सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ

यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ

“स्त्री, बालक र तिमीहरूका शहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर।”—व्यव. ३१:१२.

१, २. यस लेखमा हामी अधिवेशनहरूबारे कस्ता कुरा विचार गर्नेछौं?

 यहोवाका साक्षीहरू अन्तरराष्ट्रिय तथा जिल्ला अधिवेशनहरूमा एकसाथ भेला हुने गरेको वर्षौं भइसक्यो। हामीमध्ये धेरै जना यस्ता अधिवेशनमा उपस्थित भएका छौं। कतिपय त यी आनन्दमय जमघटहरूमा थुप्रै चोटि भेला भइसके होलान्‌।

हजारौं वर्षअघि पनि परमेश्‍वरका जन यसरी एकसाथ भेला हुन्थे। अब हामी पुरातन समयमा परमेश्‍वरका जन कस्ता अधिवेशनमा भेला हुन्थे अनि त्यतिबेलाको जमघट र अहिलेका अधिवेशनबीच कस्ता समानता छन्‌ भनी केलाउनेछौं। साथै, अधिवेशनमा उपस्थित हुनुको फाइदाबारे पनि विचार गर्नेछौं।—भज. ४४:१; रोमी १५:४.

बाइबलकालीन र आधुनिक समयका उल्लेखनीय अधिवेशनहरू

३. (क) बाइबलमा उल्लेख गरिएको पहिलो अधिवेशनमा के भयो? (ख) इस्राएलीहरूलाई एक ठाउँमा भेला हुन कसरी बोलाइन्थ्यो?

बाइबलमा उल्लेख गरिएको पहिलो ठूलो अधिवेशन सीनै पर्वतको फेदीमा भेला भएका इस्राएलीहरूको विशाल जनसमुदाय थियो। त्यहाँ तिनीहरूले यहोवाबाट निर्देशन पाए। शुद्ध उपासनाको इतिहासमा यो साँच्चै उल्लेखनीय घटना थियो। त्यस रोमाञ्चकारी अवसरमा यहोवाले इस्राएलीहरूसामु आफ्नो शक्‍ति प्रदर्शन गर्नुभयो र तिनीहरूलाई व्यवस्था दिनुभयो। इस्राएलीहरूले सायद त्यो दिन कहिल्यै बिर्सेनन्‌। (प्रस्थ. १९:२-९, १६-१९; प्रस्थान २०:१८; व्यवस्था ४:९, १० पढ्‌नुहोस्‌) त्यस दिनदेखि परमेश्‍वरसित इस्राएलीहरूको सम्बन्धले नयाँ मोड लियो। त्यहाँ भेला भएको धेरै समय नबित्दै यहोवाले आफ्ना जनलाई एकसाथ भेला गराउने एउटा तरिकाबारे बताउनुभयो। उहाँले मोशालाई चाँदीका दुईवटा तुरही बनाउन अह्राउनुभयो। अनि त्यही तुरही फुकेर ‘सारा समुदायलाई भेट हुने पालको ढोकामा भेला’ गराइनेथियो। (गन्ती १०:१-४) त्यस्ता अवसरमा मानिसहरू कत्ति उत्साहित हुन्थे होलान्‌, कल्पना गर्नुहोस्‌ त!

४, ५. मोशा र यहोशूले आयोजना गरेका अधिवेशनहरू किन अत्यन्तै उल्लेखनीय थिए?

इस्राएलीहरूले उजाडस्थानमा ४० वर्ष बिताइसकेपछि मोशाले सारा समुदायको लागि एउटा अधिवेशनको आयोजना गरे। यो अधिवेशन त्यस नयाँ इस्राएल राष्ट्रको इतिहासको अत्यन्तै महत्त्वपूर्ण घडीमा आयोजना गरिएको थियो। तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लागेका थिए। त्यसैले यहोवाले तिनीहरूको लागि के-के गर्नुभयो अनि भविष्यमा के-के गर्नुहुनेछ भनेर आफ्ना सङ्‌गी इस्राएलीहरूलाई सम्झाउन त्यो अत्यन्तै उपयुक्‍त समय थियो।—व्यव. २९:१-१५; ३०:१५-२०; ३१:३०.

