सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले नम्रताको नमुना बसाल्नुभयो

येशूले नम्रताको नमुना बसाल्नुभयो

“मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरें तिमीहरूले पनि त्यसै गर्नुपर्छ।”—यूह. १३:१५.

१, २. आफूले पृथ्वीमा बिताएको अन्तिम रात येशूले प्रेषितहरूलाई कस्तो पाठ सिकाउनुभयो?

 येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम रातको घटना हो। यरूशलेमको माथिल्लो तलाको कोठामा उहाँ आफ्ना प्रेषितहरूसित हुनुहुन्छ। भोजन गर्दै गर्दा येशू उठ्‌नुहुन्छ र आफ्नो खास्टो छेउमा राख्नुहुन्छ। एउटा तौलिया लिएर कम्मरमा बेर्नुहुन्छ। त्यसपछि एउटा बाटामा पानी हाल्नुहुन्छ अनि चेलाहरूको खुट्टा धुन र तौलियाले पुछ्‌न थाल्नुहुन्छ। तिनीहरूको खुट्टा धोइसकेपछि उहाँ आफ्नो खास्टो ओड्‌नुहुन्छ। येशू किन यस्तो तुच्छ काम गर्नुहुन्छ?—यूह. १३:३-५.

येशू आफैले यसो भन्‍नुभयो: “मैले तिमीहरूका निम्ति के गरें, तिमीहरूलाई थाह छ? . . . यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरें तिमीहरूले पनि त्यसै गर्नुपर्छ।” (यूह. १३:१२-१५) यस्तो तुच्छ काम गर्न इच्छुक भएर येशूले आफ्ना चेलाहरूलाई एउटा पाठ सिकाउनुभयो। यो पाठ तिनीहरूको दिमागमा ठप्प बस्नेथियो र यसले तिनीहरूलाई आगामी दिनमा नम्रता देखाउन उत्प्रेरित गर्नेथियो।

३. (क) येशूले नम्र हुनुपर्ने महत्त्वबारे दुईवटा अवसरमा कसरी जोड दिनुभयो? (ख) यस लेखमा के छलफल गर्नेछौं?

आफ्ना प्रेषितहरूको खुट्टा धोएर येशूले नम्रताको पाठ सिकाउनुभयो। तर उहाँले यस्तो पाठ सिकाउनुभएको यो नै पहिलो पटकचाहिं थिएन। एक चोटि उहाँका केही प्रेषितले आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर बहस गरेका थिए। त्यसबेला उहाँले एउटा सानो बालकलाई छेउमा राखेर यसो भन्‍नुभएको थियो: “जसले मेरो नाममा यो सानो बालकलाई स्वीकार्छ, उसले मलाई पनि स्वीकार्छ; अनि जसले मलाई स्वीकार्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वीकार्छ। जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।” (लूका ९:४६-४८) फरिसीहरूले प्रतिष्ठा खोजेको कुरा बुझेर उहाँले एकचोटि यसो भन्‍नुभएको थियो: “जसले आफूलाई उचाल्छ, ऊ होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।” (लूका १४:११) हो, येशू आफ्ना अनुयायीहरू नम्र भएको चाहनुहुन्छ; घमन्डी भएको अनि आफूलाई अरूभन्दा ठूलो ठानेको चाहनुहुन्‍न। आउनुहोस्‌, येशूको अनुकरण गर्ने उद्देश्‍यले उहाँले देखाउनुभएको नम्रताको उदाहरण राम्ररी जाँचौं। नम्रता देखाउने व्यक्‍तिलाई मात्र नभई अरूलाई पनि यस गुणले कसरी फाइदा पुऱ्‍याउँछ, त्यसबारे पनि विचार गरौं।

‘म पछि हटिनँ’

४. स्वर्गमा छँदा परमेश्‍वरको एक मात्र छोराले कसरी नम्रता देखाउनुभयो?

