सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वैवाहिक सम्बन्ध बलियो बनाउन सक्दो गर्नुहोस्‌

वैवाहिक सम्बन्ध बलियो बनाउन सक्दो गर्नुहोस्‌

वैवाहिक सम्बन्ध बलियो बनाउन सक्दो गर्नुहोस्‌

“विवाह गरेका मानिसहरूलाई म, म होइन वास्तवमा प्रभु . . . निर्देशन दिनुहुन्छ।”—१ कोरि. ७:१०.

के तपाईं बुझाउन सक्नुहुन्छ?

परमेश्‍वरले कुन अर्थमा विवाहित जोडीलाई एकसाथ जोड्‌नुहुन्छ?

वैवाहिक जीवनमा समस्या भोगिरहेका ख्रीष्टियनहरूलाई एल्डरहरूले कसरी मदत गर्न सक्छन्‌?

हामीले विवाहप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१. ख्रीष्टियनहरूले विवाहप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ र किन?

 विवाह गर्नु भनेको ख्रीष्टियनहरूले परमेश्‍वरसामु एउटा भाकल गर्नुसरह हो। तिनीहरूले यो जिम्मेवारीलाई हल्कासित लिनुहुँदैन। (उप. ५:४-६) यहोवा विवाहको सुरुवातकर्ता हुनुहुन्छ। त्यसैले उहाँले विवाहित जोडीहरूलाई “एकसाथ जोड्‌नुभएको छ।” (मर्कू. १०:९) देशको नियम-कानुन जस्तोसुकै भए तापनि विवाहपछि तिनीहरू परमेश्‍वरको नजरमा सधैंभरिका लागि एकसाथ जोडिन्छन्‌। यहोवाको उपासक हुनुअगावै विवाह भइसकेको थियो भने पनि उहाँका सेवकहरूले विवाहप्रति उहाँको जस्तै दृष्टिकोण राख्नुपर्छ।

२. यस लेखमा हामी कुन-कुन प्रश्‍न विचार गर्नेछौं?

सफल विवाहले अपार खुसी दिन सक्छ। तर हामी आफ्नो वैवाहिक जीवनदेखि खुसी छैनौं भने के गर्न सक्छौं? के यस्तो सम्बन्धलाई फेरि राम्रो बनाउन सकिन्छ? जसको वैवाहिक जीवनमा शान्ति छैन तिनीहरूको लागि कस्तो मदत उपलब्ध छ?

यो विवाहले आनन्द दिनेछ या पीडा?

३, ४. कुनै व्यक्‍तिले जोडी छान्‍ने सन्दर्भमा बुद्धिमानी निर्णय नगर्दा के हुन सक्छ?

कुनै ख्रीष्टियनको वैवाहिक सम्बन्ध सफल हुँदा त्यसले आनन्द दिन्छ र यहोवाको महिमा गर्छ। तर यो सम्बन्ध असफल भयो भने यसले जत्तिको पीडा अरू कुनै कुराले दिंदैन। विवाह गर्ने सोचमा रहेका ख्रीष्टियनहरूले परमेश्‍वरको निर्देशन पालन गरेर राम्रो सुरुवात गर्न सक्छन्‌। अर्कोतर्फ, जोडी छान्‍ने सन्दर्भमा बुद्धिमानी निर्णय नगर्ने व्यक्‍तिले असन्तुष्टि र पीडा अनुभव गर्न सक्छ। उदाहरणका लागि, केही युवायुवती विवाहपछि पूरा गर्नुपर्ने जिम्मेवारी बहन गर्ने अवस्थामा नपुगिकनै डेटिङ सुरु गर्छन्‌। केहीले भने इन्टरनेटद्वारा आफ्नो जोडी छान्छन्‌ र झटपट विवाह गरेर तीतो अनुभव भोग्छन्‌। अरू कतिपयले भने विवाहअघिको भेटघाटमा गम्भीर पाप गर्छन्‌। यसो गर्दा तिनीहरूले एक-अर्काप्रतिको आदर गुमाउँछन्‌। तिनीहरूले विवाह गर्ने निर्णय नै गरे भने पनि तिनीहरूको वैवाहिक जीवनको सुरुवात बलियो नहुन सक्छ।

