सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’

‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’

‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’

“कुनै पनि भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्‍ति पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।” —२ पत्रु. १:२१.

ध्यान दिनुपर्ने बुँदाहरू

बाइबल लेखकहरूले लेख्नुपर्ने कुराहरूको जानकारी दिन परमेश्‍वरले पवित्र शक्‍ति कसरी प्रयोग गर्नुभयो?

बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भनेर कुन कुराले प्रमाणित गर्छ?

परमेश्‍वरको वचनप्रति कृतज्ञ भइरहन तपाईं दिनदिनै के गर्न सक्नुहुन्छ?

१. हामीलाई बाइबल किन चाहिन्छ?

 संसारभरका मानिसहरू यी प्रश्‍नहरूको जवाफ चाहन्छन्‌: ‘हामी कहाँबाट आयौं? हामी किन यहाँ छौं? हामी कतातिर जाँदैछौं? संसारको अवस्था किन यस्तो छ? मरेपछि हामीलाई के हुन्छ?’ परमेश्‍वरको वचन बाइबल नभएको भए हामीले यी तथा अन्य महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउने थिएनौं। बाइबल नभएको भए हामी आफ्नै अनुभवमा भर पर्नुपर्थ्यो। अनि आफ्नै अनुभवमा भर पर्नु परेको भए के हामी भजनरचयिताले “परमप्रभुको व्यवस्था”-प्रति व्यक्‍त गरेको जस्तै भावना अनुभव गर्न सक्थ्यौं र?—भजन १९:७ पढ्‌नुहोस्‌।

२. बाइबललाई परमेश्‍वरले दिनुभएको बहुमूल्य उपहार ठानेर यसप्रति कृतज्ञ भइरहन हामीलाई कुन कुराले मदत गर्छ?

तर दुःखको कुरा, कोही-कोहीले बाइबल सत्यप्रति पहिले जुन प्रेम थियो, त्यसलाई चिसिन दिएका छन्‌। (प्रकाश २:४ तुलना गर्नुहोस्‌) तिनीहरूले यहोवा खुसी हुने तरिकामा जीवन बिताउन छोडेका छन्‌। (यशै. ३०:२१) तर हाम्रो सन्दर्भमा यस्तो नहोस्‌। बाइबल अनि यसको शिक्षाप्रति कृतज्ञ भइरहन हामी सक्दो गर्न सक्छौं र गर्नु पनि पर्छ। बाइबल मायालु सृष्टिकर्ताले हामीलाई दिनुभएको बहुमूल्य उपहार हो। (याकू. १:१७) “परमेश्‍वरको वचन”-प्रतिको कृतज्ञता बढाउन हामीलाई कुन कुराले मदत गर्छ? एउटा तरिका, बाइबल लेखकहरूलाई बाइबल लेख्न कसरी डोऱ्‍याइयो, त्यो विचार गर्नु हो। यसमा बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भन्‍ने थुप्रै प्रमाणमध्ये केहीलाई जाँच्नु पनि समावेश छ। यसो गऱ्‍यौं भने हामी दिनदिनै परमेश्‍वरको वचन पढ्‌न अनि त्यसका सल्लाहहरू लागू गर्न उत्प्रेरित हुनेछौं।—हिब्रू ४:१२.

‘पवित्र शक्‍ति पाए’—कसरी?

३. भविष्यवक्‍ताहरू अनि लेखकहरूले ‘पवित्र शक्‍ति पाएका थिए’ भन्‍नुको अर्थ के हो?

