सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जोडतोडले लागिरहनुहोस्‌

जोडतोडले लागिरहनुहोस्‌

जोडतोडले लागिरहनुहोस्‌

“जोडतोडले वचन प्रचार गर।”—२ तिमो. ४:२.

के तपाईं बुझाउन सक्नुहुन्छ?

प्रथम शताब्दीका ख्रीष्टियनहरूले किन जोडतोडले प्रचार गरे?

हामी कसरी जोडतोडले लागिरहन सक्छौं?

राज्य प्रचारकार्य किन पहिलेभन्दा अहिले झनै जरुरी भएको छ?

१, २. ‘जोडतोडले प्रचार गर्ने’ आज्ञाको सन्दर्भमा कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

 मानिसहरूको ज्यान बचाउने काम गर्नेहरूले अक्सर जोडतोडले काम गर्छन्‌। उदाहरणको लागि आकस्मिक फोन आउँदा अग्नि नियन्त्रकहरू तुरुन्तै जान्छन्‌ किनकि मानिसहरूको ज्यान खतरामा छ भनी तिनीहरूलाई थाह हुन्छ।

यहोवाका साक्षीहरूको हैसियतमा हामी मानिसहरूको ज्यान बचाउन चाहन्छौं। त्यसैले राज्यको सुसमाचार प्रचार गर्ने जिम्मेवारीलाई हामी गम्भीरतापूर्वक लिन्छौं। तर हामी अन्धाधुन्ध भागदौड भने गर्दैनौं। त्यसोभए “जोडतोडले वचन प्रचार गर” भनी चेतावनी दिंदा प्रेषित पावलले के भन्‍न खोजिरहेका थिए? (२ तिमो. ४:२) हामी कसरी जोडतोडले प्रचार गर्न सक्छौं? अनि हाम्रो काम किन असाध्यै जरुरी छ?

प्रचार गर्नु किन जरुरी काम हो?

३. मानिसहरूले राज्य सन्देश स्वीकार्दा वा अस्वीकार गर्दा कस्तो नतिजा निस्कन सक्छ?

प्रचारकार्यले कस्तो नतिजा ल्याउँछ भनी विचार गर्दा सायद तपाईं अरूलाई सुसमाचार सुनाउनु अत्यन्तै जरुरी भएको महसुस गर्नुहुन्छ। (रोमी १०:१३, १४) परमेश्‍वरको वचन यसो भन्छ: ‘मैले दुष्टलाई मृत्युदण्डको आज्ञा दिंदा त्यसले आफ्नो दुष्ट चाल त्यागेर न्यायसङ्‌गत र ठीक काम गरेमा त्यो बाँच्नेछ, त्यो मर्नेछैन। त्यसले गरेको कुनै पापको लेखा लिइनेछैन।’ (इज. ३३:१४-१६) हो, अरूलाई राज्य सन्देश सिकाउनेहरूलाई बाइबल यसो भन्छ: “तिमीले आफ्नो र तिम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौ।”—१ तिमो. ४:१६; इज. ३:१७-२१.

४. धर्मत्याग देखा परेकोले प्रथम शताब्दीमा जोडतोडले प्रचार गर्नु किन जरुरी भयो?

पावलले तिमोथीलाई जोडतोडले प्रचार गर्न सल्लाह दिनुको कारण बुझ्न यस लेखको डोऱ्‍याउने पदको प्रसङ्‌ग विचार गर्नुहोस्‌। हामी यस्तो लेखिएको पाउँछौं: “चाहे अवस्था अनुकूल होस्‌ वा प्रतिकूल, जोडतोडले वचन प्रचार गर। त्यसैगरि, असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार, हप्काऊ र अर्ती देऊ। किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले साँचो शिक्षालाई तिरस्कार गर्नेछन्‌। तिनीहरू आफूखुसी चल्नेछन्‌ अनि आफूलाई जे सुन्‍न मनपर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्नेछन्‌। तिनीहरूले सत्य सुन्‍न नपरोस्‌ भनेर कान थुन्‍नेछन्‌।” (२ तिमो. ४:२-४) येशूले धर्मत्याग देखा पर्नेछ भनी भविष्यवाणी गर्नुभएको थियो। (मत्ती १३:२४, २५, ३८) धर्मत्याग देखा पर्न थाल्दा तिमोथीले मण्डलीभित्र समेत “वचन प्रचार” गर्नु जरुरी थियो। यसो गर्दा ख्रीष्टियनहरू झूटा शिक्षाहरूको भ्रामक आकर्षणद्वारा बहकिने थिएनन्‌। मानिसहरूको जीवन खतरामा थियो। अहिले नि?

