सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

पवित्र सेवाबाट हामीले सिकेको “त्यो रहस्य”

पवित्र सेवाबाट हामीले सिकेको “त्यो रहस्य”

ओलिभियर रान्ड्रियामोराको वृत्तान्तमा आधारित

“अभावमा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो पनि मलाई थाह छ। पेट टन्‍न हुँदा होस्‌ वा भोकै रहँदा अनि . . . हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु। किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१२, १३.

प्रेषित पावलका यी शब्दहरू म र मेरी पत्नी युलीको लागि लामो समयदेखि प्रोत्साहनको स्रोत हुँदै आएको छ। मडागास्करमा सेवा गर्दा हामीले “त्यो रहस्य” के हो भनेर सिकेका छौं। त्यो रहस्य भनेको जस्तोसुकै अवस्था आइपर्दा पनि यहोवामा भरोसा राख्नु हो।

सन्‌ १९८२ मा यहोवाका साक्षीहरूले युलीकी आमासित बाइबल अध्ययन सुरु गर्दा युली र मेरो मगनी भइसकेको थियो। मैले पनि बाइबल अध्ययन स्वीकारें र पछि युलीले पनि अध्ययन गर्न थालिन्‌। सन्‌ १९८३ मा हामीले विवाह गऱ्‍यौं, सन्‌ १९८५ मा बप्तिस्मा गऱ्‍यौं र त्यसको लगत्तै सहायक अग्रगामी सेवा सुरु गऱ्‍यौं। सन्‌ १९८६, जुलाईमा हामी नियमित अग्रगामी भयौं।

सन्‌ १९८७, सेप्टेम्बरदेखि हामीले विशेष अग्रगामीको रूपमा सेवा गर्न थाल्यौं। हामीलाई सबैभन्दा पहिला खटाइएको ठाउँ मडागास्करको उत्तरपश्‍चिममा अवस्थित एउटा सानो नगर थियो। त्यहाँ कुनै मण्डली थिएन। मडागास्करमा लगभग १८ वटा मुख्य जातिहरू छन्‌ र असङ्‌ख्य कुल छन्‌। त्यहाँ थुप्रै किसिमका सामाजिक चलन तथा परम्परा छन्‌। मालागासी त्यहाँको मुख्य भाषा हो तर त्यहाँ फरक-फरक किसिमको स्थानीय भाषा पनि बोलिन्छ। त्यसैले हामीले आफूलाई खटाइएको इलाकामा बोलिने भाषा सिक्न थाल्यौं। यसले हामीलाई समाजसित अझ राम्ररी भिज्न मदत गऱ्‍यो।

सुरु-सुरुमा हामी दुई जना मात्र सभामा उपस्थित हुन्थ्यौं। म प्रत्येक आइतबार जनभाषण दिन्थें अनि भाषणपछि युली ताली बजाउँथिन्‌। हामीले ईश्‍वरतान्त्रिक सेवा स्कूलको पूरै भाग सञ्चालन गर्थ्यौं। युलीले काल्पनिक घरधनीसित कुराकानी गरेको प्रस्तुति देखाउँथिन्‌। पछि क्षेत्रीय निरीक्षकले सभाहरूमा छाँटकाँट गर्न सुझाव दिनुभयो। उहाँबाट यस्तो दयालु सुझाव पाउँदा हामीले हल्का महसुस गऱ्‍यौं।

