सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले तपाईंलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याऊन्‌

यहोवाले तपाईंलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याऊन्‌

यहोवाले तपाईंलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याऊन्‌

‘स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्नुहोस्‌।’—याकू. १:२५.

के तपाईं बुझाउन सक्नुहुन्छ?

कुन व्यवस्थाले हामीलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याउँछ अनि त्यस व्यवस्थाबाट कसले लाभ उठाउँछन्‌?

साँचो स्वतन्त्रता पाउने हो भने हामीले के गर्नै पर्छ?

यहोवाको आज्ञा पालन गरिरहनेहरूले कस्तो स्वतन्त्रता पाउनेछन्‌?

१, २. (क) मानिसहरूको स्वतन्त्रता अहिले के भएको छ र किन? (ख) यहोवाका सेवकहरूले कस्तो स्वतन्त्रता पाउनेछन्‌?

 अहिले हामी लोभ, अराजकता अनि हिंसाले चरम रूप लिएको समयमा बाँचिरहेका छौं। (२ तिमो. ३:१-५) यसले गर्दा सरकारहरूले थप नियमहरू बनाउँछन्‌, प्रहरी बललाई अझै सशक्‍त पार्छन्‌ अनि निगरानीको लागि विभिन्‍न विद्युतीय उपकरणहरू जडान गर्छन्‌। कुनै-कुनै मुलुकमा भने मानिसहरू खतराको सङ्‌केत दिने यन्त्रहरू राख्छन्‌, थप ताल्चाहरू लगाउँछन्‌ अनि विद्युतीय पर्खालहरू बनाउँछन्‌। धेरैजसो मानिसहरू राती बाहिर जान चाहँदैनन्‌। साथै बच्चाहरूलाई पनि दिनमा होस्‌ वा रातमा, कसैको रेखदेखविना बाहिर खेल्न दिइँदैन। कुरा स्पष्ट छ, अहिले स्वतन्त्रता ओझेलमा परेको छ र यसले पछिसम्म पनि निरन्तरता पाइरहन्छ जस्तो देखिन्छ।

अदनको बगैंचामा सैतानले यहोवाको अधीनमा नबसी स्वाधीन भएमा मात्र साँचो स्वतन्त्रता पाइन्छ भनेर दाबी गरेको थियो। अहिले त्यो दाबी द्वेषपूर्ण अनि घीनलाग्दो साबित भएको छ! वास्तवमा भन्‍नुपर्दा, मानिसहरूले परमेश्‍वरले तोकिदिनुभएको नैतिक वा आध्यात्मिक सीमालाई जति-जति नाघ्छन्‌, पूरै समाजले त्यति नै धेरै दुःख पाउँछ। यस्तो बिग्रँदो परिस्थितिबाट हामी यहोवाका सेवकहरू अछुतो छैनौं। तर हामीसित मानिसहरू पाप र भ्रष्टताबाट मुक्‍त हुने अनि बाइबलमा उल्लेख गरिएको “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउने आशा छ। (रोमी ८:२१) वास्तवमा, यो स्वतन्त्रताको लागि यहोवाले आफ्ना सेवकहरूलाई तयार पारिसक्नुभएको छ। कसरी?

३. यहोवाले आफ्ना सेवकहरूलाई कुन व्यवस्था दिनुभएको छ र हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

आफ्ना सेवकहरूलाई भविष्यको स्वतन्त्रताको लागि तयार पार्न यहोवाले “स्वतन्त्रता दिने पूर्ण व्यवस्था” दिनुभएको छ। (याकूब १:२५ पढ्‌नुहोस्‌) याकूबले प्रयोग गरेको यो वाक्यलाई अरू बाइबलमा “स्वतन्त्रताको सिद्ध व्यवस्था” (RV) अनि “स्वतन्त्रता दिने शुद्ध व्यवस्था” (NRV) भनी अनुवाद गरिएको छ। साधारणतया मानिसहरू व्यवस्थालाई बन्देजको रूपमा लिन्छन्‌, स्वतन्त्रताको रूपमा होइन। त्यसोभए “स्वतन्त्रता दिने पूर्ण व्यवस्था” भनेको के हो? अनि यो व्यवस्थाले हामीलाई कसरी स्वतन्त्र तुल्याउँछ?