५, ६. प्रचारकार्यमा हामी कस्तो धारणा राख्ने मानिसहरू भेट्‌छौं?

अहिले साँचो उपासनालाई त्याग्ने धर्मत्यागीहरू बढिरहेका र फैलिरहेका छन्‌। (२ थिस्स. २:३, ८) आज मानिसहरूलाई कस्तो शिक्षा सुन्‍न मनपर्छ? थुप्रै ठाउँमा क्रमविकासको शिक्षालाई धार्मिक आस्थासित जोडेर प्रचार-प्रसार गरिएको छ। क्रमविकासलाई साधारणतया वैज्ञानिक तरिकामा प्रस्तुत गरिए तापनि यो एउटा छुट्टै प्रकारको धर्मजस्तै भएको छ र यसले परमेश्‍वर अनि अरूहरूलाई हेर्ने मानिसको दृष्टिकोणलाई असर गरेको छ। अर्को प्रचलित शिक्षाचाहिं परमेश्‍वर हाम्रो चासो राख्नुहुन्‍न; त्यसैले हामीले पनि उहाँको चासो राख्नु आवश्‍यक छैन भन्‍ने हो। लाखौं मानिसलाई आध्यात्मिक निद्रामा लठ्याउने यी शिक्षाहरू किन अत्यन्तै आकर्षक छन्‌? किनकि यी दुवै शिक्षाले दिने सन्देश यो हो: ‘तपाईं जे चाहनुहुन्छ त्यही गर्न सक्नुहुन्छ किनकि कसैले तपाईंको लेखा लिनेछैन।’ धेरैलाई सुन्‍न मन लाग्ने सन्देश यही हो।भजन १०:४ पढ्‌नुहोस्‌।

अरू तरिकामा पनि मानिसहरू आफूलाई सुन्‍न मन लागेको कुरा मात्र सुन्छन्‌। अहिले पनि चर्च गइरहेका कोही-कोही आफ्ना शिक्षकहरूले यस्तो भनेको रुचाउँछन्‌, ‘तपाईं जेसुकै गर्नुहोस्‌, परमेश्‍वर तपाईंलाई प्रेम गर्नुहुन्छ।’ चाडपर्वहरू मनाउँदा र रीतिथितिहरूमा भाग लिंदा शुभलाभ हुन्छ भन्‍ने कुरामा मानिसहरूलाई विश्‍वस्त गराएर पुजारी अनि पादरीहरू तिनीहरूलाई सुन्‍न मन लागेको कुरा मात्र सुनाउँछन्‌। तर तिनीहरूलाई आफ्नो अवस्था कत्ति खतरनाक छ भनी पत्तै छैन। (भज. ११५:४-८) तथापि हामीले तिनीहरूलाई आध्यात्मिक निद्राबाट ब्यूँझाउन सक्यौं र बाइबल सत्य बुझ्न मदत दियौं भने तिनीहरूले परमेश्‍वरको राज्यबाट लाभ उठाउन सक्नेछन्‌।

जोडतोडले प्रचार गर्नुको अर्थ के हो?

७. प्रचारकार्यमा जोडतोडले लागेको कुरा हामी कसरी देखाउन सक्छौं?

बिरामीहरूको जीवन खतरामा हुने भएकोले असल शल्यचिकित्सक आफ्नो काममा एकाग्र भएर लाग्नुपर्छ। त्यसैगरि, आफ्नो काममा एकाग्र भएर हामी ख्रीष्टियन सेवामा जोडतोडले लागेको कुरा देखाउन सक्छौं। कस्तो विषय, प्रश्‍न वा जानकारीले मानिसहरूको चासो जाग्ला भनी विचार गरेर हामी यसो गर्न सक्छौं। साथै जोडतोडले लागेका छौं भने मानिसहरू कुराकानी गर्न इच्छुक हुने समयमा भेट्‌नको लागि आफ्नो तालिकामा छाँटकाँट गर्न पनि उत्प्रेरित हुनेछौं।—रोमी १:१५, १६; १ तिमो. ४:१६.

