सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धोका—यस युगको डरलाग्दो चिन्ह!

धोका—यस युगको डरलाग्दो चिन्ह!

धोका—यस युगको डरलाग्दो चिन्ह!

“हामी कत्ति वफादार, असल अनि दोषरहित साबित भएका छौं।”—१ थिस्स. २:१०.

मुख्य बुँदाहरू छुट्ट्याउनुहोस्‌:

दलीला, अब्शालोम अनि यहूदा इस्करियोतले दिएको धोकाबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौं?

जोनाथन र पत्रुसले देखाएको वफादारी हामी कसरी अनुकरण गर्न सक्छौं?

हामी आफ्नो विवाहित जोडी अनि यहोवाप्रति कसरी वफादार रहन सक्छौं?

१-३. (क) यस युगको डरलाग्दो चिन्ह के हो र यसमा के समावेश छ? (ख) हामी कुन तीन प्रश्‍न विचार गर्नेछौं?

 दलीला, अब्शालोम अनि यहूदा इस्करियोतबीचको समानता के हो? तिनीहरू तीनै जना अवफादार थिए। दलीला आफूलाई माया गर्ने न्यायकर्ता शिमशोनप्रति, अब्शालोम आफ्नो बुबा राजा दाऊदप्रति अनि यहूदा आफ्नो मालिक येशू ख्रीष्टप्रति। तिनीहरू प्रत्येकले चालेको खराब कदमले अरूमाथि नराम्रो असर गऱ्‍यो। तर यो विषयलाई हामीले किन ध्यान दिनुपर्छ?

एक जना आधुनिक लेखकले धोकालाई अहिलेको जल्दोबल्दो समस्याको सूचीमा राखेका छन्‌। तर यो कुरा सुनेर हामीलाई अचम्म लाग्दैन। “यस युगको आखिरी समयको चिन्ह”-बारे बताउँदा येशूले ‘धेरैले एकअर्कालाई धोका दिनेछन्‌’ भन्‍नुभएको थियो। (मत्ती २४:३, १०) “धोका दिनु” भनेको “कसैलाई झुक्याएर वा बहकाएर शत्रुको हातमा सुम्पनु हो।” अहिले व्याप्त अवफादारी पावलले भविष्यवाणी गरेझैं हामी “अन्तको दिनमा” बाँचिरहेका छौं भन्‍ने कुराको प्रमाण हो। तिनले मानिसहरू “विश्‍वासघाती, . . . धोकेबाज” हुनेछन्‌ भनेर भविष्यवाणी गरे। (२ तिमो. ३:१, २, ४) पत्रपत्रिका तथा फिल्मका लेखकहरूले अवफादारीलाई निकै रोचक अनि मनमोहक तरिकामा प्रस्तुत गर्छन्‌। तर वास्तविक जीवनमा भने अवफादारी र धोकाले पीडा अनि दुःखबाहेक अरू केही दिंदैन। वास्तवमा यस्ता कुराहरू यस युगका डरलाग्दा चिन्हहरू हुन्‌।

बाइबलमा दिइएका अवफादार व्यक्‍तिहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? अरूप्रति वफादार भएकाहरूको कस्तो उदाहरण हामी अनुकरण गर्न सक्छौं? अनि हामीले कोप्रति वफादार रहने सङ्‌कल्प गर्नुपर्छ? आउनुहोस्‌, हामी विचार गरौं।

विगतका चेतावनीमूलक उदाहरण

४. दलीलाले शिमशोनलाई कसरी धोका दिइन्‌ अनि त्यो किन नीच काम थियो?

