सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्यको नागरिकको रूपमा जीवन बिताउनुहोस्‌!

परमेश्‍वरको राज्यको नागरिकको रूपमा जीवन बिताउनुहोस्‌!

परमेश्‍वरको राज्यको नागरिकको रूपमा जीवन बिताउनुहोस्‌!

“ख्रीष्टसित सम्बन्धित सुसमाचारको योग्य जीवन बिताओ।”—फिलि. १:२७.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

परमेश्‍वरको राज्यका नागरिकहरू को-को बन्‍न सक्छन्‌?

परमेश्‍वरको राज्यको भाषा, इतिहास र नियम-कानुन सिक्नुको अर्थ के हो?

परमेश्‍वरको राज्यका नागरिकहरूले उहाँको स्तरलाई प्रेम गरेको कुरा कसरी देखाउँछन्‌?

, . पावलले फिलिप्पीको मण्डलीलाई दिएको सल्लाहले किन विशेष अर्थ राख्थ्यो?

 प्रेषित पावलले फिलिप्पीको मण्डलीलाई “ख्रीष्टसित सम्बन्धित सुसमाचारको योग्य जीवन बिताओ” भने। (फिलिप्पी १:२७ पढ्‌नुहोस्‌) यस पदमा “बिताओ” भनी अनुवाद गरिएको ग्रीक शब्दलाई “नागरिकको रूपमा जीवन बिताओ” भनेर पनि लेख्न सकिन्छ। उक्‍त अभिव्यक्‍तिले फिलिप्पीको मण्डलीको लागि विशेष अर्थ राख्थ्यो। किन? किनभने त्यतिबेलाका केही सहरलाई रोमी नागरिकता दिइएको थियो र त्यसमध्ये एउटा सहर फिलिप्पी थियो जस्तो देखिन्छ। सम्पूर्ण रोमी साम्राज्यका अनि फिलिप्पीका रोमी नागरिकहरू आफूले पाएको ओहदाको गर्व गर्थे अनि तिनीहरूले रोमी कानुनले दिएको केही खास सुविधा पनि पाएका थिए।

फिलिप्पीको मण्डलीका सदस्यहरूसित गर्व गर्ने अझ ठूलो कारण थियो। अभिषिक्‍त ख्रीष्टियन भएको हुँदा तिनीहरूले “स्वर्गको” नागरिकता पाएका छन्‌ भनेर पावलले बताए। (फिलि. ३:२०) तिनीहरू कुनै मानव साम्राज्यको नभई परमेश्‍वरको राज्यका नागरिक थिए। यसकारण तिनीहरूले अरू कसैले पनि नपाएको सुरक्षा र सुविधा पाएका थिए।—एफि. २:१९-२२.

३. (क) परमेश्‍वरको राज्यको नागरिक बन्‍ने सुअवसर क-कसले पाउँछन्‌? (ख) यस लेखमा हामी कुन-कुन कुरा विचार गर्नेछौं?

“नागरिकको रूपमा जीवन बिताओ” भन्‍ने पावलको सल्लाह खासगरि ख्रीष्टसित स्वर्गमा शासन गर्नेहरूलाई लागू हुन्छ। (फिलि. ३:२०) तर परमेश्‍वरको राज्यअन्तर्गत पृथ्वीमा बस्ने व्यक्‍तिहरूलाई पनि यो सल्लाह लागू हुन्छ। किन? किनभने समर्पित ख्रीष्टियनहरू सबैले एउटै राजा यहोवाको सेवा गर्छन्‌ र तिनीहरू सबैले उहाँले तोक्नुभएको एउटै स्तरअनुसार जीवन बिताउँछन्‌। (एफि. ४:४-६) मानिसहरू सम्पन्‍न देशको नागरिक बन्‍न मरिमेट्‌छन्‌। त्यसो हो भने परमेश्‍वरको राज्यको नागरिक हुने सुअवसरको हामीले झन्‌ कत्ति धेरै कदर गर्नुपर्ला! त्यस सुअवसरप्रति कसरी कृतज्ञता बढाउन सक्छौं? आउनुहोस्‌, मानव सरकारको नागरिक बन्‍न र परमेश्‍वरको राज्यको नागरिक बन्‍न पूरा गर्नुपर्ने आवश्‍यकताबीच के-कस्ता समानता छन्‌, केलाऔं। त्यसपछि परमेश्‍वरको राज्यको नागरिक बन्‍न पाएको सुअवसर नगुमाउन हामीले गर्नै पर्ने तीनवटा कुरा पनि विचार गरौं।