विभिन्‍न ४० पुरुषले १,६१० वर्ष लगाएर बाइबल लेखे। बाइबल लेख्ने काम ईसापूर्व १५१३ देखि इस्वी संवत्‌ ९८ सम्म कायम रह्‍यो। ‘पवित्र शक्‍ति पाएर’ बाइबल लेख्ने पुरुषहरूमध्ये केही भविष्यवक्‍ता थिए। (२ पत्रुस १:२०, २१ पढ्‌नुहोस्‌) “पाएर” भनी अनुवाद गरिएको ग्रीक शब्दले यो बाइबल पदमा सारिनु, लगिनु अनि आफूलाई सार्न दिनु भन्‍ने अर्थ दिन्छ। a यसलाई प्रेषित २७:१५ मा आँधीले जहाजलाई हल्लाएको वा यताउता लगेको कुरा बुझाउने किसिमले अनुवाद गरिएको छ। बाइबल भविष्यवक्‍ताहरू अनि लेखकहरूले ‘पवित्र शक्‍ति पाएका थिए’ भन्‍नुको अर्थ परमेश्‍वरले आफ्नो सक्रिय शक्‍तिमार्फत तिनीहरूसित कुरा गर्नुभयो, तिनीहरूलाई उत्प्रेरणा दिनुभयो अनि डोऱ्‍याउनुभयो भन्‍ने हो। त्यसकारण तिनीहरूले आफ्नै होइन, परमेश्‍वरका विचारहरू लेखे। कहिलेकाहीं त ती भविष्यवक्‍ता तथा लेखकहरूले आफूले गरेको भविष्यवाणी वा आफूले लेखेको कुराको अर्थसमेत बुझेनन्‌। (दानि. १२:८, ९) हो, “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो” अनि यसमा हामी मानव विचारहरू पाउँदैनौं।—२ तिमो. ३:१६.

४-६. परमेश्‍वरले बाइबल लेखकहरूलाई कुन तरिकामा आफ्नो सन्देश बताउनुभयो? उदाहरण दिनुहोस्‌।

तर बाइबल लेखकहरूले लेख्नुपर्ने कुराको जानकारी दिन परमेश्‍वरले पवित्र शक्‍ति कसरी प्रयोग गर्नुभयो? तिनीहरूलाई एक-एक शब्द बताइयो कि तिनीहरूले आफ्नै शब्दमा लेख्न सकून्‌ भनेर विचारहरू मात्र बताइयो? व्यापारीले कसरी पत्र तयार पार्छन्‌, विचार गर्नुहोस्‌। खास किसिमको शब्दहरू राख्नु जरुरी छ भने तिनले त्यो पत्र आफै लेख्छन्‌ अथवा आफ्नो सेक्रेटरीलाई एक-एक शब्द टिप्न लगाउँछन्‌। सेक्रेटरीले त्यो अक्षर टाइप गर्छन्‌ तर त्यो पत्रमा हस्ताक्षर भने व्यापारीको नै हुन्छ। कहिलेकाहीं भने व्यापारीले मुख्य विचारहरू सेक्रेटरीलाई सरसरती भन्छन्‌ र सेक्रेटरीले आफ्नै शैली अनि शब्दहरू चलाएर पत्र तयार पार्छन्‌। त्यसपछि व्यापारीले उक्‍त पत्र खरर्र पढ्‌छन्‌ अनि कुनै कुरा मिलाउनुपर्ने भएमा सेक्रेटरीलाई भन्छन्‌। अन्तमा व्यापारीले पत्रमा हस्ताक्षर गर्छन्‌ र पाउने व्यक्‍तिले त्यसलाई व्यापारीकै पत्रको रूपमा हेर्छन्‌।

यस्तै प्रकारले, बाइबलका केही भाग परमेश्‍वरका “औंलाले” लेखेका हुन्‌। (प्रस्थ. ३१:१८) कुनै खास शब्दहरू प्रयोग गर्नुपर्दा यहोवाले बाइबल लेखकहरूलाई एक-एक शब्द टिप्न लगाउनुभयो। उदाहरणको लागि, प्रस्थान ३४:२७ मा हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभुले मोशालाई भन्‍नुभयो, ‘यी कुरा लेख्‌, किनकि यिनै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।’” यहोवाले भविष्यवक्‍ता यर्मियालाई पनि यसो भन्‍नुभयो: “मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख्‌।”—यर्मि. ३०:२.

तर धेरैजसो अवस्थामा, परमेश्‍वरले बाइबल लेखकहरूलाई कुन शब्द प्रयोग गर्ने भनेर बताउनुभएन। बरु ती लेखकहरूको मन अनि दिमागमा आफ्ना विचारहरू हालिदिनुभयो। यसले गर्दा तिनीहरू आफैले शब्दहरू छानेर परमेश्‍वरका विचारहरू लेख्न सक्थे। उपदेशक १२:१० यसो भन्छ: “तिनले अभिरूचिको निम्ति मीठा-मीठा शब्दहरू छाने, तर जे तिनले लेखे ती बिलकुलै सत्य थिए।” सुसमाचारको पुस्तकका लेखक लूकाले “सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाएको हुनाले . . . ती घटनाहरू क्रमैअनुसार” लेखे। (लूका १:३) मानिसजातिको त्रुटिपूर्ण अवस्थाको कारण आफ्नो सन्देश हेरफेर नहोस्‌ भनेर परमेश्‍वरले पवित्र शक्‍ति चलाउनुभयो।

७. बाइबल लेख्न परमेश्‍वरले मानिसहरूलाई नै चलाउनुमा कसरी उहाँको अपार बुद्धि देख्न सकिन्छ?