सबैभन्दा पहिला, धोकेबाज दलीलालाई विचार गरौं। न्यायकर्ता शिमशोन उनको मायाजालमा परेका थिए। शिमशोन परमेश्‍वरका जनहरूको खातिर पलिश्‍तीहरूसित युद्ध गर्न चाहन्थे। दलीलाले शिमशोनलाई साँचो प्रेम गर्दिनन्‌ भनी पलिश्‍तीहरूका पाँच जना मुखियाले थाह पाएको हुनुपर्छ। त्यसकारण तिनीहरूले दलीलालाई शिमशोनको अथाह शक्‍तिको रहस्य पत्ता लगाएमा धेरै टुक्रा चाँदी दिने प्रस्ताव राखे। तिनीहरू शिमशोनलाई मार्न चाहन्थे। लोभी दलीलाले तिनीहरूको प्रस्ताव स्वीकारिन्‌। उनले तीन-तीन पटकसम्म त्यो रहस्य पत्ता लगाउने प्रयास गरिन्‌ तर हाता लाग्यो शून्य! तैपनि उनले हार मानिनन्‌। उनले शिमशोनलाई कर गरिरहिन्‌। “यी कुराले विरक्‍त गरी ज्यानै खानलाग्दा” अन्ततः शिमशोनले त्यो रहस्य खोले। आफ्नो कपालमा कहिल्यै छुरा नलगाएकोले त्यस्तो बल पाएको हो तर कपाल खौरियो भने आफ्नो बल गइहाल्नेछ भनेर पनि तिनले दलीलालाई बताए। a यो कुरा थाह पाएपछि दलीलाले शिमशोनलाई आफ्नो काखमा सुताइन्‌ अनि तिनी निदाइरहेको बेला तिनको कपाल खौरन लगाइन्‌। त्यसपछि उनले तिनलाई शत्रुहरूको हातमा सुम्पिदिइन्‌ र जे गर्न मन लाग्छ त्यही गर्न तिनीहरूको हातमा छोडिदिइन्‌। (न्याय. १६:४, ५, १५-२१) कस्तो नीच काम! लोभले गर्दा उनले आफूलाई माया गर्ने मान्छेलाई धोका दिइन्‌।

५. (क) अब्शालोमले दाऊदलाई कसरी धोका दिए अनि यसद्वारा तिनले के देखाए? (ख) अहीतोपेलले धोका दिंदा दाऊदले कस्तो महसुस गरे?

अब हामी छली अब्शालोमको विषयमा छलफल गरौं। मनमस्तिष्कमा महत्त्वाकाङ्‌क्षाको ज्वाला दन्किरहेको कारण तिनी आफ्नो बुबा दाऊदको सिंहासन हडप्न चाहन्थे। खोक्रो आश्‍वासन दिएर अनि देखावटी माया गरेर तिनले “इस्राएलीहरूका प्यार आफूतिर खिचे।” मानिसहरूलाई चासो देखाएको अनि तिनीहरूको आवश्‍यकता बुझेको देखाउन तिनले ती मानिसहरूलाई अङ्‌गालो हालेर म्वाइँ खान्थे। (२ शमू. १५:२-६) दाऊदको विश्‍वासपात्र अहीतोपेललाई समेत अब्शालोमले आफ्नो पक्षमा लिए। अब्शालोमको कुरा सुनेर अहीतोपेलले दाऊदलाई धोका दिए र विद्रोहमा अब्शालोमलाई साथ दिए। (२ शमू. १५:३१) यस्तो अवफादारीले आफूलाई पारेको असरबारे दाऊदले भजन ३ र ५५ मा आफ्ना भावना पोखेका छन्‌। (भजन ३:१-८; भजन ५५:१२-१४ पढ्‌नुहोस्‌) अब्शालोमको षड्यन्त्र परमेश्‍वरद्वारा नियुक्‍त राजाको विरुद्धमा थियो। यस्तो कर्तुतद्वारा तिनले राजा छान्‍ने परमेश्‍वरको अधिकारलाई सरासर इन्कार गरेको कुरा देखाए। (१ इति. २८:५) अन्तमा गएर अब्शालोमको विद्रोह असफल भयो र दाऊदले नै परमेश्‍वरद्वारा नियुक्‍त राजाको हैसियतमा शासन गरिरहे।

६. यहूदाले येशूलाई कसरी धोका दियो अनि आज कुनै-कुनै भाषामा यहूदा भन्‍ने नाम कसरी प्रयोग गरिन्छ?