नागरिकता पाउन पूरा गर्नुपर्ने आवश्‍यकता

. शुद्ध भाषा के हो र हामी कसरी यो भाषा बोल्छौं?

भाषा सिक्नुहोस्‌। नागरिकताको लागि निवेदन दिने व्यक्‍तिहरूले त्यस देशको प्रमुख भाषा बोल्न सक्नुपर्छ भनेर केही मानव सरकारले तोकेका हुन्छन्‌। नागरिकता पाएपछि पनि नयाँ भाषामा पोख्त हुनको लागि तिनीहरूले वर्षौंसम्म मेहनत गर्नुपर्ने हुन सक्छ। नयाँ भाषाको व्याकरण सिक्न त्यति समय नलागे तापनि सही तरिकाले उच्चारण गर्न निकै समय लाग्न सक्छ। त्यसरी नै परमेश्‍वरको राज्यको नागरिक बन्‍न तिनीहरूले बाइबलमा बताइएको “शुद्ध भाषा” सिक्नुपर्छ। (सपन्याह ३:९ पढ्‌नुहोस्‌) यो कस्तो भाषा हो? यो परमेश्‍वर र उहाँको उद्देश्‍यबारे बाइबलमा बताइएको सत्य कुरा हो। हाम्रो आचरण परमेश्‍वरको नियम र सिद्धान्तअनुरूप छ भने हामीले शुद्ध भाषा ‘बोलिरहेका’ हुन्छौं। परमेश्‍वरको राज्यका नागरिकहरूले बाइबलका आधारभूत शिक्षाहरू छिट्टै सिकेर बप्तिस्मा गर्लान्‌। तर बप्तिस्मा गरिसकेपछि पनि अझ राम्ररी शुद्ध भाषा “बोल्न” कोसिस गरिरहनुपर्छ। हामी कसरी यसो गर्न सक्छौं? बाइबलबाट सिकेको कुरा आफ्नो दैनिक जीवनमा लागू गर्न हामी प्रत्येकले निरन्तर प्रयास गरिरहनुपर्छ।

५. यहोवाको सङ्‌गठनको इतिहासबारे सकेसम्म धेरै कुरा किन थाह पाउनुपर्छ?

