सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आशामा रमाऔं

आशामा रमाऔं

आशामा रमाऔं

“यो भक्‍ति अनन्त जीवनको आशामा आधारित छ, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो।”—ती. १:२.

पुनरावलोकन गर्दा

कुनै एक अभिषिक्‍त जनले आफ्नो जीवन सत्यनिष्ठ भई बिताउँदा स्वर्गमा रमाहट हुन्छ भनी हामी किन भन्‍न सक्छौं?

अरू भेडाको आशा र अभिषिक्‍त जनहरूको आशाबीच कस्तो सम्बन्ध छ?

आफ्नो आशा पूरा भएको हेर्न चाहन्छौं भने “पवित्र आचरण” झल्किने र “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने” कस्ता कामहरू गर्नुपर्छ?

१. यहोवाले दिनुभएको आशाले हामीलाई जस्तोसुकै परिस्थिति सहन कसरी मदत गर्छ?

 यहोवा “आशा दिनुहुने परमेश्‍वर” हुनुहुन्छ भनी प्रेषित पावलले बताए। साथै, यहोवाले ‘हामीले गरेको विश्‍वासको आधारमा हामीलाई सारा खुसी र शान्तिले भरिदिन सक्नुहुन्छ, ताकि पवित्र शक्‍तिको तागतद्वारा हाम्रो आशा बढ्‌दै जाओस्‌’ भनेर पनि तिनले बताए। (रोमी १५:१३) हाम्रो आशा बढ्‌दै गएको छ भने हाम्रो मन आनन्द र शान्तिले भरिनेछ अनि जस्तोसुकै परिस्थिति खडा भए तापनि त्यसलाई सहन सक्नेछौं। त्यस्तो आशा अभिषिक्‍त ख्रीष्टियनहरूका लागि जस्तै अरू ख्रीष्टियनका लागि पनि ‘जीवनको पक्का र अटल लङ्‌गर’ साबित हुनेछ। (हिब्रू ६:१८, १९) जीवनमा कठिनाइहरू आइपर्दा आफ्नो आशालाई बलियोसित पक्रिराख्यौं भने शङ्‌का नगर्न र विश्‍वास नगुमाउन मदत पाउनेछौं।हिब्रू २:१; ६:११ पढ्‌नुहोस्‌।

२. आज ख्रीष्टियनहरूसामु कुन दुइटा आशा छ र “अरू भेडा”-का सदस्यहरूले अभिषिक्‍त ख्रीष्टियनहरूले राख्ने आशाबारे किन चासो राख्छन्‌?

यस अन्तको समयमा बाँचिरहेका ख्रीष्टियनहरूसामु दुइटा आशा छ। त्यसैले तिनीहरू ती दुईमध्ये एउटा आशामा आफ्नो ध्यान केन्द्रित गर्छन्‌। अभिषिक्‍त ख्रीष्टियनहरूको “सानो बगाल”-का पृथ्वीमा बाँकी रहेका सदस्यहरू स्वर्गमा अमर जीवन पाउने अनि ख्रीष्टको राज्यमा राजा र पुजारीको रूपमा उहाँसँगै शासन गर्ने आशा राख्छन्‌। (लूका १२:३२; प्रका. ५:९, १०) “अरू भेडा”-अन्तर्गत पर्ने “ठूलो भीड”, जो सङ्‌ख्यामा धेरै छन्‌, तिनीहरू मसीही राज्यको प्रजाको रूपमा प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्‌। (यूह. १०:१६; प्रका. ७:९, १०) पृथ्वीमा बाँकी भएका ख्रीष्टका अभिषिक्‍त “भाइहरू”-लाई मदत गर्न अग्रसर हुनुमा आफ्नो उद्धार निर्भर छ भनेर अरू भेडाले बिर्सनु हुँदैन। (मत्ती २५:३४-४०) अभिषिक्‍त ख्रीष्टियनहरूले आफ्नो इनाम पाउनेछन्‌ तर अरू भेडाको आशा पनि निश्‍चय नै पूरा हुनेछ। (हिब्रू ११:३९, ४० पढ्‌नुहोस्‌) आउनुहोस्‌, सुरुमा अभिषिक्‍त ख्रीष्टियनहरूको आशाबारे विचार गरौं।

अभिषिक्‍त ख्रीष्टियनहरूको “जीवित आशा”

३, ४. अभिषिक्‍त ख्रीष्टियनहरूले कसरी ‘नयाँ जन्म पाएर जीवित आशा’ पाउँछन्‌ र त्यो आशा के हो?

