सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर

यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर

यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर

“साँच्चिनै तिमीहरूका परमेश्‍वर ईश्‍वरहरूका परमेश्‍वर, राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुँदोरहेछ।” —दानि. २:४७.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

यहोवाले भविष्यबारे कस्तो रहस्य खोलिदिनुभएको छ?

जङ्‌गली जनावरको प्रथम छवटा टाउकोले केलाई चित्रण गर्छ?

जङ्‌गली जनावर र नबूकदनेसरले देखेको मूर्तिबीच कस्तो सम्बन्ध छ?

१, २. यहोवाले हामीलाई कस्तो रहस्य खोलिदिनुभएको छ र किन?

 परमेश्‍वरको राज्यले मानव शासनको अन्त्य गर्दा पृथ्वीमा कुन विश्‍वशक्‍तिले प्रभुत्व जमाइरहेको हुनेछ? हामीलाई यसको जवाफ थाह छ। किनभने ‘रहस्य खोल्नुहुने’ परमेश्‍वर यहोवाले हामीलाई यस विषयमा बताउनुभएको छ। भविष्यवक्‍ता दानियल र प्रेषित यूहन्‍नाका लेखोटहरूमार्फत उहाँले हामीलाई त्यो विश्‍वशक्‍ति चिन्‍न मदत गर्नुभएको छ।

यहोवाले यी दुई व्यक्‍तिलाई जङ्‌गली जनावरहरूको विभिन्‍न दर्शन देखाउनुभयो। उहाँले दानियललाई विशाल मूर्तिको अर्थ पनि खोलिदिनुभयो। उहाँले ती विवरणहरू हाम्रो फाइदाको लागि बाइबलमा लिपिबद्ध गराउनुभयो र त्यसलाई सुरक्षित राख्नुभयो। (रोमी १५:४) उहाँले किन यसो गर्नुभयो? उहाँको राज्यले चाँडै नै सम्पूर्ण मानव सरकारलाई नाश गर्नेछ भन्‍ने हाम्रो आशा बलियो होस्‌ भनेर।—दानि. २:४४.

. भविष्यवाणीलाई ठीक तरिकाले बुझ्न हामीले सुरुमा कुन कुरा बुझ्नै पर्छ र किन?

दानियल अनि यूहन्‍नाले लेखेको विवरणले आठ जना राजा अर्थात्‌ मानव शासनको परिचय खुलाउनुका साथै तिनीहरू क्रमिक रूपमा देखापर्ने समयसमेत प्रकट गर्छ। तर बाइबलमा लिपिबद्ध पहिलो भविष्यवाणीको अर्थ बुझ्यौं भने मात्र हामी ती भविष्यवाणीहरूलाई ठीक तरिकाले बुझ्न सक्छौं। किन? किनभने सिङ्‌गो बाइबल र यसका सम्पूर्ण भविष्यवाणीहरू यसै भविष्यवाणीसित सम्बन्धित छन्‌।

सर्पका सन्तान र जङ्‌गली जनावर

. स्त्रीको सन्तान को-को मिलेर बनेको छ र त्यो सन्तानले के गर्नेछ?

अदनको बगैंचामा विद्रोह भएलगत्तै यहोवाले “स्त्री”-ले एउटा “सन्तान” जन्माउनेछिन्‌ भनेर प्रतिज्ञा गर्नुभयो। a (उत्पत्ति ३:१५ पढ्‌नुहोस्‌) ती सन्तानले सर्प अर्थात्‌ सैतानको शिर कुच्याउनेथिए। ती सन्तान अब्राहामबाट आउनेछन्‌, तिनी इस्राएल राष्ट्रको हुनेछन्‌, यहूदा कुलबाट जन्मनेछन्‌ र दाऊदको सन्तानको रूपमा देखापर्नेछन्‌ भनेर यहोवाले पछि रहस्य खोलिदिनुभयो। (उत्प. २२:१५-१८; ४९:१०; भज. ८९:३, ४; लूका १:३०-३३) ती सन्तानको प्रमुख भाग ख्रीष्ट येशू हुनुहुन्छ। (गला. ३:१६) अनि दोस्रो भागचाहिं पवित्र शक्‍तिद्वारा नियुक्‍त ख्रीष्टियन मण्डलीका सदस्यहरू मिलेर बनेको छ। (गला. ३:२६-२९) येशू र यी अभिषिक्‍त जनहरू मिलेर परमेश्‍वरको राज्य बनेको छ। यही राज्यद्वारा परमेश्‍वरले सैतानलाई नाश गर्नुहुनेछ।—लूका १२:३२; रोमी १६:२०.