केही ख्रीष्टियनले “प्रभुको चेलासित मात्र” विवाह गर्दैनन्‌ अनि अक्सर पीडादायी नतिजा भोग्छन्‌। किन? किनभने तिनीहरूको परिवारको धार्मिक आस्था बेग्लाबेग्लै हुन्छ। (१ कोरि. ७:३९) यदि तपाईं पनि यस्तै स्थितिमा हुनुहुन्छ भने परमेश्‍वरसित क्षमा र मदत माग्नुहोस्‌। विगतका गल्तीको कारण भोग्नुपर्ने नतिजालाई त उहाँले हटाउनुहुन्‍न तर पश्‍चात्तापीहरूलाई परीक्षाहरूको सामना गर्न भने अवश्‍य मदत गर्नुहुन्छ। (भज. १३०:१-४) परमेश्‍वरलाई सधैं खुसी पार्ने कोसिस गर्नुहोस्‌। यसो गर्दा ‘परमप्रभुको आनन्द नै तपाईंको बल हुनेछ।’—नहे. ८:१०.

वैवाहिक जीवन खतरामा पर्दा

५. वैवाहिक जीवन समस्यामा पर्दा हामीले कस्तो सोचाइ राख्नुहुँदैन?

वैवाहिक जीवनमा समस्या भोगिरहेकाहरूले यस्तो सोच्न सक्छन्‌: ‘मैले यही सम्बन्धलाई निरन्तरता दिनु जरुरी छ र? अरू नै कोहीसित विवाह गरेको भए बेस हुने रहेछ!’ तिनीहरू आफ्नो जोडीसित सम्बन्ध टुटाउने सपना सजाउँछन्‌ र यस्तो सोच्छन्‌: ‘यो पिँजडाबाट मुक्‍त हुन सम्बन्धविच्छेद पो गरूँ कि? धर्मशास्त्रीय आधारमा सम्बन्धविच्छेद गर्न नमिले पनि छुट्टै बसेर फेरि जीवनको मजा लिनुपर्ला!’ ख्रीष्टियनहरूले यस्तो कुरा मनमा खेलाउनुहुँदैन साथै ‘यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो’ भनेर कल्पना पनि गर्नुहुँदैन। बरु, परमेश्‍वरको डोऱ्‍याइ खोज्दै अनि त्यसलाई लागू गर्दै हालको स्थिति राम्रो बनाउन सक्दो गर्नुपर्छ।

६. मत्ती १९:९ मा उल्लेख गरिएअनुसार येशूले के भन्‍नुभयो, वर्णन गर्नुहोस्‌।

कुनै ख्रीष्टियनले सम्बन्धविच्छेद गर्छन्‌ भने तिनले फेरि विवाह गर्ने धर्मशास्त्रीय छुट पाउन पनि सक्छन्‌, नपाउन पनि सक्छन्‌। येशूले भन्‍नुभयो: “जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले परस्त्रीसित यौनसम्बन्ध राखेको ठहरिन्छ।” (मत्ती १९:९) यहाँ चलाइएको “अवैध यौनसम्बन्ध” भन्‍ने शब्दमा आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु र घोर यौन पापमा मुछिनु समावेश छ।

७. कुनै ख्रीष्टियनको वैवाहिक सम्बन्ध असफल भएमा अरूले के सोच्न सक्छन्‌?

असफल वैवाहिक जीवनले यहोवासितको सम्बन्ध कमजोर छ भनेर देखाउँछ। प्रेषित पावलले यस्तो गम्भीर प्रश्‍न उठाए: “आफ्नै घरपरिवारको अगुवाइ लिन नजान्‍ने पुरुषले कसरी परमेश्‍वरको मण्डलीको हेरचाह गर्न सक्छ र?” (१ तिमो. ३:५) यदि पति-पत्नी दुवै नै ख्रीष्टियन हुन्‌ तर तिनीहरूको वैवाहिक सम्बन्ध राम्रो छैन भने अरूले यस्तो सोच्न सक्छन्‌, ‘तिनीहरू अरूलाई त सिकाउँछन्‌ तर आफैचाहिं गर्दैनन्‌!’—रोमी २:२१-२४.