इतिहासबारे अध्ययन गर्नुहोस्‌। कुनै मानव सरकारको नागरिक बन्‍न चाहने व्यक्‍तिले त्यस सरकारको इतिहासबारे सिक्नुपर्ने हुन्छ। त्यसरी नै परमेश्‍वरको राज्यको नागरिक बन्‍न चाहने व्यक्‍तिहरूले उहाँको राज्यबारे सकेसम्म धेरै कुरा सिक्नुपर्छ। प्राचीन इस्राएलका कोरहका छोराहरूको उदाहरण विचार गर्नुहोस्‌। तिनीहरू यरूशलेम र त्यहाँको उपासना स्थललाई असाध्यै प्रेम गर्थे अनि त्यस सहरको इतिहासबारे अरूलाई सुनाउन पाउँदा खुब रमाउँथे। तिनीहरू त्यो सहर र उपासना स्थलको भव्यतामा होइन तर त्यसले प्रतिनिधित्व गर्ने कुरामा गर्व गर्थे। यरूशलेम शुद्ध उपासनाको केन्द्र भएकोले त्यो “महाराजाको” अर्थात्‌ यहोवाको सहर थियो। त्यहीं यहोवाको व्यवस्था सिकाइन्थ्यो। यरूशलेमका राजाले शासन गर्ने मानिसहरू नै यहोवाले करुणा देखाउनुभएका मानिसहरू थिए। (भजन ४८:१, २, ९, १२, १३ पढ्‌नुहोस्‌) अहिले हाम्रो समयमा यहोवाको सङ्‌गठनको एउटा भाग पृथ्वीमा छ। के तपाईं पनि कोरहका छोराहरूजस्तै त्यस सङ्‌गठनको इतिहासबारे अध्ययन गर्न र त्यसबारे अरूलाई बताउन चाहनुहुन्छ? परमेश्‍वरको सङ्‌गठनबारे र यहोवाले आफ्ना जनलाई कसरी साथ दिनुहुन्छ भन्‍नेबारे जति धेरै सिक्दै जानुहुन्छ, उहाँको राज्य तपाईंलाई त्यति नै वास्तविक लाग्नेछ। अनि उहाँको राज्यको सुसमाचार प्रचार गर्ने इच्छा पनि त्यति नै प्रबल हुँदै जानेछ।—यर्मि. ९:२४; लूका ४:४३.

६. यहोवाले आफ्नो राज्यको नियम-कानुन तथा सिद्धान्त हामीले जानेको र त्यो पालन गरेको चाहनु किन जायज हो?

नियम-कानुन जान्‍नुहोस्‌। मानव सरकारले आफ्नो प्रजाले देशको नियम-कानुन जानेको र त्यो पालन गरेको चाहन्छ। त्यसरी नै यहोवाले आफ्नो राज्यका सबै नागरिकले उहाँको नियम-कानुन तथा सिद्धान्त जानेको र त्यो पालन गरेको चाहनु जायज हो। (यशै. २:३; यूह. १५:१०; १ यूह. ५:३) मानिसले बनाएका नियम अक्सर त्रुटिपूर्ण र अन्यायपूर्ण हुन्छ। तर “परमप्रभुको व्यवस्था निर्दोष” अर्थात्‌ त्रुटिरहित छ। (भज. १९:७) के तपाईंलाई दिनहुँ बाइबल पढ्‌न र उहाँको नियम-कानुनबारे सिक्न रमाइलो लाग्छ? (भज. १:१, २) परमेश्‍वरको नियम-कानुनबारे सिक्ने एउटै तरिका भनेको आफैले अध्ययन गरेर हो। अरू कसैले हाम्रो लागि यसो गरिदिन सक्दैन।

परमेश्‍वरको राज्यको नागरिकले उहाँको स्तरलाई प्रेम गर्छन्‌

७. परमेश्‍वरको राज्यका नागरिकहरूले किन उहाँको उच्च स्तर पालन गर्छन्‌?

परमेश्‍वरको राज्यको नागरिक भइरहन हामीले उहाँको स्तरबारे थाह पाएर मात्र पुग्दैन, त्यसलाई प्रेम गर्नुपर्छ। मानव सरकारका थुप्रै नागरिकले आफ्नो देशको नियम-कानुन ठीक हो त भन्छन्‌। तर आफूलाई असुविधा भयो र अरू कसैले देखेको छैन जस्तो लाग्दा ती नियम उल्लङ्‌घन गर्न पटक्कै हिचकिचाउँदैनन्‌। अक्सर यिनीहरू “मानिसहरूलाई खुसी पार्न” चाहन्छन्‌। (कल. ३:२२) परमेश्‍वरको राज्यका नागरिकहरूले उहाँको उच्च स्तर पालन गर्छन्‌। कसैले देखेको छैन भने पनि हामी खुसीसित परमेश्‍वरको नियम-कानुन पालन गर्छौं। किन? किनभने जसले ती नियम-कानुन दिनुभयो, हामी उहाँलाई प्रेम गर्छौं।—यशै. ३३:२२; लूका १०:२७ पढ्‌नुहोस्‌।

, . परमेश्‍वरको नियम-कानुनलाई तपाईं साँच्चै प्रेम गर्नुहुन्छ कि हुन्‍न, कसरी थाह पाउन सक्नुहुन्छ?