५, ६. (क) दानियल र यूहन्‍नाले कतिवटा महाशक्‍तिबारे चर्चा गरे? (ख) प्रकाशको पुस्तकमा चर्चा गरिएको जङ्‌गली जनावरको टाउकोहरूले कुन कुरालाई चित्रण गर्छ?

अदनको बगैंचामा गरिएको त्यो पहिलो भविष्यवाणीमा सैतानको “सन्तान” हुनेछ भनेर पनि बताइएको थियो। त्यसको सन्तान र स्त्रीको सन्तानबीच दुस्मनी हुनेथियो अर्थात्‌ त्यसले स्त्रीको सन्तानलाई घृणा गर्नेथियो। सर्पको सन्तान को-को हुन्‌? ज-जसले सैतानको नक्कल गर्दै परमेश्‍वरलाई घृणा गर्छन्‌ र उहाँका जनहरूलाई विरोध गर्छन्‌, तिनीहरू सबै। इतिहासभरि नै सैतानले आफ्नो सन्तानलाई विभिन्‍न सरकार वा राज्यहरूमा सामेल गरेको छ। (लूका ४:५, ६) यीमध्ये केही सरकार परमेश्‍वरका जनहरूविरुद्ध प्रत्यक्ष रूपमा लडेका छन्‌, चाहे इस्राएल राष्ट्रविरुद्ध होस्‌ वा अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डलीविरुद्ध। यस तथ्यबाट हामी दानियल र यूहन्‍नाले दर्शनहरूको व्याख्या गर्दा आठ महाशक्‍तिको मात्र चर्चा गर्नुको कारण बुझ्न सक्छौं।

पुनर्जीवित हुनुभएका येशूले इस्वी संवत्‌ ९६ तिर प्रेषित यूहन्‍नालाई अद्‌भुत दर्शनहरू देखाउनुभयो। (प्रका. १:१) त्यसमध्ये एउटा दर्शनमा यूहन्‍नाले दियाबललाई समुद्रको बालुवामा ठिङ्‌ग उभिएको अजिङ्‌गरको रूपमा देखे। (प्रकाश १३:१, २ पढ्‌नुहोस्‌) साथै तिनले समुद्रबाट निस्केको एउटा अचम्मको जङ्‌गली जनावर पनि देखे। यसको सातवटा टाउको थियो र त्यसले दियाबलबाट ठूलो अख्तियार पाएको थियो। पछि यूहन्‍नाले सातवटै टाउको भएको चहकिलो रातो रङ्‌गको अर्को जनावर देखे। यो जनावर प्रकाश १३:१ मा उल्लेख गरिएको जङ्‌गली जनावरको मूर्ति हो। चहकिलो रातो रङ्‌गको जनावरको सातवटा टाउकोले “सात जना राजा” अर्थात्‌ सरकारहरूलाई चित्रण गर्छ भनेर एउटा स्वर्गदूतले यूहन्‍नालाई बताए। (प्रका. १३:१४, १५; १७:३, ९, १०) यूहन्‍नाले यो पुस्तक लेखेको समयसम्म पाँच जनाको पतन भइसकेको थियो, एक जना अस्तित्वमा थियो अनि अर्को एक जनाचाहिं ‘अस्तित्वमै आएको थिएन।’ ती राज्य अर्थात्‌ विश्‍वशक्‍तिहरू कुन-कुन हुन्‌? प्रकाशको पुस्तकमा वर्णन गरिएको जङ्‌गली जनावरको एक-एक टाउकोबारे अब हामी चर्चा गरौं। साथै यीमध्ये धेरैजसो राज्यबारे दानियलको पुस्तकले कसरी थप समझ दियो, त्यो पनि बुझौं। कतिपय राज्यबारे त दानियलले ती राज्यहरू अस्तित्वमा आउनुभन्दा शताब्दिऔंअघि बताएका थिए।