८. वैवाहिक जोडीले छुट्टिएर बस्ने अथवा सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन्‌ भने त्यसको कारण के हुन सक्छ?

बप्तिस्मा गरेको विवाहित जोडीले धर्मशास्त्रीय आधारविना नै छुट्टिएर बस्ने अथवा सम्बन्धविच्छेद गर्ने विचार गर्दैछन्‌ भने यहोवासितको तिनीहरूको सम्बन्धमा केही न केही गडबडी पक्कै छ भनेर देखिन्छ। तिनीहरूमध्ये एक जनाले वा दुवै जनाले धर्मशास्त्रीय सिद्धान्त पालन नगरिरहेका हुन सक्छन्‌। यदि तिनीहरूले “सारा भरोसा परमेश्‍वरमा” राखेका भए आफ्नो वैवाहिक सम्बन्धलाई बचाउन सक्नुपर्थ्यो।—हितोपदेश ३:५, ६ पढ्‌नुहोस्‌।

९. वैवाहिक जीवनमा समस्या आए तापनि तुरुन्तै हार नमान्‍ने ख्रीष्टियनहरूले कस्तो परिणाम हासिल गरेका छन्‌?

सुरुमा असफल जस्तो देखिएका थुप्रै विवाह पछि गएर सफल भएका छन्‌। वैवाहिक जीवनमा समस्या आए तापनि तुरुन्तै हार नमान्‍ने ख्रीष्टियनहरूले अक्सर राम्रो परिणाम हासिल गर्छन्‌। धार्मिक आस्था बेग्लाबेग्लै भएको परिवारमा के हुन सक्छ, विचार गर्नुहोस्‌। प्रेषित पत्रुसले लेखे: “हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्‍वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्‌; तिमीहरूको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनीहरू परमेश्‍वरको वचन पालन गर्ने होऊन्‌।” (१ पत्रु. ३:१, २) हो, ख्रीष्टियन पति अथवा पत्नीको असल चालचलन देखेर गैर-ख्रीष्टियन पति अथवा पत्नीले सत्य अँगाल्न सक्छन्‌। वैवाहिक सम्बन्ध जोगाउने ख्रीष्टियनहरूले परमेश्‍वरको महिमा गर्छन्‌ र पति, पत्नी अनि छोराछोरीका लागि यो आशिष्‌ साबित हुनेछ।

१०, ११. वैवाहिक जीवनमा आशै नगरेका कस्ता समस्याहरू आउन सक्छन्‌ तर ख्रीष्टियनहरू कुन कुरामा पक्का हुन सक्छन्‌?

१० यहोवालाई खुसी पार्ने चाहनाले गर्दा थुप्रै अविवाहित ख्रीष्टियनहरूले उहाँमा समर्पित सेवकहरूलाई नै आफ्नो विवाहित जोडीको रूपमा छान्छन्‌। तैपनि अवस्था तिनीहरूले सोचेजस्तो नहुन सक्छ। उदाहरणको लागि, पति अथवा पत्नीले भावनात्मक रूपमा गम्भीर समस्या भोग्न सक्छन्‌। अथवा कहिलेकाहींचाहिं पति वा पत्नीमध्ये एक जना पछि गएर निष्क्रिय प्रकाशक हुन सक्छन्‌। एक जना जोसिलो प्रकाशक र मायालु आमा लिन्डाको a उदाहरण विचार गर्नुहोस्‌। बप्तिस्मा गरिसकेका तिनका पतिले कुनै पश्‍चात्ताप नगरी धर्मशास्त्रीय सिद्धान्तलाई बारम्बार उल्लङ्‌घन गरे र बहिष्कृत भए। यस्तै अवस्थाको कारण आशै मारिसकेका ख्रीष्टियनहरूले के गर्नुपर्छ?