परमेश्‍वरका जन एकसाथ भेला हुने नियमित प्रबन्धबारे मोशाले सायद त्यही अवसरमा इस्राएलीहरूलाई जानकारी दिए। हरेक सात-सात वर्षमा झुप्रो-बासको चाडको बेला पुरुष, स्त्री, बालक तथा इस्राएलमा भएका सबै परदेशीहरू यहोवाले रोज्नुभएको ठाउँमा एकसाथ भेला हुनुपर्थ्यो। त्यहाँ भेला भएर तिनीहरूले ध्यान दिएर ‘सुन्‍नुपर्थ्यो।’ अनि यसो गरेमा तिनीहरूले यहोवा परमेश्‍वरको ‘भय मान्‍न र व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गर्न’ सक्नेथिए। (व्यवस्था ३१:१, १०-१२ पढ्‌नुहोस्‌) स्पष्ट छ, यहोवाको आज्ञा र उद्देश्‍यबारे सिक्न तिनीहरू एकसाथ भेला भएको उहाँ चाहनुहुन्थ्यो। इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा कब्जा जमाइसकेपछि यहोशूले तिनीहरूलाई एकसाथ भेला हुने आज्ञा दिए। त्यतिबेला इस्राएलीहरूको चारैतिर मूर्तिपूजक राष्ट्रहरू भएकोले तिनीहरूलाई यहोवाप्रति वफादार रहिरहन प्रोत्साहन चाहिनेथियो। त्यसबेला इस्राएलीहरूले परमेश्‍वरको सेवा गर्ने एउटा गम्भीर वाचा बाँधे।—यहो. २३:१, २; २४:१, १५, २१-२४.

६, ७. वर्तमान समयमा कस्ता उल्लेखनीय अधिवेशनहरू भएका छन्‌?

यहोवाका जनको आधुनिक इतिहासमा पनि महत्त्वपूर्ण अधिवेशनहरू हुँदै आएका छन्‌। यी अधिवेशनमा ईश्‍वरतान्त्रिक क्रियाकलाप तथा बाइबलसम्बन्धी हाम्रो बुझाइमा भएको छाँटकाँटबारे घोषणा गरिएका छन्‌। (हितो. ४:१८) प्रथम विश्‍वयुद्धपछि बाइबल विद्यार्थीहरूले आयोजना गरेको पहिलो ठूलो अधिवेशन सन्‌ १९१९ मा अमेरिकाको ओहायो राज्यको सिडार प्वाइन्टमा सम्पन्‍न भयो। लगभग ७,००० जना उपस्थित भएको त्यस अधिवेशनमा विश्‍वभरि प्रचार गर्न विशेष जोड दिइयो। सन्‌ १९२२ मा सोही स्थानमा आयोजित नौ दिने अधिवेशनमा जोसेफ एफ. रदरफोर्डले विश्‍वव्यापी प्रचारकार्यलाई तीव्र गतिमा अघि बढाउन आग्रह गर्दै यस्तो जोडदार भाषण दिए: “प्रभुको वफादार र साँचो साक्षी हुनुहोस्‌। बेबिलोनको नामोनिसान नमेटिउन्जेल साहसी भई अघि बढ्‌नुहोस्‌। चारैतिर सुसमाचार घोषणा गर्नुहोस्‌। यहोवा नै परमेश्‍वर हुनुहुन्छ अनि येशू ख्रीष्ट राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ भनी संसारले थाह पाउनै पर्छ। यो सबैभन्दा महत्त्वपूर्ण क्षण हो। किनकि हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! अनि तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌।” त्यहाँ उपस्थितलगायत विश्‍वभरि छरिएका परमेश्‍वरका सेवकहरूले खुसीसाथ त्यो आग्रह स्वीकारे।

