यस्तो आशिष्‌ले पक्कै पनि शान्ति, सन्तुष्टि र आनन्द दिन्छ।

५. बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियनले अक्सर कस्ता चुनौतीहरूको सामना गर्छन्‌ र तिनीहरूको लागि कस्तो मदत उपलब्ध छ?

बेग्लै धर्म मान्‍ने परिवारको सदस्यसँग शान्तिमा रहन हामीले उत्कट प्रयास गर्नुपर्छ। यसो गर्नु चुनौतीपूर्ण हुन सक्छ किनभने तिनीहरूले हामीबाट माग गर्ने कुरा कहिलेकाहीं बाइबल सिद्धान्तसित बाझिन सक्छ। हामीले बाइबलका सही सिद्धान्तहरूलाई दृढ भई समर्थन गर्दा बेग्लै धर्म मान्‍ने परिवारका कोही-कोही सदस्यलाई चित्त नबुझ्न सक्छ तर यस्तो अडानले अन्तमा गएर शान्ति कायम हुन्छ। अर्कोतर्फ, बाइबल सिद्धान्तसित नबाझिने कुराहरूमा समेत हामी आफ्नै कुरामा जिद्दी गर्छौं भने यसले असमझदारी उत्पन्‍न गर्न सक्छ। (हितोपदेश १६:७ पढ्‌नुहोस्‌) चुनौतीको सामना गर्नुपर्दा विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले तयार पारेका प्रकाशनहरूबाट र एल्डरहरूबाट बाइबलआधारित सल्लाह खोज्नु महत्त्वपूर्ण छ।—हितो. ११:१४.

६, ७. (क) आफ्नो परिवारको कुनै सदस्यले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्दा कसै-कसैले किन विरोध गर्छन्‌? (ख) परिवारले विरोध गर्दा बाइबल विद्यार्थी अथवा साक्षी सदस्यले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

परिवारमा शान्ति कायम राख्न यहोवामाथि भरोसा राख्नु र बेग्लै धर्म मान्‍ने सदस्यहरूको भावनालाई बुझ्नु आवश्‍यक छ। (हितो. १६:२०) नयाँ बाइबल विद्यार्थीहरूले समेत यसो गर्न सक्छन्‌। आफ्नो जोडीले बाइबल अध्ययन गर्दा बेग्लै धर्म मान्‍ने केही पति वा पत्नीले विरोध नगर्न पनि सक्छन्‌। बाइबल अध्ययन गर्नु परिवारका लागि लाभदायी छ भनेरसमेत स्वीकार्न सक्छन्‌। अर्कोतर्फ केहीले भने वैरभाव देखाउन सक्छन्‌। आफ्नो पतिले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्दा आफूलाई साह्रै रिस उठेको कुरा अहिले साक्षी भइसकेकी रेजिना मानिलिन्छिन्‌। तिनी भन्छिन्‌: “म उहाँका किताबहरू फ्याँकिदिने वा जलाइदिने गर्थें।” आफ्नी पत्नीले बाइबल अध्ययन गर्दा सुरुमा विरोध गरेका दिलिप भन्छन्‌: “धेरैजसो पतिहरू आफ्ना पत्नीलाई कुनै धार्मिक गुटको भाग हुन फकाइफुल्याइ गरिंदैछ कि भनेर डराउँछन्‌। यस्तो सम्भाव्य खतराको सामना कसरी गर्ने भनेर पतिलाई थाह नहुन सक्छ र तिनी विरोधी बन्‍न सक्छन्‌।”