हुलाक सेवा त्यति भरपर्दो नभएकोले हामीले मासिक रूपमा पाउने रकम नियमित रूपमा हाम्रो हातमा पर्दैनथ्यो। त्यसैले थोरै पैसाले कसरी गर्जो टार्ने भनेर हामीले सिक्यौं। एकचोटिको कुरा हो, हामी बस्दै आएको ठाउँबाट १३० किलोमिटर टाढा क्षेत्रीय सम्मेलन हुन लागेको थियो। तर हामीसित पुग्दो बस भाडा थिएन। एक जना भाइले दिनुभएको यो सल्लाह हामीलाई याद आयो: “आफ्नो समस्याबारे यहोवालाई बताउनुहोस्‌। आखिर तपाईंहरूले उहाँकै सेवा गरिरहनुभएको त हो नि!” त्यसैले हामीले प्रार्थना गऱ्‍यौं र हिंडेरै जाने निर्णय गऱ्‍यौं। तर हामी निस्कनै लाग्दा, आशै नगरेको समयमा एक जना भाइ टुप्लुक्क आइपुग्नुभयो र केही रकम उपहारस्वरूप दिनुभयो। बस भाडा तिर्न यो रकम पर्याप्त थियो!

क्षेत्रीय निरीक्षकको काम

सन्‌ १९९१, फेब्रुअरीमा म क्षेत्रीय निरीक्षकको रूपमा नियुक्‍त भएँ। त्यसबेलासम्ममा त हाम्रो सानो समूहमा ९ जना प्रकाशक भइसकेका थिए अनि त्यसमध्ये ३ जना त बप्तिस्मा गरिसकेकाहरू थिए। सभामा औसतमा ५० जना उपस्थित हुन्थे। क्षेत्रीय निरीक्षकको कामसम्बन्धी प्रशिक्षण पाएपछि हामीले राजधानी सहर अन्तानानारिभोको एउटा सर्किटमा सेवा गऱ्‍यौं। सन्‌ १९९३ मा हामीलाई मडागास्करको पूर्वी भागमा अवस्थित सर्किटमा खटाइयो। त्यहाँको जीवन अन्तानानारिभोमा बिताएको जीवनभन्दा बिलकुलै फरक थियो।

मण्डली र पृथक समूहहरूसम्म पुग्न हामी हिंडेरै जान्थ्यौं, कहिलेकाहीं त घना जङ्‌गलको बाटो उकाली-ओराली गर्दै १४५ किलोमिटरसम्म हिंड्‌थ्यौं। हामी सकेसम्म थोरै सामान लिएर जान्थ्यौं। त्यसताका कहिलेकाहीं स्लाइड देखाएर जनभाषण दिने गरिन्थ्यो। यस्तो अवस्थामा हाम्रो भारी गह्रौं हुन्थ्यो। युलीले प्रोजेक्टर बोक्थिन्‌, मचाहिं गाडीमा प्रयोग गरिने १२ भोल्टको ब्याट्री बोक्थें।

अर्को मण्डलीमा पुग्न प्रायजसो हामी प्रत्येक दिन लगभग ४० किलोमिटर यात्रा गर्थ्यौं। यात्राको दौडान हामीलाई उकाली-ओराली गर्न, खोला तर्न र हिलाम्मे बाटोमा हिंड्‌न निकै सकस पर्थ्यो। कहिलेकाहीं हामी बाटोको छेउमा सुत्थ्यौं तर साधारणतया राती बास बस्नको लागि कुनै गाउँ फेला पार्ने कोसिस गर्थ्यौं। कुनै-कुनै बेला भने चिन्दै नचिनेका मानिसहरूलाई एकरात बास दिनको लागि अनुरोध गर्थ्यौं। बास बस्ने ठाउँ पाएपछि हामी खाना बनाउने तयारीमा जुट्‌थ्यौं। खाना पकाउने भाँडो मागेर युली नजिकैको खोला वा तालमा पानी लिन जान्थिन्‌। त्यो समयमा मचाहिं बन्चरो मागेर खाना पकाउनको लागि दाउरा चिर्न थाल्थें। यो सब गर्नको लागि समय लाग्थ्यो। कहिलेकाहीं हामी कुखुरा किन्थ्यौं र त्यसलाई काट्‌थ्यौं, सफा गर्थ्यौं।