प्रेषित पत्रुसले अभिषिक्‍त ख्रीष्टियनहरूलाई दुई वटा पत्र लेखे र तिनीहरूलाई “चुनिएका जनहरू” भनी सम्बोधन गरे। (१ पत्रु. १:१) तिनले सानो बगाललाई दिइएको सुन्दर आशाबारे विस्तृत रूपमा बताए। पहिलो पत्रमा तिनले यस्तो लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर अनि बुबा धन्यका होऊन्‌, किनकि येशू ख्रीष्टलाई मृत्युबाट पुनर्जीवित गरेर परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म दिएर जीवित आशा अनि अविनाशी, विशुद्ध र नओइलाउने उत्तराधिकार दिनुभयो, जुन तिमीहरूका लागि स्वर्गमा साँचिएको छ। हो, तिमीहरूसित विश्‍वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ। यसमा तिमीहरू आफै पनि ठूलो रमाहट गर्छौ।”—१ पत्रु. १:३-६.

स्वर्गीय राज्यको सरकारमा येशूसँगै सह-शासक हुन छानिएका ख्रीष्टियनहरूको सीमित सङ्‌ख्याले “नयाँ जन्म” पाउँछन्‌। यहोवाले तिनीहरूलाई पवित्र शक्‍तिद्वारा आफ्नो धर्मपुत्रको रूपमा स्वीकार्नुहुन्छ। तिनीहरू येशूसँगै राजा र पुजारी हुन पवित्र शक्‍तिद्वारा नियुक्‍त हुन्छन्‌। (प्रका. २०:६) यस “नयाँ जन्म”-ले गर्दा तिनीहरूले “जीवित आशा” पाउन सम्भव हुन्छ र त्यो आशा “अविनाशी, विशुद्ध र नओइलाउने उत्तराधिकार” हो, जुन तिनीहरूका लागि “स्वर्गमा साँचिएको छ” भनी पत्रुसले बताए। त्यसैले अभिषिक्‍त ख्रीष्टियनहरूले आफ्नो जीवित आशामा “ठूलो रमाहट” गर्नु छक्कलाग्दो कुरा होइन! तर विश्‍वासी रहिरहेमा मात्र तिनीहरूको त्यो आशा साकार हुनेछ।

५, ६. अभिषिक्‍त ख्रीष्टियनहरूले आफ्नो स्वर्गीय बोलावटलाई पक्का गर्न किन यथासक्दो गर्नुपर्छ?

प्रेषित पत्रुसले अभिषिक्‍त ख्रीष्टियनहरूलाई लेखेको दोस्रो पत्रमा ‘परमेश्‍वरले ज-जसलाई बोलाउनुभएको छ अनि छान्‍नुभएको छ, तिनीहरूमध्ये एक भइरहन यथासक्दो गर्न’ आग्रह गरे। (२ पत्रु. १:१०) तिनीहरूले विश्‍वास, परमेश्‍वरको भक्‍ति, भ्रातृस्नेह र प्रेमजस्ता ख्रीष्टियन गुणहरू विकास गर्न प्रयत्न गर्नुपर्छ। पत्रुसले यसो भने: “यदि तिमीहरूसित यी कुराहरू प्रशस्त मात्रामा छन्‌ भने ती कुराहरूले तिमीहरूलाई . . . निष्क्रिय वा निष्फल हुनदेखि रोक्नेछ।”२ पत्रुस १:५-८ पढ्‌नुहोस्‌।