बाइबल लेख्न परमेश्‍वरले मानिसहरूलाई नै चलाउनुमा उहाँको अपार बुद्धि देख्न सकिन्छ। शब्दहरूले जानकारी मात्र दिंदैन, भावना अनि विचारहरू पनि व्यक्‍त गर्छ। यहोवाले स्वर्गदूतहरूलाई बाइबल लेख्न लगाउनुभएको भए के हुन्थ्यो? के तिनीहरूले मानिसजातिले महसुस गर्ने डर, दुःख अनि निराशाजस्ता भावनाहरू पोख्न सक्थे? परमेश्‍वरले त्रुटिपूर्ण मानिसजातिलाई तिनीहरूकै शब्दमा उहाँको सन्देश लेख्न लगाउनुभएको कारण त्यस सन्देशले हाम्रो मन छुन्छ।

प्रमाणहरू मनमा राख्नुहोस्‌

८. बाइबल किन अन्य धार्मिक किताबभन्दा भिन्‍न छ?

बाइबल परमेश्‍वरको वचन हो भनी विश्‍वास गर्न सक्ने प्रमाणहरू थुप्रै छन्‌। बाइबलले हामीलाई साँचो परमेश्‍वर चिन्‍न मदत गर्ने भएकोले यो अन्य धार्मिक ग्रन्थभन्दा भिन्‍न छ। उदाहरणको लागि, हिन्दूहरूको ग्रन्थमा धार्मिक रीतिथितिको व्याख्या-विवेचना गरिएको वैदिक भजनहरू, उपनिषद्‌ भनिने दार्शनिक लेखहरू अनि रामायणमहाभारत भनिने महाकाव्यहरू समावेश छन्‌। नैतिक शिक्षा दिने भागवत गीता भने महाभारत-कै भाग हो। बौद्ध धर्मावलम्बीहरूको त्रिपिटक (तीनवटा सँगालो)-को एउटा खण्डले मुख्यतया भिक्षु-भिक्षुणीहरूले पालन गर्नुपर्ने नियमहरूबारे बताउँछ। अर्को खण्डमा मुख्यतया बुद्ध दर्शनका कुराहरू पाइन्छ। तेस्रो खण्डमा चाहिं बुद्धका उपदेशहरू पाइन्छ। बुद्धले आफैलाई ईश्‍वर भनेनन्‌ अनि तिनले ईश्‍वरबारे त्यति धेरै कुरा पनि गरेनन्‌। कन्फुशियनहरूको ग्रन्थचाहिं विगतका घटनाहरू, नैतिक नियम, जादु अनि भजनहरूको मिश्रण हो। अनि मुसलमानहरूको पवित्र ग्रन्थले चाहिं भगवान्‌ एक जना मात्र हुनुहुन्छ, उहाँ सर्वज्ञानी हुनुहुन्छ र उहाँलाई भविष्यबारे थाह छ भनी सिकाउँछ। तर बाइबलमा हजारौं पटक उल्लेख गरिएको ‘यहोवा’ नाम समेत त्यस ग्रन्थमा उल्लेख गरिएको छैन।

९, १०. बाइबलबाट हामी परमेश्‍वरबारे के थाह पाउन सक्छौं?