मिश्र र अश्‍शूर—प्रथम दुई टाउको

. पहिलो टाउकोले केलाई चित्रण गर्छ र किन?

जनावरको पहिलो टाउकोले मिश्रलाई चित्रण गर्छ। किन? किनभने परमेश्‍वरका जनहरूविरुद्ध दुस्मनी राख्ने पहिलो मुख्य शक्‍ति मिश्र थियो। अब्राहामका सन्तानहरू—जसबाट प्रतिज्ञा गरिएको स्त्रीको सन्तान आउनेथिए—तिनीहरूको सङ्‌ख्या मिश्रमा बढ्‌दै गयो। त्यसपछि मिश्रले इस्राएललाई थिचोमिचो गर्न थाल्यो। स्त्रीको सन्तान देखापर्नुअघि नै सैतानले परमेश्‍वरका जनहरूलाई नामेट पार्न खोज्यो। कसरी? सबै इस्राएली बालकलाई मार्न फिरऊनलाई उक्साएर। तर यहोवाले सैतानको यो प्रयास विफल तुल्याउनुभयो र आफ्ना जनहरूलाई मिश्रको दासत्वबाट मुक्‍त गर्नुभयो। (प्रस्थ. १:१५-२०; १४:१३) पछि उहाँले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजानुभयो।

. दोस्रो टाउकोले केलाई चित्रण गर्छ र त्यसले के गर्ने प्रयास गऱ्‍यो?

जनावरको दोस्रो टाउकोले अश्‍शूरलाई चित्रण गर्छ। यो शक्‍तिशाली राज्यले पनि परमेश्‍वरका जनहरूलाई नामेट पार्ने प्रयास गऱ्‍यो। हो, दस गोत्रे राज्यले मूर्तिपूजा र विद्रोह गरेको कारण तिनीहरूलाई सजाय दिन यहोवाले अश्‍शूरलाई प्रयोग गर्नुभएको थियो। तर पछि अश्‍शूरले यरूशलेमलाई आक्रमण गऱ्‍यो। सायद सैतानको लक्ष्य येशू देखापर्ने राजकीय घरानालाई नाश गर्नु थियो। अश्‍शूरीहरूले यसरी आक्रमण गरोस्‌ भन्‍ने यहोवाको उद्देश्‍य थिएन। त्यसैले ती आक्रमणकारीहरूलाई नाश गरेर उहाँले आफ्ना विश्‍वासी जनहरूलाई चमत्कारपूर्ण तरिकामा जोगाउनुभयो।—२ राजा १९:३२-३५; यशै. १०:५, ६, १२-१५.

बेबिलोन—तेस्रो टाउको

९, १०. (क) यहोवाले बेबिलोनीहरूलाई के गर्न दिनुभयो? (ख) भविष्यवाणी पूरा हुनको लागि के हुनुपर्ने थियो?

यूहन्‍नाले देखेको जनावरको तेस्रो टाउकोले त्यो राज्यलाई चित्रण गर्छ जसको राजधानी बेबिलोन थियो। यहोवाले बेबिलोनीहरूलाई यरूशलेम नाश गर्न दिनुभयो र आफ्ना जनहरूलाई कैद गरेर लैजान दिनुभयो। तर विद्रोही इस्राएलीहरूले त्यस्तो दुःखद अवस्था भोग्नेछन्‌ भनेर यहोवाले पहिल्यै बताइसक्नुभएको थियो। (२ राजा २०:१६-१८) उहाँले यरूशलेममा “परमप्रभुको सिंहासनमा” बस्ने मानव राजाहरूको घराना हटाइनेछ भनेर भविष्यवाणी गर्नुभयो। (१ इति. २९:२३) तर उहाँले राजा दाऊदको वंशबाट “अधिकार” भएको एक जना आउनेछन्‌ र अख्तियार सम्हाल्नेछन्‌ भनेर पनि प्रतिज्ञा गर्नुभयो।—इज. २१:२५-२७.