परमेश्‍वरको एक मात्र छोराले पृथ्वीमा आउनुअघि नै नम्रता देखाउनुभयो। येशूले स्वर्गमा आफ्नो बुबासित युगौंयुग बिताउनुभयो। छोरा र बुबाबीचको घनिष्ठ सम्बन्धबारे यशैयाको पुस्तक यसो भन्छ: “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो सो जान्‍नसकूँ भनेर परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेहरूलाई झैं सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्छ। परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म बागी भइनँ। औ पछि पनि हटिनँ।” (यशै. ५०:४, ५) येशूले नम्र मनोभाव देखाउनुभयो र यहोवाले सिकाउनुभएको कुरामा गहिरो ध्यान दिनुभयो। साँचो परमेश्‍वरले सिकाउनुहुने कुरा सिक्न उहाँ उत्सुक र इच्छुक हुनुहुन्थ्यो। यहोवाले पापी मानिसहरूलाई कृपा देखाउँदा झल्किएको नम्रता पनि येशूले पक्कै याद गर्नुभएको हुनुपर्छ।

५. दियाबलसित वाद-विवाद हुँदा नम्र र विनयी हुने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

सबै स्वर्गदूत येशूजस्तो नम्र थिएनन्‌। पछि सैतान अर्थात्‌ दियाबल बनेको स्वर्गदूत यहोवाबाट सिक्न इच्छुक थिएन। ऊ घमन्डी भयो र आफूलाई अरूभन्दा ठूलो ठान्यो। यो नम्रताको ठीक उल्टो थियो। परिणामस्वरूप, त्यसले यहोवाको विद्रोह गऱ्‍यो। येशू भने स्वर्गमा आफूले पाएको ओहदाप्रति सन्तुष्ट हुनुभयो। अनि उहाँले आफ्नो अख्तियारको दुरुपयोग गर्न चाहनुभएन। “मोशाको शरीरबारे दियाबलसित वाद-विवाद हुँदा” आफू प्रधान दूत माइकल भए तापनि येशूले आफ्नो अख्तियारभन्दा बाहिरको काम गर्नुभएन। बरु उहाँ नम्र र विनयी हुनुभयो। ब्रह्‍माण्डको सर्वोच्च न्यायकर्ता यहोवालाई उहाँकै समय र उहाँकै तरिकामा उक्‍त मामिला सँभाल्न छोडिदिनुभयो।—यहूदा ९ पढ्‌नुहोस्‌।

६. मसीहको रूपमा सेवा गर्ने जिम्मेवारी स्वीकारेर येशूले कसरी नम्रता देखाउनुभयो?

मसीहबारे गरिएका सबै भविष्यवाणी येशूलाई पृथ्वीमा आउनुअघि नै थाह थियो। त्यसैले आफूले कष्ट भोग्नुपर्नेछ भनेर उहाँलाई पहिल्यै थाह भएको हुनुपर्छ। तैपनि उहाँ पृथ्वीमा आउन र प्रतिज्ञा गरिएका मसीहको रूपमा मृत्यु भोग्न तयार हुनुभयो। किन? परमेश्‍वरको एक मात्र छोराको नम्रतालाई जोड दिंदै प्रेषित पावलले यस्तो लेखे: “परमेश्‍वरको स्वरूपमा भईकन पनि उहाँले अख्तियार हडप्ने अर्थात्‌ परमेश्‍वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन। बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर मानिसको स्वरूपमा आउनुभयो।”—फिलि. २:६, ७.

मानिसको रूपमा छँदा “उहाँले आफूलाई नम्र बनाउनुभयो”

७, ८. बाल्यावस्थामा र पृथ्वीमा सेवाको दौडान येशूले कुन-कुन तरिकामा नम्रता देखाउनुभयो?

पावलले लेखे: “मानिसको रूपमा देखापरेपछि [येशूले] आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो; हो, यातनाको खम्बाको मृत्युसम्मै आज्ञाकारी हुनुभयो।” (फिलि. २:८) बाल्यावस्थादेखि नै येशूले नम्रताको नमुना बसाल्नुभयो। त्रुटिपूर्ण आमाबाबु—यूसुफ र मरियमले हुर्काए तापनि येशू “निरन्तर तिनीहरूको अधीनमा बस्नुभयो।” (लूका २:५१) केटाकेटीहरूका लागि कत्ति राम्रो उदाहरण! खुसीसाथ आमाबाबुको अधीनमा बस्ने छोराछोरीलाई यहोवाले आशिष्‌ दिनुहुनेछ।

