सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तन्त्रमन्त्रमा के कुनै खराबी छ?

तन्त्रमन्त्रमा के कुनै खराबी छ?

तन्त्रमन्त्रमा के कुनै खराबी छ?

बार्बरा a सानैदेखि विभिन्‍न भ्रमात्मक दृश्‍य देख्थिन्‌, थरिथरिको सोर सुनिएको महसुस गर्थिन्‌। यसले गर्दा तिनी मरिसकेका नातेदारहरूसित सम्पर्क गर्न सकिन्छ भनेर विश्‍वस्त भइन्‌। तिनी र तिनको श्रीमान्‌ योअखिम तन्त्रमन्त्रसम्बन्धी किताबहरू पढ्‌थे। पछि तिनीहरू भावी बताउने तास (टारोट कार्ड) पढ्‌न खप्पिस भए। तिनीहरूले यसरी भावी बताउने काम गरेर धेरै पैसा कमाउन सक्थे। एक दिनको कुरा हो, तिनीहरूले त्यो तास पढेर आफ्नो घरमा खतरनाक मानिसहरू आउनेछन्‌ भन्‍ने चेतावनी पाए र त्यस परिस्थितिबाट बच्न के गर्नुपर्छ भनेर पनि सल्लाह पाए।

तन्त्रमन्त्रमा विश्‍वास गर्नु अन्धविश्‍वासजस्तो देखिए तापनि यसमा चासो नहुने मानिस विरलै होला। संसारभरका मानिसहरू आफ्नो भविष्य जान्‍न अथवा भूत-प्रेत र पिचाशदेखि सुरक्षित रहन जन्तर बाँध्छन्‌। कोही हात देखाउन जान्छन्‌, औंठी लगाउँछन्‌, चिना देखाउँछन्‌, ओइजा बोर्ड प्रयोग गर्छन्‌ अनि कोहीचाहिं अदृश्‍य शक्‍तिसित सम्पर्क राख्छन्‌। जर्मन पत्रिका फोकस-को एउटा लेख “ल्याप्टप र लुसिफर”-मा यस्तो लेखिएको थियो: “इन्टरनेटले मानिसहरूमा बोक्सी विद्यासित सम्बन्धित जुनसुकै कुरामा अझ धेरै चासो र उत्सुकता जगाइदिएको छ।”

बाइबलमा तन्त्रमन्त्रबारे के लेखिएको छ, तपाईंलाई थाह छ? त्यसमा लेखिएको कुरा थाह पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ।

तन्त्रमन्त्रबारे बाइबल के भन्छ

परमेश्‍वरले प्राचीन इस्राएलका आफ्ना जनहरूलाई दिएको व्यवस्थामा यस्तो लेखिएको छ: “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” (व्यवस्था १८:१०-१२) परमेश्‍वरको वचनमा तन्त्रमन्त्रको यत्ति धेरै विरोध किन गरिएको छ?

सुरुको अनुभवमा जस्तै थुप्रैले मरिसकेकाहरूसित कुराकानी गर्न र मृतकसित तन्त्रमन्त्रमार्फत जानकारी हासिल गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्छन्‌। प्रायजसो धर्मले मरेपछि पनि मानिस कतै जीवित नै रहन्छ भनेर सिकाएकोले मानिसहरू यस्तो विश्‍वास गर्छन्‌। तर यस्तो शिक्षाको ठीक विपरीत बाइबलले प्रस्टै बताएको छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) बाइबलमा मृतकहरूलाई गहिरो निद्रामा परेको मानिससित तुलना गरिएको छ, जसलाई आफू वरपर के भइरहेछ केही थाह हुँदैन। b (मत्ती ९:१८, २४; यूहन्‍ना ११:११-१४) त्यसोभए रहस्यमय शक्‍तिसित बोलेको वा भेटेको अनुभवबारे चाहिं के भन्‍न सकिन्छ त? कुराकानी गर्न आउने व्यक्‍ति वास्तवमा को हो?