११ तपाईं भन्‍नुहोला, ‘जस्तोसुकै अवस्थामा पनि मैले विवाह जोगाउने प्रयास गर्नै पर्छ र?’ यसबारे कसैले पनि तपाईंको लागि निर्णय गरिदिन सक्दैन अनि गरिदिनु पनि हुँदैन। तर वैवाहिक सम्बन्ध कमजोर भए तापनि हार नखाने असल कारणहरू छन्‌। विवाहमा समस्या आए तापनि आफ्नो अन्तस्करणको खातिर त्यसलाई सहने पुरुष तथा स्त्री परमेश्‍वरको नजरमा बहुमूल्य छन्‌। (१ पत्रुस २:१९, २० पढ्‌नुहोस्‌) कमजोर भएको वैवाहिक सम्बन्धलाई बलियो बनाउन अथक प्रयास गर्ने ख्रीष्टियनहरूलाई यहोवाले आफ्नो वचन र शक्‍तिद्वारा मदत गर्नुहुन्छ।

तिनीहरू मदत गर्न तयार छन्‌

१२. एल्डरहरूसित मदत माग्दा तिनीहरूले हामीलाई कस्तो दृष्टिकोणले हेर्नेछन्‌?

१२ वैवाहिक जीवनमा समस्या भोगिरहनुभएको छ भने परिपक्व ख्रीष्टियनहरूसित आध्यात्मिक मदत माग्न नहिचकिचाउनुहोस्‌। एल्डरहरूले बगालको गोठालोको रूपमा सेवा गर्छन्‌ र तिनीहरूले खुसीसाथ धर्मशास्त्रबाटै सल्लाह दिन्छन्‌। (प्रेषि. २०:२८; याकू. ५:१४, १५) वैवाहिक जीवनमा आएको गम्भीर समस्याबारे एल्डरहरूसित कुराकानी गर्दा र तिनीहरूको मदत माग्दा आफू र आफ्नो जोडीले तिनीहरूबाट पाइरहेको आदर गुमाउनुपर्नेछ भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। तपाईंले परमेश्‍वरलाई साँच्चै खुसी पार्न चाहेको देख्दा एल्डरहरूले तपाईंलाई पहिले भन्दा झनै माया गर्नेछन्‌ र आदर देखाउनेछन्‌।

१३. पहिलो कोरिन्थी ७:१०-१६ मा कस्तो सल्लाह पाइन्छ?

१३ धार्मिक तवरमा विभाजित परिवारका कुनै ख्रीष्टियनले मदत माग्दा एल्डरहरूले प्रेषित पावलले जस्तै यस्तो सल्लाह दिन्छन्‌: “विवाह गरेका मानिसहरूलाई म, म होइन वास्तवमा प्रभु यस्तो निर्देशन दिनुहुन्छ: पत्नी आफ्नो पतिबाट अलग नहोस्‌। यदि अलग हुन परिहाल्यो भने कि त अविवाहित बसोस्‌ कि पतिसित फेरि मिलाप गरोस्‌। पतिले पनि आफ्नी पत्नीलाई त्याग्नुहुँदैन। . . . किनकि ए पत्नी हो, आफ्नो पतिसित बस्यौ भने तिमीले आफ्नो पतिलाई बचाउन सक्छौ कि के थाह? अनि ए पति हो, आफ्नी पत्नीसित बस्यौ भने तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि के थाह?” (१ कोरि. ७:१०-१६) धार्मिक आस्था बेग्लै भएको पति अथवा पत्नीले सत्य अँगाल्नु कत्ति खुसीको कुरा हो!

१४, १५. कस्तो अवस्थामा ख्रीष्टियन पत्नीले अलग हुने विचार गर्न सक्छिन्‌ तर यस विषयमा प्रार्थना गर्नु र आफ्नो मनसाय इमानदार भई जाँच्नु किन आवश्‍यक छ?

१४ कुनै ख्रीष्टियन पत्नी कस्तो अवस्थामा आफ्नो पतिबाट “अलग हुन” सक्छिन्‌? पतिले जानाजानी भौतिक सहयोग नगरेको कारण कतिपयले छुट्टिएर बस्ने निर्णय गरेका छन्‌। अरू कतिपय भने चरम शारीरिक दुर्व्यवहार भोग्नुपरेकोले अथवा यहोवासितको सम्बन्ध नै खतरामा परेकोले छुट्टिएर बसेका छन्‌।

१५ अलग हुने वा नहुने, यो व्यक्‍तिगत निर्णय हो। तर बप्तिस्माप्राप्त ख्रीष्टियनले यस विषयमा प्रार्थना गर्नुपर्छ र आफ्नो मनसाय इमानदार भई जाँच्नुपर्छ। उदाहरणको लागि, के धार्मिक आस्था बेग्लै भएको पति या पत्नीले गर्दा मात्रै यहोवासितको सम्बन्ध खतरामा परेको हो? अथवा विश्‍वासमा भएको व्यक्‍ति आफैले नै बाइबल अध्ययन, सभा अनि प्रचारकार्यलाई हेलचेक्य्राइँ गरेकोले पो त्यस्तो खतरा निम्तिएको हो कि?