वयस्क छँदा, यहोवाको इच्छा पूरा गर्नुलाई प्राथमिकता दिएर येशूले नम्रता देखाउनुभयो। (यूह. ४:३४) सेवाको कामको दौडान येशू ख्रीष्टले परमेश्‍वरको नाम प्रयोग गर्नुभयो। साथै निष्कपट मानिसहरूलाई परमेश्‍वरका गुणहरू र मानिसजातिको लागि उहाँले राख्नुभएको उद्देश्‍यबारे सही ज्ञान दिनुभयो। आफूले पनि यहोवाबारे सिकाएअनुसारै जीवन बिताउनुभयो। उदाहरणको लागि, नमुना प्रार्थनामा येशूले उल्लेख गर्नुभएको पहिलो बुँदा थियो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌।” (मत्ती ६:९) यसरी यहोवाको नाम पवित्र पार्नुलाई सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्‍न येशूले आफ्ना अनुयायीहरूलाई आज्ञा दिनुभयो। आफूले पनि त्यसै गर्नुभयो। त्यसैले पृथ्वीमा आफ्नो जीवनको अन्ततिर येशूले यहोवालाई यसरी प्रार्थना गर्न सक्नुभयो: “मैले तिनीहरूलाई [अर्थात्‌ प्रेषितहरूलाई] तपाईंको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।” (यूह. १७:२६) यति मात्र होइन, पृथ्वीमा सेवाको कामको दौडान आफूले गरेको हरेक कुराको श्रेय उहाँले यहोवालाई दिनुभयो।—यूह. ५:१९.

९. जकरियाले मसीहबारे के भविष्यवाणी गरे? येशूले यो भविष्यवाणी कसरी पूरा गर्नुभयो?

मसीहबारे जकरियाले भविष्यसूचक ढङ्‌गमा यस्तो लेखे: “हे सियोनकी छोरी, खुब रमाऊ! हे यरूशलेमकी छोरी, जयजयकार गर! हेर, तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ। उहाँ पराक्रमी र विजयी हुनुहुन्छ। उहाँ दीन हुनुहुन्छ र गधामाथि, अर्थात्‌ गधैनीको बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।” (जक. ९:९) इस्वी संवत्‌ ३३ को निस्तार चाडको बेला येशू यरूशलेम प्रवेश गर्दा उक्‍त भविष्यवाणी पूरा भयो। भीडले आफ्नो लुगा र रूखका हाँगाहरू भुइँमा बिछ्यायो। उहाँ प्रवेश गर्दा पूरै सहरमा हल्लीखल्ली मच्चियो। आममानिसले उहाँलाई राजाको रूपमा स्वीकार्दा समेत उहाँ नम्र हुनुभयो।—मत्ती २१:४-११.

१०. मृत्युसम्मै आज्ञाकारी भएर येशूले कुन कुरा प्रमाणित गर्नुभयो?

१० यातनाको खम्बामा मृत्यु भोगुन्जेलसम्मै येशूले नम्रता र आज्ञाकारिता देखाउनुभयो। अचाक्ली कठिन अवस्थामा पर्दासमेत मानिस यहोवाप्रति वफादार रहन सक्छ भनेर उहाँले उत्कृष्ट ढङ्‌गमा प्रमाणित गर्नुभयो। मानिसहरू आफ्नो स्वार्थको लागि मात्र यहोवाको सेवा गर्छन्‌ भन्‍ने सैतानको आरोपलाई पनि उहाँले झूटो साबित गर्नुभयो। (अय्यू. १:९-११; २:४) पूर्णतया निष्ठा कायम गरेर उहाँले यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको औचित्य र सत्यतालाई पनि प्रमाणित गर्नुभयो। आफ्नो नम्र छोराको निष्ठा ढलपल नभएको देखेर यहोवा पक्कै खुसी हुनुभयो।हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

११. येशू ख्रीष्टको फिरौतीको बलिदानले गर्दा उहाँमाथि विश्‍वास गर्ने मानिसहरूको निम्ति कुन कुरा सम्भव भयो?

