सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“त्यो दिन र समय तिमीहरूलाई थाह छैन”

“त्यो दिन र समय तिमीहरूलाई थाह छैन”

“त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ती २५:१३.

१-३. (क) येशूका दुईवटा दृष्टान्तबाट सिक्न सक्ने पाठलाई कस्ता उदाहरणले राम्रोसित बुझाउँछ? (ख) हामीले कुन-कुन प्रश्‍नको जवाफ थाह पाउनुपर्छ?

 कल्पना गर्नुहोस्‌, एक जना हाकिमले जरुरी मिटिङमा जानको लागि गाडीमा पुऱ्‍याइदिन तपाईंलाई आग्रह गर्छन्‌। तर हाकिमलाई पुऱ्‍याउन जानुभन्दा केही मिनेटअघि मात्र गाडीमा पर्याप्त पेट्रोल नभएको कुरा थाह पाउनुहुन्छ। तपाईं हतार-हतार पेट्रोल भर्न जानुहुन्छ। तपाईं गएको बेला हाकिम आइपुग्छन्‌। तिनले वरपर हेर्छन्‌ तर तपाईंलाई देख्दैनन्‌। तपाईंलाई कुरेर बस्ने तिनीसित समय छैन। त्यसैले आफूलाई पुऱ्‍याइदिन अरू कसैलाई भन्छन्‌। अनि फर्केर आउँदा हाकिम गइसकेको थाह पाउनुहुन्छ। तपाईं कस्तो महसुस गर्नुहुन्छ?

अब यो दृश्‍य कल्पना गर्नुहोस्‌, तपाईं उक्‍त हाकिम हुनुहुन्छ। अनि एउटा महत्त्वपूर्ण काम सम्हाल्नको लागि तीन जना योग्य व्यक्‍ति छान्‍नुहुन्छ। तिनीहरूलाई कामबारे बताउनुहुन्छ अनि तिनीहरूले पनि खुसीसाथ त्यो काम स्वीकार्छन्‌। तर केही समयपछि फर्केर आउँदा त दुई जनाले मात्र आफूलाई अह्राइएको काम पूरा गरेको पाउनुहुन्छ। आफूलाई अह्राइएको काम पूरा नगर्ने व्यक्‍तिले अनेक बहाना बनाउँछ। वास्तवमा उक्‍त व्यक्‍तिले प्रयाससमेत गरेको छैन। तपाईं कस्तो महसुस गर्नुहुन्छ?

माथि बताइएका परिस्थिति येशूले बताउनुभएको दस कन्या र तोडाको दृष्टान्तसित मिल्दोजुल्दो छ। यी दुवै दृष्टान्तद्वारा येशूले अन्तको समयमा कोही-कोही अभिषिक्‍त ख्रीष्टियन विश्‍वासी र बुद्धिमान्‌ हुनु तर कोही-कोही भने नहुनुको कारणबारे बताउनुभयो। a (मत्ती २५:१-३०) यी दृष्टान्तबाट सिक्न सक्ने पाठलाई येशूले यसरी जोड दिनुभयो: “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।” येशूले ठ्याक्क कुन दिन र समयमा सैतानको संसारमाथि यहोवाको न्याय कार्यान्वयन गर्नुहुनेछ, त्यसबारे चेलाहरूलाई थाह हुनेथिएन भनेर उहाँ बताउँदै हुनुहुन्थ्यो। (मत्ती २५:१३) हामी पनि ‘जागा रहनुपर्छ।’ जागा रहने सन्दर्भमा येशूको आज्ञा मान्दा किन फाइदा हुन्छ? आफू जागा रहेको प्रमाण कसले दिएका छन्‌? अनि जागा रहनको लागि अहिले हामीले के गर्नै पर्छ?

जागा रहँदा हुने फाइदा

४. ‘जागा रहनको’ लागि अन्त ठ्याक्क कहिले हुन्छ भनेर थाह हुनु आवश्‍यक छैन, किन?

