सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले मेरो आँखा खोलिदिनुभयो

यहोवाले मेरो आँखा खोलिदिनुभयो

यहोवाले मेरो आँखा खोलिदिनुभयो

पात्रीस ओयेकाको वृत्तान्तमा आधारित

दिन ढल्कनै लागेको थियो। सधैं जस्तै त्यो दिन पनि म अन्धकारमा रुमलिरहेको थिएँ। म दृष्टिविहीन अनि एक्लो थिएँ। कोठामा एकनासले रेडियो बजिरहेको थियो। म यस्तो लाचार जीवनबाट मुक्‍ति पाउन चाहन्थें। एक कप पानीमा मैले विष मिसाएँ र टेबुलमा राखें। अन्तिम सास फेर्नुअघि नुहाएर राम्रो लुगा लगाउन चाहन्थें। मैले आत्महत्या गर्न चाहनुको कारण के थियो? तर मैले किन आत्महत्या गरिनँ, अब सुन्‍नुहोस्‌, मेरो जीवनकथा।

म फेब्रुअरी २, १९५८ मा प्रजातान्त्रिक गणतन्त्र कंगोको कासाइ अरीआङ्‌ताल प्रान्तमा जन्मिएको थिएँ। नौ वर्षको छँदा बुबा बित्नुभयो र दाइले मेरो लालनपालन गर्नुभयो।

स्कूलको पढाइ सिध्याएपछि मैले रबर खेती गर्ने ठाउँमा काम पाएँ। सन्‌ १९८९ तिरको कुरा हो, एक दिन बिहान अफिसमा रिपोर्ट तयार गरिरहेको बेला अचानक अँध्यारो भयो। सुरुमा त मैले बत्ती गएछ भन्ठानें, तर जेनरेटर चलिरहेको आवाज भने सुनिरहेको थिएँ। यो घटना बिहानपखको थियो! म एकदमै डराएँ! मैले पो केही नदेखेको रहेछु! आफ्नै आँखाअघिको कागजसमेत देखिनँ!

मेरो निर्देशनमा काम गर्ने एक जना मान्छेलाई तुरुन्तै बोलाएँ र स्वास्थ्य चौकी लैजान भनें। तर चौकीको व्यक्‍तिले मलाई सहरको अनुभवी चिकित्सककहाँ लैजाने सुझाव दिए। मेरो आँखाको पर्दा च्यातिएको र मेरो अवस्था गम्भीर भएको देखेर तिनले मलाई राजधानी सहर किन्शासा पठाए।

किन्शासामा जीवन

म किन्शासामा थुप्रै आँखा विशेषज्ञकहाँ गएँ तर तिनीहरूमध्ये कसैले पनि मलाई मदत गर्न सकेनन्‌। अस्पतालमा ४३ दिन बिताइसकेपछि डाक्टरहरूले मलाई तिनीहरूको निष्कर्ष सुनाए। म जीवनभर आँखा देख्न सक्दिनँ रे! मैले आँखा देख्ला कि भन्‍ने आशामा परिवारका सदस्यहरूले मलाई विभिन्‍न चर्चमा लगे। तर उहाँहरूको सबै प्रयास बालुवामा पानी हाले जत्तिकै भयो।

अब फेरि देख्न सकूँला भन्‍ने आशै मारें। मेरो जीवनमा कालो बादल छायो। मैले दृष्टि गुमाएँ; मेरो जागिर गुम्यो। श्रीमतीले पनि साथ छोडिन्‌। तिनले हाम्रो घरमा भएका सबै सर-सामान सोरसार पारिन्‌। घरबाट निस्कन र मानिसहरूसित सङ्‌गति गर्न मलाई लाज लाग्यो। म एक्लै बस्न थालें र आफैलाई घरको चारभित्तामै सीमित पारें। म कसैसित बोल्न-बस्न चाहन्‍नँ थिएँ। कामै नलाग्ने मान्छे रहेछु जस्तो लाग्न थाल्यो।

मैले दुई पटकसम्म आत्महत्या गर्ने प्रयास गरें। दोस्रो प्रयासबारे कथाको सुरुमै बताइएको छ। घरकै एउटा सानो केटोले गर्दा म बचें। म नुहाइरहेको बेला अन्जानमै उसले त्यो कप लगेछ र विष भुँइमा खन्याइदिएछ। धन्‍न! उसले त्यो विष पिएन छ। तर जत्ति खोजे पनि त्यो कप भेट्टाउनै सकिनँ। त्यसपछि मैले परिवारका सदस्यहरूलाई म के खोजिरहेको थिएँ र मैले के गर्न लागेको थिएँ, सबै बताइदिएँ।

मेरो परिवारले हरबखत ममाथि नजर राखेकोमा परमेश्‍वर र परिवारप्रति कृतज्ञ छु। आत्महत्या गर्ने मेरो प्रयास विफल भयो।