१० प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ अभिषिक्‍त जन देखापरेको समयसम्म पनि यहूदीहरू यरूशलेमको मन्दिरमा उपासना गरिरहेका हुनेछन्‌ भनेर अर्को भविष्यवाणीले सङ्‌केत गऱ्‍यो। (दानि. ९:२४-२७) इस्राएलीहरूलाई बेबिलोनमा कैदी बनाएर लगिनुअघि गरिएको भविष्यवाणीमा ती जन बेतलेहेम सहरमा जन्मनेछन्‌ भनेर बताइएको थियो। (मीका ५:२) यो भविष्यवाणी पूरा हुने हो भने यहूदीहरू कैदबाट मुक्‍त हुनुपर्ने थियो, आफ्नो मातृभूमि फर्कनुपर्ने थियो अनि मन्दिर पुनर्निर्माण गर्नुपर्ने थियो। तर कैदीहरूलाई मुक्‍त गर्ने बेबिलोनीहरूको नीति थिएन। यस्तो चुनौतीको कसरी समाधान हुनेथियो? यसको जवाफ यहोवाले आफ्ना भविष्यवक्‍ताहरूलाई खोलिदिनुभयो।—आमो. ३:७.

११. बेबिलोनी साम्राज्यलाई अर्को कुन तरिकामा पनि चित्रण गरिएको छ? (फुटनोट हेर्नुहोस्‌।)

११ बेबिलोनमा लगिएका कैदीमध्ये भविष्यवक्‍ता दानियल पनि एक थिए। (दानि. १:१-६) बेबिलोन विश्‍वशक्‍तिपछि कुन-कुन राज्य देखापर्नेछ त्यसको रहस्य खोल्न यहोवाले दानियललाई प्रयोग गर्नुभयो। विभिन्‍न कुराहरूलाई प्रतीकको रूपमा चलाएर यहोवाले त्यो रहस्य खोलिदिनुभयो। उदाहरणको लागि, उहाँले बेबिलोनी राजा नबूकदनेसरलाई विभिन्‍न धातुबाट बनेको विशाल मूर्तिको सपना देखाउनुभयो। (दानियल २:१, १९, ३१-३८ पढ्‌नुहोस्‌) उक्‍त मूर्तिको सुनको टाउकोले बेबिलोनी साम्राज्यलाई बुझाउँछ भनेर यहोवाले दानियलमार्फत प्रकट गर्नुभयो। b बेबिलोनपछि देखापर्ने विश्‍वशक्‍तिलाई चाँदीका छाती र हातहरूद्वारा चित्रण गरियो। त्यो विश्‍वशक्‍ति कुन हुनेथियो अनि त्यसले परमेश्‍वरका जनहरूसित कस्तो व्यवहार गर्नेथियो?

मादी-फारसी—चौथो टाउको

१२, १३. (क) बेबिलोनको पराजयबारे यहोवाले कुन कुरा प्रकट गर्नुभयो? (ख) मादी-फारसीलाई जङ्‌गली जनावरको चौथो टाउको भन्‍नु किन सुहाउँछ?