कल-कारखानामा काम गर्दा, डाक्टरकहाँ जाँदा अथवा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा समयको एकदमै ख्याल गर्नुपर्छ। तर आगलागी नियन्त्रण गर्दा, प्रकोप प्रभावित क्षेत्रमा उद्धारकार्यमा भाग लिंदा समयलाई मात्र ध्यान दिएमा काममा बाधा पुग्न सक्छ, अझ भन्‍नुपर्दा यसो गर्नु खतरनाकसमेत हुन्छ। यी अवस्थामा समयलाई भन्दा आफूले गरिरहेको कामलाई ध्यान दिनु एकदम महत्त्वपूर्ण छ। त्यसै गरी यहोवाले मानिसहरूलाई बचाउन के गर्नुभएको छ भनी बुझाउन हाम्रो प्रचारकार्यले मदत गर्छ। यो प्रचारकार्य एकदम महत्त्वपूर्ण छ किनकि यस युगको अन्त नजिकिंदै छ। जागा रहन अनि यहोवाले चाहनुभएअनुसार गर्नको लागि अन्त ठ्याक्क कहिले हुन्छ भनेर थाह हुनु आवश्‍यक छैन। अझ भन्‍ने हो भने, अन्त ठ्याक्क कहिले हुन्छ भनेर थाह नहुनुमा कम्तीमा पाँचवटा फाइदा छन्‌।

५. अन्त हुने दिन र समयबारे थाह नहुँदा त्यसले हाम्रो मनभित्र भएको कुरा कसरी प्रकट गर्छ?

अन्त कहिले हुनेछ भनेर थाह नहुनुको पहिलो फाइदा हो, त्यसले हाम्रो मनभित्र के छ त्यो प्रकट गर्छ। यहोवाप्रति वफादार हुने कि नहुने भनेर हामी स्वयम्‌लाई निर्णय गर्न दिएर उहाँले हामीलाई आदर गर्नुभएको छ। यस युगको अन्त हुँदा त्यसबाट बच्नको लागि मात्र होइन तर यहोवाप्रतिको प्रेमको कारण हामी उहाँको सेवा गर्छौं। (भजन ३७:४ पढ्‌नुहोस्‌) परमेश्‍वरको सेवा गर्न हामी रमाउँछौं अनि उहाँले हाम्रै फाइदाको लागि सिकाउनुहुन्छ भनेर हामीलाई थाह छ। (यशै. ४८:१७) हामीलाई परमेश्‍वरका आज्ञाहरू बोझिला लाग्दैन।—१ यूह. ५:३.

६. प्रेमले उत्प्रेरित भएर यहोवाको सेवा गर्दा उहाँलाई कस्तो लाग्छ र किन?

दोस्रो फाइदा हो, यहोवाको हृदयलाई खुसी पार्ने मौका पाउँछौं। अन्त नजिकै छ वा इनाम पाउँछौं भनेर होइन बरु प्रेमले उत्प्रेरित भएर यहोवाको सेवा गर्दा उहाँले आफ्नो आलोचना गर्ने विरोधी सैतानलाई मुखभरिको जवाफ दिन सक्नुहुन्छ। (अय्यू. २:४, ५; हितोपदेश २७:११ पढ्‌नुहोस्‌) सैतानले हामीलाई धेरै दुःखकष्ट अनि पीडा दिएको छ। त्यसैले हामी सैतानको शासनलाई इन्कार गर्छौं र खुसीसाथ यहोवाको पक्षमा खडा हुन्छौं।

७. आत्मत्यागी जीवन बिताउनु तपाईंलाई किन राम्रो हो जस्तो लाग्छ?

तेस्रो फाइदा हो, आत्मत्यागी जीवन बिताउन प्रोत्साहन पाउँछौं। परमेश्‍वरलाई नचिन्‍ने कोही-कोहीले पनि संसारको अन्त हुन्छ भनेर विश्‍वास गर्छन्‌। आउँदै गरेको विनाशको डरले गर्दा तिनीहरू यस्तो सोचाइ राख्छन्‌: “आओ, हामी खाऔं र पिऔं, किनकि भोलि त हामी मरिहाल्छौं पो।” (१ कोरि. १५:३२) तर हामीलाई भने त्यस्तो डर छैन। आफ्नो स्वार्थ पूरा गर्न हामी अलग्गै बस्न खोज्दैनौं। (हितो. १८:१) बरु आफूलाई इन्कार गर्छौं अनि परमेश्‍वरको राज्यबारे प्रचार गर्नको लागि आफूसँग भएको समय, शक्‍ति अनि अन्य स्रोतसाधन खुसीसाथ खर्च गर्छौं। (मत्ती १६:२४ पढ्‌नुहोस्‌) यहोवालाई चिन्‍न अरूलाई मदत गर्दा हामी उहाँको सेवामा झन्‌ धेरै आनन्दित हुन्छौं।