स्वतन्त्रता दिने व्यवस्था

४. “स्वतन्त्रता दिने पूर्ण व्यवस्था” भनेको के हो र यसबाट कसले लाभ उठाउँछन्‌?

“स्वतन्त्रता दिने पूर्ण व्यवस्था” भनेको मोशाको व्यवस्था होइन। यहोवाले इस्राएलीहरूलाई मोशाको व्यवस्था दिनुको कारण तिनीहरू पापी छन्‌ भनेर बुझाउनको लागि थियो अनि ख्रीष्टले त्यो व्यवस्था पूरा गरिसक्नुभयो। (मत्ती ५:१७; गला. ३:१९) त्यसोभए याकूबले कुन व्यवस्थाको कुरा गरिरहेका थिए? हो, तिनले “ख्रीष्टको व्यवस्था”-को कुरा गरिरहेका थिए, जसलाई “विश्‍वासको व्यवस्था” र “स्वतन्त्र मानिसहरूको व्यवस्था” पनि भनिन्छ। (गला. ६:२; रोमी ३:२७; याकू. २:१२) त्यसकारण त्यो “पूर्ण व्यवस्था”-मा यहोवाले हामीबाट माग गर्नुहुने सम्पूर्ण कुरा समावेश छ। अभिषिक्‍त ख्रीष्टियनहरू अनि “अरू भेडा” दुवैले यस व्यवस्थाबाट लाभ उठाउँछन्‌।—यूह. १०:१६.

५. स्वतन्त्रता दिने व्यवस्था पालन गर्न किन गाह्रो छैन?

“पूर्ण व्यवस्था” विभिन्‍न देशको व्यवस्थाभन्दा फरक छ। यो व्यवस्था साधारण आज्ञाहरू अनि आधारभूत सिद्धान्तहरू मिलेर बनेको छ। यो व्यवस्था बुझ्न वा पालन गर्न गाह्रो छैन। (१ यूह. ५:३) येशूले भन्‍नुभयो: “मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ती ११:२९, ३०) त्यति मात्र होइन, “पूर्ण व्यवस्था”-मा नियमहरूको लामो सूची पनि छैन। यो व्यवस्था प्रेममा आधारित छ। यो ढुङ्‌गाको पाटीमा होइन तर मानिसको मन अनि दिमागमा लेखिएको छ।—हिब्रू ८:६, १०, पढ्‌नुहोस्‌।

“पूर्ण व्यवस्था”-ले हामीलाई कसरी स्वतन्त्रता दिन्छ?

६, ७. यहोवाका स्तरहरूबारे के भन्‍न सकिन्छ र स्वतन्त्रता दिने व्यवस्थाले हामीलाई के गर्न मदत गर्छ?

यहोवाले मानिसजातिको लागि जति पनि सीमा तोकिदिनुभएको छ, ती सबै तिनीहरूकै फाइदा अनि सुरक्षाका लागि हुन्‌। उदाहरणको लागि, गुरुत्वाकर्षणको शक्‍ति वा यस्तै अन्य भौतिक नियमलाई विचार गर्नुहोस्‌। पदार्थ र शक्‍तिलाई नियन्त्रण गर्ने यी भौतिक नियमहरूको अधीनमा बस्नुपरे तापनि मानिसहरू गुनासो गर्दैनन्‌। बरु, यी प्राकृतिक नियमहरू हाम्रो हितको लागि अति आवश्‍यक छ भनेर सहर्ष स्वीकार्छन्‌। त्यसैगरि हामीले ख्रीष्टको “पूर्ण व्यवस्था”-बाट सिक्ने यहोवाका नैतिक अनि आध्यात्मिक स्तरहरू पनि हाम्रै फाइदाका लागि हुन्‌।