थुप्रै धार्मिक किताबहरूमा परमेश्‍वरबारे एकदम थोरै मात्र बताइएको हुन्छ तर बाइबलमा भने यहोवा परमेश्‍वरबारे र उहाँका गतिविधिबारे राम्रोसँग बताइएको छ। यसले हामीलाई परमेश्‍वरको व्यक्‍तित्वको विभिन्‍न पक्ष बुझ्न मदत गर्छ। बाइबलले परमेश्‍वर सर्वशक्‍तिमान्‌, बुद्धिमान्‌ अनि न्यायी हुनुहुन्छ भनेर मात्र बताएको छैन तर उहाँ हामीलाई प्रेम गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर पनि बताएको छ। (यूहन्‍ना ३:१६; १ यूहन्‍ना ४:१९ पढ्‌नुहोस्‌) “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ” भनेर पनि बाइबल बताउँछ। (प्रेषि. १०:३४, ३५) बाइबल थुप्रै भाषामा अनुवाद हुनुले पनि परमेश्‍वर पक्षपाती हुनुहुन्‍न भन्‍ने तथ्यलाई पुष्टि गर्छ। आज संसारमा ६,७०० जति भाषाहरू बोलिन्छन्‌ भनी भाषाविद्‌हरू बताउँछन्‌। तीमध्ये करिब १०० वटा भाषा संसारका ९० प्रतिशत मानिसहरूले बोल्छन्‌। तैपनि बाइबल पूरा वा आंशिक गरी २,४०० भन्दा धेरै भाषामा अनुवाद गरिएको छ। त्यसकारण संसारका प्रायः सबै मानिसले बाइबलका केही अंश भए पनि आफ्नै भाषामा पढ्‌न सक्छन्‌।

१० येशूले भन्‍नुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दैछु।” (यूह. ५:१७) ‘अनादिदेखि अनन्तसम्म यहोवा नै परमेश्‍वर हुनुहुन्छ।’ त्यसैले उहाँले गर्नुभएका सबै कामबारे सोच्नुहोस्‌ त! (भज. ९०:२) परमेश्‍वरले विगतमा के गर्नुभयो, वर्तमानमा के गर्दै हुनुहुन्छ अनि भविष्यमा के गर्नुहुनेछ भनेर बाइबलले मात्र बताउँछ। परमेश्‍वरलाई कुन कुराले प्रसन्‍न तुल्याउँछ अनि कुन कुराले दुःखी बनाउँछ भनेर पनि बाइबलले सिकाउँछ। साथै हामी कसरी उहाँसित नजिक हुन सक्छौं, त्यो पनि बताउँछ। (याकू. ४:८) त्यसैले व्यक्‍तिगत कामकुराले वा चिन्ताले आफूलाई परमेश्‍वरबाट टाढा हुन नदेऔं।

११. बाइबलमा कस्तो बुद्धिमानी सल्लाह पाइन्छ?

११ हामी बाइबलमा बुद्धिका कुराहरू प्रशस्त पाउँछौं। यसले पनि बाइबल मानिसबाट होइन तर उच्च स्रोतबाट आएको हो भनी सङ्‌केत गर्छ। प्रेषित पावलले लेखे: “यहोवाको सोचाइ कसले पो थाह पाएको छ र, उहाँलाई सिकाओस्‌?” (१ कोरि. २:१६) यो पद भविष्यवक्‍ता यशैयाले आफ्ना समयका मानिसहरूलाई सोधेको यो प्रश्‍नमा आधारित छ: “कसले परमप्रभुको आत्मालाई आज्ञा गरेको छ, अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?” (यशै. ४०:१३) जवाफ स्पष्टै छ, कसैले पनि छैन। त्यसकारण विवाह, छोराछोरी, मनोरञ्जन, सङ्‌गति, मेहनत, इमानदारी अनि नैतिकतासम्बन्धी बाइबलले दिएको सल्लाह लागू गर्दा परिणाम एकदमै राम्रो हुन्छ। हामी बाइबलबाट कहिल्यै गलत सल्लाह पाउँदैनौं। अर्कोतर्फ मानिसहरूले दिने सल्लाहले भने सधैं हाम्रो हित गर्छ भन्‍ने छैन। (यर्मि. १०:२३) पहिला दिएको सल्लाहले काम नगरेको महसुस भएपछि तिनीहरू आफ्नो सल्लाह फेरबदल गरिरहन्छन्‌। बाइबल यसो भन्छ: “मानिसका विचार एक निश्‍वास मात्र हुन्‌।”—भज. ९४:११.

१२. बाइबललाई नामेट पार्न मानिसहरूले कस्तो प्रयास गरे?