अब धोकेबाज यहूदा इस्करियोतले ख्रीष्टलाई के गरे, विचार गरौं। आफ्ना १२ प्रेषितहरूसित अन्तिम निस्तार-चाड मनाउँदा येशूले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” (मत्ती २६:२१) त्यही रात येशूले पत्रुस, याकूब र यूहन्‍नालाई गेत्समनीको बगैंचामा यसो भन्‍नुभयो: “हेर, मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।” यसो भनेको एकछिनमै यहूदा एउटा ठूलो भीडका साथ त्यो बगैंचामा आइपुगे। “अनि सोझै येशूकहाँ गएर तिनले ‘प्रणाम, रब्बी!’ भने र उहाँलाई चुम्बन गरे।” (मत्ती २६:४६-५०; लूका २२:४७, ५२) यहूदाले “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसलाई धोका दिए” र उहाँलाई विरोधीहरूको हातमा सुम्पिदिए। अनि तिनले यो सब कति पैसाको लागि गरेका थिए? जम्मा ३० टुक्रा चाँदीको लागि! (मत्ती २७:३-५) त्यसदेखि यता कुनै-कुनै भाषामा कसैलाई “धोकेबाज” भनेर चिनाउन मानिसहरू यहूदा भन्‍ने नाम प्रयोग गर्छन्‌—विशेषगरि आफ्नो साथीलाई धोका दिने व्यक्‍ति बुझाउन। b

७. (क) हामीले अब्शालोम अनि यहूदाको उदाहरणबाट के पाठ सिक्यौं? (ख) अनि दलीलाको उदाहरणबाट नि?

यी चेतावनीमूलक उदाहरणहरूबाट हामीले के सिक्यौं? यहोवाद्वारा अभिषिक्‍त जनलाई धोका दिएको कारण अब्शालोम र यहूदाले लज्जास्पद मृत्यु भोग्नुपऱ्‍यो। (२ शमू. १८:९, १४-१७; प्रेषि. १:१८-२०) अनि दलीलाको नाम सुन्‍नेबित्तिकै मानिसहरूको मनमा तिनको अवफादारी र तिनको देखावटी मायाको झल्को आउँछ। (भज. ११९:१५८) ठूलठूला ओहदा हासिल गर्ने अनि लालची हुने झुकावदेखि टाढै बस्नु महत्त्वपूर्ण छ किनभने यस्ता कुराहरूले हामीलाई परमेश्‍वरको अनुमोदन पाउनदेखि रोक्न सक्छ। अवफादारी जस्तो घृणित अवगुण हटाउन हामीलाई मदत गर्ने यीभन्दा राम्रा उदाहरण अरू कुन होलान्‌ र?

वफादार व्यक्‍तिहरूको अनुकरण गर्नुहोस्‌

८, ९. (क) जोनाथनले दाऊदप्रति वफादार रहने कसम किन खाए? (ख) हामी कसरी जोनाथनको अनुकरण गर्न सक्छौं?