परमेश्‍वरको नियम-कानुनलाई तपाईं साँच्चै प्रेम गर्नुहुन्छ कि हुन्‍न, कसरी थाह पाउन सक्नुहुन्छ? व्यक्‍तिगत छनौटको कुराजस्तो लाग्ने विषयमा सल्लाह पाउँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, विचार गर्नुहोस्‌। जस्तै: पहिरन र कोरीबाटीको सन्दर्भमा कसैले सल्लाह दिंदा। परमेश्‍वरको राज्यको नागरिक बन्‍नुअघि तपाईं लथालिङ्‌ग वा भड्‌किलो किसिमको लुगा लगाउन रुचाउनुहुन्थ्यो होला। तर परमेश्‍वरप्रतिको प्रेम बढ्‌दै जाँदा उहाँको आदर हुने तरिकामा लुगा लगाउन सिक्नुभयो। (१ तिमो. २:९, १०; १ पत्रु. ३:३, ४) अब त भद्र किसिमको लुगा लगाउँछु जस्तो तपाईंलाई लाग्छ होला। तर एक जना एल्डरले तपाईंको पहिरनले मण्डलीका थुप्रै प्रकाशकलाई असाध्यै ठेस पुऱ्‍याइरहेको कुरा तपाईंलाई बताए भने नि? तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? के तपाईं अनेक बहाना बनाउने, रिसाउने वा आफ्नै कुरामा ढिपी कस्ने गर्नुहुन्छ? परमेश्‍वरको राज्यको एउटा आधारभूत नियम भनेको सबै नागरिकले ख्रीष्टको उदाहरण पछ्याउनु हो। (१ पत्रु. २:२१) येशूको उदाहरणको सन्दर्भमा प्रेषित पावलले यस्तो लेखे: “हामी प्रत्येकले आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पारौं। किनकि ख्रीष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन।” (रोमी १५:२, ३) परिपक्व ख्रीष्टियनले अरूको अन्तस्करणमा ठक्कर पुऱ्‍याएर मण्डलीको शान्ति भङ्‌ग गर्दैन, बरु आफ्नो तौरतरिका परिवर्तन गर्न इच्छुक हुन्छ।—रोमी १४:१९-२१.

हामीले ध्यान दिनै पर्ने अर्को दुइटा विषय विचार गरौं: यौनप्रति र विवाहप्रति हाम्रो दृष्टिकोण। जो व्यक्‍ति परमेश्‍वरको राज्यको नागरिक भइसकेको छैन उसले समलैङ्‌गिकतालाई समर्थन गर्ला, अश्‍लील सामग्रीलाई अहानिकारक ठान्ला अनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु र सम्बन्धविच्छेद गर्नुजस्ता कुरा नितान्त व्यक्‍तिगत मामिला हुन्‌ भन्ला। तर परमेश्‍वरको राज्यका नागरिकहरूले आफ्नो कामको परिणाम र त्यसले अरूलाई पार्ने असरबारे सोचविचार गर्न सिकेका हुन्छन्‌। हुन त थुप्रै ख्रीष्टियनले विगतमा अनैतिक जीवन बिताएका थिए होलान्‌ तर अहिले तिनीहरू यौन र विवाहलाई परमेश्‍वरको उपहार ठान्छन्‌। तिनीहरू यहोवाको उच्च स्तरको कदर गर्छन्‌ अनि यौन दुराचारमा लागिरहने व्यक्‍तिहरू उहाँको राज्यको नागरिक बन्‍न योग्य हुँदैनन्‌ भनेर पूरा मनतनले मानिलिन्छन्‌। (१ कोरि. ६:९-११) तर तिनीहरूलाई यो कुरा पनि थाह छ: मानिसको हृदय छली हुन्छ। (यर्मि. १७:९) त्यसैले तिनीहरू उच्च नैतिक स्तर कायम गर्न मदतकारी हुने सुस्पष्ट चेतावनी पाउँदा त्यसको मोल गर्छन्‌।