८. जोडतोडले लाग्नुमा अक्सर के समावेश छ?

जोडतोडले लागिरहनुमा प्राथमिकताहरू निर्धारण गर्नु पनि समावेश छ। (उत्पत्ति १९:१५ पढ्‌नुहोस्‌) उदाहरणको लागि स्वास्थ्य परीक्षणको रिपोर्ट पाएपछि डाक्टरले तपाईंलाई आफ्नो अफिसमा बोलाएर गम्भीरतापूर्वक यसो भनेको कल्पना गर्नुहोस्‌: “हेर्नुस्‌! तपाईंको अवस्था नाजुक छ। अबको एक महिनाभित्र तपाईंले आफ्नो रोगको उपचार गरिहाल्नुपर्छ।” सायद तपाईं आकस्मिक फोन आउनेबित्तिकै गइहाल्ने अग्नि नियन्त्रकजस्तो हतारिंदै डाक्टरको अफिस छोड्‌नुहुन्‍न होला। तपाईं डाक्टरको सल्लाह सुन्‍नुहुन्छ, घर जानुहुन्छ अनि आफ्नो प्राथमिकताहरूबारे गम्भीर भई सोच्नुहुन्छ।

९. एफिससमा हुँदा पावलले जोडतोडले प्रचार गरे भनी हामी किन भन्‍न सक्छौं?

एसिया प्रान्तमा आफूले गरेको प्रचारकार्यबारे एफिससका एल्डरहरूलाई पावलले बताएको कुरा पढ्‌दा तिनी जोडतोडले लागेको कुरा थाह पाउँछौं। (प्रेषित २०:१८-२१ पढ्‌नुहोस्‌) त्यहाँ आएको दिनदेखि नै तिनी घर-घरमा गएर मानिसहरूलाई सुसमाचार सुनाउन व्यस्त भए। साथै तिनले दुई वर्षसम्म नियमित रूपमा “हरेक दिन टिरान्‍नसको पाठशालाको सभाकक्षमा भाषण” दिए। (प्रेषि. १९:१, ८-१०) जोडतोडले लाग्ने मनोभावले तिनलाई आफ्नो तालिकामा लागिरहन सहयोग पुऱ्‍यायो। ‘जोडतोडले प्रचार गर्न’ हामीलाई दिइएको जिम्मेवारीको उद्देश्‍य हामीलाई थकित महसुस गराउनु होइन। तर प्रचारकार्यलाई हामीले आफ्नो जीवनमा प्राथमिकता दिनुपर्छ।

१०. आजभन्दा लगभग १०० वर्षअघि ख्रीष्टियनहरूले जोडतोडले प्रचार गरेकोमा हामी किन खुसी हुन सक्छौं?

१० सन्‌ १९१४ अघि बाइबल विद्यार्थीहरूको एउटा सानो समूहले प्रचारकार्यको थालनी गऱ्‍यो। जोडतोडले लाग्नुको अर्थ के हो भनेर तिनीहरूको उदाहरणले देखाउँछ। केही हजारको सङ्‌ख्यामा सीमित भए तापनि तिनीहरूले समयको महत्त्व बुझे र राज्यबारे जोसिलो भएर प्रचार गरे। तिनीहरूले २,००० भन्दा धेरै पत्रिकामा प्रवचनहरू छाप्न लगाए अनि “फोटो-ड्रामा अफ क्रिएसन” भनिने रङ्‌गीन स्लाइड र चलचित्र भएको कार्यक्रम देखाए। यसरी तिनीहरूले लाखौंलाई सुसमाचार सुनाए। यदि तिनीहरूसित जोडतोडले लाग्ने मनोभाव नभएको भए हामीमध्ये कतिले पो राज्य सन्देश सुन्‍न पाउने थियौं होला र?भजन ११९:६० पढ्‌नुहोस्‌।

जोडतोडले लाग्ने मनोभाव गुमाउनदेखि होसियार हुनुहोस्‌

११. कोही-कोहीले जोडतोडले लाग्नुपर्ने मनोभाव किन गुमाएका छन्‌?