पुनर्जीवित हुनुभएका ख्रीष्टले प्रथम शताब्दीको एसिया माइनरस्थित फिलाडेल्फिया मण्डलीमा भएका अभिषिक्‍त एल्डरहरूलाई यसो भन्‍नुभयो: “सहनशीलताबारे मैले भनेको कुरा तिमीले पालन गरेको हुनाले पृथ्वीका सबै बासिन्दाहरूको परीक्षा गर्न सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म पनि तिमीलाई बचाउनेछु। म छिट्टै आउँदैछु। तिमीसित जे छ, त्यसलाई पक्रिराख, ताकि कसैले तिम्रो मुकुट खोस्न नपाओस्‌।” (प्रका. ३:१०, ११) मृत्युसम्मै विश्‍वासी रहिरहने चुनिएका जनहरूलाई “नओइलाउने महिमित मुकुट” दिने प्रतिज्ञा गरिएको छ। तर कुनै अभिषिक्‍त ख्रीष्टियन अविश्‍वासी भएमा तिनले त्यो मुकुट पाउनेछैनन्‌।—१ पत्रु. ५:४; प्रका. २:१०.

राज्यमा प्रवेश

७. यहूदाले आफ्नो पत्रमा कुन सुन्दर आशाबारे बताए?

इस्वी संवत्‌ ६५ तिर येशूका सौतेनी भाइ यहूदाले आफ्ना सँगी अभिषिक्‍त ख्रीष्टियनहरूलाई एउटा पत्र लेखे र ‘बोलाइएकाहरू’ भनी तिनीहरूलाई सम्बोधन गरे। (यहू. १; हिब्रू ३:१ तुलना गर्नुहोस्‌) तिनले परमेश्‍वरको स्वर्गीय राज्यमा बोलावट पाएका ख्रीष्टियनहरू “सबैले पाउने” उद्धारको महिमित आशाबारे लेख्न चाहेका थिए। (यहू. ३) तिनले आफ्नो पत्रमा अन्य जरुरी विषयबारे लेख्नुपर्ने थियो। तैपनि आफ्नो छोटो पत्रको अन्तमा अभिषिक्‍त ख्रीष्टियनहरूले पाएको सुन्दर आशाबारे तिनले यसरी बताए: “जसले तिमीहरूलाई ठेस खानदेखि बचाउन सक्नुहुन्छ अनि जसले आफ्नो महिमासामु ठूलो आनन्दसहित तिमीहरूलाई निष्खोट राख्न सक्नुहुन्छ, हो, उहाँ एक मात्र परमेश्‍वरको महिमा होस्‌, जसले हाम्रा प्रभु येशू ख्रीष्टमार्फत हाम्रो उद्धार गर्नुहुन्छ। बितेका युगहरूमा, अहिले अनि सदासर्वदा महिमा, वैभव, शक्‍ति र अख्तियार उहाँकै होस्‌।”—यहू. २४, २५.

८. कुनै एक जना अभिषिक्‍त जनले आफ्नो सत्यनिष्ठा प्रमाणित गर्दा स्वर्गमा रमाहट हुन्छ भनी हामी किन भन्‍न सक्छौं?

प्रत्येक विश्‍वासी अभिषिक्‍त ख्रीष्टियन ठेस खाएर विनाशतर्फ धकेलिनदेखि पक्कै पनि जोगिन चाहन्छन्‌। तिनीहरूको बाइबलआधारित विश्‍वास भनेको येशू ख्रीष्टले तिनीहरूलाई पुनर्जीवित पार्नुहुनेछ र तिनीहरू त्रुटिरहित अदृश्‍य व्यक्‍तिको रूपमा परमेश्‍वरको सामने खुसीसाथ उपस्थित हुनेछन्‌। कुनै अभिषिक्‍त ख्रीष्टियन विश्‍वासी भई मरेको खण्डमा तिनलाई ‘स्वर्गीय शरीरमा ब्यूँताइन्छ’ अनि ‘अविनाश र गौरवमा’ पुनर्जीवित गरिन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (१ कोरि. १५:४२-४४) “एक जना पापीले पश्‍चात्ताप गर्दा स्वर्गमा” अत्यन्तै रमाहट हुन्छ भने पवित्र शक्‍तिद्वारा नियुक्‍त ख्रीष्टका भाइहरूले सत्यनिष्ठ भई पृथ्वीमा आफ्नो जीवन पूरा गर्दा स्वर्गमा झनै कत्ति रमाहट हुन्छ होला, कल्पना गर्नुहोस्‌ त! (लूका १५:७) अभिषिक्‍त जनहरूले पाएको इनामको लागि यहोवा र वफादार अदृश्‍य प्राणीहरूले तिनीहरूसितै “ठूलो आनन्द” मनाउनेछन्‌।१ यूहन्‍ना ३:२ पढ्‌नुहोस्‌।

