सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुद्धिमान्‌ मानिसहरूले “निपुण” निर्देशन खोज्छन्‌

बुद्धिमान्‌ मानिसहरूले “निपुण” निर्देशन खोज्छन्‌

बुद्धिमान्‌ मानिसहरूले “निपुण” निर्देशन खोज्छन्‌

जीवनलाई समुद्री यात्रासित तुलना गरिएको छ। तर मानिसहरूलाई सफलतापूर्वक गन्तव्यमा पुग्न मदत गर्ने सन्दर्भमा मानव बुद्धि अक्सर असफल साबित भएको छ। थुप्रैले आँधीबेहरीरूपी कठिनाइको कारण आफ्नो जहाज डुबाएका छन्‌। (भज. १०७:२३, २७) यो तुलना किन सुहाउँदो छ?

प्राचीन समयमा समुद्री यात्रा गर्नु चुनौतीपूर्ण भएकोले यसको लागि अनुभव चाहिन्थ्यो। यो कला लामो समयसम्म नाविकको रूपमा काम गरेकाहरू, सायद जहाजका चालकबाट सिकिन्थ्यो। (प्रेषि. २७:९-११) प्राचीन समयका थुप्रै चित्रमा जहाजका चालकको चित्र अरूको भन्दा ठूलो हुन्थ्यो। यसप्रकार तिनको महत्त्वपूर्ण भूमिकालाई जोड दिइन्थ्यो। खुला समुद्रमा खतरनाक यात्रा गर्नुअघि नाविकहरूले तारा, बतास र अरू कुराहरूलाई ध्यान दिन्थे। बाइबलले केही खास नाविकहरूलाई “सिपालु” अर्थात्‌ निपुण भनी व्याख्या गरेको छ, जसले बुद्धिमान्‌ भन्‍ने अर्थ दिन्छ।—इज. २७:८.

अहिले जीवनमा भोग्नुपर्ने समस्याहरू प्राचीन समयको समुद्री यात्राजत्तिकै कष्टकर देखिन सक्छ। यस्तो अवस्थामा हामीलाई केले मदत गर्न सक्छ?

हामी “निपुण” निर्देशन कहाँबाट पाउन सक्छौं?

जीवनको यात्रा समुद्री यात्रा जस्तै हो भन्‍ने कुरा मनमा राख्दै बाइबलको यो सत्य विचार गर्नुहोस्‌: “बुद्धिमान्‌ मानिसले . . . ध्यानसित सुन्यो भने आफ्नो विद्या बढाउनेछ, औ समझशक्‍ति भएको मानिसले निपुणता प्राप्त गर्नेछ।” (हितो. १:५, ६) “निपुणता” भनी अनुवाद गरिएको हिब्रू शब्दले प्राचीन समयको जहाजको कप्तानले गर्ने कामलाई सङ्‌केत गर्छ। यसले निपुण तरिकामा डोऱ्‍याउन र निर्देशन दिन सक्ने क्षमतालाई बुझाउँछ।

“निपुण” निर्देशन प्राप्त गर्न र समुद्ररूपी जीवनमा सफलतापूर्वक “जहाज चलाउन” प्रयास चाहिने भए तापनि हामी यसो गर्न सक्छौं। हितोपदेशको पुस्तकले बताएअनुसार हामीले “बुद्धि,” “समझशक्‍ति” र “विवेक”-लाई एकसाथ काम गर्न दिनुपर्छ। (हितो. १:२-६; २:१-९) अनि दुष्टहरूले समेत नराम्रो नतिजातर्फ धकेल्ने “युक्‍ति” रच्न सक्ने भएकोले ईश्‍वरीय डोऱ्‍याइ खोज्ने कुरालाई हामीले बेवास्ता गर्नु हुँदैन।—हितो. १२:५.

त्यसैले हामी परमेश्‍वरको वचनको लगनशील विद्यार्थी हुनु जरुरी छ। यसरी हामी यहोवाबारे र उहाँको दुरुस्त नक्कल गर्ने येशू ख्रीष्टबारे बहुमूल्य जानकारी हासिल गर्न सक्छौं। (यूह. १४:९) ख्रीष्टियन सभाहरूमा हामी असाध्यै बुद्धिमानी सल्लाह पाउँछौं। यसको साथै, हामी आफ्ना आमाबाबुलगायत अरूको अनुभवबाट पनि थुप्रै कुरा सिक्न सक्छौं।—हितो. २३:२२.

पहिल्यै विचार गर्नुहोस्‌ र योजना मिलाउनुहोस्‌

प्रतीकात्मक अर्थमा भन्‍नुपर्दा, विशेषगरि दुर्घटना निम्त्याउन सक्ने समुद्री इलाकामा हुँदा हामीलाई “निपुण” निर्देशन चाहिन्छ। जटिल अवस्थामा चाल्नुपर्ने कदमबारे शङ्‌का गरेर बस्दा हामीले उचित कदम चाल्न सक्नेछैनौं, जसले गर्दा विनाशकारी नतिजा निम्तिन सक्छ।—याकू. १:५, ६.

रोचक कुरा के छ भने, युद्धको सन्दर्भमा पनि “निपुण” भन्‍ने शब्द प्रयोग गरिएको छ। हामी यस्तो लेखिएको पाउँछौं: “निपुण युद्धकलाले लडाइँहरू जितिन्छ, धेरै दिनदेखिको योजनाको परिणाम विजय हुन्छ।”—हितो. २०:१८; २४:६.