अलौकिक संसारसित सम्पर्क

येशूले पृथ्वीमा छँदा अलौकिक शक्‍तिसित कुराकानी गरेको विवरण सुसमाचारको पुस्तकमा दिइएको छ। मर्कूस १:२३, २४ मा उल्लेख गरिएअनुसार “दुष्ट स्वर्गदूत”-ले येशूलाई यसो भन्यो: “तपाईं वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ।” अलौकिक संसारका दुष्ट स्वर्गदूतले तपाईंलाई पनि चिन्छ। तर के तपाईं तिनीहरूलाई चिन्‍नुहुन्छ?

मानिस सृष्टि गर्नुअघि परमेश्‍वरले स्वर्गमा बस्नको लागि अनगिन्ती छोराहरू अर्थात्‌ स्वर्गदूतहरू सृष्टि गर्नुभएको थियो। (अय्यूब ३८:४-७) स्वर्गदूतहरूको जीवन मानिसको भन्दा उच्च कोटिको छ। (हिब्रू २:६, ७) तिनीहरू हामीभन्दा शक्‍तिशाली अनि बुद्धिमान्‌ छन्‌। तिनीहरू परमेश्‍वरको इच्छा पूरा गर्न सृष्टि गरिएका हुन्‌। भजनरचयिताले यसरी गाए: “हे परमप्रभुका दूत हो, हे शक्‍तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन।”—भजन १०३:२०.

बाइबलले बताएअनुसार पछि केही स्वर्गदूतले अनधिकृत रूपमा मानिससित सम्पर्क राख्न थाले। कुन उद्देश्‍य हासिल गर्न? तीमध्ये पहिलो चाहिंले प्रथम मानव दम्पती आदम र हव्वालाई उनीहरूको परमेश्‍वर र सृष्टिकर्ताबाट टाढा लैजान सम्पर्क गऱ्‍यो। यसरी त्यसले परमेश्‍वरको निन्दा अनि विरोध गरेर आफूलाई दियाबल अनि शैतान तुल्यायो।—उत्पत्ति ३:१-६.

पछि “आफ्नो उचित बासस्थान त्याग्ने स्वर्गदूतहरू”-ले मानव शरीर धारण गरेर पृथ्वीका राम्री-राम्री स्त्रीहरूसित जीवन बिताउन थाले। (यहूदा ६; उत्पत्ति ६:१, २) ती विद्रोही स्वर्गदूतहरूले र तिनीहरूका ठिमाहा सन्तानले मानिसहरूलाई यत्तिसम्म त्रस्त बनाएका थिए, पृथ्वी “उपद्रवले भरिएको थियो।” परमेश्‍वरले त्यस्तो हिंस्रक र दुष्ट पुस्तालाई नूहको जलप्रलयमा कसरी नाश गर्नुभयो, त्यो बाइबल विवरण सायद तपाईंलाई थाह होला।—उत्पत्ति ६:३, ४, ११-१३.

जलप्रलयमा ती दुष्ट स्वर्गदूतहरूले मानव शरीर त्यागे र स्वर्ग फर्के। तर सृष्टिकर्ताले तिनीहरूलाई आफ्नो “बासस्थान”-मा फर्कन दिनुभएन। बरु तिनीहरू “घोर अन्धकारको खाडलमा” हालिए अर्थात्‌ केही गर्न नसक्ने पतित अवस्थामा राखिए। (२ पत्रुस २:४, ५) यी विद्रोही स्वर्गदूतहरूलाई बाइबलमा “दुष्ट स्वर्गदूतहरू” भनिएको छ। (याकूब २:१९) तन्त्रमन्त्रपछाडि यिनीहरूकै हात छ।

दुष्ट स्वर्गदूतहरू के चाहन्छन्‌?

मानिसहरूसित कुराकानी गर्ने दुष्ट स्वर्गदूतहरूको मुख्य उद्देश्‍य तिनीहरूलाई साँचो परमेश्‍वर यहोवाको उपासना गर्न नदिनु वा रोक्नु हो। तन्त्रमन्त्र गर्नेहरूले आफूसित शक्‍ति भएको दाबी गर्छन्‌, तर वास्तवमा यो मानिसहरूले साँचो परमेश्‍वरको ज्ञान नलेओस्‌ र उहाँसित नजिक नहोस्‌ भनेर अलमल्याउने कुरा मात्र हो।