११ अलमल्याउने कुराहरूले गर्दा मानिसहरूले प्रचारकार्यको महत्त्वलाई बिर्सन सक्छन्‌। सैतानको युगले हामीलाई व्यक्‍तिगत चाहना र कम महत्त्वपूर्ण कुराहरूमै लीन हुन लगाउँछ। (१ पत्रु. ५:८; १ यूह. २:१५-१७) कुनै समय यहोवाको सेवालाई प्राथमिकता दिएकाहरूले समेत जोडतोडले लाग्नुपर्ने मनोभाव गुमाएका छन्‌। उदाहरणको लागि प्रथम शताब्दीमा पावलको “सहकर्मी” भई काम गरेका ख्रीष्टियन डेमसलाई दुष्ट युगले अलमल्यायो। कठिन अवस्थाबाट गुज्रिरहेको आफ्नो भाइलाई बलियो बनाउने कामलाई प्राथमिकता दिनुको सट्टा डेमसले पावललाई त्यागे।—फिले. २३, २४; २ तिमो. ४:१०.

१२. हामीले भविष्यमा सधैंभरिको लागि कस्तो मौका पाउनेछौं अनि अहिलेचाहिं हामीसित कस्तो मौका छ?

१२ जोडतोडले लाग्नुपर्ने मनोभाव कायम राख्न चाहन्छौं भने जीवनमा पाइने हरेक सुखसुविधा उपभोग गर्ने चाहनाविरुद्ध लड्‌नै पर्छ। “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” हामीले कडा मेहनत गर्नै पर्छ। (१ तिमो. ६:१८, १९) परमेश्‍वरको राज्यअन्तर्गत पृथ्वीमा पाइने अनन्त जीवनले तपाईंलाई रोचक गतिविधिबाट सधैंभरि आनन्द उठाउने मौका दिनेछ भन्‍ने कुरामा सायद तपाईंलाई कुनै शङ्‌का छैन। तर अरूलाई आरमागेडोनबाट बच्न मदत गर्ने अहिले भएको मौका पछि कहिल्यै पाउनेछैनौं।

१३. हामी ख्रीष्टियन भएकोले जोडतोडले लाग्ने मनोभाव कसरी कायम राख्न सक्छौं?

१३ संसारमा धेरैजसो मानिस आध्यात्मिक अर्थमा निदाइरहेकाले जोडतोडले लाग्ने मनोभाव नगुमाउन हामी के गर्न सक्छौं? एक समय हामी पनि अन्धकारमा थियौं भन्‍ने तथ्यलाई सम्झन सक्छौं। तर पावलले बताएअनुसार हामीलाई जगाइयो र ख्रीष्टले हामीमाथि ज्योति छर्नुभयो। अहिले हामीले ज्योतिवाहक हुने सुअवसर पाएका छौं। (एफिसी ५:१४ पढ्‌नुहोस्‌) यो कुरा बताएपछि पावलले यस्तो लेखे: “कसरी हिंडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जसरी होइन तर बुद्धिमान्‌ मानिस जसरी हिंड, समयको पूर्ण सदुपयोग गर, किनभने हामी खराब समयमा बाँचिरहेका छौं।” (एफि. ५:१५, १६) यस्तो खराबीमाझ रहे पनि यहोवासित नजिक बनाउने गतिविधिमा “समयको पूर्ण सदुपयोग” गरौं।

हामी महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं

१४-१६. राज्य प्रचारकार्यलाई केले पहिलेभन्दा अहिले झनै जरुरी बनाएको छ?

१४ ख्रीष्टियन सेवा सधैं जरुरी हुँदै आएको छ तर अहिलेचाहिं पहिलेभन्दा झनै जरुरी भएको छ। परमेश्‍वरको वचनमा वर्णन गरिएका चिन्हहरू सन्‌ १९१४ देखि स्पष्ट भएको छ। (मत्ती २४:३-५१) मानिसजातिको जीवन अहिले जतिको खतरामा पहिला कहिल्यै परेको थिएन। हालै गरिएका सम्झौताहरूको बाबजुद महाशक्‍ति राष्ट्रहरूसित अझै पनि करिब २,००० आणविक क्षेप्यास्त्रहरू प्रक्षेपण गर्नको लागि तयार अवस्थामा छन्‌। सम्बन्धित अधिकारीहरूले आणविक सरसामानहरू हराइरहेका सयौं घटना रिपोर्ट गरेका छन्‌। हराएकामध्ये कुनै-कुनै सामाग्री कतै आतङ्‌कवादीहरूसित पो छन्‌ कि? कुनै आतङ्‌कवादीले सुरु गरेको युद्धले सम्पूर्ण मानिसजातिको अस्तित्व सजिलै नामेट पार्न सक्छ भनी अवलोकनकर्ताहरू भन्छन्‌। तथापि, मानिसजातिको अस्तित्व खतरामा पार्ने कुरा युद्ध मात्र त होइन।