सन्‌ १९३१ मा कोलम्बस, ओहायोमा आयोजित अधिवेशनमा यहोवाका साक्षीहरू भन्‍ने नाम धारण गर्न पाउँदा बाइबल विद्यार्थीहरू औधी हर्षित भए। पछि सन्‌ १९३५ मा वासिङ्‌टन डी.सी.-मा आयोजित अधिवेशनमा भाइ रदरफोर्डले प्रकाशको पुस्तकमा वर्णन गरिएको ‘सिंहासन र थुमाको अगाडि उभिरहेका’ “ठूलो भीड” को हुन्‌ भनेर स्पष्ट पारे। (प्रका. ७:९-१७) दोस्रो विश्‍वयुद्ध भइरहेकै समयमा अर्थात्‌ सन्‌ १९४२ मा नेथन एच. नोरले “शान्ति—के यो रहिरहनेछ?” भन्‍ने विषयमा उत्साहजनक भाषण प्रस्तुत गरे। यस भाषणमा उनले प्रकाश १७ अध्यायमा उल्लिखित “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर”-को चिनारी खुलाए र दोस्रो विश्‍वयुद्धपछि पनि प्रचारकार्य जारी रहने कुरा बताए।

८, ९. कुनै-कुनै अधिवेशन परमेश्‍वरका सेवकहरूको लागि किन उल्लेखनीय छन्‌?

सन्‌ १९४६ मा क्लिभल्याण्ड, ओहायोमा आयोजित “आनन्दित राष्ट्रहरू” विषयको अधिवेशनमा भाइ नोरले “पुनर्निर्माण र विस्तारसम्बन्धी कठिनाइ” भन्‍ने शीर्षकमा भाषण दिए। यो भाषण असाध्यै चाखलाग्दो थियो। त्यस भाषणले जगाएको उत्साहबारे एक जना भाइले यस्तो लेखे: “त्यो साँझ उहाँले भाषण दिंदा म पनि मञ्चमै थिएँ। उहाँले ब्रूक्लिन बेथेल गृह र छापाखानाको विस्तारसम्बन्धी योजना बताउँदा उपस्थित सबैले लामो समयसम्म ताली बजाइरहे। मञ्चबाट कसैको अनुहार स्पष्टसँग नदेखिए तापनि तिनीहरूको आनन्द भने महसुस गर्न सकिन्थ्यो।” सन्‌ १९५० मा न्यु योर्क सहरमा भएको अन्तरराष्ट्रिय अधिवेशनमा अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) विमोचन गरिंदा श्रोताहरू औधी रमाए। यो आधुनिक भाषाको उल्लेखनीय अनुवाद थियो किनभने यसमा यहोवाको नाम जहाँ-जहाँ हुनुपर्छ, त्यहाँ-त्यहाँ पुनर्स्थापित गरिएको थियो।—यर्मि. १६:२१.

लामो समयसम्मको सतावट वा प्रतिबन्धपछि आयोजना गरिएका अधिवेशनहरू पनि एकदमै मन छुने खालका थिए। अडोल्फ हिटलरले जर्मनीमा यहोवाका साक्षीहरूलाई नामेट पार्ने कसम खाएको थियो। सन्‌ १९५५ मा न्युरेमबर्गमा यहोवाका साक्षीहरूले एउटा अधिवेशन आयोजना गरे। यो त्यही ठाउँ थियो जहाँ पहिला हिटलरको सेनाले परेड खेल्ने गर्थ्यो। त्यस अधिवेशनमा १,०७,००० साक्षीहरू उपस्थित भए। त्यहाँ उपस्थित धेरैले हर्षको आँसु थाम्न सकेनन्‌! सन्‌ १९८९ मा पोल्याण्डमा आयोजित “ईश्‍वरीय भक्‍ति” विषयको तीनवटा अधिवेशनमा उपस्थित १,६६,५१८ प्रतिनिधिमध्ये धेरैजसो भूतपूर्व सोभियत सङ्‌घ र चेकोस्लोभाकिया अनि अन्य पूर्वी युरोपेली मुलुकबाट आएका थिए। कोही-कोही यत्ति ठूलो जमघटमा पहिला कहिल्यै उपस्थित भएका थिएनन्‌। उनीहरू १५/२० जनाको सानो समूहमा मात्र भेला हुन्थे। अनि सन्‌ १९९३ मा युक्रेनको किभमा आयोजना गरिएको “ईश्‍वरीय शिक्षा” विषयको अन्तरराष्ट्रिय अधिवेशनलाई पनि विचार गर्नुहोस्‌। त्यस अधिवेशनमा ७,४०२ जनाले बप्तिस्मा गरे। एकै दिनमा यति धेरै यहोवाका साक्षीहरूको बप्तिस्मा पहिला कहिल्यै भएको थिएन।—यशै. ६०:२२; हाग्गै २:७.

