सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिमीहरू मेरो वचनमा रहो’

‘तिमीहरू मेरो वचनमा रहो’

‘तिमीहरू मेरो वचनमा रहो’

“तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्‍ना ८:३१, ३२.

यसको अर्थ के हो? येसुको “वचन” भनेको उहाँको शिक्षा हो, जुन उच्च स्रोतबाट आएको हो। येसुले भन्‍नुभयो: “मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्‍ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।” (युहन्‍ना १२:४९) स्वर्गमा बस्नुहुने आफ्नो बुबा यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुहुँदा उहाँले भन्‍नुभयो: “तपाईँको वचन सत्य हो।” अरूलाई सिकाउँदा येसु अक्सर परमेश्‍वरको वचनबाट उद्धरण गर्नुहुन्थ्यो। (युहन्‍ना १७:१७; मत्ति ४:४, ७, १०) त्यसैले साँचो ख्रिष्टियनहरू ‘उहाँको वचनमा रहन्छन्‌।’ मतलब, तिनीहरू परमेश्‍वरको वचन बाइबल “सत्य” हो भनेर स्विकार्छन्‌ र यसलाई मात्र आफ्नो विश्‍वासको एक मात्र आधार मान्छन्‌ अनि यसैअनुसार जीवन बिताउँछन्‌।

सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? बाइबलका थुप्रै किताब लेख्ने प्रेषित पावलले येसुले जस्तै परमेश्‍वरको वचनको कदर गरे। तिनले लेखे: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो ... उपयोगी छ।” (२ तिमोथि ३:१६) सङ्‌गी ख्रिष्टियनहरूलाई सिकाउन नियुक्‍त भएका पुरुषहरू “विश्‍वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने” हुनुपर्थ्यो। (तितस १:७,) सुरु-सुरुका ख्रिष्टियनहरूलाई यस्तो चेतावनी दिइएको थियो: “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्‌। यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्‌, ख्रिष्टको शिक्षामा होइन।”—कलस्सी २:८.

आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? क्याथोलिक चर्चका शिक्षाहरू (अङ्‌ग्रेजी) भन्‍ने किताबअनुसार “क्याथोलिक चर्चमा सिकाइने सबै कुरा पवित्र धर्मशास्त्रबाट मात्र लिइएका होइनन्‌। त्यसैले पवित्र रीतिथिति र पवित्र धर्मशास्त्र दुवैलाई स्विकार्नुपर्छ र मनैदेखि मान्‍नुपर्छ।” म्याकलिन्स पत्रिकाको एउटा लेखमा क्यानाडाको टोरोन्टोको एउटा चर्चकी अगुवाको यो कुरा छापिएको थियो: “हामी २ हजार वर्षअघिको क्रान्तिकारी विचारधाराअनुसार चल्नुपर्छ र? हामीसितै उत्कृष्ट विचारधाराहरू छन्‌। तर हाम्रा विचारधाराहरूलाई येसु र धर्मशास्त्रको शिक्षाअनुसार ढाल्न खोज्दा ती ओझेलमा पर्छन्‌।”

यहोवाका साक्षीहरूबारे द न्यु क्याथोलिक इन्साइक्लोपीडिया भन्छ: “तिनीहरू बाइबललाई आफ्नो विश्‍वासको एक मात्र आधार मान्छन्‌ र यसैअनुसार जीवन बिताउँछन्‌।” हालै क्यानाडामा एक जना यहोवाको साक्षीले आफ्नो परिचय दिइरहेको बेला एक जना मानिसले तिनको कुरा बीचैमा काटे र तिनको बाइबललाई देखाउँदै भने: “तपाईँ को हो भनेर मैले थाह पाइसकेँ।”