१६. सम्बन्धविच्छेद गर्ने सन्दर्भमा ख्रीष्टियनहरूले किन हतारिएर निर्णय गर्नुहुँदैन?

१६ यहोवासितको सम्बन्धको हामी कदर गर्छौं र उहाँले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको मोल गर्छौं। त्यसैले सम्बन्धविच्छेद गर्ने सन्दर्भमा हामी हतारिएर निर्णय गर्दैनौं। यहोवाका सेवकहरू भएकोले हामी उहाँको पवित्र नामलाई कलङ्‌क लगाउन चाहँदैनौं। त्यसकारण अर्को विवाह गर्ने सोच राखेर हामी आफ्नो जोडीलाई कहिल्यै धोका दिंदैनौं।—यर्मि. १७:९; मला. २:१३-१६.

१७. परमेश्‍वरले विवाहित ख्रीष्टियनहरूलाई शान्तिमा रहन बोलाउनुभएको छ भनेर कस्तो परिस्थितिमा भन्‍न सकिन्छ?

१७ धार्मिक आस्था बेग्लै भएको व्यक्‍तिको ख्रीष्टियन पति वा पत्नीले विवाह बन्धनलाई बलियो बनाउन अथक प्रयास गर्नुपर्छ। कुनै ख्रीष्टियनले विवाह जोगाउने प्रयास गर्दागर्दै पनि धार्मिक आस्था बेग्लै भएको तिनको पति या पत्नीले अलग्गिने निर्णय गर्छन्‌ भने ती ख्रीष्टियनले दोषी महसुस गर्नुपर्दैन। पावलले लेखे: “यदि बेग्लै आस्था हुनेचाहिं अलग हुन्छ भने उसलाई अलग हुन देऊ। यस्तो परिस्थितिमा भाइ वा बहिनी बन्धनमा रहँदैन, किनकि परमेश्‍वरले तिमीहरूलाई शान्तिमा रहन बोलाउनुभएको हो।”—१ कोरि. ७:१५. b

यहोवाको बाटो हेर्नुहोस्‌

१८. विवाह जोगाउन सम्भव भएन भने पनि अथक प्रयास गर्दा कस्तो नतिजा निस्कन सक्छ?

१८ वैवाहिक जीवनमा आउने कुनै पनि समस्या हल गर्न साहसको लागि यहोवालाई बिन्ती गर्नुहोस्‌ अनि सधैं उहाँको बाटो हेर्नुहोस्‌ अर्थात्‌ उहाँमा भरोसा राख्नुहोस्‌। (भजन २७:१४ पढ्‌नुहोस्‌) सुरुमा उल्लेख गरिएकी लिन्डालाई विचार गर्नुहोस्‌। तिनले विवाहलाई जोगाउन धेरै वर्षसम्म अथक प्रयास गरिन्‌ तैपनि तिनको सम्बन्धविच्छेद भयो। के तिनलाई आफूले समय खेर फालेको जस्तो लाग्छ? तिनी यसो भन्छिन्‌, “लाग्दैन। मेरो प्रयासले अरूलाई राम्रो साक्षी दियो। मैले सफा अन्तस्करण राख्न सकेकी छु। सबैभन्दा ठूलो कुरा, यसले हाम्री छोरीलाई सत्यमा अडिग रहन मदत गऱ्‍यो जसले गर्दा उनी यहोवामा समर्पित एक जना जोसिलो साक्षी हुन सकिन्‌।”

१९. विवाह जोगाउन अथक प्रयास गरेमा के हुन सक्छ?