९. विश्‍वासी अभिषिक्‍त ख्रीष्टियनहरूले स्वर्गको राज्यमा कुन अर्थमा “महिमायुक्‍त” प्रवेश पाउनेछन्‌ र यस आशाले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूमाथि कस्तो असर पार्छ?

अभिषिक्‍त ख्रीष्टियनहरूले विश्‍वासी रहिरहेर आफ्नो बोलावट पक्का गरेमा ‘तिनीहरूले प्रभु अनि उद्धारक येशू ख्रीष्टको चिरस्थायी राज्यभित्र महिमायुक्‍त प्रवेश पाउनेछन्‌’ भनी पत्रुसले पनि लेखे। (२ पत्रु. १:१०, ११) तिनीहरूले आफ्ना ख्रीष्टियन गुणहरू चम्काउँदै स्वर्गमा “महिमायुक्‍त” प्रवेश पाउनेछन्‌। यस अभिव्यक्‍तिले तिनीहरूले स्वर्गमा पाउने थुप्रै आशिष्‌लाई पनि सङ्‌केत गरेको हुन सक्छ। पृथ्वीमा छँदा आफूले विश्‍वासी भई बिताएको जीवनलाई फर्केर हेर्दा तिनीहरू अत्यन्तै रमाउनेछन्‌ र कृतज्ञ हुनेछन्‌। यस्तो आशाले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई ‘आफ्नो कम्मर कसेर’ अघि बढिरहन सुदृढ बनाउँछ।—१ पत्रु. १:१३.

अरू भेडाका लागि “आशा”

१०, ११. (क) अरू भेडासामु कस्तो आशा छ? (ख) पृथ्वीमा बाँच्ने आशा ख्रीष्टसित र “परमेश्‍वरका छोराहरू प्रकट हुने” कुरासित कसरी सम्बन्धित छ?

१० पवित्र शक्‍तिद्वारा नियुक्‍त “परमेश्‍वरका छोराहरू”-को महिमित आशा “ख्रीष्टका सँगी उत्तराधिकारी” हुनु हो भनी प्रेषित पावलले बताए। त्यसपछि तिनले अनगिन्ती सङ्‌ख्यामा रहेका अरू भेडाका लागि यहोवाले दिनुभएको सुन्दर आशाबारे यसरी बताए: “[मानव] सृष्टिले पनि परमेश्‍वरका [अभिषिक्‍त] छोराहरू प्रकट हुने समय अति उत्सुकतासाथ पर्खिरहेको छ। किनकि सृष्टिलाई व्यर्थताको अधीनमा पारियो, तर त्यसको आफ्नै इच्छाले गर्दा त होइन तर त्यसलाई त्यसरी अधीनमा पार्नेको इच्छाले गर्दा। यस आशामा कि भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।”—रोमी ८:१४-२१.