बाइबलमा वफादार व्यक्‍तिहरूको उदाहरण पनि प्रशस्तै पाइन्छ। त्यसमध्ये हामी दुइटा उदाहरण विचार गरौं अनि ती उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं, हेरौं। पहिला, दाऊदप्रति वफादार रहेका व्यक्‍तिबारे बुझौं। ती व्यक्‍ति राजा शाऊलका जेठा छोरा जोनाथन हुन्‌। सम्भवतः जोनाथनले इस्राएलको राज्याधिकार सम्हाल्ने थिए। तर यहोवाले भने इस्राएलको राजा हुन दाऊदलाई छान्‍नुभयो। जोनाथनले परमेश्‍वरको यस निर्णयलाई सहर्ष स्वीकारे। दाऊदलाई प्रतिद्वन्द्वीको रूपमा हेर्नुको साटो तिनले ‘दाऊलाई आफैलाई झैं हृदयले प्रेम गरे’ अनि उनीप्रति वफादार रहने कसम खाए। तिनले दाऊदलाई आफ्नो जङ्‌गी-पोसाक, तरवार, धनु र पेटी दिएर राजकीय सम्मान दिएको कुरासमेत देखाए। (१ शमू. १८:१-४) दाऊदलाई “परमेश्‍वरको नाउँमा अझै उत्साह” दिन जोनाथनले सक्दो गरे। दाऊदलाई शाऊलको हातबाट बचाउन तिनले आफ्नो ज्यानसमेत जोखिममा हाले। वफादार हुँदै जोनाथनले दाऊदलाई यसो भने: “तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिं तपाईंका मनि दोस्रो दर्जामा हुनेछु।” (१ शमू. २०:३०-३४; २३:१६, १७) त्यसैले जोनाथनको मृत्यु हुँदा दाऊदले तिनीप्रतिको माया र आफ्नो शोक मर्माहात गीतको रूपमा व्यक्‍त गरेकोमा छक्क मान्‍नु पर्दैन।—२ शमू. १:१७, २६.

कोप्रति वफादार रहने भन्‍ने सन्दर्भमा जोनाथन अन्योलमा थिएनन्‌। तिनी पूर्ण रूपमा सार्वभौम यहोवाको अधीनमा रहे अनि परमेश्‍वरद्वारा नियुक्‍त व्यक्‍तिको रूपमा दाऊदलाई पूरा साथ दिए। त्यसैगरि आज हामीलाई मण्डलीमा विशेष सुअवसर दिइएको छैन भने पनि हामीबीच अगुवाइ लिन नियुक्‍त गरिएका भाइहरूलाई हामीले राजीखुसीले समर्थन गर्नुपर्छ।—१ थिस्स. ५:१२, १३; हिब्रू १३:१७, २४.

१०, ११. (क) पत्रुस येशूप्रति किन वफादार रहिरहे? (ख) हामी कसरी पत्रुसको अनुकरण गर्न सक्छौं अनि हामी के गर्न उत्प्रेरित हुनुपर्छ?

१० वफादार रहने सन्दर्भमा राम्रो उदाहरण बसालेका अर्का व्यक्‍ति हुन्‌ प्रेषित पत्रुस। तिनी येशूप्रति वफादार रहे। आफूले बलिदानस्वरूप चढाउन लागेको रगत र शरीरप्रति चेलाहरूले विश्‍वास देखाउनु कत्तिको महत्त्वपूर्ण छ भनी बुझाउन येशूले एउटा दृष्टान्त चलाउनुभयो। उहाँले त्यो दृष्टान्त लाक्षणिक अर्थमा चलाउनुभएको थियो। तर उहाँका थुप्रै चेलाहरूलाई त्यो दृष्टान्त घिनलाग्दो लाग्यो र तिनीहरूले उहाँलाई छोडे। (यूह. ६:५३-६०, ६६) त्यसकारण आफ्ना १२ प्रेषितहरूतिर फर्केर येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” पत्रुसले यस्तो जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसित छन्‌; अनि परमेश्‍वरका पवित्र जन तपाईं नै हुनुहुन्छ भनेर हामीले विश्‍वास गरेका र थाह पाएका छौं।” (यूह. ६:६७-६९) के यसको अर्थ येशूले चढाउन लाग्नुभएको बलिदानबारे पत्रुसले सबै कुरा बुझेका थिए? सायद थिएनन्‌। तैपनि परमेश्‍वरले नियुक्‍त गर्नुभएको छोराप्रति वफादार रहन पत्रुस दृढ थिए।