१९ मर्लिन नाम गरेकी ख्रीष्टियन बहिनी आफूले यहोवामा भरोसा गरेकोमा अनि विवाह जोगाउन अथक प्रयास गरेकोमा खुसी छिन्‌। तिनी भन्छिन्‌, “आर्थिक तवरमा मदत नपाएकीले अनि परमेश्‍वरसितको सम्बन्ध खतरामा परेकोले श्रीमान्‌सित छुट्टिएर बसूँजस्तो लागेको थियो। बाइबल सिद्धान्तसित मेल नखाने व्यवसायमा संलग्न हुनुअघि उहाँ एल्डरको रूपमा सेवा गर्नुहुन्थ्यो। पछि उहाँले सभाहरू छुटाउन थाल्नुभयो अनि हामीबीच कुराकानी पनि हुन छोड्यो। हाम्रो सहरमा आतङ्‌ककारी आक्रमण हुँदा मलाई असाध्यै डर लाग्यो र म घरभित्रै बसिरहन बाध्य भएँ। त्यसपछि मैले आफ्नो गल्ती महसुस गर्न थालें। हामीले फेरि कुराकानी गर्न थाल्यौं, पारिवारिक अध्ययन गर्न थाल्यौं अनि सभामा नियमित रूपमा उपस्थित हुन थाल्यौं। एल्डरहरू दयालु र मदतकारी हुनुहुन्थ्यो। हाम्रो वैवाहिक सम्बन्धमा नयाँ पालुवा पलायो। केही समयपछि मेरो श्रीमान्‌ले मण्डलीमा फेरि सुअवसरहरू पाउनुभयो। तीतो अनुभव गर्नुपरे तापनि नतिजा भने राम्रो भयो।”

२०, २१. विवाहको सन्दर्भमा हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

२० चाहे हामी विवाहित हौं या अविवाहित, सधैं साहसी भई कदम चालौं र यहोवामा भरोसा राखौं। वैवाहिक जीवनमा समस्या भोगिरहेका छौं भने विवाह बन्धनमा बाँधिएकाहरू “दुई होइनन्‌ तर एउटै शरीर हुन्‌” भन्‍ने कुरालाई विचार गर्दै ती समस्या सुल्झाउन अथक प्रयास गर्नुपर्छ। (मत्ती १९:६) कठिनाइ भोग्नुपरे तापनि धार्मिक आस्था बेग्लै भएको पति वा पत्नीसित बसिरहेमा पछि तिनले साँचो उपासना अङ्‌गालेको देख्न सक्नेछौं र अपार आनन्द महसुस गर्न सक्नेछौं।

२१ त्यसकारण अवस्था जस्तोसुकै भए तापनि मण्डली बाहिरकाहरूलाई राम्रो साक्षी मिल्ने तरिकामा व्यवहार गरिरहने सङ्‌कल्प गरौं। वैवाहिक जीवनमा समस्या आएको छ भने व्यग्रतापूर्वक प्रार्थना गरौं, इमानदार भई आफ्नो मनसाय जाँचौं, होसियारीसाथ धर्मशास्त्र केलाऔं अनि एल्डरहरूबाट मदत खोजौं। सबैभन्दा महत्त्वपूर्ण, हरेक कुरामा यहोवा परमेश्‍वरलाई खुसी बनाउने सङ्‌कल्प गरौं र उहाँले अनमोल उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको साँचो मोल गरेको देखाऔं।

[फुटनोटहरू]

a नामहरू परिवर्तन गरिएका छन्‌।

b “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको पृष्ठ २५१-२५३ हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

वैवाहिक जीवनमा समस्या आए तापनि तुरुन्तै हार नमान्‍ने ख्रीष्टियनहरूले अक्सर राम्रो परिणाम हासिल गर्छन्‌

[पृष्ठ १२-मा भएको चित्र]

सधैं यहोवामा भरोसा राख्नुहोस्‌ र साहसको लागि उहाँलाई बिन्ती गर्नुहोस्‌

[पृष्ठ ९-मा भएको चित्र]

कमजोर भएको वैवाहिक सम्बन्धलाई बलियो बनाउन अथक प्रयास गर्ने ख्रीष्टियनहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ

[पृष्ठ ११-मा भएको चित्र]

ख्रीष्टियन मण्डलीबाट हामी सान्त्वना र मदत पाउन सक्छौं