११ यहोवाले प्रतिज्ञा गरिएको “सन्तान”-मार्फत सैतान अर्थात्‌ दियाबल भनिने “पुरानो सर्प”-बाट छुटकारा दिने वाचा गरेर मानिसजातिको लागि “आशा” दिनुभयो। (उत्प. ३:१५; प्रका. १२:९) त्यस “सन्तान”-को प्रमुख भाग येशू ख्रीष्ट हुनुहुन्थ्यो। (गला. ३:१६) येशूको मृत्यु र पुनर्जीवनले गर्दा मानिसहरूले पाप र मृत्युको दासत्वबाट स्वतन्त्र हुने आशा राख्न सके। यो आशा “परमेश्‍वरका छोराहरू प्रकट” हुनुसित सम्बन्धित छ। महिमित अभिषिक्‍त जनहरू “सन्तान”-को दोस्रो भाग हुन्‌। सैतानको दुष्ट रीतिरिवाज नाश गर्न येशूसितै भाग लिंदा तिनीहरू “प्रकट” हुनेछन्‌। (प्रका. २:२६, २७) तब महासङ्‌कष्ट पार गर्ने अरू भेडाले उद्धार पाउनेछन्‌।—प्रका. ७:९, १०, १४.

१२. अभिषिक्‍त जनहरू प्रकट हुँदा मानिसजातिले कस्ता अद्‌भुत लाभ उठाउनेछन्‌?

१२ ख्रीष्टको हजार वर्षीय शासनको दौडान मानव “सृष्टिले” साँच्चै छुटकारा महसुस गर्नेछ! त्यसबेला, महिमित भएका “परमेश्‍वरका छोराहरू”-ले येशूसित पुजारीको रूपमा काम गर्नेछन्‌ र उहाँको बलिदानले सम्भव तुल्याउने कुरा मानिसजातिलाई प्रदान गर्नेछन्‌। यसप्रकार तिनीहरू अझै “प्रकट” हुनेछन्‌। स्वर्गमा स्थापित राज्यको प्रजाको रूपमा मानव “सृष्टिले” पाप र मृत्युको असरबाट छुटकारा पाएको अनुभव गर्न थाल्नेछ। आज्ञाकारी मानिसहरू बिस्तारै “भ्रष्टताको दासत्वबाट स्वतन्त्र” हुनेछन्‌। ख्रीष्टको हजार वर्षीय शासनभरि र त्यस समयावधिको अन्तमा हुने अन्तिम परिक्षामा तिनीहरू यहोवाप्रति वफादार भएमा तिनीहरूको नाम सदाको लागि “जीवनको पुस्तक”-मा लेखिनेछ। तिनीहरूले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछन्‌। (प्रका. २०:७, ८, ११, १२) कस्तो महिमित आशा!

आफ्नो आशालाई जीवितै राख्ने

१३. हाम्रो आशा कसरी सम्भव भयो र ख्रीष्ट कहिले प्रकट हुनुहुनेछ?

१३ परमेश्‍वरको प्रेरणा पाएर पत्रुसले लेखेका दुइटा पत्रले अभिषिक्‍त जनहरूका साथै अरू भेडालाई आफ्नो आशा जीवितै राख्न मदत गर्छ। यो आशा तिनीहरूको आफ्नो कामले गर्दा होइन तर परमेश्‍वरको असीम अनुग्रहले सम्भव भएको हो भनी तिनले जोड दिए। तिनले यसरी लेखे: “येशू ख्रीष्ट प्रकट हुँदा तिमीहरूलाई देखाइने असीम अनुग्रहमाथि आफ्नो आशा राखिरहो।” (१ पत्रु. १:१३) आफ्ना विश्‍वासी अनुयायीहरूलाई इनाम दिन र दुष्टहरूलाई विनाश गर्न आउँदा ख्रीष्ट प्रकट हुनुहुनेछ।२ थिस्सलोनिकी १:६-१० पढ्‌नुहोस्‌।

१४, १५. (क) आफ्नो आशालाई जीवितै राख्न हामीले कुन कुरामा ध्यान केन्द्रित गर्नुपर्छ? (ख) पत्रुसले कस्तो सल्लाह दिए?

