सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”

“तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”

“तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।”—भज. १४३:१०.

१, २. परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउँदा कसरी हाम्रो हित हुन्छ? यस सन्दर्भमा राजा दाऊदबाट के सिक्न सक्छौं?

 मानौं, तपाईं पहाडी भेगमा यात्रा गर्दै हुनुहुन्छ। तपाईं दोबाटोमा पुग्नुहुन्छ। अब कुन बाटो जाने? यस्तो अवस्थामा तपाईं नजिकैको अग्लो ठाउँमा जानुहुन्छ र ती बाटो कतातिर जान्छन्‌, त्यहाँबाट हेर्नुहुन्छ। महत्त्वपूर्ण निर्णय गर्दा यस्तै सिद्धान्त अपनायौं भने परिणाम राम्रो हुन्छ। कामकुरालाई सृष्टिकर्ताको उच्च दृष्टिकोणबाट हेऱ्‍यौं भने यहोवाले स्वीकार्नुहुने ‘बाटोमा हिंड्‌न’ सक्नेछौं।—यशै. ३०:२१.

प्राचीन इस्राएलका राजा दाऊदले आफ्नो अधिकांश जीवन परमेश्‍वरको इच्छाअनुसार बिताएर उत्कृष्ट उदाहरण बसाले। तिनी परमेश्‍वरप्रति सम्पूर्ण रीतिले भक्‍त भए। तिनको जीवनमा घटेका केही घटना केलाऔं र त्यसबाट कस्तो पाठ सिक्न सक्छौं, हेरौं।—१ राजा ११:४.

दाऊदले यहोवाको नामप्रति उच्च आदर देखाए

३, ४. (क) गोल्यतसित भिड्‌न दाऊदलाई केले उत्प्रेरित गऱ्‍यो? (ख) परमेश्‍वरको नामप्रति दाऊदले कस्तो दृष्टिकोण राखे?

दाऊदले पलिश्‍ती योद्धा गोल्यतसित लडेको घटना विचार गरौं। हातहतियार भिरेका लगभग साढे नौ फिट अग्लो त्यस बडेमाको गोल्यतसित भिड्‌न फुच्चे दाऊदलाई केले उत्प्रेरित गऱ्‍यो? (१ शमू. १७:४) साहसले अथवा परमेश्‍वरमाथिको विश्‍वासले? हुन त त्यस्तो बहादुरी देखाउन ती दुवै गुण महत्त्वपूर्ण थिए। तर खासगरि यहोवा अनि उहाँको महान्‌ नामप्रतिको आदरले दाऊदलाई त्यस बडेमाको गोल्यतविरूद्ध खडा हुन उत्प्रेरित गऱ्‍यो। रिसाउँदै दाऊदले यस्तो प्रश्‍न गरे: “जीवित परमेश्‍वरको सेनालाई तुच्छ भन्‍ने त्यो बेखतने पलिश्‍तीचाहिं को हो र?”—१ शमू. १७:२६.

दाऊदले गोल्यतलाई भने: “तँ ता मसँग लड्‌न तरवार, भाला र बर्छा लिएर आएको छस्‌, तर म तँसँग लड्‌न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्‍वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु।” (१ शमू. १७:४५) साँचो परमेश्‍वरमा भर पर्दै तिनले घुँयेत्रोको एउटै ढुङ्‌गोले त्यो पलिश्‍ती योद्धालाई ढाले। यस घटनामा मात्र होइन, दाऊद जीवनभर यहोवामा भर परे अनि उहाँको नामप्रति उच्च आदर देखाए। तिनले इस्राएलीहरूलाई यहोवाको ‘पवित्र नाउँमा गौरव गर्न’ आग्रह गरे।१ इतिहास १६:८-१०, NRV पढ्‌नुहोस्‌।

५. गोल्यतको धम्कीजस्तै तपाईंले पनि कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ?