१०. तपाईंले कहिल्यै बिर्सन नसक्ने अधिवेशन कुन हो र किन?

१० तपाईंले कहिल्यै बिर्सन नसक्ने जिल्ला अधिवेशन वा अन्तरराष्ट्रिय अधिवेशन पक्कै पनि होला। आफू पहिलो पटक उपस्थित भएको वा आफूले बप्तिस्मा गरेको अधिवेशन के तपाईंले सम्झनुभएको छ? ती तपाईंको लागि असाध्यै महत्त्वपूर्ण घटना थिए। ती मीठा सम्झनालाई सँगालिराख्नुहोस्‌!—भज. ४२:४.

नियमित रूपमा मनाइने आनन्दमय अवसरहरू

११. प्राचीन इस्राएलमा यहोवाले नियमित रूपमा भेला हुनुपर्ने कस्ता चाडहरूको प्रबन्ध मिलाउनुभयो?

११ इस्राएलीहरू चाड मनाउनको लागि वर्षको तीन पटक यरूशलेममा भेला भएको यहोवा चाहनुहुन्थ्यो। ती चाडहरू थिए: अखमीरे रोटीको चाड, हप्ताको चाड (पछि पेन्तिकोस भनियो) र झुप्रोबासको चाड। यी चाडहरूबारे परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको थियो: “वर्षमा तीनपल्ट तिमीहरूका सबै पुरुषहरू परमप्रभु परमेश्‍वरको सामने देखा परून्‌।” (प्रस्थ. २३:१४-१७) यी चाडहरूको महत्त्व बुझेकोले परिवारका शिरहरू आफ्नो सबै परिवार लिएर उपस्थित हुन्थे।—१ शमू. १:१-७; लूका २:४१, ४२.

१२, १३. थुप्रै इस्राएलीले वार्षिक चाडहरू मनाउन के गर्नुपर्थ्यो?

१२ चाड मनाउन यात्रा गर्नको लागि इस्राएली परिवारहरूले के गर्नुपर्थ्यो, विचार गर्नुहोस्‌। उदाहरणको लागि, यूसुफ र मरियमले नासरतबाट यरूशलेम पुग्नको लागि लगभग १०० किलोमिटर यात्रा गर्नुपर्थ्यो। स-साना बच्चाहरू साथमा लिएर यस्तो यात्रा गर्न तपाईंलाई कति समय लाग्थ्यो होला? सानो बालक छँदा येशू यरूशलेम जानुभएको विवरण विचार गर्दा नातेदार र चिनाजानीहरू सँगै मिलेर यात्रा गर्थे भनी थाह पाउँछौं। सँगै यात्रा गर्नु, सबैको लागि भोजन तयार पार्नु अनि बिरानो ठाउँमा बासको उचित प्रबन्ध मिलाउनु तिनीहरूको लागि सजिलो काम थिएन। त्यतिबेलाको यात्रामा त्यति खतरा भने हुँदैनथ्यो। त्यसैले येशू १२ वर्षको मात्र भए तापनि उहाँका आमाबाबुले उहाँलाई एक्लै यताउता जान दिएका थिए। ती चाडहरू विशेषगरि स-साना केटाकेटीका लागि कत्ति अविस्मरणीय हुन्थे होलान्‌, कल्पना गर्नुहोस्‌ त!—लूका २:४४-४६.