८. यहोवा अनि उहाँको वचनमा पूर्ण भरोसा राख्नुपर्छ भनेर बाइबलमा दिइएको कुन उदाहरणले देखाउँछ?

चौथो फाइदा हो, यहोवामा पूर्ण भरोसा राख्न र लगनशील भई उहाँको वचनअनुसार जिउन मदत गर्छ। हामी त्रुटिपूर्ण छौं, त्यसैले आफैमा भरोसा गर्ने गलत झुकाव हामीसित छ। पावल सबै ख्रीष्टियनलाई यस्तो सल्लाह दिन्छन्‌: “जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस्‌ नत्र त ऊ लड्‌नेछ।” पावलले यहोवाप्रति अनाज्ञाकारी हुने २३,००० इस्राएलीहरूबारे उल्लेख गरे जो प्रतिज्ञा गरिएको देशमा पुग्नै लाग्दा मर्नुपरेको थियो। तिनले भने: “यस युगको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।”—१ कोरि. १०:८, ११, १२.

९. परीक्षाहरूले कसरी हाम्रो विश्‍वासलाई खार्नुका साथै हामीलाई यहोवासित घनिष्ठ बनाउँछ?

पाँचौं फाइदा हो, परीक्षाहरूबाट सिकेर आफ्नो विश्‍वास बलियो बनाउन सक्छौं। (भजन ११९:७१, NRV पढ्‌नुहोस्‌) अन्तको दिन “असाध्यै कठिन” छ। (२ तिमो. ३:१-५) सैतानको संसारका थुप्रैले हामीलाई घृणा गर्छन्‌। त्यसैले हाम्रो विश्‍वासको कारण संसारले हामीलाई खेदो गर्न सक्छ। (यूह. १५:१९; १६:२) आगोले धातुलाई खारेझैं परीक्षाहरूले हाम्रो विश्‍वासलाई खार्छ र बलियो बनाउँछ। नम्र भएर यहोवाको निर्देशन खोज्यौं भने परीक्षाहरूले गर्दा उहाँको सेवा गर्न छोड्‌ने छैनौं। बरु यहोवासितको सम्बन्ध हामीले सोचेभन्दा पनि घनिष्ठ हुनेछ।—याकू. १:२-४; ४:८.

१०. कस्तो अवस्थामा समय बितेको पत्तै हुँदैन?

१० कसैलाई समय चाँडो बितेको जस्तो लाग्छ त कसैलाई ढिलो। यदि हामी व्यस्त भयौं अनि समयलाई मात्र ध्यान दिनुको साटो आफ्नो काममा ध्यान दियौं भने समय बितेको पत्तै हुँदैन। त्यसरी नै यहोवाले दिनुभएको रोमाञ्चकारी काममा व्यस्त हुँदा हामीलाई पनि त्यो दिन र समय छिट्टै आए जस्तो लाग्नेछ। यहोवाको सेवामा व्यस्त रहेर थुप्रै अभिषिक्‍त ख्रीष्टियनले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। त्यसैले आउनुहोस्‌, सन्‌ १९१४ मा येशू राजा भएपछि के भयो अनि केही अभिषिक्‍त ख्रीष्टियनले जागा रहेको प्रमाण कसरी दिए र केहीले दिएनन्‌, त्यसबारे छोटकरीमा विचार गरौं।

अभिषिक्‍त ख्रीष्टियनहरू आफू जागा रहेको प्रमाण दिन्छन्‌

११. सन्‌ १९१४ पछि केही अभिषिक्‍त ख्रीष्टियनलाई येशू आउन ढिला भयो जस्तो किन लाग्यो?