१२ बेबिलोनलाई परास्त गर्ने विश्‍वशक्‍तिबारे यहोवाले दानियलको समयभन्दा करिब सय वर्षअघि नै भविष्यवक्‍ता यशैयामार्फत बताउनुभएको थियो। उहाँले बेबिलोन सहर कसरी परास्त हुनेछ, त्यो मात्र होइन तर त्यसलाई परास्त गर्ने को हुनेछ, त्यसको समेत रहस्य खोल्नुभएको थियो। त्यसलाई परास्त गर्न नेतृत्व लिने व्यक्‍ति फारसका कोरेस थिए। (यशै. ४४:२८–४५:२) मादी-फारसी विश्‍वशक्‍तिबारे दानियलले थप दुई दर्शन देखे। एउटा दर्शनमा यो राज्यलाई दुई खुट्टा उचालेर शरीरको आधा भागले मात्र उभिएको भालुको रूपमा चित्रण गरियो। त्यसलाई “उठ्‌, मासु खा, र पेट भर्‌” भन्‍ने आदेश दिइयो। (दानि. ७:५) अर्को दर्शनमा, दानियलले यो द्वय विश्‍वशक्‍तिलाई दुई सिङ भएको एउटा साँढ-भेडाको रूपमा देख्छन्‌।—दानि. ८:३, २०.

१३ यहोवाले आफूले भविष्यवाणी गरेझैं बेबिलोनलाई परास्त गर्न र इस्राएलीहरूलाई मातृभूमि फर्काउन मादी-फारसी साम्राज्य चलाउनुभयो। (२ इति. ३६:२२, २३) तर यही शक्‍ति पछि परमेश्‍वरका जनहरूलाई नामेट पार्न अघि बढ्यो। एस्तरको पुस्तकमा हामान नाम गरेका फारसी प्रधानमन्त्रीले रचेको षड्यन्त्रबारे उल्लेख गरिएको छ। तिनले फारस साम्राज्यमा फैलिएर बसेका सबै यहूदीलाई निर्मूल पार्ने प्रबन्ध मिलाए र यस्तो नरसंहार गर्न खास दिन तोके। यहोवाको हस्तक्षेपले गर्दा मात्र उहाँका जनहरू फेरि एक पटक सैतानको सन्तानको द्वेषबाट बच्न सफल भए। (एस्त. १:१-३; ३:८, ९; ८:३, ९-१४) त्यसकारण मादी-फारसीलाई प्रकाशको पुस्तकमा चर्चा गरिएको जनावरको चौथो टाउको भन्‍नु एकदमै सुहाउँछ।

युनान—पाँचौं टाउको

१४, १५. पुरातन युनानी साम्राज्यबारे यहोवाले कस्तो रहस्य खोल्नुभयो?

१४ प्रकाशको पुस्तकमा उल्लेख गरिएको जङ्‌गली जनावरको पाँचौं टाउकोले युनानलाई चित्रण गर्छ। नबूकदनेसरको सपनाको अर्थ खोल्दा दानियलले पहिल्यै बताएअनुसार मूर्तिको पित्तलका पेट र फिलाले पनि युनान विश्‍वशक्‍तिलाई नै चित्रण गर्छ। दानियलले देखेको अरू दुईवटा दर्शनले यस साम्राज्यको किसिम र यसको सबैभन्दा प्रमुख शासकबारे थप कुरा बुझ्न मदत गर्छ।