स्वतन्त्रता दिने व्यवस्थाले हाम्रो रक्षा गर्छ। साथै आफूलाई हानि नपुऱ्‍याईकनै अथवा अरूको अधिकार र स्वतन्त्रतामा हस्तक्षेप नगरीकनै हरेक उचित चाहना पूरा गर्न मदत गर्छ। तसर्थ उचित चाहनाहरू राखेका छौं भने मात्र हामी ती चाहनाहरू पूरा गर्न स्वतन्त्र हुन्छौं। यसको अर्थ यहोवालाई मनपर्ने अनि उहाँले हामीबाट माग गर्ने कुराहरू गर्न हामी इच्छुक हुनुपर्छ। अर्को शब्दमा भन्‍नुपर्दा, हामीले यहोवाले प्रेम गर्ने कुरालाई प्रेम गर्न अनि उहाँले घृणा गर्ने कुरालाई घृणा गर्न सिक्नुपर्छ। अनि यसो गर्न हामीलाई स्वतन्त्रता दिने व्यवस्थाले मदत गर्छ।—आमो. ५:१५.

८, ९. स्वतन्त्रता दिने व्यवस्थाअनुसार चल्ने व्यक्‍तिले कस्तो लाभ उठाउँछन्‌? उदाहरण दिनुहोस्‌।

त्रुटिपूर्ण भएको कारण हामीलाई गलत चाहनाहरू वशमा राख्न मुस्किल हुन्छ। तर स्वतन्त्रता दिने व्यवस्था पालन गर्दा हामी अहिल्यै पनि केही हदसम्म स्वतन्त्र अनुभव गर्न सक्छौं। एउटा उदाहरण विचार गर्नुहोस्‌, जय नाम गरेको एक जना व्यक्‍ति चुरोट तान्‍ने लतमा फसेका थिए। तर बाइबल अध्ययन गर्दै जाँदा तिनले परमेश्‍वरलाई यो बानी मनपर्दैन भनेर थाह पाए। अब तिनले निर्णय गर्नुपर्ने भयो। तिनी शरीरको वशमा परिरहनेथिए अथवा यहोवाको अधीनमा रहनेथिए? चुरोट तान्‍ने तलतल लागे तापनि तिनले यहोवाको सेवा गर्ने छनौट गरेर बुद्धिमानी निर्णय गरे। यस्तो खराब बानी छुटिसकेपछि तिनले कस्तो महसुस गरे? पछि तिनले यसो भने: “मैले स्वतन्त्र अनि आनन्दित महसुस गरें।”

संसारले दिने स्वतन्त्रताले मानिसहरूको चाहना त पूरा गर्ला तर जयको अनुभवले देखाएझैं वास्तवमा त्यस्तो स्वतन्त्रताले मानिसहरूलाई पापको दास बनाइरहेको हुन्छ। स्वतन्त्रता दिने परमेश्‍वरको व्यवस्था पालन गर्नेहरूले आफूलाई पवित्र शक्‍तिको अधीनमा राख्छन्‌। यसो गर्दा तिनीहरू स्वतन्त्र हुन सक्छन्‌ र “जीवन अनि शान्ति”-को हकदार हुन सक्छन्‌। (रोमी ८:५, ६) जयले कुलत छुटाउने मदत कहाँबाट पाए? तिनले आफ्नै बलबर्कतले होइन तर परमेश्‍वरको मदतले गर्दा त्यो बानी छुटाउन सके। तिनले यसो भने: “मैले नियमित रूपमा बाइबल पढें, पवित्र शक्‍तिको लागि प्रार्थना गरें अनि मण्डलीका भाइबहिनीहरूको मायालु मदत खुसीसाथ स्वीकारें।” यी कुराहरूले हामीलाई पनि साँचो स्वतन्त्रता प्राप्त गर्न मदत गर्न सक्छ। कसरी, अब हामी विचार गरौं।

परमेश्‍वरको वचनमा ध्यान दिएर हेर्नुहोस्‌

१०. परमेश्‍वरको व्यवस्थामा ‘ध्यान दिएर हेर्नुको’ अर्थ के हो?