युद्धमा पोख्त व्यक्‍तिले युद्धसम्बन्धी रणनीति बनाएझैं हामीले पनि परमेश्‍वरसितको सम्बन्धलाई खतरामा पार्न सक्ने सम्भाव्य तत्त्वहरूबारे पहिल्यै विचार गर्नुपर्छ। (हितो. २२:३) उदाहरणको लागि, नयाँ काम वा पदोन्‍नतिको प्रस्ताव स्वीकार्ने कि नस्वीकार्ने भनेर निर्णय गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा तपाईं पक्कै पनि कति तलब पाइन्छ, काममा जान-आउन कति समय लाग्छ, ती सबै कुरा विचार गर्नुहुन्छ। तर विचार गर्नुपर्ने अरू कुरा पनि छन्‌: के यो काम बाइबल सिद्धान्तसित मेल खान्छ? आलोपालो गर्दै विभिन्‍न समयमा काम गर्नुपर्ने छ भने यसले मेरो ख्रीष्टियन क्रियाकलापलाई कस्तो असर गर्छ?—लूका १४:२८-३०.

लोरेटा नामकी साक्षी बहिनीको राम्रो जागिर थियो। उनको कम्पनी नयाँ ठाउँमा सर्दा उनलाई राम्रो पद दिने प्रस्ताव राखियो। कम्पनीका निर्देशकहरूले उनलाई यसो भने: “यस्तो मौका जिन्दगीमा फेरि कहिल्यै आउँदैन। त्यो ठाउँमा पनि राज्यभवन नभएको होइन क्यारे।” तर लोरेटाले भने सृष्टिकर्ताको अझ धेरै सेवा गर्न आफ्नो जीवन सरल बनाउन चाहिन्‌। नयाँ पद स्वीकारेमा ख्रीष्टियन गतिविधिमा धेरै समय दिन नसक्ने कुरा उनले बुझिन्‌। कम्पनी नछोडोस्‌ भनेर निर्देशकहरूले चाहेको एक मात्र कर्मचारी उनी नै हुन्‌ भनेर निर्देशकमध्ये एक जनाले उनलाई सुटुक्क भने। तैपनि उनले आफ्नो राजीनामा पत्र बुझाइन्‌। लोरेटाले नियमित अग्रगामी सेवा गरेको लगभग २० वर्ष भइसक्यो। “निपुण” निर्देशन अर्थात्‌ परमेश्‍वरको वचनमा पाइने सल्लाहअनुरूप योजना बनाएकोले नै राम्रो नतिजा हासिल गर्न सकेको हो भन्‍ने कुरामा उनी विश्‍वस्त छिन्‌। उनले यहोवासितको सम्बन्धलाई बलियो बनाउन सकेकी छिन्‌ र थुप्रैलाई बाइबल सत्य स्वीकार्न मदत दिन सकेकी छिन्‌।

निश्‍चय नै, परिवारमा पनि “निपुण” निर्देशन चाहिन्छ। छोराछोरी हुर्काउन धेरै समय लाग्छ अनि आध्यात्मिक र भौतिक कुराहरूको सन्दर्भमा गरिने छनौटले परिवारका सबै सदस्यको भविष्यलाई असर गर्छ। (हितो. २२:६) उदाहरणको लागि, ख्रीष्टियन आमाबाबुले आफैलाई यस्तो प्रश्‍न गर्न सक्छन्‌: ‘छोराछोरीलाई वयस्क जीवनमा आइपर्ने चुनौतीहरूसित बुद्धिमानीपूर्वक डट्‌न मदत दिनको लागि के हामीले आफ्नो कुराकानी र व्यवहारद्वारा उनीहरूलाई परमेश्‍वरसित नजिक हुन सिकाइरहेका छौं? के हाम्रो जीवनशैलीले उनीहरूलाई सरल जीवन बिताएर कसरी सन्तुष्ट हुन सकिन्छ भनी बुझ्न र ख्रीष्टियन सेवामा ध्यान केन्द्रित गर्न मदत गरिरहेको छ?’—१ तिमो. ६:६-१०, १८, १९.

संसारका मानिसहरू अक्सर भौतिक लक्ष्य राख्छन्‌ वा समाजमा सफलता हासिल गर्ने लक्ष्य राख्छन्‌। तर यस्ता लक्ष्यहरूको पछि लागेर साँचो सफलता प्राप्त गर्न सकिंदैन। राजा सुलेमानले यो कुरा बुझेका थिए। तिनी यस्तो लेख्न उत्प्रेरित भए: “परमेश्‍वरसँग डराउनेहरूलाई असलै हुनेछ भनी मलाई थाहा छ। परमेश्‍वरप्रतिको तिनीहरूको भयले यो कुरा पक्का गराउँछ।” (उप. ८:१२) यसले परमेश्‍वरको वचनमा आधारित र त्यससित मेल खाने “निपुण” निर्देशन खोज्नु बुद्धिमानी कुरा हो भनेर प्रमाणित गर्छ।—२ तिमो. ३:१६, १७.

[पृष्ठ ३०-मा भएको चित्र]

जहाजका चालकको भूमिकालाई जोड दिन तिनको चित्र अरू नाविकहरूको भन्दा ठूलो बनाइन्थ्यो

[स्रोत]

Su concessione del Ministero per i Beni e le Attività Culturali. कुनै पनि तरिकामा वा कुनै पनि माध्यमद्वारा यो चित्रको प्रतिलिपि बनाउन वा नक्कल उतार्न मनाही गरिएको छ।