१५ एउटा दर्शनमा दानियलले युनानलाई चारवटा पखेटा भएको चितुवाको रूपमा देखे। त्यो पखेटाले युनान राज्यले द्रुत गतिमा विजय हासिल गर्ने कुरालाई सङ्‌केत गर्छ। (दानि. ७:६) अर्को दर्शनमा दानियलले एउटा ठूलो सिङ भएको बोका देखे। मादी-फारसीलाई चित्रण गर्ने दुई-सीङे साँढ-भेडालाई त्यो बोकाले तुरुन्तै परास्त गऱ्‍यो। त्यो बोकाले युनानलाई चित्रण गर्छ र त्यसको ठूलो सिङले त्यसका राजाहरूमध्ये एक जनालाई सङ्‌केत गर्छ भनी यहोवाले दानियललाई बताउनुभयो। त्यो ठूलो सिङ भाँचिनेछ र त्यसको ठाउँमा स-साना चार सिङ उम्रनेछन्‌ भनेर पनि दानियलले बताए। यो भविष्यवाणी युनान प्रभुत्वमा आउनुभन्दा सयौं वर्षअघि गरिएको भए तापनि त्यसको एक-एक कुरा पूरा भयो। पुरातन युनानका सबैभन्दा प्रमुख राजा महान्‌ सिकन्दरले मादी-फारसीविरुद्धको आक्रमणमा नेतृत्व लिए। शक्‍तिको शिखरमा पुगिसकेपछि ३२ वर्षको कलिलै उमेरमा यी राजाको मृत्यु भयो। यसप्रकार बोकाको ठूलो सिङ भाँचियो। त्यसपछि सिकन्दरको राज्य तिनका चार सेनापतिहरूमा बाँडियो।—दानियल ८:२०-२२ पढ्‌नुहोस्‌।

१६. एन्टियोकस चौथोले के गरे?

१६ फारसमाथि विजय हासिल गरेपछि युनानले परमेश्‍वरका जनहरूको भूमिमा अधिकार जमाउन थाल्यो। यतिबेलासम्ममा त यहूदीहरू प्रतिज्ञा गरिएको देशमा स्थापित भइसकेका थिए र तिनीहरूले यरूशलेमको मन्दिर पुनर्निर्माण गरिसकेका थिए। अहिलेसम्म पनि परमेश्‍वरले तिनीहरूलाई आफ्नो जनको रूपमा स्वीकार्नुभएको थियो र पुनर्निर्माण गरिएको मन्दिर अझै पनि साँचो उपासनाको केन्द्रबिन्दु थियो। तर ईसापूर्व दोस्रो शताब्दीमा जङ्‌गली जनावरको पाँचौं टाउको युनानले परमेश्‍वरका जनहरूमाथि आक्रमण गऱ्‍यो। सिकन्दरको विभक्‍त साम्राज्यको उत्तराधिकारीमध्ये एक एन्टियोकस चौथो थिए। तिनले यरूशलेमको मन्दिर परिसरमा झूटो धर्मको वेदी खडा गरे अनि यहूदी धर्म मान्‍नेहरूलाई अपराधी ठान्दै तिनीहरूलाई मृत्युदण्ड दिने नीति बनाए। सैतानको सन्तानले कतिबिघ्न घृणा गरेको! तर चाँडै नै युनानको ठाउँ अर्को विश्‍वशक्‍तिले लिनेथियो। जङ्‌गली जनावरको छैटौं टाउको कुन हुनेथियो?

रोम—छैटौं टाउको, ‘डरलाग्दो अनि भयङ्‌कर’

१७. उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा गर्न छैटौं टाउकोले कस्तो प्रमुख भूमिका खेल्यो?

१७ यूहन्‍नाले जङ्‌गली जनावरको दर्शन देख्दा रोमले प्रभुत्व जमाइरहेको थियो। (प्रका. १७:१०) उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा गर्न यस छैटौं टाउकोले प्रमुख भूमिका खेल्यो। सैतानले रोमी अधिकारीहरूलाई चलाएर भविष्यवाणी गरिएको ती सन्तानलाई अस्थायी रूपमा घाइते बनायो। हो, त्यसले ती सन्तानको ‘कुर्कुच्चो डस्यो।’ त्यसले कसरी कुर्कुच्चो डस्यो? रोमी अधिकारीहरूले येशूलाई देशद्रोहको झूटो आरोप लगाए र उहाँलाई मारे। (मत्ती २७:२६) तर त्यो चोट चाँडै नै निको भयो किनभने यहोवाले येशूलाई पुनर्जीवित पार्नुभयो।

१८. (क) यहोवाले कुन नयाँ राष्ट्रलाई छान्‍नुभयो र किन? (ख) सर्पको सन्तानले स्त्रीको सन्तानप्रति द्वेषभाव राखी नै रह्‍यो, कसरी?