जीवनसाथीले विरोध गर्दैमा बाइबल अध्ययन गर्न छोड्‌नुपर्दैन भनेर विद्यार्थीलाई बुझ्न मदत दिनु जरुरी छ। धेरैजसो अवस्थामा बेग्लै विश्‍वास भएको जीवनसाथीलाई कोमल भाव र आदर देखाउँदा समस्या सुल्झिन्छ। (१ पत्रु. ३:१५) दिलिप भन्छन्‌: “मेरी पत्नी शान्त रहिन्‌ र तिनले अचाक्ली गरिनन्‌। यसको लागि म तिनीप्रति कृतज्ञ छु।” दिलिपकी पत्नी भन्छिन्‌: “दिलिपले मलाई बाइबल अध्ययन छोड्‌न दबाब दिनुभयो। मलाई जबरजस्ती बहकाइँदैछ भनेर उहाँले भन्‍नुभयो। विवाद गर्नुको साटो मैले उहाँको कुरा सही पनि हुन सक्छ भनें तर उहाँको कुरालाई सही भन्‍न सक्ने प्रमाण पाएकी छैन भनेर पनि बताएँ। मैले अध्ययन गरिरहेको किताब एकपटक पढेर हेर्न उहाँलाई अनुरोध गरें। उहाँले त्यो पढ्‌नुभयो र त्यसमा लेखिएको कुरालाई नकार्न सक्नुभएन। यसले उहाँमा गहिरो प्रभाव पाऱ्‍यो।” जीवनसाथीले आफूलाई छोडेर ख्रीष्टियन गतिविधिमा भाग लिएको देख्दा बेग्लै विश्‍वास भएका पति वा पत्नीलाई आफू त्यागिएको अथवा आफ्नो वैवाहिक सम्बन्ध नै खतरामा परेको महसुस हुन सक्छ भन्‍ने कुरा सम्झनु महत्त्वपूर्ण छ। तर मायालु तरिकामा आफ्नो जीवनसाथीसित कुरा गर्दा त्यस्तो डर हटाउन सकिन्छ।

तिनीहरूलाई साँचो उपासना अँगाल्न मदत गर्नुहोस्‌

८. बेग्लै धर्म मान्‍ने पति वा पत्नी भएका ख्रीष्टियनहरूलाई प्रेषित पावलले कस्तो सल्लाह दिए?

पति वा पत्नीले बेग्लै धर्म मान्दैमा तिनलाई नत्याग्न प्रेषित पावल ख्रीष्टियनहरूलाई सल्लाह दिन्छन्‌। b (१ कोरिन्थी ७:१२-१६ पढ्‌नुहोस्‌) बेग्लै धर्म मान्‍ने जीवनसाथी पनि एकदिन ख्रीष्टियन बन्‍न सक्छन्‌ भन्‍ने कुरा मनमा राख्दा ख्रीष्टियन पति वा पत्नीले आफ्नो आनन्द कायम राख्न सक्छन्‌। तैपनि, बेग्लै विश्‍वास भएको पति वा पत्नीलाई बाइबल सत्यबारे बताउँदा केही सावधानी अपनाउनुपर्छ। यसलाई निम्न अनुभवहरूले प्रस्ट्याउँछ।

९. बेग्लै धर्म मान्‍ने आफ्नो परिवारका सदस्यहरूलाई बाइबल सत्यबारे बताउँदा कस्तो सावधानी अपनाउनुपर्छ?

आफूले बाइबलबारे सिक्दाको अनुभव सम्झँदै रोसन भन्छन्‌: “आफूले सिकेको कुरा म सबैलाई बताउन चाहन्थें!” जब कुनै बाइबल विद्यार्थीले आफूले बाइबलबाट सिकिरहेको कुरा साँचो हो भनेर महसुस गर्छ तब ऊ यत्ति खुसी हुन्छ कि जतिखेर पनि यसैबारे मात्र कुरा गर्छ। बेग्लै धर्म मान्‍ने आफ्नो परिवारका सदस्यहरूले पनि राज्य सन्देश तुरुन्तै स्वीकारून्‌ भन्‍ने आशा उसले गर्न सक्छ। तर नतिजा त्यस्तो नहुन सक्छ। रोसनले सुरुमा देखाएको उत्साहले तिनकी पत्नीमा कस्तो प्रभाव पाऱ्‍यो? उनी भन्छिन्‌: “उहाँ मलाई दिक्कै लाग्नेगरि बाइबलबारे बताइरहनुहुन्थ्यो।” आफ्नो पतिले भन्दा १८ वर्षपछि सच्चाइ स्वीकारेकी एउटी स्त्री यसो भन्छिन्‌: “मैले बाइबलका कुराहरू बिस्तारै-बिस्तारै सिकें।” यदि तपाईंको बाइबल विद्यार्थीको जीवनसाथीले साँचो उपासना अँगाल्ने सोचाइ राखेका छैनन्‌ भने बाइबल सत्यबारे कसरी ठीक तरिकामा बताउन सकिन्छ भनेर तिनीसितै बसेर नियमित रूपमा अभ्यास गर्नुभए कसो होला? मोशाले भने: “मेरो शिक्षा झरीझैं वर्षनेछ, मेरो बोली शीतझैं टप्कनेछ, कलिलो घाँसमाथि सिमसिमे पानीझैं” हुनेछ। (व्यव. ३२:२) तीनथुप्रो शब्दहरूले भन्दा बाइबल सत्यबारे ठीक तरिकामा र ठीक समयमा भनिएका थोरै शब्दहरूले अक्सर राम्रो प्रभाव पार्छ।