१५ द लनसेट र लन्डनको युनिभर्सिटी कलेजले सन्‌ २००९ मा दिएको रिपोर्टअनुसार “स्वास्थ्यलाई खतरामा पार्ने २१ औं शताब्दीको सबैभन्दा ठूलो चुनौती मौसम परिवर्तन हो।” उक्‍त रिपोर्टले अझै यसो भन्यो: “मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने असरले आउँदा दशकहरूमा प्रायजसो मानिसलाई असर गर्नेछ र अरबौं मानिसजातिको जीवन र स्वास्थ्यलाई खतरामा पार्नेछ।” बढ्‌दो समुद्री सतह, खडेरी, बाढी, महामारी, आँधीबेहरी र अपर्याप्त स्रोतसाधनको लागि गरिने युद्धले थुप्रै ठाउँमा विनाश निम्त्याउन सक्छ। हो, युद्ध र प्रकोपले मानव अस्तित्वलाई खतरामा पार्छ।

१६ आणविक युद्धको खतराले नै येशूले बताउनुभएको “चिन्ह” पूरा गर्ने घटनाहरू निम्त्याउनेछन्‌ भनी कसै-कसैले सोच्लान्‌। तथापि येशूले बताउनुभएको चिन्हको सही अर्थ धेरैले बुझेका छैनन्‌। येशूको उपस्थिति वास्तविकता हो र यस युगको अन्त नजिकै छ भनी प्रमाणित गर्ने घटनाहरू हामीले वर्षौंदेखि देख्दै आइरहेका छौं। (मत्ती २४:३) येशूले बताउनुभएका घटनाहरू यत्ति व्यापक रूपमा पहिला कहिल्यै घटेका थिएनन्‌। मानिसहरू आध्यात्मिक निद्राबाट ब्यूँझनुपर्ने समय अहिल्यै हो। हाम्रो प्रचारकार्यले तिनीहरूलाई ब्यूँझन मदत गर्न सक्छ।

१७, १८. (क) अन्तको दिनमा बाँचिरहेकोले यसले हामीलाई कसरी असर गर्छ? (ख) राज्य सन्देशप्रतिको दृष्टिकोण परिवर्तन गर्न मानिसहरूलाई कुन कुराले उत्प्रेरित गर्छ?

१७ यहोवाप्रतिको हाम्रो प्रेम प्रमाणित गर्ने र अन्तको दिनमा हामीलाई सुम्पिएको प्रचारकार्य पूरा गर्ने समय थोरै मात्र बाँकी छ। पावलले प्रथम शताब्दीका रोमका ख्रीष्टियनहरूलाई दिएको यो सल्लाहले आज हाम्रो लागि अझै ठूलो अर्थ राख्छ: ‘अहिले कस्तो बेला हो भनेर तिमीहरूलाई थाह छ, तिमीहरू निद्राबाट ब्यूँझने समय आइसकेको छ, किनकि हामीले विश्‍वास गर्न थालेको बेलामा भन्दा हाम्रो उद्धार अहिले झन्‌ नजिक छ।’—रोमी १३:११.

१८ अन्तको दिनबारे भविष्यवाणी गरिएका घटनाहरूले मानिसहरूलाई परमेश्‍वरसित सम्बन्ध राख्नुपर्ने आवश्‍यकता महसुस गराउन सक्छ। कतिपय मानिसहरू मानव सरकारले आर्थिक उथलपुथल, आणविक खतरा, आपराधिक घटना अथवा वातवरणीय समस्या हटाउन नसकेको कुरालाई विचार गर्दा मानिसजातिलाई मदतको खाँचो छ भनी महसुस गर्छन्‌। अरूचाहिं स्वास्थ्य समस्या, सम्बन्धविच्छेद अथवा आफूले माया गरेको व्यक्‍तिको मृत्युजस्ता परिवारमा घटेका घटनाहरूले गर्दा परमेश्‍वरसित सम्बन्ध विकास गर्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌। प्रचारकार्यमा भाग लिंदा हामी यस्ता मानिसहरूलाई मदत गर्न सक्छौं।

जोडतोडले लाग्ने मनोभावद्वारा उत्प्रेरित

१९, २०. जोडतोडले लाग्ने मनोभावले थुप्रै ख्रीष्टियनलाई आफ्नो जीवनशैली परिवर्तन गर्न कसरी उत्प्रेरित गरेको छ?