१२ इतिहासले पनि बाइबलको ग्रन्थकार साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ। विगतमा थुप्रै मानिसले बाइबललाई नामेट पार्न प्रयास गरे। ईसापूर्व १६८ मा सिरियाका राजा एन्टियोकस चौथोले व्यवस्थाका सबै पुस्तकहरू खोज्न र त्यसलाई जलाउन आफ्ना मानिसहरूलाई निर्देशन दिए। इस्वी संवत्‌ ३०३ मा रोमी सम्राट्‌ डायोक्लिसियनले ख्रीष्टियनहरूको सभा गर्ने ठाउँ नाश गर्न र तिनीहरूको धर्मशास्त्र जलाउन उर्दी निकाले। यो काम लगभग दस वर्षसम्म जारी रह्‍यो। विभिन्‍न भाषामा बाइबल अनुवाद गर्ने कामलाई रोक्न एघारौं शताब्दीपछि पोपहरूले यथासक्दो गरे। तिनीहरू सर्वसाधारण मानिसले बाइबलबारे सिकेको मन पराउँदैनथे। सैतान र त्यसका समर्थकहरूको यस्तो प्रयासको बाबजुद बाइबल आज हाम्रो समयसम्म सुरक्षित छ। आफूले मानिसजातिलाई दिएको यो उपहारलाई यहोवाले कसैको हातबाट पनि नामेट हुन दिनुभएको छैन।

धेरै जना विश्‍वस्त हुन सक्नुको कारण

१३. बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भन्‍ने कुराको प्रमाण के-कस्तो कुराले दिन्छ?

१३ बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भनी अन्य कुराले पनि प्रमाण दिन्छ। यो किताबमा लेखिएका कुराहरू आपसमा मेल खान्छन्‌, यो वैज्ञानिक तवरमा सही छ, यसमा लेखिएका भविष्यवाणीहरू पूरा भएका छन्‌ अनि यसका लेखकहरू इमानदार छन्‌। साथै, बाइबलमा मानिसको जीवन परिवर्तन गर्न सक्ने शक्‍ति छ, यसमा उल्लिखित ऐतिहासिक विवरणहरू सही छन्‌ अनि यसले अनुच्छेद एकमा सोधिएका प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ। बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भनेर विश्‍वस्त हुन कसै-कसैलाई केले मदत गऱ्‍यो, विचार गर्नुहोस्‌।

१४-१६. (क) मुसलमान, हिन्दू र परमेश्‍वरको अस्तित्वमा शङ्‌का गर्ने मानिसहरूलाई बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भन्‍ने कुरामा विश्‍वस्त हुन केले मदत गऱ्‍यो? (ख) बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भन्‍ने कुराको कस्तो प्रमाण तपाईं प्रचारकार्यमा चलाउन चाहनुहुन्छ?

१४ मध्यपूर्वी देशमा हुर्किएका आन्वर b मुसलमान थिए। केही समयको लागि उत्तर अमेरिकामा बसोबास गर्दा यहोवाका साक्षीहरू तिनको घरमा आए। आन्वर भन्छन्‌: ‘चर्चले विगतमा गरेको थुप्रै खराब कामले गर्दा मलाई ख्रीष्टियन धर्म मन पर्दैनथ्यो। तर मेरो जिज्ञासु स्वभावले गर्दा म बाइबल अध्ययन गर्न राजी भएँ।’ तर केही समयपछि आन्वर आफ्नो देश फर्किए र साक्षीहरूसित तिनको सम्पर्क टुट्यो। वर्षौंपछि तिनी युरोपमा सरे अनि फेरि बाइबल अध्ययन सुरु गरे। पछि तिनले यसो भने: ‘बाइबलमा उल्लिखित भविष्यवाणीहरू पूरा भएको, सुरुदेखि अन्तसम्मै बाइबलको मूल विषय एउटै भएको, बाइबलका कुराहरू आपसमा नबाझिएको अनि यहोवाका साक्षीहरूमाझ प्रेम भएको कारण बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भन्‍ने कुरामा विश्‍वस्त हुन सकें।’ सन्‌ १९९८ मा आन्वरले बप्तिस्मा गरे।

१५ सोह्र वर्षकी आशा हिन्दू परिवारमा जन्मेकी थिइन्‌। तिनी भन्छिन्‌: “मन्दिरमा जाँदा र गाह्रो अवस्था आइपर्दा मात्र प्रार्थना गर्थें। तर अवस्था राम्रो हुँदा भने परमेश्‍वरबारे कहिल्यै सोच्दिनथें।” तिनी अझै यसो भन्छिन्‌: ‘तर यहोवाका साक्षीहरूले मेरो घरको ढोका ढकढक्याएपछि भने मेरो जीवन पूरै परिवर्तन भयो।’ आशाले बाइबल अध्ययन गरिन्‌ र परमेश्‍वरलाई आफ्नो मित्रको रूपमा हेर्न थालिन्‌। बाइबल परमेश्‍वरले दिनुभएको किताब हो भनेर तिनलाई केले विश्‍वस्त बनायो? तिनी भन्छिन्‌: ‘बाइबलले मेरो प्रत्येक प्रश्‍नको जवाफ दियो। मन्दिरमा नगइकनै र मूर्तिलाई नढोगिकनै विश्‍वास खेती गर्न बाइबलले मलाई मदत गऱ्‍यो।’