१०-१२. (क) बेग्लै धर्म मान्‍ने पति वा पत्नी भएका ख्रीष्टियनहरूलाई प्रेषित पत्रुसले कस्तो सल्लाह दिए? (ख) पहिलो पत्रुस ३:१, २ मा दिइएको सल्लाह लागू गर्न एक जना बाइबल विद्यार्थीले कसरी सिकिन्‌?

१० गैर-ख्रीष्टियन पति भएका ख्रीष्टियन स्त्रीहरूलाई सल्लाह दिन परमेश्‍वरले प्रेषित पत्रुसलाई उत्प्रेरित गर्नुभयो। तिनले यस्तो लेखे: “आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्‍वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्‌; तिमीहरूको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनीहरू परमेश्‍वरको वचन पालन गर्ने होऊन्‌।” (१ पत्रु. ३:१, २) पतिले रूखो व्यवहार गर्दासमेत तिनको अधीनमा बसेमा र तिनलाई गहिरो आदर गरेमा पत्नीले आफ्नो पतिलाई साँचो उपासनातर्फ आकर्षित गर्न सक्छिन्‌। त्यसैगरि गैर-ख्रीष्टियन पत्नीले जतिसुकै विरोध गरे पनि ख्रीष्टियन पतिले परमेश्‍वरले चाहनुहुने तरिकामा व्यवहार गर्नुपर्छ र तिनी परिवारको मायालु शिर हुनुपर्छ।—१ पत्रु. ३:७-९.

११ पत्रुसको सल्लाह लागू गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर आधुनिक समयका थुप्रै उदाहरणहरूले देखाउँछन्‌। सरलालाई विचार गर्नुहोस्‌। तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेको तिनका पति राजनलाई मन परेन। राजन स्वीकार्छन्‌: “म रिसाएँ, डाही भएँ, हैकम जमाउन थालें र असुरक्षित महसुस गरें।” सरला भन्छिन्‌: “मैले बाइबल सत्य स्वीकार्नुभन्दा अघि पनि राजनसँग जीवन बिताउनु एकदमै कठिन थियो। उहाँ रिसाहा स्वभावको हुनुहुन्थ्यो। मैले बाइबल अध्ययन गर्न थालेपछि त उहाँ झनै रिसाउन थाल्नुभयो।” सरलालाई केले मदत गऱ्‍यो?

१२ आफूलाई अध्ययन गराउने साक्षीबाट सिकेको एउटा पाठ सरला सम्झन्छिन्‌। तिनी भन्छिन्‌: “एकदिन मलाई बाइबल अध्ययन गर्न मन लागेन। मैले आफ्नै कुरामा जिद्दी गरेकोले अघिल्लो रात राजनले मलाई पिट्‌नुभएको थियो। मलाई आफैदेखि दया लागेर आयो। मैले सबै कुरा मेरो अध्ययन सञ्चालकलाई बताएपछि उहाँले मलाई १ कोरिन्थी १३:४-७ पढ्‌न आग्रह गर्नुभयो। ती पदहरू पढ्‌दै जाँदा मैले यस्तो तर्क गरें, ‘राजनले मलाई कहिल्यै पनि यहाँ वर्णन गरिएजस्तो मायालु व्यवहार गर्नुहुन्‍न।’ तर अध्ययन सञ्चालकले यस्तो प्रश्‍न गरेर मलाई अर्कै तरिकामा सोच्न लगाउनुभयो: ‘पतिसित व्यवहार गर्दा यहाँ वर्णन गरिएको कुन-कुन तरिका लागू गरेर तपाईं आफ्नो पतिलाई प्रेम देखाउँदै हुनुहुन्छ?’ मेरो जवाफ थियो: ‘कुनै पनि लागू गरेकी छैन किनकि उहाँसँग व्यवहार गर्न असाध्यै गाह्रो छ।’ अध्ययन सञ्चालकले मायालुपूर्वक मलाई यसो भन्‍नुभयो: ‘सरला, ख्रीष्टियन बन्‍ने प्रयास गरिरहेको को हो? तपाईं कि राजन?’ मैले आफ्नो सोचाइमा छाँटकाँट गर्नुपर्ने महसुस गरें अनि राजनलाई अझ मायालु व्यवहार गर्न सकूँ भनेर यहोवालाई प्रार्थना गरें। त्यसपछि सबै कुरा बिस्तारै राम्रो हुँदै गयो।” सत्र वर्षपछि राजनले पनि बाइबल सत्य स्वीकारे।

अरूले कसरी मदत गर्न सक्छन्‌?