११ येशूले बताउनुभएको दस कन्या अनि तोडाको दृष्टान्तलाई फेरि विचार गरौं। ती दस कन्यालाई दुलहा आउने समयबारे र ती दासहरूलाई आफ्नो मालिक आउने समयबारे थाह भएको भए तिनीहरू जागा रहिरहनुपर्ने थिएन। तर थाह नभएको कारण तिनीहरू जागा रहनुपर्ने थियो। दसकौंअघिदेखि अभिषिक्‍त ख्रीष्टियनहरूले १९१४ लाई एउटा विशेष वर्षको रूपमा प्रतीक्षा गर्दै थिए तर त्यो वर्ष के हुनेछ भनेर तिनीहरूले राम्रोसँग बुझेका थिएनन्‌। आफ्नो आशा पूरा नहुँदा केही अभिषिक्‍त ख्रीष्टियनले येशू आउन ढिला भयो भन्ठाने। सन्‌ १९१४ को अक्टोबर महिनाबारे एक जना भाइले पछि यसो भने: “अक्टोबर महिनाको पहिलो हप्तामा स्वर्ग जानेछौं भन्‍ने कुरामा हामीमध्ये केहीलाई अलिकता पनि शङ्‌का थिएन।”

१२. अभिषिक्‍त ख्रीष्टियनहरूले कसरी आफूलाई विश्‍वासी र बुद्धिमान्‌ प्रमाणित गरे?

१२ आफूले आशा गरेको समयमा अन्त नहुँदा तिनीहरू कत्ति निराश भए होलान्‌, सोच्नुहोस्‌ त! त्यति मात्र होइन, ती भाइहरूले प्रथम विश्‍वयुद्धको दौडान विरोधको सामना गर्नुपऱ्‍यो। प्रचारकार्य ठप्पै हुन लागेको थियो, मानौं अभिषिक्‍त ख्रीष्टियनहरू निदाएको जस्तो थियो। तर सन्‌ १९१९ मा तिनीहरू झसङ्‌ग भए किनभने ख्रीष्टियन भनौदा सबैको जाँच गर्न येशू आउनुभयो। केही ख्रीष्टियन त्यस जाँचमा सफल भएनन्‌ अनि आफ्नो मालिक येशूको सेवा गरिरहन योग्य ठहरिएनन्‌। तिनीहरू जागा रहेनन्‌। (मत्ती २५:१६) तिनीहरू आफ्नो दियोमा तेल नभर्ने ती निर्बुद्धि कन्याजस्तै भए। साथै त्यो अल्छे दासजस्तै तिनीहरू पनि परमेश्‍वरको राज्यको खातिर त्यागहरू गर्न इच्छुक भएनन्‌। तैपनि अधिकांश अभिषिक्‍त ख्रीष्टियन वफादार रहे, तिनीहरू धरमराएनन्‌ अनि विश्‍वयुद्ध चर्किरहेको कठिन समयमा पनि आफ्नो मालिक येशूको सेवा गर्ने दृढ सङ्‌कल्प गरे।

१३. सन्‌ १९१४ पछिका अभिषिक्‍त ख्रीष्टियनहरूको मनोवृत्ति कस्तो थियो र आज नि?

१३ सन्‌ १९१४ पछिको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) त्यतिबेलाका अधिकांश अभिषिक्‍त ख्रीष्टियनको मनोवृत्तिबारे यस्तो लेखिएको थियो: “भाइहरू हो, परमेश्‍वरबारे सही मनोवृत्ति राख्ने हामीमध्ये कोही पनि उहाँले गर्नुभएका कुनै पनि प्रबन्धप्रति निराश छैनौं। हामी आफ्नो इच्छा पूरा गर्न चाहँदैन थियौं। सन्‌ १९१४ अक्टोबरबारे हामीले आशा गरेको कुरा गलत रहेछ भनेर बुझ्यौं। त्यसपछि प्रभुले हाम्रो लागि भनेर आफ्नो योजना नबदल्नुभएकोमा हामी खुसी भयौं। उहाँले योजना बदलेको हामी चाहँदैन थियौं। हामी केवल उहाँको योजना र उद्देश्‍यबारे बुझ्न चाहन्छौं।” आज पनि अभिषिक्‍त ख्रीष्टियनहरूले यस्तो नम्रता अनि भक्‍ति देखाइरहेका छन्‌। तिनीहरू परमेश्‍वरबाट प्रेरणा पाएको दाबी गर्दैनन्‌, बरु पृथ्वीमा येशूले सुम्पनुभएको काम गर्न कटिबद्ध छन्‌। साथै पृथ्वीमा अनन्त जीवनको आशा राख्ने “अरू भेडा”-का “ठूलो भीड”-ले ती अभिषिक्‍त ख्रीष्टियनहरूको उदाहरण पछ्याइरहेका छन्‌।—यूह. १०:१६; प्रका. ७:९.