परमेश्‍वरको राज्यका नागरिकहरू चेतावनी सुन्छन्‌

१०, ११. परमेश्‍वरको राज्यले कस्ता समसामयिक चेतावनी दिन्छ? यस्ता चेतावनी तपाईंलाई कस्तो लाग्छ?

१० मानव सरकारहरूले कुनै खानेकुरा र औषधीको खतराबारे जनतालाई सजग गराउन सक्छन्‌। सबै खानेकुरा र औषधी हानिकारक हुन्छन्‌ भन्‍ने त होइन। तर कुनै खास उत्पादन हानिकारक छ भने सरकारले जनतालाई त्यसबारे चेतावनी दिन्छ। त्यस्तो चेतावनी दिइएन भने सरकारले लापरवाही गरेको ठहरिन्छ। त्यसरी नै हाम्रो नैतिकता र परमेश्‍वरसितको सम्बन्धलाई हानि पुऱ्‍याउन सक्ने कुराबारे परमेश्‍वरको राज्यले समसामयिक र सुस्पष्ट चेतावनी दिन्छ। उदाहरणको लागि कुराकानी गर्न, नयाँ कुरा सिक्न र रमाइलो गर्नको लागि इन्टरनेट उपयोगी साधन हो। परमेश्‍वरको सङ्‌गठनले इन्टरनेटको प्रयोग गरेर थुप्रै उपलब्धि हासिल गरेको छ। तर इन्टरनेटका थुप्रै साइटले हाम्रो नैतिकता भ्रष्ट बनाउन सक्छ र परमेश्‍वरसितको सम्बन्धलाई खतरामा पार्न सक्छ। अश्‍लील कुरालाई बढवा दिने वेबसाइट परमेश्‍वरको राज्यका नागरिकहरूको लागि अत्यन्तै हानिकारक हुन्छ। विश्‍वासी दासवर्गले हामीलाई यस सन्दर्भमा वर्षौंदेखि चेतावनी दिंदै आएको छ। के हामी यस्ता चेतावनीको मोल गर्दैनौं र?

११ हालै आएर एक प्रकारको वेबसाइट अत्यन्तै लोकप्रिय भएको छ। त्यो हो, सोसियल नेटवर्किङ वेबसाइट। यस्ता वेबसाइट उपयोगी छन्‌ तर होसियार भएनौं भने अत्यन्तै खतरनाक हुन्छ। यसले गर्दा मानिस खराब सङ्‌गतमा फस्न सक्छ। (१ कोरि. १५:३३) त्यसकारण परमेश्‍वरको सङ्‌गठनले यस्ता साइटबारे समसामयिक चेतावनी दिनु अचम्मको कुरा होइन। सोसियल नेटवर्किङ साइटबारे विश्‍वासी दासले तयार पारेका सबै लेख के तपाईंले पढिसक्नुभयो? यस्ता लेखहरूमा दिइएको सल्लाह पढ्‌दै-नपढी ती साइटहरू चलाउनु कस्तो मूर्खता हुनेछ! a यसो गर्नु भनेको औषधीको सिसीमा भएको जानकारी नै नपढी कडा औषधी खानुसरह हो।

१२. चेतावनीहरू बेवास्ता गर्नु किन मूर्खता हो?