११ ‘येशूको बुझाइ गलत छ तर पछि उहाँले आफ्नो भनाइ सच्याउनुहुनेछ’ भनी पत्रुसले सोचेनन्‌। बरु येशूसित “अनन्त जीवनका वचनहरू” छन्‌ भनी तिनले नम्रतापूर्वक स्वीकारे। आज हाम्रो समयमा पनि यही कुरा लागू हुन्छ। “विश्‍वासी भण्डारे”-ले तयार पारेको प्रकाशनमा दिइएका कुनै बुँदा बुझ्न गाह्रो भएमा अथवा त्यो बुँदा हाम्रो सोचाइसित मेल नखाएमा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? आफ्नो सोचाइसित मेल खाने बुझाइ एक दिन पक्कै प्रकट हुनेछ भनी आशा गर्नुको साटो हामीले उक्‍त जानकारी बुझ्न अथक प्रयास गर्नुपर्छ।लूका १२:४२ पढ्‌नुहोस्‌।

आफ्नो विवाहित जोडीप्रति वफादार रहनुहोस्‌

१२, १३. विवाहित जोडीले एकअर्कालाई धोका दिने स्थिति कसरी खडा हुन सक्छ? यस्तो स्थितिको लागि उमेरलाई दोष दिन मिल्दैन, किन?

१२ तरिका जुनसुकै होस्‌, अरूलाई धोका दिनु दुष्ट कार्य हो। यसले ख्रीष्टियन परिवार तथा मण्डलीको शान्ति अनि एकतामा बाधा पुग्न दिनुहुँदैन। यो कुरा मनमा राख्दै आउनुहोस्‌, हामी आफ्नो विवाहित जोडी र यहोवाप्रति कसरी वफादार रहन सक्छौं, विचार गरौं।

१३ आफ्नो जोडीबाहेक अरूसित यौनसम्बन्ध राख्नु ठूलो धोका हो। अवैध यौनसम्बन्ध राख्ने व्यक्‍तिले आफ्नो जोडीप्रति अवफादारी देखाउँछ र अरूलाई नै माया गर्छ। यसले गर्दा धोका पाएको जोडी अचानक एक्लो हुन पुग्छन्‌। तिनको जीवन नै उलटपुलट हुन्छ। कुनै समय एकअर्कालाई औधी माया गर्ने जोडी कसरी यस्तो अवस्थामा पुग्न सक्छन्‌? विवाहित दम्पतीले आफूहरू भावनात्मक रूपमा टाढिएको महसुस गर्नु नै सुरुको लक्षण हो। समाजशास्त्रका प्राध्यापक गाब्रिएला टुर्नाटुरीले बताएअनुसार आफ्नो सम्बन्धलाई बलियो बनाउन पति-पत्नीले जे-जति गर्नुपर्छ, त्यो गर्न छोड्‌दा एकअर्कालाई धोका दिने स्थिति खडा हुन्छ। विवाहित जोडीको रूपमा थुप्रै वर्ष बिताएकाहरूमा समेत यस्तो स्थिति आउन सक्छ। उदाहरणका लागि, विवाह गरेको २५ वर्ष भइसकेको ५० वर्षीय पुरुषले आफूले मन पराएको केटीसित जीवन बिताउन आफ्नी वफादार पत्नीसित सम्बन्धविच्छेद गरे। ‘अधबैंसे उमेरमा यस्तो त भइहाल्छ नि’ भनेर कसै-कसैले यसलाई हल्कासित लिन्छन्‌। तर उमेरको कारण यस्तो काम गर्ने छुट पाइँदैन। आफ्नो जोडीप्रति अवफादार हुनु मामुली कुरा होइन। यो धोका हो! c

१४. (क) वैवाहिक सम्बन्धमा अवफादारी देखाउनेहरूप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ? (ख) वैवाहिक सम्बन्धमा देखाइने अवफादारीबारे येशूले के भन्‍नुभयो?