दुष्ट स्वर्गदूतहरूको दोस्रो उद्देश्‍य के हो, त्यो यिनीहरूको नेता सैतानले येशूलाई जे गराउने प्रयास गर्न खोज्यो, त्यसमा प्रस्टै देखिन्छ। सैतानले येशूलाई “संसारका सबै राज्य र त्यसको गौरव देखायो।” बदलामा सैतान के चाहन्थ्यो? त्यसले येशूलाई “घोप्टो परेर मलाई एक चोटि ढोग्नु”-होस्‌ भनेर आग्रह गऱ्‍यो। हो, सैतान र दुष्ट स्वर्गदूतहरू मानिसले यिनीहरूलाई पूजेको चाहन्छन्‌। तर येशूले परमेश्‍वर र साँचो उपासनालाई त्याग्न लगाउने त्यस्तो प्रस्ताव ठाडै इन्कार गर्नुभयो।—मत्ती ४:८-१०.

आज दुष्ट स्वर्गदूतहरूले यसरी प्रत्यक्ष प्रस्ताव त राख्दैनन्‌। तर खतरामुक्‍त जस्तो देखिने यस्ता माध्यमहरू चलाएर तिनीहरू अजान मानिसहरूलाई बहकाउन खोज्छन्‌:- हात देखाउने, चिना देखाउने, अक्षता देखाउने, जन्तर बाँध्ने, औंठी लगाउने, राशिफल हेर्ने, गोलाकार काँच हेर्ने, भावी बताउने तास हेर्ने आदि। यस्ता क्रियाकलापदेखि नबहकिनुहोस्‌! यस्ता क्रियाकलाप मात्र एउटा अलौकिक शक्‍तिसित सम्पर्क राख्ने प्राकृतिक माध्यम होइन। दुष्ट स्वर्गदूतहरू मानिसलाई आफ्नो जालमा फसाउने र यहोवाको उपासनाबाट तर्काउने उद्देश्‍यले तन्त्रमन्त्रलाई आकर्षक ढङ्‌गमा प्रयोग गर्छन्‌। तर यस उद्देश्‍यमा असफल हुँदा दुष्ट स्वर्गदूतहरू मानिसहरूलाई अक्सर सताउँछन्‌ र यिनीहरूको जालमा फसेकाहरूलाई झनै दयनीय अवस्थामा पुऱ्‍याइदिन्छन्‌। तपाईं पनि तिनीहरूको फन्दामा पर्नुभएको छ भने कसरी उम्कन सक्नुहुन्छ?

तन्त्रमन्त्रबाट उम्कने कसरी?

मानिससित सम्पर्क राख्ने दुष्ट स्वर्गदूतहरू परमेश्‍वरका शत्रुहरू हुन्‌ र यिनीहरूको विनाश हुने निश्‍चित छ भनेर नबिर्सनुहोस्‌। (यहूदा ६) मृतकको स्वाङ गर्ने यिनीहरू ठगाहा र फटाहाहरू हुन्‌। साथी भन्ठानेको मान्छेले तपाईंको ध्यान तपाईंको फाइदा हुने कुराबाट मोडेर अर्कैतिर लगाइदिन मात्र साथी भएको स्वाङ रचेको रहेछ भनेर थाह पाउँदा तपाईंलाई कस्तो लाग्छ? इन्टरनेटमार्फत आफूले अन्जानमै यौनपिपासुसित मित्रता गाँसेको थाह पाउँदा तपाईंलाई कस्तो महसुस हुन्छ? दुष्ट स्वर्गदूतको पन्जामा पर्नु त योभन्दा पनि भयावह हुन्छ। त्यसको पन्जाबाट उम्कन तपाईंले आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्नुहोस्‌। तपाईं कसरी यसो गर्न सक्नुहुन्छ?