११ यातनाको खम्बामा मृत्यु भोगेर येशूले मानिसजातिको लागि फिरौतीको मोल तिर्नुभयो। (मत्ती २०:२८) यसले गर्दा परमेश्‍वरले आफ्नो स्तरअनुरूप हाम्रो पाप क्षमा गर्नुका साथै हामी सधैंभरि बाँच्न सम्भव तुल्याउनुभयो। पावलले लेखे: “एउटा कामले गर्दा हर किसिमका मानिस परमेश्‍वरको नजरमा असल ठहरिएर जीवन पाउन लायकका भए।” (रोमी ५:१८) येशूको मृत्युले गर्दा “अरू भेडा”-ले पृथ्वीमा अनन्त जीवन पाउन अनि पवित्र शक्‍तिद्वारा अभिषिक्‍त ख्रीष्टियनहरूले स्वर्गमा अमर जीवन पाउन सम्भव भयो।—यूह. १०:१६; रोमी ८:१६, १७.

म “नम्र मनको” छु

१२. त्रुटिपूर्ण मानिसहरूसित व्यवहार गर्दा येशूले नम्रता र कोमलता कसरी देखाउनुभयो?

१२ “कठोर श्रमले थाकेका र भारले दबिएका” सबैलाई येशूले आफूकहाँ आउन निम्तो दिनुभयो। उहाँले भन्‍नुभयो: “मेरो जुवा बोक र मबाट सिक, किनकि म कोमल स्वभाव र नम्र मनको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।” (मत्ती ११:२८, २९) नम्रता र कोमलताजस्ता गुणहरूले गर्दा येशू त्रुटिपूर्ण मानिसहरूसित व्यवहार गर्दा दयालु र निष्पक्ष हुन सक्नुभयो। चेलाहरूले गर्न नसक्ने कुरा उहाँले माग गर्नुभएन। उहाँले तिनीहरूको प्रशंसा गर्नुभयो र तिनीहरूलाई प्रोत्साहन दिनुभयो। उहाँले तिनीहरूलाई केही काम नलाग्ने वा नालायक महसुस गराउनुभएन। उहाँ तिनीहरूसित कहिल्यै कठोर वा दमनकारी हुनुभएन। बरु उहाँको नजिक हुँदा र उहाँका शिक्षाहरू व्यवहारमा उतार्दा स्फूर्ति पाउने कुरामा आफ्ना अनुयायीहरूलाई विश्‍वस्त पार्नुभयो किनभने उहाँको जुवा सजिलो र भारी हलुको थियो। पुरुष होस्‌ या स्त्री, सबै उमेरका मानिसहरू येशूको नजिक आउन रुचाउँथे।—मत्ती ११:३०.

१३. नाजुक अवस्थामा भएका मानिसहरूप्रति येशूले कसरी दया देखाउनुभयो?

१३ इस्राएलका सर्वसाधारणको अवस्था नाजुक थियो। त्यसैले तिनीहरूसित व्यवहार गर्दा उहाँले दया देखाउनुभयो र तिनीहरूलाई मदत गर्न यथासक्दो गर्नुभयो। यरिहो नजिकै पुग्दा बर्तिमै नाम गरेका अन्धो माग्ने र तिनको अन्धो साथीसित उहाँको भेट भयो। तिनीहरू मदतको लागि बिन्ती गर्दै चिच्याइरहे। तर भीडले तिनीहरूलाई चूप लाग्‌ भनी हप्कायो। येशूले ती अन्धा मानिसहरूको बिन्ती नसुनेझैं गर्न सक्नुहुन्थ्यो। तर उहाँले तिनीहरूलाई आफूकहाँ ल्याउन लगाउनुभयो अनि टिठाउँदै तिनीहरूको दृष्टि फर्काइदिनुभयो। यसरी नम्र हुँदै येशूले तुच्छ पापी मानिसहरूप्रति कृपा देखाएर आफ्नो बुबा यहोवाको अनुकरण गर्नुभयो।—मत्ती २०:२९-३४; मर्कू. १०:४६-५२.

“जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ”

१४. येशूको नम्रताको परिणाम कस्तो भयो?