१४ धर्मशास्त्रीय आधारविना आफ्नो विवाहित जोडी त्याग्ने व्यक्‍ति देखेर यहोवालाई कस्तो लाग्छ? पति अथवा पत्नी “त्याग्ने कुरालाई” परमेश्‍वर घृणा गर्नुहुन्छ। साथै आफ्नो विवाहित जोडीलाई दुर्व्यवहार गर्ने अनि आफ्नो जोडीलाई त्याग्ने व्यक्‍तिको उहाँले कडा शब्दमा आलोचना गर्नुभएको छ। (मलाकी २:१३-१६ पढ्‌नुहोस्‌) वैवाहिक सम्बन्धमा अवफादारी देखाउनेहरूप्रति येशू पनि यहोवाको जस्तै सोचाइ राख्नुहुन्छ। निर्दोष पति वा पत्नीलाई तिरस्कार गरेर वा त्यागेर विवाहप्रति हल्का दृष्टिकोण राख्नुहुँदैन भनी येशूले सिकाउनुभयो।—मत्ती १९:३-६,  पढ्‌नुहोस्‌।

१५. विवाहित जोडीहरूले आफ्नो पति वा पत्नीप्रतिको वफादारीलाई कसरी अझै सशक्‍त बनाउन सक्छन्‌?

१५ विवाहित जोडीहरू आफ्नो पति वा पत्नीप्रति कसरी वफादार रहिरहन सक्छन्‌? परमेश्‍वरको वचन भन्छ: “तेरो युवावस्थाकी पत्नी [वा पतिसित] . . . तँ सुखी हो” अनि “आफूले प्रेम गरेकी स्त्रीसित [वा पुरुषसित] जीवनको सुखभोग गर्‌।” (हितो. ५:१८; उप. ९:९) उमेर ढल्किंदै जाँदा पति-पत्नी दुवैले आफ्नो वैवाहिक सम्बन्धलाई शारीरिक तथा भावनात्मक रूपमा बलियो बनाउन यथासक्दो गर्नुपर्छ। मतलब, एकअर्काप्रति चासो देखाउनुपर्छ, एकअर्कासित समय बिताउनुपर्छ अनि एकअर्कासित नजिक हुनुपर्छ। तिनीहरूले आफ्नो वैवाहिक सम्बन्धका साथै यहोवासितको सम्बन्ध जोगाउन हरतरहले प्रयास गर्नुपर्छ। यसको लागि तिनीहरूले सँगै बसेर बाइबल अध्ययन गर्नुपर्छ, प्रचारकार्यमा सँगै भाग लिनुपर्छ र यहोवाको आशिष्‌ माग्दै सँगै बसेर प्रार्थना गर्नुपर्छ।

यहोवाप्रति वफादार रहनुहोस्‌

१६, १७. (क) परिवारमा अनि मण्डलीमा परमेश्‍वरप्रतिको हाम्रो वफादारीको जाँच कसरी हुन सक्छ? (ख) बहिष्कृत नातेदारसित सङ्‌गत नगर्नू भन्‍ने परमेश्‍वरको आज्ञा पालन गर्दा राम्रो परिणाम हासिल हुन्छ भनेर कुन उदाहरणले देखाउँछ?

१६ गम्भीर पाप गरेका र ‘विश्‍वासमा दह्रो होऊन्‌ भनेर कडासित हप्काइएका’ भाइबहिनीहरू मण्डलीमा छन्‌। (ती. १:१३) कसै-कसैलाई तिनीहरूको आचरणले गर्दा मण्डलीबाट बहिष्कारसमेत गर्नुपऱ्‍यो। तर “ज-जसले यसद्वारा तालिम पाइसकेका छन्‌,” तिनीहरूलाई त्यस्तो अनुशासनले परमेश्‍वरसित फेरि राम्रो सम्बन्ध गाँस्न मदत गरेको छ। (हिब्रू १२:११) यदि हाम्रो नातेदार वा घनिष्ठ मित्र बहिष्कार भएका छन्‌ भने नि? यतिबेला हामी यहोवाप्रति वफादार हुनुपर्छ, त्यस व्यक्‍तिप्रति होइन। बहिष्कार भएका कोहीसित पनि सङ्‌गत नगर्नू भनेर परमेश्‍वरले आज्ञा दिनुभएको छ। हामीले यो आज्ञा पालन गरिरहेका छौं कि छैनौं, यहोवाले हेरिरहनुभएको छ।—१ कोरिन्थी ५:११-१३ पढ्‌नुहोस्‌।