१० याकूब १:२५ मा यस्तो लेखिएको छ: “जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, त्यो मानिस आनन्दित हुनेछ, किनकि ऊ . . . काम गर्ने मानिस भएको छ।” “ध्यान दिएर हेर्छ” भनी अनुवाद गरिएको ग्रीक शब्दको अर्थ “हेर्नको लागि झुक्नु वा निहुरिनु” हो। यसले अथक प्रयास गर्नुलाई सङ्‌केत गर्छ। हो, यदि हामी स्वतन्त्रता दिने व्यवस्थाले आफ्नो मन अनि दिमागलाई असर गरोस्‌ भन्‍ने चाहन्छौं भने हामीले आफ्नोतर्फबाट सक्दो प्रयास गर्नै पर्छ। यस्तो प्रयासमा होसियारीसाथ नियमित रूपमा बाइबल अध्ययन गर्नु र पढेको कुरामा प्रार्थनापूर्वक मनन गर्नु समावेश छ।—१ तिमो. ४:१५.

११, १२. (क) सत्यलाई आफ्नो जीवनको मार्ग बनाउनुपर्ने आवश्‍यकतालाई येशूले कसरी जोड दिनुभयो? (ख) माथि उदाहरणमा बताइएझैं जवानहरू विशेषगरि कस्तो खतरादेखि जोगिनै पर्छ?

११ साथै, हामी परमेश्‍वरको वचन लागू गर्ने काममा ‘लागिरहनुपर्छ’; हार मान्‍नु हुँदैन। हामीले सत्यलाई आफ्नो जीवनको मार्ग बनाउनुपर्छ। येशूले आफूमाथि विश्‍वास गर्ने केही व्यक्‍तिलाई यस्तै कुरा भन्‍नुभएको थियो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ, अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूह. ८:३१, ३२) एउटा स्रोतअनुसार यस पदमा “थाह पाउनेछौ” भनी अनुवाद गरिएको शब्दले कृतज्ञ हुनुलाई पनि बुझाउँछ किनभने “कुनै कुरा थाह पाउने व्यक्‍तिले आफूले ‘थाह पाएको’ कुरालाई मोल गर्छ वा महत्त्वपूर्ण ठान्छ।” तसर्थ सत्य “थाह” पाएका छौं भनेर हामीले त्यतिबेला मात्र भन्‍न सक्छौं जतिबेला हामीले यसलाई आफ्नो जीवनको मार्ग बनाइरहेका हुन्छौं। यसो गर्दा “परमेश्‍वरको वचन”-ले हामीमा “काम . . . गरिरहेको” हुनेछ। यसले हामीलाई आफ्नो व्यक्‍तित्व परिवर्तन गरिरहन मदत गर्छ, जसले गर्दा हामी स्वर्गमा बस्नुहुने बुबाको अझ राम्ररी अनुकरण गर्न सक्नेछौं।—१ थिस्स. २:१३.

१२ आफैलाई सोध्नुहोस्‌, ‘के मैले साँच्चै सत्य थाह पाएको छु? के मैले यसलाई आफ्नो जीवनको मार्ग बनाएको छु? अथवा अझै पनि संसारले दिने कुनै-कुनै “स्वतन्त्रता”-को चाह गर्छु कि?’ ख्रीष्टियन परिवारमा हुर्केकी एक जना बहिनीले आफ्नो युवावस्थाको समय सम्झदैं यस्तो लेखिन्‌: “यदि तपाईं सच्चाइमै हुर्कनुभएको हो भने एक अर्थमा यहोवा तपाईंकै अगाडि उभिनुभएको छ भन्‍न सकिन्छ। तर वास्तवमा भन्‍नुपर्दा मैले उहाँबारे राम्ररी थाह पाएकै थिइनँ। मैले उहाँले घृणा गर्ने कुरालाई घृणा गर्न कहिल्यै सिकिनँ। मेरो कामकुराहरूले उहाँलाई असर गर्छ जस्तो कहिल्यै लागेन। अनि समस्या पर्दा उहाँमा भर पर्न कहिल्यै सिकिनँ। म आफैमा मात्र भर परें। तर मेरो बुझाइ मूर्खतापूर्ण थियो भनेर अहिले महसुस गर्दैछु। वास्तवमा मलाई केही पनि थाह रहेनछ।” तर खुसीको कुरा यस बहिनीले आफ्नो सोचाइ गलत रहेछ भनेर महसुस गरिन्‌ र आमूल परिवर्तन गरिन्‌। तिनले नियमित अग्रगामीको रूपमा समेत सेवा गरिन्‌।