खाना खाएपछि नुहाउनको लागि पानी लिन जान्थ्यौं। कहिलेकाहीं हामी भान्छामै सुत्थ्यौं। वर्षा हुँदा, छानाबाट चुहिएको पानीबाट बच्न हामी भित्तामा कुच्रुक्क परेर सुत्थ्यौं।

हामी आफूलाई बास बस्न दिनेहरूलाई सधैं साक्षी दिने गर्थ्यौं। आफ्नो गन्तव्यमा पुगेपछि हाम्रा ख्रीष्टियन भाइबहिनीहरूले देखाउने दया र आतिथ्यले हाम्रो मनै छुन्थ्यो। हामीले भ्रमण गरेकोमा उनीहरू मनैदेखि कृतज्ञ हुन्थे। यसले गर्दा बाटोमा भोग्नुपरेका सबै कठिनाइ बिर्सन्थ्यौं।

सँगी भाइबहिनीकहाँ बस्दा उनीहरूको घरधन्दामा सघाउन हामीलाई रमाइलो लाग्थ्यो। यसले गर्दा उनीहरू पनि हामीसँगसँगै क्षेत्र सेवामा भाग लिन सक्थे। बास उपलब्ध गराउने भाइबहिनीले दिनै नसक्ने सुविधा वा विशेष खानाको हामीले आशा गरेनौं।

पृथक समूहहरूको भ्रमण

पृथक समूहहरूमा भ्रमण गर्दा हामीलाई रमाइलो लाग्थ्यो। त्यहाँ जाँदा भाइहरूले हाम्रो पूरै तालिका व्यस्त राख्थे। हामीलाई “अलिकति आराम” गर्न पनि धौधौ पर्थ्यो। (मर्कू. ६:३१) एउटा ठाउँमा त एक साक्षी दम्पतीले हामी उनीहरूको बाइबल अध्ययनमा बस्न सकोस्‌ भनेर भएभरको विद्यार्थी अर्थात्‌ ४० जनालाई नै आफ्नो घरमा बोलाएका रहेछन्‌। युली उक्‍त बहिनीको २० वटा जति अध्ययनमा बसिन्‌ भने मचाहिं भाइसँग अरू २० वटा अध्ययनमा बसें। एउटा अध्ययन सिद्धिनेबित्तिकै अर्को अध्ययन सुरु भइहाल्थ्यो। दिउँसोतिर हामीले मण्डलीका सभाहरू सञ्चालन गर्न समय निकाल्यौं अनि सभापछि तुरुन्तै बाइबल अध्ययनको क्रम पुनः सुरु भयो। दिनभरको व्यस्त तालिका राती आठ बजे मात्र सिद्धियो!

अर्को समूहको भ्रमणमा जाँदा, छिमेकी गाउँमा प्रचार गर्नको लागि हामी सबै जना बिहान आठ बजेतिर निस्क्यौं। हामी सबैले पुरानो लुगा लगाएका थियौं। जङ्‌गलको बाटो हुँदै लामो यात्रा गरेपछि मध्यान्हतिर आफ्नो गन्तव्यमा पुग्यौं। हामीले सफा लुगा लगायौं र तुरुन्तै घर-घरको प्रचारकार्य सुरु गऱ्‍यौं। घरहरू थोरै थिए तर प्रकाशकहरू भने धेरै। त्यसैले लगभग ३० मिनेटमा पूरै इलाका सिद्धियो। त्यसपछि हामी अर्को गाउँतर्फ गयौं। त्यहाँ प्रचार गरेपछि घर फर्कनको लागि लामो पैदल-यात्रा सुरु गऱ्‍यौं। यस्तो क्रमले सुरुमा त हामीलाई केही हदसम्म निराश बनायो। थुप्रै समय र प्रयास खर्च गरे तापनि घर-घरको प्रचारमा एक घण्टाजति मात्र बिताउन पाउँथ्यौं। तर स्थानीय साक्षीहरूले कुनै गुनासो गरेनन्‌। तिनीहरूको उत्साहमा कुनै कमी आएन।