१६ पला क्याथोलिक परिवारमा हुर्केकी थिइन्‌। तर पछि परमेश्‍वरको अस्तित्वमा तिनी पक्का हुन सकिनन्‌। त्यसपछि एउटा घटना घट्यो। तिनी भन्छिन्‌: ‘मैले एक जना साथीलाई महिनौंपछि भेटें। त्यो जमानामा थुप्रै मानिसहरूले लामो-लामो कपाल पाल्थे र लागू-पदार्थ सेवन गर्थे। तर मेरो साथीमा भने परिवर्तन आएको थियो। उनले दाह्री-जुँगा अनि कपाल काटेका थिए र आनन्दित देखिन्थे। मैले कसरी यस्तो भयो र अहिलेसम्म कहाँ थियौ भनी उनलाई सोधें। उनले आफू यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेको कुरा बताए र मलाई पनि साक्षी दिए।’ बाइबल सत्यले आफ्नो साथीमा परिवर्तन ल्याएको देखेर पला बाइबल सन्देशप्रति आकर्षित भइन्‌ र तिनले बाइबललाई परमेश्‍वरले दिनुभएको किताबको रूपमा स्वीकारिन्‌।

“तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती” हो

१७. दिनदिनै परमेश्‍वरको वचन पढ्‌दा र मनन गर्दा तपाईंले कस्तो मदत पाउन सक्नुहुन्छ?

१७ बाइबल, यहोवाले आफ्नो पवित्र शक्‍तिमार्फत दिनुभएको अद्‌भुत उपहार हो। दिनदिनै बाइबल पढाइको आनन्द उठाउनुहोस्‌। यसो गर्दा बाइबल र यसको ग्रन्थकारप्रतिको तपाईंको माया बढ्‌नेछ। (भज. १:१, २) प्रत्येकचोटि बाइबल पढ्‌नुअघि प्रार्थना गर्नुहोस्‌ र आफूले पढेका कुराहरू बुझ्न सक्नको लागि परमेश्‍वरसित पवित्र शक्‍ति माग्नुहोस्‌। (लूका ११:१३) बाइबलमा परमेश्‍वरका विचारहरू छन्‌। त्यसैले बाइबलका कुराहरूमाथि मनन गरेर तपाईंले परमेश्‍वरको सोचाइलाई आफ्नो सोचाइ बनाउन सक्नुहुन्छ।

१८. तपाईं किन बाइबलबाट अझ धेरै कुरा सिकिरहन चाहनुहुन्छ?

१८ बाइबल सत्यबारे अझ धेरै कुरा सिक्दै जाँदा आफूले सिकेका कुराहरू लागू गर्नुहोस्‌। (भजन ११९:१०५ पढ्‌नुहोस्‌) बाइबल पढ्‌नु भनेको ऐना हेर्नुजस्तै हो। छाँटकाँट गर्नुपर्ने देख्नुभयो भने त्यसो गर्न तयार हुनुहोस्‌। (याकू. १:२३-२५) आफ्नो विश्‍वासको प्रतिरक्षा गर्न र नम्र मानिसहरूको मनबाट झूटा शिक्षाहरू हटाउन परमेश्‍वरको वचनलाई तरबारझैं प्रयोग गर्नुहोस्‌। (एफि. ६:१७) बाइबल प्रयोग गर्दा, बाइबल लेखकहरूले ‘पवित्र शक्‍ति पाएको’ कुरा सम्झँदै धन्यवादी हुनुहोस्‌।

[फुटनोटहरू]

a A Greek-English Lexicon of the New Testament and Other Early Christian Literature

b केही नाम परिवर्तन गरिएका छन्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

दिनदिनै बाइबल पढ्‌नुहोस्‌, यसो गर्दा बाइबलको ग्रन्थकारप्रतिको तपाईंको माया बढ्‌नेछ

[पृष्ठ २६-मा भएको चित्र]

पत्रमा जसको हस्ताक्षर हुन्छ, त्यसलाई उसकै पत्र मानिन्छ