१७ बहिष्कृत नातेदारसित सङ्‌गत नगर्नू भन्‍ने आज्ञा वफादार भई पालन गरेकोले एउटा परिवारले कस्तो परिणाम हासिल गऱ्‍यो, एउटा उदाहरण विचार गरौं। एक जवान व्यक्‍ति बहिष्कार भएको १० वर्षभन्दा धेरै भइसकेको थियो। त्यतिबेला तिनको बुबा, आमा अनि चार दाजुभाइले तिनीसित ‘सङ्‌गत गरेनन्‌।’ कहिलेकाहीं तिनी परिवारका सदस्यहरूसित समय बिताउन खोज्थे तर परिवारका प्रत्येक सदस्य नै तिनीसित कुनै सम्बन्ध नराख्न दृढ थिए। पुनर्बहाली भएपछि यी भाइले बताएअनुसार तिनी सधैं परिवारसितको सङ्‌गति गुमाएको महसुस गर्थे, अझ विशेषगरि रातको समयमा एक्लो हुँदा। परिवारले थोरै समय मात्र पनि आफूसित बिताएको भए त्यस्तो महसुस नहुने कुरा तिनले स्वीकारे। तर परिवारका सबै सदस्यले तिनीसित कुनै सम्बन्ध राखेनन्‌। त्यसैले आफ्नो परिवारसित समय बिताउने तीव्र चाहनाले तिनलाई यहोवासित फेरि राम्रो सम्बन्ध गाँस्न उत्प्रेरित गऱ्‍यो। बहिष्कृत नातेदारसित सङ्‌गत नगर्नू भन्‍ने परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने प्रलोभनमा पर्दा यो उदाहरण सम्झनुहोस्‌।

१८. वफादार हुँदा पाइने फाइदा र अवफादार हुँदा भोग्नुपर्ने परिणामबारे पुनरावलोकन गरेपछि तपाईंको सङ्‌कल्प कस्तो छ?

१८ हामी छली अनि अवफादार व्यक्‍तिहरूले भरिएको संसारमा बाँचिरहेका छौं। तर ख्रीष्टियन मण्डलीमा भने वफादार व्यक्‍तिहरू थुप्रै छन्‌। हामी तिनीहरूको असल उदाहरण अनुकरण गर्न सक्छौं। तिनीहरू ‘कत्ति वफादार, असल अनि दोषरहित साबित भएका छन्‌,’ तिनीहरूको जीवनशैलीले नै देखाउँछ। (१ थिस्स. २:१०) परमेश्‍वरप्रति र एकआपसमा वफादार रहन यथासक्दो गरिरहौं।

[फुटनोटहरू]

a शिमशोनको बल तिनको कपालमा थिएन। तिनको कपालले केवल नाजिरीको रूपमा परमेश्‍वरसित तिनको विशेष सम्बन्धको प्रतिनिधित्व गर्थ्यो। यो नै तिनको बलको वास्तविक स्रोत थियो।

b कुनै-कुनै भाषामा “यहूदाको चुम्बन” भन्‍ने वाक्याशंले “धोका दिनुलाई” बुझाउँछ।

c आफ्नो पति अथवा पत्नी अवफादार हुँदा कसरी त्यसको सामना गर्ने भन्‍ने विषयमा मदत पाउन जून १५, २०१० को प्रहरीधरहरा (अङ्‌ग्रेजी), पृष्ठ २९-३२ मा भएको “आफ्नो जोडीले धोका दिंदा त्यसको सामना गर्ने” भन्‍ने लेख हेर्नुहोस्‌। साथै मे ८, १९९७ को ब्यूँझनुहोस्‌!, पृष्ठ २५-२७ मा भएको “के वैवाहिक अवफादारीपछि पनि पतिपत्नी सँगै बस्नसक्छन्‌?” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरद्वारा नियुक्‍त छोरालाई अरूले इन्कार गरे तापनि पत्रुस उहाँप्रति वफादार थिए