१३ विभिन्‍न राष्ट्रमा छरिएका इस्राएलीहरू चाड मनाउन यरूशलेम आउने गर्थे। यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू इस्वी संवत्‌ ३३ मा पेन्तिकोसको चाड मनाउन इटाली, लिबिया, क्रेट, एसिया प्रान्त र मेसोपोटामियाबाट यरूशलेम आए।—प्रेषि. २:५-११; २०:१६.

१४. वार्षिक चाडहरूमा उपस्थित हुँदा इस्राएलीहरूले कस्तो लाभ उठाउँथे?

१४ वफादार इस्राएलीहरूका लागि यस्तो यात्रा गर्नुको सबैभन्दा उल्लेखनीय पक्ष हजारौं सँगी उपासकसित मिलेर यहोवाको उपासना गर्नु थियो। उपस्थित हुनेहरूले कस्तो अनुभव गर्थे? झुप्रोबासको चाडबारे यहोवाले आफ्ना सेवकहरूलाई दिनुभएको निर्देशनमा हामी यस प्रश्‍नको जवाफ पाउँछौं: “तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, शहरभित्रका लेवीहरू, विदेशी, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड मानेर आनन्द मनाउनू। परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति चाड मान्‍नू, किनभने उहाँलेनै तिमीहरूका उब्जनी र काम-काजमा तिमीहरूलाई आशिष दिनुहुनेछ। यसकारण तिमीहरू औधी हर्षित हुनेछौ।”—व्यव. १६:१४, १५; मत्ती ५:३ पढ्‌नुहोस्‌।

आधुनिक समयका अधिवेशनहरूको किन मोल गर्नुपर्छ?

१५, १६. अधिवेशनमा उपस्थित हुन तपाईंले कस्तो त्याग गर्नुपरेको छ? त्यस्तो प्रयास किन खेर जाँदैन?

१५ प्राचीन समयका ती जमघटहरू परमेश्‍वरका आधुनिक समयका सेवकहरूका लागि कत्ति राम्रो उदाहरण! शताब्दियौंको दौडान अधिवेशनहरूको सन्दर्भमा थुप्रै परिवर्तन भए तापनि मूलभूत कुराहरूमा भने कुनै परिवर्तन भएको छैन। प्राचीन समयमा अधिवेशनमा उपस्थित हुनेहरूले त्यागहरू गर्नुपर्थ्यो। आज पनि कुरा त्यही हो। तर उपस्थित हुन गरेको प्रयास त्यसै खेर जाँदैन। अधिवेशनहरू पहिला पनि यहोवाको उपासना गर्ने महत्त्वपूर्ण अवसर थिए र आज पनि त्यस्तै छ। परमेश्‍वरसितको सम्बन्ध कायम राखिराख्न अत्यावश्‍यक पर्ने जानकारी तथा समझ हामी अधिवेशनहरूमा पाउँछौं। अधिवेशनले हामीलाई आफूले सिकेका कुराहरू लागू गर्न उत्प्रेरित गर्छ, समस्याहरूदेखि जोगिन मदत गर्छ अनि थकित बनाउने कुराहरूको सट्टा स्फूर्ति दिने कुराहरूमा ध्यान केन्द्रित गरिरहन प्रोत्साहन दिन्छ।—भज. १२२:१-४.

१६ अधिवेशनमा उपस्थित हुनेहरूले आनन्द अनुभव गर्छन्‌। सन्‌ १९४६ को विशाल अधिवेशनबारे यस्तो रिपोर्ट गरियो: “हजारौं साक्षीहरूलाई एकै ठाउँमा देख्न पाउनु कत्ति आनन्दको कुरा! गायन टोलीले वाद्ययन्त्र बजाइरहेको र श्रोताले यहोवाको प्रशंसाका गीतहरू गाइरहेको सुन्‍न पाउनु झनै रोमाञ्चक थियो।” त्यस रिपोर्टमा अझै यसो भनियो: “थुप्रै स्वयम्‌सेवकले विभिन्‍न विभागमा सेवा गरे। सङ्‌गी भाइबहिनीहरूको सेवा गर्दा तिनीहरू आनन्दित हुन सके।” जिल्ला अधिवेशन वा अन्तरराष्ट्रिय अधिवेशनमा के तपाईंले पनि यस्तै आनन्द अनुभव गर्नुभएको छ?—भज. ११०:३; यशै. ४२:१०-१२.