जीवन फेरि रमाइलो लाग्न थाल्यो

सन्‌ १९९२ को एक आइतबार म घरमा चुरोट तान्दै बसिरहेको थिएँ। यहोवाका दुई जना साक्षीले घरघरको प्रचार गर्ने क्रममा मलाई पनि साक्षी दिए। म आँखा देख्दिनँ भनेर थाह पाएपछि तिनीहरूले यशैया ३५:५ पढेर सुनाए: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌।” ती शब्द सुन्दा म खुसीले गद्‌गद भएँ! साक्षीहरूले मलाई चमत्कारपूर्ण ढङ्‌गमा निको हुने आशा देखाएनन्‌। म गएको चर्चहरूभन्दा कत्ति भिन्‍न! परमेश्‍वरलाई चिनेको खण्डमा उहाँले प्रतिज्ञा गरेको नयाँ संसारमा फेरि देख्न सक्नेछु भनी तिनीहरूले बताए। (यूहन्‍ना १७:३) तत्कालै मैले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ भन्‍ने किताब प्रयोग गर्दै साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें। घरबाट नजिकै पर्ने राज्यभवनमा हुने सम्पूर्ण ख्रीष्टियन सभामा उपस्थित हुन थालें र जीवनमा छाँटकाँट गर्न थालें। मैले चुरोट पिउन छोडें।

दृष्टिविहीन भएकोले परमेश्‍वरको सेवामा धेरै गर्न सकिरहेको थिइनँ। त्यसैले ब्रेल लिपिमा लेख-पढ गर्न सिक्न दृष्टिविहीनहरूको इन्स्टिच्युट गएँ। यसरी ब्रेल लिपिमा लेख-पढ गर्न जानेपछि ईश्‍वरतान्त्रिक सेवा स्कूलमा भाग लिन सकें। केही समयपछि नै छिमेकीहरूलाई प्रचार गर्न थालें। फेरि जीवनलाई माया गर्न थालें। यहोवा परमेश्‍वरबारे अझै ज्ञान लिंदै गएँ र आफ्नो जीवन उहाँलाई समर्पण गरें। अनि मे ७, १९९४ मा बप्तिस्मा गरें।

यहोवा र मानिसजातिप्रतिको प्रेम बढ्‌दै जाँदा मलाई पूर्ण-समय सेवा गर्न मन लाग्यो। डिसेम्बर १, १९९५ देखि पूर्ण-समय सेवा अर्थात्‌ नियमित अग्रगामी सेवा गर्दै छु। अनि मैले सन्‌ २००४ फेब्रुअरीदेखि मण्डलीमा एल्डरको रूपमा सेवा गर्ने सुअवसर पनि पाएँ। मलाई कहिलेकाहीं नजिकैको मण्डलीहरूले बाइबलआधारित जनभाषण दिन बोलाउँछन्‌। यस्ता आशिष्‌हरूले गर्दा म निकै आनन्दित छु र यसले मलाई शारीरिक रूपमा अशक्‍त भए तापनि यहोवा परमेश्‍वरको सेवा गर्ने इच्छालाई कुनै कुराले रोक्न सक्दैन भनेर बुझ्न मदत गऱ्‍यो।

यहोवाले मलाई “आँखा” दिनुभयो

म दृष्टिविहीन भएकोले मेरी श्रीमतीले पनि मलाई छोडेर गएकी थिइन्‌। तर मैले यहोवाबाट अरू आशिष्‌ पाएँ। उहाँले मलाई विशेष अर्थमा “आँखा” दिनुभयो। आनी माभाम्बु मेरो लागि आँखा साबित भइन्‌। मेरो अशक्‍तताको बाबजुद उनले मलाई श्रीमान्‌को रूपमा स्वीकारिन्‌। उनी पनि पूर्ण-समय प्रचारक भएकीले प्रचारमा सधैं मलाई साथ दिन्छिन्‌। मैले ब्रेलमा टिपोट लेख्न सकोस्‌ भनेर भाषणका स्रोतहरू पनि पढेर सुनाउँछिन्‌। उनी मेरो लागि विशेष आशिष्‌ भएकी छिन्‌। उनकै कारण हितोपदेश १९:१४ का यी शब्द सत्य रहेछन्‌ भनेर महसुस गर्न सकें: “घरबारी र धन-सम्पत्ति पुर्खादेखिनै आएको हुन्छ, तर बुद्धिमती पत्नी परमप्रभुको वरदान हो।”

यहोवाको कृपाले आनी र मेरा दुई सन्तान भए—एउटा छोरा र एउटी छोरी। कहिले प्रमोदवनमा आउला र उनीहरूको मुहार देखूँला भन्‍ने लाग्छ! अर्को आशिष्‌ भनेको हामीलाई माया गरेर आफ्नो जग्गामा बस्न दिने मेरो दाइले पनि बाइबल सत्य स्वीकार्नुभयो र बप्तिस्मा गर्नुभयो। हामी सबै जना एउटै मण्डलीमा सङ्‌गति गर्छौं।

यहोवाले मलाई यत्ति धेरै आशिष्‌ दिनुभएकोले अशक्‍तताको बाबजुद उहाँको सेवामा सकेजति गरिरहन चाहन्छु। (मलाकी ३:१०) म उहाँको राज्य आओस्‌ र पृथ्वीबाट सबै दुःखकष्ट हटोस्‌ भनी हरेक दिन प्रार्थना गर्छु। यहोवालाई चिन्‍न थालेदेखि नै मैले ढुक्क भई यसो भन्‍न सकेको छु: “परमप्रभुको आशिष्‌ले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दु:ख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२. (w12-E 06/01)

[पृष्ठ ११-मा भएको चित्र]

बाइबलआधारित भाषण दिंदै; मेरो परिवार र दाइसित