आफू जागा रहेको प्रमाण दिनुहोस्‌

१४. विश्‍वासी र बुद्धिमान्‌ दासले सिकाएबमोजिम गर्नु किन हाम्रै फाइदाको लागि हो?

१४ परमेश्‍वरले आफ्ना सेवकहरूलाई खुवाउन एउटा माध्यमको प्रबन्ध गर्नुभएको छ। अभिषिक्‍त ख्रीष्टियनहरूजस्तै जागा रहने ठूलो भीडका सदस्यहरू पनि त्यही माध्यमबाट आउने भोजनमा भर पर्छन्‌। यसो गर्नु भनेको तिनीहरूले आ-आफ्नो दियोमा तेल भर्नुसरह हो। (भजन ११९:१३०; यूहन्‍ना १६:१३ पढ्‌नुहोस्‌) परिणामस्वरूप, तिनीहरूले पनि ख्रीष्ट फेरि आउँदा जागा रहेको प्रमाण दिन सक्छन्‌। साथै तिनीहरूले एकदम गाह्रो अवस्थामा समेत वफादार रहने बल पाउँछन्‌। उदाहरणको लागि, नाजी यातनाको बेला झ्यालखानामा पर्दा भाइहरूसित एउटा मात्र बाइबल थियो। त्यसैले ती भाइहरूले परमेश्‍वरको वचनमा आधारित थप भोजनको लागि प्रार्थना गरे। त्यसको केही समय नबित्दै झ्यालखानामा एक जना नयाँ भाइ आए। तिनले प्रहरीधरहरा-को केही नयाँ अङ्‌क आफ्नो नक्कली खुट्टामा लुकाएर ल्याएको कुरा ती भाइहरूले थाह पाए। त्यस कठिन अवस्थाबाट बचेकाहरूमध्ये अन्स्ट भावर भन्‍ने एक अभिषिक्‍त भाइले पछि यसो भने: “ती लेखहरूमा बताइएको प्रोत्साहनदायी कुरा कण्ठ गर्न यहोवाले हामीलाई अचम्मलाग्दो तरिकाले मदत गर्नुभयो। आजकल परमेश्‍वरको वचनमा आधारित भोजन सजिलै प्राप्त गर्न सकिन्छ। तर के हामी सधैं त्यसको मोल गर्छौं? मलाई पक्का विश्‍वास छ, यहोवामाथि भरोसा गर्ने, उहाँप्रति वफादार रहने अनि उहाँको टेबुलबाट खानेहरूको लागि परमेश्‍वरले प्रशस्त आशिष्‌ साँचेर राख्नुभएको छ।”

१५, १६. एक दम्पतीले सेवाको काममा जोस देखाउँदा कस्तो इनाम पाए? त्यस्ता अनुभवबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ?

१५ ख्रीष्टका भाइहरूलाई पूर्ण साथ दिंदै अरू भेडा पनि मालिकको काममा व्यस्त रहन्छन्‌। (मत्ती २५:४०) तिनीहरू येशूले भन्‍नुभएको दृष्टान्तको त्यस दुष्ट र अल्छे दासजस्तो छैनन्‌। बरु राज्य गतिविधिलाई प्रथम स्थानमा राख्नको लागि त्यागहरू गर्न अनि सक्दो प्रयास गर्न इच्छुक छन्‌। उदाहरणको लागि, जोन र मासाकोले केन्याको चिनियाँ भाषीहरू बसोबास गर्ने इलाकामा गएर प्रचार गर्ने निम्तो पाए। सुरुमा तिनीहरू दोधारमा थिए। तर आफ्नो परिस्थितिलाई प्रार्थनापूर्वक विचार गरेपछि तिनीहरूले त्यहाँ बसाइँ सर्ने निर्णय गरे।