पवित्र शक्‍तिले तपाईंलाई स्वतन्त्रता दिन्छ

१३. पवित्र शक्‍तिले हामीलाई स्वतन्त्र हुन कसरी मदत गर्छ?

१३ हामी २ कोरिन्थी ३:१७ मा यस्तो लेखिएको पाउँछौं: “जहाँ यहोवाको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” पवित्र शक्‍तिले हामीलाई स्वतन्त्र हुन कसरी मदत गर्छ? यो शक्‍तिले हामीलाई “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता, आत्मसंयम” जस्ता गुणहरू खेती गर्न मदत गर्छ अनि यी गुणहरू हाम्रो स्वतन्त्रताको लागि अति आवश्‍यक छन्‌। (गला. ५:२२, २३) यी गुणहरूविना, विशेषगरि प्रेमविना कुनै पनि समाजले साँचो स्वतन्त्रता पाउन सक्दैन। यो कुरालाई अहिलेको संसारको अवस्थाले पुष्टि गरेको छ। रोचक कुरा, पवित्र शक्‍तिको फलको विभिन्‍न पक्ष बताइसकेपछि प्रेषित पावलले यसो भने: “यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।” तिनले के भन्‍न खोज्दै थिए? पवित्र शक्‍तिको फललाई कुनै पनि व्यवस्थाले बाँधेको छैन। यस्ता गुणहरू विकास गर्नदेखि रोक्ने नियम-कानुन पछि पनि बन्‍नेछैन। (गला. ५:१८) यहोवा परमेश्‍वर हामीले यी गुणहरू अझ धेरै विकास गरेको अनि सदैव यी गुणहरू प्रकट गरेको चाहनुहुन्छ।

१४. संसारको मनोभावले मानिसहरूलाई कसरी दास बनाउँछ?

१४ संसारको मनोभावमा जकडिएका अनि आफ्नो शारीरिक इच्छाहरू पूरा गर्न तल्लीन मानिसहरूले आफू स्वतन्त्र छु भन्ठान्‍न सक्छन्‌। (२ पत्रुस २:१८, १९ पढ्‌नुहोस्‌) तर वास्तविकता यसको ठीक उल्टो छ। मानिसहरूको इच्छा अनि व्यवहारलाई नियन्त्रण गर्न सरकारहरूले तीनथुप्रो नियम बनाउनुपरेको छ। पावल भन्छन्‌: ‘व्यवस्था परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसका लागि होइन तर कुकर्मी र बेकाइदासित चल्ने मानिसहरूका लागि हो।’ (१ तिमो. १:९, १०) साथै तिनीहरू पापी शरीरको दासत्वमा परेका छन्‌ किनभने तिनीहरू ‘शरीरले जे गर्न लगाउँछ, त्यसै गर्छन्‌।’ अनि यो शरीर कठोर मालिकजस्तै छ। (एफि. २:१-३) एक अर्थमा भन्‍ने हो भने त्यस्ता मानिसहरू भोक मेट्‌न महको भाँडामा छिरेका तर बाहिर निस्कन नसकेका किराहरूजस्तै छन्‌। ती मानिसहरू आफ्नो कुइच्छाअनुसार चल्छन्‌ र पापको दास बन्छन्‌।—याकू. १:१४, १५.