यहोवालाई आफ्नो परमेश्‍वरको रूपमा पाएकोमा के तपाईं गर्व गर्नुहुन्छ? (यर्मि. ९:२४) तपाईंको छरछिमेक, सहकर्मी, सहपाठी अथवा आफन्तहरूले यहोवाको अपमान गर्दा अनि उहाँका साक्षीहरूलाई हाँसोमा उडाउँदा तपाईं के गर्नुहुन्छ? अरूले यहोवाको बदनाम गर्दा के तपाईं उहाँमा भर पर्दै उहाँको पक्षमा बोल्नुहुन्छ? हो, “चूप्प लाग्ने एउटा समय छ” तर आफूलाई यहोवाको साक्षी अनि येशूको अनुयायी भनेर चिनाउनदेखि हामीले सरम मान्‍नु हुँदैन। (उप. ३:१, ७; मर्कू. ८:३८) हाम्रो विरोध गर्ने मानिसहरूसित व्यवहार गर्दा कौशलता अनि शिष्टता देखाउनुपर्छ। तर गोल्यतले धम्क्याउँदा ‘आत्तिएका र साह्रै डराएका’ इस्राएलीहरूजस्तो भने नहोऔं। (१ शमू. १७:११) बरु यहोवाको नाम पवित्र पार्न तुरुन्तै कदम चालौं। यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनी हामी मानिसहरूलाई चिनाउन चाहन्छौं। त्यसकारण परमेश्‍वरसित नजिक हुनुको महत्त्व अरूलाई बुझाउन हामी उहाँको लिखित वचन बाइबल प्रयोग गर्छौं।—याकू. ४:८.

६. दाऊद गोल्यतसित भिड्‌नुको मुख्य कारण के थियो? अनि हाम्रो मुख्य चासोको विषय के हुनुपर्छ?

दाऊद र गोल्यतको घटनाले अर्को महत्त्वपूर्ण पाठ सिकाउँछ। दाऊद दौडँदै छाउनीतर्फ आउँदा तिनले यस्तो प्रश्‍न गरे: “यस पलिश्‍तीलाई मार्ने र हाम्रो लाज बचाउने मानिसलाई के गरिदिने त?” पहिलेको जस्तै तिनीहरूले फेरि यसो भनेर जवाफ दिए: “[गोल्यतलाई] मार्ने मानिसलाई राजाले प्रचूर इनाम दिनुहुनेछ, औ आफ्नी छोरी पनि त्यससँग विवाह गरिदिनुहुनेछ।” (१ शमू. १७:२५-२७) तर दाऊदको मुख्य चासो इनाम प्राप्त गर्नु मात्र थिएन। तिनले त्योभन्दा उच्च कुरामा ध्यान लगाए। तिनी साँचो परमेश्‍वरको महिमा गर्न चाहन्थे। (१ शमूएल १७:४६, ४७ पढ्‌नुहोस्‌) हामी नि? के हाम्रो मुख्य चासोको विषय आफ्नो नाम चम्काउनु हो? के हामी धेरै पैसा पाउने अनि ख्याति कमाउनेबारे मात्र सोचिरहन्छौं? हामी दाऊदजस्तै हुन चाहन्छौं, जसले यसरी गाए: “मसँगसँगै परमप्रभुको बढाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।” (भज. ३४:३) त्यसकारण परमेश्‍वरमा भरोसा राखौं अनि आफ्नो नामलाई होइन, यहोवाको नामलाई महत्त्व देऔं।—मत्ती ६:९.

७. प्रचारकार्यमा हाम्रो विरोध गर्ने मानिसहरूको सामना गर्न कसरी बलियो विश्‍वास खेती गर्न सक्छौं?

साहसी भएर गोल्यतविरूद्ध खडा हुनको लागि दाऊदले यहोवामा पूरा भरोसा राख्नुपर्थ्यो। दाऊदसित बलियो विश्‍वास थियो। गोठालोको रूपमा काम गर्दा यहोवामा भर परेकोले तिनले त्यस्तो विश्‍वास खेती गर्न सके। (१ शमू. १७:३४-३७) हामीलाई पनि सेवाको काममा लागिरहन बलियो विश्‍वास चाहिन्छ, खासगरि प्रचारकार्यमा हाम्रो विरोध गर्ने मानिसहरूलाई भेट्‌दा। आफ्नो दैनिक क्रियाकलापमा यहोवामा भर परेर त्यस्तो विश्‍वास खेती गर्न सक्छौं। उदाहरणको लागि, सार्वजनिक सवारी साधन चढ्‌दा सँगै बसेको यात्रुसित बाइबल सत्यबारे कुराकानी थाल्न सक्छौं। अनि घर-घरको प्रचारकार्य गरिरहेको बेला बाटोमा भेट्‌ने मानिसहरूसित पनि कुरा गर्न सक्छौं।—प्रेषि. २०:२०, २१.