तभिरानाम्बो भन्‍ने ठाउँमा अवस्थित एउटा पृथक समूह पहाडको टुप्पोतिर पर्थ्यो। त्यहाँ हामीले एक-कोठे घरमा बसिरहेका साक्षी परिवार भेट्टायौं। त्यो घरनजिकै सभा गर्ने एउटा सानो छाप्रो थियो। अकस्मात्‌ ती भाइ ठूलो स्वरमा “भाइहरू!” भनी कराउन थाले। अर्को पहाडको टुप्पोबाट “हजुर!” भन्‍ने जवाफ आयो। ती भाइले ठूलो स्वरमा फेरि यसो भने, “क्षेत्रीय निरीक्षक आइपुग्नुभयो!” उताबाट फेरि यस्तो जवाफ आयो, “ए, हो!” यही तरिका अपनाएर यो सन्देश त्यहाँबाट अझ टाढा बस्नेहरूलाई पुऱ्‍याइएको हुनुपर्छ। चाँडै मानिसहरू भेला हुन थाले र सभा सुरु हुँदा त १०० जनाभन्दा धेरै उपस्थित भइसकेका थिए।

यातायातको चुनौती

सन्‌ १९९६ मा हामीलाई फेरि अन्तानानारिभो नजिक पर्ने सर्किटमा खटाइयो। यो सर्किटमा बेग्लै किसिमको चुनौती थियो। टाढा-टाढा जानको लागि नियमित रूपमा सार्वजनिक यातायातको प्रबन्ध थिएन। बियनकानामा (बेसाके) अवस्थित समूहमा भ्रमण गर्ने हाम्रो तालिका थियो। यो ठाउँ अन्तानानारिभोबाट लगभग २४० किलोमिटर टाढा पर्थ्यो। हामीले त्यतैतिर जाने एउटा गाडी भेट्टायौं। चालकसित कुरा मिलाएपछि हामी त्यो गाडीमा चढ्यौं। गाडीभित्र र बाहिर लगभग ३० जना यात्रुहरू थिए, केही छतमा थिए भने केहीचाहिं पछाडि झुन्डिरहेका थिए।

सधैंजसो यसबेला पनि गाडी बिग्रियो अनि हामी हिंड्‌न थाल्यौं। लखतरान हुँदै केही घण्टा हिंडेपछि एउटा ठूलो गाडी आयो। मान्छे र सरसामानहरूले गाडी खचाखच थियो तैपनि चालकले गाडी रोके। खुट्टा राख्ने ठाउँ पाएकोले हामी त्यस गाडीमा चढ्यौं। पछि एउटा खोला भएको ठाउँमा आइपुग्यौं तर पुलको मर्मतकार्य चलिरहेको थियो। फेरि हामी हिंड्‌न थाल्यौं र आखिरमा एउटा सानो गाउँमा आइपुग्यौं जहाँ केही विशेष अग्रगामीहरू थिए। त्यहाँ भ्रमणको कुनै तालिका थिएन तैपनि पुलको मर्मतकार्य नसिद्धिएसम्म र यातायातको अर्को साधन नपाएसम्म ती भाइबहिनीसितै प्रचारकार्यमा भाग लियौं।

एक हप्तापछि एउटा गाडी आयो र हामीले फेरि यात्रा सुरु गऱ्‍यौं। सडकभरि ठूलाठूला खाल्डा थिए। घुँडासम्म पानी आउने बाटोमा हामीले बारम्बार गाडी धकेल्नुपऱ्‍यो। यसो गर्ने क्रममा धेरैचोटि ठक्कर खायौं र लड्यौं। झिसमिसे उज्यालोमा एउटा सानो गाउँमा आइपुग्यौं र गाडीबाट ओर्ल्यौं। मूल बाटो छोडेर हामी धानखेतको बाटो हुँदै, कम्मरसम्म आउने हिलो पानी छिचोल्दै आफ्नो गन्तव्यतर्फ अघि बढ्यौं।