१२ विश्‍वासी दासले दिने चेतावनीलाई बेवास्ता गर्नेहरूले आफू र आफ्ना प्रिय जनलाई हानि पुऱ्‍याउँछन्‌। कसै-कसैलाई अश्‍लील सामग्री हेर्ने लत लागेको छ। अरू कतिले भने अवैध यौनसम्बन्ध राखेका छन्‌ अनि आफूले गरेको काम यहोवाले देख्नुहुन्‍न भनेर आफूलाई झुक्याएका छन्‌। यहोवाको नजरबाट आफ्नो आचरण लुकाउन सकिन्छ भन्ठान्‍नु कस्तो मूर्खता! (हितो. १५:३; हिब्रू ४:१३ पढ्‌नुहोस्‌) यस्ता व्यक्‍तिहरूलाई परमेश्‍वर मदत गर्न चाहनुहुन्छ अनि पृथ्वीमा भएका आफ्ना प्रतिनिधिहरू चलाएर तिनीहरूलाई सच्याउनुहुन्छ। (गला. ६:१) मानव सरकारले कुनै-कुनै प्रकारको अपराध गर्ने व्यक्‍तिको नागरिकता रद्द गर्न सक्छ। त्यसरी नै यहोवाको स्तर तोडिरहने अनि पश्‍चात्ताप नगर्ने व्यक्‍तिहरूको नागरिकता उहाँले रद्द गर्नुहुनेछ। b (१ कोरि. ५:११-१३) तर यहोवा कृपालु हुनुहुन्छ। त्यसैले पश्‍चात्ताप गर्ने अनि आफ्नो आचरण सुधार्ने मानिसहरू यहोवासामु फेरि असल ठहरिन र उहाँको राज्यको नागरिक हुन सक्छन्‌। (२ कोरि. २:५-८) यस्तो मायालु राजाको सेवा गर्न पाउनुभन्दा ठूलो सम्मान अरू के होला र?

परमेश्‍वरको राज्यका नागरिकहरू शिक्षालाई महत्त्वपूर्ण ठान्छन्‌

१३. परमेश्‍वरको राज्यका नागरिकहरूले शिक्षालाई महत्त्वपूर्ण ठानेको कसरी देखाउँछन्‌?

१३ थुप्रै मानव सरकार आफ्ना नागरिकहरूलाई राम्रो शिक्षा दिन निकै प्रयास गर्छन्‌। तिनीहरू लेखपढ गर्न सिकाउने अनि व्यावसायिक सीपसम्बन्धी तालिम दिने स्कूलहरू खोल्छन्‌। यस्ता स्कूलहरूको लागि परमेश्‍वरको राज्यका नागरिकहरू कृतज्ञ छन्‌। तिनीहरू लेखपढ गर्न सिकेर आफ्नो जीवन धान्‍नको लागि खूब मेहनत गर्छन्‌। तर परमेश्‍वरको नागरिकको रूपमा पाउने शिक्षाको तिनीहरू अझ धेरै कदर गर्छन्‌। ख्रीष्टियन मण्डलीद्वारा यहोवाले लेखपढ गर्न सिकाउनुहुन्छ। बाइबलका कथाहरू भएको मेरो पुस्तक-जस्ता प्रकाशनहरू आफ्ना साना छोराछोरीलाई पढेर सुनाउन आमाबाबुलाई प्रोत्साहन दिइएको छ। विश्‍वासी दासले हरेक महिना बाइबलआधारित प्रकाशनहरू छाप्छ। तपाईंले हरेक दिन एक-दुई पाना पढ्‌नुभयो भने परमेश्‍वरले दिनुहुने शिक्षाबाट लाभ उठाइरहन सक्नुहुन्छ।

१४. (क) हाम्रो लागि कस्तो तालिमको प्रबन्ध गरिएको छ? (ख) साँझको पारिवारिक उपासनाबारे दिइएको कस्तो सुझाव तपाईंले लागू गर्नुभएको छ?