दाऊदले आफूखुसी गरेनन्‌

८, ९. राजा शाऊलले ज्यान लिन खोज्दासमेत दाऊदले यहोवाको इच्छा नबिर्सेको कुरा कसरी देखाए?

दाऊद यहोवामा भर पर्न चाहेको कुरा तिनले इस्राएलका प्रथम राजा शाऊलप्रति राखेको दृष्टिकोणबाट पनि देखिन्छ। डाही शाऊलले दाऊदलाई भित्तैमा उन्‍ने हिसाबले तीन पटकसम्म भाला हाने तर दाऊदले प्रत्येक चोटि छले। तिनले प्रतिकार गर्न खोजेनन्‌। अन्तमा तिनी शाऊलदेखि भागे। (१ शमू. १८:७-११; १९:१०) त्यसपछि शाऊलले इस्राएलबाट ३,००० मानिस चुने र दाऊदलाई खोज्न उजाडस्थानतर्फ लागे। (१ शमू. २४:२) खोज्दै जाँदा शाऊल एउटा गुफाभित्र छिरे तर त्यहाँ दाऊद र तिनका मानिसहरू पनि छन्‌ भन्‍ने कुरा शाऊललाई थाहै थिएन। दाऊदले आफ्नो ज्यान लिन खोज्ने राजालाई मार्ने मौका यही हो भन्ठान्‍न सक्थे। परमेश्‍वरको इच्छा पनि शाऊलको सट्टामा दाऊदलाई नै इस्राएलको राजा बनाउने थियो। (१ शमू. १६:१, १३) दाऊदले आफ्ना मानिसहरूको कुरा सुनेका भए राजा शाऊलको ज्यान बच्ने थिएन। तर दाऊदले यसो भने: “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्‍त-जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। उहाँ परमप्रभुका अभिषिक्‍त-जन हुनुहुन्छ।” (१ शमूएल २४:४-७ पढ्‌नुहोस्‌) शाऊल परमेश्‍वरको अभिषिक्‍त राजा थिए। यहोवाले शाऊललाई हटाइसक्नुभएको थिएन; त्यसैले दाऊदले शाऊलको राज्य हडप्न खोजेनन्‌। शाऊलको खास्टोको एक छेउ मात्र काटेर आफूले शाऊललाई कुनै हानि गर्न नचाहेको कुरा तिनले देखाए।—१ शमू. २४:११.

राजा शाऊलसित अन्तिम चोटि भेट हुँदा दाऊदले यहोवाको अभिषिक्‍त जनप्रति फेरि पनि आदर देखाए। राजा शाऊलले छाउनी बनाएको ठाउँमा दाऊद र अबीशै आइपुगे अनि राजालाई निदाइरहेको भेट्टाए। अबीशैको विचारमा परमेश्‍वरले नै शाऊललाई दाऊदको हातमा सुम्पिदिनुभएको थियो। त्यसैले उनले शाऊललाई भालाले भुइँमा रोपिदिने अनुमति मागे तर दाऊदले त्यसो गर्न दिएनन्‌। (१ शमू. २६:८-११) दाऊद सधैं यहोवाको डोऱ्‍याइ खोज्थे। त्यसकारण अबीशैले जति नै आग्रह गरे पनि तिनले परमेश्‍वरको इच्छाअनुरूप गर्ने आफ्नो अडान परिवर्तन गरेनन्‌।

१०. हामीले कस्ता चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ? अनि दृढ भई खडा हुन केले मदत गर्नेछ?

१० हामीले पनि चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। त्यस्तो परिस्थितिमा साथीहरूले हामीलाई यहोवाको इच्छाअनुरूप गर्न साथ दिनुको साटो मानव सोचाइ अँगाल्न दबाब दिन सक्छन्‌। अबीशैले जस्तै, कोही-कोहीले हामीलाई कुनै खास विषयमा यहोवाको इच्छा के छ भनेर विचारै नगरी कदम चाल्नसमेत प्रोत्साहन दिन सक्छन्‌। यस्तो अवस्थामा दृढ भई खडा हुन यहोवाको दृष्टिकोण स्पष्टसित बुझ्नु अनि उहाँको तरिकाअनुसार गर्न कटिबद्ध हुनु आवश्‍यक छ।

११. यहोवाको इच्छाबमोजिम गर्नुलाई पहिलो स्थान दिने सन्दर्भमा दाऊदबाट के सिक्नुभयो?