ख्रीष्टियन मण्डलीमा पाइने स्वतन्त्रता

१५, १६. मण्डलीसित सङ्‌गत गर्नु कत्तिको महत्त्वपूर्ण छ अनि हामी त्यहाँ कस्तो स्वतन्त्रता अनुभव गर्छौं?

१५ ख्रीष्टियन मण्डलीमा सङ्‌गत गर्नु भनेको सामाजिक क्लबको सदस्य बन्‍नुजस्तो होइन। यहोवाले खिच्नुभएकोले नै तपाईं ख्रीष्टियन मण्डलीमा आउनुभएको हो। (यूह. ६:४४) उहाँले तपाईंलाई किन खिच्नुभयो? तपाईं उहाँको स्तरबमोजिम चल्ने अनि उहाँको भय मान्‍ने व्यक्‍ति भएकोले हो कि? तपाईं भन्‍नुहोला, “कहाँ हुनु!” त्यसोभए उहाँले तपाईंमा के देख्नुभयो? हो, उहाँले तपाईंमा उहाँको व्यवस्था पालन गर्न र उहाँको दयालु निर्देशन स्वीकार्न इच्छुक मन देख्नुभयो। तपाईं मण्डलीको सदस्य भइसकेपछि उहाँले आफ्नो वचनबाट सिकाएर तपाईंको हेरविचार गर्नुभएको छ। झूटो धर्म अनि अन्धविश्‍वासबाट मुक्‍त पार्नुभएको छ। अनि ख्रीष्टको जस्तो व्यक्‍तित्व विकास गर्ने तरिका सिकाउनुभएको छ। (एफिसी ४:२२-२४ पढ्‌नुहोस्‌) फलस्वरूप, तपाईं यस्तो पृथक मानिसहरूबीच हुन पाउनुभएको छ जो साँचो अर्थमा “स्वतन्त्र मानिसहरू” हुन्‌।—याकू. २:१२.

१६ यो कुरा विचार गर्नुहोस्‌: यहोवालाई माया गर्ने मानिसहरूबीच हुँदा के तपाईंले त्रसित महसुस गर्नुपर्छ? के तपाईंले बारम्बार यताउता आँखा डुलाइरहनुपर्छ? राज्यभवनमा कसैसित कुराकानी गर्दा सामान नहराओस्‌ भनेर त्यसलाई हेरिरहनुपर्छ कि? अहँ पर्दैन। तपाईं सुरक्षित र स्वतन्त्र महसुस गर्नुहुन्छ। के तपाईं सांसारिक जमघटमा पनि यस्तै महसुस गर्नुहुन्छ? पक्कै पनि गर्नुहुन्‍न! अहिले तपाईंले परमेश्‍वरका जनहरूमाझ जुन स्वतन्त्रता अनुभव गरिरहनुभएको छ, त्यो त भविष्यमा पाउने स्वतन्त्रताको पूर्वझलक मात्र हो।

‘परमेश्‍वरको सन्तानको रूपमा पाउने गौरवशाली स्वतन्त्रता’

१७. मानिसजातिले पाउने स्वतन्त्रता “परमेश्‍वरका छोराहरू प्रकट हुने समय”-सित कसरी सम्बन्धित छ?

१७ पृथ्वीमा भएका आफ्ना सेवकहरूलाई यहोवाले दिने स्वतन्त्रताबारे चर्चा गर्दै पावलले यस्तो लेखे: “सृष्टिले पनि परमेश्‍वरका छोराहरू प्रकट हुने समय अति उत्सुकतासाथ पर्खिरहेको छ।” त्यसपछि तिनले यसो भने: “भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।” (रोमी ८:१९-२१) “सृष्टि” भन्‍ने अभिव्यक्‍तिले पार्थिव आशा भएका मानिसजातिलाई बुझाउँछ। तिनीहरूले पवित्र शक्‍तिद्वारा नियुक्‍त परमेश्‍वरका छोराहरू “प्रकट” हुँदा लाभ उठाउनेछन्‌। पुनर्जीवित भएर स्वर्ग गएका ती “छोराहरू”-ले ख्रीष्टलाई सम्पूर्ण दुष्ट मानिसहरू विनाश गर्न सघाउँदा अनि “ठूलो भीड” नयाँ युगमा प्रवेश गर्दा परमेश्‍वरका छोराहरू “प्रकट हुने” त्यो समय सुरु हुनेछ।—प्रका. ७:९, १४.