१४ परमेश्‍वरको राज्यका नागरिकहरूले हरेक हप्ता मण्डलीका सभाहरूमा तालिम पाउँछन्‌। उदाहरणको लागि, ईश्‍वरतान्त्रिक सेवा स्कूल-मा भाग लिने विद्यार्थीहरूले परमेश्‍वरको वचनको प्रभावकारी शिक्षक बन्‍ने तालिम पाएका छन्‌ र यो स्कूल स्थापना भएको ६० वर्षभन्दा धेरै भइसक्यो। के तपाईंले यस स्कूलमा भाग लिनुभएको छ? हालै विश्‍वासी दासले हरेक हप्ता साँझको पारिवारिक उपासना गर्न एकदमै जोड दिएको छ। यस प्रबन्धले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। हाम्रा प्रकाशनहरूमा दिइएका सुझावहरू के तपाईंले लागू गर्नुभएको छ? c

१५. हामीले पाएको एउटा ठूलो सुअवसर के हो?

१५ मानव सरकारका नागरिकहरू कुनै राजनैतिक पार्टीलाई खुलेआम समर्थन जनाउन अनि जनताको समर्थन जुटाउन घरदैलो अभियानमा भाग लिन्छन्‌। त्यसरी नै संसारभरि छरिएका परमेश्‍वरको राज्यका नागरिकहरू सडक-सडकमा अनि घर-घरमा प्रचार गरेर उहाँको राज्यलाई जोडतोडले समर्थन गर्छन्‌। यसअघिको अध्ययन लेखमा बताइएझैं यहोवाको राज्यको घोषणा गर्ने प्रहरीधरहरा पत्रिका संसारमा सबैभन्दा व्यापक वितरण हुने पत्रिका हो! हामीले पाएको एउटा ठूलो सुअवसर भनेको अरूलाई परमेश्‍वरको राज्यबारे बताउनु हो। के तपाईंले जोसिलो भई प्रचारकार्यमा भाग लिइरहनुभएको छ?—मत्ती २८:१९, २०.

१६. परमेश्‍वरको राज्यको असल नागरिक भएको कुरा तपाईं कसरी साबित गर्न सक्नुहुन्छ?

१६ यस पृथ्वीमा शासन गर्ने एक मात्र सरकार परमेश्‍वरको राज्य हुने दिन अब धेरै टाढा छैन। यसले हाम्रो दैनिक जीवनका सम्पूर्ण गतिविधिको रेखदेख गर्नेछ। त्यतिबेला के तपाईं परमेश्‍वरको राज्यको असल नागरिक हुनुहुनेछ? त्यो साबित गर्ने समय अहिल्यै हो। हरेक दिन गर्ने निर्णयद्वारा आफूले सबै थोक यहोवाकै महिमाको निम्ति गरेको देखाउनुहोस्‌। यसरी परमेश्‍वरको राज्यको असल नागरिकको रूपमा जीवन बिताइरहेको कुरा साबित गर्नुहोस्‌।—१ कोरि. १०:३१.

[फुटनोटहरू]

a उदाहरणको लागि, ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) जुलाई २०११, पृष्ठ २४-२७; अगस्त २०११, पृष्ठ १०-१३; र फेब्रुअरी २०१२, पृष्ठ ३-९ हेर्नुहोस्‌।

c प्रहरीधरहरा, अगस्त १५, २०११, पृष्ठ ६-७हाम्रो राज्य सेवा, जनवरी २०११, पृष्ठ ३-६ हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

के तपाईं इन्टरनेटसम्बन्धी बाइबलआधारित चेतावनी पालन गर्नुहुन्छ?

[पृष्ठ १२-मा भएको चित्र]

कोरहका छोराहरूजस्तै के तपाईं शुद्ध उपासना र यसको इतिहासलाई प्रेम गर्नुहुन्छ?

[पृष्ठ १५-मा भएको चित्र]

साँझको पारिवारिक उपासनाले तपाईं र तपाईंका प्रियजनलाई परमेश्‍वरको राज्यको असल नागरिक बन्‍न मदत गर्छ