११ दाऊदले यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌।” (भजन १४३:५, ८, १० पढ्‌नुहोस्‌) आफ्नै सोचाइमा भर पर्नु वा अरू मानिसले भनेअनुसार गर्नुको साटो दाऊद यहोवाबाट सिक्न उत्सुक थिए। तिनले यहोवाका ‘सारा कार्यहरूमा ध्यान लगाए अनि उहाँका हातको काम विचार गरे।’ हामी पनि बाइबलको जाँचपडताल गरेर अनि मानिसहरूसित यहोवाले गर्नुभएको व्यवहारबारे मनन गरेर उहाँको इच्छा थाह पाउन सक्छौं।

दाऊदले व्यवस्थामा लुकेको सिद्धान्त बुझेका थिए

१२, १३. आफ्ना तीन जना मानिसले ल्याएको पानी दाऊदले किन भुइँमा पोखाए?

१२ व्यवस्थामा लुकेको सिद्धान्तलाई दाऊद मोल गर्थे अनि त्यसअनुसार जीवन बिताउन इच्छा गर्थे। दाऊदको यो पक्ष पनि अनुकरण गर्न लायकको छ। दाऊदले “बेतलेहेमको मूल-ढोकाको छेउमा भएको कूवाको पानी पिउन” इच्छा गरेको घटना विचार गरौं। त्यतिबेला के भयो? दाऊदका तीन जना मानिस पलिश्‍तीहरूले कब्जा जमाएको सहरमा छिरेर त्यहाँबाट पानी ल्याए। तर “दाऊदले त्यो पिउन इन्कार गरे। तिनले त्यो पानी परमप्रभुलाई चढाए।” किन? दाऊदले यसो भने: “के मैले यी मानिसहरूको रगत पिउने! परमेश्‍वरले मलाई यस्तो काम गर्नबाट रोकून्‌! तिनीहरूले ता यो पानी आफ्नो ज्यानको खतरामा ल्याएका हुन्‌!”—१ इति. ११:१५-१९.

१३ रगत खानु हुँदैन अनि त्यसलाई यहोवाको निम्ति भुइँमा पोखाइदिनुपर्छ भन्‍ने व्यवस्था दाऊदलाई थाह थियो। त्यसो गर्नुपर्ने कारण पनि तिनलाई थाह थियो। “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” भनेर तिनले बुझेका थिए। तर त्यो रगत होइन, केवल पानी थियो। तैपनि दाऊदले त्यो पिउन किन इन्कार गरे? तिनले त्यस आज्ञामा लुकेको सिद्धान्तको मोल गरे। तिनको लागि उक्‍त पानी ती तीन जना मानिसको रगत जत्तिकै अनमोल थियो। त्यसकारण तिनलाई त्यो पानी पिउन उपयुक्‍त लागेन। बरु तिनले त्यसलाई भुइँमा पोखाउनु नै उचित ठाने।—लेवी १७:११; व्यव. १२:२३, २४.

१४. यहोवाको दृष्टिकोण बुझ्न दाऊदलाई केले मदत गऱ्‍यो?

१४ दाऊदले परमेश्‍वरको व्यवस्थामा मग्न हुने प्रयास गरे। तिनले यसरी गाए: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” (भज. ४०:८) तिनले परमेश्‍वरको व्यवस्था अध्ययन गरे अनि त्यसलाई गहिरिएर मनन गरे। यहोवाको आज्ञा पालन गर्नु बुद्धिमानी हो भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। यसकारण तिनी मोशाको व्यवस्थामा लेखिएको कुरा मात्र होइन, त्यसमा लुकेको मूल आशय पालन गर्न इच्छुक भए। हामीले पनि बाइबल पढ्‌दा त्यसमा लेखिएका कुराहरूलाई मनन गर्नु अनि त्यसलाई सम्झिराख्नु बुद्धिमानी हो। यसो गऱ्‍यौं भने यहोवालाई प्रसन्‍न पार्ने कुरा के हो, सो पक्का गर्न सक्नेछौं।

१५. परमेश्‍वरको व्यवस्थाप्रति आदर देखाउनदेखि सुलेमान कसरी चुके?