१९ जोडतोडले लाग्ने मनोभावले थुप्रै ख्रीष्टियनलाई प्रचारकार्यमा अझ धेरै भाग लिन उत्प्रेरित गरेको छ। उदाहरणको लागि सन्‌ २००६ मा आयोजित “तपाईंको आँखा निर्मल राख्नुहोस्‌” विषयको विशेष सम्मेलन कार्यक्रम सुनेपछि इक्वेडरमा बस्ने एक जवान दम्पतीले आफ्नो जीवन सरल बनाउने निर्णय गरे। तिनीहरूले आफूलाई नचाहिने सरसामानको सूची बनाए अनि तीन महिनाभित्रै तीन वटा बेडरूम भएको अपार्टमेन्टबाट एउटा मात्र बेडरूम भएको ठाउँमा सरे, केही सरसामान बेचबिखन गरे र आफ्नो सबै ऋण तिरे। केही समयपछि नै तिनीहरूले सहायक अग्रगामी सेवा गरे अनि क्षेत्रीय निरीक्षकले दिएको सुझावअनुसार आवश्‍यकता धेरै भएको मण्डलीमा सेवा गरे।

२० उत्तर अमेरिकाका एक जना भाइले यस्तो लेखे: “म र मेरी श्रीमती सन्‌ २००६ को सम्मेलनमा उपस्थित हुँदा हामीले बप्तिस्मा गरेको ३० वर्ष बितिसकेको थियो। जीवन सरल बनाउने विषयमा दिइएको सल्लाह कसरी लागू गर्न सकिन्छ भनी घर फर्कंदै गर्दा छलफल गऱ्‍यौं। (मत्ती ६:१९-२२) हामीसित तीन वटा घर, जग्गाजमिन, आरामदायी कारहरू, मोटर बोट अनि मोटर घर थियो। हामीले आफ्नो समय र शक्‍ति भौतिक कुराहरूमा खेर फालिरहेको महसुस गऱ्‍यौं र पूर्ण-समय सेवालाई आफ्नो लक्ष्य बनाउने निर्णय गऱ्‍यौं। सन्‌ २००८ मा हामीले पनि छोरीले जस्तै नियमित अग्रगामी सेवा सुरु गऱ्‍यौं। भाइबहिनीसित घनिष्ठ भई काम गर्नु हाम्रो लागि साँच्चै रमाइलो भएको छ! हामीले आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न सकेका छौं। साथै यहोवाको सेवामा धेरै समय बिताएकोले हामी उहाँसित झनै नजिक भएका छौं। मानिसहरूले परमेश्‍वरको वचनमा पाइने सत्य सुन्दा र बुझ्दा तिनीहरूको आँखामा चमक आएको देख्न पाउनु हाम्रो लागि आशिष्‌को कुरा हो।”

२१. कस्तो ज्ञानले हामीलाई जोडतोडले प्रचार गर्न उत्प्रेरित गर्छ?

२१ “भक्‍तिहीन मानिसहरूको न्याय र विनाश हुने दिन”-ले चाँडै नै यस दुष्ट युगलाई हटाउनेछ भनी हामीलाई थाह छ। (२ पत्रु. ३:७) हामीसित परमेश्‍वरको वचनको ज्ञान भएकोले आउँदै गरेको महासङ्‌कष्ट र नयाँ संसारबारे जोसिलो भई घोषणा गर्न हामी उत्प्रेरित हुन्छौं। मानिसहरूलाई साँचो आशा दिने कुरा बताउन हामी जोडतोडले लागिरहनेछौं। यस जरुरी काममा पूरापूर भाग लिएर हामी परमेश्‍वर र सङ्‌गी मानिसहरूलाई साँचो माया गरेको कुरा देखाउँछौं।

[अध्ययनका लागि प्रश्‍नहरू]