हामीले त्यो इलाकामा पहिलोचोटि भ्रमण गरेका थियौं। त्यसैले धानखेतमा काम गरिरहेकाहरूलाई प्रचार गर्ने अनि स्थानीय साक्षीहरू बस्ने ठाउँ सोध्ने निर्णय गऱ्‍यौं। तर खेतमा काम गरिरहेका ती मानिसहरू हाम्रै भाइहरू भएको थाह पाउँदा हामी औधी हर्षित भयौं!

पूर्ण-समय सेवामा लाग्न अरूलाई प्रोत्साहन

अरूलाई पूर्ण-समय सेवामा लाग्न दिएको प्रोत्साहनले समयको दौडान राम्रो नतिजा ल्याएको देख्न पाउँदा हामी असाध्यै खुसी छौं। उदाहरणको लागि, हामीले भ्रमण गरेको एउटा मण्डलीमा नौ जना नियमित अग्रगामी थिए। हामीले प्रत्येक अग्रगामीलाई अर्को एक जना प्रकाशकलाई नियमित अग्रगामी सेवा गर्ने लक्ष्य राख्न मदत दिनुहोस्‌ भनेर प्रोत्साहन दियौं। छ महिनापछि भ्रमणमा जाँदा त नियमित अग्रगामीहरूको सङ्‌ख्या २२ पुगिसकेको थियो। दुई अग्रगामी बहिनीले आ-आफ्नो बुबालाई नियमित अग्रगामी सेवा गर्न प्रोत्साहन दिएछन्‌। ती दुवै बुबाहरू एल्डर थिए। यी भाइहरूले तेस्रो एल्डरलाई पनि अग्रगामी सेवा गर्न प्रोत्साहन दिएछन्‌। त्यसको केही समयपछि नै यी एल्डर विशेष अग्रगामीको रूपमा नियुक्‍त भए। पछि उनी क्षेत्रीय निरीक्षक भए र उनकी पत्नीले उनलाई यस काममा साथ दिइन्‌। अरू दुई एल्डर नि? एक जना क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्छन्‌ भने अर्कोचाहिं राज्यभवन निर्माण स्वयंसेवकको रूपमा।

कुनै पनि काम आफ्नै बलबर्कतमा गर्न सक्दैनौं भनी हामीले बुझेका छौं। त्यसैले यहोवाको मदत पाएकोमा हामी हरेक दिन उहाँलाई धन्यवाद दिन्छौं। हो, कहिलेकाहीं हामी थकित महसुस गर्छौं अनि बिरामी हुन्छौं तैपनि सेवाको नतिजा मनन गर्दा हामी आनन्दित छौं। यहोवाले हाम्रो प्रयासलाई सफल पार्नुहुन्छ। अहिले विशेष अग्रगामीको रूपमा सेवा गरेर यहोवाको काममा सानो योगदान पुऱ्‍याउन पाएकोमा हामी आनन्दित छौं। ‘शक्‍ति दिनुहुने’ यहोवामा भर परेर हामीले “त्यो रहस्य” सिकेका छौं।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

यहोवामा भर परेर हामीले “त्यो रहस्य” सिकेका छौं

[पृष्ठ ४-मा भएको नक्सा/चित्र]

विशाल रातो टापु भनिने मडागास्कर संसारको चौथो ठूलो टापु हो। यस टापुको माटो रातो छ र यहाँ अन्त कतै नपाइने थुप्रै प्रजातिका जीवजन्तु र वनस्पति पाइन्छ

[पृष्ठ ५-मा भएको चित्र]

यात्रा गर्नु हाम्रो लागि एउटा ठूलो चुनौती थियो

[पृष्ठ ५-मा भएको चित्र]

बाइबल अध्ययनहरूमा भाग लिंदा हामीलाई आनन्द लाग्छ