१५ दाऊदका छोरा सुलेमानले यहोवाबाट थुप्रै आशिष्‌ पाएका थिए। तर समय बित्दै जाँदा सुलेमान परमेश्‍वरको व्यवस्थाप्रति आदर देखाउनदेखि चुके। इस्राएली राजाले “आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरोस्‌” भन्‍ने परमेश्‍वरको आज्ञा तिनले पालन गरेनन्‌। (व्यव. १७:१७) सुलेमानले थुप्रै विदेशी स्त्रीसित विवाह गरे। तिनी वृद्ध हुँदै जाँदा “तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए।” जस्तोसुकै बहाना बनाए तापनि “सुलेमानले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, औ आफ्ना पिता दाऊदझैं परमप्रभुप्रति भक्‍त भएनन्‌।” (१ राजा ११:१-६) त्यसैले परमेश्‍वरको वचनमा पाइने व्यवस्था र सिद्धान्त पालन गर्नु कत्ति महत्त्वपूर्ण छ! जस्तै, विवाहको सन्दर्भमा।

१६. “प्रभुको चेलासित मात्र” विवाह गर्नू भन्‍ने आज्ञाको आशय बुझ्दा विवाह गर्न चाहनेहरूले कस्तो निर्णय गर्नेछन्‌?

१६ गैर-साक्षीले रोमान्टिक चासो देखाउँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? दाऊदको जस्तो कि सुलेमानको जस्तो? साँचो उपासकहरूलाई “प्रभुको चेलासित मात्र” विवाह गर्ने आज्ञा दिइएको छ। (१ कोरि. ७:३९) कुनै ख्रीष्टियन विवाह गर्न चाहन्छन्‌ भने तिनले सङ्‌गी विश्‍वासीसित विवाह गर्नुपर्छ। बाइबलले यस्तो आज्ञा दिनुको आशय बुझ्यौं भने हामी गैर-साक्षीसित विवाह नगर्ने मात्र होइन, त्यस्ता व्यक्‍तिहरूले रोमान्टिक चासो देखाउँदा वास्तासमेत गर्नेछैनौं।

१७. अश्‍लील सामग्री हेर्ने पासोमा नपर्न हामीलाई केले मदत गर्छ?

१७ गम्भीरतासाथ परमेश्‍वरको डोऱ्‍याइ खोज्ने सन्दर्भमा दाऊदको उदाहरणले हामीलाई अश्‍लील सामग्री हेर्ने प्रलोभनमा नपर्न कसरी मदत गर्छ, त्यसबारे पनि विचार गर्नुहोस्‌। तल दिइएका बाइबल पदहरू पढ्‌नुहोस्‌, त्यसमा पाइने सिद्धान्त मनन गर्नुहोस्‌ अनि यसबारे यहोवाको इच्छा के छ, सो बुझ्ने प्रयास गर्नुहोस्‌। (भजन ११९:३७; मत्ती ५:२८, २९; कलस्सी ३:५ पढ्‌नुहोस्‌) परमेश्‍वरको उच्च स्तरलाई मनन गर्दा त्यसले हामीलाई अश्‍लील सामग्री हेर्ने पासोबाट जोगाउँछ।

हर समय यहोवाको इच्छालाई मनमा राख्नुहोस्‌

१८, १९. (क) त्रुटिपूर्ण भए तापनि दाऊदले कसरी यहोवाको अनुमोदन पाइरहन सके? (ख) तपाईंले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

१८ थुप्रै कुरामा उदाहरणीय भए तापनि दाऊदले केही गम्भीर पाप गरे। (२ शमू. ११:२-४, १४, १५, २२-२७; १ इति. २१:१, ७) तर समयको दौडान तिनले आफ्नो पापको पश्‍चात्ताप गरे। तिनले परमेश्‍वरसामु ‘इमानदार’ भई जीवन बिताए। (१ राजा ९:४) हामी किन यसो भन्‍न सक्छौं? किनभने दाऊदले यहोवाको इच्छाबमोजिम गर्ने कोसिस गरे।

१९ त्रुटिपूर्ण भए तापनि हामी यहोवाको अनुमोदन पाइरहन सक्छौं। त्यसैले परमेश्‍वरको वचन लगनशील भएर अध्ययन गरौं, त्यसबाट सिकेका कुराहरूमा गहिरिएर मनन गरौं अनि त्यसअनुसार तुरुन्तै कदम चालौं। यसो गऱ्‍यौं भने भजनरचयिताले जस्तै हामीले पनि यहोवालाई यस्तो बिन्ती गरिरहेका हुनेछौं: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌।”