१४ आफ्नो आशालाई जीवितै राख्न हामीले आउँदै गरेको “यहोवाको दिन”-मा ध्यान केन्द्रित गर्नु र त्यसैअनुसार जीवन बिताउनु आवश्‍यक छ। त्यस दिन वर्तमान “स्वर्ग” अर्थात्‌ मानव शासन र “पृथ्वी” अर्थात्‌ दुष्ट मानव समाज र त्यसका “तत्वहरू”-को विनाश हुनेछ। पत्रुसले यस्तो लेखे: “तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! . . . अनि तिमीहरूले यहोवाको दिनको उपस्थितिलाई सधैं सम्झँदै प्रतीक्षा गर्नुपर्छ, जुन दिनले गर्दा आकाश आगलागी भएर पग्लनेछ अनि तत्त्वहरूचाहिं प्रचण्ड तापले गर्दा गल्नेछ।”—२ पत्रु. ३:१०-१२.

१५ वर्तमान “स्वर्ग” र “पृथ्वी”-लाई “नयाँ आकाश [अर्थात्‌ ख्रीष्टको राज्य सरकार] र नयाँ पृथ्वी [अर्थात्‌ पृथ्वीमा मानिसहरूको नयाँ समाज]”-ले विस्थापित गर्नेछ। (२ पत्रु. ३:१३) प्रतिज्ञा गरिएको यस नयाँ संसारको “प्रतीक्षा” गरिरहन वा आफ्नो आशालाई जीवितै राख्न हामीले चाल्नुपर्ने कदमबारे पत्रुसले यस्तो सुस्पष्ट सल्लाह दिए: “त्यसकारण, हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।”—२ पत्रु. ३:१४.

आफ्नो आशाअनुरूप जीवन बिताउने

१६, १७. (क) हामीले “पवित्र आचरण” झल्किने र “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने” कस्ता कामहरू गर्नुपर्छ? (ख) हाम्रो आशा कसरी पूरा हुनेछ?

१६ आफ्नो आशालाई जीवितै राख्नुको अलावा त्यसैअनुरूप जीवन बिताउनु पनि आवश्‍यक छ। हामी यहोवाको अनुमोदन पाउने प्रकारका मानिस हौं कि होइनौं, त्यसबारे होसियार हुनुपर्छ। “पवित्र आचरण” कायम राख्नुमा परमेश्‍वरको नजरमा सही कुरा गरेर ‘संसारका मानिसहरूबीच आफ्नो चालचलन असल’ बनाइराख्नु समावेश छ। (२ पत्रु. ३:११; १ पत्रु. २:१२) हामीले “आपसमा प्रेम” गर्नुपर्छ। हामीले विश्‍वव्यापी भ्रातृत्वको एकतामा योगदान पुऱ्‍याउन सकेजति गर्नुपर्छ। यसको मतलब हो, हामीले आ-आफ्नो मण्डलीको एकता कायम गर्न पनि यथासक्दो गर्नुपर्छ। (यूह. १३:३५) “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू” भनेको यहोवासितको सम्बन्धलाई बलियो बनाउने कामहरू हुन्‌। यसमा अर्थपूर्ण प्रार्थना गर्नु, दिनहुँ बाइबल पढ्‌नु, गहिरो व्यक्‍तिगत अध्ययन गर्नु, पारिवारिक उपासनामा भाग लिनु र ‘राज्यको सुसमाचार’ प्रचार गर्ने काममा सक्रिय भई भाग लिनु समावेश छ।—मत्ती २४:१४.

१७ हामी प्रत्येक नै यहोवाको अनुमोदन पाउने र वर्तमान दुष्ट युग ‘पग्लँदा’ बचाइने व्यक्‍ति बन्‍न चाहन्छौं। यसो गऱ्‍यौं भने “अनन्त जीवनको आशा” पूरा हुनेछ, “जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो।”—ती. १:२.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चित्र]

अभिषिक्‍त ख्रीष्टियनहरूले “नयाँ जन्म” लिएर “जीवित आशा” पाउँछन्‌

[पृष्ठ २४-मा भएको चित्र]

आफ्नो परिवारको आशालाई जीवितै राख्नुहोस्‌