१६ यस्तो प्रयास गर्दा तिनीहरूले थुप्रै इनाम पाए। तिनीहरूले भने: “यहाँको प्रचारकार्य निकै रमाइलो छ।” तिनीहरूले सातवटा बाइबल अध्ययन सुरु गरे अनि थुप्रै राम्रा अनुभव बटुले। तिनीहरूले यसो पनि भने: “यहाँ आउन पाएकोमा हामी यहोवालाई दिन-दिनै धन्यवाद दिन्छौं।” अन्त कहिले हुनेछ भनेर चिन्ता गर्नुको सट्टा परमेश्‍वरको सेवामा व्यस्त रहन इच्छुक हुने भाइबहिनी अरू पनि छन्‌। गिलियड स्कूलबाट स्नातक भएर मिसनरी सेवामा लागेका हजारौं भाइबहिनीलाई विचार गर्नुहोस्‌। मिसनरी सेवाबारे अक्टोबर १५, २००१ को प्रहरीधरहरा-मा छापिएको “हामी सकेजति राम्रो गर्छौ!” भन्‍ने लेख पढ्‌नुभए कसो होला? मिसनरीको दिन कसरी बित्छ भन्‍नेबारे उक्‍त रोचक लेख पढ्‌दा यहोवाको सेवामा अझ गर्न सक्ने कुराहरू विचार गर्नुहोस्‌। तपाईंको सेवाले यहोवाको प्रशंसा गर्नुका साथै तपाईंलाई अझ आनन्दित बनाउनेछ।

तपाईं पनि जागा रहनुहोस्‌

१७. अन्त हुने दिन र समयबारे थाह नहुनु हाम्रो लागि कसरी आशिष्‌ साबित भएको छ?

१७ यस युगको अन्त ठ्याक्क कुन दिन र समयमा हुन्छ भनी थाह नभए पनि हामी हताश वा निराश हुँदैनौं। बरु यो थाह नहुनु हाम्रो लागि आशिष्‌ साबित भएको छ। परमेश्‍वरको इच्छाअनुसार गर्नमा व्यस्त भएर मायालु बुबा यहोवासित अझ नजिक हुन सकेका छौं। येशूले दिनुभएको काममा व्यस्त भएकोले र बाधा-अवरोधहरू पन्छाएकोले आनन्दित भई यहोवाको सेवा गर्न सकेका छौं।—लूका ९:६२.

१८. हामी किन परमेश्‍वरको सेवामा वफादार भइरहन चाहन्छौं?

१८ यहोवाले न्याय गर्ने दिन झन्‌-झन्‌ नजिकिंदै छ। हामी यहोवा अनि येशूलाई निराश पार्न चाहँदैनौं। यस अन्तको दिनमा उहाँहरूले हामीलाई सेवाको अनमोल सुअवसरहरू सुम्पनुभएको छ। उहाँहरूले हामीमाथि देखाउनुभएको भरोसाप्रति हामी साँच्चै कृतज्ञ छौं!१ तिमोथी १:१२ पढ्‌नुहोस्‌।

१९. आफू जागा रहेको प्रमाण हामी कसरी दिन्छौं?

१९ चाहे हाम्रो आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमा प्रमोदवनमा बस्ने, प्रचार गर्ने र चेला बनाउने काममा वफादार भई लागिरहने सङ्‌कल्प गरौं। हामीलाई यहोवाको दिन ठ्याक्क कुन दिन र समयमा आउँछ, त्यो अझै थाह छैन। अनि के हामीलाई त्यो थाह हुनै पर्छ र? हामी अहिले जागा रहेको प्रमाण दिन सक्छौं र पछि पनि दिइरहनेछौं। (मत्ती २४:३६, ४४) यहोवामा पूर्ण भरोसा राखिरह्‍यौं अनि परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिइरह्‍यौं भने हामी कदापि निराश हुनेछैनौं।—रोमी १०:११.