१८. आज्ञाकारी मानिसहरूले कस्तो थप स्वतन्त्रता पाउनेछन्‌ अनि अन्ततः तिनीहरूले कस्तो स्वतन्त्रता अनुभव गर्नेछन्‌?

१८ त्यसपछि मानिसहरूले विशेष किसिमको स्वतन्त्रता पाउनेछन्‌। तिनीहरू सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूको प्रभावबाट मुक्‍त हुनेछन्‌। (प्रका. २०:१-३) त्यतिबेला कत्ति हाइसन्चो हुनेछ, सोच्नुहोस्‌ त! त्यसपछि १,४४,००० राजा तथा पुजारीहरूले मानिसजातिलाई लाभ पुऱ्‍याउन फिरौतीको बलिदानको उपयोग गर्नेछन्‌। मानिसजाति पाप र त्रुटिपूर्ण अवस्थाबाट पूर्णतया मुक्‍त नहोउन्जेल यो क्रम चलिरहनेछ। (प्रका. ५:९, १०) आज्ञाकारी मानिसहरूको विश्‍वासको जाँच भइसकेपछि अन्ततः तिनीहरूले परमेश्‍वरले सुरुमा दिन चाहनुभएको पूर्ण स्वतन्त्रता पाउनेछन्‌। त्यो स्वतन्त्रता भनेको ‘परमेश्‍वरको सन्तानको रूपमा पाउने गौरवशाली स्वतन्त्रता’ हो। एकछिन सोच्नुहोस्‌ त, त्यतिबेला तपाईंलाई परमेश्‍वरको नजरमा सही कुरा गर्न कुनै कठिनाइ हुनेछैन। त्यतिबेला तपाईंको शरीर, मन अनि दिमाग सबै नै त्रुटिरहित हुनेछ अनि तपाईं परमेश्‍वरका गुणहरू पूर्णतया अनुकरण गर्न सक्षम हुनुहुनेछ।

१९. साँचो स्वतन्त्रता पाउने मार्गमा हिंडिरहने हो भने हामीले के गरिरहनै पर्छ?

१९ के तपाईं “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने आफ्नो मन अनि दिमागलाई “स्वतन्त्रता दिने पूर्ण व्यवस्था”-को प्रभावमा पर्न दिइरहनुहोस्‌। नियमित रूपमा बाइबलको गहिरो अध्ययन गर्नुहोस्‌। सत्यलाई आफ्नो जीवनको मार्ग बनाउनुहोस्‌। पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। ख्रीष्टियन मण्डलीबाट अनि यहोवाले प्रबन्ध गरिदिनुभएको आध्यात्मिक भोजनबाट पूर्णतया लाभ उठाउनुहोस्‌। सैतानले हव्वालाई परमेश्‍वरको मार्ग एकदमै कठोर छ भनेर बहकाएको थियो तर तपाईंचाहिं सैतानलाई यस्तो मौका नदिनुहोस्‌। दियाबल एकदमै धूर्त भए तापनि हामी त्यसलाई जित्न सक्छौं “किनकि त्यसका युक्‍तिहरूबारे हामी अनजान छैनौं।” हामी अर्को लेखमा यसैसित सम्बन्धित विषयमा छलफल गर्नेछौं।—२ कोरि. २:११.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

के म अझै पनि संसारले दिने कुनै-कुनै “स्वतन्त्रता”-को चाह गर्छु?

[पृष्ठ ९-मा भएको चित्र]

के मैले सत्यलाई आफ्नो जीवनको मार्ग बनाएको छु?