१७. अधिवेशनको आयोजनासम्बन्धी के-कस्ता परिवर्तन भएका छन्‌?

१७ अधिवेशनको आयोजनासम्बन्धी केही क्षेत्रमा परिवर्तन भएका छन्‌। उदाहरणको लागि, कोही-कोहीले आठ दिने अधिवेशनहरू सम्झन्छन्‌ होला। अधिवेशनमा बिहान, दिउँसो र साँझको कार्यक्रम हुने गर्थ्यो। अधिवेशनको दौडान क्षेत्र सेवामा पनि भाग लिइन्थ्यो। कहिलेकाहीं कार्यक्रम बिहान नौ बजे सुरु भएर राती नौ बजेसम्म चल्थ्यो। अधिवेशनमा उपस्थित हुनेहरूका लागि बिहानको खाजा, दिउँसोको खाना र बेलुकीको खाना तयार पार्न स्वयम्‌सेवकहरू घण्टौं खट्‌नुपर्थ्यो। तर अहिले भने अधिवेशनहरू पहिलाको जस्तो लामो हुँदैनन्‌। अनि आफू तथा आफ्नो परिवारको लागि आफैले भोजन तयार पार्दा कार्यक्रमबाट पूरापूर लाभ उठाउन सम्भव भएको छ।

१८, १९. तपाईं अधिवेशनमा हुने कुन कुराको प्रतीक्षा गर्नुहुन्छ र किन?

१८ अधिवेशनमा हुने कुनै-कुनै कुराको हामी सधैं प्रतीक्षा गर्छौं। भाषण तथा विमोचन हुने नयाँ प्रकाशनहरूमार्फत बाइबल भविष्यवाणी र बाइबल शिक्षाहरू बुझ्न “ठीक समयमा भोजन” उपलब्ध हुन्छ। (मत्ती २४:४५) यी प्रकाशनहरूले मानिसहरूलाई बाइबल सत्य बुझ्न मदत गर्छन्‌। उत्प्रेरणादायी बाइबल नाटकले जवान तथा वृद्ध दुवैलाई आफ्नो मनसाय केलाउन र यस संसारको सोचाइबाट सुरक्षित हुन मदत गर्छ। त्यसैगरि बप्तिस्मा भाषणले हामी सबैलाई आफ्नो प्राथमिकता केलाउन मदत गर्छ र अरूले यहोवामा आफ्नो जीवन समपर्ण गरेको देख्दा हामी आनन्दित हुन्छौं।

१९ हो, अधिवेशनहरू शुद्ध उपासनाको अभिन्‍न भाग हुँदै आएको हजारौं वर्ष भइसक्यो। यसले यहोवाका आनन्दित सेवकहरूलाई कठिन समयमा पनि वफादार भई उहाँको सेवा गर्न मदत गर्छ। यहोवाको सेवामा अझ बढी गर्ने उत्प्रेरणा दिन्छ, नयाँ-नयाँ साथीभाइसित भेट्‌ने मौका प्रदान गर्छ, हाम्रो विश्‍वव्यापी भाइचाराको मोल गर्न मदत गर्छ। अनि अधिवेशनमार्फत नै यहोवाले आफ्ना जनलाई आशिष्‌ दिनुहुन्छ र उनीहरूको हेरचाह गर्नुहुन्छ। त्यसैले हामी कसैले पनि अधिवेशनको कुनै भाग नछुटाऔं र पूरापूर लाभ उठाऔं!—हितो. १०:२२.