१३, १४. बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्नेहरूलाई मण्डलीका भाइबहिनीले कसरी मदत गर्न सक्छन्‌?

१३ जसरी सिमसिमे पानीले जमिन भिजाउँछ र बिरुवा हुर्कन मदत गर्छ, त्यसैगरि मण्डलीका प्रत्येक भाइबहिनीले बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियनहरूको आनन्दमा योगदान पुऱ्‍याउन सक्छन्‌। ब्राजिलकी एल्भीना भन्छिन्‌: “भाइबहिनीहरूले देखाएको प्रेमले नै मलाई सत्यमा अडिग रहन मदत गऱ्‍यो।”

१४ बेग्लै धर्म मान्‍ने परिवारको सदस्यलाई मण्डलीका अरू भाइबहिनीले दयालु व्यवहार गर्दा र चासो देखाउँदा यसले तिनको मन छुन सक्छ। आफ्नी पत्नीले भन्दा १३ वर्षपछि बाइबल सत्य स्वीकारेका नाइजेरियामा बस्ने एक पति भन्छन्‌: “म एक जना साक्षीसित यात्रा गरिरहेको बेला तिनको गाडी बिग्रियो। तिनले नजिकैको गाउँमा बस्ने साक्षीहरूलाई खोजे र त्यस रात तिनीहरूले हामीलाई बास दिए। हामीलाई सानैदेखि चिनेझैं गरी तिनीहरूले हाम्रो हेरविचार गरे। मेरी पत्नीले मलाई ख्रीष्टियन प्रेमबारे सधैं बताउने गर्थिन्‌ र त्यस रात मैले त्यो प्रेम महसुस गरें।” आफ्ना पतिले भन्दा १८ वर्षपछि बाइबल सत्य स्वीकारेकी बेलायतमा बस्ने एक पत्नी भन्छिन्‌: “साक्षीहरूले हामी दुवैलाई खाना खान निम्तो दिन्थे। म सधैं स्वागत पाएकी महसुस गर्थें।” c पछि गएर साक्षी बनेका त्यसै देशमा बस्ने एक पति यसो भन्छन्‌: “भाइबहिनीहरू हाम्रो घरमा आउँथे वा हामीलाई उनीहरूको घरमा बोलाउँथे। म आफ्नो असाध्यै ख्याल गरिएको महसुस गर्थें। म अस्पतालमा भर्ना भएको बेला उनीहरू मलाई भेट्‌न आउँदा त्यो कुरा अझै महसुस गरें।” बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूलाई त्यस्तै प्रकारको चासो देखाउने मौका खोज्न सक्नुहुन्छ कि?

१५, १६. परिवारका सदस्यहरूले बाइबल सत्य स्वीकारेनन्‌ भने पनि आफ्नो आनन्द नगुमाउन ख्रीष्टियनहरूलाई केले मदत गर्छ?

१५ परिवारमा ख्रीष्टियन सदस्यले वर्षौंसम्म असल आचरण देखाउँदै राम्रो तरिकामा साक्षी दिए तापनि बेग्लै धर्म मान्‍ने जीवनसाथी, छोराछोरी, आमाबाबु वा अरू आफन्तहरू सबैले साँचो उपासनालाई अँगाल्छन्‌ भन्‍ने छैन। कोही-कोहीले चासो नदेखाउन वा विरोध गरिरहन सक्छन्‌। (मत्ती १०:३५-३७) तर ख्रीष्टियनहरूले ईश्‍वरीय गुण झल्काउँदा यसले अरूमा असाध्यै राम्रो प्रभाव पार्न सक्छ। पहिले बेग्लै धर्म मान्‍ने गरेका एक पति भन्छन्‌: “ख्रीष्टियन जीवनसाथीले असल गुणहरू देखाउन थाल्दा गैर-ख्रीष्टियनको दिमाग र मनमा यसले कस्तो असर गरिरहेको हुन्छ, तपाईंलाई थाहै हुँदैन। त्यसकारण बेग्लै धर्म मान्‍ने जीवनसाथी देखेर कहिल्यै हरेस नखानुहोस्‌।”

