सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्‌?

के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्‌?

के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्‌?

संसारभरि कति जना ख्रिष्टियन छन्‌? एटलस अफ ग्लोबल क्रिष्टियनिटी नामको किताबअनुसार सन्‌ २०१० मा विश्‍वभरि झन्डै २ अरब ३० करोड ख्रिष्टियन थिए। त्यही किताबमा बताइएअनुसार यी ख्रिष्टियनहरूबीच पनि ४१ हजारभन्दा धेरै सम्प्रदाय छन्‌ अनि तिनीहरूको आ-आफ्नै शिक्षा र नीतिनियम छ। ख्रिष्टियन धर्मका यत्ति धेरै सम्प्रदाय देखेर थुप्रै मानिस अलमल्लमा पर्नु अनौठो कुरा होइन। तिनीहरूको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ: ‘के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्‌?’

यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। कुनै व्यक्‍ति एउटा देशबाट अर्को देश जाँदा अक्सर तिनले आफ्नो परिचय खुलाउनुपर्ने हुन्छ। तिनले आफू को हुँ भनेर प्रमाणित गर्न आफ्नो परिचय पत्र पनि देखाउनुपर्छ, जस्तै: पासपोर्ट। त्यसैगरि कसैले ख्रिष्टमा विश्‍वास गरेको दाबी गर्दैमा ऊ साँचो ख्रिष्टियन भइहाल्दैन। उसले आफू ख्रिष्टियन भएको थप प्रमाण दिनुपर्छ। उसले कस्तो प्रमाण दिनुपर्छ?

“ख्रिष्टियन” शब्द येसुको मृत्यु भएको लगभग १० वर्षपछि प्रयोग गर्न थालियो। यसको इतिहासबारे एक जना बाइबल लेखक लुकाले लेखे: “एन्टिओकमा पहिलो पटक चेलाहरूलाई ईश्‍वरीय निर्देशनद्वारा ‘ख्रिष्टियन’ भन्‍न थालियो।” (प्रेषित ११:२६) हो, येसु ख्रिष्टका चेलाहरूलाई नै ख्रिष्टियन भन्‍न थालियो। येसु ख्रिष्टको चेला बन्‍न चाहनेले के गर्नुपर्छ? द न्यु इन्टरनेशनल डिक्सनरी अफ न्यु टेस्टामेन्ट थियोलोजी भन्छ: “येसुको चेला बनेर उहाँलाई पछ्याउनु भनेको विनाशर्त आफ्नो पूरै जीवन अर्पण गर्नु हो ... जीवनभर आत्मत्यागी भएर जिउनु हो।” त्यसैले साँचो ख्रिष्टियन उही हो जसले साँचो ख्रिष्टियन धर्मको संस्थापक येसुको शिक्षा र निर्देशन विनाशर्त पूर्ण रूपले पालन गर्छ।

के आज ख्रिष्टियन हुँ भनेर दाबी गर्ने यत्ति धेरै मानिसहरूमाझ यस्ता मानिसहरू भेट्टाउन सम्भव छ? आफ्ना साँचो चेलाहरूको चिनारीबारे येसु आफैले के बताउनुभयो? बाइबलले कस्तो जवाफ दिन्छ भनेर जाँच्न हामी तपाईँलाई आग्रह गर्छौँ। यसपछिका लेखहरूमा येसुले भन्‍नुभएका पाँच वटा कुरा विचार गर्नेछौँ, जसबाट हामी साँचो ख्रिष्टियनहरू को हुन्‌ भनेर बुझ्न सक्छौँ। प्रथम शताब्दीका येसुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए, विचार गर्नेछौँ। साथै आज ख्रिष्टियन भएको दाबी गर्नेहरूमध्ये साँचो ख्रिष्टियनको चिनारी कसले दिइरहेका छन्‌, त्यो पनि विचार गर्नेछौँ।