१४ येशूले सधैं नम्रता देखाउनुभयो। परिणामस्वरूप थुप्रैले आनन्द र लाभ उठाए। आफ्नो प्यारो छोराको आज्ञाकारिता देखेर यहोवा रमाउनुभयो। येशूको कोमल अनि नम्र मनोभावले गर्दा उहाँका प्रेषित तथा चेलाहरूले स्फूर्ति पाए। उहाँको उदाहरण, शिक्षा अनि हार्दिक प्रशंसाले गर्दा तिनीहरू परमेश्‍वरका अझ राम्रा सेवकहरू बन्‍न उत्प्रेरित भए। येशूको शिक्षा, प्रोत्साहन र मदतबाट आममानिसले पनि लाभ उठाए। वास्तवमा, येशूको फिरौतीको बलिदानमा विश्‍वास गर्ने सबै मानिसले सदासर्वदा लाभ उठाउनेछन्‌।

१५. नम्र हुँदा येशूलाई कस्तो फाइदा भयो?

१५ येशूलाई नि? नम्र हुँदा के उहाँलाई फाइदा भयो? अवश्‍य भयो। उहाँले चेलाहरूलाई यसो भन्‍नुभयो: “जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।” (मत्ती २३:१२) उहाँको सन्दर्भमा पनि यी शब्दहरू सत्य साबित भए। पावल भन्छन्‌: “परमेश्‍वरले [येशूलाई] अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामहरूभन्दा उत्तम नाम दिनुभयो, ताकि स्वर्गमा भएका, पृथ्वीमा भएका र जमिनमुनि भएकाहरू हरेकले येशूको नाममा घुँडा टेकून्‌ अनि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्वीकारून्‌, जसद्वारा परमेश्‍वर, हाम्रा बुबाको महिमा हुनेछ।” पृथ्वीमा छँदा येशूको नम्रता र वफादारीले गर्दा यहोवा परमेश्‍वरले उहाँलाई उच्च पद दिनुभयो अर्थात्‌ स्वर्ग र पृथ्वीमा भएका सबैमाथि अख्तियार दिनुभयो।—फिलि. २:९-११.

येशू ‘सत्यता र नम्रताको निम्ति सवारी’ हुनुहुनेछ

१६. परमेश्‍वरको छोराले भविष्यमा पनि कसरी नम्रता देखाइरहनुहुनेछ?

१६ परमेश्‍वरको छोराले भविष्यमा पनि नम्रता देखाइरहनुहुनेछ। स्वर्गमा उच्च ओहदा पाएका येशूले आफ्ना शत्रुहरूविरुद्ध कसरी कदम चाल्नुहुनेछ, त्यसबारे भजनरचयिताले यसरी गाए: “सत्यता, नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमामा सफलतासाथ सवारी गर।” (भज. ४५:४) सत्यता र धार्मिकताको साथसाथै येशू ख्रीष्टले आरमागेडोनमा नम्रताको निम्ति पनि सवारी गर्नुहुनेछ। हजार वर्षीय शासनको अन्तमा मसीही राजाले “सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट पारेपछि” के हुनेछ? के उहाँले नम्रता देखाउनुहुनेछ? देखाउनुहुनेछ। उहाँले “परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ, जो उहाँको बुबा हुनुहुन्छ।”१ कोरिन्थी १५:२४-२८ पढ्‌नुहोस्‌।

१७, १८. (क) यहोवाका सेवकहरूले येशूले बसाल्नु-भएको नम्रताको नमुना पछ्याउनु किन महत्त्वपूर्ण छ? (ख) यसपछिको लेखमा के छलफल गर्नेछौं?

१७ हामी नि? के हामी येशूले बसाल्नुभएको नम्रताको नमुना पछ्याउनेछौं? राजाको रूपमा येशू आरमागेडोनमा न्याय गर्न आउँदा हामीलाई के हुनेछ? उहाँले नम्र र असल मानिसहरूलाई मात्र बचाउनुहुनेछ। त्यसैले बच्ने हो भने हामीले नम्रता खेती गर्नै पर्छ। साथै येशूको नम्रताबाट उहाँ आफैले र अरूले लाभ उठाएझैं हामीले नम्रता देखाउँदा पनि परिणाम यस्तै हुनेछ।

१८ येशूले बसाल्नुभएको नम्रताको नमुना पछ्याउन हामीलाई केले मदत गर्नेछ? चुनौतीहरूको बाबजुद हामी कसरी नम्र हुने प्रयास गर्न सक्छौं? यी प्रश्‍नहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।

[पृष्ठ १२-मा भएको चित्र]

 

[पृष्ठ १३-मा भएको चित्र]