१६ परिवारको कुनै सदस्यले बाइबल सत्य स्वीकारेनन्‌ भने पनि ख्रीष्टियनहरू आनन्दित हुन सक्छन्‌। आफूले २१ वर्षसम्म प्रयास गरे तापनि पतिले राज्य सन्देशप्रति कुनै चासो नदेखाएका एक बहिनी यसो भन्छिन्‌: “यहोवालाई खुसी बनाउने प्रयास गरेर, उहाँप्रतिको वफादारिता कायमै राखेर र उहाँसित अझ बलियो सम्बन्ध गाँस्ने प्रयास गरेर मैले आफ्नो आनन्द कायमै राख्न सकेकी छु। व्यक्‍तिगत अध्ययन, सभाको उपस्थिति, क्षेत्र सेवा र अरूलाई मदत गर्ने जस्ता कामहरूमा व्यस्त भएकीले यहोवासँग अझ घनिष्ठ भएकी छु र आफ्नो मनलाई सुरक्षित राख्न सकेकी छु।”—हितो. ४:२३.

हार नमान्‍नुहोस्‌!

१७, १८. बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियन पनि कसरी आशावादी भइरहन सक्छन्‌?

१७ तपाईं बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बसिरहेको ख्रीष्टियन हुनुहुन्छ भने हार नमान्‍नुहोस्‌। ‘आफ्नो नाउँको खातिर परमप्रभुले तपाईंलाई त्याग्नुहुनेछैन’ भनेर नबिर्सनुहोस्‌। (१ शमू. १२:२२) जबसम्म तपाईं उहाँमा लिन हुनुहुन्छ तबसम्म उहाँ तपाईंसँग हुनुहुनेछ। (२ इतिहास १५:२ पढ्‌नुहोस्‌) त्यसैले “परमप्रभुमा मग्न” हुनुहोस्‌। ‘आफ्नो मार्ग उहाँलाई सुम्पनुहोस्‌ र उहाँमा नै भरोसा राख्नुहोस्‌।’ (भज. ३७:४, ५) ‘प्रार्थनामा लागिरहनुहोस्‌’ र स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले जुनसुकै प्रकारका कठिनाइहरू सहन तपाईंलाई बल दिन सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नुहोस्‌।—रोमी १२:१२.

१८ परिवारमा शान्ति कायम राख्नको लागि पवित्र शक्‍ति माग्दै यहोवालाई प्रार्थना गर्नुहोस्‌। (हिब्रू १२:१४) यसो गर्नुभयो भने बेग्लै धर्म मान्‍ने आफ्नो परिवारको सदस्यमा तपाईंले राम्रो प्रभाव पार्न सक्नुहुनेछ। “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति” गर्दा तपाईंले मन र दिमागको शान्ति तथा आनन्द महसुस गर्न सक्नुहुनेछ। (१ कोरि. १०:३१) यसो गर्ने प्रयास गर्दा तपाईंले ख्रीष्टियन मण्डलीका भाइबहिनीहरूको मायालु साथ पाउनुहुनेछ भनी थाह पाउनु कत्ति हृदयस्पर्शी कुरा!

[फुटनोटहरू]

a नाम परिवर्तन गरिएका छन्‌।

b अत्यन्तै गाह्रो अवस्थामा कानुनी रूपमै छुट्टिएर बस्ने कुरालाई पावलले दिएको सल्लाहले निषेध गर्दैन। यो हरेकले व्यक्‍तिगत रूपमा गर्नुपर्ने गम्भीर निर्णय हो। आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको पृष्ठ २५२-२५३ हेर्नुहोस्‌।

c बेग्लै धर्म मान्‍नेहरूसँग खानुलाई बाइबलले निषेध गर्दैन।—१ कोरि. १०:२७.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

आफ्नो विश्‍वासबारे बताउन सही समय छान्‍नुहोस्‌

[पृष्ठ २९-मा भएको चित्र]

बेग्लै विश्‍वास भएको जीवनसाथीप्रति विचारशील हुनुहोस्‌