तन्त्रमन्त्रबारे बाइबलको दृष्टिकोण सिकिसकेपछि प्राचीन एफिससका बासिन्दाहरूले जादुगरीसित सम्बन्धित आफूसित भएका किताबहरू जतिसुकै महँगो भए तापनि सबै नष्ट गर्नुपर्ने रहेछ भनेर बुझे। तिनीहरूले “सबैसामु ती जलाए।” (प्रेषित १९:१९, २०) आजभोलि तन्त्रमन्त्रमा किताब, जन्तर, ओइजा बोर्ड र त्यस्तै कुरा मात्र होइनन्‌, इन्टरनेट, कम्प्युटर गेम, डी भी डी-जस्ता इलेक्ट्रोनिक माध्यमहरू पनि समावेश छन्‌। ‘नजाने गाउँको बाटै नसोध्नू’ भनेझैं तन्त्रमन्त्रतर्फ लैजान सक्ने माध्यम जस्तोसुकै होस्‌, ती सबबाट टाढै बस्नुहोस्‌।

यस लेखको सुरुमा चर्चा गरिएको दम्पतीलाई एकैछिन सम्झनुहोस्‌। भावी बताउने तासबाट तिनीहरूले खतरनाक मानिसहरू तिनीहरूलाई भेट्‌न आइरहेका छन्‌ र उनीहरूले दिएको सामान लिनु त परै जाओस्‌, उनीहरूको कुरा सुन्‍नसमेत हुन्‍न भनेर थाह पाइसकेका थिए। तैपनि यस दम्पतीले तिनीहरूको ढोका ढकढक्याउन आइपुगेका दुइटी साक्षीहरू, कनी र गुडरुनले परमेश्‍वरबारे सुसमाचार सुनाउन आएको कुरा बताउँदा योअखिम र बार्बराले ती साक्षीहरूको कुरा सुन्‍ने निर्णय गरे। कुराकानीको क्रममा तन्त्रमन्त्रबारे कुरा निस्कँदा ती साक्षीहरूले बाइबलबाटै त्यसबारे सही जानकारी दिए। त्यसपछि नियमित रूपमा बाइबल अध्ययन सुरु भयो।

केही समय नबित्दै योअखिम र बार्बराले दुष्ट स्वर्गदूतसित सम्बन्धित सम्पूर्ण कुरा त्याग्ने निर्णय गरे। दुष्ट स्वर्गदूतहरूलाई तिनीहरूको यस्तो निर्णय मन पर्नेछैन भनेर साक्षीहरूले तिनीहरूलाई बुझाए। हुन पनि त्यस्तै भयो। योअखिम र बार्बराले धेरै दुःख भोग्नुपऱ्‍यो र दुष्ट स्वर्गदूतहरूले तिनीहरूलाई धेरै सताए। केही समय त तिनीहरूले हरेक रात डरै डरमा बिताउनुपरेको थियो तर अर्कै घरमा सरेपछि भने केही राहत महसुस भयो। यस्तो दुःखदायी अवस्थाभरि तिनीहरूले फिलिप्पी ४:१३ का शब्दहरूमा भरोसा गरे: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” यहोवाले तिनीहरूको प्रयासमा आशिष्‌ दिनुभयो र अन्ततः दुष्ट स्वर्गदूतहरूले तिनीहरूलाई सताउन छोडे। अहिले योअखिम र बार्बरा साँचो परमेश्‍वर यहोवाको उपासना गर्न पाएकोमा धेरै खुसी छन्‌।

यहोवाको आशिष्‌ पाउन चाहने सबैलाई बाइबल यस्तो आग्रह गर्छ: “आफूलाई परमेश्‍वरको अधीनमा राख र दियाबलको विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ। परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकूब ४:७, ८) दुष्ट स्वर्गदूतहरूको प्रभावबाट मुक्‍ति पाउन चाहनुहुन्छ भने यहोवा परमेश्‍वर तपाईंलाई मदत गर्न सक्नुहुन्छ र गर्नु पनि हुनेछ। तन्त्रमन्त्रबाट छुटकारा पाएको कुरालाई सम्झँदा योअखिम र बार्बरा भजन १२१:२ का यी शब्दहरू आफ्नो जीवनमा पूर्णतया सत्य साबित भएको महसुस गर्छन्‌: “मलाई गोहार परमप्रभुबाट नै आउँछ।” (w12-E 03/01)

[फुटनोटहरू]

a नामहरू परिवर्तन गरिएका छन्‌।

b मृतकको अवस्थाबारे विस्तृत छलफल गर्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ६ मा दिइएको “मरिसकेकाहरू कहाँ छन्‌?” विषय हेर्नुहोस्‌।

[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]

तन्त्रमन्त्रले मानिसलाई परमेश्‍वरसित नजिक हुनदेखि रोक्छ

[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सन]

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८