१८ इस्राएलका धर्मगुरुहरूले रोमसित साठगाँठ गरेर येशूविरुद्ध षड्यन्त्र रचे अनि इस्राएलका धेरैजसो मानिसहरूले पनि उहाँलाई तिरस्कार गरे। त्यसकारण यहोवाले इस्राएल राष्ट्रलाई आफ्ना जनको रूपमा त्याग्नुभयो। (मत्ती २३:३८; प्रेषि. २:२२, २३) तिनीहरूको सट्टा नयाँ राष्ट्र, “परमेश्‍वरको इस्राएल”-लाई छान्‍नुभयो। (गला. ३:२६-२९; ६:१६) यो राष्ट्र यहूदी र अन्यजाति अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डली मिलेर बनेको छ। (एफि. २:११-१८) येशूको मृत्युपछि अनि उहाँ पुनर्जीवित भइसकेपछि पनि सर्पको सन्तानले स्त्रीको सन्तानप्रति द्वेषभाव राखी नै रह्‍यो। रोमले बारम्बार स्त्रीको सन्तानको दोस्रो भाग अर्थात्‌ ख्रीष्टियन मण्डलीलाई नामेट पार्ने प्रयास गऱ्‍यो। c

१९. (क) दानियलले छैटौं विश्‍वशक्‍तिबारे कसरी वर्णन गरे? (ख) अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

१९ दानियलले नबूकदनेसरलाई खोलिदिएको सपनाको अर्थअनुसार रोमलाई फलामका गोडाहरूले चित्रण गर्छ। (दानि. २:३३) दानियलले देखेको अर्को दर्शनले रोमी साम्राज्यबारे अझ राम्ररी बुझ्न मदत गर्छ। त्यति मात्र होइन, रोमबाट देखापर्ने अर्को विश्‍वशक्‍तिबारे पनि त्यो दर्शनले बताउँछ। (दानियल ७:७, ८ पढ्‌नुहोस्‌) शताब्दिऔंसम्म रोम आफ्ना शत्रुहरूका लागि ‘डरलाग्दो, भयङ्‌कर र अत्यन्त बलियो’ साबित भयो। तर भविष्यवाणीले बताएअनुसार यो साम्राज्यबाट “दसवटा सिङ” उम्रनेथियो अनि अर्को एउटा सानो सिङ पनि तिनीहरूका बीचमा उम्रनेथियो र यसले विशेष प्रभुत्व जमाउनेथियो। यी दस सिङ के हुन्‌ अनि सानो सिङले केलाई बुझाउँछ? अनि नबूकदनेसरले देखेको विशाल मूर्ति र यो सानो सिङबीच कस्तो सम्बन्ध छ? पृष्ठ १४ मा भएको लेखमा हामी यसको जवाफ पाउनेछौं।

[फुटनोटहरू]

a स्त्रीले, स्वर्गमा अदृश्‍य प्राणीहरू मिलेर बनेको यहोवाको पत्नीरूपी सङ्‌गठनलाई चित्रण गर्छ।—यशै. ५४:१; गला. ४:२६; प्रका. १२:१, २.

b दानियलको पुस्तकमा उल्लेख गरिएको मूर्तिको सुनको टाउको अनि प्रकाशको पुस्तकमा उल्लेख गरिएको जङ्‌गली जनावरको तेस्रो टाउको दुवैले बेबिलोनलाई चित्रण गर्छ। पृष्ठ १२-१३ मा भएको तालिका हेर्नुहोस्‌।

c इस्वी संवत्‌ ७० मा रोमले यरूशलेम नाश गर्दा इस्राएल परमेश्‍वरले छान्‍नुभएको राष्ट्रबाट हटिसकेको थियो। त्यसैले यरूशलेम विनाश हुनु भनेको स्त्रीको सन्तानमाथि आक्रमण हुनु र उत्पत्ति ३:१५ पूरा हुनु थिएन।

[अध्ययनका लागि प्रश्‍नहरू]